बालिले अब चाँडै बाहिरी पर्यटकलाई १० डलर कर लिने
काठमाडौं। बालीले टापुको वातवरण र सांस्कृतिक सम्प्दालाई जोगाउन अब चाडै नै बाहिरी पर्यटकलाई १० डलर कर लिने भएको छ। आन्तरिक पर्यटकलाई भने १ डलर मात्र कर लिईनेछ। यस बिषयमा बाली प्रशासनले डिसेम्बर देखी छलफल गर्दै आईरहेको छ। बाली गवर्नर वेयन केस्टरले भने, “पर्यटकको राजस्व बालीको वातवरण र संस्कृतिको संरक्षणको कार्यक्रम कोषको लागि प्रयोग गरिने छ।” बालीको ब्यूरोको आधिकारिक तथ्याङ्कको अनुसार, जनवरीदेखि अक्टोबर 2018 सम्ममा ५,१६४,९२९ र गत वर्ष ५,१२४,८३९ पर्यटकहरूको बाली भ्रमण गरेका थिए। गत बर्षको तुलनामा यस बर्ष पर्यटकको संख्या २।८७ प्रतिशतले वृद्धि भएको हो। बालीको समुन्द्री सतहमा अत्याधिक फोहोरहरु जम्मा हुने कारणले यो कदम लिन लागिएको हो। प्रति दिन बाली बाट १०० टन फोहोरहरु संकलन हुने गर्दछ। जापानले हालै अन्तर्राष्ट्रिय पर्यटकहरूले देशको पर्यटकको पूर्वाधार विस्तार गर्न जापानबाट फर्कने समयमा १००० ईन ( अस्ट्रेलियन डलर १३) कर लिने घोषणा गरेको छ त्यस्तै न्यूजील्याण्डले भने संरक्षण र पूर्वाधार कोषको लागि यस बर्षको अन्त्य तिर अस्ट्रेलियन डलर ३३ कर लिने जनाएको छ।
जनता बैंक र टिच फर नेपालबीच शैक्षिक गुणस्तर सम्बन्धि सम्झौता
काठमाडौं । जनता बैंक र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहकार्य सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरेका थिए । टिच फर नेपालले ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामिण क्षेत्रका ५१ विद्यालयमा ११०जना फेलो (प्रद्यार्थी) शिक्षकहरु मार्फत करिव १० हजार विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिमा कार्य गरिरहेको छ । सम्झौतापत्रमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई बार्षिक रु. ५ लाख प्रदान गर्नेछ । उक्त कोषबाट टिच फर नेपालले विद्यालयहरुमा महत्वपूर्ण विषयका दक्ष जनशक्तिलाई शिक्षकको रुपमा खटाउने , यसरी खटाइएका फेलो शिक्षकहरु शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा सरिक रहेकाे छ ।
विराटनगर-इटहरी मोनोरेलका लागि ३२ अर्ब लगानी सम्झौता, ३० किमी यात्राको ५० रुपैंया भाडा
काठमाडौं । विराटनगर इटहरी मोनोरेल निर्माणका लागि ३२ अर्बको लगानी सम्झौता भएको छ । विराट मोनोरेलका अध्यक्ष अशोक मेहताले भारतको नयाँ दिल्ली पुगेर २० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । ‘२० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ, नेपाल सरकारले मोनोरेल निर्माण सम्बन्धी अनुमति दिएपछि काम पैसा आउँछ’, बिराट मोनोरेलका अध्यक्ष मेहताले विकासन्युजसँग भने । बहुराष्ट्रिय कम्पनी भिनेष्टाले मोनोरेलमा लगानी गर्न लागेको हो । ‘भारतीयहरुको प्रमुख सहभागीता रहेको बहुराष्ट्रिय कम्पनी फिनेष्टोले लगानी गर्ने भएको छ, अब बिराटनगर मोनोरेल निर्माण हुने पक्का भएको छ’, मेहताले भने । यहि पुस २९ गते मोनोरेल निर्माणका कम्पनीले नयाँ लगानीकर्ताका रुपमा अजय कुमार सत्याललाई उपाध्यक्ष नियुक्त गरेको थियो । मोनोरेल जापानी प्रविधीको हुनेछ । ७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा बुट मोडलबाट मोनोरेल निर्माण गर्ने तय भएको छ । मोनोरेल ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । विराटनगर इटहरी सडकमै निर्माण हुने मोनोरेलका लागि बिराटनगर महानगरपालिका, बुढीगंगा नगरपालिका, दुहबी नगरपालिका र इटहरी उप महानगरपालिकाले सहमति दिईसकेका छन् । मोनोरेलमा १ नम्बर प्रदेश सरकार र मार्गधिकारभित्र पर्ने स्थानीय तहहरुले समेत लगानीका लागि इच्छा देखाएको कम्पनीका अध्यक्ष परमानन्द मेहताले जानकारी दिए । कम्पनीले आगामी २ हप्ताभित्रै मोनोरेलको डीपीआर निर्माण आरम्भ गर्ने जनाएको छ । करिब ३० किलोमिटर लामो मोनोरेलले अधिकतम १० वर्षभित्र लगानी उठाई सक्नेछ । मोनोरेलको एक तर्फी भाडा दर ५० रुपैंयाँ प्रस्ताव गरिएको छ । डीपीआरका लागि उपाध्यक्ष सत्याल र इञ्जिनियर सिर्जु दहाललको नेतृत्वमा प्रबिधी तथा वैदेशिक समन्वय समिति बनेको छ । त्यसमा भारतका राकेश पुजारी पनि सहभागी छन् । नेपालमै पहिलो पटक मोनोरेलमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन लागेको र त्यो बुट मोडलमा हुने पनि प्रबन्ध निर्देशक आत्रेयले जानकारी दिए । सो मोनोरेलले एक पटकमा ५ सय जना यात्रु बोक्ने क्षमता राख्नेछ । बिहान ५ बजेदेखि राती ९ बजेसम्म सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको पनि आत्रेयले सुनाए । ७ जना व्यवसायीले खडा गरेको बिराट मोनोरेल इन्टरनेशनल प्रालीमा हाल नयाँ लगानीकर्ता थपिएपछि कामले गति लिन लागेको हो ।
अघि बढ्यो टेलिकमको फोरजी सेवा विस्तार, ६५ लाख जनतामा उच्च गतिको डाटा
काठमाडाैं । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा देशभर विस्तार कार्यका लागि सम्झौता सम्पन्न भएको सम्बन्धमा यसैसाथ संलग्न प्रेस विज्ञप्ति प्रकाशन/प्रसारण गरी सहयोग गरिदिनु हुन अनुरोध छ । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि आइतबार सम्झौता सम्पन्न भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको हो । फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क-यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो । यस सम्बन्धी छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा ¥यान नेटवर्क तयार गरिने छ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । ¥यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने छ । नेपाल टेलिकमले मुलुकमै पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी/एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरले सञ्चालन गरी ग्राहकलाई आ-आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुनेछ । यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा अन्य सेवा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
एनसीसी बैंक र ब्लु क्रस अस्पतालबीच शुल्क सहुलियत सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ब्लु क्रस अस्पताल तर्फवाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ब्लु क्रस अस्पतालका सेवाहरूमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
मार्जिन कारोबारको बाटो खुल्दा पनि लगानीकर्तामा खुसी छाएन, नेप्से ८ अंकले घट्यो
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गराएपछि पनि लगानीकर्तामा खुसी छाएको छैन । बोर्डले ब्रोकर र लगानीकर्ता आफैले ब्याजदर तोक्न सक्ने गरी उक्त कारोबारकाे लागि बाटाे खुलाएपछि पनि लगानीकर्ता उत्साहित नदेखिएको आइतबार घटेको नेप्से परिसूचकले संकेत गरेको छ । आइतबारको नेप्से परिसूचक ८.५७ अंकले घटेको छ । कारोबार शुरु भएपछि निरन्तर ओरालो लागेको परिसूचक अन्तत ११५३.०६ अंकमा अडिएको छ । परिसूचकका साथै कारोबारमा आएका अधिकांश समूह राताम्मे देखिएका छन् । सो दिन सबैभन्दा बढी जीवन बीमा समूह ३७ अंकले ओरालो लागेको छ । ट्रेडिङ् समूह सामान्य २ अंकले हरियो देखिएको छ भने बाँकी समूह राताम्मे देखिएका छन् । आइतबार कुल १६९ कम्पनीको ४१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी माछापुच्छ्रे बैंकको ५ करोड ९३ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । सो दिन बैंकको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता ११३ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी विजया लघुवित्तको सेयर मूल्य ३.८३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सानिमा इक्विटी फण्डका लगानीकर्ताले गुमाएका छन् । उक्त फण्डको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३.७९६ प्रतिशतले घटेको छ ।
कैलालीको चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा शुरु
धनगढी। कैलालीको गौरीगङ्गा नगरपालिकास्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा शुरु गरिएको छ । नगरवासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले सो आकस्मिक सेवा विस्तार गरिएको हो । चौमाला प्राथमिक स्वास्थ्य केन्द्रले अहिले भिडियो, एक्सरे, इसिजी, फार्मेसी, आकस्मिकलगायतका सेवा शुरु गरेको मेडिकल अधिकृत डा अश्विनी चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा शव परीक्षण सेवा, दन्त सेवा र सर्पदंश सेवा विस्तार गर्ने लक्ष्य लिइएको छ । सरकारको नीतिअनुसार हरेक स्थानीय तहमा एक अस्पताल हुनुपर्ने अवधारणाअनुसार सो केन्द्रलाई नै १५ श्ययाको अस्पतालका रूपमा विस्तार गर्ने सोच बनाइएको डा चौहानको भनाइ छ । आकस्मिक सेवामा एक डाक्टर, एक अहेब र एक कार्यालय सहयोगी राखिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रले फार्मेसी र आकस्मिक सेवा आन्तरिक स्रोतबाटै गरेको छ । आकस्मिक सेवा सञ्चालनका लागि केन्द्रले पाँच लाख र फार्मेसीका लागि तीन लाख रुपैयाँ आन्तरिक स्रोतबाट खर्च गरिरहेको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई आर्थिक वर्ष २०७४÷७५ मा गौरीगङ्गा नगरपालिकाले एम्बुलेन्स खरीदका लागि रु ११ लाख विनियोजन गरेको नगर प्रमुख भीमबहादुर देउवाले बताए। । केन्द्रले बिरामी पर्चा, स्वास्थ्य बीमा कार्यक्रम, एक्सरे सेवा, प्रयोगशाला, ओजीटीलगायतबाट वार्षिक झण्डै रु सात लाख आम्दानी गर्दै आएको छ । केन्द्रलाई गत आर्थिक वर्षमा सङ्घीय स्वास्थ्य मन्त्रालयले सेवा सुदृढीकरण शीर्षकमा रु तीन लाख उपलब्ध गराए पनि यस आर्थिक वर्षमा भने विनियोजन नगरेको जनाएको छ । रासस
पालुङ्गमा कृषि विकास बैंकको सहयोगमा यात्रु प्रतिक्षालय
काठमाडौं । कृषि विकास बैंकले मकवानपुरका पालुङ्गमा यात्रु प्रतिक्षालय निर्माणमा आर्थिक सहयोग गरेको छ । थाहा नगरपालिकाको ओखरबजारमा कृषि विकास बैंंकको रु. १ लाख तथा स्थानियको सहयोगरजनश्रमदानबाट यात्रु प्रतिक्षालयको निर्माण भएको हो । नगर प्रमुख लवशेर विष्ट र बैंकको क्षेत्रीय कार्यालयका निर्देशक बाबुकाजी थापाले संयुक्त रुपमा उक्त प्रतिक्षालयको उद्घाटन गरेका छन् । बैंकका क्षेत्रीय निर्देशक बाबुकाजी थापाले यस प्रकारको सहयोग गर्न सकेकोमा प्रसन्नता व्यक्त गर्दै स्थानिय जनतालाई बैकले ल्याएको विभिन्न अत्याधुनिक सुविधा उपभोग गर्न अनुरोध गरे । उक्त कार्यक्रममा बैंकका वित्त तथा लेखा विभागका विभागिय प्रमुख श्री यज्ञ प्रकाश न्यौपाने, शाखा पालुंगका प्रबन्धक लगायत सम्पुर्ण कर्मचारी, उपमेयर खडग गोपाली, उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा प्रतिक्षालय निर्माणमा सहयोग गर्ने बैक तथा अन्य दाताहरुलाई सम्मान स्वरुप प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।