विकासन्युज

रेमिट्यान्स घट्दा पनि शोधनान्तर स्थिति साढे १४ अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४.९ प्रतिशतले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स घट्दा पनि शोधनान्तर स्थिति १४ अर्ब ४३ करोड रुपैयाँ बचत रहेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३.७ प्रतिशतले घटेसँगै यसको असर रेमिट्यान्समा देखिएको हो । गएको आवको सोही अवधिभन्दा रेमिट्यान्स ३४.८ प्रतिशतले घटेको थियो । गत आवको सोही अवधिको तुलनामा देश भित्र भित्रने रेमिट्यान्स दर भने बढेको छ । गत आवको सोही अवधिको तुलनामा यस आवमा आयात घट्न गएको छ भने रेमिट्यान्स वृद्धि दरमा सुधार आएको छ । साथै  निर्यात बढेकाे छ  । साथै वैदेशिक लगानीमा समेत सुधार आउँदा यसको प्रत्यक्ष असर शोधनान्तरमा देखिएको हो । मुलुकबाट भित्रिने र बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ । गएको आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ अर्ब ४२ करोड घाटामा रहेको शोधनान्तर चालु आवमा बचतमा देखिएको छ । यस वर्षको सो अवधिमा १४ अर्ब ४३ करोड बचतमा रहेको छ । गएको आवको तुलनामा यस आवमा आयात घट्दा र निर्यात बढ्दा यसकाे असर शोधनान्तर बचतमा  देखिएकाे हो । यस वर्ष निर्यात बढेको छ । यसले पनि शोधनान्तर बचत बढाउन सहयोग गरेको हो । आयातको तुलनामा निर्यात बढेकोले मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको राष्ट्र बैंकले जानकारी  दिएकाे छ । चालु आर्थिक वर्षको ३ महिना वस्तु निर्यात १४.४ प्रतिशतले वृद्धि भई २७ अर्ब १७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थितिमा उल्लेख गरिएकाे छ । चालु आवको पहिलो तीन महिनामा १०.३ प्रतिशतले आयात घटेर तीन खर्ब ३४ अर्ब ९५ करोडमा सीमित भएको छ । सामान्यतयाः देशमा भित्रने भन्दा बाहिरिने रकम बढी भएको खण्डमा शोधनान्तर घाटामा जाने गर्दछ । अहिले शोधनान्तर बचतको अवस्था छ । विदेशी मुद्राकाे प्रर्याप्ततामा निर्भर हुने शोधनान्तर स्थिति बचतमा हुँदा अमेरिकी डलरमा शोधनान्तर बचत रहेको छ । यो अवधिमा शोधनान्तरमा १२ करोड ७८ लाख अमेरिकी डलर बचत रहेको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । यद्यपि अमेरिकी डलरमा प्राप्त हुने विप्रेषण आप्रवाह पनि ४.६ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ३.७ प्रतिशतले कमी आई २६० अर्ब ७७ करोड कायम भएको छ । बढदै विदेशी मुद्रा संचिति शोधनान्तरमा सुधार आएसँगै विदेशी मुद्राको संचिति पनि बढ्दै गएको छ । गत आवको अन्त्य(असार मसान्त)मा १०३८ अर्ब ९२ करोड विदेशी मुद्रा संचिति रहेकोमा अहिले १०८७ अर्ब ७३ करोड पुगेको छ । सो अवधिमा ४ करोड अमेरिकी डलर संचिति बढेर ९ अर्ब ५४ करोड पुगेको छ ।

‘राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा’ ६ गतेदेखि शुरू, २०४ जना सहभागी हुने

काठमाडौं । काठमाडौंबाट सुरु हुने राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको तयारी पुरा भएको छ । उक्त साइकलयात्राको उद्घाटन शुक्रबार पशुपतिनाथ मन्दिर परिषरबाट पर्यटनमन्त्री योगेश भट्टराईले गर्ने भएका छन् । समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष उल्लेख्य सहभागिता हुने भएको छ । राइड थ्रु सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीका अनुसार १६७ जना साइकलयात्री सहभागी हुने भएका छन् । त्यसमा पुरुष १ सय ४८ जना र महिला १८ जना हुनेछन् । यात्रामा सहयोगीसहित २ सय ४ जना सहभागी हुनेछन् । यस वर्ष संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको हो । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको संपूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिएका छन् । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार वर्षदेखि राइड थ्रु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । यस वर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन्, आयोजक समृद्द सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, हाम्रो साइकलयात्राले अन्तराष्ट्रिय पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो । संयुक्त राष्ट्र संघले लैङ्गिक विभेद विरुद्धको १६ दिने अभियानकै सन्दर्भ पारेर यात्रामा महिला सहभागिता बढाउन साइकल यात्रीलाई प्रायोजन गरेको हो । यस वर्ष मंसिर ९ गते (नोभेम्बर २५) देखि लैंगिक विभेदविरुद्धको अभियान सुरु हुँदैछ । पहिलो वर्ष सिन्धुलीगढीसम्म लगिएको साइकल यात्रा दुई वर्षदेखि जनकपुरसम्म विस्तार गरिएको छ । यस वर्षको साइकल यात्रा मंसिर ६ गतेदेखि ९ सम्म ४ दिन हुने छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउँदै आएको छ । साइकल यात्रामा अभियानले प्रदेश नम्बर ३ सँग सहकार्य गरेको छ । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रालाई विश्व साइकलयात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्नेछन् । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु हुने साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, सेना, प्रहरी, विद्यालयहरुले साइकल यात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविरलगायतको ब्यवस्था गरेर भव्य स्वागत गर्ने तयारी गरेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिकाले मंसिर ७ गते साइकल यात्रीको स्वागतमा सुनकोशी महोत्सव गर्ने भएको छ । साइकल यात्री पहिलो दिन सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । त्यहाँ भव्य सांस्कृतिक कार्यक्रम हुने छ । दोस्रो दिन साइकल यात्रीको स्वागतमा जुनार उत्पादन क्षेत्र सिन्धुलीको खनियाँखर्कमा जुनार महोत्सव हुने छ । त्यहाँ प्रदेश नम्बर ३ का पर्यटन मन्त्री अरुण नेपालले साइकलयात्रीको स्वागत गर्नुका साथै जुनार महोत्सवको उद्घाटन गर्नेछन् । त्यसपछि साइकल यात्रीले ऐतिहासिक सिन्धुली गढी पुगेर त्यहाँका सम्पदाको अवलोकन गर्नेछन् । त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकल यात्रीहरु सिन्धुली कला घरले गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोक संस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । त्यहाँ २ नम्बर प्रदेश सरकारका उच्च अधिकारीहरुले साइकलयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ । चौथो दिन बिहान जनकपुरमा स्थानीयसमेत १ हजार ५ सय साइकलयात्रीले नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ । काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर साइकल यात्री जनकपुरसम्म पुग्ने छन् । अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी हुँदै जोड्ने छ । राइड थ्रु सिन्धुलीगढीले पहाडलाई तराईंसँग र २ नम्बर प्रदेशलाई २ नम्बर प्रदेशसँग भावनात्मक रुपले जोड्ने छ, साइकलयात्रा आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने । तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्ने अभियानको योजना रहेकाे छ ।

नेपाल इन्जिनियरिंग कलेजमा समुदाय प्रहरी समिति गठन

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ । कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो । नेपाल इन्जिनियरिंग कलेज (नेक) मा बिहीबार भएको बृहत भेलाले समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा कलेज रहेको दुवाकोटस्थित महानगरीय प्रहरी प्रभाग दुवाकोट भक्तपुरका असई निमबहादुर घर्तीमगर रहेका छन् । समितिका सदस्यहरुमा एक शिक्षक, एक अभिभावक, एक कर्मचारी, चार विद्यार्थी (दुई छात्र र दुई छात्रा गरी) रहेका छन् । समितिमा शिक्षककोतर्फबाट शंकल्प पोखरेल, अभिभाबककोतर्फबाट धिरजकुमार दास र कर्मचारीकोतर्फबाट सकुन्तला प्रधान रहेका छन् । समितिमा चार जना विद्यार्थी रहेका छन् । समिति गठन अघि महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले समिति गठनको उद्देश्यबारे स्पष्ट पारेका थिए । समुदाय प्रहरी मिलेर शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समिति गठन गरिएको उनले बताए । नेपाल प्रहरीले हर प्रहर, गाउँं र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने नाराका साथ शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम चलाइरहेको जानकारी उनले दिए । नेपाल प्रहरीले नेपाल प्रहरी, स्थानीय तह, सुमदाय, सामाजिक संस्था, विद्यालय, मिडियासँंग यस क्रममा सहकार्य गर्दै आएको उनले बताए । कार्यक्रममा नेपाल इन्जिनियरिंग कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठ, कलेजका एकेडेमिक कोअर्डिनेटर प्रा मोहनध्वज केसीलगायतले बोलेका थिए । कार्यक्रममा कलेजका तीन सय विद्यार्थी, एक सय ५० शिक्षक कर्मचारी गरी झण्डै चार सय ५० जना जतिको भव्य सहभागिता रहेको थियो । कार्यक्रममा महानगरीय प्रहरी प्रभाग दुवाकोट भक्तपुरबाट पनि प्रहरी सहभागी रहेका थिए ।

‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी

काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी रहेको छ । धेरै चालकले अनुमतिपत्र नपाएको गुनासो गरिरहँदा छापिसकेको चालक अनुमतिपत्र भने लिन सेवाग्राही कार्यालय पुगेका छैनन् । छापिसकेका कार्ड लिन सेवाग्राही नआउँदा कार्यालयलाई व्यवस्थापन गर्न कठिन भएको प्रमुख डम्मरबहादुर चन्दले बताए । उनका अनुसार दैनिक सेवाग्राही कार्ड लिन आउँदा तीनै कार्ड पल्टाएर खोज्नुपर्नै अवस्था छ । दुई वर्ष वा त्योभन्दा पहिले छापिएका कार्डसमेत कार्यालयमा त्यसै थन्किएको छ । उनले भने, “हामीले विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि सेवाग्राही लिन आइरहेका छैनन् ।” कार्यालयमा एकाथरी सेवाग्राही कार्ड नछापिएको भन्दै गुनासो गर्न आइपुग्ने गरेका छन् । उनीहरु दैनिक ‘मेरो कार्ड छापियो कि छैन’ भन्दै आउने गरेका छन् भने कार्ड छापिसकेका सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन हुने गरेको चन्दको भनाइ छ । देशभरमा झण्डै साढे सात लाख चालक अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी सङ्ख्यामा चालक अनुमतिपत्र वितरण गर्न बाँकी यही कार्यालयको रहेको छ । कार्यालयले विभागले छापिसकेको कार्ड दैनिक ल्याएर सकेसम्म चाँडो वितरण गर्दै आएको कार्यालयले जनाएको छ । उनले भने, “उताबाट छाप्नै बाँकी कार्ड किन नछापेको भन्दै सेवाग्राही हामीसँग रिसाउने गरेका छन् ।” संविधानका अनुसार यातायातको व्यवस्थानको जिम्मेवारी प्रदेश सरकारको हो । प्रदेश सरकार आफैँले ‘प्रिन्टर’ खरीद गरेर छपाइ गर्न शुरु नगरेकाले अहिलेसम्म विभागले नै देशभरका प्रदेश कार्यालयको चालक अनुमतिपत्र छाप्दै आएको छ । रासस

हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै

सिन्हा । राजनीतिक अस्थिरताका कारण हाइटीमा लामो समयदेखि विरोध प्रदर्शनहरु जारी रहेका छन् । जसका कारण यहाँ खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ । राजनीतिक अस्थिरताका कारण यहाँ महिना दिन भन्दा लामो समयदेखि सरकारका विरुद्धमा प्रदर्शनहरु जारी रहेका छन् । यसका कारण हाइटीमा खाद्यान्नको कमी हुने खतरा बढेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ । यही विरोध प्रदर्शनका कारण यहाँ गएको सेप्टेम्बरको मध्यदेखि व्यापार व्यावसायका साथै विद्यालय, विश्वविद्यालयहरु पनि बन्द नै रहेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले दिएको जानकारीअनुसार हाइटीमा खाद्य असुरक्षाको अवस्था बढ्दै छ । महिनौ लामो आन्दोलनका कारण यहाँको अवस्था अस्तव्यस्त भएको, दैनिक प्रशासन सञ्चालनका साथै उत्पादन र बन्द व्यापारको काम पनि हुन नसकिरहेको अवस्थामा देशको अवस्था नाजुक बन्दै गएकोले यहाँका लाखौँ मानिस खाद्यान्नको अभावको समस्यामा पर्न सक्ने उनले बताए । उनले हाइटीका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका र आगामी समयमा यो समस्या अझ थपिँदै जाने बताएका छन् । प्राप्त समाचारअनुसार अहिले पनि यहाँका ठूलो संख्याका नागरिक खाद्यान्न अभावको समस्यामा परेका छन् । संयुक्त राष्ट्रसंघले हालै प्रकाशन गरेको इन्टिग्रेटेड फेज क्लासिफिकेसन (आइपिसी) प्रतिवेदनमा यस्तो अवस्था रहेको पाइएको छ । उक्त प्रतिवेदनमा हाल करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका छन् । जसका कारण यहाँ खाद्यान्नको समस्या आगामी केही दिनमै संकटपूर्ण रुपमा बढ्ने देखिएको छ । उक्त प्रतिवेदनले विश्वव्यापी रुपमा खाद्यान्नको समस्या के कस्तो छ र त्यसका कारणहरु के हुन् भनी पत्ता लगाउने प्रणाली बमोजिम तयार पारिएको हो । सो प्रतिवेदनले हाइटीमा खाद्यान्न अभावको समस्या एकपछि अर्को गरी बढ्दै गएकोले यसको समाधानका लागि विशेष कदम चाल्नुपर्ने सुझाव दिएको छ । आगामी मार्च महिनासम्ममा यहाँ कम्तीमा पनि ४० लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्नसक्ने उक्त प्रतिवेदनले औल्याएको छ । यसैकारण संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले हाइटीको यो अवस्था अत्यन्तै संकटपूर्ण अवस्था भएकोले यसका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताएको छ । यहाँको संकटको समाधानका लागि केही न केही उपाय अवलम्बन गर्न पनि विश्व खाद्य कार्यक्रमले सबैसँग आग्रह गरिरहेको छ । रासस

रासायनिक मलमा कालोबजारी, किसान सधैं मारमा

वीरगञ्ज । सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेपछि पर्सागढी नगरपालिका–४ का किसान रामविनय चौधरी यसपाली पनि गहुँ खेती प्रभावित हुने भयले चिन्तित छन् । नगरपालिकाको सोही वडामा सरकारी अनुदानको रासायनिक मल बिक्री गर्ने तीन सहकारी संस्था रहेपनि चौधरीले रासायनिक मल नपाउनुको एउटै कारण हो सहकारी संस्थाले बढी मूल्यमा व्यापारीलाई उक्त रासायनिक मल बेच्नु कालोबजारी हुनु हो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले पर्सामा रहेका आफ्ना ९० वटा सहकारी डिलरमार्फत पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउँदै आएका छन् । पर्साको सुदूर ग्रामीण इलाकामा सहकारी संस्था ढुवानी तथा ‘लोडअनलोड’कै नाममा बढी खर्च हुने बहाना बनाउँदै तोकेको मूल्य भन्दा बढीमा अन्यत्र बेच्ने गरेकाले किसानलाई यस्तो समस्या आएको हो । कम्पनीले आफ्ना डिलरलाई ५० केजीको युरिया प्रति बोरा रु ७००, डिएपी प्रति बोरा रु दुई हजार १५० तथा पोटास प्रति बोरा रु एक हजार ५५० मा उपलब्ध गराउँदै आएको छ । डिलरले ढुवानी, लोडअनलोड तथा बाटोमा रकम दिनुपर्ने बहाना बनाइ चर्को मूल्यमा बिक्री गर्ने गरेको भएपनि किसान रासायनिक मल पाउनबाट वञ्चित छन् । सरकारी अनुदानको रासायनिक मल खरिद गर्दा डिलरले प्रति बोरा रु १२ रुपैया ५० पैसा सहुलियत पाउँदै आइरहेको भएपनि जिल्ला आपूर्ति समितिले मल ढुवानी तथा लोडअनलोड गर्दा लाग्ने खर्चसमेत गरी थोरै मुनाफा लिएर बेच्नुपर्ने निर्देशन जारी गरेको छ । कतिपय डिलरले आफूखुशी मूल्य राखेर मल बिक्री गर्ने गरेको तथा बाटोमै व्यापारीलाई बढी मूल्यमा बेच्ने गरेको गुनासो अर्का किसान रामदिन थारुको छ । डिलरले सहुलियत दरको रासायनिक मल बढी मूल्यमा बिक्री गर्ने गरेको गुनासो आएको स्वीकार्दै प्रदेश प्रमुख गोविन्दप्रसाद पराजुलीले रासससँग भने, “बढी मूल्यमा मल बेचेको लिखित उजूरी आएमा त्यस्तो डिलरलाई कारवाही गरिन्छ ।” कृषि सामग्री कम्पनी वीरगञ्जसँग हाल डिएपी दुई सय मेट्रिक टन तथा युरिया ८०० मेट्रिक टन मौज्दात छ । तेस्रो मुलुकबाट रासायनिक मल ल्याउन ग्लोबल बोलपत्र लिएका दुई वटा कम्पनी उइलसन इन्टरनेशनल ट्रेडिगङ्ले ल्याउन लागेको ३० हजार युरियामध्ये वीरगञ्जको लागि १२ हजार ५०० मेट्रिक टन र स्वीस सिङ्गापुर मल सप्लायर्सले ल्याउन लागिएको २५ हजार मेट्रिक टन युरियामध्ये १० हजार मेट्रिक टन वीरगञ्जको लागि रहेको छ । ती कम्पनीले कलकता बन्दरगाह हुँदै रेलमार्गबाट सिर्सियाको सुख्खा बन्दरगाहसम्म ल्याउछ । सो ठाउँबाट रासायनिक मल आउने क्रम शुरु भएको छ भने मङ्सिर महिनाभित्र सबै रासायनिक मल नेपाल आइपुग्ने छन् । करिब दुई साता अगाडि आइपुग्ने सो रासायनिक मल कात्तिक अन्तिम साता कलकतामा आएको चक्रवातको कारण ढिलो भएको बताइएको छ । रासस

२३ बैंककाे ४१ अर्ब लाभांश घाेषणा : १८ अर्ब पुँजी थपियाे, बाेनस शेयरमा कुन बैंक बढी आक्रामक ?

काठमाडौं । २३ ओटा वाणिज्य बैंकहरुले करिब ४१ अर्ब रुपैंया बराबरका लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७५/७६ को नाफाबाट हालसम्म लाभांश घोषणा गरेका ती बैंकहरुले ४० अर्ब ६८ करोड ४० लाख रुपैंया बराबरको नगद तथा शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सेञ्चुरी कमर्शियल बैंकले भने हालसम्म लाभांश घाेषणा गरेका छैनन् । कसले कति दिए ? अहिलेसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुले कुल ४० अर्ब ६८ करोड रुपैंया लाभांश दिने प्रस्ताव गरेका छन् । जसमध्ये १८ अर्ब २८ करोड रुपैंया बराबरकोे बोनस शेयर तथा २२ अर्ब ४१ करोड रुपैंया बराबरको नगद लाभांश दिने भनिएको छ । यो लाभांश औसतमा १८.२८ प्रतिशत हो । यो आधारमा बोनस शेयरकाे हिस्सा ४५ प्रतिशत तथा नगद लाभांश हिस्सा ५५ प्रतिशत छ । यो वर्ष सबैभन्दा बढी लाभांश लिने बैंक एनएमबि बनेको छ । याे वर्ष एनएमबिले ३५ प्रतिशत बराबरले हुने ३ अर्ब ३७ करोड रुपैंया लाभांश दिँदैछ । त्यस्तै नबिल बैंकले ३४ प्रतिशतले हुने ३ अर्ब ६ करोड रुपैंया बराबर लाभांश दिँदैछ । त्यस्तै, ग्लोबल आईएमईले २५.५ प्रतिशतले हुने २ अर्ब ६३ करोड, सिद्धार्थले २५.२६ प्रतिशतले हुने २ अर्ब ४७ करोड तथा नेपाल बैंकले २५ प्रतिशत हुनेगरी २ अर्ब ४५ करोड रुपैंया बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । एभरेष्ट बैंकले पनि २५ प्रतिशत नै लाभांश घोषणा गरे पनि पुँजी कम भएका कारण उसको लाभांश दायित्व भने २ अर्ब ३ करोड मात्रै छ । उता लाभांश घोषणा गरेकोभध्ये सबैभन्दा कम लाभांश भने सिभिल बैंकले दिँदैछ । सो बैंकले ६.५७ प्रतिशतले हुने ५३ करोड रुपैंया बराबरको  लाभांश दिँदैछ । त्यस्तै, कुमारी बैंकले १०.५२ प्रतिशतले हुने १ अर्ब १ करोड, मेगा बैंकले ११.७५ प्रतिशतले हुने १ अर्ब २३ करोड रुपैंया, नेपाल बंगलादेश बैंकले ९७ करोड रुपैंया बराबर तथा जनता बैंकको १२ प्रतिशतले हुने ९६ करोड रुपैंया बराबरको लाभांश वितरण हुँदैछ । बोनस शेयरमा कुन बैंक बढी एग्रेसिभ ? यो वर्ष सबैभन्दा बढी लाभांश दिएको एनएमबि बैंक नै सर्वाधिक बोनस घोषणा गर्ने बैंक बनेको छ । सो बैंकले २१ प्रतिशत बोनस दिँदा प्रभु बैंकले १६ प्रतिशत, नेपाल बैंकले १५ प्रतिशत, ग्लोबल आईएमई बैंकले १२.७५ प्रतिशत, नबिल बैंकले १२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १०.५० प्रतिशत बोनश शेयर घोषणा गर्दा सिद्धार्थ, हिमालयन, एनआईशी एशिया, सानिमा, सनराइज, लुम्बिनी र कुमारी बैंकले १० प्रतिशत बोनस दिँदा अरु बैंकहरुले भने १० प्रतिशत भन्दा कममात्रै बोनस शेयय घोषणा गरेका छन् । सिभिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड र मेगा बैंकले भने यो वर्ष बोनस शेयर दिएनन् । एनएमबि बैंकले सबैभन्दा बढी बोनश शेयर दिए पनि प्रतिशतका आधारमा भने प्रभु बैंक र कुमारी बैंक बोनस शेयर वितरणमा बढी एग्रेसिभ देखिए । यी दुई बैंकहरुले नगद लाभांशको रुपमा कर प्रयोजनको लागि मात्रै नगद लाभांश दिए । त्यस्तै लक्ष्मी बैंकले कुल लाभांशका २ तिहाई हिस्सा बोनसका लागि छुट्याउँदा नेपाल बैंक र एनएमबी बैंकले ६० प्रतिशत हिस्सा बोनसमा खर्च गरेका छन् । हालसम्म बोनस दिएका कम्पनीहरुमध्ये औसत बोनस शेयर भने ८.६७ प्रतिशत मात्रै छ । अहिले नै धेरै पुँजी भएको मेगा बैंक र सिभिल तथा स्ट्यान्डर्ड चार्टर्डले बोनस घोषणा नगरेकोले औसत रकम निकै कम तथा नगल लाभांश भन्दा कम देखिएको हो । १८ अर्ब पुँजी थपियो बोनस शेयरकै वाणिज्य बैंकहरुको १८ अर्ब २८ करोड रुपैंया पुँजी थपिने निश्चित भएको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुको २ खर्ब १० अर्ब ६९ रुपैंया बराबरको पुँजी थियो, यसमा १८.२८ अर्ब रुपैंया थपिँदा २ खर्ब २८ अर्ब ९७ करोड रुपैंया पुग्ने भएको हो । घोषणा नभएका ४ बैंकहरुले लाभांश घोषणा गरे भने यो आकार अझै बढ्न सक्छ ।

मारुती सिमेन्ट कारखानाको स्काभेटरमा बम विस्फोट

सिन्धुली । मारुती सिमेन्ट कारखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । गएराति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिएको जानकारीअनुसार मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्णरुपमा क्षति भएको छ । अरु एक डोजर र एक टिपरमा सामान्य क्षति पुगेको छ । मारुती सिमन्टले सिन्धुलीको दुधौली नगरपालिका– १४ ककुरठाकुरबाट कच्चा पदार्थ लैजानका लागि सडक निर्माणका क्रममा उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुर खोलामा राति रोकी राखेको स्काभेक्टरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । स्काभेक्टरमा बम विस्फोट भएको भए पनि अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन । यसैबीच हिजो दुधौली नगरपालिका– १३ अरुणठाकुरमा पनि निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको एक स्काभेटरमा आगजनी भएको थियो । निर्माण व्यवसायी बम्जनले केही दिनअघि विप्लव माओवादीका कार्यकर्ता भन्दै रु एक करोड ५० लाख चन्दा मागेको जानकारी दिएका छन् । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुधौली नगरपालिका तथा निर्माण व्यवसायीलाई रातको समयमा सवारी साधन असुरक्षित हुने महसुस भएमा नजिकको प्रहरी चौकीमा राख्न आग्रह गरिएको छ । रासस