विकासन्युज

ऊर्जा सम्मेलनः क्षेत्रीय बजारको खोजीमा सरकार र निजी क्षेत्र सँगसँगै

काठमाडौं । सरकारले घोषणा गरेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र ऊर्जाको बजार खोज्ने लक्ष्यका साथ आजदेखि ‘पावर समिट, २०१९’ शुरु गरेको छ । स्वतन्त्र ऊर्जा, उत्पादकको संस्था नेपाल (इपान)को प्रमुख आयोजना र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहयोगमा शुरु भएको सम्मेलनमा नेपाल, भूटान, बङ्गलादेश, भारत, चीन, नर्वे, अष्ट्रियालगायतका देशका प्रतिनिधि एवं लगानीकर्ता सहभागी भएका छन् । सम्मेलनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले राखेको लक्ष्यअनुसार नै मुलुकमा पछिल्लो समय लगानीको वातावरण बनेको र ऊर्जा क्षेत्रमा उल्लेखनीय परिवर्तन भइरहेको बताए । सरकारले कानूनी, नीतिगत एवं संरचनागत सुधार गरेका कारण नेपाल आकर्षक र भरपर्दो गन्तव्यका रुपमा विकास भएको भन्दै उनले बिना हिच्किचाहट लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे । सरकारले आगामी ५ वर्षमा विद्युत् उत्पादन हालको तुलनामा पाँच गुणा वृद्धि गर्ने लक्ष्य राखेको जानकारी दिँदै उनले स्वदेशको मात्रै लगानीले राष्ट्रिय लक्ष्य पूरा नहुने भएकाले विदेशी लगानीकर्तालाई खुला हृदयका साथ लगानीका लागि आमन्त्रण गरेका छन् । सरकारले विद्युत्को बजार विस्तारका लागि छिमेकी देशसँग सहकार्य थालेको र केही दीर्घकालीन सहमतिसमेत भएको उल्लेख गर्दै उत्पादन भएको विद्युत् खेर जान्छ कि भन्ने चिन्ता नगर्नसमेत आग्रह गरे । । उनले भारत, बङ्गलादेशजस्ता देशमा सहज रुपमा नेपालको विद्युत् लैजाने वातावरण बनेको र त्यसका लागि थप काम भइरहेको जानकारी दिएका छन् । सन् २०४० सम्म नेपालबाट करिब नौ हजार मेगावाट विद्युत् लैजाने रणनीतिक लक्ष्य राखेको बङ्गलादेशका ऊर्जा, खनिज राज्यमन्त्री नसरुल हमिदले दुई देशबीच विद्युत विकासमा सहकार्य गर्ने समझदारी गत वर्ष नै भएकाले सोहीअनुसार काम भइरहेकामा प्रसन्नता व्यक्त गरेका छन् । उनले भने, “नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने समझदारीअनुसार नै द्विपक्षीय छलफल भइरहेको छ । दुवै देशका प्राविधिक टोलीको दुईपटक बैठकसमेत भइसकेको छ । हामी थप अगाडि बढ्न चाहन्छौँ ।” उनले नेपालबाट बङ्गलादेशमा विद्युत् लैजाने मार्गप्रशस्त हुँदै गएकामा प्रशन्नता व्यक्त गरे । दुई देशबीचको ऊर्जा व्यापारमा भारतको सहयोग रहने उनको भनाइ थियो । सम्मेलनमा सहभागी हुन आएका भूटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्माले नेपाल र भूटान जलविद्युत् उत्पादनका हिसाबले दक्षिण एशियाका लागि ‘पावर हाउस’ भएको चर्चा गर्दै मिलेर काम गर्न आफूहरु तयार रहेको बताए । भूटान र नेपालको विद्युत् पहिलो बजार भारत भएकाले विद्युत् निर्यात गरेर त्यसबाट फाइदा लिन सकिने उनको भनाइ थियो । आर्थिक विकासको मेरुदण्ड पनि जलविद्युत् नै भएकाले त्यसमा दुई देशबीच सहकार्य गर्नु जरुरी रहेको मन्त्री शर्माको भनाइ थियो । नेपालले विद्युत् विकासमा राखेको लक्ष्य पूरा गर्न विदेशी लगानी अपरिहार्य रहेको नेदरल्याण्ड विकास नियोग (एफएमओ) का प्रमुख लगानी अधिकृत लिन्डा ब्रोइखजेनको भनाइ थियो । आफ्नो संस्थाले भूटान तथा बङ्गलादेशमा पनि लगानी गरिरहेको जानकारी दिँदै उनले नेपालको जलविद्युत् विकासमा पनि थप लगानी गर्ने इच्छा प्रकट गरेका छन् । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले विद्युत्को बजार खोज्न यस सम्मेलन सार्थक बन्ने उल्लेख गरे। नेपालमा उत्पादन भएको विद्युत् देशमा खपत गर्ने र बाँकी रहेको विद्युत् क्षेत्रीय बजारसम्म पुर्याउन आफूहरु पनि सरकारसँगै लागिपरेको उनको धारणा थियो । इपानका उपाध्यक्ष कुमार पाण्डेले विद्युत् विकास तथा बजार विस्तार गर्न द्विपक्षीय तथा त्रिपक्षीय समझदारी आवश्यक रहेको बताए । “हामी निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्दै विद्युत्को बजार खोज्ने प्रयास गरिरहेका छौँ, सरकारले हामीलाई पनि मार्गदर्शन गर्छ भन्ने विश्वास छ”, उपाध्यक्ष पाण्डेलले भने। सम्मेलन शुक्रबारसम्म चल्नेछ । सम्मेलनमा नेपाललगायत विभिन्न देशका सात प्रतिनिधिको सहभागिता रहेको उपाध्यक्ष पाण्डेले जानकारी दिएका छन्।

गरिबी तथा बेरोजगारीको आवाज उठाउने वाचाका साथ ट्याक्सीमा प्रस्थान निवर्तमान मन्त्री विष्ट

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गरिबी तथा बेरोजगारी युवाको अभावका बारेमा सधै आवाज उठाउने प्रतिवद्धता साथ भाडाको ट्याक्सीमा घर फर्किएका छन् । विहीबार मन्त्रालयका भएको नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई शुभकामना तथा विदाई कार्याक्रमबाट घर भाडाकाे ट्याक्सीमा फर्किएका हुन् । कार्याक्रमलाई सम्बोधन गर्दै विष्ट भने ‘पद अस्थायी रुप हो, हामीले राष्ट्र सेवकको भूमिका र कर्तव्यनिष्ट भएर काम गर्नु पर्छ ।’ सत्तामा मात्र नभई देशको सवृद्धिका लागि आगामी दिनमा आत्मविश्वका साथ लाग्ने बताए । ‘मन्त्री बन्नकै लागि मैले राजनितिक गरेको होइन, २० महिना अगाडी प्रधानमन्त्रीले दास्रो पटक मन्त्रीको जिम्मेवारी दिनुभयो, सो अवधि भित्रका हरेक क्रियाकलापलाई मनन गर्दै उहाँप्रति कृतज्ञता व्यक्त गर्छु ।’ श्रममन्त्री रामेश्वर रायलाई बधाई तथा कार्यकाल शुभकामना दिँदै निर्माण भएका निति तथा नियमलाई कडाइका साथ लागु गर्दै वैदेशिक रोजगारका लागि फाटेको जुत्ता र कपडा लगाएर म्यानपावर धाउँनु पर्ने बाध्यतासँगै व्यवसायीबाट ठगिने लाखौं गरिब युवाको समस्यालाई बुझेर आफुले बनाएको निति सफल रुपमा कार्य गर्ने आशा व्यक्त गरे । वैदेशिक रोजगारका क्षेत्रमा भएको नयाँ निति तथा केहि सुधारका काम भएसँगै वेरोजगार युवालाई लक्षित गरि निर्माण गरिएको प्रधानमन्त्री रोजगार कार्याक्रम सफल आगामी दिन नवनियुक्त श्रममन्त्री राय यादवले सफल बनाउने आशा व्यक्त गरेका हुन् । निवर्तमान मन्त्री विष्ट वि.सं २०६८ सालमा उर्जा भएका थिए । त्यो समयमा पनि उर्जा क्षेत्रमा भएको नराम्रा गतिविधिलाई हटाउने प्रायस गरेका थिए ।

चीनमा सञ्जाल जोड्दै हिमालय एयरलाइन्सः हरेक बुधबार काठमाडौंबाट चाङ्साका लागि उडान भर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंदेखि चीनको चाङ्सालाई जोड्ने थप अर्काे सेवा उपलब्ध गराउने भएको छ । चाङ्सा मध्य चीनको हुनान प्रान्तको राजधानी हो । नेपाल भ्रमण वर्ष २०२० शुरु हुनु अघि नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकहरुको प्रवद्र्धन गर्ने र पहिचान बढाउने उद्देश्य राखेको छ । यो नयाँ सेवाका साथ नेपालीहरु सहज, किफायती र सिधा सम्पर्कबाट चीनको नयाँ गन्तव्यस्थल पुग्न सक्नेछन् । गुइयाङको ठीक पछि, हिमालयले काठमाडौं र चाङ्सा बीचको नयाँ उडान रुट प्रस्तुत गरेको छ । प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्ने चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहर मध्येको एक हो । हिमालय एअरलाइन्सको विमानले हरेक बुधबार काठमाडौंबाट चाङ्सका लागि उडान भर्नेछ र सोहि दिन फर्केने छ । हिमालय एअरलाइन्स यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स हो । उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ४ गते स्थानीय समय ११ः०३ मा चाङ्साका लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १७ः१९ मा अवतरण गरेको छ । आवागमन उडान चाङ्साको हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः२८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय २१ः२३ मा अवतरण गरेको छ । चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा लिने गरेको छ जुन विगतका केही वर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही वर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ । गुईयाङ–काठमाडौं नयाँ सञ्जाल सँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पु¥याउने विश्वास र आशा राखेको छ । । अब यात्रुहरुका लागि नेपाल चीनबीच दुईवटा थप नयाँ प्रवेशद्वार हुनेछ । हालसम्म घोषणा गरिएका रुटहरु हिमालय एयरलाइन्सको सञ्जाल विस्तार गर्ने भविष्यका धेरै सम्भावनहरु मध्येको एक हो जसले नयाँ रुट तथा स्पष्ट बार्षिक उडान तालिकाहरु उपलब्ध गराएको छ ।” काठमाडौं–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो तवरबाट योगदान दिने र नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धलाई सबै सम्भावित पक्षबाट बलियो बनाउनेछ ।

दाेस्रो आन्तरिक पर्यटन मेला काठमाडौंमा, व्यापारिक प्रयोजनका १५० स्टल

काठमाडौं । डोमेस्टिक टुरिजम मार्टले फागुन ९ र १० गते (फ्रेबु्रअरी २१,२२) मा दोस्रो आन्तरिक पर्यटन मेला गर्ने भएकाे छ । मार्टकाे आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त मेलामा देशभरिका सबै पर्यटकीय स्थलको प्रदर्शन तयारी गरिएकाे हाे । पहिला देश अनि विदेश भन्ने नाराका साथ हुने उक्त मेलामा नेपाल  भित्र लुकेर रहेका पर्यटकीय गन्तव्यकाे दृश्य अवलाेकन गर्न सकिने छ । सो मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी, खानाको परिकार झल्किने गरी फुड स्टल समेत रहने पाइन्छ । मेलामा ग्राहकहरुले आफुले चाहेको वस्तुहरु खरिद गर्न सक्ने छन् । मेलामा लाखौ दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । मेलामा हस्तकला सामाग्री, आफ्नै जिल्लामा उत्पादित खाद्य सामाग्री, पर्यटकीय क्षेत्रका होटल, ट्राभल, ट्रेकिङ, एयरलाइन्स, प्याकेज टुरका साथै पर्यटकीय क्षेत्रमा सक्रिय रहेका निजि कम्पनी तथा संघसंस्थाहरुले स्टल राख्ने छन् । साे मेलाको प्रमुख उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने रहेको छ । साथै, ७ वटै प्रदेशबाट संयोजक बनाउने तथा सहयोगी संघ संस्थाहरुबाट १ सय ५० वटा स्टलहरुलाई मध्यनजर गर्दै डीटीएम एक्सिलेन्ट अवार्ड समेत प्रदान गरिने डोमेस्टिक टुरिजमका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

रेमिट्यान्स घट्दा पनि शोधनान्तर स्थिति साढे १४ अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४.९ प्रतिशतले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स घट्दा पनि शोधनान्तर स्थिति १४ अर्ब ४३ करोड रुपैयाँ बचत रहेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३.७ प्रतिशतले घटेसँगै यसको असर रेमिट्यान्समा देखिएको हो । गएको आवको सोही अवधिभन्दा रेमिट्यान्स ३४.८ प्रतिशतले घटेको थियो । गत आवको सोही अवधिको तुलनामा देश भित्र भित्रने रेमिट्यान्स दर भने बढेको छ । गत आवको सोही अवधिको तुलनामा यस आवमा आयात घट्न गएको छ भने रेमिट्यान्स वृद्धि दरमा सुधार आएको छ । साथै  निर्यात बढेकाे छ  । साथै वैदेशिक लगानीमा समेत सुधार आउँदा यसको प्रत्यक्ष असर शोधनान्तरमा देखिएको हो । मुलुकबाट भित्रिने र बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ । गएको आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ अर्ब ४२ करोड घाटामा रहेको शोधनान्तर चालु आवमा बचतमा देखिएको छ । यस वर्षको सो अवधिमा १४ अर्ब ४३ करोड बचतमा रहेको छ । गएको आवको तुलनामा यस आवमा आयात घट्दा र निर्यात बढ्दा यसकाे असर शोधनान्तर बचतमा  देखिएकाे हो । यस वर्ष निर्यात बढेको छ । यसले पनि शोधनान्तर बचत बढाउन सहयोग गरेको हो । आयातको तुलनामा निर्यात बढेकोले मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको राष्ट्र बैंकले जानकारी  दिएकाे छ । चालु आर्थिक वर्षको ३ महिना वस्तु निर्यात १४.४ प्रतिशतले वृद्धि भई २७ अर्ब १७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थितिमा उल्लेख गरिएकाे छ । चालु आवको पहिलो तीन महिनामा १०.३ प्रतिशतले आयात घटेर तीन खर्ब ३४ अर्ब ९५ करोडमा सीमित भएको छ । सामान्यतयाः देशमा भित्रने भन्दा बाहिरिने रकम बढी भएको खण्डमा शोधनान्तर घाटामा जाने गर्दछ । अहिले शोधनान्तर बचतको अवस्था छ । विदेशी मुद्राकाे प्रर्याप्ततामा निर्भर हुने शोधनान्तर स्थिति बचतमा हुँदा अमेरिकी डलरमा शोधनान्तर बचत रहेको छ । यो अवधिमा शोधनान्तरमा १२ करोड ७८ लाख अमेरिकी डलर बचत रहेको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । यद्यपि अमेरिकी डलरमा प्राप्त हुने विप्रेषण आप्रवाह पनि ४.६ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ३.७ प्रतिशतले कमी आई २६० अर्ब ७७ करोड कायम भएको छ । बढदै विदेशी मुद्रा संचिति शोधनान्तरमा सुधार आएसँगै विदेशी मुद्राको संचिति पनि बढ्दै गएको छ । गत आवको अन्त्य(असार मसान्त)मा १०३८ अर्ब ९२ करोड विदेशी मुद्रा संचिति रहेकोमा अहिले १०८७ अर्ब ७३ करोड पुगेको छ । सो अवधिमा ४ करोड अमेरिकी डलर संचिति बढेर ९ अर्ब ५४ करोड पुगेको छ ।

‘राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा’ ६ गतेदेखि शुरू, २०४ जना सहभागी हुने

काठमाडौं । काठमाडौंबाट सुरु हुने राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको तयारी पुरा भएको छ । उक्त साइकलयात्राको उद्घाटन शुक्रबार पशुपतिनाथ मन्दिर परिषरबाट पर्यटनमन्त्री योगेश भट्टराईले गर्ने भएका छन् । समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष उल्लेख्य सहभागिता हुने भएको छ । राइड थ्रु सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीका अनुसार १६७ जना साइकलयात्री सहभागी हुने भएका छन् । त्यसमा पुरुष १ सय ४८ जना र महिला १८ जना हुनेछन् । यात्रामा सहयोगीसहित २ सय ४ जना सहभागी हुनेछन् । यस वर्ष संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको हो । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको संपूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिएका छन् । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार वर्षदेखि राइड थ्रु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । यस वर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन्, आयोजक समृद्द सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, हाम्रो साइकलयात्राले अन्तराष्ट्रिय पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो । संयुक्त राष्ट्र संघले लैङ्गिक विभेद विरुद्धको १६ दिने अभियानकै सन्दर्भ पारेर यात्रामा महिला सहभागिता बढाउन साइकल यात्रीलाई प्रायोजन गरेको हो । यस वर्ष मंसिर ९ गते (नोभेम्बर २५) देखि लैंगिक विभेदविरुद्धको अभियान सुरु हुँदैछ । पहिलो वर्ष सिन्धुलीगढीसम्म लगिएको साइकल यात्रा दुई वर्षदेखि जनकपुरसम्म विस्तार गरिएको छ । यस वर्षको साइकल यात्रा मंसिर ६ गतेदेखि ९ सम्म ४ दिन हुने छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउँदै आएको छ । साइकल यात्रामा अभियानले प्रदेश नम्बर ३ सँग सहकार्य गरेको छ । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रालाई विश्व साइकलयात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्नेछन् । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु हुने साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, सेना, प्रहरी, विद्यालयहरुले साइकल यात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविरलगायतको ब्यवस्था गरेर भव्य स्वागत गर्ने तयारी गरेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिकाले मंसिर ७ गते साइकल यात्रीको स्वागतमा सुनकोशी महोत्सव गर्ने भएको छ । साइकल यात्री पहिलो दिन सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । त्यहाँ भव्य सांस्कृतिक कार्यक्रम हुने छ । दोस्रो दिन साइकल यात्रीको स्वागतमा जुनार उत्पादन क्षेत्र सिन्धुलीको खनियाँखर्कमा जुनार महोत्सव हुने छ । त्यहाँ प्रदेश नम्बर ३ का पर्यटन मन्त्री अरुण नेपालले साइकलयात्रीको स्वागत गर्नुका साथै जुनार महोत्सवको उद्घाटन गर्नेछन् । त्यसपछि साइकल यात्रीले ऐतिहासिक सिन्धुली गढी पुगेर त्यहाँका सम्पदाको अवलोकन गर्नेछन् । त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकल यात्रीहरु सिन्धुली कला घरले गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोक संस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । त्यहाँ २ नम्बर प्रदेश सरकारका उच्च अधिकारीहरुले साइकलयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ । चौथो दिन बिहान जनकपुरमा स्थानीयसमेत १ हजार ५ सय साइकलयात्रीले नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ । काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर साइकल यात्री जनकपुरसम्म पुग्ने छन् । अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी हुँदै जोड्ने छ । राइड थ्रु सिन्धुलीगढीले पहाडलाई तराईंसँग र २ नम्बर प्रदेशलाई २ नम्बर प्रदेशसँग भावनात्मक रुपले जोड्ने छ, साइकलयात्रा आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने । तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्ने अभियानको योजना रहेकाे छ ।

नेपाल इन्जिनियरिंग कलेजमा समुदाय प्रहरी समिति गठन

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ । कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो । नेपाल इन्जिनियरिंग कलेज (नेक) मा बिहीबार भएको बृहत भेलाले समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा कलेज रहेको दुवाकोटस्थित महानगरीय प्रहरी प्रभाग दुवाकोट भक्तपुरका असई निमबहादुर घर्तीमगर रहेका छन् । समितिका सदस्यहरुमा एक शिक्षक, एक अभिभावक, एक कर्मचारी, चार विद्यार्थी (दुई छात्र र दुई छात्रा गरी) रहेका छन् । समितिमा शिक्षककोतर्फबाट शंकल्प पोखरेल, अभिभाबककोतर्फबाट धिरजकुमार दास र कर्मचारीकोतर्फबाट सकुन्तला प्रधान रहेका छन् । समितिमा चार जना विद्यार्थी रहेका छन् । समिति गठन अघि महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले समिति गठनको उद्देश्यबारे स्पष्ट पारेका थिए । समुदाय प्रहरी मिलेर शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समिति गठन गरिएको उनले बताए । नेपाल प्रहरीले हर प्रहर, गाउँं र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने नाराका साथ शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम चलाइरहेको जानकारी उनले दिए । नेपाल प्रहरीले नेपाल प्रहरी, स्थानीय तह, सुमदाय, सामाजिक संस्था, विद्यालय, मिडियासँंग यस क्रममा सहकार्य गर्दै आएको उनले बताए । कार्यक्रममा नेपाल इन्जिनियरिंग कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठ, कलेजका एकेडेमिक कोअर्डिनेटर प्रा मोहनध्वज केसीलगायतले बोलेका थिए । कार्यक्रममा कलेजका तीन सय विद्यार्थी, एक सय ५० शिक्षक कर्मचारी गरी झण्डै चार सय ५० जना जतिको भव्य सहभागिता रहेको थियो । कार्यक्रममा महानगरीय प्रहरी प्रभाग दुवाकोट भक्तपुरबाट पनि प्रहरी सहभागी रहेका थिए ।

‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी

काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी रहेको छ । धेरै चालकले अनुमतिपत्र नपाएको गुनासो गरिरहँदा छापिसकेको चालक अनुमतिपत्र भने लिन सेवाग्राही कार्यालय पुगेका छैनन् । छापिसकेका कार्ड लिन सेवाग्राही नआउँदा कार्यालयलाई व्यवस्थापन गर्न कठिन भएको प्रमुख डम्मरबहादुर चन्दले बताए । उनका अनुसार दैनिक सेवाग्राही कार्ड लिन आउँदा तीनै कार्ड पल्टाएर खोज्नुपर्नै अवस्था छ । दुई वर्ष वा त्योभन्दा पहिले छापिएका कार्डसमेत कार्यालयमा त्यसै थन्किएको छ । उनले भने, “हामीले विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि सेवाग्राही लिन आइरहेका छैनन् ।” कार्यालयमा एकाथरी सेवाग्राही कार्ड नछापिएको भन्दै गुनासो गर्न आइपुग्ने गरेका छन् । उनीहरु दैनिक ‘मेरो कार्ड छापियो कि छैन’ भन्दै आउने गरेका छन् भने कार्ड छापिसकेका सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन हुने गरेको चन्दको भनाइ छ । देशभरमा झण्डै साढे सात लाख चालक अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी सङ्ख्यामा चालक अनुमतिपत्र वितरण गर्न बाँकी यही कार्यालयको रहेको छ । कार्यालयले विभागले छापिसकेको कार्ड दैनिक ल्याएर सकेसम्म चाँडो वितरण गर्दै आएको कार्यालयले जनाएको छ । उनले भने, “उताबाट छाप्नै बाँकी कार्ड किन नछापेको भन्दै सेवाग्राही हामीसँग रिसाउने गरेका छन् ।” संविधानका अनुसार यातायातको व्यवस्थानको जिम्मेवारी प्रदेश सरकारको हो । प्रदेश सरकार आफैँले ‘प्रिन्टर’ खरीद गरेर छपाइ गर्न शुरु नगरेकाले अहिलेसम्म विभागले नै देशभरका प्रदेश कार्यालयको चालक अनुमतिपत्र छाप्दै आएको छ । रासस