राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एनटीसीको सिमकार्ड सित्तैमा पाउने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा नयाँ खाता खोल्ने ग्राहकले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को जिएसएम सिमकार्ड सित्तैमा पाउने भएका छन् । बिहीबार दुई संस्थाबीच बैंकका ग्राहकहरुलाई निःशुल्क रुपमा जिएसएम सिमकार्ड उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात हालसम्म सिमकार्ड नलिएका राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमबाट उपलब्ध हुने जिएसएम सिमकार्ड निशुल्क रुपमा उपलब्ध गराउने छ । कार्यक्रममा बैंकका सीईओ किरणकुमार श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न थप उर्जा मिल्ने बताएका छन् । उनले आगामी दिनमा दुई ठूला सरकारी संस्थाहरुले अन्य क्षेत्रमा पनि सहकार्य गरेर जान सकिने बिचार व्यक्त गरेका छन् । एनटीसीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले दुबै संस्थाको यो व्यवसायिक सहकार्यबाट समाजलाई फाईदा पुग्ने बताएका छन् ।
महालक्ष्मी विकास बैंकले विद्यालयलाई ब्याग, स्टेसनरी सामग्री हस्तान्तरण
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको न्युरोड शाखाले बुधबारका दिन इन्द्रावती गाउँपालिका – १२ भिमटारमा अवस्थित ढोटरा आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाको लागि स्कुल ब्याग लगायत स्टेसनरी सामग्री हस्तान्तरण गरेको हुन् । डा. उत्तम उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । त्यसैगरी, बैकको मसुरिया शाखाले मिति २०७६/०८/०८ गते आइतबार शाखाको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच ट्राफिक जनचेतना सम्बन्धी बोर्ड सुदूर पश्चिम प्रदेशका ट्राफिक प्रहरीका प्रहरी उपरक्षीक लोकेन्द्र श्रेष्ठ र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाका प्रमुख चक्रबहादुर मल्ललाई संयुक्त रुपमा हस्तान्तरण गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका प्रमुख भिमबहादुर देउवा , विशिष्ठ अतिथि सुदूर पश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ लगायत अन्य प्रहरी, बैंकका कर्मचारीहरु सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
व्यापारीकाे टोपी सित्तैमा लिँदै अर्थमन्त्रीले भने- ‘म टोपीको पारखीनै हुँ ठीक गर्नुभयो’
काठमाडाैं । अर्थमन्त्री डा . युवराज खतिवडाले बिहिबार काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको १७औं हस्तकला व्यापार मेलाको उद्घाटन गरे । व्यापार मेलाको उद्घाटनसँगै उनले मेलामा भएका केही प्रमख स्टलहरुको अवलोकन समेत गरे । मेलाभित्र रहेका स्टलहरुको अध्ययन गर्न पुगेका अर्थमन्त्रीलाई उपहार स्वरुप भनेर विभिन्न किसिमका सामान दिनेहरुको संख्या पनि कम थिएन । उनले कतिपयलाई पैसा दिँदै सामान खरिद गरे भने कतिपयको सामान इन्कार गर्दै अघि बढे । अवलोकनकै क्रममा पस्मिनाको स्टलमा पुगेका अर्थमन्त्रीको हातमा त्यस स्टलका व्यापारीले गलबन्दी थमाए । अर्थमन्त्रीका सामु गलबन्दी र पस्मिनाको विशेषता बताइ रहेका व्यापारीलाई गलबन्दी प्याक गर्न आग्रह गरे । कोटको खल्तीबाट पर्स निकाल्दै अर्थमन्त्रीले उनलाई पाँच सय दिए । तर उक्त गलबन्दीको मूल्य थियो ६ सय पचास । स्टल/स्टलमा घुम्दै व्यापारीहरुलाई ‘ग्रेट जब’ भन्दै उनी अघि बढी रहे । अवलोकनको अन्तिममा उनी बंगामती स्टलमा पुगे । उक्त स्टलका व्यापारीले उनको हातमा ढाका टोपी थमाए । अघिल्ला धेरै स्टलहरुमा दिएका सामान इन्कार गर्दै आएका उनले ढाकाको टोपी भने खुसीका साथ समाते । व्यापारीले हातमा थमाएको टोपी शिरमा पहिरिँदै अर्थमन्त्रीले भने, ‘म टोपीको पारखी नै हुँ ठीक गर्नु भयो ।’ आफुले लगाउँदै आएको टोपी गार्डको हातमा राख्दै व्यापारीले दिएको टोपी लगाए र मख्ख पर्दै बाहिर निस्के । नेपाल हस्तकला महासंघले आयाेजना गरेकाे हस्तकला व्यापार मेलामा सयदेखि ५/६ लाख सम्मका विभिन्न किसिमका चित्रहरू छन् । आजदेखि शुरु भएको व्यापार मेला १६ गते सम्म चल्नेछ ।
कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै
पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बोटो काटिरहेका हुन्छन् । रोक्न खोज्दा कोहीले सहजतापूर्वक स्वीकारे पनि धेरैजसो अटेर गर्छन् । सुन्धाराथिस्त नेपाली सेनाको अफिसर्स क्लब अगाडिबाट गाडीको कुनै परवाह नगरी बुधबार दिउँसो केही व्यक्तिले बाटो काटे । जेब्राक्रसिङ नभएपनि नागबेली झैँ गाडी छल्दै बाटो काट्नेमा नेपाली सेनासमेत सहभागी भए । सिंहदरबारको मुल गेट नजिक गाडी चल्दाचल्दै एक युवाले जोखिम मोलेरै जेब्राक्रसिङबाट गए । उनको देखासिकीमा पछि लागेका दुई युवालाई ट्राफिक प्रहरीले रोक्यो । उनीहरु प्रहरीसँग भनाभनमा लागे । “ती दाई गए अनि मिल्ने रहेछ भनेर हामी पनि गएको”, प्रहरीसँग उनले भने । त्यही ठाउँमा बाटो काट्न पर्खिरहेका एक हुल मानिसबारे उनीहरुले ख्यालै गरेनन् । बुधबार विहान ११ बजेको समयमा यहाँको सुन्धारा, त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, रत्नपार्कलगायत क्षेत्रमा घुम्दा स्वयंसेवकहरु ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सघाइरहेका देखिए । उनीहरुलाई अटेर गरेर कतिपय नियम उल्लङ्घनमा लागेको पनि देखियो । तर जहाँजहाँ स्वयंसेवक छन्, त्यहाँत्यहाँको अवस्था भने ट्राफिक नियम पालनामा निक्कै प्रभावकारी भेटियो । स्वयंसेवकहरुका अनुसार बटुवाहरु कानुन मान्नै चाहँदैनन् । हतारोले जहाँ पायो त्यहाँबाट बाटो काट्न आतुर हुन्छन् । गाडीको कुनै मतबल गर्दैन । गुडिरहेको गाडीको अन्तरबाट बाटो काट्छन् । जुन दुर्घटनाको कारक बन्न पुग्छ । “जेब्राक्रसिङ हाम्रो हो, जतिखेर पनि बाटो काट्न पाउनुपर्छ भन्ने सोच हुँदोरहेछ, त्यही बाटोमा गाडी पनि गुड्छ भन्ने जान्दाजान्दै हतार गर्दा रहेछन्”, पुतलीसडकमा स्वयंसेवक खटिएकी समिक्षा पुन मगरलेले भने । सात दिनको समयमा ट्राफिक नियमबारे उनलाई पनि धेरै सिक्ने मौका मिलेको छ । अर्की स्वयंसेवक सुमिना डङ्गोलले ट्राफिकको काम कति गाह्रो हुँदोरहेछ भनेर नजिकबाट महसुस गरिएको बताए । “घरी यता कुदद्नुपर्ने, घरी उता कुद्नुपर्ने, यात्रु, चालक, बटुवासँग विवाद नगरी सुखै नहुने, उभिएरै काम गरिरहनुपर्ने अझ त्यो धूलो, धुँवा, प्रदूषणले स्वास्थ्यमा कति समस्या होला, त्यसको लेखाजोखा छैन ।” उनले थपे । यात्रुहरुलाई पनि छिटो बाटो काट्नुपर्ने सवारी चालकलाई पनि छिटो जानुपर्ने कारण दुर्घटनाको ठूलो जोखिम छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न कलेजमा कानुन पढ्दै गरेका विद्यार्थीलाई सहभागी गराएर अहिले उपत्यकाको विभिन्न ३५ स्थानमा ३३५ ट्राफिक स्वयंसेवक खटाएको छ । विहान र बेलुकाको सवारी चाप हुने कार्यालय समयको तीन-तीन घण्टा स्वयंसेवक खटिन्छन् । न्यून जनशक्तिका कारण जहाँतहीँ ट्राफिक प्रहरी पुग्न सक्ने अवस्था नरहेकाले समुदाय प्रहरी साझेदारी अवधारणा अनुसार युवा, विद्यार्थी र समुदायसँग सहकार्य थालिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । स्वयंसेवक अभियान प्रभावकारी देखिएकाले निरन्तरता दिने योजना बनाएको उनले जानकारी दिए । ट्राफिक प्रहरीको अभिलेखमा उपत्यकामा पछिल्लो चार महिनामा सवारीको ठक्करबाट २३ पैदलयात्रुको मृत्यु भएको छ । झण्डै ७०० घाइते भएका छन् । कतिपय घटना पैदलयात्रु कै कारण हुने भएपनि धेरै घटना भने चालकको लापरवाही देखिएको महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले बताए । नियम उल्लङ्घनदेखि बढी दुर्घटना सङ्ख्याका हिसाबले मोटरसाइकल छ । गत वर्ष चार हजार सवारी दुर्घटना मध्य तीन हजार ७०० दुर्घटना चालकको लापरवाही देखिन्छ । नियमानुसार गाडी चलाउने हो भने झण्डै ६० प्रतिशत दुर्घटना आफैँ रोकिन्छ । त्यसैले स्वयंसेवकलाई ट्राफिक नियमको पालनाका लागि खटाइएको छ । न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई स्वयंसेवकले ठुलो सहयोग गरिरहेका छन् । उनीहरु जेब्राक्रसिङबाट जथाभावी बाटो काट्न दिँदैनन् । पिक एण्ड ड्रपमा छिटो सवारी पठाउन खटिन्छन् । स्काईब्रिजको प्रयोग र लेन अनुसार सवारी चलाउन प्रोत्साहित गर्दै आएका छन् भने गाडीभित्र आरक्षण सिटको दुरुपयोग रोक्नसमेत खटिने गरेका छन् । यसअघि राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा पहिलो चरणको स्वयंसेवक खटिएका थिए । अहिले दोस्रो चरणमा कानुनका विद्यार्थी स्वयंसेवक भएर खटिएका छन् । अर्को चरणका लागि पद्मकन्या क्याम्पस, रोटरी क्लबसँग कुरा भइरहेको र त्यसपछि विभिन्न सामाजिक सङ्घसंस्थासँग सहकार्य गरिने महाशाखाले जनाइएको छ । “यसरी खटिँदा उनीहरुले ट्राफिक प्रहरीको दुःख देख्ने हुँदा ट्राफिक नियममा गम्भिर हुन सिकाउँछ, घर र परिवारमा उनीहरुमार्फत सन्देश पुग्छ, उनीहरु आफैँ पनि सच्चिन्छन्”, महाशाखा प्रमुख ढकालले भने । स्वयंसेवक भएबापत् पाउने प्रमाणपत्र हरेक ठाउँमा प्राथमिकता हुने भन्दै ढकालले प्रहरीमा भर्ना हुनकै लागि पनि विशेष ग्राह्यता पाउने बताए । उनीहरुले कसरी काम गरेका छन्, समयमा आए की आएनन् भनेर फिल्डमा खटिएको ट्राफिक प्रहरी कमाण्डरले निगरानी गर्ने गर्छ । त्यसैको आधारमा स्वयंसेवकको मुल्याङ्कन हुन्छ । कानुनका विद्यार्थी भएकाले उनीहरु आफैंँले पनि अनुसन्धान गरेर एउटा प्रतिवेदन तयार पार्ने भएकाले नयाँ रणनीति बनाउनसहयोग पुग्ने विश्वास गरिएको छ । उपत्यकाको बढी सवारी चाप हुने ३५ स्थानमा स्वयंसेवक खटिएका छन् । यसपटक काठमाडौं स्कुल अफ ल, चक्रवर्ती अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका ३५५ विद्यार्थी ट्राफिक स्वयंसेवकका रुपमा सहभागी छन् । ट्राफिक प्रहरीले गत असोज ५ गते पहिलो चरणअन्तर्गत पाँच सय युवा परिचालन गरेको थियो । गृहमन्त्री रामबहादुर थापाले यसलाई देशव्यापी बनाउने योजना अघि सारेका छन् । रासस
साग खेलकुदका सम्पूर्ण टिकट अनलाइन मार्फत, इसेवाबाट सहजै टिकट उपलब्ध हुने
काठमाडाैं । दुई दशकपछि नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को टिकट अनलाईबाट विक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाडौमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवा मार्फत सहजै खरिद गर्न सकिनेछ । दर्शकले साग डट इसेवा डटकम डट एनपीमा गइ आफुले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्नेछन् । टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाईल नम्बर राखेर आफ्नै मोबाईलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ । हरेक टिकटमा दर्शकको नाम, मोबाईल नम्बर र युनिक क्यूआर कोड रहनेछ । दर्शकले प्रवेशद्धारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । उक्त टिकट रियल टाइममै भेरिफाई हुने र आइडी कार्ड देखाएपछि दर्शकले प्रवेश पाउनेछन् । यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्नेछ । यस्तै यसपटक फुटबल म्याचमा सिट नम्बर सहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवा एकाउण्ट भएका व्यक्तिले सिधै मोबाईलबाट टिकट खरिद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गइ अनलाइन टिकट खरिद गर्न सकिनेछ । उपत्यका लगायत नेपालभर इसेवाका ६५ हजार भन्दा बढी जोन पोइन्ट रहेका छन् । यसअघि पनि इसेवाले आइसीसी, एन्फा अन्तरगत विभिन्न अन्तर्राष्ट्रिय खेलहरूको सफल टिकटिङ र प्रवेश व्यवस्थापन गरिसकेको छ । इसेवा नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त भुक्तानी सेवा प्रदायक हो । सन् २००९ बाट सञ्चालन रहेको इसेवामा २५ लाख ग्राहक रहेका छन् । इसेवामा ५५ बैंक तथा वित्तिय संस्था र ६० हजार भन्दा धेरै सेवाहरू रहेका छन्
ग्लाेबल र जनता बैंकको एकीकृत कारोबार २० गतेदेखि
काठमाडौं । ग्लोबल र जनता बैंकबीच २० गतेदेखि एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै ती बैंकहरुले एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् । नेपाल राष्ट्र बैंकले दुई बैंकहरुलाई एक हुन बुधबार अन्तिम स्वीकृति दिएको थियाे । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई बैंकले एकीकृत कारोबार सञ्चालन गर्ने तयारी गरेकाे ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले मर्जरसम्बन्धी अन्य तयारी पूरा भएको समेत उनले जानकारी दिए । दुई बैंकबीच मर्जरका लागि असार २० गते प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार ग्लोबल आईएमई बैंकको १०० कित्ता बराबर जनता बैंकको ८५ कित्ता शेयर दिनेगरी समझदारी भएको थियो भने जनता बैंकबाट मर्जरपछि २ जना सञ्चालक प्रतिनिधित्व गर्ने सहमति भएको थियो । त्यस्तै प्रमुख कार्यकारी अधिकृत जनता बैंकबाट तथा डेपुटी प्रमुख कार्यकारी अधिकृत ग्लोबल आईएमई बैंकबाट रहने समझदारी भएको थियो । त्यस्तै दुई बैंकको डीडीए गरेपछि दुई बैंकहरुबीच कात्तिक ८ गते अन्तिम सहमति भएको थियो । मंसिर २ गते दुबै बैंकको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेसँगै उनीहरु एकीकृत कारोबारको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक गएका थिए । मर्जपछि बन्ने ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, जगेडा कोष करिब ६ अर्ब, निक्षेप २०० अर्ब माथि, कर्जा लगानी १ सय ८७ करोड, २ सय ९२ शाखा तथा ३ हजार २ सय भन्दा बढी कर्मचारी पुग्नेछन् ।
अर्बपति विनोद चौधरीले दुबईमा खोले तारे होटल ताज जेएलटी
काठमाडौं । दुबईको जुमेराह लेक्स टावरमा अर्बपति व्यवसायी बिनोद चौधरीले ताज जेएलटी बुधबारदेखि शुभारम्भ गरेका छ । सिजी होटल्स अन्तर्गत बनेको दुबईस्थित उक्त तारे हाेटल ताज जेएलटी हस्पिटालिटी क्षेत्रमा उनकाे पछिल्लो संस्करण हो । सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक छोरा राहुलको अगुवाईमा ताज जेएलटी सञ्चालनमा आएकाे हाे । चाैधरीले यस अवसरमा सिजी होटल्स टिमलाई ट्विटमार्फत् बधाई दिएका छन् । जुमेराह लेक्स टावर्स स्थित सेख जायद रोडमा ताज जेएलटी अवस्थित छ । १ सय ७१ वटा सामान्य रुम तथा २९ वटा सुइट रुम रहेको यो होटलमा ५ वटा रेष्टुराँ छन् । लोकेसनका हिसाबले होटल रहेको स्थान असाध्यै उत्कृष्ट र आकर्षक मानिन्छ । यो सहित सीजी गु्रपले १ सय ३० वटा होटल सञ्चालनमा ल्याएको छ भने भारत, अमेरिका, श्रीलंका, माल्दिभ्सलगायतका १५ देशमा सेवा विस्तार भएको सीसीका जनरल म्यानेजर मधुसदन पौडेलले बताए ।
अन्योलमा ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण
काठमाडौं । अन्य मुलुकमा बनेको ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण रोकिएको डेढवर्ष बितेपनि सो सेवा फेरि खुलाउने वा नखुलाउने भन्ने अन्योल छ । नेपालीकरण गर्नका लागि आवश्यक कानूनी व्यवस्था नहुँदा खुलाउन नसकिएको हो । वैदेशिक रोजगारीमा वा अध्ययनका लागि विदेश गएर आएका वा विभिन्न कामका सिलसिलामा नेपाल आएका विदेशी सेवाग्राही सो सेवा लिन आइपुग्ने गरेका छन् । ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरणका लागि पहिले आवश्यक निर्देशिका बनाएर मात्रै काम गर्न सकिने यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्रले जनाएको छ । आवश्यक कानूनी व्यवस्था नहुँदा केलाई आधार बनाएर चालक अनुमतिपत्र जारी गर्ने भनी समस्या रहेको कार्यालयका प्रमुख डम्बरबहादुर चन्दले बताए । कार्यालयले अहिले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको मात्रै परराष्ट्र मन्त्रालयको सिफारिसमा चालक अनुमतिपत्र नेपालीकरण गर्दै आएको छ । यातायात व्यवस्था कार्यालय अहिले प्रदेश सरकारमा गइसकेकाले उसले नै आवश्यक कानून बनाउनुपर्नेमा उनले बताए । “धेरै सेवाग्राही आइरहेकाले हामीले प्रदेश सरकारलाई कानून निर्माण गर्न भनिरहेका छौँ ।” सरकारले नेपालमा ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु भएपछि अरु देशका ‘स्मार्ट’ चालक अनुमतिपत्रका आधारमा नेपालको ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु गरेको थियो । विदेशमा बनेको ‘स्मार्ट’ चालक अनुमतिपत्र सही हो–होइन भनी छुट्टाउन नसकिने हुँदा विगतमा विभिन्न किसिमका समस्या आएको थियो । सोही मुद्दामा सङ्लग्न भएको भनी यहाँ कार्यरत कर्मचारीलाईसमेत कारवाहीको सिफारिस भएको थियो । रासस