ग्लाेबल र जनता बैंकको एकीकृत कारोबार २० गतेदेखि
काठमाडौं । ग्लोबल र जनता बैंकबीच २० गतेदेखि एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै ती बैंकहरुले एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् । नेपाल राष्ट्र बैंकले दुई बैंकहरुलाई एक हुन बुधबार अन्तिम स्वीकृति दिएको थियाे । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई बैंकले एकीकृत कारोबार सञ्चालन गर्ने तयारी गरेकाे ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले मर्जरसम्बन्धी अन्य तयारी पूरा भएको समेत उनले जानकारी दिए । दुई बैंकबीच मर्जरका लागि असार २० गते प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार ग्लोबल आईएमई बैंकको १०० कित्ता बराबर जनता बैंकको ८५ कित्ता शेयर दिनेगरी समझदारी भएको थियो भने जनता बैंकबाट मर्जरपछि २ जना सञ्चालक प्रतिनिधित्व गर्ने सहमति भएको थियो । त्यस्तै प्रमुख कार्यकारी अधिकृत जनता बैंकबाट तथा डेपुटी प्रमुख कार्यकारी अधिकृत ग्लोबल आईएमई बैंकबाट रहने समझदारी भएको थियो । त्यस्तै दुई बैंकको डीडीए गरेपछि दुई बैंकहरुबीच कात्तिक ८ गते अन्तिम सहमति भएको थियो । मंसिर २ गते दुबै बैंकको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेसँगै उनीहरु एकीकृत कारोबारको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक गएका थिए । मर्जपछि बन्ने ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, जगेडा कोष करिब ६ अर्ब, निक्षेप २०० अर्ब माथि, कर्जा लगानी १ सय ८७ करोड, २ सय ९२ शाखा तथा ३ हजार २ सय भन्दा बढी कर्मचारी पुग्नेछन् ।
अर्बपति विनोद चौधरीले दुबईमा खोले तारे होटल ताज जेएलटी
काठमाडौं । दुबईको जुमेराह लेक्स टावरमा अर्बपति व्यवसायी बिनोद चौधरीले ताज जेएलटी बुधबारदेखि शुभारम्भ गरेका छ । सिजी होटल्स अन्तर्गत बनेको दुबईस्थित उक्त तारे हाेटल ताज जेएलटी हस्पिटालिटी क्षेत्रमा उनकाे पछिल्लो संस्करण हो । सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक छोरा राहुलको अगुवाईमा ताज जेएलटी सञ्चालनमा आएकाे हाे । चाैधरीले यस अवसरमा सिजी होटल्स टिमलाई ट्विटमार्फत् बधाई दिएका छन् । जुमेराह लेक्स टावर्स स्थित सेख जायद रोडमा ताज जेएलटी अवस्थित छ । १ सय ७१ वटा सामान्य रुम तथा २९ वटा सुइट रुम रहेको यो होटलमा ५ वटा रेष्टुराँ छन् । लोकेसनका हिसाबले होटल रहेको स्थान असाध्यै उत्कृष्ट र आकर्षक मानिन्छ । यो सहित सीजी गु्रपले १ सय ३० वटा होटल सञ्चालनमा ल्याएको छ भने भारत, अमेरिका, श्रीलंका, माल्दिभ्सलगायतका १५ देशमा सेवा विस्तार भएको सीसीका जनरल म्यानेजर मधुसदन पौडेलले बताए ।
अन्योलमा ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण
काठमाडौं । अन्य मुलुकमा बनेको ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण रोकिएको डेढवर्ष बितेपनि सो सेवा फेरि खुलाउने वा नखुलाउने भन्ने अन्योल छ । नेपालीकरण गर्नका लागि आवश्यक कानूनी व्यवस्था नहुँदा खुलाउन नसकिएको हो । वैदेशिक रोजगारीमा वा अध्ययनका लागि विदेश गएर आएका वा विभिन्न कामका सिलसिलामा नेपाल आएका विदेशी सेवाग्राही सो सेवा लिन आइपुग्ने गरेका छन् । ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरणका लागि पहिले आवश्यक निर्देशिका बनाएर मात्रै काम गर्न सकिने यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्रले जनाएको छ । आवश्यक कानूनी व्यवस्था नहुँदा केलाई आधार बनाएर चालक अनुमतिपत्र जारी गर्ने भनी समस्या रहेको कार्यालयका प्रमुख डम्बरबहादुर चन्दले बताए । कार्यालयले अहिले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको मात्रै परराष्ट्र मन्त्रालयको सिफारिसमा चालक अनुमतिपत्र नेपालीकरण गर्दै आएको छ । यातायात व्यवस्था कार्यालय अहिले प्रदेश सरकारमा गइसकेकाले उसले नै आवश्यक कानून बनाउनुपर्नेमा उनले बताए । “धेरै सेवाग्राही आइरहेकाले हामीले प्रदेश सरकारलाई कानून निर्माण गर्न भनिरहेका छौँ ।” सरकारले नेपालमा ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु भएपछि अरु देशका ‘स्मार्ट’ चालक अनुमतिपत्रका आधारमा नेपालको ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु गरेको थियो । विदेशमा बनेको ‘स्मार्ट’ चालक अनुमतिपत्र सही हो–होइन भनी छुट्टाउन नसकिने हुँदा विगतमा विभिन्न किसिमका समस्या आएको थियो । सोही मुद्दामा सङ्लग्न भएको भनी यहाँ कार्यरत कर्मचारीलाईसमेत कारवाहीको सिफारिस भएको थियो । रासस
बीमा समितिको कर्मचारी युनियनमा नयाँ नेत्तृत्व चयन, अध्यक्षमा पूर्ण बहादुर थापा
काठमाडौं । बीमा समितिमा बुधबार कर्मचारी युनियनको चुनाव सम्पन्न भएको छ । सो चुनाव मार्फत समितिले नयाँ कार्य समति प्राप्त गरेको हो । नयाँ कार्य समितिमा पूर्ण बहादुर थापा अध्यक्ष पदमा चयन भएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा सुन्दर प्रसाद शर्मा, उपाध्यक्षमा बैकुण्ठ घिमिरे महासचिवमा ऋषिराज पण्डित, सचिवमा दिपम ज्ञवाली, कोषाध्यक्ष निश्चल बाँनिया चयन भएका छन् । साथै, सदस्यहरुमा सुनिता कुमारी कार्की प्रिति देव र निर्मतला मल्ल चयन भएको बीमा समितिले जनाएको छ ।
सुन्दर यातायातले २१ वटा नयाँ विद्युतीय बस खरिद गर्न साढे २५ करोड लगानी थप्दै
काठमाडौँ । सुन्दर यातायातले २१ वटा बस थप्ने भएको छ । हाल चार वटा मात्रै बस सञ्चालन गर्दै आएकाे सुन्दर यातायातले साढे २५ कराेड लगानी थपेर २५ वटा बस पुर्याउन लागेकाे हाे । नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले मंसिर महिनादेखि ११ वटा नयाँ बस थपेर १५ वटा पुर्याउने भएकाे छ । सुन्दरले यसै वर्षमा २५ वटा बस पुर्याउने लक्ष्य लिएको छ । २१ वटा नयाँ बस खरिद गर्न २५ करोड ४८ लाख ८० हजार लाग्ने अनुमान गरेकाे छ । ५ महिना अघि शुरु भएको विद्युतिय बस नाफामा गएकाले बस थप्ने योजना बनाएको हो । अहिले चक्रपथमा सुन्दर यातायातले ४ वटा मात्रै बस सञ्चालन गरेकाे छ । हाल सञ्चालित र नयाँ बस सञ्चालनमा आएपछि चक्रपथमा सुन्दर यातायातकाे पहुँच बढने छ । नयाँ भित्रिने बस नगरकाभित्री भागमा र उपत्यका बाहिरसमेत सञ्चालन गर्ने योजना रहेको प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए । डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक चार हजारसम्म रुपैयाँको इन्धन खर्च हुन्छ । विद्युतमा भने औसत ७५० खर्च हुने बताइएको छ । ५ महिना अघिदेखि चक्रपथमा चार वटा बस सञ्चालन गरिरहेको याताायातले बस थप्ने योजना बनाएको हो । उनले भविष्यमा ७ वटै प्रदेशमा बस सञ्चालन गर्ने याेजना बनाएकाे छ । विभिन्न प्रदेशका सहरहरुमा विद्युतिय बसहरु सञ्चालन गर्ने उसकाे लक्ष्य छ । उनले भने, प्रदेश सरकारसँगको सहकार्यमा आगामी दिनमा बस सञ्चालन हुनेछ । अहिले सञ्चालन भएका र थप्ने ११ वटा बसको निर्माण भइरहेका छ । बस डिजाइनमा नेपाली प्राविधिक संलग्न रहेका थापाले बताए । युरोपमा चल्ने जस्तो बस हुँदा यहाँको सडकमा उपयुक्त नहुने भन्दै यहाँको सडक सुहाउँदो बस डिजाइन भएको उनले उल्लेख गरे । बस काठमाडौँकाे अहिलेकाे सडकमा गुड्न उपयुक्त रहेको उनले बताए । सडकमा पानीको मात्रा धेरै हुँदा डिजेलबाट चढ्ने गाडीको इञ्जिनमा समस्या पर्छ भने विद्युतीय बसको ब्याट्रीमा समस्या आउने समेत उनले बताए । अहिले सञ्चालनमा रहेका बस क्षमता ४० र ३५ सिटका छन् । यी बस एक पटक चार्ज गर्न ६० देखि ८० मिनेटसम्म लाग्ने बताइएको छ ।
सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनीबीच मनी ट्रान्सफर सम्बन्धी सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफर सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाषबहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनाल जंग कार्काीले हस्ताक्षर गरेका हुन् । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटाशाखा रहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
बैंकहरुलाई हस्तकलामा लगानी गर्न अर्थमन्त्री खतिवडाकाे आग्रह
काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकहरुलाई हस्तकलामा लगानी गर्न आग्रह गरेका छन् । नेपाल हस्तकला महासंघको १७ औं हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगितामा बोल्दै उनले युवालाई स्वरोजगार बनाउने प्रमुख पेशा हस्तकला भएकोले यसमा लगानी गर्न बैंकहरुलाई आग्रह गरेका हुन् । हस्तकलामा पछिल्लो समय उल्लेख्य प्रगति भएको उनको भनाइ छ । हस्तकलालाई अझ सशक्त पार्नका लागि वार्षिक योजना बनाएर अगाडि बढ्न समेत उनले आग्रह गरे । नेपाल भ्रमण वर्षलाई लक्षित गरि हस्तकला प्रदशनी केन्द्रको आवश्यक रहेको उनको भनाइ छ।
प्रभु बैंकको नयाँ शाखा काठमाडौं पिङ्गलास्थानमा
काठमाडौं । प्रभु बैंकको नयाँ शाखा काठमाडौं महानगरपालिका वडा नं. ०८ गौशालास्थित पिङ्गलास्थानमा आफ्नाे १९७औं शाखा संचालनमा ल्याएको छ । बैंकको पिङ्गलास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले कार्यक्रमको उद्घाटन गरेका हुन् । बैंकको पिङ्गलास्थान शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी डा. प्रदिप ढकालले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जालविस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगन सम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै प्रभु बैंकलाई सफलताको लागि शुभकामना व्यक्त गरे । बैंकको पिङ्गलास्थान शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवाप्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनीतथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र आर्थिक कारोबारमा सहजता थप बढाउने बैंकले जानकारी दिएको छ ।