विकासन्युज

अमेरिकामा राष्ट्रिय संकटकाल, मेक्सिकोसँगको सीमामा पर्खाल लगाएरै छाड्ने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन् । संकटकाल घोषणापछि ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने बताए । संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झन्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने उनले बताए । राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षाको संकट समाधान गर्ने दाबी गरेका छन् । तर डेमोक्र्याट्सहरुले भने यसलाई ‘शक्तिको दुरुपयोग’ भनेका छन् । डेमोक्र्याट्स पार्टीका उच्च नेताहरुले ट्रम्पको कदमलाई अदालतबाट चुनौती दिने बताएका छन् । (एजेन्सीहरुबाट)

नारायणगढ-मुग्लिन सडकमा ४ पुल बन्दै, ५० % काम सकियो

भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ । ‘समग्रमा पुल निर्माणको काम ५० प्रतिशत सकिएको छ”, खनालले भने, “जलवीरेमा भने निर्माण प्रगति ३४ प्रतिशत र अन्य पुलको ७० प्रतिशत माथि छ  ।” जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको हो । अन्य तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ । जलवीरे पुल ८० मिटर लामो छ । मौरीपुल ३०, खानीपुल ३० र दासढुङ्गा पुल २० मिटर लम्बाइ तथा चौडाइ भने सबैको ११ मिटर हुनेछ । “लामा कन्स्ट्रक्सनले जिम्मा पाएको चार पुल निर्माणको काम वैशाखभित्रै सम्पन्न हुन्छ भने रौताहा कन्स्ट्रक्सनले जिम्मा लिएको जलवीरे पुल निर्माणमा समय लाग्ने देखिएको” उनले बताए । जलविरे पुलको डिजाइन परिवर्तन, अप्ठ्यारो ठाउँ र फरक प्रकृतिको पुल भएका कारण पनि ढिलाइ भइरहेको छ । हाल पुल भइरहेका ठाउँ नजिकैबाट नयाँ पुल निर्माण गरिएकाले सवारी आवागमनमा पुलले कुनै बाधा पुर्याएको छैन । जलवीरे पुल १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत १३ करोड छ । सडकखण्डमा अझै १४ पुल निर्माणको काम भने अघि बढ्न सकेको छैन । १८ पुलमध्ये चार वटाको मात्र निर्माण जारी रहेको र बाँकी १४ पुल निर्माणको काम छिट्टै शुरु हुने आयोजना प्रमुख रोहित विसुरालले जानकारी दिए । सात ठाउँमा भौगर्भिक अध्ययन नारायणगढ मुग्लिन सडकखण्डको विभिन्न क्षेत्रमा भासिएको सडकको भौर्गर्भिक अध्ययन शुरु गरिएको छ । भासिएको र जोखिमपूर्ण गरी सात ठाउँमा भौगर्भिक अध्ययन गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयका इञ्जिनीयर खनालले जानकारी दिनुभयो । सडक भासिएको खण्ड २६ किलोमिटरमा र १७ किलोमिटर क्षेत्रमा सर्वे भइरहेको छ । भासिएको सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ । टोलीले एक महीनाभित्र अध्ययनसहित डिजाइनको प्रतिवेदन दिनेछ । आयोजनाका प्रमुख विसुरालले प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्रै निर्माणको काम अघि बढ्ने बताए । रासस

सुनचाँदीको मूल्यमा उतारचढाव, किन यस्तो हुन्छ ?

काठमाडौँ । यो साता सुनचाँदीको भाउमा उतारचढाव देखिएको छ । गत आइतबार सुनको मूल्य प्रतितोला ६२ हजार १ सय रहेको थियो भने साताको शुक्रबारपनि आइतबार कै मूल्य कायम भयो । तर, सोमबार, मंगलबार, बुधबार र विहीबार भने आइतबारको तुलनामा मूल्य घटेको थियो । आइतबार प्रतितोला ६२ हजार १ सय कायम रहेको सुनको मूल्य सोमबार १०० रुपैयाँ घटेर ६२ हजारमा कारोबार भएको थियो । मंलगबार पनि सुनको मूल्य ओरालो लागेर ६१ हजार ८ सयमा कारोबार भएको थियो । साताको बुधबारपनि मूल्य घटेर ६१ हजार ६ सयमा कारोबार भएको थियो । गत आइतबारको तुलनामा विहीवारसम्म आइपुग्दा सुन प्रतितोला ४ सय रुपैयाँ घटेको थियो । तर, शुक्रबार भने पुनः बढेर आइतबार कै कारोबार मूल्य ६२ हजार १ सयमा बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, चाँदीको मूल्यमापनि उतारचढाव कायम रह्यो । गत आइतबार चाँदीको मूल्य प्रतितोला ७७५ रुपैयाँ कायम रहेकोमा शुक्रबारसम्म आइपुग्दा १० रुपैयाँ घटेर ७६५ मा कारोबार भयो । सोमबार मूल्य स्थिर रहेपनि मंगलबार ५ रुपैयाँ घटेको थियो । बुधबार, विहीबार र शुक्रबार भने गत आइतबारको तुलनामा १० रुपैयाँ घटेर चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको छ । सुनचाँदीको मूल्यमा किन उतार चढाव भइरहेको छ त ? यस सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सामान्य हेरफेर भएको र डलरको मूल्यमा केही गिरावट आएकाले त्यसको असर देखिएको हो । उनले अमेरिका र चीनबीचको व्यापार वार्ता केही सकारात्मक देखिन थालेकाले सुनको भाउ घटेको भएपनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १३१३.१० पुग्नु र डलरको तुलनामा भारतीय मुद्रा अबमूल्यन भएकोले पुनः प्रति १० ग्राम ३४० रुपैयाँ मूल्य बढेको हो ।

स्पर्श लघुवित्तलाई आईपीओ अनुमति, कस्ताे छ वित्तीय अवस्था ?

काठमाडौं । स्पर्श लघुवित्तले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । करिब ८ करोड ३० लाख चुक्ता पुँजी रहेको उक्त बैंकले पुँजीको ३२.५० प्रतिशतले हुने २ करोड ६९ लाख रुपैंया बराबरका २ लाख ६९ हजार कित्ता साधारण शेयर निष्कासन प्रस्ताव गरेकोमा शुक्रबार बोर्डले अन्तिम स्वीकृति प्रदान गरेको हो । अन्तिम अनुमति पाएसँगै लघुवित्तले केही दिनभित्रै शेयरको सार्वजनिक निष्कासनका लागि आह्वानपत्र जारी गर्नेछ । उसले यसअघि नै सानिमा क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । प्रचलित धितोपत्र निष्कासनसम्बन्धी व्यवस्थाअनुसार उक्त शेयर २६ हजार ९०० जनाले १० कित्ताका दरले प्राप्त गर्नेछन् । कस्तो छ लघुवित्तकाे वित्तीय अवस्था ? जनता बैंक मुख्य प्रवर्द्धक भएको स्पर्शले कास्की जिल्लामा मुख्य कार्यालय रही कास्की, म्याग्दी, अर्घाखाँची, गुल्मी, बागलुङ, लमजुङ, परासी, पर्वत, तनहुँ, र गोरखा गरी १० जिल्लामा २० शाखामार्फत् व्यवसाय सञ्चालन गर्दै आएको छ । पहिलो त्रैमासमा करिब ३१ लाख रुपैंया नोक्सानमा रहेको स्पर्श लघुवित्तले तीन महिनामै ३७ लाख रुपैंया आर्जन गरेर आफ्नो नाफा ६ लाख पुर्याएको छ । नाफामात्र नभएर लघुवित्तले पछिल्लो ३ महिनामा २८ लाख सिञ्चित कोषको नोक्सानलाई समेत ८ लाखले सकारात्मक बनाएको छ । ४७ करोड ५२ लाख ऋण र १० करोड २८ लाख सदस्यहरुबाट संकलन गरेको लघुवित्तले पुस मसान्तसम्म ५२ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । हाल ११.५९ प्रतिशतमा रहेको लघुवित्तको पुँजी पर्याप्तता अनुपात कसिलो देखिए पनि आईपीओ जारी गरिसकेपछि तत्काल पर्याप्त व्यवसाय गर्ने क्षमता विस्तार गर्नेछ । प्रचलित कानूनबमोजिम ३ करोड भन्दा कम आईपीओ जारी गर्नका लागि रेटिङको आवश्यकता नपर्ने भएकोले यसले रेटिङ भने लिएको छैन ।

फागुन १० गतेदेखि महिन्द्राले लाइफ स्टाइल अटो शो गर्दै, नयाँ गाडी भित्र्याउने

काठमाडौं । नेपालमा पहिलो पटक लाईफ स्टाईल अटो शो ‘महिन्द्राउदय’ २०१९ फेस्टीवल हुने भएको छ । उक्त फेस्टीवल अग्नी इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर तथा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको संयुक्त आयोजनामा हुन लागेको हो । महिन्द्राले यहि फागुन १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आफ्नो सबै रेन्जको ग्लोबल मोविलीटी सोलुसनका प्रडक्टहरुको पहिलो पटक लाइफ स्टाइल अटो शो गर्ने भएको छ । उक्त शोमा महिन्द्राले मोविलीटी सोलुसन अन्तर्गतका पूरा रेन्जको दुई पाङ्ग्रेदेखि प्यासेन्जर भेइकल, कमर्शियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीसम्म प्रदर्शन गर्ने भएको छ । त्यस्तै, महिन्द्राको विश्वस्तरीय रेन्जका टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरदेखि जेनेरेटर जस्ता प्रोडक्टहरुको प्रदर्शनी हुने छ । नयाँ प्यासेन्जर भेइकलहरु मराजो, एक्सयुभी–३०० तथा अन्य पावरफुल एसयुभीहरु, हेवी कमर्शीयल भेइकलअन्तर्गत ब्लाजो तथा मझौला कमर्शियल भेइकल अन्तरगत फ्युरीयोको प्रदर्शनी गर्ने भएको छ । त्यसैगरी, उक्त शोमा स्वराजको ६५ हर्सपावर भएको स्वराज ९६३ र २५ हर्सपावर भएको जीभो फोर ह्वील ड्राइभ ट्याक्टर, सफा हावाको गुणस्तर कायम राख्न प्रतिवद्ध मास मार्केट इलेक्ट्रिक कारहरु–ईटुओ र ईभेरिटोको प्रदर्शनी हुँदै छ । २०.७ बिलीयन अमेरिकी डलरको कम्पनी महिन्द्राले कार्यक्रममा रेसिङ् इन्सपायर्ड महिन्द्रा मोजोको अनावरण गर्ने भएको छ । महिन्द्राको एक्सयुभी ५००, टियुभी ३००, केयुभी १००, म्याक्सीमो, सुप्रो, बलेरो पिकअप, कस्मो बस र तीन पाङ्ग्रे ईअल्फाको पनि प्रदर्शनी हुने आयोजकले बताएका छन् । यस इभेन्टमा सबै अन्तर्राष्ट्रिय रेन्जका प्रडक्टहरु टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरहरुको प्रदर्शनी हुनेछ । महिन्द्राले नेपालका ग्राहकहरुलाई महिन्द्रा उदय २०१९ फेस्टीभलमार्फत महिन्द्राका प्रडक्टहरुको बारेमा अनुपम अनुभव दिनेछ । यस इभेन्टको डिस्प्लेले महिन्द्राका सवारी साधनहरुको टफ र रग्ड डिएनएको बारेमा अवलोकनकर्ताहरुलाई जानकारी दिनेछ । यस फेस्टीभलमा सवारी साधनहरुको प्रदर्शनी बाहेक नेपालका चर्चित कलाकारहरुको लाइभ प्रफर्मेन्सका साथै ६ वटा भन्दा बढि बिभिन्न भेराइटीका खानाहरुको पनि स्टल रहने आयोजकले जनाएका छन् ।

अजोड इन्स्योरेन्स र र इष्टलिकं टेक्नोलोजीबीच बीमा सेवा सम्झाैता

काठमाडाैं  । अजोड इन्स्योरेन्स लि. र इन्टरनेट प्रदायक संस्था इष्टलिकं टेक्नोलोजी प्रा. लिबीच सहकार्य गर्दै वीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र थापा र इष्टलिकं टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत पुरन बहादुर थापाले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम इष्टलिकं टेक्नोलोजीका सम्पूर्ण सदस्य तथा ग्राहकहरूको दुर्घटना बीमा अजोड इन्स्योरेन्सवाट गराइने भएको छ ।

पुँजीगत र संरचनागत संकटबाट बाहिरिएकाे एनसीसी बैंक र अबकाे बाटाे

काठमाडौं । हकप्रद सेयर निष्काशन, बाँडफाँड, सूचिकरणसँगै नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक राष्ट्र बैंकले ताेकेकाे न्यूनतम पुँजी पुर्याउने अन्तिम बाणिज्य बैंक बन्दैछ । हकप्रद सेयर नेप्सेमा सूचिकरणापति बैंककाे चुक्ता पुँजी ७ अर्ब १ कराेड रूपैयाँ भएकाे छ । ८ अर्बकाे लागि अपुक पुँजी बैंकले फ्रि रिर्जभबाट बाेनस वितरण गर्दैछ । बैंकका अध्यक्ष उपेन्द्र केशरी भन्छन्-बैंककाे पुँजी ८ अर्ब भइसक्याे । राष्ट्र बैंकले ताेकेकाे मापदण्ड अनुसार जगेडा काेषमा रहेकाे फ्रि रिजर्भलाइ प्रक्रिया पूरा गरेर चुक्ता पुँजीमा रकमान्तर गर्न मात्र बाँकी छ । पुँजी वृद्धि एनसीसी बैंककाे लागि ठूलाे चुनाैति बनेकाे थियाे । राष्ट्र बैंकका लागि यस बैंककाे सेयर संरचना परिवर्तन गर्नु अर्काे चुनाैति थियाे । दुबै समस्या र चुनाैतिबाट बैंक बाहिर निष्केकाे छ । सञ्चालक तथा प्रवर्द्धकबीच धेरै किचलो र अनिर्णयकाे बन्दी बन्दै यस बैंक लागि याे ठूलाे उपलब्धि हाे । संस्थापक र सञ्चालकहरुबीचको आन्तरिक किचलो, नेपाल राष्ट्र बैंकको हस्तक्षेपकारी भूमिका र त्यस बीचमा उच्च व्यवस्थापन सम्हालेका व्यक्तिको अक्षमता, नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिसँगै मर्जरको प्रयासमा देखिएको गतिरोध, ५ ओटा विकास बैंकहरुको एक्विजिसनसँगै बाहिर आएको घोटाला प्रकरण र पछिल्लो समय हकप्रद शेयर जारी गर्ने सन्दर्भमा देखिएको विवादका कारण करिब ६ वर्षदेखि एनसीसी बैंक अन्यौलग्रस्त स्थितिमा थियो । तात्कालिन समयमा एनसीसी बैंकमा मुख्य रुपमा शेयर स्वामित्व रहेका एनबी समूह र निर्मल प्रधान समूह बीचको विवाद उत्कर्षमा पुगेपछि नेपाल राष्ट्र बैंकले २०७० साल माघ २१ गते तात्कालिन सञ्चालक समिति भंग गर्दै निर्देशक लक्ष्मीप्रपन्न निरौलाको नेतृत्वमा तीनजना सञ्चालक नियुक्त गरेर पठाएको थियो । उक्त समितिले ३ महिनाभित्र कम्पनीको विवाद सल्ट्याएर शेयरधनीलाई नै व्यवस्थापन सुम्पिने बताए पनि करिब ३ वर्षपछि अर्थात् २०७३ पुस १८ गते मात्र व्यवस्थापन हस्तान्तरण गरेको हो । नेपाल राष्ट्र बैंकले एनसीसी बैंकसँग तात्कालिन इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकसँग एक्वाएर गराएसँगै बैंकको स्वामित्व शेयरधनीलाई हस्तान्तरण गरेको हो । शेयर ‘डाइल्युसन’को अभिष्ट पूरा सञ्चालक समिति भंग गरेर व्यवस्थापन हातमा लिनुको पछाडि नेपाल राष्ट्र बैंकको प्रमुख उद्देश्य एनबी समूह र निर्मल प्रधान समूहबीचको विवाद मिलाउने मात्र थिएन, सीमाभन्दा बढी सेयर हाेल्ड गर्नेलाई साइजमा ल्याउनु । राष्ट्र बैंकका तात्कालिन निर्देशक लक्ष्मी प्रपन्न निरौलाले एनसीसी बैंकमा ‘शेयर डाइल्युसन’ नै राष्ट्र बैंकको मुख्य उद्देश्य भएको बताएका थिए । यस बैंकमा एनबी समूहकाे सेयर झण्डै ३० प्रतिशत थियाे । जबकी राष्ट बैंकले पछि बनाएकाे नियम अनुसार कुनै पनि बैंकमा एक व्यक्ति वा पारिवारिक समूहकाे सेयर १५ प्रतिशत भन्दा बढी हुनु हुँदैन थियाे ।  राष्ट्र बैंकले एनवी समूहकाे सेयर १५ प्रतिशतभन्दा कम गर्ने बैंकलाई मर्ज गराउने नीति लियाे । शुरूमा एनसीसी र एनबी बैंकबीच मर्ज गराउन राष्ट्र बैंकले  निकै जाेड बल गर्याे तर एनबी बैंककाे वंगाली साझेदारले मानेनन् । त्यसपछि कुमारी बैंक र हाल मर्ज भएका ४ ओटा विकास बैंकलाई गाभेर एकीकृत बनाउने प्रयास भए । त्यसो हुँदा एकातर्फ पुँजी वृद्धिको बाध्यकारी व्यवस्थाको पालना हुन्थ्यो भने अर्कोतर्फ ठूलो हिस्सा शेयर स्वामित्व लिएर बस्ने समूहहरु स्वतः कमजोर बन्थे । तर राष्ट्र बैंकको त्यो प्रयासमा कुमारी बैंकबाट सहयाेग भएन । राष्ट्र बैंकको व्यवस्थापन कुमारीलाई छाडेर अन्य बैंकहरुलाई मात्र मर्जर प्रक्रियामा ल्याउन बाध्य भयो । र, ४ ओटा विकास बैंकलाई एनसीसीमा मर्ज गराएपछि राष्ट्र बैंकले बैंक व्यवस्थापनको जिम्मा शेयरधनीलाई नै सूम्पेको थियो । यद्यपि यो मर्जरबाट पनि बैंकमा एनबी समूहको १३ प्रतिशत हिस्सा बाँकी रह्यो । पछिल्लाे समय बैंकले ५० प्रतिशतका दरले हकप्रद शेयर निस्काशन गर्दा एनबी समूहले किनेन । करिब ७८ लाख कित्ता शेयर स्वामित्व भएको उक्त समूहसँग हकप्रद किन्न तिर्नुपर्ने करिब ३४ करोड रुपैंयाँ जुटाउन नसकेकाे बताइन्छ । हकप्रदमा आवेदन नदिएसँगै उसको शेयर हिस्सा करिब साढे ८ प्रतिशतमा सीमित भएको छ । अब एनसीसी बैंकमा कुनै एक व्यक्ति वा समूहले राज गर्नसक्ने अवस्था छैन । घोटाला प्रकरणले ल्याएको संकट एनसीसी बैंकमाथि कालो धब्बा लाग्ने काम पछिल्लो घोटाला प्रकरणले गर्यो यद्यपि त्यसमा बैंक आफैं दोषी थिएन । एनसीसीसँग मर्जरको लागि एमओयू गरेर स्वाप रेसियो समेत तय भइसकेपछि तात्कालिन एपेक्स डेभलपमेन्ट बैंकको व्यवस्थापनले गरेको कमसल धितोमा अनियमित कर्जा प्रवाहको रकम नउठेपछि बैंकमा अर्को समस्या थपिएको हो । सो अवधिमा करिब २ अर्ब कर्जा प्रवाह भएकोमा करिब डेढ अर्ब रुपैंया नउठेपछि एनसीसी बैंकको नाफाबाट कटाएर उक्त रकम व्यवस्थापन गर्नुपर्ने अवस्थामा बैंक पुगेको थियो । यद्यपि सबल मानिएका ४ विकास बैंकहरुलाई एक्वाएर गरेर बलियाे पोजिसन कायम गरेको एक वर्षमा नै नाफामा गयाे ।  बैंकको नाफा २०७४/७५ मा १ अर्ब ७ करोड रूपैयाँ छ । घोटाला प्रकरणसँगै एपेक्स बैंकलाई एनसीसीबाट डिमर्ज गराउनेसम्मकाे विषय उठे । अदालतले अकाउन्ट अलग राख्ने देखि सेयर निस्सा समेत अलग राख्न भन्याे । एकीकृत शेयर प्रमाणपत्र जारी भइसकेको र लाखौं कित्ता शेयर कारोबार भएर भुक्तानी समेत लिइसकेको अवस्थामा सम्भावित डिमर्जको खतराबाट एनसीसी बचेको छ । राजनीतिक प्रभावले अर्को समस्या संस्थापकहरुबीचको आन्तरिक विवाद र घोटाला प्रकरण मात्रै नभएर एनसीसी बैंकमा राजनीतिक प्रभावले पनि जरो गाडेको थियो । खासगरी तात्कालिन नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताहरुले बैंकलाई कर्मचारी भर्तीको केन्द्र बनाउने प्रयास गरेका थिए । सञ्चालक समितिदेखि उच्च व्यवस्थापनसम्म यसको केही प्रभाव देखियो । खासगरी सञ्चारमन्त्री समेत बनेका मोहनकुमार बस्नेत एनसीसीमा सञ्चालक बनेसँगै बैंकमा राजनीति भित्रिएको अनुभव गरिएको थियो, पछि एपेक्सबाट गएका विष्णुप्रसाद धिताल पनि काँग्रेस नेता नै थिए । मोहनकुमार बस्नेतले मन्त्री भएपछि र विष्णुप्रसाद दाहालले घोटाला प्रकरणपछि बैंकको नेतृत्व छाडे । एमाले पृष्ठभूमि रहेका रेवन्त दाहाललाई जनरल म्यानेजर बनाउनुलाई पनि राजनीतिक रंग दिइएको थियो । किनकी इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंककातात्कालिन सीईओहरु दाहालभन्दा अनुभवी र ‘हाई प्रोफाइल’का बैंकर थिए । ‘ब्लन्डर’हरुभित्र बैंकको हित विविध खाले प्रतिकूल परिस्थिति नै एनसीसी बैंकको दीर्घकालकाे लागि अनुकुल बन्न गएकाे छ । शेयर डाइल्युसनकमा राष्ट्र बैंकले साेचेजति सफलता हासिल गरेकाे थिएन । हकप्रद सेयर निष्काशनकाे क्रममा एनबी समूह पछि हटेपछि बैंकलाइ लाभ नै भयाे । एपेक्स घोटाला काण्ड उजागर पछि बैंकमा घुस्दै गएकाे राजनीतिकाे जराे पनि उखेलिन गएकाे छ । ‘जे हुन्छ राम्रैको लागि हुन्छ’ भनेझैं एनसीसी बैंककाे पेरिफेरिमा भए गरेका सबै ‘ब्लन्डर’हरु र यसले उत्पादन गरेकाे कसिङ्गर हावाले उडाइदिएको छ । यसलाई बैंकको प्रगतिको प्रस्थानविन्दु मान्न सकिन्छ । सम्भवतः ८ अर्ब चुक्तापुँजी पुर्याउन एनसीसीले १४ प्रतिशत वा सोभन्दा केही बढी बाेनस सेयर घोषणा गर्नसक्छ, यो घोषणाले एनसीसीलाई राष्ट्र बैंकको प्रावधानको झमेलाबाट मात्रै मुक्त गराउँदैन, प्रशस्त व्यवसाय विस्तार गर्नसक्ने गरी पुँजी पर्याप्तता अनुपात कायम गर्न पनि सघाउँछ । त्यसपछिको व्यवस्थापकीय रणनीति बैंकका व्यवस्थापनकै कौशलतामा आधारित हुने हो । नाफा र लाभांश वितरणको तुलनात्मक अवस्था विभिन्न समस्याका बाबजुत पनि बैंकको आर्थिक परिसूचक भने सुधारोन्मुख नै देखिन्छ, यद्यपि यो सुधार बैंकिङ क्षेत्रको औसत सुधारभन्दा कम हो । हेरौं बैंकको विगत ५ वर्षका प्रमुख वित्तीय सूचकहरु : तर कम छैनन् चुनौती व्यवस्थित र प्रतिस्पर्धात्मक क्षेत्रका लागि पहिलो नम्बरमा रहेको नेपालको बैंकिङ क्षेत्रको एउटा कम्पोनेन्टको रुपमा रहेर नेपाली बजारमा प्रतिस्पर्धा गर्दैगर्दा नयाँपन र आफ्नोपनले मात्र बैंकलाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्याउन सक्छ । तर बैंकिङ क्षेत्रमा त्यस्ता आफ्नोपन भएका बैंकहरु धेरै छन् । शाखाका आधारमा, सेवाका आधारमा, प्रतिफलका आधारमा वा अन्य जुनसुकै आधारमा पनि कुनै न कुनै प्रतिस्पर्धीहरु अब्बल देखिएका छन् जसको पिछा गरेर उनीहरुलाई जित्न  कठिन हुन्छ । बैंकले २ वर्षदेखिकाे साधारणसभा गरेकाे छैन । मर्जपछि गठन भएकाे अल्पकालिन सञ्चालक समितिले लामाे समय काम चलाइरहेकाे छ । साधारणसभाबाट चुनिएका सञ्चालक समिति बैंकले नपाएकाे ५ वर्ष भइसकेकाे छ । बैंकलार्इ प्रतिस्पर्धी बनाउन दीर्घकालिन रणनीति, याेजना र कार्यक्रमकाे अभाव देखिन्छ ।

१ करोडको लगानीमा चितवनमा ‘प्रेसिडेन्ट सेकुवा’, फागुन ६ गतेदेखि सञ्चालन

चितवन। पर्यटकीय नगरी चितवनको सदरमुकाम भरतपुरमा खानाको स्वादका पारखीहरुका लागि नयाँ रेष्टुरेण्ट “प्रेसिडेन्ट सेकुवा” सोमबारदेखि सञ्चालनमा आउने भएको छ । घरकै शैलीमा फरकपनसहित मौलिक खानाका परिकारहरुसहित राजधानी काठमाडौँमा चर्चित बनेको “प्रेसिडेन्ट ग्रुप अफ होटल” को आठौँ शाखा चितवनको भरतपुरमा सञ्चालन आउन लागेको हो । प्रेसिडेन्ट ग्रुप होटल अन्तर्गत २०६३ सालबाट सामान्य किराना पसलसहित सुरु भएको प्रेसिडेन्ट ग्रुप अफ होटलले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आठौँ शाखा भरतपुरमा संचालन गर्न लागिएको जानकारी दिएको हो । मुलुककै केन्द्र भागमा रहेको चितवनको भरतपुरमा बिस्तार गरिएको प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिए । “चितवनवासी र यस वरपरका खाना पारखीहरुलाई जानकारी गराउन पाउदाँ निकै हर्षित समेत भएका छौँ, उनले भने, “सेकुवा पारखीहरुको सुविधालाई ध्यानमा राख्दै चितवनमा प्रेसिडेन्ट सेकुवाको शाखा खोलेका हौँ । ” बजारमा सञ्चालन भइरहेका सेकुवा कर्नरहरुको भीडमा आफ्नो छुट्टै विशेषतासहित प्रेसिडेन्ट सुकुवाले आफ्नो शाखा चितवनमा बिस्तार गरेको उनले स्पष्ट पारे । भरतपुरमा खोल्ने प्रेसिडेन्ट सेकुवाको नयाँ शाखाको सबै तयारी पूरा भएको र फागुन ६ गतेदेखि सञ्चालन आउने उनले बताए । शुभारम्भकै अवसरमा ५ गते प्रेसिडेन्टको खानाका स्वाद चाख्ने कार्यक्रम राखेको उनले बताए । प्रेसिडेन्टको राजधानीमा ६ वटा तथा भ्याली बाहिर लुम्बिनीमा एउटा शाखा सञ्चालनमा छ । यो शाखामा विभिन्न कलात्मक आट्र्सले श्रृगारिएको छ । जसमा प्रेसिडेन्टको स्वाद लिन आउने ग्राहकवर्गहरुलाई आर्कषित गर्न अध्यक्ष भण्डारीको दावी छ । सेकुवालाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको प्रेसिडेन्ट सेकुवामा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने उनले बताए । एक करोड लगानीमा संचालनमा हाउन लागेको प्रेसिडेन्टको भरतपुर शाखामा किड्स प्ले रुम, व्यवसायिक मिटिङ, वार्षिक साधारण सभा तथा शुभकार्यका लागि पूर्ण एसीसहितको हलको व्यवस्था हुने सञ्चालक भण्डारीले बताए । किड्स प्ले रुममा बच्चाहरुलाई निःशुल्क व्यवस्था गरिने भण्डारीको भनाइ छ । प्रेसिडेन्ट सेकुवामा ठूलो स्कृनमा लिरिक्स हेर्दै गीत गाएर मनोरञ्जन लिने जापानीज शैली ‘काराओके’ समेत रहने भण्डारीले जानकारी दिए । भरतपुरमा शाखा सञ्चालन गर्नुपूर्व नै चितवनका उपभोक्ताहरुलाई सेवा दिने उद्देश्यले प्रेसिडेन्ट सेकुवाले फुड फेस्टिबलमा आफ्नो उपस्थिति देखाएको छ । शुभारम्भको अवसरमा केहि दिन विशेष छुट समेत व्यवस्था गरिएको उनले बताए ।