
काठमाडौं । विश्वभरिका आतिथ्य व्यवस्थापन शिक्षा सम्बन्ध शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कुल एसोसियसन (इयूहोफा)को अध्यक्षमा खेम लकाईं चयन भएका छन् । नेपालको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)का प्रमुख कार्यकारी अधिकृत लकाईं सन् २०१७ मा इयुहोफाका बोर्ड सदस्य बनेका थिए ।
इयूहोफाको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका विश्वभरिका आतिथ्य व्यवस्थापना अध्यापन हुने शैक्षिक प्रतिष्ठानहरू सदस्य छन् । सञ्जालमा नेपालबाट १४ वटा होटल व्यवस्थापन तथा पर्यटन शिक्षासम्बद्ध प्रतिष्ठानहरू सदस्य छन् ।
काठमाडौंमा जारी इयुहोफाको ५८औँ कांग्रेसमा यसपटक दुई दर्जन मुलुकबाट ७० विभिन्न पर्यटन र आतिथ्यतासम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र प्रतिष्ठित वरिष्ठ व्यक्तिहरू एवं थुप्रै विज्ञहरू सहभागी छन् । यस संगठनको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका त्यस्ता निकै पुराना प्रतिष्ठित शैक्षिक संस्थाहरू छन् ।

नेपालले आयोजना गरेको यो अन्तर्राष्ट्रिय सम्मेलनको आतिथ्यता एसियामा नै पहिलो पटक भएको हो । सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालले पर्यटनलाई प्राथमिकता प्राप्त उद्योग र वैदेशिक मुद्रा आर्जन तथा रोजगारी सिर्जनाका लागि दिगो स्रोतका रूपमा मान्दै आएको हुनाले आतिथ्यताको क्षेत्र नेपालका लागि महत्वपूर्ण विषय भएको बताए ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागिएको र वार्षिक कम्तिमा २० लाख पर्यटकहरू नेपाल भित्र्याउन लागिएको परिप्रेक्षमा आतिथ्यताको क्षेत्र नेपालका लागि महत्वपूर्ण भएको उनको भनाइ थियो । उनले पर्यटन उद्योगलाई नीतिगत सुधारहरूमार्फत बढावा दिइरहेको भन्दै यसले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पर्यटनले हाम्रा प्राकृतिक र सांस्कृतिक उत्पादनहरूलाई समृद्ध तुल्याउने धारणा राखेका छन् । सोही कारणले सन् २०२० को नेपाल भ्रमण वर्षलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन लागिएको उनको भनाइ थियो । यो कांग्रेसले नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धन गर्न सहयोग पुर्याउने पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले विश्वास व्यक्त गरे ।
इयूहोफाका नवनिर्वाचित अध्यक्ष खेम लकाईंले नेपालमा अतिथिलाई भगवानका रूपमा हेर्ने मुलुक भएको बताउँदै यहाँको आतिथ्य सत्कार क्षेत्रलाई विश्वभरि नै उदाहरणीय मानिएको बताए । आतिथ्य सत्कारलाई अध्यात्मसँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै उनले भने- “हाम्रो विश्व युरोपजस्तै एकनासले कामय भएर बस्न सक्दैन, यहाँ केही कुराहरू बिग्रेर गएका छन् । तर यहाँ मिलनसार मानिसहरूले भरिपूर्ण छ । त्यसैले थुपै पर्यटकहरूले भन्ने गर्छन्- हामी यहाँ हिमाल-पहाड र मानिसका कारण आउने गर्छौं ।” उनले यो मानवीय भावना नै यहाँका सामर्थ्य भएको बताउँदै उनीहरूलाई प्रशिक्षित गरेर शक्तिमा बदलिने अवसर रहेको बताए ।
अहिलेसम्म पर्वतारोहण र पदयात्राको पर्यायवाची गन्तव्यका रूपमा मात्र चिनिएको नेपालका लागि यस भूमिको नशामै भएको अतिथि सत्कारको गुणलाई बदलिँदो परिवेश अनुरूप विश्व बजारमा देखाउने एउटा ठूलो अवसर हो यो । त्यसबाहेक यो धार्मिक सहिष्णुणताको परिवेशमा यहाँका प्राकृतिक र धार्मीक धरोहरकाबीच नेपाललाई आध्यात्मिक केन्द्रका रूपमा परिचित गराउने उपयुक्त समय समेत हो ।
युरोपका केही पर्यटन र आतिथ्य सत्कारका विद्यालयबाट सुरु भएको यस एसोसिएसनमा अहिले नेपालका १२ होटल व्यवस्थापन तथा आतिथ्य सत्कार सम्बद्ध कलेजहरू सदस्य छन् भने ८ कलेज आयोजक रहेका छन् । २०१७ इटलीमा पहिलोपटक नेपालबाट खेम लकाई बोर्ड सदस्य निर्वाचित भएसँगै यस आयोजनाको माहोल बनेको हो ।