विकासन्युज

प्रदेश सरकारको पौने दुई करोड लागतमा चमेरो ओढार सिँचाइ आयोजनाको निर्माण कार्य शुरु

बनेपा । कृषिजन्य उत्पादन वृद्धिका लागि जिल्लाको विकट मानिएको महाभारत गाउँपालिका–२ कुपिन्टारमा चमेरो ओढार सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको छ । प्रदेश सरकारको रु एक करोड ८२ लाखको सहयोगमा निर्माण शुरु भएको सो आयोजनाबाट करिब ३०० हेक्टर खेतीयोग्य जमिन सिञ्चित हुने आयोजनाले जनाएको छ । कृषिको प्रचुर सम्भावना बोकेको कुपिन्टार क्षेत्रमा पानीको चरम समस्या भएकाले यो आयोजना शुरु गरिएको आयोजना उपभोक्ता समितिका सचिव मानबहादुर घिसिङले बताएका छन् । आर्थिक रुपले विपन्न र सामाजिक रुपमा पिछडिएका किसानको सिँचाइ सुविधामा पहुँच बढाइ खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउन सिँचाइ आयोजना निर्माण गरिएको उनले बताए । सिँचाइ आयोजना निर्माण भएपछि यस क्षेत्रका २०० घरधुरी लाभान्वित हुने भएका छन् । सिँचाइ आयोजना निर्माण भएपछि बाह्रैमास खेती गर्न सकिने जनाइएको छ । “सम्झौताअनुसार आगामी २०७७ असार मसान्तसम्ममा आयोजनाको सम्पूर्ण काम सकिने गरी काम भइरहेको छ”, सचिव घिसिङले भने, “मुहानदेखि सिञ्चित ठाउँसम्म पुग्न साढे चार किलोमिटरको कुलो निर्माण गर्नुपर्नेमा केही भाग उपभोक्ता समितिले र बाँकी काम ठेकेदारले गर्नुपर्नेछ ।” रासस

साग प्रतियोगितामा प्रहरीबाट ९२ खेलाडीले खेल खेल्ने

काठमाडौं । नेपाल प्रहरीबाट १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट ४४ महिला र ४८ पुरुष गरी ९२ खेलाडीको सहभागिता रहने भएको हो । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नेपाल प्रहरीले १९ खेलमा सहभागिता जनाउने जानकारी दिएका छन् । प्रहरीले पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ, जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टनमा सहभागिता जनाउने छ । यस्तै, टेबलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुस्ती र महिला बास्केटबलमा पनि सहभागिता रहने प्रवक्ता पोखरेलले बताएका हुन्। रासस

आठ किलो सुनसहित विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौँ आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ः४० बजे पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलश थापा क्षेत्रीले नियमित चेकजाँचका क्रममा सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेका दुवैजनालाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । पक्राउ परेका व्यक्ति सुनको मालिक हुन् वा अरु हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

नेप्सेको ११०० विन्दुमा कुन शक्ति छ ?

काठमाडौं । ९४२ कारोबार दिन भयो नेप्से परिसूचकले १००० को विन्दु छाडेर अघि बढेको । यो बीचमा नेप्सेले एकपटक १८८१ को सर्वाधिक उचाई हासिल पनि समेत गर्यो अधिकांश समय चाहिँ लगानीकर्तालाई निराश बनाउने नै काम गर्यो । अहिले नेप्से १११० विन्दुको हाराहारीमा छ । यो वरपर घुमेको पनि धेरै समय भइसक्यो तर पनि नेप्सेले ११ सय विन्दुलाई क्रस गरेर तल झर्न सकेको भने छैन । बजार निरन्तर घट्न थालेपछि विभिन्न आन्दोलनहरु समेत भए । इतिहासमै पहिलो पटक बजार नै बन्द गर्नेगरी आन्दोलन भए । अनसन बसियो, सरकारसँग पटक पटक वार्ता पनि गरियो । बजारका स्टेकहोल्डरहरुको त्यही प्रयास र घर्षणका कारण यो अवधिमा बजारलाई थप सशक्त र प्रभावकारी बनाउन नयाँ कानूनहरु आए, नयाँ प्रविधि पनि लञ्च हुँदै गए । पहिलो बजारमा सर्वसाधारणको सहभागिताले एउटा उचाई लियो । दोस्रो बजारको कारोबारको प्रक्रिया र समय घट्दै गयो यद्यपि बजार परिसूचकले भने पछिल्ला वर्षहरुमा विरियस ट्रेन्डलाई नै समातेर अघि बढेको बुझाई लगानीकर्ता र विज्ञहरुको छ । तर त्यति हुँदा पनि भुइँमा सुतेको बुढो बाघलाई रुखमा बसेको बाँदरले गिज्याएजस्तो ११०० को विन्दुलाई पटक पटक जिस्क्याएर पनि परिसूचकले त्यसलाई छुने आँट भने गरेको छैन । नेप्सेको बुलिस–वियरिस यात्रा नेप्से परिसूचक ३०० बिन्दु तल पुगेर फर्किएको २०११ को मध्यतिर हो । साे वर्ष जुन  महिनाकाे १५ तारिखका दिन नेप्से परिसूचक २९२.३२ अंकमा झरेर रोकिएको थियो । त्योबेला बजार यति कमजाेर अवस्थाबाट गुज्रेकाे थियाे कि ठूला र राम्रो प्रतिफल दिने कम्पनीहरुको शेयर मूल्य समेत अंकित मूल्यभन्दा कममा झरेको थियो । बजार विरियसको त्यो हदपछि पनि करिब डेढ वर्षसम्म बजार स्थिरजस्तै देखियो । २०१२ को अन्त्यतिरदेखि भने बजारले सुधारको संकेत देखायाे । त्यसकाे एक वर्षपछि अर्थात् २०१३ को अन्त्यदेखि भने बजारले दिनप्रतिदिन उच्च र निरन्तर वृद्धिका नयाँ रेकर्डहरु राख्दै गयो । दिनदिनै दाेहाेराे अ‌ंककाे वृद्धि बजारका लागि नाैलाे हुन छाड्याे । यद्यपि बीचमा बजारले करेक्सनका संकेतहरु पनि देखाएको थियो । २०१४ जुलाई २१ मा १०८३.५५ विन्दु छोएको नेप्सेले सोही वर्षको डिसेम्बरमा ८४८ को विन्दु छोएको थियो । २०१५ को जुलाई २३ मा चार अंकमा उक्लिएको नेप्सेले फेरि ३ अंकमा झरेको छैन तर १००० को विन्दु छोएको केही समयमै ११०० पुगेको सो परिसूचकले बजारले जतिसुकै विरियस ट्रेन्ड लिए पनि साे विन्दुलाई छोडेर तल झर्न सकेको छैन । यहाँनिर अचम्म त के छ भने २०१५ डिसेम्बरपछि अहिलेकाे समयसम्म नेप्सेले ११०० विन्दु छोएर बन्द हुने एक दर्जन बढी प्रयास गरिसकेको छ तर सफल भएको छैन । यो वर्षकै मार्च ३ मा नेप्सेले ११००.५८ अंकको विन्दुसम्म आएर फेरि उकालो लागेको थियो । त्यस्तै, फेब्रुअरी १८ मा ११०२.५१ मा झरेको थियो । त्यसो त, २०१५ को डिसेम्बरमा पनि नेप्से १११०.६८ प्रतिशतसम्म झरेको थियो । संकेत के हो ? ग्राफ र अंकको महत्व हाम्रो जीवनमा महत्वपूर्ण विषय हुन् । ट्रेन्ड एनालाइसिस (प्रवृत्ति विश्लेषण) को एउटा महत्वपूर्ण औजार ग्राफ हो । हाम्रो मुटुको धड्कनलाई त्यसैगरी ग्राफमा प्लट गरेर मुटुको अवस्था पत्ता लगाइएजस्तै बजारको चाललाई समेत ग्राफले बोल्ने गर्छ । यसको अर्थ ११०० को विन्दुबाट बजार फर्केर जानुले सो विन्दुमा नेपाली बजार परिपक्व भएको अर्थमा विज्ञहरु बुझ्छन् । शेयर बजारको प्राविधिक विश्लेषणमा प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण औजार फिभोनासी स्ट्रेसमेन्ट टुल्स हो जसले बजारको गतिअनुसार लगानीकर्ताको मनोविज्ञानलाई गणितीय सुत्रमार्फत् ग्राफमा प्लट गरिदिन्छ र बजारको वास्तविक विन्दुबाट धेरै बढ्नबाट रोक्ने अवरोध र घट्नबाट बचाउने टेवाका मनोवैज्ञानिक विन्दुहरु पत्ता लगाउने काम गर्छ । बजारमा यो प्रक्रिया निरन्तर हुने भए पनि बजारको ११०० ले बजारलाई धेरै पटक टेवाको काम गरिसकेको छ जसले यो विन्दुमा बजारकाे परिपक्वताको संकेत गर्छ ।

जाली फटाहाहरूसँग मिल्नै पर्ने बैंकर्सकाे बाध्यता र बैकिङ क्षेत्रमा बढ्दाे असुरक्षा- मनाेज ज्ञवाली

हो, गएकाे ३/४ वर्षमा बैंकिङले ऐतिहासिक फड्को मारेको छ। ८ दशकको बैंकिङ ईतिहासमा यो ३/४ वर्षको पूँजी वृद्धि, व्यापार वृद्धि, शाखा वृद्धि हेर्यो भने विगत ३/४ वर्ष एकातिर अनि बाँकी पुरै अबधि अर्कोतर्फ राख्दा पनि यो ३/४ वर्ष भारी हुन्छ। तर हामीले बिर्सिनु नहुने कुरा भनेको व्यवसाय वृद्धि तथा नाफा वृद्धिसंगै बैकिङ जोखिम पनि त्यहि अनुपातमा वृद्धि हुने सम्भावना रहन्छन्। बेलैमा चनाखो हुन सकियो भने नोक्सानी कम हुन्छ। जुन हिसाबले विगत ३/४ वर्षमा बैंकिङको व्यवसाय र शाखा संजाल विस्तार भयो यसले बैंक तथा वित्तीय संस्थाहरुमा बेग्लै होडबाजी ल्यायो। यो अबधिमा धेरै कुरा नौला भएर आए । केहि संस्था र कर्मचारीहरु अपबादका रुपमा रहे पनि समग्रमा र बुँदागत रूपमा बैकिङ क्षेत्रको चित्र तल उल्लेख गरिए जस्ताे रह्याे । १. कति बैंकमा बर्ष मै एउटा शाखामा ३/४ जना शाखा प्रबन्धक परिवर्तन भए। अलि स्थापित भईनसकेका र नयाँ बैंकका कर्मचारीहरु ६/६ महिनामा पदोन्नति लिँदै अरु संस्थाहरु तिर भागदौडमा लागे। अनुभव कम पद ठूलोसँगै जिम्मेवारी बढि हुने स्थिति रह्यो। २. राष्ट्र बैंकका निर्दैशन र आन्तरिक नीति नियम राम्ररी नबुझेरै कति बैकर शाखा प्रबन्धक त कति विभागीय प्रमुख भैसके । ३. २/३ बर्ष पनि बैकिङ अनुभब नभएका बैंकरलाई शाखा प्रबन्धक बनाएर धेरै शाखाहरु चले । ४. कर्मचारी तानातान गर्ने बैकिङको नीतिले ६/६ महिनामा जागिर परिवर्तन गर्ने कर्मचारी बढे । बैंक व्यवस्थापनले यसलाइ नै प्रोत्साहित गर्याे। ५. बैंक व्यवस्थापनलाई सबैभन्दा बढि चाप व्यवसाय बिस्तारको पर्यो अनी क्वालिटीमा कम्पर्माइज गरेर क्वान्टीटी बढाउने तर्फ व्यवस्थापन अग्रसर भयो। ६. दीर्घकालीन रणनीति भन्दा चौमासिक व्यवसायको प्रतिस्पर्धी होड नै बैंकिङको मुल लक्ष्य बन्यो। दीर्घकालीन लक्ष्य लिई अघि बढ्नुपर्छ, कम्प्लायन्स र क्वालिटीलाई फाेकस गर्नुपर्छ भन्ने सीईओहरुलाई बैंकिङमा टिक्न हम्मे हम्ने पर्यो भने कतिपय राम्रै छवी रहेका सीईओहरुले बीच मै छोड्नु पर्यो। ७. बैंकिङको पर्फर्मेन्स इन्डिकेटर नै व्यवसाय र नाफा बृद्धिलाई लिईयो। सफलताको मापन गर्ने कुरा त्यही मात्रै भयो चाहे व्यवस्थापन होस, संचालक समितिमा होस् या पत्रकारका लागि । ८. शाखा खोल्ने होडबाजी चलिरह्यो। बैंकका कुनै शाखामा ३/४ महिनापछि ग्राहक जाँदा सबै कर्मचारी नयाँ हुनेसम्म भयो। जेनतेन २/४ वर्ष बैकिङ गरेको बैंकर खोजेर बीएमको जिम्मेवारी सुम्पेपछि अरु सबै जुनियर असिस्टेन्ट लेभलका नौसिखिया बैंकरहरु राखी कति शाखा चले कति । ९. कर्जा ग्राहकहरुलाई  ८/९ प्रतिशतको ब्याज १४/१५ प्रतिशत पुर्याउदा पनि उनी चुप लागिरहे। बैंकरहरुले ब्याज बढाईरहे। पुगेन भनेर अलि ब्याज घटाएर सर्भिस चार्जको रुपमा सहकारीको भन्दा बढि दरमा बैकिङले असुली रह्यो, कर्जा ग्राहकहरु निरिह भई तिरिरहे। १०. व्यवसाय बृद्धि र नाफाको यो प्रतिस्पर्धाले बैकिङले ग्राहक हित कतै बिर्सियो त कतै बैकिङ इथिक्स त कतै नीति निर्दैशनका लुपहाेल्सहरुलाई प्रयोग गर्यो। बैंकिङ साँच्चिकै आर्थिक समृद्धिको संवाहकको रुपमा भन्दा आफ्नै संस्था मुखी मात्रै हुँदै गयो धेरै संस्थाहरुको हकमा। ११. बैकले प्रविधिमा कति फड्को मार्यो? आन्तरिक नियन्त्रण प्रणालीमा कति सुधार गर्यो ? नीति विधि र अनुपालनलाई कति महत्व दियो भन्नु भन्दा पनि अर्को बैंकले यति गर्यो हामीले किन सकेनौँ भन्ने चर्चा मै बिते कैयौँ मिटिङहरु। १२. अर्को बैंक तथा बित्तीय संस्थाले जे प्रडक्ट ल्यायो, हामीले किन नल्याउने? उसले यो टेक्नाेलाेजिलाई एडप्ट गर्यो हामी किन नगर्ने ? बस देखासिकी र प्रतिस्पर्धा मै धेरै काम भयो  । आफ्नो जरुरत र सम्बन्धित रिक्स एनालाईसिस्स ख्याल नै गरिएन । १३. तरलता अभाव कायम रहिरह्यो। नियमनकारी निकाएका अधिकारीको मौखिक निर्दैशनमा सहमति गरेका नयाँ बैंकहरुलाई आफ्नो निक्षेप बचाउन हम्मेहम्मे भैरह्यो। पुराना र स्थापित बैंकहरुको निक्षेपमा ब्याजदर र नयाँ बैंकहरुको एउटै हुँदा पनि नयाँ बैंकहरु भद्र बनिरहे। ब्यापार नबढ्ने, स्प्रेड घटाउनु पर्ने, संचालन खर्च बढ्नेसंगै कर्जा अलिकति बिग्रिदा साथ मुनाफा घट्यो अनि अर्को किचकिच शुरु। १४. बैकिङ कसुरले आफ्नो असर नराम्रैसँग देखायो। जाली धितोमा गएको कर्जामा हस्ताक्षर गर्ने जतिको कि त भागाभाग कि त जेल बसाई हुने नियम बनाई कार्यान्वयन गर्दा जालीहरु भाग्ने, ठगिने बैंकर जेल जाने अवस्था भयो। यसै डरले कति जालसाजलाई त बैंकरहरुले कारबाहि गर्न छोडी आफै मिलेर हिसाब मिलानसम्म गर्नु पर्ने अवस्था आयो। १५. क्षेत्रीय स्तरका संस्थाहरुलाई स्थापित हुन अझै गाह्रो भयो। ‘बिग मर्जर’ को असर खासै नदेखियता पनि ‘स्मल मर्जर’ हरु भईरहे। संस्थाहरु घटिरहे। १६. शाखा बिस्तारले गर्दा स्टाफ ट्रनओभर एकदमै बढ्यो। चाहिने भन्दा कम कर्मचारीले चलेका शाखाहरुमा नजानेर या नसकेर काेर बैंकिङ सफ्टवेरकाे यूजरनेम र पासवर्ड सेयर गरी कारोबार कति भए कति। ‘डुयल कि’मा रहनु पर्ने ‘भ्यालुट’ को दुईटै चाबी एउटै स्टाफले बोकेर चलाउनु पर्ने स्थिति रह्यो कति शाखामा। १७. व्यवसायिक कर्जाहरु रिन्युअल हम्मेहम्मे भयो। वित्तीय विवरणमा एकरुपता र कर तिरेको विवरणसँग मिलानको कारण। १८. नियमनकारी निकायका निर्देशन र फर्मुलाहरु हेरफेर छिटो छिटो भईरहे। १९. ट्रेनिङ एण्ड डेभलेपमेण्टमा खर्च राम्रै बढ्यो तर खर्च अनुसारको क्षमता र दक्षता बृद्धि कर्मचारीहरुमा बढेको देखिएन। २०. एनएफआरएस अनुसार तयार पारिएका वित्तीय विवरणहरु यूजरहरुलाई बुझ्न हम्मे हम्मे पर्यो। अहिलेसम्म भएका छुटफुट घटना बैकिङको लागी त्यति चिन्ताको बिषय नहोलान् तर यी घटनाहरुलाई हामी ठूलो संभावित जोखिमका पूर्व जनाउ घण्टिका रुपमा लिनुपर्छ। नियमनकारी निकायले निर्दैशन गरे भन्दा पनि माथि सोचेर आफ्नो संस्थाको जोखिम मूल्याङ्कन गरी समय मै तथोचित जोखिम व्यवस्थापनका विधिहरु अबलम्बन गर्न सकिएन भने बैकिङमा जालसाजी अझै बढ्ने, सम्पत्तिको गुणस्तर घट्दै जाने हुनसक्छ। यसैले बैंकिङको साख बचाईराख्ने कुरामा बेलैमा चिन्तनशील हुनु पर्ने देखिन्छ। (ज्ञवाली ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकत हुन् र उनकाे विचार फेसबुकबाट लिएकाे हाे )

एनसेलकाे रिचार्जमा चमत्कार: पाँच ग्राहकले जिते १० लाख उपहार

काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरुलाई बिहीबार (मंसिर १२) जनही रु २ लाख नगद पुरस्कार वितरण गरेको छ । एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर यहि मंसिर १ गतेदेखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख र प्रत्येक महिना रु १० लाख जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकहरुलाई मध्ये बिहीबार दुई ग्राहकले जनही रु २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् । बाँकी विजयी ग्राहकहरुले आवश्यक प्रमणिकरणको प्रक्रिया पश्चात उनीहरुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार ग्रहण गर्न सक्ने एनसेलले जनाएको छ । पहिलो हप्ताका पाँच विजयी मध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफुले पाएको नगद रु २ लाख पुरस्कार बिहीबार एक कार्यक्रम माझ ग्रहण गरेकी छिन् । त्यसैगरी एनसेल सेन्टर वीरगंजबाट बाराका मनोज कुमार यादवले पनि रु २ लाख पुरस्कार बिहीबार नै ग्रहण गरेका छन् । “एनसेललाई धेरै–धेरै धन्यवाद । यो रकमले म गाउँमा एउटा सानो घडेरी जोड्छु,” पुरस्कार ग्रहण गरी सकेपछि खुसी हुँदै मोतिसराले भनिन् । त्यस्तैगरी बाराका मनोजले यो रकम आफ्नो बच्चाको शिक्षाका लागि लगानी गर्ने बताए । एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने कम्पनीले जनाएकाे छ ।

टिभिएसले सार्वजनिक गर्यो ‘आरटिआर १६० ४भी’ र ‘आरटिआर २०० ४भी’ को २०२० भर्जन, यस्ता छन् नयाँ फिचर

काठमाडाैं । भारतिय मोटरसाइकल उत्पादक कम्पनी टिभिएसले २०२० संस्करणको ‘अपाचे आरटिआर १६० ४भी’ र ‘अपाचे आरटिआर २०० ४भी’ लाई भारतमा सार्वजनिक गरेको छ । कम्पनीले भारतिय बजारमा आरटिआर २०० ४भी को मूल्य एक लाख २४ हजार रुपैयाँ तोकेको छ भने आरटिआर १६० ४भी (ड्रम) को मूल्य ९९ हजार नौ सय ५० रुपैयाँ र त्यसैगरी आरटिआर १६० ४भी (डिस्क) को मूल्य एक लाख तीन हजार रुपैयाँ तोकेको छ । यी बाइकहरुको मूल्य भने अघिल्लो भर्जनको तुलनामा केहि वृद्धि भएको हो । टिभिएसले यी मोडेलहरुलाई धेरै परिमार्जन गरेर बजारमा ल्याएको हो । पहिलो परिमार्जनको रुपमा यी बाइकहरुमा बीएस६ प्रदुषण मापदण्ड अनुरुपको इञ्जिन समावेस छन् ।आरटिआर २०० ४भीमा भएको बीएस६ इञ्जिनले पहिले जतिनै अर्थात् २०.५० एचपीको पावर उत्पादन गर्दछ भने टर्क चाहिँ पहिलेको भन्दा १.३० एनएमले कम अर्थात् १६.८० एनएम उत्पादन गर्दछ । त्यसैगरी आरटिआर १६० ४भी मा दिइएको बीएस६ इञ्जिनले चाहिँ पहिलेभन्दा लगभग ०.८ एचपी कम अर्थात् १६.०२ एचपीको पावर उत्पादन गर्दछ भने टर्क चाहिँ लगभग ०.७ एनएमले कम अर्थात् १४.१२ एनएम उत्पादन गर्दछ । टिभिएसले यी मोडेलहरुमा नयाँ डिजाइनको एलईडी हेडलाइट दिएको छ जसले बाइकलाई पहिले भन्दा एग्रेशिभ लुक्स प्रदान गरेको छ । भारतिय मिडियाहरुका अनुसार कम्पनीले यी दुवै बाइकहरुमा जीटीटी (ग्लाइड थ्रू ट्राफिक) नामक फिचर पनि समावेस गरेको छ । यस फिचरले ट्राफिक भएको क्षेत्रमा कम स्पिडमा बाइकलाई स्मूथ र कन्ट्रोल्ड राइड प्रदान गर्न मद्दत पुर्याउँछ । त्यसैगरी, अन्य फिचरहरुको रुपमा यी मोडेलहरुमा ‘फिदर टच’ स्टार्ट र रिडिजाइन्ड मिरर समावेश छन् ।

१५ र २४ गते उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली, ठूला सवारी चक्रपथभित्र निषेध, टुडिखेलमा पार्किङ खुला

काठमाडौँ। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। सार्वजनिक र निजी दुबै सवारी साधनका लागि यो नियम लागू हुने ट्राफिक प्रहरीले जनाएकाे छ । ट्राफिक प्रहरीका अनुसार मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चल्न पाउनेछन्। उक्त दिन जोर नम्बरका सवारी साधन रिङरोडभित्र चल्न पाउने छैनन्। यस्तै, २४ गते जोर नम्बर भएका सवारी साधनमात्र चल्नेछन्। सरकारी, अत्यावश्यक सेवा, खेलसँग आवद्ध र सञ्चारकर्मीका सवारी साधन वाहेक अन्य सम्पूर्ण सवारी साधनले खेल उद्घाटन मंसिर १५ गतेका दिन विजोर नम्वर प्लेटरसमापन मंसिर २४ गतेका दिन जोर नम्वर प्लेटका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुराेध गरेकाे छ । प्रहरी महाशाखाले २०७६ मंसिर १५ गतेदेखि मंसिर २४ गतेसम्म ठूला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश निषेध गरेकाे छ ।  दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न पनि प्रहरीले अनुराेध गरेकाे छ । पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउन,  खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौँ मल अगाडी टुँडिखेलमा तोकिएकोले सोही ठाउँमा पार्किङ्ग गर्न,  हर्न बजाउन पूर्ण रूपले निषेध गर्न निर्देशन दिएकाे छ ।