काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिलको प्रयोग गर्ने दुई जनाविरुद्ध मुद्दा दर्ता भएकाे छ । निजलाई ८६ लाख ७७ हजार ४ सय ३२ विगो र सो बिगोको दोब्बर १ करोड ७३ लाख ५४ हजार ८ सय ६४ जरिवाना र ३ वर्ष कैद सजायको माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका ११ मा स्थायी वसोवास भई हाल काठमाण्डौ महानगरपालिका ९ वस्ने श्री प्रभा इन्टरप्राईजेज (स्थायी लेखा नंं. ३०४४२३४००) को प्रोप्राईटर राम प्रसाद चौलागाईलाई राजस्व चुहावट गरेको अभियोगमा रु. ५९ लाख ४ हजार ९ सय ३८ विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको मागदावी लिई मिति मंसिर ११ गते मुद्दा दर्ता गरिएको हो ।
श्री प्रभा इन्टरप्राईजेज (स्थायी लेखा नं. ३०४४२३४००) ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ । प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरी मु.अ.कर तर्फ रु. १७ लाख २६ हजार ५ सय ७५ र आयकर तर्फ रु. ४१ लाख ७८ हजार ३ सय ६३ राजस्व चुहावट गरेको पाइएको छ ।
यसरी, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, द्दण्छद्द को दफा २(छ१) बमोजिम हुने जम्मा विगो रु. ५९ लाख ४ हजार ९ सय ३८ राजस्व चुहावट गरेको प्रमाणित हुन आएकोले श्री प्रभा इन्टरप्राईजेजका प्रोप्राईटर राम प्रसाद चौलागाईलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) वमोजिम विगो रकम रु. ५९ लाख ४ हजार ९ सय ३८ असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति २०७६।०८।११ गते मुद्दा दर्ता गरिएको हो ।
त्यसैगरी, काभ्रे जिल्ला चौरीदेउराली गउँपालिका वडा नं.५ मा स्थायी वसोवास भई हाल काठमाण्डौ महानगरपालिका ३२ वस्ने जि. पि. सि. ट्रेडर्स (स्थायी लेखा नं. ३०२७५३४५७) को प्रोप्राईटर रामकृष्ण ढकाललाई राजस्व चुहावट गरेको अभियोगमा रु. २७ लाख ७२ हजार ४ सय ९४ विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको मागदावी लिई मिति मंसिर ११ गते मुद्दा दर्ता गरिएको छ ।
जि.पि.सि. ट्रेडर्स (स्थायी लेखा नं. ३०२७५३४५७) ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको हो । प्रतिवादीले राजस्व चुहावट ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरी मु.अ.कर तर्फ रु. ७ लाख ३३ हजार ५ सय १२ र आयकर तर्फ रु. २० लाख ३८ हजार ९ सय ८२ राजस्व चुहावट गरेकोले राजस्व चुहावट ऐन, द्दण्छद्द को दफा २(छ१) बमोजिम हुने जम्मा विगो रु. २७ लाख ७२ हजार ४ सय ९४राजस्व चुहावट गरेको प्रमाण्ति हुन आएको हो ।
यसरी, जि.पि.सि. ट्रेडर्सका प्रोप्राईटर रामकृष्ण ढकाललाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) वमोजिम विगो रकम रु. २७ लाख ७२ हजार ४ सय ९४ असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दाबी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति मंसिर ११ गते मुद्दा दर्ता गरिएको हो ।