विकासन्युज

चैत मसान्तभित्र स्ववियु निर्वाचन: मन्त्री पोखरेल

प्यूठान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने बताएका हुन् । उक्त कार्यक्रममा ऐन, नीति, नियम निर्माणका साथैे समाजवादउन्मुख शिक्षा प्रणाली बनाइने उनको भनाइ थियो । केही नीति पारित भएको केही निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको बताए ।

१६० करोडको लागतमा रविभवनमा खुल्दैछ चार तारे होटल ‘क्राउन इमेरियल’

काठमाडौँ । रविभवनमा क्राउन इमेरियल होटल सञ्चालनमा आउने भएको छ । ५ रोपनी क्षेत्रमा १५ तलाको होटल निर्माण अन्तिम चरणमा रहेको छ । डिलक्स स्तरको होटल क्राउन इमेरियल अप्रिल १६ बाट औपचारिक रुपमा सञ्चालनमा आउने जनरल म्यानेजर भरत जोशीले बताए । हाउजिङको लागि निर्माण गरिएको अपार्टमेन्टलाई नै परिमार्जन गरी होटल सञ्चालन गर्न लागिएको हो । अहिले होटल निर्माण अन्तिम चरणमा रहेको छ, केहि दिनपछि होटल पूर्ण रुपमा तयार हुनेछ, म्यानेजर जोशीले विकासन्यूजसँग भने-अप्रिल १६ तारिखमा होटलको ग्राण्ड ओपनिङ हुनेछ । स्पेन, भारत, जापान, चीनका पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याउन लागिएको हो । होटलले १ सय १० जनालाई रोजगारी प्रदान गर्नेछ । होटलमा किरण श्रेष्ठ, सुधिर मास्के, विश्व साख र हरिकृष्ण डंगोल गरी ४ जनाको मुख्य लगानी रहेको छ । होटल स्थापना र सञ्चालनको लागि आइसीएफसी फाइनान्स वित्तीय सहायता प्रदान गरेको छ । होटलले पर्यटन विभाग, होटल एशोसियसनबाट स्वीकृति लिइसकेको छ । यस्तो छ होटलको बिजनेश प्लान होटलले विशेष गरी कर्पोरेट मार्केट, लेजर ग्रुप र विदेशी पर्यटकलाई टार्गेटमा राखेको छ । म्यानेजर जोशीका अनुसार भारत, चीन, अमेरिका र युरोपेली पर्यटकलाई सेवा दिने तयारी गरेको छ । होटलमा १३० वटा बेड छन् । ५०० जना अट्ने ब्याङ्केट हल रहेको छ । रुफ टफ बार, रुफ टफ रेस्टुरेन्ट भने पछि मात्रै निर्माण गर्ने योजना छ । होटलमा स्वीमिङ पुल, हेल्थ क्लब लगायत अन्य सुविधा रहने छन् । सुलभ दरमै सामाजिक कार्यहरु विवाह, व्रतबन्ध लगायतका कार्यक्रम गर्न सकिने होटल व्यवस्थापनले जनाएको छ । व्यवसाय विस्तारको लागि होटलले स्पेन, भारत र लोकल स्तरमा मार्केटिङ गरिरहेको छ । १३२ वटा पुगे तारे होटल देशभर तारे होटलको संख्या १३२ वटा पुगेको छ । पर्यटन विभाग होटल शाखाका अनुसार उच्च स्तरको सेवा दिने गरी खुलेको तारे स्तरको होटल १३२ पुगेको छ । विभागका अनुसार पाँच तारे स्तरको १२, चार तारे स्तरको ८, तीन तारे स्तरको ३५, दुई तारे स्तरको ४३ र १ तारे स्तरको ३३ वटा होटल रहेका छन् । यस्तै पर्यटक स्तरको होटल संख्या ५१० पुगेको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने तयारी गरेको छ । जसअनुसार २० लाख पर्यटक भित्र्याउने लक्ष्य समेत राखिएको छ ।  

सिभिल बैंकद्वारा बाल विकास समाजलाई सहयोग

काठमाडौं । सिभिल बैंकले बाल विकास समाजलाई रु १ लाख सहयोग गरेका छन् । सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई सम्झौता पत्रमा हस्तान्तरण गरेका हुन् । उक्त चेक देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यको भनाई छ । सिभिल बैंकले पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १०सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि ब्योहोर्दै आइरहेको छ । यस बाल विकास समाजसँग पनि बैंकले विगत ३ वर्षदेखि निरन्तर रुपमा सहभागिता जनाएको छ ।

सिटिजन्स बैंकले गर्यो आसमान नेपाललाई १ लाख आर्थिक सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न सामाजिक गतिविधि गर्दै आएको आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच एक लाखको चेक आसमान नेपाललाई हस्तान्तरण गरिएको हो । सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन आसमान नेपालले करिव २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ । यस प्रकारको सहयोगबाट महिलातथाबालबालिकाको सशक्तिकरण, सबलिकरण तथाचौतर्फी विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

मोबाइल एप एनबीआई शुभारम्भ, वित्तीय साक्षरता र शैक्षिक सामाग्री समावेश

काठमाडौँ । नेशनल बैंकिङ्ग इन्स्टिच्यूट लि.(एनबीआई)ले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सवको अवसर फागुन ५ गते संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एनबीआई नामको मोबाईल एपको समेत शुभारम्भ गरिएको छ । सो एपमा नेपालकै पहिलो बित्तीय साक्षरता सम्बन्धी जानकारीमूलक एवम् शैक्षिक सामग्री समावेश गरिएको छ । उक्त एपको समावेश वित्तीय साक्षरता सम्बन्धी भागमा वित्तीय साक्षरताको ज्ञान दिलाउने ई–किताव, सो किताव अध्ययन पश्चात परिक्षाको अवसर, बिभिन्न सफलताका कथाहरु लगायत वित्तीय साक्षरता सम्बन्धी गीत समावेश गरिएको छ । नेपालको हरेक क्षेत्रका बासिन्दाहरु अझ मुख्य रुपमा ग्रामीण क्षेत्रका बासिन्दाहरलाई वित्तीय ज्ञान अभिबृद्धि गरी समस्त आर्थिक कारोबारलाई बैंक तथा वित्तीय संस्था मार्फत गराउन अभिप्रेरित गरी देश विकासमा केही योगदान पुगोस भन्ने उद्धेश्यले यो वित्तीय साक्षरता सम्बन्धी मोवाईल एपको निर्माण गरिएको एनबीआईले जनाएको छ । प्रविधिको उचित सदुपयोग गरी देशका बिभिन्न भागमा छरिएर रहेका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले आ–आफ्नो क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी ज्ञान एवम् जानकारी प्रवाह गर्न सकिने गरी यो वित्तीय साक्षरता सम्बन्धी एपमा पावरप्वाईन्ट प्रस्तुतिकरण समेत समावेश भएको छ । गैर बैंकिङ्ग क्षेत्रमा छरिएर रहेका कोषहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउने प्रयोजनको लागि यो वित्तीय साक्षरता सम्बन्धी एपको प्रयोग गरी बैंकिङ्ग सम्बन्धी ज्ञान प्रवाह गर्न सकिने र यसले समग्रमा वित्तीय ज्ञान फैलाउन महत्वपुर्ण योगदान हुने एनबीआईले बिश्वास लिएको छ । यो एप नि:शुल्क रुपमा एन्ड्रोइड भर्सनको गुगल प्ले स्टोरबाट डाउनलोड गरी अफलाईन मोडमा पनि चलाउन सकिने सुबिधा रहेको छ ।

वोमीको विशेष साधारण सभा सम्पन्न, हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौँ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ । विशेष साधारण सभाले संस्थाको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजारको शत प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि आवश्यक प्रक्रिया शुरु गर्ने प्रस्ताव पारित गरेको छ । उक्त विशेष साधारण सभाले संस्थाको सोही अनुरुप प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ । सभामा संस्थाकी अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधान तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले सम्बोधन गरेको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरमा लघुवित्त कार्यक्रम विस्तार गर्न स्वीकृति प्राप्त गरेको यस संस्थाको हाल ३२ जिल्लाका विभिन्न ४१ स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ ।

सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले मंगलबार पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश नियुक्तिका लागि शिफारिस भएर पनि उनको नामलाई संसदीय सुनवाई समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि उनी उनी लामो समय घरबिदामा बसेका थिए र ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका थिए । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषदका सचिवले पदमुक्त गरेपछि जोशी कायम मुकायम प्रधानन्यायाधीशसमेत बनेका थिए ।

स्प्रेडदर गणना, ब्याजमा प्रिमियम र ऋणपत्रमा राष्ट्र बैंककाे हस्तक्षेप, कस्ताे पर्ला प्रभाव ? अनलराज भट्टराई

अनलराज भट्टराई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा वित्तीय क्षेत्रको म्याक्रोइनोमिक प्रुडेन्सियल कायम गर्ने र ब्याजदरलाई सहजीकरण गर्ने दिशामा केन्द्रित छ । ब्याजदरको सन्दर्भमा समीक्षाले मुख्य रुपमा ३ ओटा व्यवस्था गरेको छ-स्प्रेडदरको गणना विधि संशोधन, तोकिएको क्षेत्रमा ब्याजदरको प्रिमियम तोक्ने, दीर्घकालीन कर्जाको स्रोतका लागि बण्ड तथा ऋणपत्रहरु जारी गर्ने । बेसरेटको सन्दर्भमा केही दिनभित्रै राष्ट्र बैंकले सर्कुलर जारी गर्दैछ । यसले ब्याजको आधारदर गणना विधिलाई संशोधन गर्दै कर्जा तथा निक्षेपको भारित ब्याजदरको आधारमा गणना गर्ने विधि प्रयोग गर्ने व्यवस्था गरेको छ । खासगरी आधार ब्याजदर गणना गर्ने हालको विधिमा यसअघि राष्ट्र बैंकले बैंकहरुले लिँदै आएको ब्याजदरमा आरओए बापतको ०.७५ प्रतिशत घटाउन भने पनि बैंकहरुले त्यसलाई प्रिमियमको रुपमा जोडेपछि राष्ट्र बैंकले गणनाको विधि नै संशोधन गरिदिएको हो । यदि बैंकहरुले प्रिमियमको रुपमा नजोडेको भए यो विधि संशोधन नहुन पनि सक्थ्यो । कर्जाको ब्याजदरमा प्रिमियम तोक्ने राष्ट्र बैंकको व्यवस्थामा मतैक्य नहुनसक्छ । खासगरी, कर्जाको ब्याजदरमा प्रिमियम कति राख्ने भन्ने कुरा व्यवहारिक हिसावले ठीक छ कि छैन भन्ने विवाद छँदैछ । कुनै पनि कर्जामा कति जोखिम हुन्छ वा त्यस्तो कर्जामा जोखिम प्रिमियम कति राख्ने भन्ने निश्चित गरिदिँदा व्यवहारिक कठिनाई आउन सक्ला । हुन त यसबारे कस्तो सर्कुलर आउँछ भन्ने विषय हेर्न बाँकी छ यद्यपि राष्ट्र बैंकले प्रिमियम दर तोकिदिँदा यस्तो अवस्थामा घटेको जोखिम प्रिमियममा बैंकहरुको प्रतिक्रिया कस्तो हुन्छ वा जोखिम न्यूनीकरण गर्न उनीहरुले कस्तो नीति अपनाउँछन् भन्ने विषय महत्वपूर्ण हुन्छ । अहिले बैंकहरुको ब्याजदर नियमन गर्ने औजार स्प्रेडदरलाई लिइएको छ । त्यो अघिल्लो वर्षसम्म ५ प्रतिशत थियो, यो वर्षभित्र ४.५ प्रतिशत कायम गर्ने भनिएको छ, आगामी बर्षमा त्यो भन्दा पनि कम हुनसक्छ । यसरी स्प्रेडदर घटाउँदै गएको अवस्थामा बैंकहरुले जथाभावी प्रिमियमदर तोक्न सक्ने अवस्था नै रहँदैन । यदि यो दर तोकियो भने यसले उच्च जोखिमयुक्त कर्जाहरुमा लगानी कम गराउने सन्दर्भमा काम गर्न सक्छ । माैद्रिक समीक्षामा उल्लेख गरिएको ठूला तथा दीर्घकालीन प्रकृतिका कर्जाहरुको ऋणको ब्याजदर तोक्ने विषय अत्यन्त सकारात्मक छ । यसले ठूला परियोजनाको लागत अनिश्चितता घटाउन सक्छ । त्यस्तै बैंकहरुलाई दीर्घकालिन ऋणपत्रहरु प्रवाह गर्नुपर्ने व्यवस्था गर्नु पनि राम्रो व्यवस्था हो । यसले निक्षेप र सम्पत्तिको खाडललाई परिपूर्ति गर्छ भने पुँजी परिचालनमा अल्पकालमा हुने अनिश्चिततालाई घटाउँछ । यो प्रयास बैंकरहरु आफैंले गर्नुपर्ने विषय हो । केही बैंकहरुले अहिले पनि त्यस्तो दीर्घकालीन ऋणपत्रहरु जारी गरिसकेका छन् । यो व्यवस्थाले वित्तीय क्षेत्रमा केही हदसम्म स्थायित्व कायम गर्न सहयोग गर्छ । भर्खरै मात्र अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि वित्तीय क्षेत्रमा अनुशासन कायम गर्न बैंकहरुले बढी उत्साहित भएर गरिएको कर्जा लगानीमा नियन्त्रण गर्न सुझाव दिइएको छ । अर्कोतिर नेपालले लिएको आर्थिक वृद्धिकोे लक्ष्य पुरा गर्न अर्थतन्त्रमा कति पुँजी परिचालन गर्नुपर्छ वा कुन क्षेत्रमा कति कर्जा प्रवाह गर्नुपर्ने हो भन्ने सन्दर्भमा सरकार र राष्ट्र बैंकले शुक्ष्म रुपमा अध्ययन गरेर नीतिगत निर्णय गर्ने हो भने यसले अर्थतन्त्रमा राम्रै गर्छ । यद्यपि मौद्रिक नीतिको समीक्षाले नै सबै विषय प्रष्ठ नपार्ने भएकोले भोलिका दिनमा यसको कार्यान्वयनका सन्दर्भमा आउने सर्कुलरहरु महत्वपूर्ण हुन्छ । आजको दिनमा वित्तीय स्थायित्व कायम गर्ने राष्ट्र बैंकको यी तीनओटा कदमले प्रयासप्रति विश्वस्त हुन नसके पनि आशावादी बन्न भने सकिन्छ । (पूर्व बैंकर भट्टराइसँग गरिएकाे कुराकानीमा आधारित)