विकासन्युज

सरकारलाई खर्च जुटाउन आज ३ अर्ब १३ करोडको ट्रेजरी बिल निकाल्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । सरकारलाई तत्कालै ऋण चाहिएको खण्डमा राष्ट्र बैंकले यस्तो ऋणपत्र जारी गर्ने गर्छ । ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ९१ दिने अवधिको लागि ट्रेजरी बिल विक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बिल अनलाइन बोल–कबोलका आधारमा मंसिर १६ दिउँसो २ बजे बिक्री खुला गरिने छ । बिलको निष्कासन मंसिर १७ मंगलवार हुनेछ । बिल आगामी फागुन २० मा परिपक्व हुनेछ । ट्रेजरी बिल छोटो अवधिको सरकारी ऋणपत्र हो । यो सधैं एक वर्षभन्दा कम अवधिको हुन्छ । राष्ट्र बैंकले आवश्यकताअनुसारको समयमा ट्रेजरी बिल जारी गर्न सक्छ । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको हुन्छ ।

सौगात मन्टेश्वरी र इनर व्हिल क्लव अफ कीर्तिपुरको संयुक्त आयोजनामा ‘१०८ कुमारी पूजा’ सम्पन्न

काठमाडौं । कलंकीस्थित सौगात मन्टेश्वरी तथा इनर व्हिल क्लब अफ कीर्तिपुरले संयुक्त रुपमा कुमारी पूजा सम्पन्न गरेका छन् । गत शनिवार सौगात मन्टेश्वरीको प्राङ्गणमा सैयौंको उपस्थितिमा भव्यताका साथ आयोजना गरिएको सो पूजा कार्यक्रममा ९ वर्ष मुनिका, वेल विवाह नभएका र गुन्युचोली नदिइएका १०८ नानीहरु सहभागी थिए । इनर व्हिल क्लव अफ कीर्तिपुर र सौगात मन्टेश्वरी मिलेर विगत चार वर्षदेखि १०८ कुमारी पूजाको आयोजना गर्दै आएकाे सौगात मन्टेश्वरीकी अध्यक्ष राज्यलक्ष्मी वैदार बताइन् । उनका अनुसार नेपाल परम्परा र संस्कृतिले धनी देश भएको हुनाले त्यस्ता परम्परा र संस्कृतिको महत्व आजको पुस्तालाई बुझाउनका लागि पनि यस किसिमको कार्यक्रम आयोजना गरिएको हो ।

पोखरालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नवनिर्वाचित विद्याको अठोट

काठमााडौं । कास्की निर्वाचन क्षेत्र २ बाट नेकपाकी विद्या भट्टराई अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । विद्या कांग्रेसका खेमराज पौडेलको भन्दा ८ हजार ४ सय ३ मत बढी ल्याएर विजय भएकी हुन् । २४ हजार ३ सय ९४ मत ल्याएर उनी प्रतिनिधिसभाको सांसद बनेकी हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट भट्टराई सांसद बनेकी हुन् । अधिकारी पत्नी भट्टराईले उपनिर्वाचन जितेसँगै श्रीमान्ले ह्याट्रिक गरेको कास्कीको राजनीतिक इतिहासको विरासतलाई जोगाएकी छिन् । विद्याले आफ्नो जितलाई पति रवीन्द्रप्रतिको सम्मान भएको बताइन् । ४७ वर्षीया भट्टराई लामो समयको राजनीतिक विश्रामपछि त्रिविको उपप्राध्यापकबाट राजीनामा दिएर चुनावमा होमिएकी हुन् । तत्काली पर्यटनमन्त्री अधिकारीको निधनपछि उनलाई पोखरेलीले चिन्ने अवसर पाएका हुन् । विजयपछि भट्टराईले पूर्वाधार विकासका साथै सामाजिक न्याय तथा पोखरालाई प्रमुख पर्यटकीय राजधानी बनाउन भूमिका खेल्ने बताइन् । श्रीमान्को निधनपूर्व भट्टराई सक्रिय राजनीतिमा थिइनन् । उनी त्रिविमा प्राध्यापन पेशामा सक्रिय थिइन् । उपनिर्वाचनमा उनलाई कास्की जिल्ला पार्टीले एकल उम्मेदवारका रूपमा प्रस्तुत गर्यो । सुरुमा उम्मेदवार बन्न अनिच्छुक देखिए पनि पार्टीको दबाबले सक्रिय राजनीतिमा उनको पुनरागमन भएको हो । २०२९ कात्तिक २९ मा काठमाडौंमा जन्मिएकी भट्टराई १२ वर्षकै उमेरमा राजनीतिमा होमिएकी थिइन् । पशुपति मित्र मावि चाबहिल काठमाडौंमा ७ कक्षामा पढ्दै गर्दा उनी अनेरास्ववियुमा आबद्ध भएकी थिइन्  । २०४५ मा भारतले लगाएको नाकाबन्दीविरुद्ध आन्दोलनका कार्यक्रममा विभिन्न स्कुलमा विद्यार्थीलाई संगठित पारेकी उनी २०४७ मा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध भइन् । त्यही वर्ष अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षमा निर्वाचित उनी जनसांस्कृतिक परिवारको सदस्य हुँदै तत्कालीन नेकपा एमालेको संगठित सदस्य बनेकी थिइन् ।

जब मृत्युलाई जितेर हस्तकलामा रमाएँ !

काठमाडाैं । धेरैले भन्छन् जीवन सुख र दुःखको सम्मिश्रण हो, संघर्ष हो अनि पानीको दह जस्तै हो जिन्दगी । जहाँ अनेकौं पिर, व्यथा, हाँसो, रोदन र उकाली–ओरालीको संगम हुन्छ । यी विविध आरोह–अवरोह र चुनौतीहरुसँग लडिवुडी गर्दै मान्छे अगाडि बढिरहन्छ । चाहे ऊ दुःखमा होस् वा सुखमा बाँच्ने चेष्टा गर्छ । कतिले जीवन आफुले सोचेजस्तो भएन भनेर भगवानलाई सराप्छन् त कतिपयले भाग्यलाई । खाइलाग्दो ज्यान, चलायमान हातखुट्टा राम्ररी देख्न–सुन्न सक्ने मान्छे । प्रष्ट भनौं एउटा शारीरिक तन्दुरुस्त मान्छेले भगवान र आफ्नो भाग्यमा भर पर्नु उचित होला र ? हो हामी त्यही मान्छे भाग्यको भरमा चलिरहेका हुन्छौं । एकछिन सोचौं त जसको हिँडडुल गर्ने खुट्टा नै चल्दैन उसले के सोच्छ होला ? उसको दैनिकी कसरी चल्छ होला ? उसले जीवनलाई कसरी बुझ्छ होला ? १८ वर्षको उमेर । सायद यो उमेरमा सबैलाई बैँसको उन्माद हुन्छ । धेरैले सोच्छन् पनि सायद मलाई कहिल्यै कुनै दु.ख पनि पर्दैन । धादिङका विष्णु पुकार श्रेष्ठले पनि यस्तै सोचेका थिए १८ वर्षको उमेरमा । खाइलाग्दो ज्यान, सहयोगी भावना, छिमेकी र साथीहरुले सहयोग भनेपछि अगाडि लागि हाल्ने । भन्छन् नि ‘राम्रो मान्छे दैवको पनि प्यारो हुन्छ रे ।’ त्यहि खाइलाग्दो १८ वर्षको उमेरमा विष्णुको जीवनमा ठूलो बज्रपात आइलाग्यो । ‘छिमेकीको घरमा प्लास्टर गर्ने काम भइरहेको थियो, सहयोग भनेपछि म हुरुक्कै हुने, म पनि काममा सघाउन गइहालेँ । काम अलि हतारिएर गर्ने मेरो बानी ।’ गहभरी आँसु निकाल्दै विष्णु भन्छन्, चारतलाको त्यो घरबाट म खसेछु, मैले थाहै पाइनँ । म बेहोस थिएँ । साथीहरुले वीर अस्पतालमा लिएर आएछन् । एकदिन पछि मेरो होस आयो । दुबै खुट्टाले काम गर्न छोडि सकेका थिए । मलाई यो सब सपनाझैँ लाग्यो ।’ उनले भने । गहभरी थुपारिएका आँसु तप्प चुहाउँदै विष्णुले भने, ‘मेरो मेरुदण्ड भाँचिएछ ।’ डाक्टरले विस्तारै ठीक भइहाल्छ भनेका थिए । त्यति सम्म कि पहिले जस्तै खुट्टा पाउने आशा थियो । पहिलेको जसरी नै हिड्ने, साथीसंगीलाई सहयोग गर्ने उनकाे आश कायमै थियो ।’ तर एक वर्षसम्म अस्पताल बस्दा पनि उनको खुट्टा ठीक भएन । उपचारमै १२ लाख रुपैयाँ सकियो । अब त उनको आशा पनि मर्यो । अन्तिममा केही नलागे पछि पहिलेको जस्तै खुट्टा पाउने आश मार्दै धादिङ फर्केर गए, उनले सुनाए । उनको त्यतिखेर दैनिकी एकदमै कष्टकर रह्यो । उनी भन्छन्, ‘एक मनले भन्थ्यो बाँच्नु धिक्कार छ, अर्को मनले भन्थ्यो केही गरेर देखाउनु पर्छ, म मेरो जीवनको घनचक्करमा थिएँ ।’ दुई वर्ष जसोतसो धादिङमै कटाएर पछि फेरी काठमाडौं आएको उनी बताउँछन् । काठमाडौंमा आएपछि बीआईएमा उनको घरमा आमाबुवा र ३ दिदिबहिनी छन् । धादिङबाट काठमाडौं आएसँगै विष्णु बीआए फाउण्डेसनमा भर्ना भए । जब उनी बीआईए फाउण्डेसनमा पुगे उनले देखेको र भोगेको संसार भन्दा त्यहाँकाे वातावरण अलि पृथक पाए । किनकी उनी जस्तै अपाङ्गता भएका मानिसहरु त्यहाँ धेरै थिए जसले उनलाई म मात्र अपाङ्ग रहेनछु भन्ने बोध गरायो । म जस्ता धेरै रहेछन् भनेर मैले चित्त बुझाएँ । उनले भने । बीआईए फाउण्डेसनले जीवनदेखि हार खाएका, आफ्नो जीवन बेकार ठानेका र आफ्नै घरमा हेपिएर बसेका, काम नलाग्ने भनेर बसेकाहरुका लागि स्थापना भएको संस्था हो । हुन पनि बीआइए फाउण्डेसनमा अहिले विभिन्न किसिमका अपाङ्गता भएका पुरुष र महिलाहरु छन् ।  हाल फाउण्डेसनले त्यस्ता व्यक्तिलाई उनीहरु अनुसारको सिपमूलक काम सिकाउँदै आएको छ । सिप सिकाएर प्रमाणपत्र मात्र होइन उनीहरुलाई स्वावलम्वी बनाउने काम गरिरहेको छ । उनीहरुले आफ्नो सिप अनुसार पकेट खर्चदेखि मासिक पारिश्रमिक पनि पाउने गरेका छन् । त्यहाँ पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका अपाङ्गता भएका व्यक्ति छन् । ह्विल चेयर म्याराथुनमा तृतिय खेलकुदप्रतिको उनको लगाव सानै देखिको हो । सानैदेखि खेल खेल्न मन पराउने उनी जब शारीरिक रुपमा अशक्त भए तब उनको खेल खेल्ने चाहना अधुरै रह्यो । हुनत खाने मुखलाई जुँगाले  छेक्दैन भनेझैं उनले आफ्नो खेल खेल्ने सपना भने त्यसै मर्न दिएनन् । गत वर्ष फागुनमा बीआइए फाउण्डेसनले आयोजना गरेको तेस्रो ह्विल चेयर म्याराथुन प्रतियोगितामा उनी तेस्रो भए । २०० जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा विष्णु तृतिय भएका थिए । उनी भन्छन्, अहिले पनि सक्ने जति प्रतियोगिताकमा सहभागिता जनाउँदै आएको छु । धेरै पढेर  ठूलो मान्छे बन्ने सपना सबैको हुन्छ । त्यस्तै सपना उनले पनि बुनेका थिए । तर अशक्त भएकै कारण उनकाे कक्षा १० सम्ममा नै शैक्षिक योग्यता स्थगन हुन पुग्यो । बास्केट, क्रिकेट र स्विमिङ उनको फेवरेट खेल हुन् । राम्रो खेलाडी बनेर सेनामा जागिर खाने उनको इच्छा इच्छामै सीमित रह्यो ।  सेना बनेर देशको सेवा गर्ने मेरो सपना अधुरै रहेको उनी गुनासो गर्छन् । कोरेका चित्र विदेशमा निर्यात हाल उनी २७ वर्षका भए । अहिले बिआईएमा नै बसेर विभिन्न प्रकारका चित्रहरु कोर्ने काम गरिरहेका छन् । उनले विभिन्न प्रकारका चित्र थान्का पेन्टिङ गरेको पनि ६/७ वर्ष भइसकेको छ । उनीसँगै बीआईएमा धेरै साथीहरु बस्दै आएका छन् । उनी अहिले स्पाइनल (मेरुदण्ड)को समस्याले ग्रसित छन् । उनीहरुले कारेका चित्रहरु प्रायजसो विदेशमा निर्यात हुने गरेका छन् । उनले हालसम्म ५०/६० पेन्टिङ गरिसकेका छन् । विदेशीहरुले एउटा पेन्टिङको ५/६ लाख रुपैयाँ सम्म दिने गरेको उनी बताउँछन् । तर बेचेको चित्रको पैसा बीआईएले नै राख्ने गरेको छ । जसले गर्दा उनीहरुको पालनपोषणका लागि कसैसँग माग्नु नपरेको फाउण्डेसनले बताएको छ । उनले हालसम्म विभिन्न व्यक्तिका पेन्टिङ, बुद्धको चित्र तारा लगायत विभिन्न चित्रहरु कारेका छन् । पेन्टिङका लागि पेपर कलर, ब्रस लगायत सामानहरु चाहिने उनी बताउँछन् । एउटा राम्रो चित्र कोर्न ४/५ महिना सम्म पनि लाग्ने गरेको छ । उनी हाल फाउण्डेसनमानै बसेर थान्का पेन्टिङ सिक्दै र कोर्दै आएका छन् । जीवन सकियो भन्ने लागेको थियो उनी भन्छन्,‘अहिले पहिले जस्तो बोर लाग्दैन, चित्र कोर्नमै व्यस्त हुन्छु । अब त खुसी नै छु ।’ अहिले उनी जीन्दगी खुसीका साथ बाँच्ने अठोट गर्छन् । अहिले ह्विल चेयर नै उनकाे सारथी बनेकाे छ ।

मोटरहेड बाइकको आठौं शोरुम दाङको तुलसीपुरमा

काठमाडाैं । मोटरहेड मोटरसाइकलले आफ्नो आठौं शोरुम दाङको तुलसीपुरमा खोलेको छ । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले तुलसीपुरमा डाइनामिक अटोमोवाइल्स मार्फत् आफ्ना मोटरसाइकलहरु बिक्री वितरण गर्ने भएको छ । मोटरहेडले २२३ सीसीको टेक्कन २५०, २२३ सीसीकै स्पोर्ट २५०, २२३ सीसीकै स्क्र्याम्ब्लर २५०, १९९ सीसीको एम एच २००, १४९ सीसीको एम एच १५० र त्यसैगरी २२३ सीसीको एक्सटर्क गरी ६ ओटा मोडलका बाइकहरु नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ । यी बाइकहरुमध्ये एम एच १५० मा ५ गियर रहेको छ भने बाँकी सबैमा ६ गियर रहेको छ । अमेरिकन कम्पनी मोटरहेडले उत्पादन गरेको यी बाइकहरुलाई चाइनिज कम्पनी फ्यूगो पावर्सले एसेम्वल गरेको हो । मोटरहेडका सम्पूर्ण मोडलहरुमा एल्युमिनियम मिसाइएको मेटल बढी भएको हुनाले खिया लाग्ने समस्या हुँदैन । त्यसैगरी यी मोडलहरु अफरोड बाइक हुन् तरपनि यिनीहरुको टायर पिच सडकलाई पनि हुने गरी तयार पारिएको छ ।

खेलाडीको सम्पूर्ण बन्दोबस्त तारे होटलमा, ५ अर्ब खर्च हुँदा ५० करोड आम्दानीको अनुमान

काठमाडौं । आजबाट १३औं दक्षिण एशियाली खेल (साग) नेपालमा शुरु भएको छ । काठमाडौं, पोखरा र जनकपुरमा हुने २८ विधाका खेलमा प्रतिस्पर्धा गर्न सागमा ३ हजार २ सय २८ खेलाडी सहभागी हुँदैछन् । खेलाडी, प्रशिक्षक र खेलकुद सम्बन्धि विभिन्न संस्थाको पदाधिकारी समेत गरी करिब ५ हजार ४ सय जनालाई खेलकुल परिषदले तारे होटलमा बस्ने खाने बन्दोबस्त मिलाएको छ । राजधानीको पाँच तारे होटलदेखि विदेशी पर्यटकस्तरी १७५ वटा होटल उनीहरुलाई राखिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा १२५ वटा होटल बुक गरेको छ । त्यस्तै, पोखरामा ३५ वटा र जनकपुरमा १५ वटा होटल बुक गरेको छ । सिंगल र डबल गरेर ३२०० बेड बुक गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले जानकारी दिए । धेरैजसो खेलाडी काठमाडौंमा नै रहने भएकाले पनि यहाँ धेरै होटलहरू बुक गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । परिषदका सदस्य सचिव रमेश सिलवालका अनुसार काठमाडौंमा एथ्लेटिक्स, बास्केटबल, बक्सिङ, क्रिकेट, साइक्लिङ, पुरुष फुटबल, कराँते, कबड्डी, खो-खो, पौडी, टेबल टेनिस, भलिबल, हुस्सु, जुडो खेल खेल्ने खेलाडीका लागि दुई हजार ४३१ खेलाडीका लागि काठमाडौंमा बस्ने व्यवस्था गरिएको छ । काठमाडौमा खेलाडी, रेफ्री, प्रशिक्षक, व्यवस्थापकसहित धेरैको आगमन हुने भएकाले काठमाडौं र ललितपुरमा गरी १२५ वटा होटलहरू बुक गरिएको हो । पहिलो पटक राजधानी बाहिर साग सञ्चालन हुने भएपछि काठमाडौंसँगै पोखरा र धनुषाका होटलहरू पनि खेलाडीले भरिभराउ भएका छन् । २८ मध्ये ८ वटा प्रतियोगिता पोखरामा हुँदैछ । त्यसमा पुरुष र महिला गरी ७ सय २२ खेलाडीको सहभागिता रहनेछन् । आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, विच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि ४ सय १ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने ३ सय २१ जना पुरुष खेलाडी रहेका १३औं साग प्राविधिक समितिले जनाएको छ । पोखरामा आयोजना हुने साग गेमका लागि ४ सय ९१ जना प्राविधिक अफिसियल टोेली समेत रहने आयोजकले जनाएको छ । पोखरामा खेलाडी बस्नका लागि ३५ वटा स्टार होटलहरू बुकिङ गरिएका छन् । धनुषाको जनकपुरमा पहिलो पटक तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने भएपछि सार्क राष्ट्रका खेलाडीहरूको आगमनले जनकपुरका होटलका कारोबार बढेकोले होटल व्यवसायीहरू खुशी छन् । जनकपुरमा कुस्ती प्रतियोगिता हुँदैछ । कुस्ती जनकपुर क्षेत्रको मौलिक खेल हो । जनकपुरमा पहिलो पटक हुने प्रतियोगितालाई भव्य बनाउन सम्बन्धित निकायले कुनै कसर बाँकी राखेका छैनन् । जनकपुरका सिता शरन, अमन, नमस्कार लगायतका १५ वटा होटलहरू बुक गरि सकिएको जिल्ला खेलकुद विकास समिति धनुषाले जनाएको छ । मंसिर २० देखि २३ गतेसम्म कुस्ती प्रतियोगितामा सार्कमा पाँच राष्ट्रले कुस्तीमा भाग लिएका छन् । माल्दिभ्स र भुटानका खेलाडी भने कुस्तीमा सहभागी छैनन् । त्यस्तै उद्घाटन सम्य र भव्य बनाउनको लागि आयोजकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी गरी १५ हजार जनाको उद्घाटन र समापन समारोहमा प्रस्तुति राख्ने तयारी गरेको हुँदा स्टार होटलदेखि सामान्य होटल भरीभराउ हुने देखिन्छ । आयोजकका अनुसार सेना र प्रहरी बाहेक विद्यार्थी ३ हजार, झाँकी समूहका ४ हजार, व्यावसायिक कलाकार ३ सयको उपस्थिति उद्घाटन सत्रमा मात्र हुनेछ । त्यसबाहेक १५ सय जनाको मास क्यालिसथेनिक्स प्रदर्शन पनि हुने तयारी भएको छ । परिषद्ले खेलाडीलाई दैनिक भत्ता २ हजार, २२ सय, २५ सय र २७ सयसम्म भत्ता दिदै आएको छ । उनीहरुले यस्तो भत्ता खेलको लागि छनोट भएको दिनदेखि खेल सकिएको अन्तिम दिन र त्यसको भोलीपल्टसम्म पाउँछन् । नेपाली खेलाडी, प्रशिक्षक, संघका कर्मचारीको लागि असोज, कात्तिक र मंसिरको लागि स्वास्थ्य बीमा गरिएको छ । विदेशी खेलाडीहरुको पनि ५ लाख बराबरको बीमा गरिएकाे छ । सागमा नेपालसहित ७ देशका खेलाडीले २८ खेलमा ३ सय १७ स्वर्ण, ३ सय १७ रजत तथा ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । साग आयोजना गर्न सरकारले ५ अर्ब बजेट छुट्याएको छ । उक्त रकम पूर्वाधार निर्माणदेखि खेलाडीकाे खानपान, बसाइ, यात्रा, भत्ता, प्रशिक्षकलाई दिने सुविधासमेतमा खर्च हुने उनले बताए । रमेश सिलवाल-सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद् ‘यो पैसालाई खर्चभन्दा पनि लगानी भन्ने सोच्नुपर्छ’ सिलवाल भन्छन्-‘हामी नेपाल भ्रमण वर्ष २०२० को संघारमा छौं । सागका सबै प्रतियोगिताहरु विदेशी च्यानलहरुमा प्रत्यक्ष प्रसारण गर्दैछौं । २ अर्ब भन्दा बढि मानिसले नेपालको बारेमा जानकारी पाउने छन् । यसले नेपालको ब्रान्डिङमा ठूलो मद्दत पुर्याउँछ ।’ साग समाचार सम्प्रेषणको विदेशी करिब २५० जना विदेशी पत्रकार नेपाल आउने भएकोले नेपालको प्रचार प्रसारमा ठूलो सहयोग हुने विश्वास गरिएको छ । विदेशी खेलाडी र प्रशिक्षकको परिवार र साथीभाई यहाँ खेल हेर्न आउँने भएकोले उनीहरुले पनि होटलमा बस्छन्, घुम्छन् । नेपाली बजारमा किनमेल गर्छन् । सिलवालको अनुसार सागको लाइभ प्रसारण र भैन्यु ब्रान्डिङबाट न्युनतम २५ देखि ५० करोड बराबरको आर्जन हुँदैछ । टिकटबाट करिब ५ करोडको हाराहारीमा आम्दानी हुन्छ । यी शिर्षकमा उठेको रकमले एउटा जिम हल बनाउने छौं र खेलाडी, प्रशिक्षक सबैको निम्ति रहेका र्स्पोट हस्पिटललाई अझै ठूलो बनाउने सोचेका छौं ।

एनएमबि बैंक साफामा कर्पोरेट गभर्नान्स सहित २ अवार्डबाट पुरस्कृत

काठमाडौं । एनएमबि बैंक ‘सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नान्स २०१८’ बाट पुरस्कृत भएको छ । बैंकले बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रममा उक्त पुस्कार पाएको हो । उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स् तथा पारदर्शिताको लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको छ । साथै, एनएमबि बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् (साफा) वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड “सर्टिफिकेट अफ मेरीट” बाट पनि पुरस्कृत भएको छ । बैंकलाई उक्त पुस्कार बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रम प्रदान गरिएको हो । साफाज् कमिटि फर इम्प्रुभमेन्ट इन ट्रान्स्प्यामरेन्सी, अकाउन्टे विलिटी एण्ड गभर्नान्सले विभिन्न विधामा प्रदान गरिने यी अवार्डहरु दक्षिण एसियाली राष्ट्रहरुद्धारा प्रकाशित वार्षिक प्रतिवेदनको मुल्यांकनको आधारमा प्रदान गरेको हो ।

भन्सारबाटै भित्रिन्छ अवैध मासु, ६० लाख मूल्यको १२ हजार किलो मासु बरामद

काठमाडाैं । सरकारले मासुजन्य वस्तुको आयातलाई निरुत्साहित गर्दै उत्पादन बढाउने नीति अबलम्वन गरेको छ । कुखुराको मासुमा मुलुक करिब आत्मनिर्भर भएको भन्दै भारतबाट आउने जिउँदो कुखुरामा समेत व्यवसायीले स्वनियमन गरिरहेका छन् । वैधानिक रुपमा तयारी मासुको आयात भने नेपालमा न्यून छ, तर मुलुकमा ठूलो परिमाणमा अवैध मासु भित्रिरहे पनि त्यसको नियन्त्रण गर्न सकिएको छैन । भन्सार कार्यालयको बाटो हुँदै हजारौँ किलो मासु भित्रिरहेको हालैको एक घटनाले पुष्टि गरेको छ । दुईवटा गाडीमा हालेर भारतबाट ल्याइएको रु ६० लाख मूल्यको १२ हजार किलो मासु बरामद भएसँगै बाह्य मुलुकबाट अवैधरुपमा ठूलो परिमाणको मासु भित्रिने गरेको तथ्य खुलेको हो । करिब पाँच/सात वर्ष अघि यसैगरी अवैधरुपमा भित्रिएको एक कन्टेनर मासु धादिङ्को धार्केमा नष्ट गरिएको थियो । त्यसपछि यति ठूलो परिमाणको मासु बरामद नभएको पशुसेवा विभागका वरिष्ठ पशु अधिकृत डा चन्द्र ढकाल बताउँछन् । राजश्व अनुसन्धान विभागले बरामद गरेको १२ हजार किलो मध्ये दश हजार ८०० किलो कुखुराको मासु भेटिएको थियो । बाँकी हाँस, माछा, राँगाको मासु रहेको जनाइएको छ । सञ्चय गर्न नसकिने भएकाले मासुलाई खाल्डोमा हालेर नष्ट गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । मासु आयातमा भन्सार कर्मचारीकै मिलेमतो रहेको आशङ्कामा विभागले अनुसन्धान केन्द्रित गरेको छ । “कुन तहको सहभागिता छ भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्छ, अहिले कर्मचारीको बयान लिने काम भइरहेको छ”, एक अनुसन्धान अधिकृतले भने । उक्त मासु भारतको गुजरातबाट ल्याइएको हो । त्यहाँबाट वीरगञ्ज या भैरहवा नाका हुँदै मासु आउनुपर्नेमा २५० किलोमिटर टाढा पर्ने सर्लाहीको मलङ्गवा नाकाबाट मासु भित्रिएको छ । अन्य नाकाबाट नसक्ने देखेपछि उनीहरुले मलङ्गवा नाका रोजेको विभागका एक अनुसन्धान अधिकृतको दावी छ । उनीहरुले ‘एसी भ्यान’ मा राखेर मासुसँगै आलु चिप्सलगायतका खाद्य वस्तु भित्र्याएका थिए । अन्य चिजवस्तु न्यून देखाएर भन्सार छलेको र मासु भने अवैधरुपमा भित्र्याएको पाइएको छ । मासु आयातमा प्रयोग भएको दुई वटा गाडी पनि नियन्त्रणमा लिइएको छ । मासु आयातमा सङ्लग्न चार जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको विभागका महानिर्देशक मैनालीले बताए । राजश्व छलीको आरोपमा पक्राउ पर्नेमा सिआर ट्रेडिङका सञ्चालक सर्लाहीकी रिङ्कु चौधरी र काठमाडौँको दीपज्योति इन्टर प्राइजेजका वासुदेव मरहठ्ठा छन् । एउटा गाडीका चालक र सहचालक पनि पक्राउ परका छन् भने एक चालक फरार रहेको विभागले जनाएको छ । सामान कात्तिक २० गते भित्रिएको हो । उनीहरुले मलङ्गवाबाट सामान भित्र्याउँदै छन् भन्ने सूचना प्राप्त भएपछि विभागको टोली खटिएको थियो । सर्लाहीबाट सामान भित्रिएपछि विभागको टोलीले पिछा गरेका थिए । थानकोट नाका भित्रिएपछि सामान नियन्त्रणमा लिएर उनीहरुलाई पक्राउ गरिएको हो । विभागले गाडी मूल्याङ्कनको चरणमा पठाएको छ भने मासुबाहेकका अन्य सामान ७० लाख रूपैयाँमा लिलाम गरेको छ । “सामान ल्याउँदा भन्सार घोषणा गर्नुपर्छ तर कुनै पनि प्रक्रिया पुर्याइएको पाइएन, सोझै आर्थिक अपराध गरेको देखिन्छ”, महानिर्देशक मैनालीले भने । उक्त कम्पनीले यसअघि पनि ८/१० पटक यसैगरी सामान आयात गरेको देखिएको छ । उनीहरुले राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण ऐन० २०५२ को कसुर गरेको आरोपमा मुद्दा चलाउने तयारी गरिएको विभागले जनाएको छ । दोषी प्रमाणित भए बिगो असुल गरी दोब्बर जरिवाना तथा तीन वर्षको कैद सजाय हुनेछ । विभागले राजश्व छलीमा मात्रै गत डेढ वर्षको अन्तरालमा सय जना विरुद्ध सात अर्ब रूपैयाँ बिगो बराबरको राजश्व छली गरेको आरोपमा मुद्दा चलाएको छ । चालू आर्थिक वर्षमा मात्रै रु दुई अर्ब बिगो बराबरको राजश्व छलीमा मु्द्दा चलाएको छ । रासस