विकासन्युज

हिमालयन बैंकद्धारा दुर्घटना मृत्यु बीमा रकम प्रदान

काठमाडौं । हिमालयन बैंकले दुर्घटना मृत्यु बीमा रकम स्व.खनाल पत्नीलाई बीमा रकम वापत ५ लाख प्रदान गरेको छ । बैंकको कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी श्रीमती गीता खनाललाई उक्त खाताको “दुर्घटना मृत्यू बिमा” वापत प्राप्त हुने ५ लाख हस्तान्तरण प्रदान गरेको हो । बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको रु. ५ लाख सम्मको निशुल्क दुर्घटना मृत्यू बिमा गरिदिएको छ । बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा शिखर इन्स्योरेन्सका प्रतिनिधी यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरे । मृतककी श्रीमती गीता खनालले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पुर्याएको बखत बैंकको यस सहयोगले केही मात्रामा भए पनि आर्थिक राहत दिएको जानकारी दिएका छन् ।

विदेशबाटबाट फर्किएका २० हजारले दिए सहुलियत ऋणका लागि आवेदन, कहिलेसम्म पाउँछन् ?

काठमाडौँ । सहुलियत कर्जाको लागि विदेशबाट फर्किएका २० हजार ४ सय ६ जनाले आवेदन दिएका छन् । वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड र ७ सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । बोर्डका उपसचिव दीनबन्धु सुवेदीका अनुसार १८ हजार ७ सय ३० जनाले बोर्डको कार्यालय मै आएर आवेदन दिएका छन् ।  त्यसैगरी १ हजार ५४६ जनाले इमेलबाट आवेदन पठाएका छन् भने हुलाकबाट १०८ जना र कुरियरबाट २० जनाले आवेदन दिएका छन् । सहुलियत कर्जाको लागि २०७५ मंसिर ६ गतेदेखि पुस मसान्तसम्म समय तोकिएको थियो । नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत घोषणा गरेको सहुलियत कर्जासम्बन्धी कार्यक्रमलाई अर्थ मन्त्रालयले गत भदौमा कार्यविधि बनाएर लागु गरेको थियो । जस अनुसार विभिन्न ७ शीर्षकमा ३ लाखदेखि ५ करोड रुपैंयासम्म कर्जा दिने व्यवस्था गरिएको छ । कार्यविधि मार्फत मन्त्रालयले भुकम्प पीडितहरुको निजी आवास निर्माणका लागि ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगारका लागि ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि १० लाख, दलित समुदाय विकासका लागि १० लाख, महिला उद्यमशीलताका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी परियोजनाका लागि ५ करोड रुपैंयासम्मको कर्जा दिने व्यवस्था गरेको गरिएको छ । त्यसमध्ये युवा परिचालन कर्जा भने वैदेशिक रोजगारसँग सम्बन्धित भएकोले केन्द्रले त्यस्तो आवेदन लिएको हो । अबको प्रक्रिया के हुन्छ ? वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले आवेदन संकलन गरेपनि त्यसपछिको प्रक्रियामा संलग्न नहुने जनाएको छ । त्यसका लागि अर्थ मन्त्रालयले छनौट समिति गठन गर्ने र आवेदकहरुको न्यूनतम मापदण्ड पूरा भए नभएको बारे छानबीन गरी सिफारिस गर्नेछ । विदेशबाट फर्केको ३ वर्ष पुगि नसकेको र कम्तीमा ६ महिना काम गरेर फर्किएको व्यक्तिले त्यस्तो ऋणका लागि आवेदन दिन सक्ने प्रावधान रहे पनि विदेशमा गरेको काम अनुसार कै परियोजना सञ्चालन गर्न प्रस्ताव गर्नेलाई ऋण दिन पहिलो प्राथमिकतामा राखिने बताइएको छ । ऋण दिने/नदिने अन्तिम अधिकार बैंकमै सरकारले तयार गरेको संयन्त्रले सिफारिस गरेको आधारमा बैंकलाई ऋण प्रस्ताव छनौट गर्न सहयोग पुग्नेछ, तर ऋण प्रवाह गर्ने अन्तिम अधिकार बैंकमै निहीत रहनेछ । ऋण दिने वा नदिने भन्ने निर्णय बैंकले नै गर्ने हो, केन्द्र र सरकारले आवेदकले पेश गरेको प्रस्तावका आधारमा १० लाख भन्दा बढी नहुने गरी ऋणको सीमा निर्धारण गरेर बैंकलाई सिफारिस गरी गर्ने बोर्डका उपसचिव सुवेदीले बताए । सहुलियत कर्जा ५ वर्षसम्मका दिइने कार्यविधिमा उल्लेख छ । त्यस्तो कर्जाका लागि बैंकले पासपोर्ट र परियोजना धितोमा राख्न सक्नेछ । सरकारले वैदेशिक रोजगारीमा गएकाको उद्यमशीलता विकासका लागि दिइने कर्जामा ब्याज अनुदानका लागि १० अर्ब बजेट छुट्याएको छ । कहिलेसम्म पाइएला ऋण ? वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमार्फत आवेदन दिनेहरुको सूचीकरण प्रक्रिया सुरु भएको छ । २० हजारको आवेदनलाई कम्युटरमा अपडेट गरेपछि बोर्डले सम्बन्धित मन्त्रालयमा त्यो तथ्याङ्क पठाउने जनाएको छ । त्यसपछि प्रक्रिया अर्थ मन्त्रालय, श्रम मन्त्रालय लगायतका मन्त्रालयका प्रतिनिधि संलग्न समितिले गर्ने भएकोले बोर्डले ऋण कहिले दिन सुरु हुन्छ भन्ने केही भन्न नसकिने जानकारी दिएको छ । आगामी बैशाख अगावै त्यस्तो ऋण वितरण सुरु हुन सक्ने जनाइएको छ । बैंकमै गए झन् छिटो सरकारले जारी गरेको सहुलियत अनुदानसम्बन्धी कार्यविधिलाई लागु गर्न नेपाल राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरिसकेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तथा निजी क्षेत्रको एनएमबि बैंकले त्यस्तो कर्जा वितरण योजना समेत शुरु गरिसकेका छन् । अन्य बैंकहरुलाई पनि त्यस्तो कर्जा दिन नैतिक दवाव छ । त्यसैले उद्यमीले सीधै सम्बन्धित बैंकमै गएर कर्जा आवेदन गरे यो प्रक्रियाबाट भन्दा छिटो ऋण प्राप्त गर्न सकिने बोर्डका उपसचिव सुवेदी बनाउँछन् ।

९ हजारबढी परिवारका लागि खानेपानी योजना, ४० प्रतिशत काम सम्पन्न

काठमाडौं । काभ्रेपलान्चोकको तेमाल क्षेत्रमा ९ हजार ३१० परिवारका लागि खानेपानी आयोजना निर्माण भइरहेको छ । कूल रु १ अर्ब २७ करोडको लागतको सञ्चालन गरिएको आयोजनाको ४० प्रतिशत काम सकिएको तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिए। उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने आयोजनाको उद्देश्य हो । नेपाल सरकारको ९० र स्थानीय उपभोक्ताको १० प्रतिशत लगानीमा उक्त आयोजना सम्पन्न हुने अध्यक्ष लामाको भनाई रहेको छ । २०७२ असार महीनामा सम्झौता भएको आयोजनाको काम आउँदो २०७७ मङ्सिर २३ गते सक्ने लक्ष्य राखिएको छ । उक्त खानेपानी आयोजनाबाट तेमाल क्षेत्रका ठूला बस्ती मेथिनकोट, कटुञ्जे, कानपुर, सस्र्यूखर्क, सरमथली, बोल्देफेदिचे, पोखरी नारायणस्थन, चापाखोरी र मेच्छेका बासिन्दा लाभान्वित हुनेछन् । आयोजनाको नदीमा फिल्टर गर्ने चारवटा ट्याङ्की र तेमालको वाङ्देल डाँडामा चार लाख लिटर क्षमताका दुई वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ ।आयोजनाको लिफ्टिङ लागि १३ वटा पम्पले पानी नान्नेछन् । ती पम्पले रिजर्भ ट्याङ्कीमा प्रतिसेकेण्ड २३ लिटर पानी तान्ने अध्यक्ष लामाले बताए। आयोजनाको खानेपानी विस्तारका लागि २३ वटा ट्याङ्की, ११ वटा गार्ड घर, एक वटा खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने कार्य भइरहेको छ । आयोजनामा नेपाल सरकारको प्राविधिक खटिरहेका छन् भने हेटौँडास्थित सङ्घीय ढल तथा खानेपानी आयोजना डिभिजन कार्यालयले रेखदेख गरिरहेको अध्यक्ष लामाले भने । वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका तेमालका बासिन्दाले बृहत् खानेपानी आयोजना सञ्चालन भएपछि खुशी व्यक्त गरिरहेका छन् । तेमाल गाउँपालिका–५ का हेमलाल तामाङले पानीकै कारण ‘तेमालमा छोरी दिनु हुन्न भन्ने पुरानो समस्या बृहत् खानेपानी आयोजनाले टर्ने बताए। तामाङका अनुसार यस गाउँका बासिन्दा अहिले पनि दुई घण्टा पैदलको दूरीबाट कुवाको पानी लिन बिहान ३ बजेदेखि पालो कुर्नुपर्ने बाध्यता रहँदै आएको छ । ठूला बस्तीको बीचमा रहेको उक्त कुवामा दिनहुँ दुईदेखि ३०० सम्म गाग्रीका लाइन लाग्ने जानकारी दिएका छन् ।

विश्वमै ठूलो मानिएको बैंक एचएसबीसीको नाफा २० अर्ब डलर, गतवर्ष भन्दा १६ % बढ्यो

हङकङ । विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा उक्त नाफा करबाहेकको रकम रहेको जनाइएको छ । वर्षको अन्तिम चौमासिक अवधिमा चुनौतीपूर्ण बनेको बाह्य वातावरणका बाबजूद बैंकको नाफा सकारात्मक रहेको बैंकको भनाई छ । मुख्य व्यावसायिक गतिविधि एसियामा केन्द्रित गरेको एचएसबीसी बैंकका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबकै बीचमा पनि बैंकलाई प्रतिस्पर्धात्मक बनाइने प्रतिबद्धता जनाए । बैंकले सन् २०१८ को अक्टोबर-डिसेम्बरबीच ४ दशमलब ४ अर्ब डलर आम्दानी हुने पूर्वानुमान गरेपनि त्यसमा केही कमी भएर ३ दशमलब ३९ अर्ब डलर भएको थियो । रासस/एएफपी

होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५ सयको रोजगारी जोखिममा

टोकियो । कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना रहेको जनाएको छ । इङ्ल्यान्डको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र प्लान्ट हो । यो प्लान्टबाट होन्डाको “सिभिक” मोडेलको कार विगत २४ वर्षदेखि उत्पादन हुँदै आएको थियो । यस प्लान्टबाट वार्षिक करिब एक लाख ५० हजार कार उत्पादन हुने गर्दछन् । यो प्लान्ट सन् २०२१ देखि पूर्ण रुपमा बन्द हुनेछ, होन्डाले घोषणा गरेको छ । युरोपेली क्षेत्रका प्रमुख अधिकृत काट्सुसी इनोउले एक विज्ञप्ति जारी गरी कम्पनीको यो निर्णय निकै कष्टपूर्ण रहेको बताए । गत वर्ष होन्डाका युरोपेली वरिष्ट उपाध्यक्ष इयान हावेल्सले बिना सम्झौता युरोपेली युनियनबाट बेलायतको बहिर्गमन भएमा त्यसले कम्पनीलाई करोडौं पाउन्ड घाटा हुने बताएका थिए । रासस÷एएफपी

एकाएक किन बढ्यो मंगलबारको सेयर बजार ? यस्तो छ कारण

काठमाडौं । सेयर बजारमा लामो समयपछि हरियाली छाएको छ । निरन्तर ओरालो लागिरहेको परिसूचक मंगलबारको एकाएक २२.४४ अंकले बढेर ११२४.९६ अंकमा पुगेको छ । मंगलबार अर्थमन्त्रालयमा बसेको अर्थसमितिको बैठकमा पुँजीबजारको समस्या समाधान सम्बन्धी सकारात्मक कुराहरुमा छलफल भएकाले बजार बढेको इभेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताएका छन् । साथै, हाल बढिरहेको बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर नियन्त्रण गर्ने सम्बन्धि अर्थमन्त्रालयमा छलफल भइरहेकाले यसको असर बजारमा परेको उनले बताए । बजारमा कुल १६७ कम्पनीको २१ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रो पावरको एक करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । बजारमा कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह २५१ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह १५३ अंकले बढेर ५४३७ अंकमा पुगेको छ । उत्पादनमूलक र फाइनान्स समूह सामान्य एकल अंकले उकालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले बढेका छन् । मंगलबारका बजारमा अधिकांश लघुवित्त संस्थाको सेयर मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९३ प्रतिशत कमाएका छन् । त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६९ प्रतिशतले बढेर प्रतिकित्ता ८४९ रुपैयाँ पुगेको छ । त्यसैगरी, नयाँ नेपाल लघुवित्त विकास बैंक ७.५८, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ७.१४, सामुदायिक लघुवित्त वित्तीय संस्था ६.६७ र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०५ प्रतिशतले बढेको छ । दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी वर्ल्ड मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.७५ प्रतिशतले घटेको छ ।

भाटभटेनीले त्रिवि शिक्षण अस्पतालमा नौ तले भवन बनाउने, १० महिनामा हस्तान्तरण

काठमाडौँ । भाटभटेनी सुपर मार्केटले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका लागि ९ तले भवन बनाइदिने भएको छ । यस सम्बन्धमा लिखित सम्झौताको प्रक्रिया अघि बढेको अस्पताल प्रशासनले जनाएको छ । भाटभटेनीले दश वर्ष अघि शिक्षण अस्पतालको आकस्मिक कक्ष निर्माण गरिदिएको थियो । अहिले सोही आकस्मिक कक्ष नजिकै ९ तले भवन निर्माणमा सहयोग गर्न लागेको र यस सम्बन्धमा सुपरमार्केटका सञ्चालक मीन गुरुङसँग कुराकनी भएको अस्पताल प्रशासन बताउँछ । ८–१० दिनमा भवन डिजाइनको अन्तिम चरणको काम अघि बढ्छ-अस्पतालका प्रशासक सूर्य अधिकारीले बताए । सुपरमार्केटले यसअघि निर्माण गरिदिएको आकस्मिक कक्षको लागत १३ करोड थियो । अब बन्ने भवन त्यो भन्दा बढी लागतको हुने बताइएको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले अस्पताललाई आकस्मिक कक्ष विस्तार, बिरामी कुरुवा कोठा, हेलिप्याड सहितको भवन निर्माण गर्ने इच्छा देखाएको अस्पताल प्रशासन बताउँछ । गुरुङले दस वर्षअघि आफ्ना स्वर्गीय मातापिता बृषबहादुर गुरुङ र धनमाया गुरुङको स्मृतिमा सो आकस्मिक कक्ष निर्माण गरी सफाइ व्यवस्थापन आफैं गर्दै आएका छन् । अब बनाउन लागिएको भवन १० महिना भित्र निर्माण हुने र अस्पतालमा हस्तान्तरण गर्ने सञ्चालन गुरुङको योजना छ दुई वर्ष अघि नै सुपरमार्केटले यो प्रस्ताव लगेपनि विविध कारणवश यो काम शुरु हुन सकेको थिएन, अब भने निर्माण कार्य शुरु हुने अस्पताल प्रशासनले जनाएको छ ।

उपभोक्ताको लगानीद्धारा तनहुँको म्याग्दे गाउँपालिकामा नाला निर्माण

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–७ मा उपभोक्ताको शतप्रतिशत लगानीमा पक्की नाला निर्माण शुरु भएको छ । मिन माध्यमिक विद्यालय पछाडिको तर्फको द्वारेखोला पुल्चोकदेखि तिलाटार हुँदै रानीश्वाँरासम्मको १ किमी पक्की नाला उपभोक्ताकै शत प्रतिशत लगानीमा शुरु भएको हो । गण्डकी प्रदेश सरकारले उक्त सडक कालोपत्रे गर्न रु ५० लाख विनियोजन गरेकामा एकतर्फी पक्की नाला निर्माण नगरी सडक कालोपत्रे गर्न नमिल्ने भएपछि स्थानीय जनताले आफैँ रकम उठाएर पक्की नाला निर्माण शुरु गरेको उपभोक्ता समितिका अध्यक्ष विष्णु वाग्लेले जानकारी दिए । नाला निर्माणको लागि स्थानीय उपभोक्ताले रु १५ लाख सङ्कलन गरेका छन् । एक सय घरधुरी रहेको उक्त सडकखण्डमा हरेक घरधुरीले नाला निर्माणको लागि रकम उपलब्ध गराएका छन् । प्रत्येक घरले न्यूनतम रु १० हजारदेखि अधिकतम रु २५ हजारसम्म रकम उपलब्ध गराएको उपभोक्ता समितिका सल्लाहकार डिलबहादुर नेपालीले जानकारी गराएका छन् । । चैत महीनाभित्रमा नाला निर्माण सम्पन्न हुने त्यसपछि सडक कालोपत्रे शुरु गरिने जानकारी दिएका छन् । प्रदेश सरकारको रकमले सडक कालोपत्रे गर्न पनि नपुग्ने भएको र पक्की नाला निर्माण नभई सडक कालोपत्रे गर्न नमिल्ने प्राविधिकको सुझाव पछि स्थानीय उपभोक्ताले नै रकम सङ्कलन गरेर नाला निर्माण शुरु गरेका हुन् । नाला निर्माणका लागि तथा सामान ढुवानी गर्ने, अनुगमन गर्ने, पानी हाल्ने लगायतका काममा स्थानीय आफैँ खटिएको सल्लाहाकार नेपालीले बताए । रासस