एनसीसी बैंक र नेको इन्स्योरेन्सबीच बीमा सेवा सहकार्य सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेको इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेको इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले नेको इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ, ८९ करोड विनियोजन
वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गरेकी छिन् । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५/७६ मा करीब ८९ करोड विनियोजन गरेको छ । वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माता जानकीजस्ता विभूति जन्मेको यस देशमा राष्ट्र, राष्ट्रियता र संस्कृतिप्रति गौरव गर्ने वातावरण तयार पारी छोरी शिक्षालाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले भनिन्, “आजका छोरी भोलि देशको जिम्मेवार नागरिक भएकाले छोरीलाई शिक्षा दिनु आजको आवश्यकता हो, छोरीलाई शिक्षा दिँदा सुदृढ संस्कृतिको जगमा उभिन सक्ने गरी दिनुपर्छ ।” प्रदेश नं २ को सरकारले ल्याएको सो अभियानले समृद्ध समाज निर्माण गर्न तथा महिलाको उच्च प्रतिष्ठालाई सम्मान गर्न कोसेढुङ्गा सावित हुने बताउँदै राष्ट्रपति भण्डारीले वर्तमान संविधानले पनि महिलाको अधिकार सुनिश्चित गरी महिलालाई अधिकार सुम्पेको बताइन् । उनले महिलाले सामाजिक, आर्थिक र राजनीतिकलगायत क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्ने गरेको बताउँदैै समाजमा व्याप्त दाइजोजस्ता कुरीति समाप्त पारी छोरी, बुहारी एवं महिलाप्रति सम्मान गर्नु आजको आवश्यकता रहेकामा उनले जोड दिइन् । उनले सिँचाइ, बीउबिजन, मलखादको आवश्यकतालाई प्राथमिकतामा राखेर विदेश पलायन हुने युवापुस्तालाई रोक्नुपर्नेमा जोड दिँदै विकासको पूर्वाधार अगाडि बढाउँदा र एकीकृत बस्ती विस्तार गर्दा वातावरण संरक्षणलाई ध्यानमा राखी चुरे विनाशलाई रोक्नुपर्ने सुझाव दिइन् । सो अवसरमा राष्ट्रपति भण्डारीले प्रभु बैंक लिमिटेडमा खाता खोलिएका वीरगञ्ज महानगरपालिका–१ देखि १६ वडासम्मका १४ शिशुका अभिभावकलाई बैंकको खातासम्बन्धी कागजात हस्तान्तरण गरिन् । उनले प्रदेश नं २ का आठ जिल्लामा गत वर्ष एसइई परीक्षामा पहिलो, दोस्रो तथा तेस्रो हुने छात्रालाई नगद तथा सम्मानपत्र प्रदान गर्दै त्रिजुद्ध माविबाट २००९ सालमा बोर्ड फस्ट वरिष्ठ उद्योगपति बाबुलाल चाचानलाई सम्मान गरिन् । सो अवसरमा प्रदेश नं २ का प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले नेपालको संविधानले कल्पना गरेको समतामूलक समाजको स्थापना गर्न सो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको गठनसँगै भौतिक पूर्वाधारको विकास तथा समाजमा रहेको महिला तथा छोरीको शिक्षाप्रति आकर्षण ल्याउन सो कार्यक्रम ल्याइएको जानकारी दिए । उनले भने, “महिला तथा छोरीको शिक्षाप्रति आकर्षण बढाई तिनलाई सशक्त बनाएर मुलुकको विकासमा अग्रसर गराउने लक्ष्य प्रदेश सरकारको रहेको छ”, उनले भने । कार्यक्रममा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह र सचिव दीपक सुवेदी, प्रभु बैंक लिमिटेडका सिइओ अशोक श्रेष्ठ, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, सांसद प्रदीप यादव लगायतले बोलेका थिए । रासस
विभिन्न चार संस्थाको एक करोड ८० लाख कित्ता सेयर सूचिकृत, क-कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार वटा बैंक तथा वित्तीय संस्थाको कुल एक करोड ८० लाख ७१ हजार ८६७ कित्ता सेयर सूचिकृत भएको छ । एकैदिन एनआईसी एशिया बैंक, सेञ्चुरी कमर्शियल बैंक, चिलिमे हाइड्रोपावर कम्पनी र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । सो मध्ये एनआईसी एशिया बैंक र चिलिमे हाइड्रोको बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सेञ्चुरी बैंक र किसान माइक्रोफाइनान्सको हकप्रद सेयर नेप्सेमा थपिएको हो । एनआईसी एशियाको ८० लाख ३१ हजार ११७ कित्ता र चिलिमे हाइड्रोको ७९ लाख ३० हजार २२६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यसैगरी, सेञ्चुरी बैंकको १८ लाख ७० हजार २७४ कित्ता र किसान माइक्रोफाइनान्सको २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर बिहीबार मात्रै नेप्सेमा थपिएको हो ।
कामना सेवाको ६५औं शाखा प्रदेश नम्बर २ को सप्तरीमा
काठमाडौं । कामना सेवा विकास बैंकले सप्तरी जिल्ला, महुली गाँउपालिका वडा नं ०६ मा सेवा विस्तार गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा प्रदेश नं २ का प्रमुख राकेश सिंहको पनि उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर २ को लागि दोस्रो भएको र बैंकले प्रदेश नं १, २ र ५का विभिन्न शहर तथा ग्रामिण इलाकामा १९ वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य क्षेत्रमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताए । बैंकले देशका विभिन्न भागहरुमा ६५ वटा शाखा तथा १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस, एसएमएस व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
सामूहिक लगानी कोषमा आएर लगानी गर्न गैरआवासीयलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामूहिक लगानी कोष मार्फत लगानी गर्न आग्रह गरेका हुन् । उनले भने-तपाईका समस्या र सम्भावना छलफल गरौं भनेर म यहाँ आएको हुँ । नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गर्दै उनले विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको बताए । ठूलो मुलुकमा चेकजाँच हुँदा सामान्य मानिने भएपनि हामी कहाँ त्यही चेकजाँचको विषयलाई ठुलो बनाइएको उनको भनाई छ । विदेशी मुद्रामा लगानी गर्नेलाई विदेशी विनिमयको हेजिङको व्यवस्था भएको भन्दै सबै देशमा पनि पूँजी खाता नियमन गर्ने व्यवस्था भएको उनले स्मरण गराए । करका दरहरु बढेका नभई सुधार गरिएको मन्त्री खतिवडाले बताए । । इतिहासमै पहिलो पटक यति धेरै आर्थिक बृद्धि हुने भन्दै उनले जसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमअफ) को प्रतिवेदनले पनि देखाइसकेकोले वर्तमान सरकार ७ प्रतिशतभन्दा बढि आर्थिक बृद्धि हुने उच्च लक्ष्यमा अघि बढेको बताए । मुल्यबृद्धि चार प्रतिशतको वरिपरि मात्र रहेको भन्दै मन्त्री खतिवडाले आर्थिकबृद्धि समग्रमा वैदेशिक व्यापार बाहेक सरकारको वित्त स्थिति राम्रो भएको गैरवासीय नेपालीलाई उनले स्पष्ट पारे । वैदेशिक व्यापार समस्या अहिले सृजना नभएको नभई विगतको संरचनागत समस्या समेत भएको उनको भनाइ छ । विकासका पूर्वाधार निर्माण, कृषि तथा औद्योगिक क्षेत्रको विकासको प्रभावले वैदेशिक व्यापारको समस्या र उत्पादनको संरचना परिवर्तन गर्दा व्यापार घाटा देखा परेको मन्त्री खतिवडाले बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुले नेपालमा लगानीका बारेमा चासो राखेका थिए । २९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लण्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लण्डन भएका हुन् । बेलायतस्थित नेपाली राजदुतावासद्वारा आयोजना हुने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा अर्थमन्त्री खतिवडाले शुक्रबार सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
बोर्ड अध्यक्षमाथि ब्राेकरकाे दर्जन बढी आरोप : २५० शाखा खाेल्छु भन्दा नसुन्ने, पूर्वाग्रह राख्ने ?
काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएसन सम्बद्ध ५० ओटा ब्रोकर कम्पनीहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्षमाथि एक दर्जन भन्दा बढी आरोपहरु लगाएका छन् । सबै कम्पनीहरुका सञ्चालकहरुले अध्यक्ष रेवतबहादुर कार्कीकाथि ब्रोकरहरुप्रति अत्यन्तै पूर्वाग्रही भएको, अनावश्यक आरोप लगाएको, झुटा कारबाहप्हरु गरेको र आफुलाई ब्रोकरहरुको महाशत्रु घोषणा गरी संसदीय समितिमा गैरजिम्मेवारपूर्ण आरोप लगाएको भन्दै यसबाट सम्पूर्ण व्यवसायीहरु हतोत्साहित र चिन्तित भएको बताएका छन् । धितोपत्र बोर्डका अध्यक्षमाथि ब्रोकरहरुले लगाएको आरोपहरु अर्थ समितिको बैठकमा कपोलकल्पित, झुटो र भ्रमपूर्ण आरोप लगाएको । ब्रोकरको काम राफसाफ गरिदिने मात्र भएको कार्यक्षेत्र विस्तार गर्न नदिएको । ब्रोकरहरु प्रतिस्पर्धी बन्न नसकेको भन्ने आरोप लगाएको धितोपत्र बजारको विकासको सन्दर्भमा ब्रोकरहरुको दिएका वस्तुगत सुझावहरु वेवास्ता गरेको । २५० ठाउँमा शाखा विस्तार गर्ने ब्रोकरको प्रस्तावलाई छलmलमै नल्याएको । धितोपत्र बजारमा कतिओटा ब्रोकर आवश्यक छ भन्ने अध्ययन नगरेको । गुणात्मक भन्दा संख्यात्मक आकार वृद्धिमा ध्यान दिएको । चुक्ता पुँजी १० गुणा भन्दा बढी बढाउन र पुँजीकोष ५ करोड माथि पुर्याउन बाध्य पारिएको तर प्रतिफल बढाउन ध्यान नदिइएको । २५ बर्षसम्म पनि राफसाफ प्रत्याभूति कोष र अक्सन मार्केटको विकास नगरेको । मासिक ३००० रुपैंयामा कर्मचारी राखेको र व्यवसायी भागेको भन्ने झुटो आरोप लगाएको । वर्षौदेखि सञ्चालित परियोजनाको शेयर नबिक्ने अवस्थामा ल्याइपुर्याएको । आफैंलाई धितोपत्र व्यवसायीको महाशत्रु घोषणा गरेको र ब्रोकरहरुलाई शत्रुतापूर्ण व्यवहार गरेको । मार्जिन लेन्डिङको सम्बन्धमा प्रचारबाजी गर्ने तर पूर्वाधार पुर्याएका ब्रोकरहरुलाई स्वीकृति नदिने काम गरेको । अनावश्यक र अनधिकृत रुपमा ब्रोकरहरुलाई कारबाही गरी हतोत्साहित बनाएको ।
कीर्तिपुरमा १२ करोड लगानीमा २५ शैयाको हस्पिटल बन्दै
काठमाडौं। कीर्तिपुर नगरपालिकाले १२ करोड लगानीमा २५ शैयाको हस्पिटल बनाउने भएको छ । नगरपालिकाले कीर्तिपुर नगरपालिका वडा नं ६ ईट्टागालमा हस्पिटल बनाउन लागेको हो । सामुदायिक सरकारी हस्पिटलका रुपमा २५ रोपनी क्षेत्रफलमा अस्पताल बन्न लागेको किर्तिपुर महानगरपालिका मेयर रमेश महर्जनले बताए । हस्पिटलले सबै किसिमको सेवा सुविधा दिने मेयर महर्जनले बताए । कीर्तिपुर स्थित बिष्णुदेवी हेल्थपोस्टको शाखाको रुपमा उक्त हस्पिटललाई विस्तार गर्न लागेकाे हाे । नजिकै दुईवटा हस्पिटल भएकोले अन्य ठाउँका मानिसहरुलाई पनि सजिलैसँग सेवा उपलब्ध होस् भन्ने उदेश्यको साथ उक्त हस्पिटलको शाखाको रुपमा ईट्टागलमा अस्पताल बन्न लागेको मेयर महर्जनले बताए । हस्पिटल बनेपछि वडा नं ४,५,६,८ को सेवाग्राहीहरुले सजिलै सेवा पाउने मेयर महर्जनले विश्वास व्यक्त गरे । चारै नाकामा हस्पिटल बन्दै काठमाडाैं उपत्यकाबाट बाहिर निस्कने तथा भित्र छिर्ने ४ ओटै मुख्य नाकाहरुमा हस्पिटल बन्ने भएकाे छ । काठमाडाैकाे पूर्वतर्फ भक्तपुरकाे साँगा, पश्चिमतर्फ थानकोट, उत्तरतर्फ नागार्जुन र दक्षिणतर्फ दक्षिणकाली क्षेत्रमा हस्पिटल बन्ने भएको छ । उक्त हस्पिटल थापाथलीस्थित प्रसूति गृह हस्पिटलकाे शाखाको रुपमा विस्तार गरिन लागेकाे हाे । प्रसुति गृहमा बिरामीको अत्यधिक चाप रहेकाे र उपत्यका बाहिरबाट आउने बिरामीहरु ट्राफिक जामका कारण ढिलाेमात्र अस्पताल पुग्नाले मातृ शिशुकाे स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै मृत्युदर समेत उच्च हुने गरेकाेले नाकाहरु मै अस्पताल खोलेर सेवा दिन लागिएकाे बताइएकाे छ । पहिलाे चरणमा चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेकाे थानकाेट क्षेत्रमा हस्पिटल बनाइने बताइएकाे छ । उक्त हस्पिटलका लागि प्रसुति गृहका प्रमुख जागेश्वर गाैतमकाे नेतृत्वमा गएकाे जर्मन विज्ञ टाेलीले सम्भाव्यता अध्ययन समेत गरेर गएकाे मेयर घनश्याम गिरीले बताए । उक्त हस्पिटलका लागि नगरपालिकाले प्रसुति गृह अस्पताल र शहरी विकास केन्द्रसँग समन्वय गरी निर्माण कार्य अघि बढाउने जिम्मेवारी पाएकाे छ । हाल नगरपालिकाकाे स्वामित्वमा थानकाेटमा ८ काेठे भवनसहितकाे जग्गा छ । त्याेसँगै अर्काे भवन बनाएर हस्पिटल सञ्चालन गर्ने याेजना रहेकाे मेयर गिरीकाे भनाई छ । उक्त हस्पिटलमा प्रारम्भमा प्रसुति सेवा मात्र उपलब्ध हुने भएपनि विस्तारै जनरल ओपिडी, आँखा, दाँत, क्षयराेग लगायतका सेवा समेत उपलब्ध गराउने छ । काठमाडाैंकाे भित्रने र बाहिरिने सबैभन्दा बढी चाप याे नाकामा रहेकाेले पहिलाे चरणमा याे क्षेत्रलाई लिइएकाे हाे । हस्पिटल बनेपछि उपत्यका बाहिरका सेवाग्राहीहरुले समय मै सेवा पाउने विश्वास मेयर गिरीले व्यक्त गरे ।
निर्माणको चरणमा नेपाल कै ठूलो पञ्चासे केबलकार, १० हजार नेपालीले रोजगारी पाउने
काठमाडौँ । नेपालको सबैभन्दा ठूलो र लामो पञ्चासे केबलकार निर्माण प्रारम्भ हुने भएको छ । १० हजार नेपालीलाई रोजगारी प्रदान गर्ने सो परियोजना गृहकार्यपछि निर्माणको चरणमा प्रवेश गर्न लागेको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । पोखरा क्षेत्रलाई पर्यटनको केन्द्रबिन्दु बनाउँदै बृहत पर्यटकीय गन्तव्य बिस्तार गरी बसाई लम्ब्याउने र स्थानीय आयश्रोत बढाउने उद्देश्यका साथ पञ्चासे केबलकारको परिकल्पना गरिएको कम्पनीका अध्यक्ष शर्माले बताए । पर्यटन क्षेत्रलाई व्यसायिकरण गर्ने कर्पोरेट जोइन्ट भेन्चर कल्चरको प्रवद्र्धन गरेर बृहत पूँजीको निर्माण गर्ने र पूँजीको प्रयोगबाट बृहत्तर परियोजना निर्माण गर्ने तथा सामुहिक आयआर्जन गर्न योगदान पुर्याउने उद्देश्य रहेको अध्यक्ष शर्माको भनाई छ । सबै तहका जनताको लगानी, प्रभावित क्षेत्र पञ्चासे वरपरका साविकका गाविसमा बसोबास गर्ने एकाघरका लागि योगदानमा आधारित १ लाखको शेयर, किस्ताबन्दीमा शेयर संकलन, केबरकार मात्र नभई एकीकृत विकास योजना, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिई त्यसबाट प्राप्त तलबको निश्चित हिस्साबाट शेयर पूँजी संकलन गर्ने कम्पनीले जनाएको छ । ८.५ किलोमिटर लामो पञ्चासे केबरकार छिट्टै निर्माण प्रारम्भ हुने जनाइएको छ । १० अबै रुपैयाँको योजना मध्ये ३ अर्ब केबलकारमा र बाँकी रकम अन्य संरचनामा खर्च हुने कम्पनीले जनाएको छ । कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत गुरुयोजना सहित अघि बढेको कम्पनीका अध्यक्ष शर्माले बताए । अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा र पैदल यात्रा गरी जाने गरेका छन् । पोखरा-२३ स्थित घाँटीछिनामा केबलकारको तल्लो स्टेशन राखिने कम्पनीले जनाएको छ ।