विकासन्युज

‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत छोरी बीमा कार्यक्रम गरिँदै

वीरगञ्ज । यहाँस्थित त्रि–जुद्ध माध्यमिक विद्यालयमा छोरी बीमा कार्यक्रमको शुभारम्भ गरिँदैछ । प्रदेश नं २ को सरकारले ल्याएको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानअन्तर्गत सो कार्यक्रमको शुभारम्भ हुन लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ‘बेटी बचाउ बेटी पढाउ’ अभियानका लागि झण्डै ८९ करोड विनियोजन गरेको छ । सो अभियानअन्तर्गत प्रदेश २ सरकारले छोरी बीमा कार्यक्रमका लागि प्रभु बैंकसँग सम्झौतासमेत गरिसकेको छ । अभियानको पहिलो चरणमा साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण, सचेतनाका लागि अभियान चलाउने जस्ता कार्यक्रम रहेको बताइएको छ । अभियानअन्तर्गत प्रदेश २ को आठवटै जिल्लाका चार हजार छात्रालाई साइकल वितरण गर्ने लक्ष्य लिइएको छ । यसअन्तर्गत कतिपय जिल्लामा साइकल वितरण गर्ने कार्यक्रम शुभारम्भ भइसकेको छ । प्रदेश नं २ मा छोराछोरीबीच विभेद, छोरीलाई भ्रूणमै हत्या गर्ने, दाइजो प्रथा, छोरीलाई विद्यालय नपठाउने जस्ता कुरीति हटाउन अभियानले चेतना जगाउने विश्वास लिएको छ । रासस

दुई चालक नराख्ने ४५ सवारी साधन कारवाहीमा, कानून नमान्नेलाई १ हजार जरिवाना

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे/नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालमा ल्याएको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानून नमान्ने सवारी साधनलाई कारवाही गरिएको जानकारी दिए । निर्देशनालयले लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएको थियो । उक्त एप्स सञ्चालनसँगै सवारी दुर्घटना न्यूनीकरण हुने बताइएको छ । उक्त एप्स पहिलो चरणमा काठमाडौँको नागढुङ्गामा, प्रदेश नं २ को सर्लाहीको कर्मैया र प्रदेश नं ५ को बाँकेको कोहलपुरमा एप्स सञ्चालनमा ल्याइएको थियो । कानून नमान्ने सवारी साधनलाई एक हजार जरिवाना गरेको महाशाखाले जनाएको छ । रासस

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक, अप्रिल २६ बाट बजारमा आउने

सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ । तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरेको हो । यस फोनमा पाँचौं पुस्ता फाइभ–जी को तारविहीन टेलिफोन नेटवर्कमा समेत काम गर्नेछ । सामान्य स्मार्टफोन र ट्याबलेट दुबै स्वरुपमा विकास गरिएको नयाँ स्मार्टफोनमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) र अरु विशेषता थप गरिएको छ । अमेरिकाको सानफ्रान्सिस्कोमा सार्वजनिक गरिएको यस फोनको नाम ग्यालेक्सी फोल्ड राखिएको छ । एउटै डिभाइसमा ४.६ इन्चको स्मार्टफोन र ७.३ इन्चको ट्याबलेट रहेको छ । यो स्मार्टफोन अप्रिल २६ तारिखबाट बजारमा आउनेछ । यसको मूल्य अमेरिकामा एक हजार ९८० अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ । कम्पनीका जस्टिन डेनिसनले नयाँ उपकरणमा तीनवटा एप्स एकैसाथ चलाउन मिल्ने जानकारी दिए । “तपाईंले एकै समय युट्युबमा भिडियो हेर्न, यसका बारेमा साथीसँग अन्तक्र्रिया गर्न तथा यात्राका लागि नयाँ गन्तव्यको खोजी गर्न सक्नुहुन्छ ।” सोही समारोहमा सामसुङले ग्यालेक्सी एस१० को नयाँ मोडेल पनि सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा पाँचौं पुस्ता (फाइभ–जी) को तारविहीन टेलिफोन नेटवर्कको प्रयोग गर्न सकिन्छ । सामसुङका अन्य प्रतिस्पर्धीहरुले अर्को साता शुरु हुने मोबाइल वल्र्ड कङ्ग्रेसमा फाइभ–जी मोबाइल सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । रासस/एएफपी

नविल बैंककाे ३४औँ वार्षिक साधारणसभा फागुन २७ गते, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौं । नविल बैंकले आगामी फागुन २७ गते आफ्नो ३४औँ वार्षिक साधारणसभा डाकेको छ । सो प्रयोजनको लागि बैंकले फागुन १४ गते बुक क्लोज गर्ने भएको छ । उक्त सभामा बैंकले ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । सभाले बैंक सञ्चालक समितिको प्रस्ताव अनुसार सेयरधनीलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद(करसहित) गरी सो मात्राको लाभांशलाई अनुमोदन गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ०३ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ नाघ्ने छ । बिहीबारको बजारमा बैंकको सेयर मूल्य १० रुपैयाँले बढेर प्रतिकित्ता ७९९ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकको सभा फागुन २७ गते बिहान ११ः३० बजे कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दै छ ।

कम्पनी रजिष्ट्रार कार्यालयको हातपात घटनामा मिलापत्र, काम सुचारु

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालय फागुन १ गते भएको हातपात घटनामा मिलापत्र भएको छ । कम्पनी रजिष्ट्रार भूवनहरि अर्याल र उपरजिष्ट्रार हरिनारायण बेल्वासे माथी कानून व्यवसायी गुणराज आचार्य र टीकाध्वज खड्काले हातपात गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयामा कम्पनी रजिष्ट्रार अर्याल र उपरजिष्ट्रार बेल्वास तथा कानुन व्यवसायी आचार्य र खड्काबीच सहमति भएको हो । कानून व्यवसायी आचार्य र खड्काले फागुन १ गते भएको घटनाको विषयमा गल्ती स्वीकार गरेपछि रजिष्ट्रार र उपरजिष्ट्रारसँग हात मिलाई सहमती गरेका हुन् । घटनापछि कार्यालयका कर्मचारीले असुरक्षा महशुस गरेका थिए र सेवाग्राहीको काम समेत प्रभावित भएको थियो । अब सो घटनामा सहमति भएपछि कार्यालयको काम सुचारु भएको छ । के भएको थियो फागुन १ कम्पनी रजिष्ट्रार कार्यालयमा कानून व्यवसायी आचार्य र खड्का नाममा ‘चीन’ जोडिएको एउटा कम्पनीको नाममा कम्पनी दर्ता गर्न प्रस्ताव गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेका थिए । तर, प्रचलित ऐनबमोजिम कुनैपनि देशको नाम जोडेर नेपालमा कम्पनी दर्ता हुन नसक्ने भन्दै कार्यालयले नाम सच्याएर आउन भन्दै फिर्ता पठाएपछि उनीहरु विवादमा उत्रिएको बताइएको छ । विवाद बढ्दै गएपछि कार्यालयले यो नाममा कम्पनी दर्ता गर्न मिल्ने नमिल्नेबारे मन्त्रालयसँग राय लिन कार्यालय तयार भए पनि उनीहरुले त्यो समेत मानेका थिएनन् । विवाद बढ्दै गएपछि ती दुईले रजिष्ट्रार र उपरजिष्ट्रारमाथि हातपात गरेका थिए ।

१९ बीमा कम्पनीले गरे २ खर्ब २८ अर्ब लगानी, कुन कम्पनीको कति ?

काठमाडौ । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा जीवन बीमा गर्ने कम्पनीहरुले २ खर्ब २८ अर्ब ९० करोड ६४ लाख २८ हजार रुपैयाँको लगानी गरेका छन् । बीमा सम्बन्धी विद्यमान कानून अनुसार जीवन बीमा कम्पनीहरुले क वर्गको लगानी अन्र्तगत सरकारी ऋणपत्रमा कम्तीमा २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, ख वर्गको लगानी अन्र्तगत बाणिज्य बैकको मुद्दती खातामा कम्तीमा ३५ प्रतिशत, विकास बैंकको मुद्दती खातामा बढीमा १५ प्रतिशत र सामुहिक लगानी कोषहरुमा बढीमा ५ प्रतिशत समेत गरी क र ख वर्गको लगानीमा कम्तीमा ७० प्रतिशत लगानी गर्नेु पर्ने प्रावधान छ । ग वर्गको लगानी अन्र्तगत भने वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुको अग्राधिकार सेयर वा ऋणपत्रमा बढीमा १० प्रतिशत वित्त कम्पनीहरुको मुद्धतीहरुमा बढीमा १० प्रतिशत कुनैपनि पब्लिक कम्पनीको सेयरमा बढीमा १० प्रतिशत, उत्पादनशील तथा राष्ट्रिय महत्वका क्षेत्रमा ५ प्रतिशत र ईन्भेष्टमेन्ट कम्पनीको सेयरमा बढीमा २ प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था छ । हालसम्म व्यवसाय गर्ने कम्पनीको संख्या १९ रहेको छ । कुन कम्पनीको लगानी कति ? सोही कम्पनी मध्येमा राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ अर्ब ५२ करोड ६७ लाख ५६ हजार लगानी गरेको छ । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले २३ अर्ब ६७ करोड ८५ लाख ३३ हजार रुपैयाँ लगानी गर्दा नेपाल लाईफ इन्स्योरेन्सले ५१ अर्ब ३ करोड ८३ लाख ५५ हजार रुपैयाँ लगानी गरेको छ । लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपालको लगानी ४० अर्ब ९६ करोड २१ लाख २२ हजार रुपैयाँ छ भने मेट लाईफले १७ अर्ब ४० करोड ३८ लाख २२ हजार रुपैया लगानी गरेको छ । यता, एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले १३ अर्ब ३७ करोड ८५ लाख ४० हजार रुपैयाँ लगानी गर्दा सूर्या लाईफ ईन्स्योरेन्स कम्पनीको लगानीको आकार ३३ अर्ब ५ करोड ३७ लाख ७३ हजार रुपैयाँको छ । बीमा सम्बन्धी विद्यमान कानून अनुसार जीवन बीमा कम्पनीहरुले क वर्गको लगानी अन्र्तगत सरकारी ऋणपत्रमा कम्तीमा २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी गुराँस लाईफ ईन्स्योरेन्स कम्पनीले ४ अर्ब २८ करोड ६६ लाख १७ हजार रुपैयाँको लगानी गरेको छ भने प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीले ९ अर्ब ६९ करोड ३२ लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ८९ करोड ६ लाख १७ हजार रुपैयाँ लगानी गर्दा यूनियन लाईफ ईन्स्योरेन्स कम्पनीले २ अर्ब ५९ करोड ४७ लाख ७४ हजार रुपैयाँ लगानी गरेको छ । ज्योती लाईफ ईन्स्योरेन्स कम्पनीले २ अर्ब ४ लाख रुपैयाको लगानी गरेको छ भने सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले १ अर्ब ६८ करोड ५० हजार रुपैया लगानी गरेको छ । यता, रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीले १ अर्ब ६२ करोड ४३ लाख ९१ हजार रुपैयाको लगानी गर्दा रिलायबल लाईफ ईन्स्योरेन्स कम्पनीको २ अर्ब १३ करोड ४६ हजार रुपैयाँ लगानी गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीले २ अर्ब ४५ करोड १४ लाख ९३ हजार रुपैयाँ लगानी गरेको छ भने सानिमा लाईफ ईन्स्योरेन्स कम्पनीले १ अर्ब ४८ करोड ५१ लाख १९ हजार रुपैयाँ लगानी गरेको छ । प्रभु लाईफ ईन्स्योरेन्स कम्पनीले १ अर्ब ५५ करोड ७९ लाख ७ हजार रुपैयाँ लगानी गर्दा सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनीले १ अर्ब ४६ करोड ९८ हजार ६६ करोड रुपैयाँ लगानी गरेको छ ।

साधनाले आर्थिक सम्बृद्धिलाई प्राप्ति गर्ने, राष्ट्रिय स्तरको संस्था बन्ने लक्ष्य

काठमाडौं । गोरखा जिल्लाको साधना लघुवित्त वित्तीय संस्थाले तनहुँ जिल्लाको आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्था लि. लाई प्रप्ति गर्ने भएको छ । राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हुने लक्ष्यका साथ यी दुई संस्थाबीच उक्त सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा साधना लघुवित्तका तर्फबाट अध्यक्ष कृष्णबहादुर थापा र आर्थिक सम्बृद्धि लघुवित्तका तर्फबाट डा. एक नारायण चापागाँइले हस्ताक्षर गरेका छन् । प्राप्तिपछि संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहनुका साथै केन्द्रीय कार्यालय हरमटारी ६ गोरखामा रहने छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा चुक्ता पूँजी ४ करोड ९० लाख रहेको साधना लघुवित्तले २६ वटा शाखा सञ्चालनमा ल्याएको छ । त्यसैगरी चुक्तापूँजी ३ करोड ६ लाख २५ हजार रहेको आर्थिक सम्बृद्धि लघुवित्तले १४ वटा शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रियस्तरमा कायम रहनुपर्ने र सो का लागि मर्जर तथा प्रप्तिलाई प्रोत्साहन गरेको थियो । उक्त सन्दर्भमा यस दुई लघुवित्तको प्रप्ति सम्बन्धि सम्झौता नेपालमै पहिलो रहेको साधना लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

ओली सरकारको १ वर्षः वैदेशिक लगानी प्रतिबद्धता १५० प्रतिशतले बढ्यो

काठमाडौं । देशमा राजनीतिक स्थिरतासँगै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बृद्धि भएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार वैदेशिक लगानीको प्रतिबद्धता १५० प्रतिशतले बृद्धि भएको हो । २०७४ फागुनदेखी २०७५ फागुनसम्म ५२ अर्ब ६३ कराडको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । २०७३ फागुनदेखी २०७४ फागुनसम्म २० अर्ब ९६ करोड ९० लाखको मात्रै प्रतिवद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा गतवर्षको लगानी प्रतिबद्धता झन्डै ३ गुणाले बढी हो । २०७४ फागुनदेखी २०७५ फागुनसम्म ५२ अर्ब ६३ करोड लागतका ४ सय ३१ उद्योगमा लगानी प्रतिबद्धता आएका हो । यी उद्योगले १४ हजार ५६० लाई रोजगारी दिने छन् । २०७३ फागुन देखी २०७४ फागुनसम्म आएको वैदेशिक लगानी प्रतिबद्धताबाट ३८० वटा उद्योग खुल्ने र त्यहाँ १३ हजार ९४ नयाँ रोजगारी थपिने छ । विभागले कृषिजन्य, निर्माण, ऊर्जा, सूचना प्रशारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवा तथा पर्यटन क्षेत्रमा यो लगानीको प्रतिबद्धता स्वीकृत गरेको छ । २०७४ फागुन देखी २०७५ फागुनसम्म पर्यटनमा १७०, सेवा १३२, उत्पादनमूलक ६६, सूचना प्रविधि २३, कृषि तथा वनजन्य १७, ऊर्जा ३ र खानीमा ३ उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको छ । नेपालमा दुई तिहाईको स्थिर सरकार गठन भएदेखि नै वैदेशिक लगानीको प्रस्ताव बढ्दै गएको उद्योग विभाग वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण महाशाखाका निर्देशक प्रशान्त बोहोराले जानकारी दिए । उनका अनुसार आर्थिक बर्ष २०७४/७५ को ६ महिनाको तुलनामा चालु आबको सोही अवधिमा वैदेशिक लगानी केहि मात्रामा घटेको देखिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेदेखिको १ बर्षको अबधिमा भने वैदेशिक लगानी करिव ३ गुणाले बढ्दै ५२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ फागुन ३ गते आफ्नो पदभार ग्रहण गरेका थिए । त्यस यता वैदेशिक लगानी अघिल्लो बर्षको तुलनामा ३१ अर्ब ६६ करोड रुपैयाँले बढेको छ । अघिल्लो बर्षको माघ मसान्तसम्म वैदेशिक लगानीकर्ताहरुको आकर्षण रहेको उत्पादनमुलक क्षेत्रमार्फत ८ अर्ब ४१ करोड रुपैयाँ लगानी भित्रिएको थियो । तर पछिल्लो १ बर्षको अवधिमा उर्जा क्षेत्रमा ३४ अर्ब ५४ करोड रुपैयाँ लगानी स्वीकृत भएको विभागको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो १ बर्षको अवधिमा उत्पादनमुलक क्षेत्रमा ६ अर्ब ४९ करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ६ अर्ब ३६ करोड रुपैयाँ तथा सेवा क्षेत्रमा २ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यस्तै यो बर्ष ४ सय ३१ उद्योगमार्फत ५२ अर्ब ६३ करोड रुपैयाँ लगानीका आयोजनामा १४ हजार ५ सय ६० जनाले रोजगारीको अवसर प्राप्त गरेको विभागले जानकारी दिएको छ । अघिल्लो बर्षको सोही अवधिमा भने ३ सय ८० उद्योगमार्फत २० अर्ब ९६ करोड रुपैयाँ लगानीका आयोजनामा १३ हजार ९४ जनाले रोजगारीको अवसर पाएका थिए ।