विकासन्युज

अभियुक्तलाई धरौटीमा छुटाइदिने प्रलोभनमा सुरक्षाकर्मी नै सक्रिय, साढे २ लाख घुस माग गर्ने नायव सुब्बाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालत काठमाडौंका नायव सुब्बा सुधिरकुमार खड्का विरुद्ध मुद्दा दायर गरेको छ । खड्काले अभियुक्त देबजंग शाहीलाई धरौटिमा छुटाइदिने प्रलोभन देखाउँदै साढे २ लाख रुपैयाँ घुस माग गरेको पाइएपछि आयोगले उनी उपर मुद्दा दायर गरेको हो । विशेष अदालत काठमाडौंको कैफियत प्रतिवेदनको आधारमा शाहीलाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरिएको थियो । जसमा विशेष अदालत काठमाडौंको आदेश विरुद्ध सर्वोच्च अदालतमा ०७६-आरई-०१२८ नम्बरको निवेदन मुद्दा दर्ता गरेकोमा शाहीलाई धरौटीमा छुटाइदिने भन्दै अदालतका नायव सुब्बा खड्काले घुस/रिसवत माग गरेको उजुरी परेको आयोगले जनाएको छ । अनुसन्धान हुँदा सर्वोच्च अदालत काठमाडौंमा कार्यरत तत्कालीन नायव सुब्बा खड्काले आफ्नो पदीय आरचरण विपरितको कार्य गरेको पाइएपछि उनी विरद्ध मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ । साथै, सर्वोच्च अदालत काठमाडौंमा दर्ता भएको उक्त नम्बरको मुद्धा विचारधीन रहेको अवस्थामा बरबहाना बनाई सेवाग्राहीको काम कार्यलाई सजिलो तरिकाबाट सेवा दिनुपर्नेमा उल्टै अप्ठेरोमा पारेको आरोप लागेको छ । उनले कार्यालयमा सरकारी कामको सिलसिलामा आउने सेवाग्राहीलाई परिवन्धमा पारी नियमानुसार हुने मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धरौटीमा छुटाएदिने भनी घुस वापत माग गरेको रकम मध्ये ५० हजार कम गरी दिने भनी २ लाख ५० हजार माग गरेका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को ऐनको दफा २१ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निज आरोपी खड्कालाई बिगो स्वरुप २ लाख ५० हजार रुपैयाँ तोकिएको आयोगले बताएको छ । साथै, निजले उजुरी निवेदकको दाजु निवेदश विपक्षी नेपाल सरकार भएको सर्वोच्च अदालतमा दर्ता रहेको हाल बिचाराधीन अवस्थामा रहेको किनारा भई नसकेको उक्त नम्बरको मुद्दासँग सम्बन्धित मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराई दिने बहाना बनाई गत असोजको अन्तिम तिर चार हजार र अर्को पटक गराई गत कात्तिक महिनाको तिहार अगाडी ५ हजार गरी जम्मा ९ हजार रुपैयाँ समेत घुस वापत लिएको भेटिएको छ । जसको बिगो स्वरुप ९ हजार रुपैयाँ कायम गरिएको आयोगले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१)र दफा २ को उपदफा(१) को खण्ड(क) बमोजिम जरिवाना र कैद सजाय गरी घुस लिएको रकम ९ हजार रुपैयाँ असुल उपर गरी जफत हुन समेत मागदावी लिई आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको हो ।

बाहिरिँदै राष्ट्र बैंकका ४ कार्यकारी निर्देशक, अब क-कसले पाउँछन् कामु ?

काठमाडौं । राष्ट्र बैंकका चार जना कार्यकारी निर्देशकहरू घरबिदामा बस्दैछन् । अनिवार्य अवकाश पाउन लागेका चार कार्यकारी निर्देशकहरूमध्ये सुनिल उदास र सरिता भट्ट अधिकारी यहि मंसिर २१ गतेदेखि घर बिदामा बस्दैछन् । २१ गते शनिबार परेकोले उनीहरू मंसिर २० गते शुक्रबारबाटै घरबिदामा बस्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । उदास र अधिकारीको कार्यकाल पुस २१ मा सकिने भएपछि कार्यकाल सकिनुभन्दा एक महिना अघि उनीहरू घरबिदामा बस्दै छन् । हाल सुनिल उदास वित्त कम्पनी सुपरीवेक्षण विभाग प्रमुख छन् भने भट्टले विदेशी विनियम व्यवस्थापन विभाग प्रमुखको भुमिका निर्वाह गर्दै आएकी छिन् । अर्का द्वय कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला र महेश्वरलाल श्रेष्ठ पनि पुस पहिलो साताबाट घरबिदामा बस्दैछन् । निरौला र श्रेष्ठ माघ पहिलो साताबाट ३० वर्षे कार्य अवधि सकिएर अनिवार्य अवकाशमा परेका हुन् । हाल निरौला राष्ट्र बैंकका प्रवक्ता हुन् भने उनले मुद्रा व्यवस्थापन विभाग प्रमुख भएर कार्यभार सम्हालिरहेका छन् । श्रेष्ठ कर्पोरेट प्लानिङ विभाग प्रमुखको रुपमा कार्यरत छन् । भट्ट र उदास वि.सं. २०४६ साल पुसमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थिए भने निरौला र श्रेष्ठले सोही वर्ष माघमा राष्ट्र बैंक प्रवेश गरेका हुन् । अनिवार्य अवकास पाउनु अघि राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरु सामान्यतया एक महिना अघिदेखि घरबिदामा बस्ने चलन छ । सोही अनुसार उनीहरु घरबिदामा बस्न लागेका हुन् । यसअघि गत जेठमा ५ कार्यकारी निर्देशकले अवकास पाएका थिए । कार्यकारी निर्देशकहरू नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्यले गत जेठ २५ मा राष्ट्र बैंकबाट अवकाश पाएका हुन् । अर्को कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले जेठ १० नै अवकाश पाएका थिए । जेठदेखि माघसम्मको यो नौ महिनाको अवधिमा राष्ट्र बैंकबाट नौ जना कार्यकारी निर्देशक बाहिरिने भएका छन् । कार्यकारी निर्देशकहरु घरबिदामा बस्ने भएसँगै नेपाल राष्ट्र बैंकले रिक्त हुने पदका लागि निर्देशकहरूलाई कायम मुकायम कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी दिने तयारी गरेको छ । वरिष्ठ निर्देशकले नै कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाउने राष्ट्र बैंकले जानकारी दिएको छ । कार्यकारी निर्देशकहरु बिदामा हुँदा वा अनुपस्थित हुँदा सोही विभागका वरिष्ठ निर्देशकहरुले कामुको जिम्मेवारी स्वतः पाउने राष्ट्र बैंककाे अभ्यास छ । त्यसैअनुसार जिम्मेवारी दिने तयारी राष्ट्र बैंकले गरेको छ । तर, बढुवाका लागि भने आन्तरिक रुपमा कार्यसम्पादन मूल्याङ्कन समिति बन्ने र त्यसको सिफारिस अनुसार हुने छ ।

करातेमा नेपालले जित्यो १० स्वर्ण पदक

काठमाडौं । काठमाडौँमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पारेकी छन् । महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गरिन् । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुगेकी हुन् । सोही प्रतिस्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जित्यो । यससगैँ करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ । यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाएका थिए । त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जितेका थिए । करातेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदक विहीन भएको छैन । रासस

मार्सको १६औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । विज्ञापन एजेन्सी मार्स  प्रा.लिले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ ।  पूर्ण रुपमा संचालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा सफलता हासिल गरेको छ । यस १६ वर्षे समयावधिमा मार्सले आफ्नो पूर्ण आत्मविश्वास र भरोसाको साथ ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दै आएको र सम्पूर्ण टिममा उत्साह थपेको यसै कम्पनीका प्रबन्ध निर्देशक मनिस अधिकारीले बताए । २००३ मा स्थापित भएर २०१९ सम्म आइपुग्दा नेपालका केही ख्याति प्राप्त कम्पनीको सेवा गरेर सन्तुष्टी दिएर आगामी दिनमा अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ ।

आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी

गत कात्तिक मसान्तसम्ममा झण्डै सात लाख ८६ हजार चालक अनुमतिपत्र छाप्न बाँकी रहेका यातायात व्यवस्था विभागले जनाएको छ । अहिले विभागमा रहेका पुराना ‘प्रिन्टर’ बाट छपाइ भइरहेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । उनका अनुसार पुराना उपकरणको क्षमताभन्दा बढी चालक अनुमतिपत्र छाप्नुपर्ने बाध्यता रहेकाले छाप्नुपर्ने चालक अनुमतिपत्र बढिरहेका हुन् । ‘मास प्रिन्टर’ सञ्चालनका लागि दक्षजनशक्ति नहुँदा अहिले यहाँ कार्यरत जनशक्तिलाई तालिम दिइरहेको उनले बताएका छन् । ‘मास प्रिन्टर’ खरिद गरिएको भारतीय कम्पनीले नै विभागका कर्मचारीलाई उपकरणको प्रयोगबारे प्रशिक्षण दिइरहेको छ । उनले भने, “तालिम सकिएर मास प्रिन्टरले पूरै काम गर्न थालेपछि समस्या सकिनेछ ।” चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नविकरणका लागि आवेदन दिएकाको सङ्ख्या झण्डै आठ लाख पुगेको हो । यो सङ्ख्या अघिल्लो तीन चार वर्षदेखि नै महिनापिच्छे बढिरहेको छ । ‘मास प्रिन्टर’ र चालक अनुमतिपत्र छाप्नका लागि १० लाख कार्ड खरिद गरेसँगै विभागले छाप्न बाँकी कार्ड सकाउने बताउँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौतामा ‘मास प्रिन्टर’ प्रयोगमा आएसँगै अहिले रहेको चालक अनुमतिपत्र छपाइ तीन महिनामा सम्पन्न गर्ने उल्लेख थियो । रासस

उसु खेलमा नेपालका दीपक हमालले जिते स्वर्ण पदक

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका छन् । लगनखेलस्थित आर्मीको कर्भडहलमा बुधबार भएको खेलमा उनले थाउलोको नानगुन अलराउन्डमा १९.३२ स्कोर प्राप्त गरेर स्वर्ण पदक जितेका हुन् । उसु खेलमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । यसअघि मङ्गलबार भएको उसुको पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका थिए । त्यस्तै, यो पदकसँगै नेपालको स्वर्ण पदक सङ्ख्या २४ पुगेको छ । सोही प्रतिस्पर्धामा भारतका साजन लामाले रजत जिते भने बङ्गलादेशका अमिर हुसेनले कास्य पदक हात पारेका हुन् । त्यसअघि थाउलोतर्फको खेलमा श्रीलङ्काले स्वर्ण जितेपछि विवाद सिर्जना भएको थियो । नेपाल र भारतले खेलमा धाँधली भएको भन्दै निर्णयमा आपत्ति जनाउँदै खेलाडी र अफिसियलले म्याटमा धर्ना दिएका थिए । सोका कारण खेल करिब ३० मिनेट रोकिएको थियो । यस प्रतिस्पर्धामा श्रीलङ्काका थारिदुले स्वर्ण जितेका छन् । भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिप्रसाद गोलले कास्य पदक हात पारे । रासस

एकैदिन प्रतितोला आठ सयले बढ्यो सुन, ७२ हजार दुई सयमा कारोबार

काठमाडौं । बुधबार सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँ कारोबार भएको सुन एकैदिन ८ सय रुपैयाँ बढेको छ । मंगलबार ७१ हजार एक सयमा कारोबार भएको तेजावी सुन बुधबार ७१ हजार ९ सयमा बिक्री भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँ बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । विवाहको महिना भएता पनि सुनको मूल्यमा भएको परिवर्तनसँगै मंसिर महिना गत वर्षको तुलनामा ७० प्रतिशत व्यापार घटेको जानकारी दिएको छ ।

शहरका होर्डिङ बोर्ड हटाउन कामपाकाे सक्रियता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियम विपरीत शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउनका लागि चासो देखाएको छ । अदालतको आदेशानुसार कामपाले पछिल्लो समय यस कार्यमा सक्रियता देखाएको हो । विज्ञापन होर्डिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायत सामग्री नहटाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो । कामपाका प्रवक्ता ईश्वर डङ्गोलका अनुसार हटाउनका लागि गत सोमबार सात दिनको समय सम्बन्धित व्यक्ति र संस्थालाई दिइएको छ । उक्त समयभित्र पनि नहटाए कामपाले नै हटाउने र कारबाहीसँगै हटाएको ज्यालासहित सम्बन्धित पक्षले दिनुपर्नेछ । अहिले पुलतीसडक, बागबजार, बानेश्वर, कोटेश्वर, चावहिल, कलङ्कीलगायत स्थानमा नियम विपरीतका विज्ञापन राख्ने कार्य भएको कामपाले जनाएको छ । नियमानुसार सार्वजनिक जग्गामा विज्ञापन राख्ने नपाइने, झ्याल ढोका छोपी राख्न नपाइने, विज्ञापन राखेकै भरमा छिमेकीलाई असर पार्न नहुने, सम्पदा भएका स्थानमा सम्म राख्न नपाइने कानूनी व्यवस्था रहेको छ । विसं २०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले शहरका घर, पर्खाल, छत, बिजुलीको पोल र सडकका डिभाइडरमा रहेका पर्चा पम्प्लेट, भित्तेलेखन, अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्ड, विज्ञापन बोर्डलाई हटाई पुनः प्रयोग गर्न नदिन आवश्यक निवारणात्मक व्यवस्था गर्न आदेश दिएको थियो । सर्वोच्चले आदेश दिएको चार वर्षसम्म पालना नभएको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले अदालतको अवहेलनामा कारबाही गर्न हालै रिट दायर गरेका थिए । रासस