कालीगण्डकीमा रोकिएका पक्की पुलहरू पुनः निर्माण थालिने
बेझाड । कालीगण्डकीमा निर्माणकार्य रोकिएका पक्की पुल तत्काल सञ्चालन गरिने भएको छ । पाल्पाको रामपुर र चापाकोट जोड्ने प्याक्लुकघाट र निर्दिमघाटको पुल शिलान्यास भएर पनि लामो समय बितिसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । सो पुल तत्काल निर्माण गर्न प्रक्रिया अगाडि बढाउने नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले बताए । बिहीबार कालीगण्डकीका विभिन्न घाटमा निर्माण भइरहेका र हुन लागेका पक्की पुलको अवलोकन गर्दै मुख्यसचिव रेग्मीले पुल नबन्दा आवतजावतमा स्थानीयवासीले खेप्दै आएको समस्यालाई अब छिट्टै नै निर्माण प्रक्रिया अगाडि बढाएर समाधान गरिने बताए । पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–८ दामाचौर जोड्ने प्याक्लुकघाटको पुल पाल्पा र स्याङ्जाका दुवै भागमा ‘डिजाइन’ परिवर्तन गर्नुपर्ने भएकाले मन्त्रालयले स्वीकृति नदिँदा काम सञ्चालन हुनसकेको छैन । एलिट एसबिए जेभी कम्पनीले २०६८ असार ३० गते ठेक्का सम्झौता गरी २०७१ असार मसान्तसम्म सम्पन्न गर्ने म्याद रहे पनि अहिलेसम्म पुल निर्माणको काम डिजाइनमा नै रोकिएको छ । सो पुलको लम्बाइ १८० मिटर र चौडाइ नौ मिटर रहने गरी रु १५ करोड ६८ लाख लागतमा ठेक्का सम्झौता भएको हो । शिलान्यास भएको लामो समयसम्म पुल निर्माण प्रक्रिया डिजाइनमै रहँदा यसप्रति धेरैको चासो देखिएको छ । त्यस्तै रामपुर नगरपालिका–८ र स्याङ्जाको चापाकोट नगरपालिका–९ जोड्ने निर्दिमघाट पुलको अवस्था पनि प्याक्लुकघाटकै जस्तै छ । रु १२ करोड ५३ लाख लागतमा कन्काई नेपाल प्रगति मिलेनियम जेभी कम्पनीले २०६८ असार ३० गते सम्झौता गरी तीन वर्षमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । कूल १५० मिटर लम्बाइ र छ मिटर चौडाइ रहेको पुलको पाल्पा जिल्लाको भागमा केही काम भएपछि स्याङ्जातिरको भागमा डिजाइन परिवर्तनकै कारणले निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । नयाँ डिजाइनका लागि विभागमा पेश भएको लामो समय बितिसक्दा पनि पुल निर्माण प्रक्रिया अगाडि बढ्न नसकेपछि मुख्यसचिव रेग्मीलाई यहाँका स्थानीयवासीले तत्काल काम शुरु गर्न अनुरोध गरेका छन् । मुख्यसचिव रेग्मीसहित सडक विभागका उपमहानिर्देशक दीपक भट्टराई, सडक डिभिजन कार्यालय पाल्पा, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, चापाकोट नगरपालिकाका प्रतिनिधिसहितको टोलीले कालीगण्डकीका विभिन्न पुलको अनुगमन अवलोकन गरेको थियो । अनुगमनका क्रममा मुख्यसचिव रेग्मीले रामपुर नगरपालिका–६ र चापाकोट नगरपालिका–७ जोड्ने निर्माणाधीन अवस्थामा रहेको गौरीघाटको पुललाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । मुख्यसचिव रेग्मीले धार्मिक तथा पर्यटकीय ऐतिहासिक केलादी मन्दिर, चापाकोटको प्राविधिक शिक्षालय, चापाकोट अस्पताललगायतका विभिन्न स्थानको अवलोकनसमेत गरे । रासस
असारसम्ममा ५५ सबस्टेसनको निर्माण र स्तरोन्नती हुने
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/७६मा ५५ वटा सबस्टेनको निर्माण र स्तरोन्नती सम्पन्न गर्ने भएको छ । मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आवमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणले जनाएको छ । चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ । ३ दिनको बीचमा निमाण सम्पन्न भएका पाँच वटा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सबस्टेसनको उद्घाटन गरेका थिए । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बुधबार कैलालीको हसुलिया ३३/११ केभी र पहलमानपुर १३/३३/११ केभी सबस्टेसनको उद्घाटन गरेका छन् । मन्त्री पुनले विहीबार बर्दियाको भुरीगाउँ र दाङको हापुरेमा निर्माण सम्पन्न भएका १३२/३३ केभी सबस्टेसनको उद्घाटन गरेका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रहेका मन्त्री पुनले आगामी दिनमा मुलुकभित्र उत्पादित विद्युत्लाई स्वदेशमै गराउने गरी उच्च क्षमताका प्रसारण तथा वितरण संरचनाको विस्तार एवं स्तरोन्नती अभियानकै रुपमा संचालन भइरहेको बताए । ‘विगतमा विकराल लोडसेडिङका कारण हामी अंध्यारोमा थियौं, अहिले लोडसेडिङ अन्त्य भई उज्यालो हुँदा रमाइरहेका छौं, अव यसैमा रमाउने मात्रै हैन विद्युत खपत बढाउन उद्योग कलकारखाना खोल्नतर्फ लाग्नु पर्छ,’ उनले भने । ‘अहिले बिजुली दिनुहोस् भन्ने जनताको माग छ, अब यसको अन्त्य भई विजुली पर्याप्त खपत गरी उत्पादन बढाई जीवनयापनमा सुधार गर्नुहोस् भन्ने अवस्था आउँदैछ, यसका लागि विद्युत प्रसारण तथा वितरणका संरचना पनि सोही अनुसार बनाइरहेका छौं ।’ प्रसारण लाइन तथा सबस्टेसन निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीलाई तोकिएकै समयमा काम सक्न आग्रह गर्दै मन्त्री पुनले भने, ‘समयमै सक्नेलाई पुरस्कृत र नगर्नेदाई दण्डित गर्ने छौं, काम गर्नेलाई निर्माण कार्य छानी छानी दिने र त्यस्ता कम्पनीबीच नै ठेक्का प्रतिश्पर्धा गराउने छौं ।’ सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सब स्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सब स्टेसन बनाउने लगायतका काम गरिरहेको छ । निजी लगानीको सिमेन्ट उद्योगलाई प्रवद्र्धन गर्न उद्योगस्थलमा विद्युत् लाइन विस्तार गर्ने सरकारी नीति अनुरुप निर्माण गरिएको कुसुक (बाँके)–हापुरे (दाङ) १३२ कभी प्रसारण लाइन र १३२/३३ केभी सबस्टेसनको निर्माण सम्पन्न भएको छ । ४३ करोड रुपैयाँ लगानी गरी निर्माण गरिएको आयोजनाबाट दाङमा संचारनमा रहेका र स्थापना हुने सिमेन्ट उद्योगले पर्याप्त विद्युत पाउने भएका छन् भने आम उपभोक्ताले गुणस्तरीय विद्युत प्रयोग गर्न पाउने भएका छन् । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सरकारको प्राथमिकता विद्युत वितरण प्रणाली सुधार तथा विस्तारमा रहेको बताए । ‘यसबाट विद्युत्को पुहँच बढ्ने छ,विद्युत् आपूर्तिमा सुधार भई उपभोक्ताले गुणस्तरीय र विश्वसनिय विद्युत सेवा उपभोग गर्न पाउने छन् र उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउन सक्नेछौं ।’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउन र विद्युत आपूर्तिलाई गुणस्तरीय बनाउन सबस्टेसन निर्माण तथा स्तरोन्तीको काम देशभरी चलिरहेको जानकारी दिए । ‘हामीले चलाएको अभियानबाट एकातर्फ चुहावट प्राविधिक चुहावट नियन्त्रण र भोल्टेजमा सुधार हुने छ भने अर्कोतर्फ उपभोक्तालाई मागेजति विद्युत् दिन सकिने छ’उनले भने । प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । प्राधिकरणले जनकपुर, हेटौडा, चितवन, भैरहवा लगायतका क्षेत्रमा रहेका उद्योग तथा आगामी दिनमा विस्तार हुन सक्ने उद्योग र विशेष आर्थिक क्षेत्रलाई ध्यान दिएर ती क्षेत्रमा १३२ केभीको प्रसारण लाइनको रिङ नै बनाउने गरी काम गरिरहेको छ । यस्तो पूर्वाधार तयार भएपछि एकतर्फ मागअनुसारको विद्युत आपूर्ति गर्न सक्छौं भने अर्कोतर्फ ट्रिपिङ हुने लगायतका समस्या समाधान गरी नियमित विद्युत आपूर्ति हुने छ ।
केपी ओली, पानी जहाज र समृद्धि
काठमाडौं । आफ्नै छिमेकस्थित प्रधानमन्त्री ओलीको प्रिय र गत फागुन २ मा उनीद्वारा उद्घाटित ‘नेपाली पानीजहाज कार्यालय’ एकान्तकुना कुसुन्तिको अवलोकन भ्रमण गरियो । वस्तुस्थिति यस्तो रहेको पाएँ । १) कार्यालयको दरवन्दी तय नभएको र निजामति किताबखानामा अफिस दर्ता हुन बाँकी २) कार्यालय प्रमुख अर्थात रजिष्ट्रार लगायत कुनै पनि कर्मचारीको सरूवा पोस्टिङ नगरिएको, उही भवनमा स्थित चक्रपथ आयोजनाका सडक विभागका कर्मचारीहरूलाई नै सो अतिरिक्त हाललाई पानी जहाज कार्यालयको समेत काम हेर्नु भनेर फागुन ६ गते मात्र निर्देशन पत्र दिईएको रहेछ । ३. कार्यालय प्रमुख हालसम्म नियुक्त नभएको तर चक्रपथ आयोजनाका सिडिई अमृत रिमाललाई नै पानी कार्यालयको समेत काम हेर्ने गरी हाललाई निमित्त कार्यालय प्रमूख तोकिएको रहेछ । ४) बजेट, कार्यक्रम, योजना अझै तोक्न बाँकी रहेको, ५) कार्यालयको फोन, ईमेल वेबसाईट, मोबाईल राख्न अझैं बाँकी रहेको पाइयो । ६) मिडियाहरूको निरन्तर भिजिट हुने भएकोले चकाम चलाउ कर्मचारीहरूले घाँटीमा नेमट्याग झुण्याईएको रहेछ । ७) कर्मचारीहरूलाई पानी जहाज कार्यालय बारेमा के कसरी के गर्ने कुनै निर्देशन वा ओरिएन्टेशन नगरिएको पाइयो । ८) काम चलाउ असम्बन्धित सेवा समूहका सडकका कर्मचारीहरूलाई पानी जहाजको काममा कुनै चासो नरहेको पाईएको र ती कुन दिन अन्यत्र सरूवा होला भनेर व्यग्रता साथ पर्खिबसेको पाइयो । ९) प्रमकै चासोको कार्यालयमा त यो हालत छ भने अरू कार्यालयहरूमा कसरी काम हुदै गरेको होला भनेर दिक्दार लाग्यो । १०) प्रमबाट उद्घाटन पनि हतारमा जबरजस्ति गराउने तर त्यसपछि केही मतलब नराख्ने विभागीय मन्त्री र सचिवको यस्तो ताल देख्दा नेपाल कहिले सुध्रने होला भन्ने गम गर्न मन लाग्यो ।(उपाध्याय पूर्व सचिव हुन)
विद्या सुन्दर शाक्यलाई सर्वाेच्च अदालतको प्रश्नः घरको मापदण्ड छुट्टै किन बनाएको ?
काठमाडौं । सर्वोच्च अदालतले काठमाण्डौ महानगरपालिकाले जारी गरेको छुट्टै भवन संहिता लागू गर्नुको कारण पेश गर्न आदेश दिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले लागू गरेको राष्ट्रिय भवन संहिताको प्रतिकुल हुने गरी काठमाण्डौ महानगरपालिकाले छुट्टै कानुन बनाएपछि सर्वोच्च अदालतले त्यसको कारणसहित १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न काठमाण्डौ महानगरपालिकालाई बिहिवार आदेश दिएको हो । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले संघीय सरकारले बनाएको कानुन प्रतिकुल हुने गरी महानगरपालिकाले छुट्टै भवन संहिता बनाउनुको कारणसहित लिखित जवाफ पेश गर्न भनेको हो । महानगरपाकिाले लागू गरेको भवन संहित उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै काठमाण्डौ उपत्यका विकास प्राधिकरणले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समेतलाई बिपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्चले थप सुनुवाई गरी अन्तरिम आदेशवारे निर्णय गर्ने ठहर गर्दै दुवै पक्षलाई आगामी छलफलका लागि बोलाएको छ । २०७२ सालको बिनाशकारी भूकम्पपछि शहरी बिकास तथा भवन निर्माण विभागले जथाभावी भौतिक संरचना निर्माणमा कडाई गर्दै राष्ट्रिय भवन संहिता जारी गरेको थियो । उक्त संहिताको प्रतिकुल हुने गरी महानगरपालिकाले छुट्टै भवन संहिता लागू गरेको थियो । महानगरपालिकाले लागू गरेको भवन संहितालाई आधार मान्दै पछिल्लो समय राजधानीमा अग्लो खाले व्यापारिक भवन तथा टावरहरु बन्दै गइरहेका छन् । महानगरपालिकाको भवन संहिताकै कारण काठमाण्डौ उपत्यकामा भुकम्पीय दृष्टिकोणले जोखिमपुर्ण संरचना बन्न थालेपछि काठमाण्डौ उपत्यका बिकास प्रािधकरणले त्यसलाई रोक्न सर्वोच्च अदालत गुहारेको थियो ।
बझाङ र डोटीमा बीमा कम्पनीको उपशाखा बिस्तार
काठमाडौँ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका र डोटीको दिपायल सिलगढी नगरपालिकामा आफ्नो उपशाखा बिस्तार गरेको छ । फागुन ३ गते बझाङको जय पृथ्वी नगरपालिका वाड नं १० चैनपुर तथा फागुन ६ गते सोमबार डोटीको दिपायल सिलगढी ६ मा उपशाखाहरु संचालनमा ल्याएको हो । हाल सञ्चालनमा आएका उपशाखाबाट मोटर बीमा, सम्पती बीमा, ईन्जिनियरिङ बीमा, स्वास्थ्य बीमा लगाएत सबै प्रकारका निर्जीवन बीमाका बीमालेख जारी गरिने कम्पनीले जनाएको छ । कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलीले कार्यालयले बीमाको पहुँच बढाउन सहयोग गर्ने जानकारी दिए । यसरी दिपायल सिलगढीकी नगर प्रमुख मञ्जु मलासीले बीमाको विकासले आर्थिक विकासमा सहयोग पुरयाउनेमा समेत जोड दिइन् ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक रुपन्देहीको शंकरनगर र कोटिहवामा, ११औं वर्षमा प्रवेश गर्दै
बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले तिलोत्तमा नगरपालिकाको शंकरनगर र कोटिहवामा शाखा कार्यालयको उद्घाटन गरेको छ । शंकरनगर शाखा कार्यालयको उद्घाटन प्रदेश नम्वर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गरेका छन् । त्यस्तै, कोटिहवा शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरेका हुन् । कार्यक्रममा मन्त्री गिरीले जनता मार्फत बैंकहरुले संकलन गरेको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउन र सरकारले तर्जुमा गरेका योजनामा लगानी गर्न वित्तीय संस्थाको महत्वपूर्ण भुमिका रहने बताए । उनले कृषिलाई प्रमुख आधार बनाई उद्योग र पर्यटनका माध्यमबाट प्रदेशको समृद्धि सम्भव रहेकाले तिनै क्षेत्रमा लगानी गरी समृद्धिको अभियानको सहयात्री बन्न पनि बैंकलाई आग्रह गरेका छन् । तिलोत्तमा व्यापार संघका अध्यक्ष जे.पी. कण्डेलले स्थानीय लगानी र रोजगारमा आधारित यस विकास बैंकबाट व्यवसायीहरुले सहज र सरल सुबिधा प्राप्त गरेको जानकारी दिएका छन् । सोही अवसरमा बैंकले शंकरनगरका स्थानीय जेष्ठ नागरीकहरु १ सय वर्षीय गायत्री ज्ञवाली, ९३ वर्षीय लालबहादुर खड्का, ८९ वर्षीय कविराज गुरुङ्ग, ८७ बर्षीय पुर्णभद्र तिवारी र ८६ बर्षीय सुमित्रा पोखरेल तथा स्थानीय शान्तिटोल आमा समुहका अध्यक्ष सिता अर्याल, कालिका परोपकारी आमा समुहका अध्यक्ष गंगा खरेल, जनजागरण आमा समुहका अध्यक्ष गोमा खड्का, स्वास्थ्य आमा समुहका अध्यक्ष सरस्वती बराल, नमुना आमा समुहका अध्यक्ष बिष्णुमाया पोखरेल र महिला उद्यमी संगिता गौतम अर्याललाई सम्मान गरेको थियो । यसैगरी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले लिएको सबै नगरबासीको बंैक खाता अभियानलाई सहयोग गर्न र बैंकको लगानीलाई नगरको समृद्धिसँग जोड्न आग्रह गरेका छन् । नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकामा लगानी क्षेत्र र सम्भावना धेरै रहेको उल्लेख गर्दै थप सम्भावनाको पहिचानका लागि नगरपालिकाले लगानी सम्मेलन गर्ने सोच बनाएको समेत जानकारी गराए । सोही अवसरमा बैंकले स्थानीय जेष्ठ नागरीकहरु ९० वर्षीय लक्ष्मी कोइराला, ८४ बर्षीय जंगबहादुर गुरुङ्ग, ८३ वर्षीय एकदेव पाण्डे, ८२ वर्षीय हरीकला पाण्डे र ८१ वर्षीय सैना गुरुङ्ग तथा प्रगतिशिल आमा समुहका अध्यक्ष लक्ष्मी घिमिरे, दुर्गा आमा समुहका अध्यक्ष राधा कोइराला, पशुपति आमा समुहका अध्यक्ष योगमाया पाण्डे र कालिका आमा समुहका अध्यक्ष मिना पाण्डेलाई सम्मान गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको जानकारी गराएका छन् । साथै, स्थापनाको १० वर्ष पुरा गर्न लाग्दा १ अर्ब ६२ करोड चुक्ता पूँजी, १६ अर्ब २५ करोड निक्षेप र १४ अर्ब ७५ करोड कर्जा रहेको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सीईओ पौडेल प्रदेश सरकार र स्थानीय सरकारसंगको सहकार्य र समन्वयमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने र प्रत्येक घरमा खाता खोल्ने गरी बैंकले योजना बनाएको बताएका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक आगामी फागुन ११ गते स्थापनाको १० औं बर्ष पुरा गरी ११ औं बर्षमा प्रवेश गर्दै छ ।
श्री स्टील टीएमटी उत्पादन शुरु
काठमाडौँ । केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिजको संयुक्त लगानीमा श्री स्टील टीएमटी उत्पादन शुरु भएको छ । प्रमाणित प्रविधिको प्रचुर प्रयोगले मजबुतीमा समर्पित श्री स्टील रुपन्देही जिल्लाको भैरहवास्थित आफनो कारखानाबाट उत्पादन हुने गर्दछ । यसमा प्रयुक्त स्टील फी ५०० जापानी प्रविधिबाट स्वचालित प्लान्टममा उत्पादन हुने गर्दछ । नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणले सम्वेदनशील क्षेत्रको रुपमा रहेको र विश्वमा सबैभन्दा बढी भुकम्पआइरहने देश जापानमानिर्मित यो प्रविधिपहिलो पटक श्री स्टील्स प्रालिले नेपाल भित्रयाएको छ । श्री स्टील उच्च गुणस्तरीय प्राइम बिलेटबाट बन्ने हुँदा यो अत्यन्तै भुकम्प प्रतिरोधी रहेको कम्पनीले जनाएको छ । यसका साथसाथै यसमा उच्च लचकता, उन्नत जोडाई, उत्कृष्ट बचत, उच्चशक्ति, अग्नि प्रतिरोधक क्षमता , उत्पादनमा भएको एकनासको तौल तथा लम्बाइको अनुपात एवं विश्वको उच्चस्तरीय जापानी प्रविधि जस्ता प्रमुख ८ विशेषताहरु रहेका हुुँदा हरेक निर्माणलाई एकदम मजबुत र गुणस्तरीय बनाउने बताइन्छ । श्री स्टील्स प्रा.लि.को प्रतिघण्टा उत्पादन क्षमता ४० टन रहेको छ भने दैनिक ८०० टन उत्पादन हुने गर्दछ । यो प्रविधिउच्च गुणस्तरयुक्त स्टील रिवार उत्पादन क्षमता भएको जापानीज डिजाइनमा निर्मित सिक्स स्टण्ड ब्लक मिलबाट उत्पादनहुने नेपालको पहिलो ब्राण्ड हो ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बारा जिल्लाको अमलेखगञ्जमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा बैंकको वीरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवले एक समारोहकाबीच गरेका हुन् । कार्यक्रममा यादवले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सजिलो हुने बताएका छन् । उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए । साथै, अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएकोले सम्पुर्ण पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज हुने जानकारी उनले बताए । आजदेखि सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित ईन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरुले पनि आफ्नै टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् । बैंकको अमलेखगञ्जस्थित एक्स्टेन्सन काउण्टर कार्यालयबाट विशेष गरी पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी, स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।