विकासन्युज

सैनामैनामा ज्येष्ठ नागरिकलाई घरमै भत्ता, नगरपालिका-बैंकबीच सम्झौता

रुपन्देही । सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरी बैंकसँग सम्झौता गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । अशक्त ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्न पनि गाह्रोे भएकाले घरमै वितरणको व्यवस्था गरिने उनको भनाइ छ । नगरको शिक्षा स्वास्थ्य र सामाजिक सरोकारका विषयलाई प्राथमिकता दिनेगरी काम अगाडि बढेको छ, उनले भने, “विपन्न र ज्येष्ठ नागरिकको सेवामा विशेष हेक्का राखेको छौँ ।” सैनामैना नगरका पाँच हजार ९२४ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् तीमध्ये तीन हजार १२९ जना ज्येष्ठ नागरिकले भत्ता लिँदै रहेको नगरका उपप्रमुख बिना रानाले जानकारी दिए । नगरपालिकामा एकल महिला भत्ता बुझ्नेको सङ्ख्या दुई हजार चार छ भने १८ जना लोपोन्मुख आदिवासी, ३२० जना पूर्ण अपाङ्गता भएका, ४५३ जना दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता लिँदै आएको नगरका सामाजिक सुरक्षा शाखाका केशव अर्यालले जानकारी दिए ।

बेलायतकी महारानी एलिजाबेथ आउँदा तामझाम भएको मेघौली विमानस्थल गौचरन बन्ने खतरा

भरतपुर । कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान गरे । तर त्यो तामझाम धेरै समय टिक्न सकेन । सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो । त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित छैन । विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए । त्यसपछि मेघौली विमानस्थलमा नियमित उडान छैन । विमानस्थल यतिबेला गौचरनमा परिणत हुने खतरा बढ्दै गएको भन्दै स्थानीयवासी चिन्तित बनेका छन् । भरतपुर महानगरपालिका–२७ का वडाध्यक्ष गोविन्द तामाङले टाइगरटप्स होटल बन्द भएपछि विमानस्थल अस्तव्यस्त बनेको बताए । “विमानस्थल नियमिति सञ्चालनका लागि विभिन्न निकायमा पहल भइरहेको छ”, तामाङले भने, “होटल व्यवसायी र वायुसेवाबीच तालमेल नमिलेका कारण पनि विमानस्थल सञ्चालन हुनसकेको छैन ।” उनले भरतपुर विमानस्थल साँघुरो भइरहँदा त्यसको विकल्पमा मेघौली विमानस्थल भएको बताए । राजनीतिक दलको चुनावी नारादेखि चितवनको पर्यटन प्रवद्र्धनका योजनामा जिल्लाको निकै पुरानो मेघौली विमानस्थल छुटेको हुँदैन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही क्षेत्रबाट चुनाव लडेपछि सो विमानस्थल नियमित हुने आशा स्थानीयवासीको थियो । “विमानस्थल नियमित हुने छाँट छैन”, स्थानीयवासी दीपक थापामगरले भने, “कमिसनको खेलका कारण विमानस्थल सञ्चालन हुनसकेको छैन ।” नेपाल एयरलाइन्सले यहाँबाट उडान भर्दा भरतपुर विमानस्थलभन्दा सस्तो भाडा छ, तर पनि नियमित नभएको उनले गुनासो गरे । “कुनै बेला मेघौली एयरपोर्टमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे । सबै जहाजमा टाइगरटप्स जङ्गल लजमा आउने खास गरेर विदेशी पाहुना नै हुने गर्दथे”, विगतको अनुभव सुनाउँदै थापामगरले भने । उनले चितवनको दोस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको मेघौलीलाई नेपाल सरकारबाटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा नराखिनु विडम्बना भएको बताए । सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमीनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । काठमाडौँबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली पुग्छ । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार दैनिक एउटा विमान मेघौली विमानस्थलबाट सञ्चालन हुनसक्ने अवस्था रहे पनि विविध कारणले नियमिति सञ्चालन सम्भव नभएको बताए । “कहिलेकाहीँ ‘गु्रप चार्टर’ हुने बेला भरतपुरबाट नै कर्मचारी गएर उडान भर्ने गरेका छन्”, उनले भने, “गत वर्ष यही समयमा नियमित उडान गर्ने भनेको विमानस्थलले यात्रु कम भएपछि बन्द गरेको हो ।” विमानस्थलमा होटल टाइगरटप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेलसमेत हुने गरेको थियो । अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ । मेघौलीदेखि जगतपुरसम्मको क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन् । “यो क्षेत्रमा विदेशी पर्यटक लगातार आइरहेका छन्”, पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले भने, “हप्ताको तीन दिनमात्र सञ्चालन गरेका कारण नेपाल एयरलायन्सको विमान पनि नियमित हुन सकेन ।” उनले सधैँ चर्चा भए पनि मेघौली विमानस्थलको स्तरोन्नति र नियमित उडानका लागि ठोस योजना बन्न नसकेको बताए । पर्यटन वर्ष २०२० लाई सफल बनाउन पनि मेघौली विमानस्थल नियमित सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । नियमित उडान नहुँदा पर्यटक आगमनमा समेत प्रभाव परेको मेघौलीका पर्यटन व्यवसायी दिलीप पाण्डेको गुनासो छ । विमानस्थल नियमित भए चितवन आउने आधा पर्यटक मेघौली आउने उनले बताए । नेपाल आउने विदेशी पर्यटकको २० प्रतिशत मात्र चितवन आउने गरेका छन् । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर ३३ प्रतिशत पर्यटक चितवन भित्र्याउने लक्ष्य राखिएको छ । रासस

बेलायतमा अर्थमन्त्री खतिवडाले भने-‘नेपाल लगानीको लागि उपयुक्त गन्तव्य’

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दर्जनभन्दा बढी बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसंग छलफल गरेका छन् । ब्रिटिश एक्सपर्टिज इन्टरनेशनल(बिईआई) ले आयोजना गरेकोे नेपालमा लगानीको अवसर विषयक कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा लगानीको अवसर, वातावरण र सम्भावनाका बारेमा स्पष्ट पारे । मन्त्री खतिवडाले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको भन्दै लगानी गर्दाका लाभहरुबारे बेलायतस्थित नेपाली लगानीकर्तालाई जानकारी गराए । नेपालमा लगानीका लागि सरकारले लगानी बोर्डलाई विशिष्टिकृत संस्थाको रुपमा विकास गरेकाले त्यसै मार्फत ठूला व्यवसायी तथा लगानीकर्तालाई सोही बोर्ड मार्फत एकद्वार सेवा उपलब्ध गराउने पनि उनले स्पष्ट पारे । सम्बन्धित कानूनको परिर्माजन र तर्जुमा नीतिगत तथा प्रशासनिक सुधार गरी लगानी प्रवद्र्धन गर्ने मैत्रीपूर्ण वातावरणको निर्माण गरेको उनले बताए । लगानी सम्मेलन बाहेक वैदेशिक लगानी प्रर्बद्धनका नियमित क्रियाकलाप के–के छन् भन्ने जिज्ञासामा अर्थमन्त्री खतिवडाले नियमित रुपमा विदेशस्थित नेपाली नियोगलाई आर्थिक कुटनीतिको लागि परिचालन गर्ने, सूचना प्रविधिको अधिक उपयोग गर्दै लगानी बोर्ड, उद्योग मन्त्रालय आदिका वेभसाइत मार्फत लगानी प्रवद्र्धनात्मक क्रियाकलाप संचालन गर्नेलगायत सरकारका नीति कार्यक्रम तथा वार्षिक बजेट मार्फत यसको सम्बोधन गर्ने विषयमा संघमा आवद्ध संस्थालाई प्रष्ट पारे । कार्यक्रममा नेपालमा गरिने लगानीको सुरक्षा र सहज वातावरण दिन सरकार तयार रहेको समेत विश्व समुदायलाई विश्वास दिलाए । चैत १५ र १६ गते नेपाल ठूला लगानी कर्ता आकर्षित हुन भन्नको लागि आयोजना हुन लागेको लगानी सम्मेलनको पूर्व तयारी स्वरुप खतिवडा बेलायतमा रहेका छन् ।

गुडविल फाइनान्सको नगद लाभांश पारित, निक्षेप र कर्जा दुबैमा वृद्धि

काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न फाइनान्सको २४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । फाइनान्सले गत आर्थिक वर्ष(आव)को मुनाफाबाट सेयरधनीलाई सो मात्रा अर्थात ४ करोड २१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आवमा ६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, चालु आवको दोस्रो त्रैमासिकमा संस्थाले ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन प्रथम त्रैमासिकको तुलनामा २ करोड ७० लाख रुपैयाँ बढी हो । संस्थाले चालु आवको असोज मसान्तसम्ममा २ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसैगरी, चालु आवको असोज मसान्तमा ५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले पुस मसान्तसम्ममा ५ अर्ब ४२ करोड रुपैयाँ संकलन गरेको छ । त्यसैगरी, संस्थाले ४ अर्ब ३५ करोड रुपैयाँ बाट वृद्धि गरी ४ अर्ब ६७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १७ करोड ४३ लाख रुपैयाँ जम्मा रहेको छ ।  त्यस्तै, आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा संस्थाको मूल्य आम्दानी अनुपातमा वृद्धि भएको छ । त्यसैगरी, व्याज आम्दानी तथा कर्जा तथा सापट, कुल कर्जा/निक्षेप र कुल संचालन खर्च तथा कूल सम्पत्तीमा वृद्धि भएको छ । आव २०७३/७४मा १२.८८ प्रतिशतले बढेको संस्थाको आधार व्याजदर २०७४/७५ मा १३.५७ प्रतिशतले बढेको छ । संस्थाले निक्षेप र कर्जा दुबैमा वृद्धि भएपनि संस्थाको खुद नाफामा भने गिरावट देखिएको छ । आव २०७३/७४को तुलनामा २०७४/७५मा संस्थाको खुद नाफा ६.३४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १५.१७ प्रतिशत बढी नाफा कमाएको संस्थाले गत वर्ष जम्मा ८.८३ प्रतिशत कमाएको छ ।

विकास परियोजनामा बेलायत सरकारको थप सहयोग आवश्यक छ: अर्थमन्त्री खतिवडा

काठमाडौँ । बेलायत भ्रमणमा रहनु भएका अर्थमन्त्री डा. युवराज खतिवडासँग हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेटस्ले नेपालको विकास बारेमा चासो व्यक्त गरेका छन् । नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन बेलायत पुगेका मन्त्री खतिवडासँग हाउस अफ कमन्समा भएको शिष्टाचार भेटघाटमा बेलायती मन्त्री लर्डले २०७२ सालको विनासकारी भूकम्पपछिको पुर्ननिर्माण, संघीयत कार्यान्वयन र विकासको बारेमा चासो व्यक्त गरेका हुन् । जवाफमा मन्त्री खतिवडाले नेपालमा जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको भन्दै समावेशीताले पूर्ण अभ्यास भएको रहेको स्पष्ट पारे । संसदमा ९० प्रतिशत भन्दा बढी सदस्यको हस्ताक्षरमा निर्माण भएको संविधानकै आधारमा निर्माण भएको नेपालको संघीय संरचना विश्वमा उदाहरणीय भएको स्पष्ट पारे । नेपालको संसदमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सिमान्तकृत समुदायको एकतिहाई भन्दाबढी प्रतिनिधित्व भएको उनले बताए । भेटमा लर्डले नेपालबाट संसारले समावेशीताको विषय सिक्नुपर्ने बताए । भेटमा लर्डले खतिवडासँग मुलुक संघीयतामा गएको अवस्थामा राज्यले राजश्वको परिचालनलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा बेलायतको अनुभव समेत सुनाए । भेटमा वेडले नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउन तयार भएको प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री खतिवडाले पुर्ननिर्माणको काम भइरहेको र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको निर्माण कार्य बीव्र रुपमा अघि बढेको जानकारी दिए । मन्त्री खतिवडाले बेलायत नेपालको पहिलो कुटनैतिक सम्बन्ध कायम रहेको मित्रराष्ट्र भएकाले दुवै देशबीचको सहकार्य थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे । भेटमा खतिवडाले बेलायतले नेपालका विभिन्न क्षेत्रमा सञ्चालन हुने विकास परियोजनामा थप सहयोगको अपेक्षा समेत गरे । मन्त्री खतिवडाले मन्त्री वेर्डमार्फत नेपाल भ्रमणका लागि बेलायत सरकारलाई औपचारिक निमन्त्रणा समेत दिए ।  

डडेलधुरामा कृषि विकास बैंकद्धारा मौरीपालकलाई उपकरण हस्तान्तरण

काठमाडौं । डडेलधुरामा कृषि विकास बैंकद्धारा मौरीपालक किसानका लागि मौरीपालन उपकरण हस्तान्तरण गरेको छ । उक्त समाराेहकाे सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका रहेको छ । डडेलधुराको आलीताल गाँउपालिका अन्र्तगत कृषि विकास बैंक जोगबुढा शाखाबाट आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृति अनिलकुमार उपाध्यायको प्रमुख आतिथ्यमा आलिताल गाउंपालिकाका दलित तथा पिछाडीएका समुदाय समेतको जीवनस्तर उपकरण लगायतका सामग्रीहरु हस्तान्तरण गरेका थिए । साथै १३ जना किसान (९ जना महिला र ४ जना पुरुष ) ग्राहकहरुलाई सहुलियत कर्जा समेत उपलव्ध गराईयो । उनले भने ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धी का लागि स्थापीत कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छन् । उक्त कार्यक्रममा कृषि विकास बैंकका उप–महा प्रबन्धक चुडामणी तिम्सिेना, सामान्य सेवाका विभागीय प्रमुख दिर्घबहादुर अर्याल, धनगढी क्षेत्रिय कार्यालयका निर्देशक हरिश्चन्द्र यादव लगायत अन्य कर्मचारीको समेत उपस्थिती रहेको थियो ।

कोरला नाकामा चीनले सक्यो ८०%  काम, पूर्वाधार निर्माणमा नेपाली पक्षको सुस्तता

काठमाडौँ । छिमेकी चीनसँगको कोरला नाकाबाट व्यापार बढाउने लक्ष्यका साथ नेपाल सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । तर, चिनियाँ पक्षले ८० प्रतिशत काम सकेपनि नेपाली पक्षको पूर्वाधार तयारीले गति नलिएका कारण मुस्ताङको कोरला नाका सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ । व्यापार विविधीकरणको रणनीति बमोजिम सरकारले यो व्यापारिक नाका खोल्न चाहेको हो । उच्चस्तरमै दुई देश जोडिएका विभिन्न छ व्यापारिक नाका खोल्न प्राथमिकता दिने समझदारी दुई मुलुकबीच भए पनि नेपाली पक्षको तयारी पूरा नभएका कारण नाका सञ्चालनमा आउन नसकेको हो । नेपालतर्फ सडक पूर्वाधार निर्माणको क्रममा छ । नाकाका लागि आवश्यक पर्ने सरकारी भवन र संरचनाका लागि भन्सार विभागको नाममा जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन सकेको छैन । सडक निर्माणका लागि उपकरण र जनशक्तिको अपर्याप्तताका कारण नाका जोड्ने सडक निर्माणले गति लिन सकेको छैन । प्रशासनिक सुस्तता यसको कारक मानिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ मार्चमा भएको औपचारिक भ्रमणका बेला चीनसँग व्यापार र पारवहन सम्झौता भएको थियो । सन् २०१८ जुनमा भएको औपचारिक भ्रमणका समयमा दुई देशबीच थप नाका खुलाउने समझदारी भएको थियो । विनाशकारी भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाका पनि अहिलेसम्म खुल्न सकेको छैन । अर्थ मन्त्रालयका सहप्रवक्ता जनकराज शर्माका अनुसार चीनसँग जोडिएका तीन नाकाको सञ्चालन नेपाल सरकारको प्राथमिकतामा रहेको छ र जग्गा प्राप्तिपछि भन्सारका संरचना बनाउने काम थालिने छ । उनले भने– “यो भन्सार सञ्चालनका लागि आवश्यक जग्गाको नापजाँच भइसकेको छ । मन्त्रिपरिषद्बाट निर्णय भएपछि संरचना निर्माणका लागि बजेट विनियोजन हुनेछ ।” अर्थ मन्त्रालयको यो तयारीअनुसार त्यहाँ भन्सारको संरचना बनाउन आगामी आर्थिक वर्षमा मात्र बजेट विनियोजन हुनेछ । भन्सारका लागि कार्यालयका साथै मालबाहक सवारी साधन पार्किङका लागि ‘यार्ड’ बनाउनुपर्ने हुन्छ । भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले यो नाकामा एक हजार रोपनी ऐलानी जग्गा प्राप्तिको प्रक्रिया अघि बढेकाले त्यसपछि अन्य संरचना बन्ने जानकारी दिए । गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको नाका सञ्चालनमा ल्याउन आधारभूत पूर्वाधार मानिएको सडक स्तरोन्नतिको काम भने धमाधम भैरहेको छ । लोमान्थाङमा नेपाली सेनाको शिविर राखी काम अगाडि बढाइएको छ । मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेम तुलाचनले भन्सार कार्यालयका आवश्यक पूर्वाधार बनाउन अर्थ मन्त्रालय र भन्सार विभागसँग समन्वय भइरहेको छ । चिनियाँ पक्षको तयारी तीव्र भए पनि नेपालको तयारी भने सोचे जति अघि बढ्न नसकेको उनको भनाइ छ । म्याग्दीका प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले नाका खोल्न सडक आयोजनाको प्रभावकारी कार्यान्वयन सँगै सीमा नाकामा थप पूर्वाधारका लागि बजेट व्यवस्था हुनुपर्ने बताए । नाका खोल्ने तयारीसँगै स्थानीय खानी र पर्यटकको सुरक्षालाई लक्ष्य गरी सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिइएको छ । जिल्ला सुरक्षा समिति मुस्ताङका अनुसार कोरला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा सेनाको शिविर स्थापना भैसकेको र प्रहरीको जनशक्ति र सुरक्षाकर्मीका लागि पूर्वाधार थपिने क्रम शुरु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले भने– “सुरक्षा संवेदनशीलतालाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ । नाका सञ्चालनको प्रमुख आधार पनि सुरक्षा नै हो । त्यसका लागि प्रदेश र सङ्घीय सरकारसँग समेत परामर्श भैरहेको छ ।” कोरला नाकामा अहिले वर्षमा दुई पटक मात्रै मेला लगाएर उपल्लो मुस्ताङवासी र चिनियाँले सामान आयात र निर्यात गर्दै आएका छन् । यो नाकासँग उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर जोडिने भएकाले गण्डकी प्रदेशसहित मुलुककै लागि अन्तर–देशीय व्यापार र पारवहनको दृष्टिले यो नाका महत्वपूर्ण मानिएको छ । बेनी-जोमसोम खण्डमा ४० प्रतिशत प्रगति पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको ट्र्याक निर्माणले पूर्णता पाएको छ भने सडकलाई फराकिलो बनाउने र कालोपत्र गर्ने कार्यले गति लिएको छ । बेनी–जोमसोम खण्डमा अहिलेसम्म ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । कुल ७६ किलोमिटरको बेनी–जोमसोममा ४ वटा र एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा ७ वटा प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको छ । समग्रमा बेनी–जोमसोम–कोरला सडक आयोजनाको करीब ५५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । उनका अनुसार छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नतिको काम सकिएको छ । बेनी–जोमसोम सडक नालीसहित ११ किलोमिटर फराकिलो र कालोपत्रे सहितको हुनेछ । जोमसोम–कोरला सडक ११ मिटर चौडा हुनेछ र नाली, ग्याबिन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल बिछ्याइने छ । तीन वर्षदेखि सञ्चालनमा रहेको यस आयोजनाले आगामी २०७७ असारसम्म सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । पक्की पुल बन्दै ‘‘बर्खायाममा बाढी पहिरो र कटानका कारण सडकको काम केही सुस्ताएको थियो, मङ्सिरदेखि सडक फराकिलो बनाउने लगायतका कामले तीब्रता पाएको छ, समय तालिका बनाएर यातायातका साधन आवागमनलाई व्यवस्थित गरेर काम गरिरहेका छौँ”–उनले भन्नुभयो । कुल साढे ७ अर्ब लागत अनुमान गरिएको यस आयोजनामा १ अर्ब ७५ करोडको ठेक्का लगाउने काम बाँकी छ । बेनी–जोमसोम सडकका लागि विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । भैरहवा–सुनौली नाकाबाट शुरु भएको कालीगण्डकी करिडोरको सडक बुटवल, पाल्पा, गुल्मी हुँदै बागलुङसम्म ल्याइएको छ भने म्याग्दीको बेनीबाट मुस्ताङको कोरलासम्म र बेनीदेखि पर्वत हुँदै र बेनीदेखि सिधै बागलुङसम्म यस अघि नै सडक निर्माण भैसकेको छ । यस सडकको कुल लम्बाइ ४३५ किलोमिटर रहेको छ । यो करिडोर व्यापारिक मार्ग सञ्चालनमा आए सँगै यस क्षेत्रमा चिनियाँ र भारतीय पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । कोरला नाकासम्मको सडक खण्डमा विभिन्न ३२ ठाउँमा पक्की पुल निर्माण गरिने भएको छ । कालिगण्डकी नदी र यसका सहायक साना–ठूला नदीहरुमा पुल निर्माण गर्नुपर्ने स्थानहरुमध्ये डोलिडारले जोमसोमस्थित कालीगण्डकी नदीमा पुल निर्माण सम्पन्न गरिसकेको छ । चैलेस्थित कालीगण्डकी नदीमा पक्की पुल निर्माण भैरहेको छ । आयोजनाका इन्जिनीयर जगत प्रजापतिका अनुसार पुल निर्माण गर्ने विभिन्न २८ मध्ये १२ स्थानमा अहिले पुल निर्माण कार्य जारी रहेको छ । रासस

शहरकाे भन्दा गाउँमा बै‌ंकिङ सक्रियता बढी, काठमाडौंमा एकजनाको ३ ओटा बै‌ंक खाता

काठमाडौं । नेपालमा कुल ४७ प्रतिशत नेपाली मात्र बैंकिङ सेवा प्रयोगमा सक्रिय रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत बचत खाताको सञ्चालनको आधारमा कुल जनसंख्याको उक्त परिमाणकाे जनसंख्या मात्र सक्रिय बैंकिङ प्रयोगर्ताको रुपमा देखाएको हो । गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा २ करोड २० लाख बचत खाता खोलिएकोमा १ करोड २० लाख खाता मात्र सक्रिय रुपमा सञ्चालन भएको देखाइएको छ, यो कुल खाताको ५५ प्रतिशत मात्र हो । कुल खातामध्ये ग्रामीण क्षेत्रमा खोलिएको खाता बढी सक्रिय रहेको पाइएको छ । ग्रामीण भेगका ७४ प्रतिशत बैंक खाताहरु सक्रिय रुपमा प्रयोग भएको पाइएको देखाइएको हो । त्यस्तै नगरपालिका क्षेत्रमा ५७ प्रतिशत, उपमहानगर क्षेत्रमा ४९ प्रतिशत र महानगर क्षेत्रमा ५० प्रतिशत खाताहरु सक्रिय रहेको पाइएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ग्रामीण क्षेत्रमा करिब १६ लाख खाता खोलिएकोमा १२ लाख खाताहरु प्रयोगमा छन् । त्यस्तै नगरपालिका क्षेत्रमा ९८ लाखमध्ये ५५ लाख, उपमहानगर क्षेत्रमा २७ लाखमध्ये १३ लाख र महानगर क्षेत्रमा ७८ लाखमध्ये ३९ लाख बैंक खाताहरु सक्रिय रुपमा प्रयोगमा रहेको देखाइएको हो । त्यस्तै मोबाइल बैंकिङका ८३ प्रतिशत, इन्टरनेट बैंकिङका ६२ प्रतिशत, डेविट कार्डका ६८ प्रतिशत, क्रेडिट कार्डका ७२ प्रतिशत र प्रिपेड कार्डका करिब ६६ प्रतिशत प्रयोगकर्ता सक्रिय छन् । तथ्याङ्क अनुसार मोबाइल बैंकिङका ६४ लाख प्रतिशत, इन्टरनेट बैंकिङका ८ लाख ५७ हजार, डेविट कार्डका ५९ लाख ६३ हजार, क्रेडिट कार्डका १ लाख १ हजार र प्रिपेड कार्डका करिब ६४ हजार प्रयोगकर्ता दर्ता भएका छन् । काठमाडौंमा एकजनाको ३ खाता, सप्तरीमा ४ जनाको एउटा मात्र काठमाडौं उपत्यकामा एक जना व्यक्तिको ३ ओटा बैंक खाता रहेको पाइएको छ । काठमाडौंमा कुल १६ लाख ९९ हजार स्थायी वासिन्दा रहेकोमा करिब ५० लाख खाताहरु खोलिएको तथ्याङ्कले देखाएको छ । तर सप्तरी जिल्लामा भने कुल जनसंख्याको २९ प्रतिशत मात्र बैंक खाता छ जुन ४ जनामध्ये एक मात्र हो ।