विकासन्युज

आईएमई इन्स्योरेन्सको १ लाख कित्ता शेयर लिलामीमा, घट्दो बजारमा सस्तोमा उठाउने अवसर !

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको एक लाख भन्दा बढी कित्ता शेयर लिलामीमा आउने भएको छ । कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएका १ हजार ५९८ कित्ता संस्थापक र १ लाख ७६६ कित्ता साधारण गरी कुल १ लाख २ हजार ३६४ कित्ता शेयर बोलकबोल लिलामीमा आउने भएको हो । उक्त शेयर फागुन २२ गतेदेखि खुल्ला भई ३० गतेसम्म आवेदन दिन सकिन्छ । उक्त आवेदनका लागि आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडबाट रु १०० को फर्म भरी कबोल गर्न चाहेको रकम ग्लोबल आईएमई क्यापिटलको कुमारी बैंकमा रहेको खातामा जम्मा गरी भौचरसहित शिलबन्दी गरी आवेदन दिनु पर्नेछ । आईएमई जनरल इन्स्योरेन्सको हालको बजारमूल्य ४१० रुपैंया छ । ५४ करोड चुक्ता पुँजी १ अर्ब पुर्याउन ८० प्रतिशत हकप्रद जारी गरेको आईएमईको उक्त हकप्रद सूचीकरणपछि चुक्ता पुँजी ९७ करोड २० लाख पुग्नेछ । बाँकी २ करोड ८० लाख रुपैंया बराबर बोनस शेयर जारी गरेर कम्पनीले बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनेछ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा आईएमईको जगेडा कोषमा साढे ११ करोड रुपैंया थियो । सोही कोषबाट आईएमईले बोनस शेयर जारी गर्नेछ ।

नाडेप लघुवित्तको ऋण परिचालनमा समस्या, प्रोभिजनमा ३ करोड छुट्याउँदा नाफा आधा भन्दा कम

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको नाफा ५० प्रतिशत भन्दा बढीले घटेको छ । अघिल्लो वर्षको ६ महिनामा ३ करोड ६ लाख रुपैंया खुद नाफा कमाउन सफल नाडेपले यो वर्षको सोही अवधिमा १ करोड ४२ लाख रुपैंया मात्र नाफा आर्जन गर्न सफल देखिएको छ । यो करिब ५३ प्रतिशतको गिरावट हो । नाडेपको नाफा घट्नुको पछाडि ऋणको सम्भावित जोखिमबापतको प्रोभिजन मुख्य कारण रहेको छ । नाडेपले अघिल्लो त्रैमासमा रहेको ऋणको जोखिमबापतको २५ लाखबाट बढाएर ३ करोड ३३ लाख पुर्याएपछि नाफामा यस्तो गिरावट देखिएको हो । नाडेपको निष्क्रिय कर्जा अनुपात पनि अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढीले बढेर ४.३४ प्रतिशत पुगेको छ । नाडेपले कर्जा प्रवाहको आकार भने उल्लेखनीय वृघि गरी २ अर्ब ३१ करोडबाट बढाएर ३ अर्ब २८ करोड पुर्याएको छ । त्यस्तै सदस्य संख्या पनि अघिल्लो त्रैमासभन्दा करिब ५ हजार जनाले बढाएर साढे ६८ हजार पुर्याएको छ । धादिङको गजुरी मुख्य कार्यालय भएको नाडेपले अघिल्लो वर्ष मात्र सर्वसाधारणलचई आईपीओ जारी गरेको थियो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको साधारणसभा सम्पन्न, व्यवसायीका जायज माग पूरा गर्न सरकारसँग माग

काठमाडाैं । मुलुक समृद्धिका लागि उद्योगी व्यवसायीहरुको अहमं भूमिका रहेको भन्दै उनीहरुको जायज मागप्रति सरकार सकारात्मक र प्रतिवद्ध रहनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राजधानीको एल्लो प्यागोडा होटलमा सम्पन्न देशभरका उद्योगी व्यवसायी संघहरुको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो साधारणसभामा आफ्नो धारणा राख्दै उनीहरुले सो कुरा बताएका हुन । महासंघको साधारणसभालाई उदघाटन गर्दै प्रमुख अतिथिसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्योगी, व्यवसायी तथा सरकार सबैले आ–आफ्नो तर्फबाट समस्याको पहिचान र समाधानको लागि सकारात्मक ढंगले लाग्नुपर्ने बताए । उनले व्यवसायीहरुको जायज माग पुरा गर्न सरकार पछि हट्न नहुने भन्दै यसका लागि आफुपनि व्यवसायीहरुलाई सघाउन तयार रहेको प्रतिवद्धता व्यक्त गरे । संस्थाका अध्यक्ष नरेस कटुवालको सभापतित्वमा सम्पन्न साधारणसभामा पूर्वअर्थमन्त्री डा रामशरण महत र काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको विशिष्ट आतिथ्यता रहेको थियो भने विशेष अतिथिका रुपमा पूर्वअर्थसचिव नारायणराज तिवारी, वरिष्ठ अर्थविद चन्द्रमणी अधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा यस्तै विशेष अतिथि पूर्वअर्थमन्त्री डा. रामशरण महतले व्यवसाय र उद्यमशिलता कसरी बढाउने भन्नेमा व्यवसायीहरु प्रतिवद्ध रहनुपर्ने बताउदै उद्योगी–व्यवसायीहरुको जायज माग सरकारले पनि खुल्ला दिलले सुनिदिनुपर्ने र त्यसलाई समाधान गर्नेतर्फ लाग्नुपर्ने धारणा राखे । उनले अहिलेको मूल एजेण्डा नै आर्थिक समृद्धि भएकाले त्यसका लागि शान्ति सुरक्षा, काम गर्ने वातावरण, प्रविधिको प्रयोग तथा उद्यमशीलता आवश्यक रहेको र यस्तो वातावरण निर्माणमा सरकार सकारात्मक बन्नुपर्ने बताए । बरिष्ठ अर्थविद चन्द्रमणी अधिकारीले प्रतिष्पर्धात्मक र खुल्ला बजार अर्थनीति रहेको अहिलेको अवस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको भन्दै स्वस्थ प्रतिष्पर्धा बढाउन महासंघ सफल रहोस भन्दै सरकारले पनि यसका लागि आवश्यक नीति नियम तर्जुमा कञ्जुसाई गर्न नहुने बताए । करदाता सेवा कार्यालय नयासडकका प्रमुख डा. रामप्रसाद मैनालीले करको विषयमा बृहतरुपमा जनचेतना फैलाउन आवश्यक रहेको बताउदै तर्साएर भन्दा पनि स्वस्र्फुतरुपमा फर्मदर्ता गरेर राज्यको नीति नियमको दायरामा आउने वातावरण बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले देशमा सञ्चालित उद्योग व्यवसाय फष्टायो भनेमात्रै राष्ट्र आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नसक्ने धारणा राख्दै साना तथा मझौला उद्योगी तथा व्यवसायीहरूलाई कसरी सहयोग पु¥याउन सकिन्छ भन्ने कुराहरूतर्फ सचेत हुँदै सरकारले त्यसै अनुरूपको नीति र कार्यक्रमहरू ल्याउनु जरुरी रहेको बताए । यस्तै संघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले महासंघ छोटो समयको अन्तरालमा नै समाजमा स्थापित हुन सक्षम भएको दावी गर्दै संघलाई अझ सुदृढ बनाउँदै अघि बढाइने बताए । साधारणसभामा महासचिव टेकबहादुर शाक्य ‘अञ्जन’ले पेश गरेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष महेन्द्रबहादुर रायमाझीले पेश गरेको आर्थिक प्रतिवेदन सर्बसम्मतले पारित भएको थियो । प्रतिवेदन पेश गर्दै महासचिव शाक्यले व्यापारी, उद्योगी तथा व्यवसायीले देशको आर्थिक विकाशमा अहम् भुमिका निर्वाह गर्दै आएको बताउदै उनीहरुको समस्या समाधान र व्यवसायिक सहजताका लागि सरकारको सकारात्मक भूमिका रहनुपर्नेमा जोड दिए । यस्तै कोषाध्यक्ष रायमाझीले महासंघमा आवद्ध सबैको सहयोग, सद्भाव र समन्वयमा संस्था अगाडि बढ्न सकेको धारणा राखे । साधारणसभामा समाजका विभिन्न क्षेत्र तथा विधामा रहेर उल्लेखनीय कार्य गर्ने व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ईश्वर गुभाजु, शशिभुमि श्रेष्ठ, कुसुम महर्जन, सुजपार्कका प्रमोद महतो र डिभिज ईन्टरप्राइजेज रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुलाई महासंघले मायाको चिनोसमेत प्रदान गरेको थियो । देशभरका व्यापारी, व्यवसायी तथा उद्यमीहरुको २१ भन्दा बढी संघहरु आवद्ध महासंघमा १० हजारभन्दा बढी सदस्यहरु आवद्ध रहेकाे महासंघले जनाएकाे छ ।

एनआईसी एशिया बैंकले महिला उद्यमीलाई महासंघको सिफारिसमा १० लाखसम्म कर्जा दिने

काठमाडौं । एनआई सी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघ महासंघका प्रतिनिधिहरूले गरेको सिफारिसका १० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने भएको छ । महासंघले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा व्यक्तिलाई कर्जा रू. २ लाखदेखि रू.१० लाखसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । सो सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देबिका बुढाथोकीले हस्ताक्षर गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित बैंकहरूमध्येकै ठूलो बैंक बन्न सफल एनआईसी एशियाले साना तथा मझ्यौला व्यवसायमा लगानी विस्तार गर्ने रणनीति अनुसार महासंघसँग साझेदारी गरेको जनाएको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील कर्जा’ योजना ल्याएको छ । यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपुर्ण कर्जा योजनाका लागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ । साथै, महिलाहरुलाई उद्यमी बनाउन पनि मद्दत गर्ने बैंकको विश्वास छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगेको छ ।

६० प्रतिशत पसल बिना दर्ता सञ्चालन,  किराना पसलका धेरै सामान म्याद गुज्रेका

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले आज गरेको बजार अनुगमनमा ६० प्रतिशत पसल बिनादर्ता सञ्चालनमा रहेको पाएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा देकोचाका २५ वटा पसलमा गरिएको अनुगमनमा १२ वटा पसल दर्ता भएको र १३ वटा पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा फर्निचर, टेलर्स, खाद्यान्न, किराना, सैलुन, जुत्ता, सिरक, डस्ना, खाजा पसलदेखि सुसोभ एजुकेसन इन्टरप्राइजेजसमेत दर्ता नभई सञ्चालनमा रहेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । किरण किरान स्टोरमा रहेको म्याद गुज्रेका जुस, कुकिज, इलैची, केक, ग्लुकोज नष्ट गरेको छ । त्यस्तै एमएस किराना स्टोरको म्याद गुज्रेको मिरिण्डा, सेभेन अप, स्प्राइट, ड्यू नष्ट गरिएको छ । दर्ता नभएका पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिएको छ ।

सरकारी ब्याज सहुलियत सहितको कर्जा सिद्धार्थ बैंकले पनि दिन थाल्याे, कसरी लिने ?

काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन, २०७५ अनुरुप ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ । बैंकले प्रदान गर्ने सहुलियतपूर्ण कर्जा निम्न किसिमका छन् ः कसरी लिने ? सहुलियत पूर्ण कर्जा लिन चाहने व्यक्तिले कर्जाको प्रकृतिअनुसार व्यवसायिक योजना वा प्रमाणपत्र सहित बैंकले तोकेको ढाँचाको निवेदन सिद्धार्थ बैंकका नजिकका शाखाहरुमा दिन सक्नेछन् । बैंकले कर्जाको मागको प्रकृतिअनुसार व्यवसायिक योजना हेरि आवेदन गरिएको रकमको हदसम्म कर्जा स्वीकृत गर्न सक्नेछ । व्यवसायिक योजना अनुसार कर्जा एकमुष्ठ वा किस्ताबन्दीमा प्रदान गर्न सकिने छ । नेपाल सरकारले उक्त कर्जाको धितो तथा कर्जा सुरक्षण कोषमा अनिवार्य रुपमा बीमा गर्नुपर्ने प्रावधान राखेको छ । बैंकले हालसम्म देशभर रहेका १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग तथा १५० वटा एटिएमहरु मार्फत ६ लाख २२ हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउँदै आइरहेको छ । त्यस्तै, २०७५ माघ मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रहेको छ भने १०८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १०० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

ओम बैंकद्धारा बित्तीय साक्षरता साथै डस्टबिन वितरण

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत विधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका अधिकारीद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी दिएका थिए । बैंकले कास्कीेको माछापुच्छ्रे गाउँपालिका घाचोक र पोखरा महानगरपालिका २१ निर्मलपोखरीका स्थानीयहरुलाई बैंकका कर्मचारी पदम जि.सि. र बामदेब पौडेलले बित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी दिएका थिए । साथै बैंकले चितवन रत्ननगर १६ भद्रकाली मा.वि.का विधार्थी, सोही वडाका आमा समुह, टोल विकास समितिका सदस्यहरुका बीच वित्तीय साक्षरता कार्यक्रम गर्नुका साथै डस्टविन पनि वितरण गरेको थियो । त्यसैगरी बैकले लमजुङको दोर्दी तान्जेमा अवस्थित वाल विकास प्राथमिक विधालयलाई फिल्टर र विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेको थियो । बैंकले यस अघि पनि चितवन भरतपुरको नयाँ किरण मा.वि., पोखरा महानगरपालिका वडा नं २६ मा अवस्थित लक्ष्मी मा.वि वडा नं २८ मा अवस्थित जनज्योति मा.वि.मा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

राष्ट्र बैंकले सोमबार २ अर्बको ट्रेजरी बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ । बैंकका अनुसार कूल ९१ दिने अवधिको उक्त बिल मङ्गलबार बाँडफाँट गरिनेछ । बैंकले यसअघि यही फागुन ६ गते दुई अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो ।