नक्कली भ्याट बिल बनाउने दुई जना प्रोपाइटर विरुद्ध मुद्दा दर्ता
काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिलको प्रयोग गर्ने दुई जनाविरुद्ध मुद्दा दर्ता भएकाे छ । निजलाई ८६ लाख ७७ हजार ४ सय ३२ विगो र सो बिगोको दोब्बर १ करोड ७३ लाख ५४ हजार ८ सय ६४ जरिवाना र ३ वर्ष कैद सजायको माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका ११ मा स्थायी वसोवास भई हाल काठमाण्डौ महानगरपालिका ९ वस्ने श्री प्रभा इन्टरप्राईजेज (स्थायी लेखा नंं. ३०४४२३४००) को प्रोप्राईटर राम प्रसाद चौलागाईलाई राजस्व चुहावट गरेको अभियोगमा रु. ५९ लाख ४ हजार ९ सय ३८ विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको मागदावी लिई मिति मंसिर ११ गते मुद्दा दर्ता गरिएको हो । श्री प्रभा इन्टरप्राईजेज (स्थायी लेखा नं. ३०४४२३४००) ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ । प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरी मु.अ.कर तर्फ रु. १७ लाख २६ हजार ५ सय ७५ र आयकर तर्फ रु. ४१ लाख ७८ हजार ३ सय ६३ राजस्व चुहावट गरेको पाइएको छ । यसरी, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, द्दण्छद्द को दफा २(छ१) बमोजिम हुने जम्मा विगो रु. ५९ लाख ४ हजार ९ सय ३८ राजस्व चुहावट गरेको प्रमाणित हुन आएकोले श्री प्रभा इन्टरप्राईजेजका प्रोप्राईटर राम प्रसाद चौलागाईलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) वमोजिम विगो रकम रु. ५९ लाख ४ हजार ९ सय ३८ असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति २०७६।०८।११ गते मुद्दा दर्ता गरिएको हो । त्यसैगरी, काभ्रे जिल्ला चौरीदेउराली गउँपालिका वडा नं.५ मा स्थायी वसोवास भई हाल काठमाण्डौ महानगरपालिका ३२ वस्ने जि. पि. सि. ट्रेडर्स (स्थायी लेखा नं. ३०२७५३४५७) को प्रोप्राईटर रामकृष्ण ढकाललाई राजस्व चुहावट गरेको अभियोगमा रु. २७ लाख ७२ हजार ४ सय ९४ विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको मागदावी लिई मिति मंसिर ११ गते मुद्दा दर्ता गरिएको छ । जि.पि.सि. ट्रेडर्स (स्थायी लेखा नं. ३०२७५३४५७) ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको हो । प्रतिवादीले राजस्व चुहावट ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरी मु.अ.कर तर्फ रु. ७ लाख ३३ हजार ५ सय १२ र आयकर तर्फ रु. २० लाख ३८ हजार ९ सय ८२ राजस्व चुहावट गरेकोले राजस्व चुहावट ऐन, द्दण्छद्द को दफा २(छ१) बमोजिम हुने जम्मा विगो रु. २७ लाख ७२ हजार ४ सय ९४राजस्व चुहावट गरेको प्रमाण्ति हुन आएको हो । यसरी, जि.पि.सि. ट्रेडर्सका प्रोप्राईटर रामकृष्ण ढकाललाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) वमोजिम विगो रकम रु. २७ लाख ७२ हजार ४ सय ९४ असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दाबी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति मंसिर ११ गते मुद्दा दर्ता गरिएको हो ।
शाइन रेसुङ्गाको डीसीईओमा लोकराज पनेरु, मंसिर १५ गतेदेखि लागू हुने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डीसीईओ)मा लोकराज पनेरु नियुक्त भएका छन् । संस्थाले आगामी मंसिर १५ गतेदेखि लागू गर्ने गरी पनेरुलाई उक्त पदमा पदोन्नती गरेको हो । यससँगै संस्थाको उच्च व्यवस्थापन तहमा ५ जना कार्यरत रहेका छन् । संस्थाकाे प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल रहेका छन् । साथै, नायव प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) पदमा तीन जनाः प्रकाश गुरुङ्ग, पुष्करराज जोशी र लोकराज पनेरु कार्यरत रहेका छन् । त्यसैगरी, सार्जन भट्टराईले संस्थाकाे नायव महाप्रबन्धकको जिम्मेवारी सम्हालेका छन् ।
भरतपुर विमानस्थल १० दिन बन्द हुने
चितवन । नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन हवाई सेवा रोक्ने भएको छ । यही मङ्सिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो । कार्यालय प्रमुख पवनकुमार गौतमका अनुसार धावनमार्ग ओभरले तथा पार्किङ विस्तारका लागि हवाई सेवा रोकेर काम गर्न लागिएको हो । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको छ । पार्किङस्थल फराकिलो बनाइने बताइएको छ । ठेकेदार कम्पनीले रातको समयमा काम गर्दै आएको थियो । विमानस्थल ओभरले गर्दा ६० एमएमको कालोपत्र गरिने छ । गौतमका अनुसार तापक्रम घट्दै गएकाले रातमा कालोपत्र उपयुक्त नभएको र स्थानीयवासीले आफूहरुलाई अप्ठ्यारो भएको गुनासो गरेपछि हवाई सेवा रोकेर काम गर्न लागिएको हो । प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरेको छ । गत वर्षकै कार्यक्रमको निरन्तरताअन्तर्गत धावनमार्ग ओभरले र पार्किङ विस्तार गर्न लागिएको हो । झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले गरिएको थिएन । धावनमार्गमा विमानलाई समस्या हुन थालेपछि ओभरले गर्ने योजना अघि सारिएको हो । नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताएका छन् । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच/पाँच जहाज काठमाडौँ र एक/एक जहाजले पोखरा उडान भर्दै आएका छन् । गौतमले भरतपुर विमानस्थल बन्द हुँदा मेघौलीमा साना जहाज चलाउन चाहेमा चलाउन सक्नेगरी व्यवस्थापन गर्न लागिएको जानकारी दिएका छन् । करिब ६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । विमानस्थल विस्तार गरी ठूला जहाज उडान र अवतरण गर्न गृहकार्य थालिएको छ । रासस
प्रभु बैंकको १९८औं शाखा रसुवाको टिमुरेमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबारदेखि रसुवा जिल्लाको टिमुरेमा १९८ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोसाईकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले गरेका हुन् । यस बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ । बैंकको टिमुरे शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । उक्त शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने र सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।
फोस्टर्स लागर बियर अब नेपाली बजारमा
काठमाडौं। राज ब्रुअरी प्रा.लि. ले शुक्रबार (आज)देखि नेपालमा औपचारिक रुपमा फोस्टर्स लागर बियरको बिक्री शुरु गरेको छ । फोस्टर्स एक हरेक मौसममा पिउन सकिने लागर हो, जुन अष्ट्रेलियाको बियर संस्कृतिद्धारा प्रेरित छ । ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञताका साथ वार्षिक रुपमा ०.५ बिलियन लिटरभन्दा धेरै बियर बिक्रीसँगै विश्वव्यापी रुपमा फोस्टर्सले आफ्नो प्रभाव जमाएको छ । फोस्टर्स गोल्ड स्ट्रङ्ग बियर पनि हालसालै नेपालमा ल्याईएको थियो । फोस्टर्स लागर बियरको उत्पादन एक अद्भूत प्रक्रियाका साथ हुन्छ जसमा वरफले बियरलाई झण्डै शुन्य डिग्री तापक्रममा छान्ने गर्छ । राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबि इनबेभ र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी हो । राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समुहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरु, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा-वेभरेज व्यवसायमा अनवरत रुपमा बजारमा मुख्य आधिपत्य कायम गर्दै आएको छ । जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड जसले आ-आफ्नो समुहको सम्बद्ध बजारको प्रमुख उत्पादनहरु पर्दछन् । ल्यूभेन, बेल्जियममा विश्वव्यापी प्रधान कार्यालय रहेको एबि इनबेभको विश्वका झण्डै ५० भन्दा बढी देशहरुमा उपस्थिति रहेको छ र ५०० भन्दा ज्यादा ख्याति प्राप्त बडवेएजर,बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहृमा जस्ता ब्राण्डहरुको विविधतापूर्ण स्वादहरु उपलब्ध गराउने गर्दछ । यसको अन्य ब्राण्डहरुमध्ये स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफे, र होएगार्डेन पनि हुन् । राज ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ, जुन बियरलाई नेपालका बियर प्रेमीहरुले अत्यन्त कम समयमा नै अभिन्न हिस्सा बनाएका छन् । अब, चाँडै नै नेपालले यहीं नै उत्पादित बडवेएजर, बडवेएजर म्याग्नम, र फोस्टर्स गोल्ड साथसाथै एबि इनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरुबाट आयात गरिएका कोरोना एक्स्ट्रा, लेफे, होएगार्डेन र स्टेला अर्टोइजको स्वादको आनन्द लिन सक्नेछ ।
उद्यमशीलतासँग जोड्न सके कृषि क्षेत्रले राम्रो प्रतिफल दिन्छः कृषि मन्त्री भुसाल
काठमाडौं । नव नियुक्त कृषि विकास तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशीलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने – ‘कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफै विकसित हुन सक्दैन, कृषिलाई विकसित गर्ने भनेको आधुनिकीकरण, यान्त्रीकरण,व्यवसायीकरण जे भने पनि मेरो प्रयत्न कृषिलाई उद्यमसँग गाँस्ने नै हो ।’ गाउँका मान्छेको जुन प्राथमिक उत्पादन छ त्यो उत्पादनको प्रारम्भिक प्रशोधनमात्रै शुरु भइदिने हो भने त्यसले किसानको श्रमलाई उद्यमशीलतातर्फ लैजाने भन्दै मन्त्री भुसालले भने – ‘किसानले दुध उत्पादन गर्ने कुरा महत्वपूर्ण छ, तर दुधलाई कुनै न कुनै रुपले प्रशोधन गर्ने कुरा हाम्रा लागि अझै महत्वपूर्ण छ । हामीले जडिबुटी उमार्ने कुरा महत्वपूर्ण छ,जडिवुटीको कुनै न कुनै रुपले प्रशोधन गर्ने कुरा अझै महत्वपूर्ण छ । कृषि क्रान्ति भनेकै कृषकलाई उद्यममा ल्याउने हो ।’ कृषिलाई उद्यमशीलतासँग जोड्ने सोंच बनाएर मन्त्रालयको जिम्मेवारीमा आएको भन्दै उनले भने – ‘अहिलेको कृषिले चल्दैन, केही फेरबदल गर्न जरुरी छ । कृषि भनेको हलोमात्रै जोत्ने भन्यौं हाम्रो बीचमा ठूलो ग्याप रह्यो हाम्रा योजना, सोंच र काम गर्ने शैलीमा कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफै विकसित हुन सक्दैन । गाँस्न सकिएन भने कृषि आफै विकसित हुन सक्नैन ।’ महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरु विशेष गरी स्थानीयस्तरमा कृषि र यसको उत्पादनसँग जोडिएको भन्दै यस्ता उद्योगी र गाउँघरमा कृषि कर्म गर्ने किसानहरुको हितमा राज्यको नीति केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । ‘अर्थतन्त्रलाई रोजगारमूलक बनाउनका लागि सबै नेपालीले उद्योग खोल्दैनन केही निश्चित समूह जोसँग उद्योग र उद्यमशीलता छ, जसले जोखिम लिन सक्छन्, जसले लगानी गर्न सक्छन्, जसले निरन्तर रुपमा अगाडि बढाउन सक्छ तिनीहरुले मात्रै उद्योग खोल्छन् र ती उद्योगहरुमा बाँकी नेपालीहरुले रोजगार प्राप्त गर्ने अभियानमा हामी लाग्नुपर्छ ।’ –अध्यक्ष गिरीले भने– ‘तर यहाँ नीति निर्माताहरुले सबैलाई रोजगार बनाउने र उद्योग खोलाउने अभियानमा लागेको हुँदा राज्यको ठूलो धनराशी, शक्ति र चिन्तन बोटलनेकमा परेको हामीले देखेका छौं ।’ कृषि व्यवसाय र कृषि उद्यमशीलताको कुरा गर्दा धेरै जसो कृषिका आयोजनाहरु शहरमा बस्नेहरुले खोलेका फर्महरुलाई अनुदान दिनेतर्फमात्रै केन्द्रित रहेको भन्दै अध्यक्ष गिरीले भने– ‘एक हल गोरु र दुईवटा गाई पाल्ने गाउँको रामबहादुरले कृषि आयोजनाका केही पनि सुविधा प्राप्त गर्न सकेको छैन । जबसम्म रामबहादुरले कृषिबाट प्राप्त हुने सुविधा प्राप्त गर्न सक्दैन तबसम्म कृषि बजारमा प्रचुर मात्रामा आन्तरिक मागलाई धान्नेगरी आयातलाई प्रतिस्थापन गर्ने गरी बजारमा उत्पादन आउन सक्दैन । त्यसैले, कृषिमा लागेका सक्कली किसानको हितमा काम गर्नुप¥यो ।’ महासंघको संयुक्त प्रतिनिधि मण्डलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीसँग पनि उनकै कार्यकक्षमा भेट गरी बधाई तथा शुभकामना दिएको थियो । सो अवसरमा संघीय मामिला मन्त्री त्रिपाठीले खास गरि स्थानीय रोजगार र स्वरोजगारका निम्ति स्थानीय उध्यमशीलता र पालिका र प्रदेश तहमा उद्योगग्राम स्थापनाका लागि पालिका र प्रदेश सरकार सँगको सहकार्य र महासंघसँगको समन्वयमा अघि बढ्ने बताएका छन् ।
व्यापार घाटा कम गर्न चिनियाँ लगानी आवश्यक छ : पूर्व अर्थमन्त्री महत
काठमाडौं । पूर्व अर्थमन्त्री तथा काँग्रेस नेता डा. रामशरण महतले नेपालमा व्यापार घाटा कम गर्न चिनियाँ लगानी आवश्यक रहेकाे बताएका छन् । बिहिबार नेपाल – चीन मिडिया फोरमले आयोजना गरेको नेपाल चीन पिपुल टु पिपल रिलेशन र मिडियाको भूमिका सम्बन्धिको कार्यक्रममा बोल्दै उनले नेपालमा चीनकाे लगानी आवश्यक रहेकाे बताएका हुन् । ‘नेपालको चीनसँग २ खर्ब व्यापार घाटा रहेको छ’ उनले भने, ‘नेपालमा चिनियाँ लगानीकर्तालाई आकर्षण गरेर उद्योग स्थापना गरी चीनमा नै समान निर्यात गर्न सकिन्छ ।’ उनले नेपालमा सडकको दुरावास्था भएकाले रेलभन्दा पनि सडक राम्रो बनाउन जनताले माग गरेको बताए । नेपाल भ्रमण वर्ष २०२० आउनै लागेका बेला सडको अवस्था दयनिय रहेको उनकाे भनाइ छ ।
बालिका अपहरणको प्रयास गर्ने भारतीय नागरिकलाई जेल चलान
सप्तरी । बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् । जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली–१८ बथनाहाका २० वर्षीय आनन्द गोसाइलाई हिजो पुर्पक्षका लागि राजविराज कारागार पठाइएको छ । सोही आरोपमा पक्राउ परेका कुनौली–४ बैरियाघाटका १६ वर्षीय बालक (अनिल भनिने दुर्गानन्द झा) लाई अदालतले बालसुधार गृह वीरगञ्ज पठाउने आदेश दिएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी मोरङको धनपालथान गाउँपालिका–५ दादरबैरियाकी आठ वर्षीया आँचल शर्मालाई गत कात्तिक १४ गते आरोपितहरुले अपहरण प्रयास गरेको भन्दै स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । पीडित बालिका मृत्यु भएका हजुरबुवाको १३ दिने श्राद्धमा मामाघर आएकी थिइन् । मामाघरका परिवारका सदस्यहरु श्रद्धा पूजा र भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरुले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला बालिकाकी हजुरआमा ५५ वर्षीया सावित्रीदेवी शर्माले होहल्ला गरेपछि जुटेका स्थानीयवासीले आरोपितहरुलाई नियन्त्रणमा लिएका हुन् । आरोपितहरुको साथबाट प्लाष्टिकको तीन बोरासमेत फेला परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले बताए । चिया र बिस्कुट खान दिने भनेकाले उनीहरुसँग गएको बालिकाले बताइन् । बालिकाका मामा ३९ वर्षीय अमित शर्माले कात्तिक १५ गते आरोपितहरुविरुद्ध दिएको अपहरण तथा शरीर बन्धकको उजुरीमाथि जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते दर्ता गरी कारवाही थालेको हो । रासस