एकल ब्राण्डको वृहत प्रदर्शनी ‘महिन्द्रा उदय’ले भव्य, उपभोक्ताको आकर्षण मराजो र एक्स्यूभी–३०० मा
काठमाडौं । गत शुक्रबारबाट सुरु भएको महिन्द्राका भेहिकलहरुको एकल लाईफ स्टाईल अटो शो ‘महिन्द्रा उदय’ आज आइतबार बेलुका समापन भएको छ । अबलोकनकर्ताको निकै उत्साहजनक सहभागिता रहेको उक्त मेलामा कम्पनीले आफ्ना सबै ३० भन्दा बढी भेहिकल प्रदर्शनीमा राखेको थियो । उक्त मेलामा महिन्द्राका पछिल्लो उत्पादन कम्प्याक एसयूभी एक्सयूभी ३०० तथा एमपीभी मराजो सँगै अन्य ४ नयाँ मोडल सार्वजनिक गरेको थियो । ‘नेपालमै पहिलो पटक भएको बृहद एकल ब्राण्डको प्रदर्शनीमा जसरी अबलोकनकर्ता आउनु भयो, ब्रान्ड, गाडी, म्युजिक र खानाको स्वादसँग रमाउनु भयो यसले हाम्रो मेला निकै सफताका साथ पुरा भएको छ’ महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटका मार्केटिङ मेनेजर सिजन न्यौपानेले बताए । यो प्रदर्शनीमा बिक्री भन्दा पनि महिन्द्राको सबै रेन्ज तथा महिन्द्रा केहो भन्ने कुरामा फोकस गरिएको थियो । मेलामा एसयूभीहरु, इलेक्ट्रीक भेहिकलहरु, दुई पाङ्ग्रेमा मोटरसाईकल तथा स्कुटर, हेभी इक्युपमेन्टहरु, कृषिमा प्रयोग हुने ट्रायाक्टरहरु, जेनेरेटरका साथै हेवी तथा लाईट कमर्शियल भेहिकलहरुमा अबलोकनकर्ताले निकै चासो देखाएका थिए । मेला अवधिभर नयाँ दुई गाडी मराजो र एक्स्यूभी–३०० मा धेरैले चासो देखाएका थिए । महिन्द्राकालागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराजपार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयूक्त रुपमा यो लाइफ स्टाइल एन्ड अटो शो को आयोजना गरेकोे हो ।
अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदै हुलाकी सडकमा कालोपत्रे शुरु
काठमाडौं । अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदै हुलाकी राजमार्गको कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडक खण्डमा कालोपत्र गर्न थालिएको छ । स्वर्णपट्टी स्थित देउरी ९ (ख) को क्षेत्रमा सर्भेक्षण नगरी नक्साङ्कन भएको क्षेत्रलाई छोडेर ९ (क) मा मात्र सडक निर्माण गर्न थालिएको भन्दै जग्गाधनी जिवछ भनिने धर्मेन्द्र साहले गत २०७४ माघमा जनकपुर उच्च अदालतको राजविराज इजलासमा दायर गर्नुभएको रिट निवेदनमा उक्त इजलासले सो ठाउँमा तत्कालका लागि कामकाज नगर्न आदेश जारी गरेको थियो । उक्त सडक निर्माणको ठेक्केदार कम्पनी विरुद्ध अदालतमा फरक /फरक व्यक्तिद्वारा तीन वटा मुद्दा दायर गरिएको थियो । दायर गरिएका तीनवटै मुद्दामा अदालतबाट अन्तिम फैसला नहुँदै ठेक्केदार कम्पनी दिवा निर्माण प्रालि काठमाडौँले सो सडकमा कालोपत्रेको काम शुरु गरेको हो । उक्त इजलासबाट अन्तिम फैसला नभएकाले विवादित संस्थानलाई छोडेर अन्य भागमा कालोपत्र शुरु गरिएको सडकका ‘कन्ट्र्याक्टर म्यानेजर’ विनोद गौतमले जानकारी दिए । भारतीय सिमासँग जोडिएको सप्तरीको बोदे बसाइन नगपालिकाको स्वर्णपट्टीदेखि खडक नगरपालिकास्थित बिसनपुर चौकसम्मको सो सडकमा कालोपत्रेको काम शुरु भएको बताए । करीब १७ दशमलव २८ किलोमिटरको सो सडकमा पर्ने बजार क्षेत्रमा ११ र बजार बाहिर सात मिटर चौडाइ कालोपत्रे गर्ने योजना बमोजिम स्वर्णपट्टि नजिकैबाट कालोपत्रेको काम शुरु गरिएको र चैतमहिनाभित्र काम सकेर हस्तान्तरण गरिने गरी काम भइरहेको म्यानेजर गौतमको भनाइ थियो । विसं २०७६ असार २० गतेसम्म सडक निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि २०७५ चैतभित्रै काम सकिने गरी तीव्र रुपमा सडक निर्माणको काम भइरहेको छ । गत ०७४ साल मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकमा कालोपत्रे बाहेकको काम सकिएको छ, म्यानेजर गौतमले भने, “सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्र्भड निर्माण भइसक्यो । एक हजार ४०० मिटर दाँयाबाँया फुटपाटसँगै नाला निर्माणको समेत अन्तिम चरणमा पुगेको छ ।” ती काम सकेर माघ १५ गतेदेखि सडकको कालोपत्रेको काम शुरु गर्ने लक्ष्य रहेपनि अदालतमा परेको मुद्दाका कारण कालोपत्रे गर्ने कार्य केहीपछि धकेलिएको म्यानेजर गौतमको भने । उक्त सडक भ्याट बाहेक रु ५८ करोड तीन लाख ९७ हजारकोे लागतमा निर्माण गर्न लागिएको हो । रासस
१२२ अर्बको वैदेशिक लगानी स्वीकृत हुँदा ४६ अर्ब मात्रै आयो, ६२ प्रतिशत लगानी कागजमा मात्र
काठमाडौं । १० वर्षको अवधिमा १ खर्ब २२ अर्ब नेपाली रुपैंया बराबरको विदेशी लगानी स्वीकृत भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६६/६७ देखि आर्थिक वर्ष २०७५/७६ को माघ मसान्तसम्म उक्त परिमाणमा लगानी गर्ने प्रस्ताव स्वीकृत गरिएको हो । स्वीकृत भएका लगानीमध्ये ४६ अर्ब रुपैंयाँ मात्र नेपाल भित्रिएको छ । बाँकी ७६ अर्ब रुपैंया भने आउन बाँकी रहेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले जानकारी दिए । ६२ प्रतिशत लगानी कागजमा मात्र सीमित भएकाे छ । स्वीकृत भएको र भित्रिएको लगानी इक्विटी होल्डिङका लागि स्वीकृत भएका हुन् जसमा विदेशी लगानीकर्ताको शेयरमा लगानी हुन्छ । ती लगानीहरु खासगरी उत्पादनशील क्षेत्रकै लागि स्वीकृत भएको कार्यकारी निर्देशक ढुङ्गानाले बताए । ‘हामीले स्वीकृत गरेका लगानीलाई क्षेत्रगत रुपमा विभाजन गरेका त छैनौं तर धेरैजसो उत्पादनशील क्षेत्रकै लागि लगानी ल्याउन प्रस्ताव गरिएको छ ’ – उनले भने । उक्त अवधिमा स्वीकृत गरिएका १ खर्ब २२ अर्ब लगानीका लागि अवधिमा ७३३ ओटा कम्पनीले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका थिए । जसमा भित्रिएको ४६ अर्ब रुपैंयाका लागि २८५ ओटा कम्पनीले ल्याएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ । ऋण लगानीका लागि भने सोही अवधिमा ६४ करोड डलर (हालको विनिमय दरका आधारमा करिब ७२ अर्ब रुपैंया) स्वीकृत भएका छन् । जसमध्ये ३० करोड डलर (हालको विनिमय दरका आधारमा करिब ७२ अर्ब रुपैंया) मात्रै ऋणको रुपमा नेपाल भित्रिएको छ । नेपाल सरकारले भने गत फागुन १ गतेदेखि माघ २९ गतेसम्म मात्रै ४३१ परियोजनाको लागि ५९ अर्ब ५२ करोड लगानी प्रतिबद्धता आएको जानकारी दिएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार यो प्रतिवद्धता रकम २०७३ फागुन १ देखि २०७४ माघ मसान्तसम्म २४ अर्ब ५९ करोड रुपैंया रहेको छ । सरकारी तथ्याङ्कमा उत्साहप्रद वैदेशिक लगानी भित्रिएको देखिए पनि वास्तविक रुपमा भने प्रतिवद्धताभन्दा कयाैं गुणा कममात्रै भित्रिने गरेको देखिएको हो । अघिल्लो लगानी सम्मेलनमा मात्रै विदेशी लगानीकर्ताले नेपपालमा १४ खर्ब रुपैंया विदेशी लगानीका गर्ने प्रतिवद्धता जनाएका थिए तर प्रतिवद्धताको रकमभन्दा वास्तविक रकम ज्यादै न्यून मात्र हुने गरेको देखिएको छ । सरकारले आगामी चैत १४ र १५ गते लगानी दोस्रोपटक लगानी सम्मेलन गर्दैछ । त्यसका लागि अर्थमन्त्री विश्व दौडाहामा छन् । तर, विदेशी लगानीका लागि दौडधुप गरिरहँदा प्रतिवद्धता भएका लगानी भित्र्याउने सवालमा भने सरकारी पक्षले सक्रियता नदेखाएको सरोकारवालाहरुले भनाइ छन् । धेरैजसो प्रतिवद्धताहरु लगानीको प्रक्रियामै नजाने र प्रक्रियामा गएकाहरु समेत देशमा आवश्यकता नै नभएको वा देशले लगानीका लागि स्वीकृति दिन नसक्ने क्षेत्रमा लगानी गर्न चाहने तथा अन्य प्राविधिक कठिनाइको कारणले वास्तविक वैदेशिक लगानीको आकार ज्यादै न्यून हुने गरेको अधिकारीहरू बताउँछन् ।
बाल्ट्राको स्मार्ट ४के युएचडी टेलिभिजन नेपाली बजारमा
काठमाडौं । ईलेक्ट्रोनिक उत्पादन बाल्ट्राले फरक रेञ्जका बाल्ट्रा स्मार्ट ४के युएचडी टेलिभिजन बजारमा लन्च गरेको छ । नेपाली बजारमा बाल्ट्राले ५५ र ५० इन्चका स्मार्ट ४के युएचडी टेलिभिजनका साथै ४० इन्चका विभिन्न एफएचडी स्मार्ट टेलिभिजन पनि बिक्रि–वितरण गर्दै आएको छ । नवीनतम प्रविधिहरुद्वारा उत्पादित बजेट सुहाउँदो बाल्ट्राका टेलिभिजनमा उत्कृष्ट क्वालिटीका साथै २ वर्षको पूर्ण वारेण्टी रहेको छ । ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्दै आएको छ । ५५ र ५० इन्चमा उपलब्ध टेलिभिजनमा ४के युएचडी सिनेमा डिस्प्ले, अल्ट्रा स्ल्मि बडी, वाईड स्क्रिन, हाई रिजोलुसन, हाई क्लारिटी, मिरा स्क्रिन, एचडीएमआई आदि विशेषताहरु रहेका छन् ।
माछापुच्छ्रे बैंकको २२ करोड ऋण उठाउन, अनिल टेक्सटाइलको ४ बिगाहा जग्गा लिलामी हुँदै
काठमाडौं । माछापुच्छ्रे बैंकको २२ करोड रुपैंया ऋण असुलीका लागि ऋणीको धितो लिलामीको प्रक्रिया अघि बढ्ने भएको छ । ऋण असुली न्यायाधीकरणले न्यू अनिल टेक्सटाइल प्रा.लि.ले लिएको १० करोड ६६ लाख ६२ हजार ४ सय ३९ रुपैंया र त्यसको ब्याज र जरिवानासहितको २१ करोड ८२ लाख २२ हजार ९३७ रुपैंया रकम असुलीका लागि प्रा.लिको बारा र पर्सा जिल्लामा रहेका ४ बिगाहा भन्दा बढी जग्गाको लिलामी गर्ने प्रक्रिया अघि बढाएको हो । त्यसका लागि सम्बन्धित जिल्ला अदालतलाई पत्र काटिसकेको न्यायाधीकरणका श्रेस्तेदार भेषराज कोइरालाले जानकारी दिए । न्यु अनिल टेक्सटाइल प्रालिका सञ्चालकद्धय मधुसुधन अग्रवाल र विनोदकुमार अग्रवाल हुन् । उनीहरुले उक्त ऋण नतिरेपछि बैंकले न्यायाधीकरणमा प्रा.लिलाई प्रतिवादी बनाउँदै २०७३ बैशाखमा मुद्दा दायर गरेको थियो । न्यायाधीकरणले त्यसको ९ महिनापछि अर्थात् २०७४ माघमा बैंकको पक्षमा मुद्दाको फैसला गर्दै ऋण उठाउनको लागि धितोमा रहेको जग्गा लिलामीका लागि आदेश दिए पनि हालैमात्र सो प्रक्रिया अघि बढेको हो । ऋण असुलीमा बैंकले चासो देखाएपछि न्यायाधीकरणले २०७५ पुस १७ गते जिल्ला अदालत बारा र पर्सालाई चलानी नम्बर ४५९५ रहेकाे पत्र काटेको हो । न्यायाधीकरणले पठाएको पत्रको सम्बन्धित जिल्लाका जिल्ला अदालतले जवाफ पठाएपछि न्यायाधीकरणको टोली धितोको मूल्याङ्कनका लागि जाने सेस्त्रेदार कोइरालाले बताए । कसरी हुन्छ धिताे लिलामी ? कुनै पनि बैंक तथा वित्तीय सस्थाकाे ५ लाख रुपैंया वा साे भन्दा माथिकाे ऋण समयमा असुल हुन नसकेमा न्यायाधीकरणमा ऋण असुलीमा लागि मुद्दा दायर गर्नुपर्नेछ । न्यायाधीकरणले बैंककाे पक्षमा मुद्दाकाे फैसला गरेमा धिताे लीलामीकाे प्रक्रिया अघि बढ्ने प्रावधान छ । जग्गा तथा अन्य भौतिकको मूल्याङ्कनका लागि न्यायाधीकरणका २ जना, जिल्ला अलालतका प्रतिनिधि, जिल्ला मालपोत कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिसहितको समितिले मूल्याङ्कन गरी धितोको न्यूनतम मूल्य निर्धारण गरिने व्यवस्था छ । मूल्याङ्कन गरिएको रकम नघट्ने गरी लिलाम बढावढ बिक्रीका लागि पहिलेपटक ३५ दिनको समय दिएर बोलपत्र खुल्ला गर्ने र सो अवधिमा विक्री नभए दोस्रोपटक १५ दिन समय दिएर र तेस्रोपटक ७ दिनको समय दिएर बोलपत्र खुला गर्ने प्रावधान छ । त्यति गर्दा पनि उक्त धितो नबिकेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै उक्त मूल्याङ्कनका आधारमा सम्पत्ति सकार्नुपर्ने व्यवस्था छ । माछापुच्छ्रे बैंकको ऋण असुली प्रक्रिया पनि साेहीअनुसार अघि बढ्ने बताइएकाे छ । यसअघि पनि पक्राउ समेत परेका थिए संञ्चालकद्धय माछापुच्छ्रे बैंकको ऋण नतिर्ने न्यू अनिल टेक्सटाइल प्रा.लि.का सञ्चालकद्धय मधुसुधन अग्रवाल र विनोदकुमार अग्रवाल ऋण नतिरेकै अअभियाेगमा यसअघि पनि पक्राउ परेकाे खुलेकाे छ । उनीहरुले एनआईसी एसिया बैंकको ९ करोड रुपैयाँ कर्जा नतिरेपछि २०७४ चैत ७ गते ऋण असुली न्यायाधीकरणकै आदेशमा उनीहरु पक्राउ परी १ करोड रुपैंया तिरेर ४ महिनापछि रिहा भएका थिए । न्यायधिकरणले २०७३ माघ १० गते को एनआईसी एसियाको ९ करोड २१ लाख १० हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो । १५ महिनासम्म पनि कर्जा नतिरेपछि बैंकले अग्रवालद्धयको चलअचल सम्पत्ति नभेटिएको भन्दै न्यायधिकरणमा पक्राउ गर्न उजुरी गरेको थियो ।आरोपीमाथी ऋण असुली ऐन २०५८ को दफा २५ उपदफा २ ९ग० र नियम ३० ९क० बमोजिम थुनामा राखी रकम असुली प्रक्रिया अघि बढेको थियो ।
बुक क्लोज नजिकिँदै गर्दा नबिल बैंकको कारोबारमा वृद्धि, बजार ७ अंकले बढ्यो
काठमाडौं । नबिल बैंकको शेयरधनी किताब बन्द(बुक क्लोज) नजिकिँदै गर्दा कम्पनीको सेयर कारोबारमा वृद्धि भएको छ । बैंकको फागुन १४ गते(मंगलबार) बुक क्लोज हुने भएपछि सोमबार कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । कम्पनीको एकैदिन कूल ३ करोड ९० लाख ८३ हजार ९१२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको २ करोड ५० लाख रुपैयाँ साधारण र एक करोड ४० लाख रुपैयाँ बराबरको संस्थापक (प्रमोटर) गरी सो मात्राको सेयर बिक्री भएको हो । बजारमा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । बजारमा कम्पनीको सेयर सस्तिँदै गएपछि लगानीकर्ताहरु सस्तो मूल्यमा सेयर किन्न झुम्मिएका हुन् । साथै, बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांश(१२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश) वितरण गर्ने भएपछि लगानीकर्ताहरुको बैंकको सेयरमा आकर्षण बढेको हो । कम्पनी आगामी फागुन २५ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सोमबार पनि बैंकको साधारण सेयरको मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँले घटेर प्रतिकित्ता ७९४ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, बैंकको संस्थापक सेयरको मूल्य १० रुपैयाँले बढेर प्रतिकित्ता ७५० रुपैयाँ पुगेको छ । सोमबारको बजार ७.४१ अंकले बढेर ११०९.७३ अंकमा पुगेको छ । सो दिन कुल १६६ कम्पनीको २० करोड ३८ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
कामना सेवा विकास बैंकको ६७औं शाखा सर्लाहीमा
काठमाडौं । कामना सेवा विकास बैंकले सर्लाही जिल्लाको हरिवनमा कार्यालय विस्तार गरेको छ । हरिवन नगरपालिका वडा नं ११, हरिवनमा ६७औं शाखा कार्यालय स्थापना गरि कारोबार शुरु गरिएको छ । बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख राकेश सिंह तथा बैंकका उच्चपदश्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताएका छन् । देशभरि बैंकका ६६वटा शाखा तथा २० वटा मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएस्विए लगायत माध्यमबाट बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
कोटेश्वर-कलङ्की सडकको थप छ स्थानका आकाशे पुल असारसम्म सकिने
काठमाडौँ । चिनियाँ सरकारले निर्माण सम्पन्न गरेको कोटेश्वर-कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल निर्माण आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । चिनियाँ निर्माण कम्पनीले तीन ठाउँमा पुल निर्माण सम्पन्न गरेकामा नेपाल सरकारले थप छ ठाउँमा आकाशेपुलको निर्माण गरिरहेको हो । चिनियाँ निर्माण कम्पनीले कोटेश्वर, बागडोल र ग्वार्को गरेर तीन स्थानमा पुल निर्माण सम्पन्न गरेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । सडक विभागले बालकुमारी, सातदोबाटो, एकान्तकुना, सानेपा, बल्खु र महालक्ष्मीस्थानमा ठेक्का सम्झौतामार्फत् आकाशे पुल निर्माण गर्न लागेको योजनाले बताएको छ । सरकारले आकाशे पुल निर्माण गर्न लागेको छ ठाउँमध्ये पाँच ठाउँमा ठेक्का सम्झौता भइसकेर काम भइरहेको इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । उनका अनुसार पाँच ठाउँमा काम भइरहेको छ भने महालक्ष्मीस्थानमा छिट्टै ठेक्का सम्झौता हुनेछ । उनले भने, “काम भइरहेका ठाउँमा कुनै पनि अवरोध नभएकाले समयमा नै सकिएला ।” दश किलोमिटर लम्बाइको यो सडकमा चिनियाँ सरकारले निर्माण गरेको तीन आकाशे पुल पर्याप्त नभएको भन्दै सरकारले छ ठाउँमा पुल निर्माण शुरु गरेको थियो । यी छ आकाशे पुल निर्माण सकिएपछि चक्रपथको यस खण्डमा मुख्यमुख्य सबै चोकमा आकाशेपुल हुने आयोजनाले बताएको छ । चार वर्ष पहिले निर्माण शुरु भएको यो सडक गत मङ्सिर २९ मा निर्माण सम्पन्न भएको थियो । काठमाडौँस्थित चिनियाँ दूतावासले गत माघमा सरकारलाई सडक हस्तान्तरण गरेको थियो । चक्रपथकै दोस्रो खण्ड कलङ्कीदेखि महाराजगञ्जसम्मको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चिनियाँ पक्षले तयार गरिसकेको अर्यालले बताए । रासस