विकासन्युज

शेयर बजार गिरावटको प्रभाव म्युचुअल फण्डमा, कसले कति गुमाए एनएभी ?

काठमाडौं । माघ महिना म्युचुअल फण्डहरुको मूल्यमा गिरावट आएको छ । माघ महिनाको वित्तीय विवरण प्रकाशन गरेका ७ ओटा म्युचुअल फण्डको खुद मूल्यसँगै प्रतिइकाई मूल्यमा समेत गिरावट आएको हो । माघ महिनाकाे वित्तीय विवरणअनुसार म्युचुअल फण्डहरुले प्रतिइकाई ५ पैसादेखि १९ पैसासम्म खुद मूल्य गुमाएका छन् । सानिमा इक्विटीले १ करोड मूल्य गुमाउँदा सबैभन्दा कम र  २ करोड मूल्य गुमाएको एनआईबीएल समृद्धि फण्डको प्रतिइकाई खुद मूल्य सबैभन्दा बढीले घटेको हो । सानिमाकाे माघ मसान्तकाे खुद मूल्य १३७ कराेड र एनआइबीएलकाे ९९ कराेड ६ लाख रुपै‌ंया छ । त्यस्तै, ५२ करोड ४६ लाख खुद मूल्य भएको लक्ष्मी भ्यालु फण्डले १८ पैसा, १०६ करोडको लक्ष्मी इक्विटी फण्डले १७ पैसा, १५९ करोडको सिद्धार्थ इक्विटी फण्ड र ८६.५१ करोडकोे एनआईसी एशिया ग्रोथ फण्डले १३/१३ पैसा गुमाउँदा १०५ करोड खुद मूल्य भएको सिद्धार्थ इक्विटी ओरियन्ट स्कीमको प्रतिइकाई मूल्यमा १० पैसाको गिरावट आएको छ । गत पुस मसान्तमा ११७८.०३ विन्दुमा रहेको नेप्से परिसूचक माघ मसान्तमा ११२८.१९ विन्दुमा झरेको छ, यो ४.२३ प्रतिशतको गिरावट हो । नेप्से परिसूचक नै नकारात्मक भएपछि सूचिकृत कम्पनीहरुमा लगानी गर्ने म्युचुअल फण्डको मूल्यमा गिरावट आएको हो । हाल बजारमा १७ ओटा म्युचुअल फण्ड सञ्चालनमा छन् । वित्तीय विवरण प्रकाशन गरेका ७ ओटामध्ये सबै फण्डको मूल्य घटेसँगै अन्य फण्डहरुको पनि मूल्य घट्ने देखिएको छ । शेयर बजार हाल ३ बर्ष अघिदेखिकै न्यून विन्दुमा आइपुगेको छ । सरकारी प्रयासका बाबजुद बजारमा लगानीकर्ताको मनोबल उच्च नदेखिएपछि बजारले ओरालो बाटो लिन छाडेको छैन ।

पाँचथर पावरको आईपीओ आजदेखि खुल्यो, एक हजारमै भर्न पाइने

काठमाडौं । पाँचथर पावरको १७ लाख ५० हजार २५० कित्ता साधारण सेयर(आइपीओ) आजबाट बिक्री खुल्ला भएको छ । कम्पनीले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म कुल १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । निष्काशित सेयरमध्ये ३५ हजार ५ कित्ता कर्मचारीलाई, ८७ लाख ५१२ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ । जसमा न्युनतम १० कित्ता अर्थात एक हजार रुपैयाँकै आवेदन दिन सकिनेछ भने अधिकतम १ हजार ६ सय २० कित्तासम्म आवेदन दिन सकिन्छ । उक्त आईपीओको बिक्री छिटोमा फागुन १६ गते र ढिलोमा चैत १२ गते निष्काशन बन्द हुनेछ । पावरको आईपीओ निष्कासनको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ । केयर रेटिङ्गस् नेपालले कम्पनीको आईपीओलाई ‘केयर एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय विवरण औषतभन्दा कमजोर रहेको बताउँछ ।

शिवरात्री सोमबार भएकाले भक्तजन बढ्ने अनुमान, पशुपति दर्शनको यस्तो छ तयारी

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुले सोमबार भगवान शिवको पूजा आरधना गर्ने गर्छन् । यसपालीको महाशिवरात्री फागुन २० गते ठ्याक्कै सोमबार नै परेको छ । यसरी सोमबारकै दिन परेको महाशिवरात्री सभ्य र भव्य बनाउन पशुपति विकास कोष उत्साहपूर्वक लागि परेको छ । बार र तिथिको योग मिल्नु आफैँमा विशेष योग भएकाले कोष उत्साहित भएको हो । विषेश योगकै कारण तीर्थयात्रीहरुको संख्यामा उल्लेख्य वृद्धी हुने कोषको दाबी रहेको छ । संस्कृति महाशाखा प्रमुख तथा शिवरात्री प्रचार प्रसार उप समितिका सचिव प्रेमहरी ढुङ्गानाका भन्छन्–‘हिन्दु धर्म अनुसार भगवान शिवको जन्मोत्सवको रुपमा मनाउने यस पर्वमा तीर्थयात्रीहरुको उत्साहजनक सहभागिता रहने गर्छ, यसपालिको महाशिवरात्री सोमबारकै दिन परेकालेपनि दर्शनार्थीहरुको संख्या वृद्धी हुने कुरामा दुईमत छैन ।’ महाशिवरात्रीका दिन पशुपतिमा यस्तो छ व्यवस्थाः मन्दिर खुल्ने समयः महाशिवरात्रीको दिनमा बिहान ३ बजेदेखी नै मन्दिर खुल्ला रहने छ । सोही समयबाट नै भक्तजनहरुले लगाउने जुत्ता चप्पलको व्यवस्थापनदेखि सुरक्षाका विषयमा पशुपति विकास कोषले आफ्नो भूमिका निभाउने जनाएको छ । मन्दिर प्रवेश गर्न ३ लाईन: महाशिवरात्रीको दिन मन्दिर प्रवेशका लागि बाहिर ३ वटा लाईन रहने छन् । बाहिरबाट मन्दिर प्रवेश गर्दा भक्तजनहरुले मित्रपार्क, पिगंलास्थान र जयवागेश्वरीको रुट प्रयोग गर्न सक्नेछन् । भित्र गएपछि जुत्ता, चप्पल राखे पश्चात उक्त ३ वटा लाईन ६ वटामा विभाजित हुनेछन् । भक्तजनहरुलाई पासको व्यवस्था गरिएको छैन । स्वयम् सेवक तथा भोजनका लागि भने परिचय पत्रको व्यवस्था गरिने छ । सधैजसो लाईन लामो हुने भएकाले कतिपय दर्शनार्थी मन्दिर बाहिरबाटै फर्किन्छन् । सोही कुरालाई ध्यानमा राखेर झुलुक्क दर्शन गरेपछि दर्शनार्थीलाई तान्ने जनशक्तीको व्यवस्था कोषले नै गरेको छ । यसरी तान्नुको संकेत भनेको सक्दो छिटो दर्शन गरेर निस्किदा राम्रो हुन्छ भन्नेमा केन्द्रित रहेको छ । दर्शन छिट्टै गराउन कोषले पहल गर्नेः दर्शनार्थीहरुले भगवान शिवको दर्शन गर्ने सौभाग्यबाट वञ्चित हुन नपरोस् भन्नेमा कोषको विषेश पहल गरेको जनाएको छ । सधैजसो लाईन लामो हुने भएकाले कतिपय दर्शनार्थी मन्दिर बाहिरबाटै फर्किन्छन् । सोही कुरालाई ध्यानमा राखेर झुलुक्क दर्शन गरेपछि दर्शनार्थीलाई तान्ने जनशक्तीको व्यवस्था कोषले नै गरेको छ । यसरी तान्नुको संकेत भनेको सक्दो छिटो दर्शन गरेर निस्किदा राम्रो हुन्छ भन्नेमा केन्द्रित रहेको छ । स्वास्थ्य सम्बन्धी व्यवस्थाहरुः काठमाडौँ उपत्यकामा रहेका सरकारी र निजी दुवै अस्पतालहरुले महाशिवरात्रीको समयमा मन्दिर परिशर भित्र उपचार सेवा प्रदान गर्ने छन् । सेवाका लागि शैया सहितका एम्बुलेन्सहरु समेत उपलब्ध हुने छन् । प्राथमिक उपचारदेखी अस्पताल लग्नु पर्ने सम्मका दुर्घटनाका लागि स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ । सुरक्षा व्यवस्थामा कडाईः ४ हजारभन्दा बढीको संख्यामा जनपद तथा ३ हजारको संख्यामा शसस्त्र प्रहरीको व्यवस्था गरिने भएको छ । साथै, बिना बर्दीका प्रहरीहरु समेत मन्दिर परिसरमा उपस्थित हुने छन् । नचाहिंदा क्रियाकलाप भएमा, त्यस्ता हर्कत गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने छन् । यात्रुवाहक सार्वजनिक सवारी साधनलाई निषेध नगरिनेः तीर्थ यात्रीहरुको सहजताको लागि महाशिवरात्रीमा रिङ्ग रोडमा चल्ने यात्रुवाहक बसमा कुनै किसिमका रोक लगाईने छैन । गत वर्ष परीक्षण गरिएको भएपनि यसपालि सोही कुराको पूर्ण रुपमा कार्यान्वयन गरिने कोषले जनाएको छ । तर, गएको बर्षभन्दा अघिल्ला बर्षमा भने महाशिवरात्रीको समयमा पशुपति क्षेत्र हुँदै चल्ने यात्रुबाहक बसलाई प्रवेश निषेध गर्ने चलन रहँदै आएको पाईन्छ । त्यस्तै, तीर्थयात्रु बोक्ने गाडीलाई मन्दिर परिसरमा आउन छुट भएपनि पार्किङ् गरेर जाम भने गर्न पाईदैन । पशुपति परिसरमा नै आवास भवन निर्माण भई सकेकाले यसपाली विदेशी तीर्थयात्रीहरुले अटेसम्म त्रिपाल भित्र रात काट्नु नपर्ने कोषले जनाएको छ । लागू औषध सेवन नगर्न कोषको आग्रहः शिवरात्रीको अवसरमा लागू औषधजन्य वस्तुको सेवन गर्न तथा ओसार पसारमा रोक लगाईएको छ । भगवानलाई सम्झेर पूजा आरधना गर्नु राम्रो भएपनि गाजाजन्य वस्तु सेवन नगर्न कोषको आग्रह रहेको छ ।

चिनियाँ सामानमाथि करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनियाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताए । दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता हुने अपेक्षा गरिएको पनि राष्ट्रपति ट्रम्पले जानकारी दिए । अर्को दुई साताभित्रै “निकै ठूलो समाचार” आउनेछ, राष्ट्रपति ट्रम्पले भने । वार्तामा थप प्रगति भएमा अमेरिकाको फ्लोरिडास्थित राष्ट्रपति ट्रम्पको मार–ए–लेगो रिसोर्टमा चिनियाँ राष्ट्रपति सीलाई भेट्ने योजना रहेको पनि ट्रम्पले बताए । आइतबार सम्पन्न भएको तर चार दिनदेखि वासिङ्टनमा जारी वार्तामा दुई मुलुकका वरिष्ट अधिकारीहरुले भाग लिए । संयुक्तराज्य अमेरिकाले वार्तामा सहमति नभए आगामी मार्च १ तारिखदेखि नै लागू हुनेगरी करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पले घोषणा गरिसकेका छन् । तर, राष्ट्रपति ट्रम्पले वार्ता निकै सन्तोषजनक रुपमा अघि बढेकाले मार्च १ तारिखको सीमालाई बढाउन आफू तयार रहेको जानकारी दिए । “चीनसँग जारी व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेकामा मलाई खुशी लागेको छ । खासगरी, चीनले बौद्धिक सम्पत्तिको संरक्षण, प्रविधि हस्तान्तरण, कृषि, सेवा, मुद्रा तथा अरु विविध विषय समेतका महत्वपूर्ण संरचनागत मुद्दामा सकारात्मक जवाफ दिएको छ,” ट्रम्पले ट्वीट गर्दै भनेका छन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि वार्तामा निकै सकारात्मक प्रगति भएको जनाएको छ । चिनीया व्यापार वार्ता प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिउ हे ले गरेका हुन् । “वार्ता निकै सकारात्मक रुपमा अघि बढेकाले सम्झौतालाई अन्तिम रुप दिन फ्लोरिडामा शिखर बैठकको तयारीमा लागेका छौं,” ट्रम्पले भने । “अमेरिका र चीनका लागि निकै सन्तोषजनक सप्ताहान्त ।” रासस/एएफपी

नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ को लागि स्वास्थ्यमन्त्री यादव भारत प्रस्थान

काठमाडौं – उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’सम्बन्धी चौथो सम्मेलनमा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्। स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिका विषयमा छलफल गर्ने ध्येयले आयोजित सो सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री, स्वास्थ्य क्षेत्रका नीति निर्माता, विज्ञहरुकाे सहभागिता रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीन दिनसम्म चल्ने सो सम्मेलनमा पहिलो र दोस्रो दिन विभिन्न देशले स्वास्थ्य सेवा प्रदान गर्न अपनाएका नीतिगत वातावरण, चिकित्सकीय पद्धति, तथ्यपरक मूल्याङ्कन, साइबर सेक्युरिटी र स्वास्थ्यमा सर्वव्यापी पहुँच र दिगो विकासको लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिकाबारे छलफल हुने मन्त्रालयले जनाएको छ। रासस

रसुवागढी नाका अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले भने-यसलाई व्यवस्थित बनाउनु पर्छ

काठमाडौँ । मुख्यमन्त्री पौडेलले नेपाल र चीनको सिमानामा रहेको रसुवागढी नाकाको अवलोकन गरेका छन् । यसक्रममा मुख्यमन्त्री पौडेलले रसुवागढी नाका, चिलिमे जलविद्युत आयोजना, ऐतिहासिक स्थल रसुवागढीको अवलोकन गरे । अवलोकनका क्रममा रसुवागढी नाकालाई व्यवस्थित बनाउनु पर्ने बताए । यसको लागि प्रदेश सरकारले संघीय सरकारसंग समन्वय गर्ने पनि उनले बताए । ऐतिहासिक रसुवागढीको संरक्षणका लागि सरकारले योजना बनाएको जानकारी दिए । गढीको सम्बद्र्धन गरी पर्यटकीय आकर्षण गर्ने योजनापनि मुख्यमन्त्री पौडेलले सुनाए । यसका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । परिवर्तित व्यवस्था अनुसार कार्यशैली परिवर्तन आवश्यकःमुख्यमन्त्री पौडेल यसैबीच, ३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेलले परिवर्तित व्यवस्थाअनुसार विकास गर्ने कार्यशैलीपनि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । उनले छिटो भन्दा छिटो विकास गर्न र विकासको गति थप बढाउन जरुरी रहेको उल्लेख गरे । रसुवामा स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुखहरुसंग भएको अन्तरक्रियामा बोल्दै उनले कामको गति कुदाउन नसके परिवर्तनको आभाष दिनपनि नसकिने बताए । उनले भने–‘हामिले व्यबस्था परिवर्तन ग¥यौ,ं त्यहिअनुसार परम्परागत शैलीलाई परिवर्तन गर्नु जरुरी छ । ’प्रदेशका १३ जिल्लाहरु मध्ये रसुवा नेपालको लाइफलाइनभएको बताउँदै मुख्यमन्त्री पौडेलले रसुवामा देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका राख्ने चीनसंगको नाका भएको बताए । दैनिक करोडौ राजश्व अशुल गर्ने जिल्ला भएकोले यहाँको सडकको बिस्तार र स्तरीकरणको बिषयमा केन्द्र सरकारसंग गम्भीरतापूर्वक कुरा गर्ने बताए । पौडेलले प्रदेश सरकारले जिल्लाको बस्तुस्थिति अनुसार प्रत्येक जिल्लालाई फरक फरक ढंगले अगाडि बढाउने बताउँदै रसुवा जिल्लालाई पर्यटकीय जिल्लाको रुपमा विकास गरिने बताए । समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन जनप्रतिनिधि तथा कर्मचारीलाई सहयोग गर्न पनि उनले आग्रह गरे । जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु शान्ति थिङ, आशामाया तामाङ, बद्री मैनाली, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैशाङ तामाङ, रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल लगायतले बोलेका थिए ।

चैत ५ गते सेन्ट्रल फाइनान्सको साधारणसभा, ७ % नगद लाभांशको प्रस्ताव पारित गरिने

काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडको चैत ५ गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभाको मिति तय गरेको हो । सञ्चालक समितिको बैठकले साधारण सभा तथा नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि फागुन २३ गते संस्थाको शेयर दाखिला बन्द(बुक क्लोज) गर्ने निर्णय समेत गरेको प्रमुख कार्यकारी अधिकृत रजोज श्रेष्ठले जनाएका छन् । सञ्चालक समितिले शिफारिस गरे अनुसार हालको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार ८ सय ५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ । साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गरिने संस्थाद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

वन तथा वातावरण मन्त्रालयबाट प्रियंका र आयुशमान अभियानकर्मीमा नियुक्त

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महा अभियानको अभियानकर्मी नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको बैंकसँगै मन्त्रिस्तरीय निर्णयले उनीहरुलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीलाई मन्त्रालयले एक वर्षका लागि नियुक्ति दिएको हो । केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उद्देश्यका साथ आयङ्का फाउन्डेशन दर्ता गरेका थिए । उनीहरुले उक्त महाअभियानको अभियानकर्मीको रुपमा आफूलाई पाउँदा खुशी लागेको बताउँदै दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । रासस