सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा काठमाडौंस्थित जरङ्खुमा
काठमाडौं । काठमाडौंको तारकेश्वरस्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुंच थप विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो १०५औं शाखा जरङ्खुमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । उक्त नयाँशाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा तथा उप–प्रमुख भवानी धिताल डोटेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवम् ब्राण्ड एम्बेसेडर द्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । शाखा कार्यालयको सो उदघाटन कार्यक्रममा कम्पनीका प्रमुखबजार व्यवस्थापन अधिकृत कवि फुयाँल, तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनोज घिमिरे, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हिरामणि घिमिरे, नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने, नगर चेम्बर अध्यक्ष रामप्रसाद महर्जन लगायत समाजकालब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो । तारकेश्वरका नगरपालिका लगायत आसपासका बासिन्दाहरुलाई स्थानीय स्तरमा नै सहज र सरल किसिमले बीमा शुल्क भुक्तानी, बीमा दाबी, बीमा योजनाहरु सम्बन्धी जानकारी लगायतका विभिन्न जीवन बीमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले शाखा संचालनमा ल्याएको हो । ब्राण्ड एम्बेसेडर मदनकृष्ण श्रेष्ठले आफ्नो जन्मथलो समेत रहेको यस स्थानमा कम्पनीले शाखा विस्तार गरी सहज तथा सुलभ रुपमा सेवा उपलब्ध गराउन लागेकोमा कृतज्ञताज्ञापन व्यक्त गरेका छन् । स–सानो बचतलाई बीमा शुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका काम गर्दै जाने तथा आर्थिक उन्नतिमा समेत मद्दत मिल्ने भनाइ ब्राण्ड एम्बेसेडर हरिवंश आर्चायको थियो । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले सिटिजन लाइफसँगको सहकार्यमा नगरवासी माझ बीमा सचेतना अभिवृद्धि गर्न तथा जीवन बीमा योजनाहरु लैजान नगरपालिकाले सकरात्मक भूमिका निर्वाह गर्ने बताए । विसं. २०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिति सशक्त बनाउन सफल भएको जनाएको छ ।
अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सेवा प्रदान गर्ने सम्झौता
काठमाडौं । अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै एनआईसी एसिया बैंकबाट अजोड इन्स्योरेन्सका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा एनआईसी. एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जानकारी दिएको छ ।
युनाईटेड इन्स्योरेन्सका ग्राहकले एसआरएल डायग्नो स्टिक्सको सेवा सुविधामा १५% छुट पाउने
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कं. (नेपाल)का ग्राहकले एसआरएल डायग्नो स्टिक्स नेपाल प्रा. लि.को सेवा सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच मंगलबार द्धिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा युनाईटेड इन्स्योरेन्सका का.मु. प्रमुखकार्यकारी अधिकृत रमेशकुमार भट्टराई र एसआरएल डायग्नो स्टिक्स नेपालका आधिकारिक प्रतिनिधि रविन्द्र रत्न तुलाधरले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएसँगै एसआरएल डायग्नो स्टिक्सबाट प्रदान गरिने सुविधाहरु ल्याब टेष्ट परिक्षण गर्दा युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरु तथा कर्मचारीहरु र निजका परिवारका सदस्यहरुले सो मात्राको छुट पाउने कम्पनीले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन
काठमाडौं । मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन आएको छ । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहितकारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको हो । यस अभियानमा हाल सम्म बैंकको मोवाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले एनटिसी, एनसिएल, स्मार्ट सेल मोवाइलमा टप अप गर्दा पहिलो पटक टप अप गरेको रकमको २० प्रतिशत क्यास व्याक प्राप्त् गर्नेछन् । यो अभियान २०७६ मंसिर १५ गते देखि लागु भई २०७६ फाल्गुन १४ गते सम्म संचालन हुनेछ । हाल सम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ्ग नलिएका वालिएर पनि कारोवार नगरेका ग्राहकहरुले यो फाईदा लिन सक्नेछन् । यसबाट ग्राहकहरुले मोवाईल रिर्चाज कार्ड किन्ने झन्झटबाट मुक्ति पाउनुको साथै नगदलाभ पनि लिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी नियुक्त भएका छन् । उनी चार वर्षको लागि उक्त पदमा नियुक्त भएका हुन् । अस्ति आइतबार बसेको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति बैठकले उनलाई सो पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । हिजो सोमबार उनले शपथ ग्रहण समेत गरिसकेका छन् । गत असोज २२ गते नेपाल सरकार अर्थ मन्त्रालयको सहसचिवबाट अवकास पाएका उनी निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्ष, राष्ट्रिय वाणिज्य बैंकको सदस्य र बीमा समितिको सदस्य बनिसकेका छन् । २०४३ सालबाट सरकारी सेवामा प्रवेश गरेका अधिकारीले जनप्रशासन र अर्थशास्त्र विषयमा स्नाकोत्तर गरेका छन् ।
जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान र वैद्यनाथ वेदविद्याश्रमलाई आर्थिक सहयोग
काठमाडौं । जनता बैक नेपाल लिमिटेडले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई ४ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद गर्ने प्रयोजनका लागि सो रकम दिएको हो । उक्त सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका हुन् । यसैगरी, बैंकले सुदुरपश्चिम प्रदेशको अछाममा रहेको श्री वैद्यनाथक्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ २ लाख ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले श्री वैद्यनाथक्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षय कोषमा जम्मा गरिनेछ ।
अंग्रेजी टिचर बन्ने रहर पालेका भुवन दाहाल बैंकर्स एसोसिएशनको अध्यक्ष पदमा सर्वसम्मत
काठमाडौंं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल नेपाल बैंकर्स एसाेसिएशनको अध्यक्ष बन्दैछन् ।अध्यक्ष पदका लागि दाहाल एक्लैको मनोनयन पत्र दर्ता भएसँगै उनी सर्वसम्मतबाट एसाेसिएशनको अध्यक्ष बन्ने भएका हुन् । यसकाे औपचारिक घोषणा भने बिहीबार हुने एसाेसिएशनको वार्षिक साधारणसभाले गर्नेछ । सर्वसम्मत भएपछि दाहालले राष्ट्र बैंकसँग सहकार्य गर्दै बैंकिङ क्षेत्रलाई बलियो बनाउन भुमिका खेल्ने बताएका छन् । उनले आफू अध्यक्ष भएपछि राष्ट्र बैंकसँग सहकार्य गर्दै उच्च मनोबलका साथ पदिय भुमिका निर्वाह गर्ने बताए । यस्तो छ दाहालको बैकिङ करियर अंग्रेजी टिचर बनेर राष्ट्रको सेवा गर्ने उच्च अभिलाशा बाेकेका दाहाल नबिल बैंकमा प्रवेश गरेसँगै उनको जीवनमा नयाँ मोड आयाे। सिन्धुली जिल्लामा जन्मेका दाहालले रौतहट चन्द्रनिगाहपुरको जनज्योति माविबाट २०४३ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । अंग्रेजी विषयका शिक्षक प्रेमनारायण चौधरीबाट प्रभावित भएर सोही विषयको शिक्षक बन्ने इच्छा पालेका दाहालको नबिल बैंक लिमिटेडबाट बैंकिङ करिअर शुरु भएको हो । २०४८ पुस ११ देखि नबिल बैंकबाट बैंकिङ करियर शुरु गरेका दाहाल २२ वर्ष विभिन्न पदमा रहेर सोही बैंकमा कार्य सम्पादन गरे । सहायक महाप्रबन्धकसम्म पुगेर उनी २०७० असार १५ गते उक्त बैंकबाट विदा भए । नबिल बैंक छोडेकै वर्ष उनी २०७० मा नै देशकै कान्छो वाणिज्य बैंक सानिमा बैंक लिमिटेडमा डेपुटी सीईओको रुपमा प्रवेश गरे । एक वर्ष डेपुटी सीईओको रुपमा काम गरेपछि उनी अहिले सानिमा बैंकमा प्रमुख कार्यकारी अधिकृत बनेर बैंक काम गरिरहेका छन् । दाहाल ६ वर्षअघि डेपुटी सीईओबाट सानिमा बैंकमा प्रवेश गरेका थिए । दाहाल हाल काठमाडौंको कपनमा बस्दै आएका छन् । बैकिङ क्षेत्रमा प्रवेश गरेपछि फाइनान्समा स्नातकोत्तर गरेका दाहालले अर्थशास्त्र र अंग्रेजी विषयमा स्नातकसम्मको अध्ययन पुरा गरेका छन् । दाहालसँग बैंकरको मात्र अनुभव नभएर शिक्षक र सरकारी जागिरको समेत अनुभव छ । एसएलसी पास गरेपछि पाटन संयुक्त क्याम्पसमा पढ्दै गर्दा खरिदारमा नाम निकालेर उनले संसद सचिवालयमा समेत केही वर्ष जागिर गरे । उनी लेखक पनि हुन् । ४८ वर्षीय दाहालले करियर शुरु गरेको यो अवधिमा बैंकमा मात्र जमेनन्, ह्याण्डबुक टु बैंकिङ, ग्लोसरी अफ बैंकिङ टम्स् पुस्तक समेत प्रकाशित गरिसकेका छन् । नरम स्वभावका दाहालको नेपाली शैक्षिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका रहेको छ । उनी त्रिभुवन विश्वविद्यालयको एकेडेमिक काउन्सिलको सदस्य, नेपाल बैंकर्स एसाेसिएशन, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको विभिन्न कमिटी, बैंकिङ नियमन ड्राफ्टिङ टास्कफोर्समा समेत सदस्यको रुपमा रहेर काम गरिसकेका छन् । घुमफिर, ट्रेकिङ, योगा तथा शिक्षण गर्न रुचाउने दाहालले आइतबार बैंकर्स एसाेसिएशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । ६ वर्षसम्म योजनाबद्ध रुपमा काम गरेर आफू कार्यरत बैंकलाई उचाइमा पुर्याएका उनले अबको केही समय बैंकका साथै एसाेसिएशनलाई समेत समय दिएर नयाँ उचाइमा पुर्याउन कसिएका छन् । साधारणतया एसाेसिएशनमा अघिल्लो कार्यकालको उपाध्यक्ष अध्यक्ष बन्ने अभ्यास भएपनि यस पटक प्राविधिक समस्याका कारण दाहाल अध्यक्ष बन्ने पक्का भएको हो । आज उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन हो । एसाेसिएशन सचिवालयका अनुसार अहिलेसम्म अरु कसैले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छैनन् । दर्ता गर्ने समय आजबाट सकिएकाे छ । अध्यक्षका उम्मेदवारी नपरेको निर्वाचन समितिका संयोजक अनिल अधिकारीले विकासन्युजलाई बताए । एसाेसिएशनको साधारणसभा पर्सी १९ गते हुँदैछ । एसाेसिएशनमा जम्मा सात जना सदस्य रहने व्यवस्था छ । माछापुच्छ्रे र सिभिल बैंकबाट प्रतिनिधित्व गरेका सदस्यले आगामी कार्यसमितिमा पनि निरन्तरता पाउने छन् । दुई कार्यकाल एसाेसिएशन कार्य समिति सदस्य बनिसकेका दाहाल २ वर्षको लागि अध्यक्ष बन्न लागेका हुन् ।
गुराँस लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा बस्नेत नियुक्त
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले भेष बहादुर बस्नेतलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । संस्थाकाे सञ्चालक समितिले मंसिर १३ गते निजलाई नियुक्त गरेकाे हाे । उनलाई १५ गतेबाट लागु हुने गरी कम्पनी सचिवको समेत जिम्मेवारी दिएको छ । स्नातकोत्तर तह उत्तीर्ण गरी विगत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत बस्नेतले २३ वर्ष स्वावलम्बन लघुवित्तमा विभिन्न तह सहित विभागीय प्रमुख सम्म र डिप्रोक्स लघुवित्तमा ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरेको लामो अनुभव संगालेका छन् । लघुवित्त क्षेत्रलाई नजिकबाट नियालेका बस्नेतले उक्त क्षेत्रको अध्ययन गरी सहायक स्तरबाट आफ्नो सेवा सुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दे निरन्तर र अविचलित भई कर्ममा विश्वास गर्ने व्यक्तिका रुपमा आफुलाई स्थापित गर्दे आएको जनाएको छ ।