विकासन्युज

४ खर्ब ८६ अर्बको वैदेशिक व्यापार, आयात ७ प्रतिशतले घट्दा निर्यात २४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । साउनदेखि कार्तिकसम्मको यो अवधिमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ३६ अर्ब २७ करोड रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात भएको छ । चालु आवको यो अवधिमा वैदेशिक व्यापारमा आयातको वृद्धिदर घट्दै गएको छ भने निर्यातको वृद्धिदर बढ्दै गएको छ । गत आवको सोही अवधिको तुलनामा आयात करिब ७ (६.९२) प्रतिशतले आयात घट्दा २३.९० प्रतिशतले निर्यात बढेको छ । गएको आवको सोही अवधिमा चार खर्ब ८३ अर्ब ७५ करोड मूल्य बराबरका वस्तु नेपाल भित्रिएका थियो भने २९ अर्ब २८ करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा वैदेशिक व्यापार ५.१६ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । कुल वैदेशिक व्यापारमा आयातको अंश साढे ९२ प्रतिशत र निर्र्यातको हिस्सा साढे ७ प्रतिशत रहेको छ । चालु आवको सो अवधिमा ४ खर्ब १४ अर्ब व्यापार घाटा रहेको छ । गत आवको सो अवधिमा यस्तो व्यापार घाटा ४ खर्ब ५४ अर्ब थियो । चार महिनाको यो अवधिमा भारतबाट सबैभन्दा बढी आयात भएको छ भने बढी आयात हुने दोस्रो सूचीमा चीन र तेस्रोमा इन्डोनेशिया परेको छ । यस वर्षको पहिलो चौमासमा भारतबाट नेपालबाट २ खर्ब ७२ अर्ब ५७ करोड रुपैयाँको वस्तु आयात भएका छ भने चीनबाट ८० अर्ब १८ करोड रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । यो अवधिमा नेपालबाट २४ अर्ब २६ करोड मूल्यका वस्तु भारतमा गएका छन् । चीनमा भने नेपालबाट ७१ करोडको वस्तु नेपाल भित्रिएको छ । यो अवधिमा इन्डोनेशियाबाट नेपालमा १३ अर्ब ५८ करोड मूल्य बराबरको वस्तु आयात भएको छ ।

नेपाल बंगलादेश बैंकद्धारा निःसहाय सेवा सदनलाई आर्थिक सहयोग

काठमाडौं। नेपाल बंगलादेश बैंकले नयाँ बानेश्वरस्थित निस्सहाय सेवा सदनलाई रु १ लाख रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको छ। बैंकले हस्तान्तरण गरेको सो रकमले सदनका नि:सहाय ज्येष्ठ नागरिकहरुका लागि आवश्यक पर्ने विभिन्न सामग्री जुटाउन उपलब्ध गराइएको हो । यो सहयोगले सदनमा आश्रित सबै ज्येष्ठ नागरिकलाई बसोबास तथा स्वस्थ उपचारमा सहज हुने सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठले जानकारी गराईन्। साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराए। बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

माछापुच्छ्रे बैंकको सबै एटिएम तथा पीओएसमा अब मास्टर कार्ड चल्ने

काठमाडौं। माछापुच्छ्रे बैंकको सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा अब मास्टर कार्ड स्वीकार हुने भएको छ । विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक मास्टर कार्डसँग आवद्ध भएको हो । अब ग्राहकले माछापुच्छ्रे बैंकको १७० भन्दा बढि एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढि प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । बैंकले छिटै नै आफ्ना ग्राहकहरुलाई मास्टर कार्ड जारी गर्ने समेत जनाएको छ । मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरुमा भीसा, यूनियन पे, मास्टरकार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सक्नेछन्। । स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोबाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ । माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।

सिभिल बैंक र हेल्भेटास स्वीसबीच सम्झौता, कृषिलाई आधुनिकिकरण गर्ने

काठमाडौं। सिभिल बैंक र हेल्भेटास स्वीस इन्टरकर्पोरेशन नेपालको सहकार्यमा प्रदेश नं.२ र कर्णाली प्रदेश भित्रका वित्तिय पहुँच नपुगेका स्थानीय निकायहरुमा वित्तीय पहुँच पु¥याउनुका साथै शीप प्रवर्धन, व्यावसायिक कृषि तथा उत्पादनमुलक तालिम प्रदान गरी उक्त क्षेत्रको कृषि व्यवसायलाई आधुनिकिकरण तथा वजारीकरण गर्ने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. भरत कुमार पोखरेलले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता अनुसार हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालले प्रदेश नं. २ र कर्णाली प्रदेश भित्रका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै कृषि वजारलाई व्यवस्थित गर्न कार्यगर्ने छ, भने बैंकले वित्तीय साक्षरता प्रदान गर्दै उक्त क्षेत्रमा शाखारहित बैकिङ्ग सेवा मार्फत बैकिङ्ग सेवा प्रदान गर्नेछ। उक्त अवसरमा बोल्दै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले यो सम्झौताले बैकिङ्ग सेवाबाट बन्चित रहेका उक्त क्षेत्रका स्थानीयलाई बैकिंङ्ग सेवा मार्फत बचत गर्ने बानीको विकास गर्ने तथा स्थानिय स्तरमा नै केहि गर्ने सोच सहित व्यवसायमा संलग्न हुने स्थानीयलाई सहज रुपमा कर्जा उपलब्ध गराई त्यस क्षेत्रको आर्थिक विकास गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए। मुलुकको विकासको निमित्त स्थानिय तहको श्रोतसाधनहरु परिचालन गर्दै स्वरोजगार क्षेत्रमा काम गर्न यस सहकार्यको महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वस्त रहेको कुरा डा. भरत कुमार पोखरेलले बताए।

लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र ह्याम्स हस्पिटल बीच शुक्रबार नगदरहित उपचार सम्झौता भएको छ । सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा लिने ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गरेमा बीमालेखले खामेसम्मको उपचार बापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी दिनेछ । यसबाट इन्स्योरेन्सका ग्राहकहरुले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपर्ने साथै हस्पिटललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएकोले त्यसबाट ग्राहकहरुलाई निकै राहत मिल्ने कम्पनीले जनाएकाे छ । सम्झौतामा कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ र हस्पिटलका तर्फबाट चिफ अपरेटिङ अफिसर श्रीमती सची रेग्मीले हस्ताक्षर गरिन् ।

नाम फोटो स्टुडियो, काम प्रहरी र सेनाको नक्कली कागजात बनाउने

काठमाडाैं । पछिल्लो समय सरकारी कागजातहरु किर्ते बनाएर अबैध धन्दा गर्ने गिरोह सक्रिय भएको छ । सरकारी कागजातहरु नक्कली बनाइ सर्वसाधारणबाट ठूलो रकम असुल गर्ने गिरोह पछिल्लो समय सक्रिय भएको हो । विभिन्न फोटो स्टुडियो, कम्प्युटर सिकाउने संस्थाका नाउँमा नक्कली कागजात बनाएर अवैध कारोबार गर्नेहरु बढ्दै गएका छन् । शुक्रबार मात्रै त्यस्तै कारोबार गर्ने तीन जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । नेपाल प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली प्रहरी रिपोर्ट, विभिन्न क्याम्पस र विद्यालयका शैक्षिक प्रमाणपत्र किर्ते बनाएर अवैध कारोबार गर्ने तीन जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी, चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती र धादिङको नीलकण्ठ नगरपालिका– ९ का मधुसुदन दवाडी रहेका छन् । सीआईबीले उनीहरुलाई बिहिबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । यी तीनै जना फोटो स्टुडियोबाट पक्राउ परेको प्रहरी उपरिक्षक वेल बहादुर पाण्डेले बताए । सुर्खेती र दवाडी फोटो स्टुडियो सञ्चालक हुन् । सुर्खेतीले सिनामंगलमा स्टार डिजिटल फोटो स्टुडियो सञ्चालन गरिरहेका छन् भने दवाडीले बसुन्धरामा दुवाडी डिजिटल फोटो स्टुडियो सञ्चालन गर्दै आएका छन् । सामाखुशी बस्ने ओखलढुंगाका तोलांगीलाई प्रहरीले गोंगबु टाउन प्लानिङबाट पक्राउ गरेको हो । उनको साथबाट महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र कालिमाटीको सिफारिस पत्र, महानगरीय प्रहरी वृत्तको खाली लेटरप्याड, जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी भएको नागरिकता, तनहुँबाट जारी भएको नागरिकता, आन्तरिक राजस्व कार्यालयको स्थायी लेखा नम्बरको प्रमाणपत्र बरामद गरेको सीआईबीले जाकारी दिएको छ । प्रहरी उपरिक्षक पाण्डेका अनुसार दवाडीको साथबाट पुलिस रिपोर्ट, प्लस टुको ट्रान्सकिप्ट, माइग्रेसन सर्टिफिकेट, शान्ति विद्यागृह विद्या गृह उच्च मावि लैनचौरको खाली सर्टिफिकेट बरामद गरेको छ । यस्तै सुर्खेतीको साथबाट प्रहरीले सशस्त्र प्रहरी बलको विशेष कार्यदल गण हलचोकको स्पेसल टाक फोर्स, सुरक्षा तालिम, तालिम, हतियार तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिमको ४ वटा प्रमाणपत्र बरामद गरेको छ । दवाडीले जोरपाटीको चामुन्डा माविको मार्कसिट, रिदी माविको चारित्रिक प्रमाणपत्र अस्फोडेल पब्लिक स्कुल, माइलस्टोन इन्टरनेशनल कलेजको शैक्षिक प्रमाणपत्र विभिन्न व्यक्तिको राहदानी नेपाली सेनाको सिफारिसपत्र बनाएका थिए । प्रहरीले उक्त प्रमाणपत्रहरु बरामद गरेको छ उनीहरुलाई लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धान सुरु गरिएको बताइएको छ । स्टुडियोको नाममा अवैध कारोबार पछिल्लो समय फोटो स्टुडियो चलाएर अवैध धन्दा गर्नेहरु बढी सक्रिय रहेको प्रहरीले जनाएको छ । सीआईबीका प्रहरी उपरिक्षक पाण्डेका अनुसार यस्ता अवैध धन्दा गर्नेहरुको सूचना धेरै आउने गरेकोले त्यस्ताको निगरानी गरेर सबैलाई कानुनको दायरामा ल्याउने बताए । व्यवासायिक धन्दाका नाउँमा अवैध कारोबार गर्नेहरुलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गर्ने सीआईबीको दावी छ । शुक्रबार सार्वजनिक भएका तीन जनालाई पनि विशेष सूचनाका आधारमा उनीहरुकै स्टुडियोमा छापामारी पक्राउ गरेको हो । यस्तो अवैध कारोबार गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखत सम्बन्धि कसुर अन्तर्गत दफा २७६ विपरित कसुर भएको हुँदा २७६ (३ को ग) बमोजिम ७ वर्ष सम्म कैद र ७० हजारसम्म जरिवाना हुने उल्लेख गरिएको छ । सीआईबीले यस्तो गैरकानुनी कार्य गर्नेलाई मात्र नभई गर्न लगाउनेलाई पनि कारबाही हुने बताइएको छ ।

मेगा बैंक बन्यो २०१९ काे ‘बैंक अफ दि इयर’

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका “दि बैंकर” ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो । लण्डनमा बिहीबार साँझ आयोजित एक समारोह बीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनुपमा खुञ्जेलीले “बैंक अफ दि एयर, २०१९” को सम्मान ग्रहण गरेका हुन् । “दि बैंकर” ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ । सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले अनवरत रुपमा ग्राहकवर्गलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै थप हौसलाका साथ अघि बढ्न यो सम्मान मेगा बैंकका लागि महत्वपूर्ण कोसेढुङ्गाको रुपमा स्थापित भएको व्यहोरा व्यक्त गरेका छन् । अध्यक्ष शाहले मेगा बैंकको सफलता एवं उपलब्धिमा आफ्नो सहयोग, साथ तथा हौसलाद्वारा महत्वपूर्ण योगदान पुर्याउने ग्राहकवर्ग, शेयरधनी, कर्मचारी, नियामक निकायहरु, सञ्चार जगत लगायत शुभेच्छुकहरुप्रति आभार र कृतज्ञता समेत व्यक्त गरे । यसैगरी, मेगा बैंककी सीईओ खुञ्जेलीले नौ वर्षको छोटो सञ्चालन अवधिमै गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरेर प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहन सफल भएकै कारण मेगा बैंकले ‘बैंक अफ दि एयर, २०१९’ को उपाधि हासिल गरेको भन्दै आगामी दिनहरुमा बैंकलाई थप सबल, समृद्ध एवं सक्षम बनाउन सबैको निरन्तर साथ र सहयोग रही रहने विश्वास प्रकट गर्दै आगामी दिनहरुमा समेत उत्कृष्ट सेवा प्रदान गर्न मेगा बैंक सदैब कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । यसै साता मेगा बैंकले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको थियो । तीब्रगतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकका १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु तथा २,५०० भन्दा अधिक मेगा रेमिटका प्रतिनिधिहरु रहेका छन् ।

९३ प्रतिशतसम्म बढ्यो कर्मचारी खर्च, आउटसोर्सिङ गर्ने बैंकहरुलाई यो वर्ष तनाव

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन खर्चमा उच्च वृद्धि देखिएको छ । नाफा आर्जनको वृद्धिदर ६ प्रतिशतको हाराहारीमा सीमित भएका बैंकहरुको कर्मचारी खर्च भने करिब २० प्रतिशत देखिएको हो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुले कर्मचारीहरुलाई ९ अर्ब ३९ करोड ६३ लाख रुपैंया भुक्तानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ७ अर्ब ८२ करोड ४६ लाख रुपैंया त्यस्तो खर्च गरेका थिए । तीन महिनाको अवधिमा २८ बैंकहरुमध्ये २४ बैंकको कर्मचारी खर्च बढ्दा ४ ओटा बैंकको खर्च भने घट्न पुगेको सम्बन्धित वाणिज्य बैंकहरुले सार्वजनिक गरेको रिपोर्टहरुमा उल्लेख गरिएको छ । यो अवधिमा सिभिल बैंकले १० करोड ५७ लाख रुपैंयाले बढाउँदा सबैभन्दा बढी ९३ प्रतिशतले त्यस्तो खर्च वृद्धि भएको देखिएको छ । उता, कृषि विकास बैंक लिमिटेडले भने अघिल्लो वर्षभन्दा ६ करोडले त्यस्तो खर्च घटाउन जाँदा सबैभन्दा बढी ८ प्रतिशतले सञ्चालन खर्च घटाउने बैंक बन्न सफल भएको छ । यो अवधिमा सिद्धार्थ बैंकको ७०.८७ प्रतिशत, नेपाल बैंकको ६१.९५, कुमारी बैंकको ५८.०६ प्रतिशत मेगा बैंकको ५७.३१ प्रतिशत तथा प्राइम कमर्शियल बैंकको कर्मचारी खर्च ५६.३० प्रतिशतले बढ्दा ६ ओटा बैंकहरुको त्यस्तो खर्च ५० प्रतिशतले बढीले बढेको छ । अघिल्लो वर्ष कर्मचारी खर्चहरुमा धेरै खर्च गरेको आरोप लाग्दै आएका कृषि विकास बैंक, एनआईशी एशिया बैंक, सेञ्चुरी कमर्शियल बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने त्यस्तो खर्चको आकार घटाएका छन् । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकको सञ्चालन खर्च १० प्रतिशत भन्दा कमले मात्रै बढेको छ । पहिलो ३ महिनामा औसत खर्च वृद्धिदर २०.०७ प्रतिशतले औसत कर्मचारी खर्च वृद्धि हुँदा औसतभन्दा धेरै कर्मचारी खर्च वृद्धि हुने बैंकको संख्या १५ ओटा छ भने बाँकी १३ ओटा बैंकको भने वृद्धिदर औसतभन्दा कम वा नेगेटिभ छ । आथि उल्लेखित बाहेक लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, एनएमबि बैंक, सानिमा बैंक, सनराइज बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक र र जनता बैंकको पनि कर्मचारी खर्च वृद्धि औसत भन्दा बढी छ । त्यस्तै, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंकको कर्मचारी खर्च वृद्धिदर भने औसत भन्दा कम छ । किन बढ्यो अत्यधिक कर्मचारी खर्च ? नेपाल राष्ट्र बैंकले कम्प्लाइन्समा गरेको बाध्यकारी खर्चको प्रावधानका कारण बैंकहरुको कर्मचारी खर्चमा यो वर्ष उच्च वृद्धि देखिएको बैंकरहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आफ्ना कर्मचारीहरु आउटसोर्टबाट भर्ना गर्न कडाइ गरेकाे थियो । यो व्यवस्थापछि बैंकहरुले आउटसोर्सबाट आपूर्ति गर्दै आएका कर्मचारीहरुलाई आफ्नै तर्फबाट नियुक्ति दिएको थियो । बैंकहरुबाट नियुक्ति पाएपछि उनीहरुको सेवा सुविधा पनि बढेकोले यस्तो खर्च बढेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत हिमालय शम्शेर राणाले जानकारी दिए । राणाले पहिलेदेखि नै आउटसोर्सबाट कर्मचारी नलिने हिमालयन बैंक जस्ता केही बैंकहरुको भने त्यस्तो खर्च धेरै नबढेको बताए । उच्च रुपमा खर्च बढेको देखिएका केही बैंकको खर्च भने मर्जर र एक्विजिसनका कारण पनि बढेका छन् । त्यसो त पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंकहरुलाई वित्तीय अपराध न्यूनीकरण, साइबर सुरक्षा तथा नविनतम बैंकिङ सेवाका लागि प्रविधिमा खर्च गर्न पनि निर्देशन दिँदै आएको छ । यसले बैंकहरुको सञ्चालन खर्च समेत बढ्दै गएको देखिन्छ ।