विकासन्युज

उपसचिव सञ्जेल भन्छन्-७० दिन मै सरुवा किन भो, अब सर्वोच्च जान्छु

काठमाडौँ । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहासमै नभएको ७० दिने सरुवा गरिएको भन्दै त्यसको विरुद्धमा आज वा भोलिभित्रै सर्वोच्च अदालत जाने घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सञ्जेलले यस्तो घोषणा गरेका हुन् । श्रम ऐन–२०७४, श्रम नियामावली-२०७५ ले निर्दिष्ट गरेको मजदुरको न्यूनतम पारिश्रमिक, महँगी भक्ता, उपचार विमा, दुर्घट्ना विमा, १० प्रतिशत सञ्जय कोष र ८.३३ प्रतिशत सामाजिक सुरक्षा कोष कट्टा नगरी श्रमिकको शोषण गर्ने उद्योगी र उनीहरुसँग साँठगाँठ गरी मजदुरको रगत कमिशन बनाएर पिउने ट्रेड युनियनका पदाधिकारीउपर कारबाही सुरु गर्दा ईतिहाँसमै कसैलाई नगरिएको ७० दिने सुरुवा गरेर हाजिर नै गर्न नदिएको र तलबसमेत रोक्का गरेपछि आफू त्यसको विरुद्धमा कानूनी उपचारको लागि अदालत जाने घोषणा गरेका हुन् । उनले भने,‘मलाई यस्तोसम्म गरेपछि बाध्य भएर जनतालाई जानकारी दिलाउने उद्देश्य र सूचनाको हकसम्बन्धी ऐन–२०६४ ले भ्रष्टाचारको विरुद्धमा सोही कार्यालयको कर्मचारीले पर्दाफास गर्नैपर्ने कानुनी दायित्व पूरा गर्नको लागि पनि मैले आज यो पत्रकार सम्मेलन गरेको हुँ ।’ निजामति सेवा ऐन–२०४९ को दफा (१८) को उपदफा (३) को खण्ड (ख) अनुसार आफूलाई मोरङमा दुई वर्ष काम गर्न दिनुपर्ने व्यवस्थाको उल्लंघन गर्दै ७० दिनमा सरुवा गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल उपर सोही ऐनको उपदफा (१२) बमोजिम विभागीय कारबाही गर्नुपर्ने समेत सञ्जेलले माग गरेका छन् । उनले भने,‘मलाई गरिएको सरुवा नै गैरकानूनी छ । सो सरुवा बदर गरि पाउँ भनेर मैले तीन पटक आधिकारिक निकाय सामान्य प्रशासन मन्त्रालयमा लिखित अनुरोध गरिसकेको छु । यो कुरा मैले खुद प्रधानमन्त्रीलाई समेत जानकारी दिएको छु । तर, आज ६५ दिन बित्दासमेत अहिलेसम्म यसबारेमा कुनै सुुनुवाई भएको छैन् ।’ आफूमाथि सरकारले नै अन्यायपूर्ण व्यवहार गरेको पनि उनले आरोप लगाए । उनले थपे,‘ममाथि गरिएको अन्यायपूर्ण व्यवहारको विरुद्धमा म आज वा भोलिभित्रै सर्वोच्च अदालत जान्छु ।’ उत्प्रेषणको आदेशद्वारा आफूलाई गरिएको सरुवा बदर गरी सचिव महेशप्रसाद दाहाललाई विभागीय कारबाही गर्नु÷गराउनु भन्ने परमादेशको आदेशसमेत नेपाल सरकार, मन्त्रिपरिषद् समेतको नाममा जारी गरी पाउँ भन्ने आफ्नो मूल माग÷दाबी रहेको पनि उनले बताए । उनले नेपालमा भ्रष्टाचारले पछिल्लो संस्थागत रुप लिएको दाबी गरेका छन् । उनले भने,‘पछिल्लो समय हाम्रो देशमा भ्रष्टाचारले सस्थागत रुप लिईसकेको छ । अब देशको भविष्यको लागि पनि भ्रष्टाचार ठूलो चूनौति भयो । यसलाई अहिले नै हामीले न्यूनिकरणको प्रयास गरेनौं भने हाम्रो देश असफल राष्ट्र हुन्छ । यो कुरा म अहिल्यै नै ठोकुवा गर्न सक्छु ।’

समायोजन रोजेका एक हजार ७५५ उपसचिवलाई पत्र दिइँदै

काठमाडौँ । समायोजन रोजेका उपसचिवलाई सरकारले आज पत्र दिइने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका एक हजार ७५५ उपसचिवलाई आज समायोजनको पत्र दिइन थालिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार सङ्घमा एक हजार ५१३, प्रदेशमा २३७ र स्थानीय तहमा पाँच रहेका छन् । ती कर्मचारीलाई मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले समायोजनको पत्र दिनेछन् । यसअघि मन्त्रालयले सचिव र सहसचिवलाई समायोजनको पत्र दिइसकेको छ । यसैगरी मन्त्रालयले अहिलेसम्म ३८ हजार ८१७ कर्मचारीलाई समायोजन गरेको छ । तीमध्ये सङ्घमा २८ हजार २५, प्रदेशमा चार हजार ८४६ र स्थानीय तहमा पाँच हजार ८३५ छन् । प्रवक्ता अधिकारीले प्राविधिकतर्फका शाखा अधिकृत र स्वास्थ्य सेवा समूहका बाहेक अरु सबैको समायोजन क्रमशः हुँदै गइरहेको बताए । यसैगरी चार हजार ७९३ शाखा अधिकृतको समायोजन गरिएको छ । तीमध्ये सङ्घमा तीन हजार ६४२, प्रदेशमा ५९३ र स्थानीय तहमा ५५८ रहेका छन् । समायोजन रोजेका शाखा अधिकृतलाई यही हप्ता समायोजनका पत्र दिइने प्रवक्ता अधिकारीले बताए । पत्र पाइसकेपछि कर्मचारी समायोजन रोजेको ठाउँमा जानुपर्ने उहाँले बताउनुभयो । करीब ८७ कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । रासस

नबिल बैंकको सेयर ११६ रुपैयाँले घट्यो, आज किन्नेले ३४ प्रतिशत लाभांश नपाउने

काठमाडौं । मंगलबार नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ११६ रुपैयाँले घटेको छ । सोमबार प्रतिकित्ता ७९४ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर मंगलबार प्रतिकित्ता ६७८ रुपैयाँमा झरेको छ । बैंकले गत वर्षको नाफा वितरणका लागि आज(मंगलबार)बाट बुक क्लोज गरेको छ । आज सेयर किन्नले गत वर्षको नाफाबाट बैंकले दिन लागेको १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी ३४ प्रतिशत लाभांश पाउने छैनन् । १२ प्रतिशत बोनस सेयरपछि नेप्सेले मूल्य समायोजन गरि यस बैंकको सेयर प्रतिकित्ता ७०८ रुपैयाँ तोकेको छ । जसको आधार मूल्य प्रतिकित्ता ११२१ रुपैयाँ रहेको थियो । त्यस्तै, नबिल बैंकको संस्थापक सेयरको मूल्य समायोजन भएर ६७० रुपैयाँ तोकिएको छ । सोमबार उक्त सेयरको मूल्य प्रतिकित्ता ७५० रुपैयाँ रहेको थियो ।

निर्जीवन बीमा कम्पनीले गरे ३० अर्ब लगानी, कुन कम्पनीको कति ?

काठमाडौ । चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीले ३० अर्ब २० करोड ३४ लाख ५ हजार रुपैयाँ बराबरको लगानी गरेका छन् । बीमा सम्बन्धी विद्यमान कानून अनुसार निर्जीवन बीमा कम्पनीहरुले क वर्गको लगानी अन्र्तगत सरकारी ऋणपत्रमा कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, ख वर्गको लगानी अन्र्तगत बाणिज्य बैकको मुद्दती खातामा कम्तीमा ३५ प्रतिशत, विकास बैकको मुद्दती खातामा बढीमा १५ प्रतिशत र सामूहिक लगानी कोषहरुमा बढीमा ५ प्रतिशत समेत गरी क र ख वर्गको लगानी कम्तीमा ६५ प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ । ग वर्गको लगानी अन्तर्गत भने बाणीज्य बैक, विकास बैक तथा वित्त कम्पनीहरुको अग्राधिकार सेयर वा ऋणपत्रमा बढीमा १० प्रतिशत तथा कुनैपनि पब्लिक कम्पनीको सेयर बढीमा १० प्रतिशत, उत्पादनशील वा राष्ट्रिय महत्वका क्षेत्रमा ५ प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था छ । हालसम्म निर्जीवन कम्पनीको संख्या २० रहेको छ । कुन कम्पनीको लगानी कति ? नेपाल ईन्स्योरेन्स कम्पनीले लिमिटेडले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १ अर्ब ६२ करोड ५६ लाख २७ हजार रुपैयाँ लगानी गरेको छ । द ओरेन्टल ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ८२ करोड ६४ लाख ११ हजार रुपैया लगानी गरेको छ भने नेशनल ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ७९ करोड ६४ लाख ५७ हजार रुपैयाँ लगानी गरेको छ । यता, हिमालयन जेनेरल ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ८५ करोड ५० लाख ३६ हजार रुपैयाँको लगानी गर्दा यूनाईटेड ईन्स्योरेन्स कम्पनी नेपालले ६९ करोड ४६ लाख ३८ हजार रुपैयाँको लगानी गरेको छ । यसैगरी प्रिमियर ईन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले २ अर्ब २३ करोड ६१ लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ भने एभरेष्ट ईन्स्योरेन्स कम्पनी लिमिटेडले ५३ करोड ६ लाख ९५ हजार रुपैयाँको लगानी गरेको छ । यस्तै नेको ईन्स्योरेन्स लिमिटेडले २ अर्ब ६६ करोड ६७ लाख ३२ हजार रुपैयाँको लगानी गर्दा सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ५ करोड ७६ लाख ५७ हजार रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, प्रभु ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३० करोड ५५ लाख ६६ हजार रुपैयाँ लगानी गरेको छ भने आईएमई ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ४ करोड ७७ लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ । प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ४७ करोड ३१ लाख २५ हजार रुपैया लगानी गर्दा शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको लगानीको हिस्सा २ अर्ब ८० करोड ५७ लाख ९४ हजार रुपैयाँ रहेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ८४ करोड ४४ लाख ६३ हजार रुपैयाको लगानी गरेको छ भने एनएलजि ईन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब १० करोड ४७ लाख ११ हजार रुपैयाँ लगानी गरेको छ । यसैगरी सिद्धार्थ ईन्स्योरेन्स लिमिटेडले २ अर्ब १५ करोड ८० लाख ८० हजार रुपैयाको लगानी गर्दा सानिमा ईन्स्योरेन्स कम्पनीले ६५ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी जेनेरल ईन्स्योरेन्स कम्पनीले ७६ करोड ६० लाख रुपैया, अजोड ईन्स्योरेन्स कम्पनीले ७५ करोड १९ लाख ४७ हजार रुपैयाँ लगानी गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले गरेको लगानी भने बीमा समितिको तथ्याङ्क सूचीमा देखिदैन ।

साेमबारकाे तुलनामा सुन प्रति तोला १ सयले वृद्धि

काठमाडौं । मङ्गलबार सुन मूल्य प्रति तोला १ सय रुपैयाँल वृद्धि भएको छ । सोमबार ६२ हजार ७ सयले कारोबार भएको सुन मङ्गलबार ६२ हजार ८ सयले बिक्री भईरहेको छ । त्यस्तै सोमबार तेजापी सुनमा प्रतितोला १ सय रुपैयाले वृद्धि भई ६२ हजार ४ सय रुपैयाँले कारोबार भएको सुन, मङ्गलबार ६२ हजार ५ सय विक्री भईरहेको छ । चाँदी भने सोमबार कै मूल्य ७८० कायम रहन सफल भएको छ ।

गेटा आँखा अस्पताल परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । कैलाली जिल्लाको गेटा आँखा अस्पताल धनगढीमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, अस्पतालका निर्देशक डा.सुरेशकुमार पन्त र नेपाल नेत्रज्योति संगका उपाध्यक्ष चक्रबहादुर सिंहद्धारा संयूक्त रुपमा औपचारिक उद्घाटन भएको हो । कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका निर्देशक डा.सुरेशकुमार पन्त र नेपाल नेत्रज्योतिसंगका उपाध्यक्ष चक्रबहादुर सिंहले अस्पतालमा आउने विरामी तथा कर्मचारीहरुका लागि वित्तिय कारोबार गर्न सहजता हुनुका साथै सुदुरपश्चिमका ९ जिल्लाबाट रकम प्राप्त गर्न र रकम पठाउनमा सहजता हुने बताए । उद्घाटन कार्यक्रममा कृषि विकास बैंक लि. कामु उप–महाप्रबन्धक चुडामणी तिम्सिना, सामान्य सेवा विभागका विभागीय प्रमुख दीर्घबहादुर अर्याल, क्षेत्रीय कार्यालय धनगढीमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

एनआईसी एशियाको ८० लाख ३१ हजार कित्ता बोनस शेयर सूचिकृत

काठमाडौँ । एनआई सी एशिया बैंक लिमिटेडको पुस ४ गते बसेको २१औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर संख्या ८० लाख ३१ हजार ११७ कित्ता शेयर फागुन ९ गते नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । सो पश्चात् बैंकको जारी तथा चुक्तापूँजी ८ अर्ब ८३ करोड ४२ लखा २८ हजार ६९८ रहेको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमा उक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयरधनीहरूमा बिज्ञप्ति मार्फत आग्रह समेत गरेको छ । बैंकको वासलातको आकार २१५ अर्ब भन्दा बढी पुगेको छ भने कूल निक्षेप करिब १७१ अर्ब पुगेको छ । बैंकको कूल कर्जा करिब १४९ अर्ब रहेको छ । हाल ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको बैंकले जनाएको छ ।

५२१ रोजगार संयोजकको छनोट, बाँकी २३२ जनाको छनौट कहिले ?

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विद्युतीय भर्ना प्रणालीमार्फत आज ५२१ रोजगार संयोजकको छनोट गरेको छ । योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निश्पक्ष र पारदर्शी ढङ्गबाट भर्ना गर्नका लागि नेपालमै पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको मन्त्रालयले जनाएको छ । कूल ७५३ स्थानीय तहका लागि भनेर रोजगार संयोजक छनोट गर्ने गरी प्रक्रिया अघि बढाइए पनि २३२ उम्मेदवारले तोकिएको अङ्क ल्याउन भने सकेन् । सो परीक्षामा उतीर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको थियो । पदपूर्ति हुन बाँकी रहेका रोजगार संयोजकका हकमा केही दिनभित्र निर्णय लिइने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहाले जानकारी दिए । उनले भने, “फाजिलमा रहेका नेपाल सरकारका कर्मचारीलाई नै जिम्मेवारी दिने की स्थानीय तहमा रहेका कर्मचारीबाट तत्कालका लागि काम गर्ने भन्ने बारेमा केही दिनभित्रै मन्त्रालयले निर्णय लिन्छ ।” विद्युतीय भर्ना प्रणालीबाट छनोट भएका तथा अन्य प्रतिस्पर्धी उम्मेदवारले प्राप्त गरेको अङ्क देखिने गरी विस्तृत विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइटमा राखिएको मन्त्रालयले जनाएको छ । रोजगार संयोजकको छनोटका लागि श्रम मन्त्रालयका सविचको संयोजकत्वमा लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव संलग्न पदपूर्ति निर्देशक समितिको गठन गरिएको थियो । अन्तिम छनोटमा परेका उम्मेदवारलाई योग्यताक्रम अनुरुप आफूले रोजेको स्थानीय तहमा काम गर्न छनोटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी खटाइने कार्यक्रममा संयोजक दाहाल बताए । रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारले यसअघि नै प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिसकेको छ । छनोट भएका रोजगार संयोजकले प्रत्येक स्थानीय तहमा रहेका बेरोजगारको सङ्ख्या, रोजगारी उपलब्धताको अवस्थाका बारेमा अध्ययन गरेर बेरोजगारलाई रोजगारीको अवसर उपलब्ध गराउन सहजीकरण गर्नेछन् । रोजगार संयोजक पदपूर्तिका लागि गत माघ ४ देखि १८ गतेसम्म अनलाइनमार्फत आवेदन माग गरिएको थियो । सो अवधिमा प्राप्त भएका २३ हजार ९८६ आवेदनमध्ये दुई हजार २६५ उम्मेदवार प्रारम्भिक योग्यता क्रममा छानिएका थिए । प्रारम्भिक योग्यता क्रममा छानिएका उम्मेदवारबीच अन्तिम छनोटका लागि शनिबार र आइतबार अनलाइन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिइएको संयोजक दाहालले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागनु १ गते बेरोजगार युवालाई आन्तरिक श्रम बजारमा एक आर्थिक वर्षमा कम्तिमा १०० दिनको रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को घोषणा गरे । सरकारले १०० दिनकोे रोजगार प्राप्त गर्न नसक्ने बेरोजगार युवालाई रोजगारी पाउन नसकेको दिनको पारिश्रमिक बराबरको ५० प्रतिशत रकम निर्वाह भत्ता उपलब्ध गराउने घोषणा गरिसकेको छ । रासस