विकासन्युज

इराकमा भ्रष्टाचार विरोधी प्रदर्शन जारी: थप १५ को मृत्यु, १०० घाइते

बग्दाद । इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु एक सय भन्दा बढी घाइते भएको जनाएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने धिकार प्रान्तमा घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । “पछिल्लो विवरण अनुसार थप १५ प्रदर्शनकारी मारिएका छन्, अरु एक सय भन्दा बढी घाइते भएका छन्, भने कैयौलाई अश्रुग्याँसको असर परेको छ,” नाम सार्वजनिक नगर्ने सर्तमा एक स्वास्थ्यकर्मीले भने । धिकारको राजधानी सहर नासिरियाहमा पछिल्ला केही दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झडप हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । प्रदर्शन अनियन्त्रित भएपछि धिकार राज्यका प्रहरी प्रमुख मोहम्मद अल कुरैसीले पदबाट राजिनामा दिए । धिकारका गभर्नर अदेल अल डुखैलीले नासिरियाह सहरमा भएको मानवीय क्षतिका कारण उहाँले राजिनामा दिएको उल्लेख  गरे । केन्द्रीय राजधानी बग्दादसहित धेरै सहरमा आम प्रदर्शन जारी रहेको छ । गत अक्टोबरको सुरुदेखि इराकमा प्रदर्शनका घटना भइरहेको छ । प्रदर्शन चर्किदै गएपछि इराकका प्रधानमन्त्रीले राजिनामाको घोषणा गरेका छन् भने देशमा राजनीतिक अन्यौल थप बढेको छ । रासस/सिन्ह्वा

कुपिन्टारमा एक करोड ८२ लाखको सिँचाइ आयोजना शुरु

काठमाडौं । काभ्रे जिल्लाको महाभारत गाउँपालिका–२ कुपिन्टारस्थित प्रदेश सरकारको सहयोगमा एक करोड ८२ लाख रुपैयाँको सिँचाइ आयोजना निर्माण शुरु भएको छ । करीब ३०० हेक्टर खेतीयोग्य जमीनमा सिञ्चित गर्ने उद्धेश्यले चमेरो ओढार सिँचाइ आयोजना तयार गरी प्रदेश नं ३ सरकारको बजेट सहयोगमा काम थालिएको हो । “सिँचाइ आयोजनाका लागि प्रदेश सरकारले एक करोड ८२ लाख रुपैयाँको योजना स्वीकृत गरी काम अगाडि बढिसकेको छ”, प्रदेशसभा सदस्य रत्न ढकालले भने, “सो आयोजनाबाट करीब ३०० हेक्टर जमीन सिञ्चित हुने र २०० घरधुरीका किसान लाभाविन्त हुनेछन् ।” प्रदेश सरकारको ठूलो आयोजना भएको र त्यसबाट किसानले फाइदा लिन सहज हुनेछ । किसानलाई सेवा पुर्याउन गाउँपालिकासँग समन्वय गरेर निर्माण ठेक्का जिम्मा लिने ठेकेदारसँग समयमै काम सम्पन्न गर्न घच्घच्याइएको छ । आयोजना उपभोक्ता समितिका सचिव मानबहादुर घिसिङले कृषि उत्पादनका हिसाबले सबैखाले अन्नबाली र तरकारी उत्पादन हुने ठाउँमा पहिला सिँचाइ अभावका कारण दुई बाली मात्रै लाग्ने भएकामा अब सबै प्रकारका अन्नबाली उत्पादन गर्न मद्दत पुग्ने बताए । “आलुबाली, धान, कोदो, कफीखेती, अलैँचीलगायत बेमौसमी खेती गर्न यहाँका किासनलाई धेरै सहयोग पुग्नेछ”, घिसिङले भने, “पानीकै अभावका कारण मकैबालीसमेत भनेको बेलामा लगाउन पाउने अवस्था थिएन ।” कृषि उत्पादनको उर्वरभूमि कुपिन्टार र सोक्तेल लगायतका ठाउँमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले भइरहेको कामको अहिलेसम्ममा उपभोक्ताबाट गर्नुपर्ने काममध्ये २६ लाख ६२ हजार रुपैयाँको काम भइसकेको जानकारी दिए । निर्माणका लागि आवश्यक पर्ने सामग्री सबै ल्याइसकेकाले उपभोक्ता समितिबाट गर्नुपर्ने काम यही महिनाभित्रमा निर्माण सम्पन्न गरिसक्ने जनाए । सो सिँचाइ कुलो निर्माणका लागि ठेक्काको काम पाएका निर्माण व्यवसायी दावा घिसिङले विसं २०७५ असार ३० गते सम्झौता भएर सामान ल्याउने काम भइसकेकाले तोकिएको समयमै काम सम्पन्न गर्ने बताए। “सम्झौताअनुसार आगामी २०७७ असार मसान्तसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने छ, त्यो समयभित्रमा सम्पन्न गरिसक्छौँ”, घिसिङले भने, “मुहानदेखि सिञ्चित ठाउँसम्म पुग्न साँढे चार किलोमिटरको कुलो निर्माण गर्नुपर्नेमा केही भाग उपभोक्ता समितिले र बाँकी काम ठेकेदारले गर्नुपर्नेछ ।” करीब तीन किलोमिटर ढलान र ‘स्ल्याव’ निर्माण गर्नुपर्ने र ६०० मिटर पाइप हाल्नुपर्ने घिसिङले बताए। त्यसका लागि आवश्यक पर्ने सामान उपलब्ध गरिसकेकाले अब छिट्टै कार्य अगाडि बढाउने उनले भने। सो आयोजना सम्पन्न भएपछि त्यहाँका किसानको अर्थोपाजर्नमा वृद्धि हुने अपेक्षा गरिएको छ । रासस

होण्डाको ‘डिओ’ र ‘एभिएटर’ मध्ये कुन किन्दा राम्रो ? यस्ता छन् फरक

काठमाडाैं । होण्डाले नेपाली बजारको स्कुटर सेग्मेन्टमा एकछत्र राज गरेको छ भन्दा फरक नपर्ला । ‘एभिएटर’ र ‘डिओ’ त्यस्ता दुई स्कुटरहरु हुन् जुन नेपालमा होण्डाका विशेष रुचाइएका स्कुटरमध्येमा पर्दछन् । आज हामी यिनै दुई स्कुटरहरु विच रहेका भिन्नताहरुलाई उजागर गर्न गइरहेका छौं, जसले अवश्य पनि तपाईंलाई उपरोक्त दुई स्कुटरहरुमध्ये कुनै एकचयन गर्नुपर्ने अवस्थामा सहयोग पुर्याउने छ । इञ्जिन एभिएटरमा १०९.१९ सीसीको इञ्जिन दिइएको छ जसले ८.०३ पीएसको पावर र ८.९४ एनएमको टर्क प्रोड्युस गर्दछ । डिओमा पनि १५९.७ सीसीकै इञ्जिन दिइएको छ तर यस इञ्जिनले ८.११ पीएसकोपावर र ८.९१ एनएमको टर्क प्रोड्युस गर्दछ । डाइमेन्सन एभिएटरको सिट हाइट७९० मिलिमिटरको छ भने डिओको चाहिँ ७६५ मिलिमिटरको रहेको छ । त्यसैगरी एभिएटरको ग्राउण्ड क्लियरेन्स १४५ मिलिमिटर छ भने डिओको चाहिँ १५८ मिलिमिटर छ । एभिएटरको कर्ब वेट १०६ के.जी. छ भने डिओको चाहिँ १०४ के.जी. रहेको छ । त्यसैगरी एभिएटरको फ्युल ट्याङ्क क्यापासिटी ६ लिटरको रहेको छ भने डिओको चाहिँ ५.३ लिटरको रहेको छ । ब्रेक र सस्पेन्सन होण्डाले उपरोक्त दुवै स्कुटरहरुको अगाडि र पछाडि ड्रम ब्रेक दिएको छ । त्यसैगरी सस्पेन्सनको कुरा गर्नुपर्दा एभिएटरको अगाडि तर्फ टेलिस्कपिक फर्क र पछाडितर्फ चाहिँ स्प्रिङ लोडेड हाइड्रोलिक शक दिइएको छ भने डिओको दुवैतर्फ स्प्रिङ लोडेड हाइड्रोलिक सस्पेन्सन नै जडान गरिएको छ । दुवै स्कुटरहरुमा मजबुत ब्रेकिङ्गको लागि कम्बी ब्रेक सिस्टम समावेस गरिएको छ । टप स्पिड र माइलेज होण्डाका अनुसार एभिएटरले ६० केएमपीएल माइलेज प्रदान गर्दछ भने डिओले चाहिँ ५५ केएमपीएलको माइलेज प्रदान गर्दछ । त्यसैगरी एभिएटरको टप स्पिड ८२ केएमपीएच रहेको छ भने डिओको चाहिँ ८३ केएमपीएच रहेको छ । मूल्य होण्डा टू ह्वीलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपाली बजारमा एभिएटरको मूल्य दुई लाख नौ हजार नौ सय रुपैयाँ तोकेको छ भने डिओको चाहिँ दुई लाख दुई हजार नौ सय रुपैयाँ तोकेको छ । त्यसैगरी, डिओकै अर्को भेरियन्ट ‘डिओ डिजिटल’ को मूल्य भने दुई लाख सात हजार नौ सय रुपैयाँ तोकिएको छ ।

पर्यटक लक्षित होटल खुल्ने क्रम बढ्दो

काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुनैलाग्दा पर्यटकलाई लक्षित गरेर होटल तथा घरवास खुल्ने क्रम बढेको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बेला पर्यटन विभागमा चालू आर्थिक वर्षमा मात्र १८ नयाँ घरवास तथा होटल खोल्नका लागि दर्ता भएका छन् । विभागका अनुसार पाँचतारे चार, चारतारे तीन, एकतारे एक, पर्यटक स्तरका सात र होमस्टे तीन वटा बनाउनका लागि विभागमा दर्ता भएका हुन् । तीनतारे होटल भने गत आर्थिक वर्षको तुलनामा पाँच घटेका छन् भने दुईतारे होटल एक पनि दर्ता भएका छैनन् । नयाँ होटल तथा घरवास दर्ता भएसँगै अब नेपालमा पर्यटकस्तरका ९२३ होटल तथा घरवास हुनेछन् जसमा पाँचतारे १५, चारतारे १३, तीनतारे ३३, दुईतारे ४३, एकतारे ३५, पर्यटकस्तरका ५२७ र घरवास २५७ रहेका छन् । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे भ्रमण वर्षको तयारीसँगै पर्यटकीयस्तरका होटल तथा घरवासमा लगानी गर्नेको सङ्ख्या पनि बढिरहेको बताए । कतिपय होटल भने प्रदेशस्तरमा दर्ता भएर सञ्चालनमा आउने तयारी भइरहेको विभागले जनाएको छ । गत आर्थिक वर्षमा मात्र ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । सरकारले राखेको लक्ष्यअनुसार विदेशी पर्यटक नेपाल आए होटल अपर्याप्त हुने व्यवसायीले बताएका छन् । रासस

१३ लाखसहित दुईजना हुन्डी कारोबारी पक्राउ

काठमाडौं । भारतबाट अवैध रुपमा नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक भारतीयसहित दुईजना हुन्डी कारोबारीलाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला लौकाहाबाट लुकाई छिपाई ल्याउँदै गरेको नेपाली रूपैयाँ १३ लाखसहित प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका–४ बाट स्थानीयवासी २६ वर्षीय रामशङ्कर यादव र भारत विहार मधुबनी जिल्ला लोकहा निवासी २८ वर्षीय अशोककुमार झालाई पक्राउ गरेको हो । भारतको लौकाहाबाट बिआर३२एच ०३३५ नंको मोटरसाइकलमा आउँदै गरेका दुबैलाई रोकेर चेकजाँच गर्ने क्रममा अवैध रकमसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । पक्राउ परेको यादव र झा व्यावसायिक हुन्डी करावारी रहेको प्रहरीको दाबी छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । रासस

मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा, सित्तैमा युट्युब भिडियो हेर्न सकिने

काठमाडौं । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन् । यो योजना यहि मंसिर १३ गते शुक्रबारदेखि लागू भएको छ । यस योजना अन्तर्गत मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आईफ्लीक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यो योजना अन्तर्गत प्लान १९९ र प्लान २९९ सुचारु गर्नुहुने ग्राहकले बोनस स्वरुप १ जिबी र ३ जिबी डेटा प्राप्त गर्नेछन् । त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्नुहुने ग्राहकले बोनस स्वरुप ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन् । त्यस्तै प्लान ९९९ सुचारु गर्नुहुने ग्राहकले थप २५ जिबी डेटा प्राप्त गर्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप यस योजना अन्तर्गतको भिडियो बोनस भिडियो डेटाले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । एनसेलको मेरो प्लान अन्तर्गत प्रिपेड ग्राहकले बिना कुनै झन्झट कुनै पनि समय एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्नेछन् । यस बाहेक, ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स ३०२ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार मेरो प्लान सुचारु गरि योजनाको मजा लिन सक्नेछन् ।

यो हो नेपालमा पाइने होण्डाको सबैभन्दा सस्तो कार, खरिदमा थप सवा लाख छुट

काठमाडाैं । होण्डा कारको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले हाल नेपाली बजारमा बिक्री गरिरहेको मोडेलहरु मध्येमा सबैभन्दा कम मूल्य पर्ने कारको रुपमा रहेको छ ‘अमेज’ । यसको बेस भेरियन्ट ‘अमेज एसएमटी’ को मूल्य ३५ लाख ६५ हजार रुपैयाँ रहेको कम्पनीले बताएकाे छ । यस सेडानका फिचरहरुको रुपमा आउटसाइड रियर भ्यू मिरर्स, फ्रन्ट फग ल्याम्प, शार्क फिन एन्टेना, सबै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, शोफिस्टिकेटेड ड्यास बोर्ड, मल्टि फङ्सन स्टेयरिङ्ग ह्वील, अटोमेटिक एयर कण्डिस्नर, इञ्जिन स्टार्ट/स्टप बटन, १२ भोल्टको व्याट्रीजस्ता विशेषताहरु रहेका छन् । त्यसैगरी अमेजको सेफ्टि फिचरहरुको रुपमा एयरब्याग्स्, एबीएस सिस्टम, ईबीडी सिस्टम, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लक, ड्राइभर सिट बेल्ट रिमाइन्डर लगायत रहेका छन् भने कम्फर्ट फिचरका रुपमा चाहिँ फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्न मिल्ने ड्राइभर सिट, एडजस्ट गर्न मिल्ने हेड रेस्ट, कप होल्डर लगायत रहेका छन् । यस सेडानमा ११९९ सीसी ४ सिलिण्डर एसओएचसी पेट्रोल इञ्जिन समावेस छ जसले ८९ बीएचपीको पावर र ११० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी, यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १९.५० केएमपीएल माइलेज प्रदान गर्दछ । ५ सिटर यो सेडानको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३९९५ मिलिमिटर, चौडाई १६९५ मिलिमिटर र उचाई १४९८ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटर छ । त्यसैगरी, ४५ लिटरको फ्युल ट्याङ्क क्यापासिटी र ४२० लिटरको बुट स्पेस रहेको यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् । स्याकार होण्डाले जनाए अनुसार अहिलेको अफर अनुसार यस कारको खरिदमा एक लाख २५ हजार रुपैयाँ नगद छुटको व्यवस्था रहेको छ । हाल नेपाली बजारमा अमेजका एसएमटि, भिएमटि, भिएक्सएमटि, एससिभिटि र भिसिभिटि गरी ५ अलग भेरियन्टहरु उपलब्ध भइरहेका छन् । कम्पनीले अमेजको टप भेरियन्ट ‘भिसिभिटि’ को मूल्य चाहिँ ४२ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा बाग्लुङ्गमा अभिकर्ता कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाग्लुङ्गमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले मंसिर १३ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।