विकासन्युज

५ प्रतिशत ब्याजदरमा ५ अर्बको रिपो अक्सन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैंया बराबरको रिपो बिक्री गरी बैंकिङ तरलता प्रशोचन गर्ने भएको छ । बैंकले दुई हप्ता अवधिको उक्त रिपो बुधबार ३ बजे अक्सन गर्ने भएको हो । उक्त रिपो फागुन २९ गते परिपक्व हुनेछ । उक्त अक्सनमा ५ प्रतिशतको निश्चित ब्याजदर तोकिएको छ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर लागु गरेसँगै ५ प्रतिशतको नीतिगत दरमा रिपो बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले हाल ३.५ प्रतिशत न्यूनतम र ६.५ प्रतिशत अधिकतम ब्याजदर सहितको स्थिर प्रकृतिको ब्याजदर करिडोर लागु गरेको छ । माथिल्लो सीमामा राष्ट्र बैंकले स्थायी तरलता सुविधा उपलब्ध गराउँछ भने तल्लो सीमामा बजारबाट तरलता खिच्ने काम गर्छ । हाल औसत भारित अन्तरबैंक ब्याजदर ५ प्रतिशतको निन्दुबाट उकालो लागेसँगै नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्न लागेको हो ।

ब्रोकरलाई आन्दोलन नगर्न बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालको सेयर बजारको समस्यालाई लिएर आन्दोलन नगर्न दलाल व्यवसायी(ब्रोकर) हरुलाई आग्रह गरेको छ । बोर्डले मंगलबार एक विज्ञप्ति मार्फत पूँजीबजार सम्बन्धी कार्यदलको सुझाव अनुसार नेपाल सरकार र बोर्ड समस्या समाधान गरी बजारको सुधार गर्ने क्रममा रहेकोले यस विषयमा आन्दोलन गरेर ठूलो नबनाउन व्यवसायीहरुलाई आग्रह गरेको हो । साथै, व्यवसायीहरुले गर्नेे आन्दोलनले प्रत्यक्ष रुपमा लगानीकर्ताहरुलाई असुविधा भई बजारमा थप समस्या सिर्जना हुनुका साथै राष्ट्रिय विकासको काममा समेत अवरोध हुने बोर्डले जानकारी गराएको छ । यसकारण बोर्डले सम्वन्धित पक्षहरुलाई संयमित भई आफ्नो व्यवसायिक मर्यादा कायम राखी पूँजी बजारको विकास र विस्तारमा सहयोग गर्न आग्रह गरेको छ । नियामक निकायको तर्फबाट बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले धितोपत्र दलाल व्यवसायीहरु प्रतिस्पर्धी हुनुपर्ने, व्यवसायको पहुँच विस्तार गर्नुपर्ने लगायतका धितोपत्र व्यवसाय तथा बजार विकास तथा विस्तारका सम्वन्धमा दिएका अभिव्यक्तिलाई अन्यथा रुपमा नलिन बोर्डले बताएको छ । बोर्डका अध्यक्ष कार्कीले गत फागुन ७ मा प्रतिनिधि सभाको अर्थ समितिले आयोजना गरेको पूँजी बजारमा देखिएको समस्या सम्वन्धी छलफल कार्यक्रममा सो कुरा बताएका थिए । देशमा आएको राजनैतिक स्थायित्वसँगै ब्रोकरसहित बजार सहभागीहरुको सहयोगमा हाल पूँजीबजारका विविध पक्षहरुको सुधार र विकास भइरहको छ । साथै, बजार सुधारको लागि थप स्वायत्तता प्रदान गरी यसको काम कारवाहीलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले धितोपत्र सम्वन्धी ऐन, २०६३ को संशोधन प्रक्रिया अगाडि बढाइसकेको बोर्डले जनाएको छ । साथै, बोर्डले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने कार्र्य कार्यान्वयनमा ल्याउन नेप्से र ब्रोकरलाई निर्देशन दिइएको छ । सो कार्यान्वयनमा आउन लागेको, धितोपत्र दलाल व्यवसायी संस्थालाई सुदृढ गर्दै काठमाडौं उपत्यका बाहिर ४१ स्थानमा शाखा खोल्न स्वीकृत दिइएको तथा अन्य आठ ठाँउमा शाखा खोल्न पूर्व स्वीकृति दिइएको छ । त्यस्तै, अन्य जिल्ला र स्थानहरुमा नियामक निकायहरुको संस्थागत तथा प्राविधिक क्षमता, धितोपत्र दलाल व्यवसायीको क्षमता तथा आर्थिक सक्रियताको हिसावले प्रतिस्पर्धात्मक र गुणात्मक रुपमा अगाडि बढाइरहेको छ ।ब्रोकरलाई धितोपत्र व्यापारी (डिलर) को रुपमा कार्य गर्ने सम्वन्धमा नियमावली संशोधनको प्रक्रिया अगाडि बढाई सम्वद्घ पक्षहरुको राय सुझावको लागि अनुरोध समेत गरेको बोर्डले जनाएको छ । यसरी बजारको विकास र विस्तार तथा देखिएका व्यवसायिक समस्याहरुको समाधानको लागि विभिन्न छलफलबाट त्यसलाई निराकरण गर्न बोर्ड सधै तयार रहेको विज्ञप्तिमार्फत जानकारी गराएकाे छ ।

पाकिस्तानी सीमाभित्र हवाई आक्रमण, सीमा उल्लङ्घन भयोः पाकिस्तान

इस्लामावाद । भारतीय हवाई सैन्यले भारत-पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान-अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिए । उनले पाकिस्तानी सैनिक विमानले तत्काल उक्त क्षेत्रमा उडान भर्नासाथ भारतीय सैनिक विमान फर्किएको पनि बताए । उनले ट्वीट गर्दै भने-भारतीय सैनिक विमानले भाग्नेक्रममा हतारमा बालाकोट नजिक केही बम खसालेको भेटिएको छ । तर यसबाट धनजनको क्षति भएको छैन । भारत र पाकिस्तानबीच हालैका दिनमा बढिरहेको विवादका बीच मङ्गलबार बिहान यो घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई देशबीच तनाव उत्पन्न भएको छ । सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ । तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ । मङ्गलबार बिहानको सो विमान पाकिस्तानको मुजफ्फरावाद क्षेत्रबाट पाकिस्तानतर्फ प्रवेश गरेको थियो । मुजफ्फरावाद पाकिस्तान प्रशासित काश्मिरमा पर्दछ । तर सो विमान प्रवेश गरेर तुरुन्तै फर्किएको र त्यसबाट कुनै पनि मानवीय या भौतिक क्षति भने नभएको पनि उनको भनाई छ । यसैबीच, भारतले काश्मिरी पृथकतावादी र अरु लडाकू लुकेर बसेको आशङ्कामा लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तान–अधीनस्थ क्षेत्रमा हवाई कारबाही गरिएको जनाएको छ । यो हमलाबाट कैयौं आतङ्ककारी शिविरहरु ध्वस्त भएको भारतका कृषि राज्यमन्त्री गजेन्द्रसिंह सिखावतले पुष्टी गर्नुभएको छ । भारत–अधीनस्थ काश्मिरमा आत्मघाती आक्रमणमा ४० जना भारतीय अर्धसैनिक बलको मृत्यु भएपछि पहिलो पटक भारतले पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको पनि मन्त्री सिखावतले बताए । भारत सरकारले यसअघि नै भारतीय सुरक्षाफौजमाथि आत्मघाती आक्रमण गर्नेमाथि फौजी कारबाही गर्न भारतीय सेनालाई पूर्ण अख्तियारी दिइसकेको छ । काश्मिरमा सङ्घर्सरत मौलाना अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद समूहले आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ । मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तान विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब सिर्जना गरिरहेको छ । रासस/सिन्ह्वा/एएफपी

हनुमानढोका दरबार क्षेत्रको रहेको आगम्छेको पुनर्निर्माण स्थानीय समुदायमार्फत

काठमाडौं । हनुमानढोका दरबार परिसरमा रहेको आगम्छे मन्दिरको पुनर्निर्माण स्थानीय समुदायमार्फत् गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत् मन्दिरको पुनर्निर्माण कार्य अघि बढाउन जनप्रतिनिधिहरु, स्थानीय समुदाय र जापान सरकार सहमत भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लामो पहलपछि सबैपक्षबीच सहमति जुटेको भन्दै अब मन्दिरको पुनर्निर्माण कार्य अघि बढ्ने विश्वास व्यक्त गरे ।  उनले निर्देशक समिति, प्राविधिक समिति र उपभोक्ता समिति गठन हुने जानकारी दिँदै धार्मिक मान्यताको सम्मान एवं परम्परागत शैली, प्रविधि र स्थानीय सामग्रीको प्रयोग गरि नेपाली कालिगढले नै मन्दिर पुनर्निर्माण गर्ने बताए । संघीय संसद्का सांसद कृष्णगोपाल श्रेष्ठले दीक्षित भएकाबाहेक मन्दिरमा कोही पनि प्रवेश गर्न नमिल्ने बताउँदै मन्दिरको पुनर्निर्माणमा आर्थिक पारदर्शिता कायम गर्नु पर्नेमा जोड दिए ।  प्रदेशसभाका सांसद राजेश शाक्यले स्थानीय समुदायलगायत सबैको साथ लिएर आगम्छे मन्दिरको पुनर्निर्माण कार्यलाई अघि बढाउने बताए । भूकम्पपछि क्षति भएका संरचनाहरु पुनर्निर्माण गर्ने क्रममा आगम्छे मन्दिरको पुनर्निर्माणको जिम्मा जापान सरकारलाई प्रदान गरिएको थियो । यसअघि, मन्दिरको पुनर्निर्माण जाइकामार्फत गरिने भएपछि जनप्रतिनिधि, स्थानीय समुदाय लगायतले त्यसप्रति असहमति जनाएकाले पुनर्निर्माण कार्य अवरुद्ध भएको थियो ।

महालक्ष्मीले गर्यो सरसफाई र बैंकिङ कारोबार सम्बन्धी चेतनामूलक कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. नयाँबजार शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । “सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान सोहखुट्टेबाट सुरु भई बालाजुमा आएर समापन भएको थियो । कार्यक्रममा बैंकका प्रतिनिधिहरु, मनास्लु पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीहरु तथा सोह्रखुट्टे प्रहरी कार्यालयका प्रहरी प्रमुख, तथा सरसफाई अभियान्ता, सोह्रखुट्टेका स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारण माझ बंैकिङ्ग कारोबार सम्बन्धी जानकारी व्यक्त गरेका थिए । सरसफाई कार्यलाई नै लक्षित गर्दै बैंकको कावासोती शाखाले डस्टबिन वितरण गरेको छ । शाखाले कावासोती नगरपालिकाको वार्ड नं १२, धनन्चल स्थित शिव माध्यमिक विद्यालय तथा कावासोती टोल सुधार समिति गरी तीन ठाउँमा कुल ३० वटा डस्टबिन वितरण गरेको छ ।

मुख्यमन्त्री पौडेलले भने-उद्योग ग्राम स्थापना गर्ने सरकारको योजना अब अघि बढ्छ

काठमाडौँ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय र उद्योग ग्राम स्थापना गर्ने सरकारको योजना कार्यान्वयनमा लैजाने बताएका छन् । उनले राजनीति पैसा कमाउने थलो नभएको बताउँदै केही जनप्रतिनिधि ठेकेदारको रुपमा प्रस्तुत भएको गुनासो आएको बताए । नुवाकोटमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले भने-पैसा कमाउने भए ब्यापार गर्नुस् राजनीति हैन। राजनीति नितान्त सेवा गर्नका लागि भएको उनको भनाई थियो । मुख्यमन्त्री पौडेलले तीनै तहको सरकारको समन्वय भए मात्र गन्तव्यको यात्रा तय गर्न सकिने बताए । सडक संजाललाई गाउँपालिका केन्द्रसंग जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिनु पर्ने उल्लेख गरे । पौडेलले अब पनि निर्वाहमुखी र कामचलाउ योजनालाई प्राथमिकता नदिएर जनताले परिबर्तनको अनुभूति गर्ने गरी काम गर्नु पर्ने धारण राखे । उनले नुवाकोटमा भएका सम्भावनाहरुको खोजी गरेर ती स्रोतहरुको परिचालन गर्नु पर्ने धारणा राखे ।

घरेलु उद्याेगमा विदेशी लगानी भित्र्याउने कानून आउँदै; कर चुक्ता नगरी लाभा‌ंश लैजान नपाइने

काठमाडौं । घरेलु उद्याेगमा विदेशी लगानी भित्र्याउनेगरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी विधेयकमा प्रस्ताव गरिएकाे छ । मन्त्रीपरिषद्बाट पारित भइ संसदमा दर्ता भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी विधेयकमा यसअघिकाे कानूनमा प्रतिबन्ध लगाइएकाे घरेलु उद्याेगमा विदेशी लगानी प्रतिबन्धित थियाे । विधेयकअनुसार अब विदेशी लगानीकर्ताले पर्यटन व्यवसायको क्षेत्रमा भने लगानी गर्न नपाउने भएका छन् ।  शिक्षा, भाषा, संगीत, इन्जिनियरिङ तथा कानूनी परामर्शदाता कम्पनीहरु विदेशी लगानीमा सञ्चालन गर्न नपाइने व्यवस्था गरेको हो । त्यस्तै ट्राभल एजेन्सी, होमस्टे, ग्रामीण पर्यटन लगायतका क्षेत्रमा पनि विदेशी लगानीलाई प्रतिबन्ध लगाइने व्यवस्था गरेको हो ।आमसञ्चार तथा पत्रकारितासँग सम्बन्धित कम्पनीहरु समेत विदेशी लगानीमा खोल्न प्रतिबन्ध लगाउने गरी विधेयक पारित हुन लागेको हो । यसअघिको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन २०४९ मा व्यक्तिगत सेवा व्यवसाय, हातहतियार, घरजग्गा विक्री, खुद्रा व्यापार, मनि एक्स्चेञ्ज, रेमिट्यान्स सेवा, कुरियर, क्याटरिङ जस्ता व्यवसायलाई विदेशी लगानीमा खोल्न प्रतिबन्ध लगाउने व्यवस्था थियो । हालको विधेयकले पनि त्यो व्यवस्था कायमै राखेको छ, तर यसअघि भएको सेक्युरिटी प्रेसमा विदेशी लगानी हुन नहुने व्यवस्था भने विधेयकले खारेज गरेको छ । विधेयकले लगानी गर्न दिएका क्षेत्रहरुमा लगानी गर्न विदेशमा रहेका कम्पनीहरुले नेपालमा शाखा खोल्ने सुविधा पनि विधेयकले दिएको छ । शाखा वा जुनकुनै माध्यमबाट आएको विदेशी लगानीको सीमा नतोकिने तथा व्यवसायबाट आर्जित नाफाको पुनर्लगानीका लागि थप स्वीकृति समेत लिनु नपर्ने व्यवस्था ऐनमा गरिएको छ । प्रस्तावित विधेयकले भारतीय लगानीकर्तालाई भारतीय मुद्रामै लगानी गर्ने छुट दिँदा अन्य देशका लगानीकर्तालाई भने परिवत्र्य विदेशी मुद्रामा लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । विदेशी लगानीमा स्थापित कम्पनीहरुले बिक्री, मुनाफा तथा लिक्विडेसनको अवस्थामा दायित्व भुक्तानीपछिको रकम जतिसुकै परिमाणमा पनि लैजान सकिने, तर त्यसभन्दा अघि कर तथा अन्य सम्पूर्ण सरकारी दस्तुरहरु भुक्तानी गरिसकेपछि मात्रै लाभांश लैजान पाउने व्यवस्था गरिएको छ । यसअघि त्यस्ताे व्यवस्था नहुँदा एनसेल लगायतका विदेशी कम्पनीहरुले सरकारलाई तिर्नुपर्ने कर बाँकी नै रहँदा पनि लाभांश लैजान दिने व्यवस्थाले राज्यले ठूलो क्षति व्यहोर्नुपरेको थियो । सरकारले विधेयकमार्फत् विदेशी लगानीमा स्थापना हुने कम्पनीहरुलाई एकल विन्दु सेवा उपलब्ध गराउनसक्ने व्यवस्था गरेको छ । जसबाट लगानीकर्ताले एउटै ठाउँबाट दर्ता लगायतका सम्पूर्ण कानूनी प्रक्रियाहरु पूरा गर्न सक्ने व्यवस्था हुनेछ । विदेशी लगानीमा स्थापना भएका उद्योगमा नेपालमा उपलब्ध नै नभएका उच्च प्राविधिक क्षमतायुक्त व्यक्तिबाहेक अन्य कर्मचारीहरु नेपाली नागरिक नै हुनुपर्ने व्यवस्था समेत गरिएको छ ।

नेप्से घटेर ११०० अंक नजिक, कारोबार रकम साढे १६ करोडमा सीमित

काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक घटेर ११०० नजिक पुगेको छ । केही दिनयता उतारचढाव देखिएको बजारमा मंगलबारको नेप्से ७.१७ अंकले घटेर ११०२ अंकमा अडिएको छ । बजारमा परिसूचक सँगै कारोबार रकमपनि १६ करोडमा खुम्चिएको छ । सोमबार २० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार जम्मा १६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन सोमबारको तुलनामा ४ करोड रुपैयाँ घटी हो । बजारमा कुल १६५ कम्पनीको ६ लाख ५३ कित्ता सेयर बिक्री भएको छ । सो दिन कारोबारमा आएका १० वटै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ४५ अंकले घटेर ५३०० अंकमा झरेको छ । राताम्मे भएको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ७.८५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६२ रुपैयाँ पुगेको छ । अपर तामाकोशी हाइड्रोपावरको ७५ लाख ९७ हजार कित्ता सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । मंगलबार हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ रहेको छ ।