विकासन्युज

अर्थमन्त्री डा. खतिवडाले प्रतिनिधि सभामा प्रस्तुत गरे आर्थिक कार्यविधि विधेयक

काठमाडौँ । प्रतिनिधिसभाको आज बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५’ प्रस्तुत गरेका छन् । उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकमा बहुमतले अस्वीकृत गरेको थियो । यसैगरी अर्थमन्त्री डा खतिवडाले बैठकमा प्रस्तुत गरेको ‘भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । बैठकले अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गरेको ‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रीका तर्फबाट अर्थमन्त्री डा खतिवडाले सो प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १६ गते अपराह्न १ बजे बस्नेछ । रासस

प्रियंका र आयुष्मान बने महिनावारी स्वस्छता दूत

काठमाडौं । खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ । मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच भएको सहमति अनुसार उहाँहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो । खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गरेकी थिइन् । महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको हो । मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिए । उनले महिनावारी हुँदा महिलाहरुले झेल्नुपरेका समस्याका विषयमा सबै जनाले सकारात्मक सोच राख्नुपर्ने बताए । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउने विषयमा आयंका फाउन्डेसनले महत्वपूर्ण भूमिका खेल्नेमा मन्त्रालय आशावादी रहेको बताए । मन्त्रालयका तर्फबाट यो अभियान सफल बनाउन कुनै कसर बाँकी नराख्ने सचिव शर्माको भनाई छ । कलाकार तथा अभिनेत्री प्रियंका र आयुष्मानको जोडीले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउन ठाउँ ठाउँमा खटेर आफैं लागि पर्ने प्रतिबद्धता जनाएको छ । पहिलो चरणमा उनीहरुले धनुषा जिल्लाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन् । उनीहरुले ६ वटा महिला मैत्री शौचालय बनाउने र किशोरीहरुलाई स्यानिटेशन प्याड समेत प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

एनसीसी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा विशेष छुट

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लि. र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रालि (वशुुन्धरा)बीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र चिरायु मेडिकल ईन्स्टिच्युटका तर्फवाट संचालक संजीव राजभण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले चिरायु मेडिकल ईन्स्टिच्युटका सेवामा विशेष छुट पाउने छन् । बैंकका ग्राहकले बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा उक्त छुट पाउने छन्

सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच शैक्षिक कर्जा सम्बन्धी सम्झौता, २५ लाखसम्म पाउने

काठमाडौँ । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेडबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सैनिक कल्याणकारी कोष जंगी अड्डाका  उपरथी ताराध्वज पाण्डे र प्रभु बैंक लि.का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच आज सम्पन्न सम्झौता बमोजिम नेपाल सैनिकजंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत जस्तै चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचनाप्रविधि, कृषि र पशु विज्ञान तथावन विज्ञान संकायमा स्नातकवा सो भन्दामाथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ । यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख सम्मको हुनेछ । यो शैक्षिक कर्जा सुविधा प्रभु बैंक लि.को बबरमहलस्थित मुख्य शाखा कार्यालयबाट अथवा कर्जा सुविधा लिन चाहने विधार्थीलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट उपलब्ध हुनेछ ।

बञ्चरे डाँडामा फोहर विसर्जनस्थल डिजाइनको काम सकियो, ३८ करोडमा कस्तो बन्ला ?

काठमाडौँ । शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणका लागि डिजाइन तयारीको काम सम्पन्न गरेको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल निर्माणका लागि यही फागुन अन्तिम सातासम्ममा बोलपत्र आह्वान गर्ने गरी अहिले डिजाइनको काम सकिएको जानकारी दिए । बोलपत्रको समयसीमा ३५ दिनको रहने र त्यस लगतै काम शुरु हुने उनले बताए । प्रवक्ता दवाडीका अनुसार अहिलेसम्म डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम पनि सकिएको छ । हाल फोहर व्यवस्थापन भइरहेको स्थान सिसडोलभन्दा दुई किलोमिटर पर निर्माण गर्न लागिएको दीर्घकालीन फोहर विसर्जनस्थलसम्म जान सडक विभागले बाटो निर्माणको काम गरिरहेको छ । निर्माणका लागि मन्त्रालयले ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले सो निर्णय गरेको हो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण गर्ने जिम्मा सो मन्त्रालयलाई दिएएको थियो । निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । रासस

नागबेली लघुवित्तको साधारणसभा चैत १५ गते, फागुन २९ देखि बुक क्लोज

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको आगामी नवौँ वार्षिक साधारणसभा चैत १५ गते बस्ने भएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले फागुन २९ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज गर्दै छ । उक्त सभाले सेयरधनीलाई गतबर्षको मुनाफाबाट हालको चुक्ता पुँजीको ९.३८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४९ प्रतिशत नगद लाभांश पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी १५ करोड ३२ लाख रुपैयाँ रहेका छ । बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड ७६ लाख रुपैयाँ कायम हुनेछ । साथै, उक्त पुँजीको २५ प्रतिशत अर्थात ४ः१ को अनुपातमा हकप्रद जारी गर्ने संचालक समितिको प्रस्तावलाई साधारण सभाले पारित गर्ने भएको छ । संस्थाको सभा चैत १५ गते शुक्रबार बिहान ११ः३० बजे झापाको विर्तामोडमा अवस्थित आदर्श बैंकेटमा बस्दै छ ।

पुल्चोकमा माछापुच्छ्रे बैंकको एटिएम सञ्जाल विस्तार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोक स्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिने एटिएमको औपचारिक सुरुवात गरेको छ । फागनु १४ गते ललितपुर महानगरपालिका स्थित ३. नं. वडा कार्यालय परिसरमा एटिएम सञ्चालनमा ल्याएको हो । २४ घण्टा नै रकम झिक्न सकिने उक्त एटिएमको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे । बैंकको कूल एटिएम सङ्ख्या ११५ पुगेको छ ।

कामना सेवाकोे ६८ औं शाखा जनकपुरमा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा फागुन १४ गते ६८औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको संक्षिप्त जानकारी गराएका थिए । प्रदेश नं. २ मा योसँगै ४ वटा शाखा पुगिसकेको र व्यापार बिस्तारलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरी निर्माण तथा सजावटको काम भईरहेको प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए ।