विकासन्युज

१७ औँ हस्तकला व्यापार मेला: दर्शकको घुँईचो

काठमाडौं । नेपाल हस्तकला महासङ्घको आयोजनामा राजधानीमा सुरु भएको १७ औँ हस्तकला व्यापार मेलामा दर्शकको घुँईचो लागेको छ ।महासङ्घको आयोजनामा मङ्सिर १२ देखि सुरु भएको १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगितामा दर्शकको घुँईचो लागेको हो । आज नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले मेलाको अवलोकन गरे । यस्तै, उपत्यकाभित्रका विभिन्न महानगर तथा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षले पनि मेलाको अवलोकन गरेको महासङ्घका महानिर्देशक श्रीकृष्ण पौडेलले जानकारी दिए । मेलाका अवसरमा अमूर्त सांस्कृतिक कला प्रदर्शन गरिएको थियो । यस्तै, कुमारी नृत्य प्रस्तुत गरिएका थिए । मेलामा सात प्याभिलियनसहित करीब २०० कक्ष छन् । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानका व्यापारीको पनि बिक्रीकक्ष राखिएको छ । हस्तकला प्रदर्शनी उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ–नयाँ निर्यात योग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले महासङ्घले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको छ । मेला मंसीर १६ गतेसम्म चल्नेछ ।

भ्रमण वर्ष २०२० मा सरकारको खर्च ६२ करोड, कुन शीर्षकमा कति हुँदैछ खर्च

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुरु हुन अब १ महिनामात्रै वाँकी छ । सरकारले विशेष तामझामका साथ आयोजना गर्न लागेको यो कार्यक्रमका लागि ६१ करोड ७४ लाख रुपैयाँ खर्चिने कार्यक्रम तय भएको छ । भ्रमण वर्षको संघारमै पुग्दा सरकारबाट नेपाल भ्रमण वर्ष २०२० को सचिवालयलाई २५ करोड रुपैयाँमात्रै उपलब्ध गराएको छ । नेपाल सरकार र पर्यटन बोर्डबाट प्राप्त भएको १०/१० करोड गत आवको वाँकी भएको ५ करोड गरी अहिले सचिवालयले २५ करोड रुपैयाँमा भ्रमण वर्षको तयारी शुरुवाती गरेको हो । सचिवालयले वाँकी अपुग ३६ करोड ७४ लाख रुपैयाँ अर्थ मन्त्रालयमा माग गरी पठाएको छ । स्वदेश तथा विदेशमा भ्रमण वर्ष २०२० लागि प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धन गर्न २६ करोड २५ लाख खर्च गर्ने तयारी सचिवालयले गरेको छ । नेपाल पर्यटन बोर्डसमेतको सहकार्यमा विभिन्न देशमा पर्यटकीय गतिविधि सम्बन्धि कार्यक्रम गर्ने तयारी सचिवालयले गरेको छ । भारत, चीन, युरोप, मध्यपूर्व, दक्षिण पूर्व, अस्ट्रेलिया, तथा अमेरिकामा हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम तथा पर्यटन मेलामा सहभागी भएर नेपालको पर्यटन प्रवद्र्धन गर्न चार करोड रुपैयाँ खर्च गर्न लागेको छ । विभिन्न नेपाली नियोग, दुताबास तथा गैरआवासीय नेपाली संघसँगको संयुक्त सहकार्यमा हुने कार्यक्रमलाई साढे दुई करोड रुपैयाँ छुट्टयाइएको छ । त्यस्तै सरकारी, गैर सरकारी, निजी क्षेत्र तथा वायुसेवाको माध्यमबाट भ्रमण वर्षलाई प्रमोशन र ब्रान्डिङ गर्न साढे तीन करोड रुपैयाँ छुट्याएको छ । भ्रमण वर्षको प्रचार प्रसार गर्न विभिन्न २८ देशमा नेपाली दुतावास तथा नियोगमार्फत पत्र पठाइसकेको छ । भारत, बेलायत, इटली, थाइल्याण्डलगायतका देशमा यस सम्बन्धि कार्यक्रम समेत गरिसकेको छ । यस्ता कार्यक्रममा खेल पर्यटन प्रवद्र्धन, डिजिटल मार्केट, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रवद्र्धनात्मक गतिविधि, नेपालमा हुने विभिन्न सभा समारोहसहितका गतिविधि गर्ने तयारी सचिवालयले गरेको छ । वर्षभरी गरी विभिन्न पर्यटन प्रडक्ट स्तरोन्नति तथा विकासका लागि सचिवालयले १० करोड ९० लाख रुपैयाँ खर्च गर्ने गरी बजेटका कार्यक्रम तय गरेको छ । यस्तो कार्यक्रममा नयाँ कार्यक्रमका रूपमा विभिन्न २५ वटा नयाँ पर्यटकीय उपजको विकास गर्न १ करोड ५० लाख रुपैयाँको बजेट स्वीकृत भएको छ । हिन्दु तथा बुद्ध धर्मसम्बन्धि मन्दिर गुम्बासहितको कार्यक्रम प्रवद्र्धन गर्न ‘टेम्पल स्टे प्याकेज’ बनाइने भएको छ । शिवशक्ति सर्किटको अध्ययन तथा अनुसन्धान भइरहेको छ भने कालिगण्डकी गर्जमा माउन्टेन बाइक ट्रेलसहितको कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक रोहिनी खनालले जानकारी दिए ।  नेपालमा भएका र चलेका सीमित गन्तव्यको विकल्पमा धार्मिक, साहसिक, नयाँ गन्तव्यका विकाससहितका प्रडक्ट विकास गर्दै योजना सचिवालयले बनाएको छ । भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यकाअनुसार सन् २०२० को हरेक महिना फरक–फरक कार्यक्रम गर्ने तयारीका साथ सचिवालयले बजेट तय गरेको छ । नौ वटा शीर्षकअन्तर्गत विभिन्न उपशीर्षक बनाएर उक्त खर्च गर्ने कार्यक्रम तालिका बनेको छ । आगामी पुस १ गते दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आठ वर्षको अवधिमा ५८ प्रतिशतले नयाँ सङ्क्रमण घट्याे

काठमाडौं । नेपालमा करिब ३० हजार जना एचआइभी सङ्क्रमित रहेपनि यसको सङ्ख्या घट्दो दरमा छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार सन् २०१०को तुलनामा सन् २०१८ सम्ममा ५८ प्रतिशतले नयाँ सङ्क्रमण घटेको छ । पछिल्लो समय नेपालमा कूल २९ हजार ९४४ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान छ । केन्द्रका निर्देशक डा.अनुज भट्टचनले तीमध्ये पुरुष १७ हजार ७३२ र महिला १२ हजार २१२ जना रहेको बताउँदै विश्वभर तीन करोड ७९ लाख जना एचआइभी सङ्क्रमण भएको जानकारी दिए । भट्टचनका अनुसार नेपालका वयस्क (१५ देखि ४९ वर्ष) उमेर समूहको जनसङ्ख्यामध्ये ०.१४ प्रतिशत एचआइभीबाट सङ्क्रमित भएक छन् भने ७१ प्रतिशतले बालबालिकमा हुने नयाँ सङ्क्रमणमा कमी आएको छ । केन्द्रका निर्देशक भट्टचनले एड्सको कारणले मृत्यु हुने सङ्ख्यामा पनि ३८ प्रतिशतले घटेको छ । ७६ प्रतिशत एचआइभी सङ्क्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ । नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागू पदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेशिने र जैलका कैदी रहेका छन् । यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा एचआइभी सङ्क्रमणको दर अरु जोखिममा रहेका समूहभन्दा उच्च रहेको छ । हेरचाह र सहयोगलगायत एआरभी औषधि उपचार समेतमा पहुँच बढ्दै गएको हुनाले एड्सको कारणबाट मृत्यु हुनेको सङ्ख्यामा कमि आएको उनले जानकारी दिए । केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०१९ जुलाईसम्म नेपालको कुल एचआइभी सङ्क्रमितमध्ये ६० प्रतिशत (१७ हजार ९८७ जना)ले एआरभी उपचारमा रहेका देखिएको छ । सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआइभी तथा एड्ससम्बन्धि कार्यक्रम सञ्चालनसमेत गरेको छ । निर्देशक भट्टचनले सोही कार्यक्रम सञ्चालन भएकोले एचआइभी सङ्क्रमण र एड्सबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको बताए । विश्वमा भने सन् २०१० देखि २०१८ सम्ममा विश्वव्यापीरुपमा १६ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको छ । भने ४१ प्रतिशत बालबालिकामा हुने सङ्क्रमण घटेको पाइएको छ । सन् २००४ मा सबभन्दा बढी मानिस एड्सबाट ज्यान गएको थियो । अहिले २०१८ सम्म आइपुग्दा एड्सबाट ज्यान जानेको सङ्ख्यामा पनि ५६ प्रतिशतले घटेको छ । विश्वमा सन् २०१८ सम्ममा कुल एचआइभी सङ्क्रमितमध्ये ६२ प्रतिशत ९दुई करोड ३३ लाख०ले मात्र एआरभी उपचार गराइरहेका छन् । एचआइभी र एड्ससम्बन्धि प्रभावकारी रोकथाम, हेरचार, सहयोग तथा उपचार सेवाका लागि विश्वको ध्यानाकर्षण गराउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा एड्स दिवस मनाइन्छ । यसपटक एचआइभी सङ्क्रमलाई अझै घटाउदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ समुदायको भूमिकालाई पहिचान गरी उनीहरुको भूमिका अझ प्रभावकारी बनाई एचआइभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धि कार्यक्रमलाई तीव्रता दिनका लागि यस वर्ष ‘एचआइभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ । केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले ६० जिल्लामा एचआइभी रोग नियन्त्रण गर्न उपचार केन्द्र स्थापना गरिएको जानकारी दिँदै प्रदेश र स्थानीय तहको समन्वयमा एचआइभीको उपचारलाई प्रभावकारी बनाइने बताए । यौनरोग विशेषज्ञ डा अनुप वास्तोलाले एचआइभी सङ्क्रमणलाई अझ घटाउन सुरक्षित कार्यक्रम सञ्चालन गर्ने जनाउँदै मधुमेह र उच्च रक्तचाप जस्तै एचआइभी सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने जानकारी दिए । रासस

ट्यालेन्ट शोमा ‘किड क्विन नेपाल–२०१९’का प्रतिस्पर्धि

काठमाडौं । नेप्लीज फेसन होमले आयोजना गर्दै आइरहेको बालिका तथा किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘किड क्विन नेपाल–२०१९’ का प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा प्रस्ततु गरेका छन् । शनिवार प्रज्ञा भवनमा आयोजित ट्यालेन्ट शोमा २२ जना प्रतिस्पर्धिहरुले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । प्रतियोगितामा सहभागि काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा किशोरीहरुमध्ये अधिकांशले ट्यालेन्ट शोमा नृत्य प्रदर्शन गरे । केही प्रतियोगीले गायन समेत पस्किएका थिए । प्रतियोगिहरु मध्ये इलिजा गुरुङले गुरुङ भाषाकै गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने अभिश्री तिवारीले नेवारी भाषाको गीतमा नृत्य प्रस्तुत गरिन् । निमिषा श्रेष्ठले गैरी खेतको सिरै हान्यो…गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दा सुप्रिया तामाङले जीवनका बारेमा आफ्नो मन्तब्य व्यक्त गरिन् । अदिष्टा भण्डारीले ‘नौ महिना…’ शीर्षकको गीत गाइन् भने राषु पन्तले पियानोवादनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरिन् । अन्य प्रतियोगिहरुमध्ये सान्भी बानिया“, मनिषा राई, सुप्रीया विष्ट, प्रकृना प्रधानाङ्ग, प्रँची किबानायो, स्नेहा प्रजापति, कृष्मा ढुंगाना, श्रेया जरेजु, रोषिका लामा तथा सरु खोटेजुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । स्नेहा रजकले भने कराते खेलका विभिन्न कौशल प्रस्तुत गरिन् भने निशा बिकले आफ्नै हातले बुनेको फेन्सी ब्याण्ड प्रस्तुत गरिन् । रितिका थापाले गायन प्रस्ततु गरिन् भने आयुष वाइवाले एउटा गीतमा नाट्य प्रस्तुती दिइन् । प्राध्यापक डा.विमला शाक्यको सभापतित्वमा सम्पन्न ट्यालेन्ट शोमा कराते प्रशिक्षक अशोक श्रेष्ठ, मेकअप आर्टिष्ट मञ्जु कार्की पाण्डे, सञ्चारकर्मी अरुणा भट्टराई, व्यवसायी रोशन सायमी, विज्ञापन व्यवसायी सञ्जय श्रेष्ठ, फेसन उद्यमी एलिना तुलाधर आदि निर्णायकमा रहेका थिए । ललितपुर उप महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष रविन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न भयाे । उक्त प्रतियोगिताले बालिका तथा किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने लक्ष्य लिएको आयोजक संस्थाकी निर्देश्ँक हेमा मानन्धर बताउ“छिन् । उक्त अवसरमा नेप्लीज फेसन होमले प्रकाशित गरेको नेपाल संवत ११४० को क्यालेन्डर समेत विमोचन गरिएको थियो ।

गुराँस लघुवित्तको चौथो साधारणसभाबाट ८ प्रतिशत लाभांश पारित

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा चौथो वार्षिक साधारणसभा धनकुटामा सम्पन्न भएको छ । उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, चुक्तापूँजी ७ करोड ७५ लाखको ८.०१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओमप्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा निर्वाचित गरेको छ । हाल वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गतका १० जिल्ला कार्यक्षेत्र रहेकोमा ४ जिल्ला थप गरी प्रदेश नं. १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने गरी प्रदेश स्तरीय संस्था रहने निर्णय गरेको छ । संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत १२ हजार भन्दा बढी विपन्न वर्गका परिवारलाई ७० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरी ११ करोड रुपैयाँभन्दा बढी बचत परिचालन गरेको छ । बोनस शेयर वितरण पश्चातवित्तीय संस्थाको चुक्तापूँजी ८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

टिभिएस अपाचे रेस ट्रयाक एक्स पिरियन्सका लागि विजेताहरु चेन्नाई प्रस्तान

काठमाडौं । टिभिएस अपाचे रेस ट्रयाकएक्स पिरियन्सका लागि विजेताहरु चेन्नाई भ्रमण लैजाने भएको छ । जगदम्बा मोटर्सले टिभिएस अपाचे बाइक आर.आर ३१० र अपाचे २०० फो.भी मोटरसाईकलहरुको टेस्ट राइडमा सहभागिता जनाएका प्रतियोगीमध्ये ६० जना गोला प्रथाबाट चयन गरी प्रारम्भिक छनौट चरणबाट ३० बाट छनौट गरिएका २५ जना विजेतालाई चेन्नाई भ्रमण लैजाने भएको हो । विजेताले यही मङसिर १६ गते भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा टिभिएस अपाचे बाइक कुदाएर आफ्नो जीवनको एक सुनौलो सपना साकार बनाउनेछन् । एकान्तकुना ड्राइभिङ्ग स्कूलको मैदानमा संचालित छनौट चरणबाट २५ जना प्रतियोगीहरु उत्कृष्ट ठहरिएका छन् । साथै यी प्रतियोगीहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउने सुनौलो सपना पूरा गर्ने अवसर पाउनेछन् । प्रारम्भिक चरणको छनौट प्रक्रिया उत्साह जनक रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने “नेपालका बाइक राइडरहरु पनि क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न सक्षम छन् भन्ने उदाहरण हो यो । उनीहरुको सपनामा सरिक हुन पाएकोमा हामी जगदम्बा मोटर्स परिवार हर्षित छौं । अन्तिम चरणको लागि छनौट भएका २५ जनाबाइक राइडरहरुलाई म थप सफलताको शुभकामना व्यक्त गर्दछु ।” टिभिएस अपाचे आरआर ३१० र २०० ४ भिले माइलेज अत्याधिक दिन्छ भने यसमा अत्याधुनिक नवीनतम् सुरक्षा प्रविधिद्वारा सुसज्जित गरिएको छ । मद्रास मोटर रेस ट्रयाकमा सहभागी हुने प्रतियोगीहरु मङसिर १४ गते, शनिबार नेपालबाट प्रस्थान गरी मङसिर १६ गते रेस ट्रयाकको अनुभव गर्दै मङसिर १८ गते, बुधबार पुनः नेपाल फर्किने छन् । मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक ३.७४कि.मि को छ ।

निरन्तर ओरालो यात्रामा नेप्से, आकर्षण हरायो जलविद्युत् कम्पनीको शेयरमा

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर ओरालो यात्रामा नै छ । विगतमा राम्रो प्रतिफल दिएका कम्पनीको सूचक नै नकारात्मक भइरहेको बेला शेयर बजारमा एकैपटक ठूलो मात्रामा साधारण शेयर आउन लागेका छन् । नेपाल धितोपत्र बोर्डको तथ्याङ्कलाई नै हेर्ने हो भने भने पनि विभिन्न १२ कम्पनीका करीब चार अर्ब ४० करोड ६५ लाख ५९ हजार ६ सय रूपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि तयारी हालतमा छन् । त्यसमा सबैभन्दा बढी जलविद्युत् कम्पनी प्राथमिक शेयर बिक्रीको तयारीमा छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल ३२ जलविद्युत् कम्पनीमध्ये बिहीबारको कारोबारका आधारमा हेर्ने हो भने १८ वटा जलविद्युत् कम्पनीको शेयर दोस्रो बजारमा आधारभूत मूल्यभन्दा निक्कै तल छ । त्यो भनेको सय रूपैयाँमा खरीद गरेको शेयर त्यो भन्दा निक्कै तल आइपुगेको अवस्था हो । विगतमा राम्रो लाभ दिने भनेर चिनिएको चिलिमे जलविद्युत् कम्पनीको शेयरसमेत घटेर प्रतिकित्ता रु ३५५ को हाराहारीमा आइपुगेको छ । आधारभूत मूल्यभन्दा माथि रहेका जलविद्युत् कम्पनीमा अपि पावर १०२ रूपैयाँ, अरुण काबेली १२० रूपैयाँ, बुटवल पावर कम्पनी ३४४ रूपैयाँ, नेपाल हाइड्रो १०४ रूपैयाँ, ङ्यादी १०८ रूपैयाँ, पाँचथर पावर १०४ रूपैयाँ, राधी १३८ रूपैयाँ, सानीमा माई १८० रूपैयाँमा दोस्रो बजारमा कारोबार भइरहेको छ । निर्माणाधीन अवस्थामा नै रहेका माथिल्लो तामाकोशीको शेयर मूल्य दोस्रो बजारमा रु २२४ प्रतिकित्तामा कारोबार भइरहेको छ । यस्तै रसुवागढी रु १६३ र साञ्जेनको रु १५३ मा कारोबार भइरहेको छ । बजारमा लगातार जलविद्युत् कम्पनीमा लगानी गर्ने लगानीकर्ता डुबिरहेको बेला बजारमा आउन लागेको प्राथमिक शेयरले बजारलाई कुन लय र गतिमा लैजाला भन्ने चासो पनि उत्तिकै छ । शेयर बजारलाई नजिकबाट नियालिरहनु भएका विश्लेषक प्रकाश तिवारीको विचारमा कमजोर कम्पनीलाई साधारण शेयर जारी गर्नै दिनुहुन्न । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, मर्चेन्ट बैंकर तथा प्रत्याभूतकर्ता कम्पनीले पनि अब सोच्ने बेला आएको तिवारीको भनाइ छ । जलविद्युत् प्रवद्र्धकले निर्माणको क्रममा नै आफूलाई फाइदा निकाल्ने र साधारण शेयरधनीलाई मर्कामा पार्ने प्रवृत्ति मौलाएका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरले गति लिन नसकेको तिवारीले टिप्पणी गरे । वित्तीयरुपमा कमजोर अवस्थामा रहेका जलविद्युत् कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफासमेत राम्रो दिन सकेका छैनन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रकाशित विवरणसमेतमा उनीहरुको अवस्था कमजोर देखिन्छ । एकाधबाहेक अधिकांश कम्पनीले शेयरधनीलाई राम्रो प्रतिफल दिन सकेको छैन । यसको प्रभाव दोस्रो बजारसमेतमा परेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा जलविद्युत् कम्पनीले ६८ करोड २५ लाख २४ हजार १२२ रुपैयाँ नाफा कमाएका थिए । चालु आवको पहिलो त्रैमासमा केही प्रतिशत नाफा बढेको देखिए पनि समग्रमा लगानीकर्ता घाटामा परेका छन् । आव २०७५/७६ को पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा करीब १९ प्रतिशतले नाफा बढेर रु ८१ करोड ५६ लाख एक हजार ७४१ पुगे पनि मूल्यवृद्धि तथा अन्य कारणले त्यसको सकारात्मक प्रभाव परेको देखिँदैन । हालसम्म प्रकाशित विवरणअनुसार कूल २७ वटा जलविद्युत् कम्पनीको वित्तीय विवरण प्रकाशित भएको छ । त्यसमा सात वटा कम्पनीको हालत कमजोर नै रहेको छ । उदाहरणका लागि दिव्यश्वरी हाइड्रोपावर गत आवको पहिलो त्रैमासमा नै १३ लाख २७ हजार रुपैयाँ बराबरको नोक्सनी व्योहोरेको थियो । चालु आवको पहिलो त्रैमासमा सो कम्पनीको नोक्सान बढेर ३५ लाख ७२ हजार रुपैयाँ पुगेको छ । खानीखोला जलविद्युत् कम्पनीको गत आवको पहिलो त्रैमासमा तीन करोड ६५ लाख ४४ हजार ५२६ रुपैयाँ नोक्सानमा थियो । चालु आवको सोही अवधिमा कम्पनीको नोक्सान ८.५२ प्रतिशतले घटेपनि तीन करोड ३४ लाख ३० हजार ७३७ रुपैयाँ रहेको छ । माउन्टेन हाइड्रोको गत आवको पहिलो त्रैमासमा दुई करोड २६ लाख सात हजार ७४६ रुपैयाँ घाटा खाएकामा चालु आवको पहिलो त्रैमासमा घाटा बढेर चार करोड ५८ लाख ३० हजार ६६९ रुपैयाँ पुगेको छ । कुनै समय राम्रो प्रतिफल दिने कम्पनीको रुपमा परिचित बुटवल पावर कम्पनीको नाफा ४७ प्रतिशतले घटेको छ । आगामी असारदेखि सोही कम्पनीले व्यवस्थापन गर्ने हिमाल पावरले सञ्चालन गरिरहेको ६० मेगावाट क्षमताको खिम्तीको ५० प्रतिशत हिस्सा नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा आउने भएपछि झन् घाटा बढ्ने देखिन्छ । यस्तै अरुण काबेली पनि चार लाख ३९ हजार ३३३ बरारबरको नोक्सानीमा रहेको छ । मनसुनको समयमा नै केही जलविद्युत् कम्पनीको विद्युत् बिक्री कम छ । त्यसमा कालिका पावर, खानीखोला, आँखुखोला, युनियन हाइड्रो, राधी रहेका छन् । समग्र आर्थिक सूचक नकारात्मक रहिरहेको बेला जलविद्युत् कम्पनीले शेयरधनीलाई कुनै प्रतिफल दिन सक्ने अवस्था देखिँदैन । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाई भने “सरकारले विद्युत् खरिद बिक्रीको दरलाई केही परिमार्जन गर्ने हो भने विद्यमान समस्याको ५० प्रतिशत समाधान निस्कन्छ । अन्यथा जलविद्युत् कम्पनीको अवस्था यस्तै कमजोर बन्दै जान्छ ।” उनले विद्युत् खरीद बिक्रीमा देखिएको असमानतलाई सच्याउनुपर्ने तथा केही नीतिगत सुधार गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिएको छ । जलविद्युत् कम्पनी समस्यामा पर्दा त्यसले बैंक तथा वित्तीय संस्थालाई समेत समस्यामा पार्ने र अन्ततः देशको अर्थतन्त्रसमेतलाई नकारात्मक दिशामा लैजाने भएकाले तत्काल कुनै न कुनै समाधानको उपाय खोजी हुनुपर्ने अध्यक्ष गुरागाइँको टिप्पणी छ । रासस

ब्राजिलका एक लाख ३५ हजार नागरिक आफैलाई एचआइभी भएको बिषयमा अनविज्ञ

रियो दी जेनेरियो । ब्राजिलका झण्डै एक लाख ३५ हजार नागरिक आफुलाई एचआईभी भएको पनि अनविज्ञ भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार एचआईभी एड्ससम्वन्धी जनचेतनामुलक कार्यक्रम चलाउने क्रममा यस्तो तथ्य फेला परेको जनाएको छ । मन्त्रालयले विश्व एड्स दिवसको अवसर पारेर आइतबारदेखि चेतनामुलक विषेश अभियान सुरु गर्न लागेको छ । देशव्यापी अभियानका क्रममा एचआईभीबाट बच्ने र लागिसकेकाहरुले उपचार गर्ने, परीक्षण गर्ने, सतर्कता अप्नाउनेलगायतका विषयमा जनेचतना जगाइने भएको छ । मन्त्रालयका अनुसार ब्राजिलमा सन् १९८० देखि अहिलेसम्म नौ लाख ६६ हजार ५८ जनामा एचआईभी संक्रमण भएको विवरण दर्ता भएको छ । एचआईभी पोजेटिभ भएकाहरुलाई उपचार गराउन मन्त्रालयले आह्वान गरेको छ । उनीहरुले नियमित उपचार गराएमा जीवन सामान्य हुने मन्त्रालयका अधिकारीहरुको भनाइ छ । “प्रारम्भिक चरणमै उपचार तथा निदानको प्रक्रिया सुरु गर्नु निकै महत्वपूर्ण हुन्छ,” एक चिकित्सकले भने । ब्राजिलमा सन् २०१४ देखि २०१८सम्ममा एड्स प्रभावितहरुको संख्यामा १३।६ प्रतिशतले घटेको छ भने मृत्यु हुनेको संख्या पनि २२।८ प्रतिशतले घटेको विभिन्न अध्ययनले देखाएको छन् । रासस/सिन्ह्वा