विकासन्युज

टोयोटा रश रोड शो सफलतापूर्वक सम्पन्न, अनस्पट १० वटा टोयोटा बुकिङ

काठमाडौँ । मोटर उत्पादक टोयोटाको नेपालभरिकै एकमात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि(युटिएस)ले “टोयोटा रश रोड शो” को आयोजना गरेको छ । काठमाडौ–चितवन–बुटवल हुँदै काठमाडौँ आएर शो सम्पन्न भएको हो । फागुन ८ गतेदेखि सुरुवात गरिएको सो कार्यक्रम, करिब १७० किमिको यात्रा गरी सयौं ग्राहकहरुलाई सक्रियतापुर्वक सहभागि गराई फागुन १४ गते काठमाडौमा फर्की टुंगिएको कम्पनीले जनाएको छ । चितवन र बुटवलका उपभोक्तालाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम दुवै शहरहरुमा २ दिन संंचालन भएको छ । चितवनमा ३ वटा रोड शो र बुटवलमा १ वटा रोड शो साथै दुवै शहरहरुमा अवस्थित अटो वेज प्रालिमा शोरुम इण्टर्याक्सन पनि गरिएको कम्पनीले जनाएको छ । यस रोड शो ले दुवै शहरहरुमा ८० जनाग्राहकहरुलाई शो रुम इण्टर्याक्सन गराई अनस्पट १० वटा टोयोटा बुकिङ लिन सफल भएको जनाएको छ । सो कार्यक्रममा न्युनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको इन्सुरेन्स, १ वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहारहरुले यस रोड शोलाई तुलनात्मक रुपमा प्रतिष्पर्धी भन्दानिकै अगाडी रहेको र सोहि गतिमा बढ्ने कुरा साबित गरेको कम्पनीले जनाएको छ ।

यातायात व्यवसायीको बैंक खाता खुला, राज्यकोषमा आउने रकम मन्त्रीले व्यवसायीलाई नै जिम्मा लगाए

काठमाडौं । यातायात व्यवसायीको बैंक खाता खुला भएको छ । बैशाख २४ गते बन्द भएको देशभरका २४५ यातायात व्यवसायीको बैंक खाता १० महिनापछि खुला भएको हो । सरकारले यातायात क्षेत्रको सिण्डिकेट तोड्ने निर्णय गरेसँगै आन्दोलनमा होमिएका व्यवसायीहरुलाई पक्राउ गरी बैंक खाता रोक्का गरिएको थियो । व्यवसायीहरुको बैंक खाता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहलमा खुलेको हो । व्यवसायीको खाता खोल्न राष्ट्र बैंकले स्वीकृति दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले स्वीकार गरे । पौडेलले केहि व्यवसायीको खाता खोल्नको लागि प्रस्ताव आएको र सोहि बमोजिमको खुला गर्न निर्देशन दिएको बताए । मैले आफ्नो समितिमा रहेको २ लाख रुपैंया झिकिसकेको छु नाम नबताउने शर्तमा एक व्यवसायीले भने–लगभग सबै व्यवसायीले बैंकबाट रकम झिकिसेका छन् । बैंकबाट रकम झिक्नका लागि मन्त्रालयले जिल्ला प्रशासन मार्फत व्यवस्था गरेको थियो । तर, सो प्रणालीबाट धेरै रकम भिक्न नमिल्ने भएपछि व्यवसायीहरु हच्किएका थिए । बैंक खाता खोल्न व्यवसायीले यातायात मन्त्री रघुवीर महासेठसँग निरन्तर दबाब दिएका र सो कार्य सफल भएको बताइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले खाताबाट रकम झिक्न सहज भएको स्वीकार गरे । कर्मचारी, घरभाडा, घाइते उपचारको लागि बैंक खाता बन्द हुँदा समस्या भएको उनले बताए । देशभर २४५ भन्दा बढी व्यवसायीहरु रहेका छन् । मन्त्रालयले समितीहरुलाई कम्पनी मोडेलमा आउन दोस्रो पटक समय थपेको छ । रोक्का गरिएको रकम राज्य कोषमा आउने सक्थ्यो ! नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत रहेका २४५ वटा यातायात व्यवसायीको रकम सरकारले सरकारले आफ्नो राज्यकोषमा जम्मा गर्न सक्ने थियो । सरकारले संस्था दर्ता ऐन २०३४ अनुसार व्यवसायीहरुको बैंक खातामा रहेको रकम राज्य कोषमा ल्याउन सक्थ्यो । ऐनको दफा १४ मा संस्थाको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणवश संस्था विघटन भएमा त्यस्तो संस्थाको सम्पूर्ण जायजेथा नेपाल सरकारमा सर्नेछ भनी उल्लेख गरिएको छ । यस दफा अनुसार यातायात व्यवसायीको नविकरण नहुँदा सिधै विघटन हुने थियो। व्यवसायीले गरेको बन्दलाई सरकारले विधान विपरितको कार्य भनी प्रमाणित गर्ने आधार थियो । कम्पनी मार्फत व्यवसायीहरु कम्पनीको रुपमा दर्ता हुँदा त्यो व्यक्तिको नाममा दर्ता हुने भएकोले व्यक्तिको नाममा दर्ता भएको कम्पनीलाई खातामा रहेको रकम दिन मिल्दैन । यसैका व्यवसायीले कम्पनी मोडेलमा नगई खाता खुलाउन निरन्तर प्रयास गरेका थिए ।

लगानी कोषको आधिकारीक ट्रेड यूनियनमा चालिसे, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नागरिक लगानी कोषको आधिकारीक ट्रेड युनियनको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । उक्त कार्यसमितिको अध्यक्षमा सुरेश चालिसे निर्वाचित भएका हुन् । त्यस्तै, उपाध्यक्ष प्रदिप अधिकारी, सचिव नेत्र बिक्रम थापा, सहसचिव अवधेश मण्डल, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा अर्चना घिमिरे, जयकिशोर यादव, मौसमी राई, दुर्गानन्द यादव, श्यामलाल श्रेष्ठ र रवि खनाल रहेका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई कोषका कार्यकारी निर्देशक रमण नेपालले बधाई ज्ञापन गरे । कार्यक्रममा अध्यक्ष चालिसेले नव गठित कर्मचारी युनियनसँग कोषको समग्र हितका लागी मिलेर काम गर्ने उनले बताए । कोषमा आवद्ध नागरिक लगानी कोष कर्मचारी यूनियन र नेपाल वित्तीय संस्था कर्मचारी संघ बीच आधिकारीक ट्रेड युयिन गठनको लािग निर्वाचन हुने प्रक्रिया अन्तर्गत सहमती भएपछि कर्मचारी युनियनले नेतृत्व लिएको हो । कोषमा आबद्ध प्रतिष्ठान स्तरका ट्रेडयुनियनहरु १० फागुनमा निर्वाचन गर्ने गरी कार्यक्रम सार्वजनिक गरिएकोमा २ फागुनमा निर्धारित समयभित्रै कर्मचारी युनियन र कर्मचारी संघ बीच सहमति भई नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषले नाम फिर्ता लिई नागरिक लगानी कोष कर्मचारी युनियनलाई सहमति प्रदान गरेको थियो । सोही अनुसार नागरिक लगानीकोष कर्मचारी यूनियन एकमात्र प्रतिष्ठानस्तरको ट्रेड युनियनको उम्मेदवार कायम रहेकोले आधिकारिक ट्रेड युनियन निर्वाचन निर्देशिका, २०५२ को दफा १४ (०२) बमोजिम नागरिक लगानी कोष कर्मचारी यूनियन निर्विरोध रुपमा निर्वाचित भएको श्रम तथा रोजगार कार्यालय वागमतीले जनाएको छ ।

बाग्लुङ, डोटी र रोल्पामा ग्लोबल आइएमईको थप ३ शाखारहित बैंकिङ्ग सेवा बिस्तार

काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले फागुन १३ गतेदेखि बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका–१२, अमलाचौरमा ११८औँ, डोटी जिल्लाको के.आई.सिहं गाउँपालिका– २, तिखातरमा ११९औँ र रोल्पा जिल्लाकोलुंग्री गाउँपालिका–१२, सिर्पमा १२०औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी तीनै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, बुद्घिजिवी तथा स्थानीयवासीहरुको रोहवरमा शुरुवात भएको हो । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीसहोम, सीडीएमए, यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ ।

इन्भेष्टमेण्ट बैंकको कार्यक्रममा ११९ जनाले गरे रक्तदान

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार रक्तदान कार्याक्रमको आयोजना गरेको छ ।दरबारमार्गस्थित प्रधानकार्यालयमा विहान ९ बजेदेखि २ बजेसम्म आयोजित कार्याक्रममा ११९ जनाले रक्तदान गरे । ग्रान्डी इन्टरनेशनल अस्पतालको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, कर्मचारी तथा सहयोगीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए । बार्षिकोत्सवकै दिन पारेर बैंकका कार्यकारी अधिकृत पाण्डेले क्रमिक मुद्यती खाता तथा बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उदेश्यले प्रकाशित बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नामको चित्रकथा सार्बजनिक गर्नु भएको थियो । नेपाल इन्भेष्टमेण्ट बैंकको केटाकेटी बचत खाता खोल्ने जुनसुकै नाबालक ग्राहकहरुलाई खाता खोल्दा ५०० रुपैयाँ नगद र प्रत्येक वर्ष जन्मदिनको खुशीयालीमा केक प्रदानगरिने छ तर यसका लागि सीमित सर्तहरु भने लागु हुने बैंकले जनाएको छ ।

अध्यक्ष प्रचण्ड भन्छन्-बीआरआई परियोजनाबाट दक्षिण एशियाका जनता लाभान्वित हुन्छन्

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बेल्ट एण्ड रोड इनिसेटिभ (बिआरआई)’ परियोजनाबाट नेपाललगायत दक्षिण एशियाका जनता लाभान्वित हुने बताएका छन् । ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ अन्तर्राष्ट्रिय यातायात सङ्घ र नेपाल अटोमोबाइल एशोसिएशन (नासा)को संयुक्त आयोजनामा आजदेखि शुरु भएको बिआरआइसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले अहिलेको समय ‘कनेक्टिभिटी’को भएको बताए । आफू प्रधानमन्त्री हुँदा यो परियोजनामा हस्ताक्षर भएकाले आफूलाई गर्वको महसुस भइरहेको उनले बताए । उनका अनुसार नेपालमा अहिले शान्ति स्थापना भइसकेको र राजनीतिक रुपमा स्थिरता कायम भएकाले देश अहिले विकासको पथमा रहेको छ । उनले भने, “हामी दुई दशकसम्म राजनीतिक उथलपुथलमा बिताए पनि अबको हाम्रो लक्ष्य भनेको विकास नै हो ।” यो परियोजना चीनका राष्ट्रपति सी जिन पिङको महत्वकाङ्क्षी लक्ष्य भएको उनले बताए । नेपालले यसबाट फाइदा लिने प्रशस्त सम्भावना रहेकामा उनको जोड छ । उनले भने, “सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई साकार बनाउन पनि परियोजनाले पनि थप सहयोग गर्नेछ ।” नेपालका लागि चिनियाँ राजदूत हउ यान्चीले विकासन्मुख देशका लागि बेल्ट एण्ड रोड इनिसेटिभ परियोजना महत्वपूर्ण हुने बताए । नेपाल र चीनबीचमा शताब्दीऔँदेखि हार्दिकतापूर्ण सम्बन्ध रहेको उनले औँल्याए । उनले भने, “यो परियोजनाले नेपाल र चीनको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्नेछ ।” कार्यक्रमको सहआयोजक संस्था युथ कम्युनिटी फर नेपाली कन्ट्र्याक्टरका अध्यक्ष आनन्द सुवेदीले सम्मेलनले सडक, यातायात र पूर्वाधार विकासका विषयमा विस्तृत रुपमा छलफल हुने बताए । बुधबारसम्म चल्ने सम्मेलनमा झण्डै १२ देशका १४० जना सहभागी रहेकोे आयोजकले बताएको छ । सम्मेलनमा छलफलका लागि नेपाल र बिआरआई अभियान, पूर्वाधार र विकास, पर्यटन र व्यापार, सुरक्षित यातायातलगायत विषय तय भएका छन् । आयोजकका अनुसार सम्मेलनमा यातायात क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिको सहभागी छन् । सम्मेलनमा नेपाल, चीन, भारत, संयुक्त अधिराज्य, दक्षिण अफ्रिका, श्रीलङ्का, मलेशियालगायत देशका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।

सञ्चय कोषले २१ दिनभित्र ‘काठमाडौं मल’ खाली गर्न सूचना टाँसेपछि अर्बौँ रुपैयाँ जोखिममा

काठमाडौँ । काठमाडौं मल खाली गर्न सञ्चय कोषले सूचना जारी गरेसँगै व्यवसायीहरु ४ अर्ब जोखिममा परेको भन्दै विरोधमा उत्रिएका छन् । संगठन द काठमाडौं मल व्यापार संघले मंगलबार पत्रकार सम्मेलन गर्दै विरोध जनाएको छ । द काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुषमा महराले ‘मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुने गरेको बताउँदै विस्तृत योजना, व्यवसाय पुनव्र्यवस्थापनलाई ध्यान नै नदिई २१ दिनभित्र खाली गर भन्नु न्यायसंगत नभएको बताइन् ।’ ३ सय व्यापारीहरुले व्यवसाय गर्दै आएका र उनिहरुमा ४ अर्ब रुपैंया जोखिममा परेको भन्दै अब सञ्चय कोषमा गएर भोक हडताल गर्ने बताइन् । संघका सल्लाहकार उज्जलजङ शाहले भने ‘हामीलाई थाहानै नदिही दोस्रो तलामा कर कार्यालयको स्थापनाको काम भहिरहेको छ ।’ यसका लागि हामीले टेन्डर आव्हान गरेको पनि थाहापाएको छैन । अब यो मललाई कर्पाेरेट हाउस बनाउने हल्लाले व्यवसायीहरुलाई होलसेलले समान नै दिन छाडेको शाहले बताए । संघले कोषले ०६२ देखि व्यवसाय गरिआएका व्यवसायीको हितलाई मध्यनजर गरेर काम गर्न आग्रह गरेको छ ।

बेइजिङमा लगानी सम्मेलन, काठमाडौँमा चिनियाँ लगानीकर्ताको सहभागिता कस्तो रहला ?

बेइजिङ । आगामी महिना काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा चिनियाँ लगानीकर्तालाई सहभागी हुन आह्वान गर्दै चीनस्थित नेपाली दूतावासले बेइजिङमा लगानी सम्मेलन आयोजना गरेको छ । झण्डै १२० भन्दा धेरै लगानीकर्ता, व्यावसायिक प्रतिष्ठान, प्राज्ञिक समुदाय तथा अन्यको उपस्थिति रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपाली दूतावासका मिनिस्टर सुशिलकुमार लम्साल लगायतले चिनियाँ लगानीकर्ता एवं व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्दै लगानीको सुरक्षा र लगानीकर्तालाई सहजीकरण गर्न नेपाल सरकार सबै प्रकारले तत्पर रहेको बताए । सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा अहिले स्थिर र बलियो सरकार रहेको भन्दै लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने उत्तम समय भएको धारणा व्यक्त गरे । “लगानीको सुरक्षा, लगानीमैत्री कानूनको व्यवस्था तथा प्रतिफल लैजान पाउने जस्ता विषयमा सरकारले स्पष्ट व्यवस्था गरेको छ । लगानीकर्ताले नेपालमा व्यवसाय गर्दा अब कुनै असहज वातावरण भोग्नुपर्दैन”, चिनियाँ लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गर्दै अधिकारीले भने । अधिकारीले चिनियाँ लगानीकर्तालाई नेपाल सरकारले कम्पनी ऐन, विषेश आर्थिक क्षेत्र तथा अन्य केही कानूनहरु संशोधन गरिसकेको तथा अन्य केही कानूनहरु संशोधन गर्ने चरणमा भएको बताउँदै सबै कानूनहरु लगानी प्रर्वद्धनमा सहयोगी रहनेमा आश्वस्त तुल्याए । कृषि, बैंकिङ, शिक्षा, स्वास्थ्य, पर्यटन तथा खनिजलगायतका क्षेत्रमा लगानीको प्रतिफल उच्च रहेको बताउँदै अधिकारीले लगानीकर्तालाई उनीहरुको लगानी सुरक्षा र व्यवसायमा सहजीकरण गर्न सबै प्रकारको सहयोगको प्रतिबद्धता जनाए । “तपाईँहरुले लगानीमात्र गर्नुहुने छैन, बरु नेपालको समृद्धिको मार्गमा सहायता गर्नुहुनेछ र आफ्नो लगानीवापत केही नाफा पनि प्राप्त गर्नुहुनेछ । तसर्थ, चिनियाँ लगानीकर्तालाई आगामी महीना नेपालमा हुने लगानी सम्मेलनमा सहभागी बन्न र नेपालमा लगानी गर्न तत्पर रहन आग्रह गर्दछु”, उनले भने । कार्यक्रममा राजदूत पौड्यालले नेपालमा बैदेशिक लगानी प्रवद्र्धनका लागि अर्को महिना लगानी सम्मेलन गर्न लागिएको बताए । नेपालमा राजनीति स्थिरता रहेको र राजनीतिक समस्याहरु प्रजातान्त्रिक तबरले सबै समस्या हल गरेको जानकारी दिँदै राजदूत पौड्यालले नेपालमा लगानीका लागि निर्णय गर्ने यो सबैभन्दा सही समय हो भने । उक्त कार्यक्रममा विभिन्न व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरुले नेपालमा लगानीका अवसर, चुनौती, सरकारी तहबाट हुने सहजीकरण, कानूनी व्यवस्था लगायतका पक्षमा चासो व्यक्त गरेका थिए । उपस्थित लगानीकर्ता तथा प्राज्ञिक समुदायले चीनमा आयोजना गरिएको यस प्रकारको पूर्वतयारीको प्रशंसा गर्दै नेपालमा ठूलो मात्रामा चिनियाँ लगानी हुने बताएका छन् । रासस