जेबिल्स फाइनान्सले ३.५७ प्रतिशत बोनस सेयर दिने, पायो राष्ट्र बैंकको स्वीकृति
काठमाडौं । जेबिल्स फाइनान्सले सेयरधनीलाई ३.५७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । फाइनान्सले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको हो । संस्थाले आर्थिक वर्ष २०७३।७४ को नाफाबाट सो मात्राको बोनस वितरण गर्न स्वीकृति पाएको हो । लाभांश दिने घोषणा गरेको १ वर्षपछि राष्ट्र बैंकले स्वीकृति दिएको हो । फाइनान्सले यसअघि १०० प्रतिशत र ४० प्रतिशत हकप्रद बिक्री गरी चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ पुर्याएको छ । ३.५७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ८३ करोड ७८ लाख रुपैयाँ पुग्ने छ । साथै, बोनसको कर प्रयोजनको लागि १५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने संस्थाको प्रस्ताव रहेको छ ।
फागुन ३० र चैत १ गते मानव संसाधन मेला हुँदै
काठमाडौँ । मानव संसाधन मेलाको १२ औं संस्करण ‘एच आर मिट’ फागुन ३० र चैत १ गते हुने भएको छ । प्रविधिको युगमा मानव संसाधन भन्ने नारा सहित मेला हुन हुन लागेको हो । आयोजक ग्रोथ सेलर्सले बुधबार पत्रकार सम्मेलन गर्दै मानव संसाधनका विषयमा आफना सत्रहरु प्रस्तुत गर्नका लागि ख्याती प्राप्त राष्ट्रिय र अन्तराष्ट्रिय वक्ताहरु हुने गरायो । इकम एक्स्प्रेस प्रालिका वरिष्ठ उपाध्यक्ष तथा प्रमुख मानव संसाधन अधिकृत सौरभदीप सिङ्गला प्रमुख वक्ता हुने आयोजक पत्रकार सम्मेलनमा बताइयो । ३ सय भन्दा अधिक मानव संसाधन पेशाकर्मीहरुलाई लक्षित यस कार्यक्रमका प्रमुख आर्कषणमा प्रमुख कार्यकारी अधिकृतहरु तथा मानव संसाधन विज्ञहरु ‘इन्भेष्टमेन्ट एण्ड इम्लीमेन्टेशन इनएचआर टेक्नोलोजिः ए वेय फरर्वाड’ का विषयमा समूहगत छलफल चलाउने योजना रहेको आयोजकले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा चैत ११ गते, ३४ प्रतिशत लाभांश पारित गर्दै
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको ५२औँ साधारणसभा आगामी चैत ११ गते बस्दै छ । सो प्रयोजनको लागि संस्थाले आगामी फागुन २४ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । सो दिन बिहान ११ बजे बस्न लागेको सभाले सेयरधनीलाई चुक्ता पुँजीको २४ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्तावलाई पारित गर्दै छ । साथै, सभाले सेयरधनीलाई १० प्रतिशतका दरले एक करोड २२ लाख ८३ हजार ३४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने भएको छ । उक्त लाभांश बोनस सेयर र नगद लाभांशको करकट्टी नगद लाभांशबाट कट्टी गरी भुक्तानी गर्ने कर्पोरेशनले जनाएको छ । हाल संस्थाको चुक्ता पुँजी १२ करोड २७ लाख ९३ हजार रुपैयाँ रहेको छ । २४ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी १५ करोड २२ लाख रुपैयाँ नाघ्ने छ । त्यस्तै, सभाले सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा ७ जनालाई निर्वाचित गर्दै छ ।
दुर्घटनाको कारण मौसम खराबीः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक क्षेत्री
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार हेलिकप्टर दुर्घटना हुनाको प्रारम्भिक कारण मौसमको खराबी भएको जानकारी दिए । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिर यता अपराह्न करीब १ः३० बजे दुर्घटना भएको थियो । सो हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरे रहेका थिए । छरपस्ट अवस्थामा सात शव फेला यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाका अनुसार फुङलिङ नगरपालिका–१० स्थित सिस्नेमा शवहरु फेला परेको हो । “हेलिकप्टर भिरमा ठोकिएको रहेछ”, प्रहरी नायब उपरीक्षक भण्डारीले भने, “छरपस्ट अवस्थामा सात वटा शव डढेको अवस्थामा प्रहरी टोलीले फेला पारेको छ ।” आज बिहान काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको उच्च तहको टोली आएको थियो । चुहानडाँडामा कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । ताप्लेजुङ सदरमुकामबाट ३ घण्टाको पैदल दूरीमा रहेको भिरमा हेलिकप्टर दुर्घटनामा परेको हो । रासस
धादिङमा १४ अर्ब ८२ करोडको लागतमा दक्षिण एशियाकै ठूलो सिमेन्ट उद्योग सञ्चालनको तयारी
धादिङ । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा दक्षिण एशियाकै सबेभन्दा ठूलो सिमेन्ट उद्योग सञ्चालनको अन्तिम तयारी गरिएको छ । सरकार वैदेशिक लगानी भित्र्याई मुलुकलाई आर्थिकरुपमा समृद्ध पार्नका लागि चिनियाँ कम्पनी ह्वासिनले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो । ह्वासिनसँग प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको बेला नेपालमा १५ अर्बको लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने सहमतिअनुसार धादिङको ताल्तीलाई आफ्नो उत्पादनस्थल तय गरी उत्पादनको अन्तिम तयारी गरेको हो । १४ अर्ब ८२ करोड ६० लाख कूल पूँजी रहेको ह्वासिन दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योगका सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिए । विश्वकै अत्याधुनिक सिमेन्ट प्रविधिबाट सिमेन्ट उत्पादन गरिने ह्वासिन नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो कम्पनी भएको पनि थापाको भनाइ छ । सिमेन्ट उद्योगमा चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत शेयर रहने बताइएको छ । सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्षरुपमा ३०० र अप्रत्यक्ष रुपमा एक हजारले रोजगारी पाउने छन् भने उद्योगका लागि मलेखुबाट ताल्तीसम्म छुट्टै सडक १० किलोमिटर निर्माणका लागि तयारीसमेत गरेको छ । ह्वासिन सिमेन्ट उद्योगले उद्योगकै कच्चा पदार्थबाट विद्युत् उत्पादनसमेत गर्ने र वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ । फागुन १७ गते उत्पादन शिलान्यास गरिने बताइएको छ । रासस
रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन
काठमाडौँ । रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा पुरातत्व विभागका महानिर्देशक, काठमाडौं महानगरपालिकाले तोकेका तीनजना जनप्रतिनिधि रहनेछन् । त्यस्तै, प्राधिकरणले तोकेका सम्बन्धित विषयका तीनजना विज्ञहरु प्राडा प्रेमनाथ मास्के, पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्की र काठमाडौं उपत्यका संरक्षण कोषका कार्यकारी निर्देशक रोहित रञ्जितकार सदस्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख समितिको सदस्य सचिव हुनेछन् । समितिले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माणको कार्य व्यवस्थित तथा पारदर्शी बनाउन अनुगमन, सहजीकरण र समन्वय गर्नेछ । त्यसैगरी, पुनर्निर्माण कार्यका लागि सुझाव दिने, गुणस्तर कार्यम गर्न सहयोग पु¥याउने र पुनर्निर्माणका क्रममा देखापरेका समस्याहरुको समाधान गर्ने कार्यक्षेत्र दिइएको छ । समितिलाई आवश्यकताअनुसार निर्माण उपसमिति गठन गरी पुनर्निर्माणको कार्यलाई अगाडि बढाउने अधिकारी छ । समितिले पुनर्निर्माणका लागि आवश्यक पर्ने आर्थिक स्रोत व्यवस्थापन गर्न तथा नीतिगत व्यवस्थाका लागि पुनर्निर्माण प्राधिकरणलाई अनुरोध गर्न सक्नेछ । समितिको बुधबार पहिलो बैठक बस्यो । बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली विशेष आमन्त्रितका रुपमा सहभागी थिए । रानीपोखरीको पिंध एवं पर्खाल निर्माण गर्दा कालोमाटो, बालुवा र ईंटाजस्ता परम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण गर्ने, रानीपोखरीको पिंध एवम् पर्खाल निर्माण कार्य उपभोक्ता समितिमार्फत् गर्ने र उपभोक्ता समिति गठन गरी सिफारिस गर्न काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने निर्णय भएको छ । यस्तै, रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ । मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्नेगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।
सिटिजन्स बैंक र बिएफआईएनबीच सम्झौता
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बैंकिङ्ग, फाईनान्स तथा इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल(बिएफआईएन)बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंककाकर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि बिएफआईएनले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्नेछ । बिएफआईएनले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृति विकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।
ओम बैंकद्वारा बित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता
काठमाडौँ । ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत विधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका अधिकारीहरुद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी गराइएको थियो । बैंकले तनहँको भानु ३ मा रहेको जनजागृति मा.वि.मा र बाग्लुङको धवलागिरी बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धकहरुद्धारा वित्तीय क्षेत्रका विविध पक्षका बारेमा प्रकाश पारिएको थियो । बैंकले यसअघि पनि कास्कीेको घाचोक, निर्मलपोखरी, लमजुङको दोर्दी तान्जेमा अवस्थित बाल विकास प्राथमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गर्नुका साथै डस्टविन पनि वितरण गरेको थियो ।