गण्डकी विकास बैंकको एकैदिन तीन शाखा सञ्चालनमा, थप ७ वटा खोल्ने तयारी
काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । विकास बैंकले धादिङ्गको मलेखु, पाल्पाको रामपुर तथा कपिलवस्तुको जीतपुरमा गरी तीन स्थानको शाखा सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको ८८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिट्टै नै जुम्ला लगायत थप ७ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिएका छन् ।
हुन्डाईले ल्यायो ‘विन्टर डिलाइट’ योजना, हरेक गाडी खरिदमा आकर्षक छुट पाइने
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले “हुन्डाई विन्टर डिलाइट” योजना ल्याएको छ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरु पाउने छन् । यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्षसम्मको बीमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधा र एक वर्षसम्मको निःशुल्क सडक कर (चालु आ.व.) समेत प्राप्त गर्न सक्नेछन् । साथै, हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । चिसो मौसममा पनि यस “हुन्डाई विन्टर डिलाइट” ले ग्राहकवर्गमा न्यानो पनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको छ । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस “हुन्डाई विन्टर डिलाइट” मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस योजना निर्धारित समयका लागी मात्र लागु हुनेछ ।
न्युहोल्याण्ड कन्स्ट्रक्शनकाे एक्स्चेन्ज स्कीमः मेसिन किन्न ज्याेति विकास बैंकबाट ८०% सम्म ऋण पाइने
काठमाडौं । राशी अटोमोबाइल्स प्रा.लि.ले न्युहोल्याण्ड एक्स्चेन्ज स्कीम सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत एक्स्चेन्ज गरी नयाँ न्युहोल्याण्ड ब्याकुलोडलर लिने ग्राहकले नयाँ मेसिनमा २ वर्ष सम्मको वारेन्टी पाउने कम्पनीले जनाएकाे छ । साथै, नयाँ मेसिन खरिद गर्ने ग्राहकलाई ज्योति विकास बैंकबाट ८० प्रतिशत सम्मको ऋण लिन सक्ने गरि बैंकसँग सम्झौता भएको राशी अटोमोबाइल्सका महाप्रबन्धक रामबाबु तिवारीले जानकारी दिए । उक्त स्कीम अन्तर्गत पुराना ब्याकुलोडरहरु ग्राहकहरुले साट्न सक्ने छन् । स्कीमबारे जानकारी दिदै राशी अटोमोबाइल्सका प्रबन्ध निर्देशक कपिल शिवाकोटीले यो एक्स्चेन्ज स्कीम अन्तर्गत पुरानो ब्याकुलोडर सञ्चालन गरिरहेका ग्राहकहरुले आफ्नो पुरानो ब्याकुलोडर राशी अटोमोबाइल्सको सातदोबाटो स्थित शो-रुममा दिएर नयाँ न्युहोल्याण्डको ब्याकुलोडर लिएर जान सक्ने बताए । यसरी एक्स्चेन्ज गर्दा पुरानो ब्याकुलोडर चालु अवस्थाको हुनुपर्ने तथा ग्राहकले पुरानो ब्याकुलोडरको सरकारले तिर्नु बुझाउनु पर्ने सबै करहरु तिरेको हुनु पर्नेछ । पुराना ब्याकुलोडरहरुलाई “ जति मोडेल-त्यती दाम ” अनुसार भ्याल्युएसन गरिने पनि कम्पनीले जनाएको छ । अर्थात, सन् २०१२ मा बनेको मेसिनलाई १२ लाख, सन् २०१३ मा बनेको मेसिनलाई १३ लाख, चौध मोडेलको लाई चौधलाख, पन्ध्र मोडेकोलाई पन्ध्र लाख हुने गरि मुल्याङन गरिने बिएस मोर्टसका निर्देशक अंकित भुषालले जानकारी दिएका छन् । । पुरानो ब्याकुलोडर साटेर नयाँ न्युहोल्याण्ड ब्याकुलोडर मेसिन लिएर जाने ग्राहकहरुलाई ग्राहकहरुकै घर दैलो सम्म निःशुल्क डेलिभरीको ब्यवस्था गरिएको र पुरानो ब्याकुलोडर पनि कम्पनीले कुनै शुल्क नलिई मेसिन रहेको स्थानबाट उठाएर लिएर जाने ब्यवस्था गरिएको जानकारी राशी अटोमोबाइल्सका योगेश काफ्लेले दिएका छन् ।
एलआईसी नेपालको संचालक समितिमा मुकेशकुमार गुप्ता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) (नेपाल)को संचालक समितिमा मुकेशकुमार गुप्ता नियुक्त भएका छन् । शुक्रबार सम्पन्न इन्स्योरेन्सको संचालक समितिको बैठकले गुप्तालाई कम्पनीको संचालक समिति पदमा नियुक्त गरेको हो । यसअघि प्रमोटर शेयरधनी एलआईसी अफ इन्डियाबाट प्रतिनिधित्व गर्ने वेणु गोपालले उक्त पद सम्हालेका थिए । उनले राजीनामा दिएसँगै उनको रिक्त स्थान तथा बाँकी कार्यकालसम्मको अवधिका लागि गुप्तालाई नियुक्त गरेकाे हाे । नवनियुक्त संचालक गुप्ता भारतीय जीवन बीमा निगम(एलआईसी अफ इन्डिया) मा विगत ३५ वर्षदेखि कार्यरत छन् । उनले हाल निगमको प्रबन्ध निर्देशकको जिम्मेवारी समेत समालेका छन् ।
घरेलु लघुवित्तले सञ्चालन गर्याे रौतहटको चन्द्रपुरमा क्षमता अभिवृद्धि तालिम
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले रौतहटको चन्द्रपुरमा “ फिल्ड सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम” सम्पन्न गरेको छ । यस तालिम कार्यक्रममा घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारी, विभागीय प्रमुखहरु सोनाम शेर्पा, प्रदिप घिमिरे र अन्जना प्याकुरेलको सहभागिता रहेको थियो । यस संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु मार्फत २०७६ कात्र्तिक मसान्तसम्ममा ४ हजार भन्दा बढि घरपरिवारहरुमा सेवा विस्तार गर्दै १८ करोड भन्दा बढी लगानी गरेको छ । तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य लघुवित्त कार्यक्रमको वर्तमान अवस्था, जोखिम व्यवस्थापन तथा कर्मचारी उत्प्रेरणाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले प्रकाश पारेका थिए । यस कार्यक्रममा लघुवित्त कार्यक्रम, कर्जा तथा जोखिम सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख सोनाम शेर्पा, जनशक्ति व्यवस्थापन तथा कार्य सञ्चालन सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख प्रदिप घिमिरे, लेखा तथा योजना सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख श्री अन्जना प्याकुरेलले सहजीकरण गरेका थिए । यस क्रममा लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्ड को व्यवस्थापक फिल्ड कर्मचारीहरु हुने भएकोले सबैले जिम्मेवार तथा गम्भिर भएर कार्यक्रमको विकास विस्तार तथा गुणस्तर कायम गर्दै आफ्नो व्यक्तिगत तथा शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्दता समेत व्यक्त गरिएको थियो ।
सरकारले उद्योगीहरुसँग विद्युतको ११ अर्ब बक्यौता उठाउँछ : उद्योग मन्त्री भट्ट
काठमाडौं । नेपाल उद्योग परिसंघले स्वागत कार्यक्रममा बोलाएका नवनियुक्त उद्योग मन्त्रीले उद्योगीहरुसँग बक्यौता रकम उठाउने बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई आइतबार उद्योगीहरुको समस्य सुनाउन बोलाएका थिए । तर, उद्योग मन्त्री भट्टले भने पठाएको बिल अनुसार नै उद्योगीले बक्यौता तिर्नु पर्ने बताए । धेरै पहिलेदेखि बक्यौताको विषय उठ्दै आएको हो । मैले लेखा समितिमा हुँदा पनि यो विषयमा धेरै नै बोलेको थिए । मन्त्री भट्टले भने बक्यौता रकमको बारेमा प्रधानमन्त्रीले पनि हेरिरहनु भएको छ । ऊर्जा मन्त्रालाय र नेपाल विद्युत प्राधिकरणले पनि छानबिन समिति बनाएको छ । त्यो समितिले के गर्ने भनेर निर्णय गर्छ । समितिको प्रतिवेदनले उठाउनु भनेर निर्देशन दियो भने सरकारले जसरी पनि उठाउने मन्त्रीले बताए । नेपाल उद्योग परिसंघका अध्यक्षले उद्योगीहरुलाई प्राधिकरणले ट्रंक लाइन लिएका उद्योगीहरुलाई पनि डेडिकेटेड लाइन भनेर बक्यौता उठाउन पत्र काटेकाले उद्योगीहरु समस्यामा परेको बताए । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले उद्योगीहरुले उद्योगको कुनै काम गर्नु पर्यो भने उद्योग मन्त्रालय मात्रै नभएर अर्थ, ऊर्जा र श्रम लगायतको मन्त्रालयमा जानु पर्ने समस्या रहेको बताए । उनले भने हाम्रो कुल गार्हस्थ्य उत्पादन ५ प्रतिशत मात्रै छ, हामीले उद्योगको क्षेत्रमा विकास नगरी देशको कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्न सक्दैनौ, त्यसैले पनि देशमा उद्योग स्थापनाका लागि सरकारले सकारात्मक भुमिका खेल्नुपर्ने बताए । नेपाल विद्युत प्राधिकरणले देशभरका उद्योगहरुबाट करिब ११ अर्ब रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । प्राधिकरणका अनुसार देशका विभिन्न क्षेत्रका ठूला उद्योगहरुबाट नै बक्यौता रकम असुल्न बाँकी रहेको बताइएको छ । डेडिकेटेड विद्युत लाइनको उपयोगमार्फत उद्योगीहरुसँग रहेको बक्यौताको विषयमा लामो समयदेखि विवाद हुँदा धेरै उद्योगीहरु अदालतसम्म समेत धाए । देशका विभिन्न उद्योगीहरुले दर्ता गरेको मुद्दाहरुको फैसला गर्दै अदालतले पनि रकम किस्ताबन्दीमा तिर्नु पर्ने आदेश निर्णय गरेको छ । हाल केही उद्योगहरुको मुद्दा फैसला भइसकेको छ भने कतिपयको मुद्दा विचाराधीन अवस्थामा छ ।
४ अर्ब लागतमा निर्माणधीन सौर्य प्लान्टको काम अन्तिम चरणमा, तीन करोड ३० लाख युनिट थपिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हाल जारी रहेको कामअनुसार तीन महिनाभित्रै १० मेगावाट क्षमताको विद्युत् उत्पादन शुरु गर्ने तयारीमा रहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिएका छन् । हालै मात्र प्राधिकरणले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरिसकेको छ । आयोजना प्रमुखका अनुसार आयोजनाबाट दुई चरणमा आगामी छ महिनाभित्र शतप्रतिशत विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । “नुवाकोटको विदुर नगरपालिका ६ र १२ मा पर्ने देवीघाट जलविद्युत् केन्द्रको खाली जग्गा सम्याउने काम पूरा भइसकेको छ”, आयोजना प्रमुख रघुवंशीले भने, “सोलार प्यानल जडान गर्न पाइल (प्यानल अड्याउने पिल्लर) गाड्ने काम धमाधम भइरहेको छ ।” कूल २ दशमलब ५ मिटर लम्बाइको पिल्लर गाड्न ड्रिल गर्ने उपकरण प्रयोगमा ल्याइएकाले अबको दुईदेखि तीन महिनामै १० मेगावाट विद्युत् उत्पादन गर्न सकिने आयोजनाको दाबी छ । पिल्लर गाड्ने काम भइरहेको र अन्य आवश्यक सामग्रीसमेत कार्यक्षेत्र (फिल्ड)मा ल्याउने आउने क्रममा रहेकाले यही गतिमा निर्माण तीव्र बनाउन सकेमा दुई महिनामै विद्युत् उत्पादन गर्नसमेत सकिने लक्ष्य राखिएको आयोजनाका इञ्जिनीयर नीरज कर्णले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा १० मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्न दुई स्थानमा प्यानल जडान भइरहेको छ । स्टाफ क्वाटर र फोरबे (नेपाली सेनाको ब्यारेक पछाडिको चउर)मा सौर्य प्यानल जडानका लागि करिब छ हजार ३०० पिल्लर गाड्नुपर्नेमा सो कार्य अन्तिम चरणमा पुगिसकेको कर्णले बताए । आयोजनाले कूल २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याउन लागेको छ । ऊर्जा मिश्रण परियोजनाअन्तर्गत सो कार्य अगाडि बढेको प्राधिकरणले जनाएको छ । पहिलो चरणमा १० मेगावाट विद्युत् उत्पादन शुरु भएपछि त्यसपश्चात थप अर्को तीन महिनाभित्रै बाँकी १५ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको योजना छ । थप विद्युत् उत्पादनका लागि अन्य पाँच स्थानमा एकै साथ सोलार प्यानल जडान गर्न लागिएको आयोजना प्रमुख रघुवंशीको भनाइ छ । दोस्रो चरणमा विदुर नगरपालिकाको ६ र १२ मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको स्थान अन्य थप पाँच स्थानमा अहिले जग्गा सम्याउने काम अन्तिम चरणमा पुर्याइएको छ । नेपालकै ठूलो सौर्य प्लान्टको रुपमा निर्माण भइरहेको ‘ग्रिड सोलार आयोजना’ नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण थालिएको हो । विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’मार्फत भइरहेको छ । करिब रु तीन अर्ब ८० करोड लागत लाग्ने प्रक्षेपण गरिएको आयोजना विद्युत् उत्पादनका लागि निकै प्रभावकारी र सस्तो हुने प्राधिकरणको दाबी छ । “खेर गएको सौर्य ऊर्जा सङ्कलन गरेर प्राधिकरणको खुला (प्रयोगविहीन) जग्गामा सञ्चालन हुने आयोजनाको लगानी, प्रयोग र विद्युत् उत्पादनमा देशकै ‘नमूना’ हुने विश्वास लिइएको छ । प्राविधिकका अनुसार यस आयोजना २५ मेगावाट विद्युत् उत्पादन भए पनि डिसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रुपान्तरण गर्दा २० मेगावाट विद्युत प्रयोगयुक्त हुने देखिन्छ । आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भारको सम्पूर्ण काम निर्माण व्यवसायीले पाँच वर्षसम्म गर्ने सम्झौता उल्लेख भएअनुसार आयोजनाको हस्तान्तरण त्यसपछि मात्रै हुने छ । परियोजनाबाट उत्पादित विद्युत् देवीघाट जलविद्युत् केन्द्रमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिने छ । त्यसका लागि सवस्टेशन निर्माण भइरहेको छ । प्लान्ट र सवस्टेसनको दूरी ५०० मिटरदेखि दुई किमी मात्र पर्ने हुँदा प्रसारण लाइन विद्युत् उत्पादनभन्दा अघि नै सम्पन्न भइसक्ने आयोजनाले जनाएको छ । प्लान्ट सञ्चालनमा आएपछि वार्षिक तीन करोड ३० लाख युनिट विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा थप हुने प्राधिकरणले जनाएको छ ।
सिटिजन्स बैंक साफा अवार्डबाट सम्मानित, वित्तीय प्रतिवेदन उत्कृष्ट बनाउन सफल
काठमाडौं । सिटिजन्स बैंकले साउथ एशियन फिडरेशन अफ एकाउन्टेन्स(साफा) ले प्रदान गर्ने उत्कृष्ट अवार्ड पाएको छ । बंगलादेशको ढाकामा मंसिर १४ गते आयोजित कार्यक्रमा बैंकले सो अवार्ड पाएको हो । साथै, बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स डिस्क्लोजर्स सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ । द इन्स्टिस्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आईक्यान)बाट सन् २०१८ को उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड जित्न सफल यस बैंकले सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट पनि चुनिएर निजी क्षेत्रको बैंकको तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गर्न सफल भएको हो । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई संस्थागत सुशासन, वित्तीय पारदर्शिताको अभ्यास गर्ने जवाफदेही संस्थाको रुपमा लिइन्छ । यस अवार्डले बैंकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ । सार्क राष्ट्रहरुकोे लेखा पेशालाई नियमन गर्ने निकायहरुको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रहरुको विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ ।