टिसिएल ब्राण्डको ‘बडा अफर थाइल्यान्डको सफर’ स्किमको लक्की–ड्र सम्पन्न, दुई जोडीले पाए थाइल्यान्ड जाने अवसर
काठमाडौं । टिसिएल ब्राण्डको “बडा अफर थाइल्यान्डको सफर” नामक स्किमको लक्की–ड्र टंगालस्थित सोरुममा सम्पन्न गरिएको छ । भाद्र १९ गते देखि कार्तिक ३० गते सम्म लागू गरिएको यो योजनामा टिसिएल.ब्राण्डको प्रत्येक उत्पादनहरुको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकले लक्की–ड्र मार्फत थाइल्याण्ड भ्रमण राखिएको थियो । फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा वालिङ बजारकी सिता लमिछाने र देवचुलीकी सुमित्रा सापकोटा गरी २ भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् ।
१९ अर्बभन्दा बढी त्रिविको बेरुजु
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म रु १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको रु १९ अर्ब ६५ करोड ३० लाख १२ हजार उल्लेख छ । कूल रु १२ अर्ब १२ करोड ७२ लाख ३१ हजार बेरुजु रहेकामा २०७६ असार मसान्तसम्म रु एक अर्ब ४७ करोड ४२ लाख १९ हजार बेरुजु फर्छौट गरिएको छ । गत असार मसान्तसम्ममा रु ८६ करोड ९० लाख एक हजार समपरीक्षण गरिसकेको र ५८ करोड समपरीक्षणको लागि महालेखा परीक्षकको कार्यालयमा पठाइएको उप्रेतीले जानकारी दिएका छन् । आव २०७३/७४ सम्मको बेरुजु र रु १९ अर्ब ५३ करोड २२ लाख २८ हजार रहेकोमा २०७५ वर्षमा पुनः रु दुई अर्ब ८९ करोड ४२ लाख १९ हजार बेरुजु बढ्न गएको उनले प्रस्तुत गरेको बजेटमा छ । त्रिविले २०७५ चैतमसान्तसम्म रु एक अर्ब २९ करोड ९२ लाख १६ हजार बेरुजु फर्छौट गरेको थियो । रजिष्ट्रार उप्रेतीले आव २०७३/७४ मा विकास निर्माणका कार्यथप भएको र परियोजना पूरा भएर पनि हस्तान्तरण नभएकाले बेरुजु बढेको बताए । त्रिविका ९५ मध्ये १७ वटाको आन्तरिक लेखापरीक्षक सम्पन्न भइसकेको छ । त्रिविले बेरुजु रकममा आउँदो जेठ महिनाभित्र व्यक्तिगत पेश्की बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने भएको छ । आव २०६९/७० सालसम्म कायम भएको व्यक्तिगत पेश्की गत फागुन मसान्तसम्म बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिँदा रु १३ करोड पेश्की फर्छौट भएको थियो । रजिष्ट्रार उप्रेतीले आगामी दिनमा कार्ययोजना बनाइ पेश्की फर्छौटको कार्यलाई प्राथमिकतामा राखिने बताए । त्रिविले बेरुजुको लागतलाई व्यवस्थित गर्नका लागि विगत १० वर्षको बेरुजुको अभिलेखलाई विद्युतीय प्रणालीमा राखिएको छ । त्रिविले यसै आर्थिक वर्षमा सबै बेरुजुलाई शून्यमा झार्ने अभियानमा शुरु गरेको छ । लेखापरीक्षण कार्यसम्पन्न हुन लागेकोले बेरुजु फर्छौट वर्षको रुपमा कार्ययोजना बनाइ बेरुजु घटाउने कार्यलाई उच्च प्राथमिकता दिइने जनाइएको छ । त्रिविका ९५ इकाइमध्ये १७ वटाले मात्र लेखापरीक्षण गराउन बाँकी छन् । रासस
तेह्रौँ सागः नेपाललाई पहिलो स्वर्ण पदक
काठमाडौं । नेपालका मण्डेकाजी श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन् ।सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको कराँतेको व्यक्तिगत पुरुष एकल कातामा श्रेष्ठले नेपाललाई स्वर्णपदक दिलाएका हुन् । उनले पाकिस्तानका खेलाडी निएमातुल्हालाई पराजित गर्दै स्वर्ण पदक हात पारे। श्रेष्ठले २५.७२ अङ्क जोडे । यता रजत पदक हात पारेका पाकिस्तानका खेलाडीले २४.९२ अङ्क जोडे । त्यसअघि सेमिफाइनलमा मण्डेकाजीले बङ्गलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाएका थिए । यससँगै मण्डेकाजीले दुई दशकपछि नेपाललाई कातामा स्वर्ण दिलाउन सफल भएका छन् । नेपालमै भएको आठौँ सागमा गङ्गाराम महर्जनले कातामा नेपाललाई स्वर्ण दिलाएका थिए । त्यसयता कातामा नेपाल स्वर्णविहीन हुँदै आएको थियो । चञ्चलाले रजत त्यस्तै महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी छन् । उनी फाइनल खेलमा पाकिस्तानकी साहिदासँग पराजित भइन् । चञ्चलाले फाइनलमा २४.६२ अङ्क जोड्दा साहिदाले २४.६२ अङ्क जोडे । यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बङ्गलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गरेका थिए । रासस
तनहुँको बन्दीपुरमा एक वर्षभित्रै केबुलकार सञ्चालन हुने, जग्गाधनीले पाए ४५ लाखको शेयर
काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको केबुलकार एक वर्षभित्र सञ्चालन हुने गरी निर्माणको कामले तीव्रता पाएको छ । बन्दीपुर केबुलकार परियोजनाअन्तर्गत अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको छ । परियोजनाको साझेदार कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले एक वर्षभित्र केबुलकार सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको जानकारी दिए । बन्दीपुर गाउँपालिका-४ ठूल्ढुङ्गामा निर्माण भइरहेको उक्त भवनको लागत १८ करोड ५५ लाख रूपैयाँ रहेको छ । भवन एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो लिमिटेड, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ । केबुलकारको माथिल्लो स्टेशनमा दश तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । ८२ करोड रूपैयाँको लागतमा निर्माण हुने उक्त भवनमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण गरिने शर्माले जानकारी दिए । “होटलसहितको भवन निर्माणका लागि भर्खरै मात्र नक्सा पास सम्पन्न भएको छ”, शर्माले भने, “अब यसलाई पनि निर्माणको चरणमा लैजान्छौँ ।” अध्यक्ष शर्माका अनुसार रेष्ट्रो जोन, शपिङ मल र केबुलकारको ड्राइभ स्टेशन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । पाँच सय क्षमताको सभाहलसमेत उक्त भवनमा निर्माण गरिनेछ । प्रारम्भमा ५६ करोड रुपैयाँको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई ४५ लाख रुपैयाँ बराबरको शेयर प्रदान गरिसकेको छ । केबुलकार कम्पनीमा २२५ जनाभन्दा बढी स्थानीयवासीले शेयर हालिसकेका छन् । स्थानीयवासीबाट केबुलकार निर्माणका लागि करिब तीन करोड रूपैयाँ शेयर सङ्कलन भएको छ भने बन्दीपुर गाउँपालिकाले ५० लाख रूपैयाँ शेयर लगानी गरेको छ । “परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्न निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिनेछ,” उनले भने । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो हुने दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँरादेखि शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर छसय मिटर यात्रा गर्नेछ । डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । रासस
५० प्रतिशत क्षमता बढाएर दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै उदयपुर सिमेन्ट
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट इन्डष्ट्रिजले ५० प्रतिशत उत्पादन वृद्धि गर्ने भएकाे छ । उद्योगले २ करोड लगानी थपेर क्षमता बढाउन लागेकाे हाे । उत्त सिमेन्ट उद्योगलाई आधुनिकीकरण र प्रविधियुक्त गराइ क्षमतामा वृद्धि गर्न लागिएकाे हाे । यसका लागि उद्योगले सरकारबाट स्वीकृत पाएको छ। उद्योगले क्षमता अभिवृद्धिको लागि साँढे ५ करोड माग गरेको थियो तर उद्योग मन्त्रालयले हालका लागि करिब २ करोड मात्रै स्वीकृत दिएको छ । उद्योगले प्रतिदिन ८ हजार ४० मेट्रिक टन (प्रतिदिन झण्डै ४० हजार बोरा) सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योगको क्षमता विस्तार भएपछि प्रतिदिन १२ हजार मेट्रिक टन उत्पादन गर्न सकिने छ । उद्योगको क्षमता अभिवृद्धि गर्न हाल भएको मेशिन मर्मत गर्नुका साथै क्षमता समेत विस्तार गर्न लागिएको हो । यहि अवसरमा उद्योगको जीर्णोद्धार पनि हुनेछ । मेशिन पुरानो भएकोले उत्पादन क्षमता कमी आएकाे छ । त्यसको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार र विकास गर्न लागेको उदयपुर सिमेन्ट उद्योगका सूचना अधिकारी राम जिसीले जानकारी दिए । उनले भने निजी क्षेत्रको सिमेन्ट उद्योगहरुको उत्पादन खर्च कम भएको र सरकारी स्वामित्वमा सञ्चालित सिमेन्ट उद्योगहरुको उत्पादन खर्च बढि भएकाले पनि बजारमा सरकारी स्वामित्वमा सिमेन्टप्रति उपभोक्ताको चासो कम भएको बताए । हामीले पनि सिमेन्ट उत्पादनमा वृद्धि र उपभोक्ता माझ लोकप्रिय बनाउन करिब २ करोड लगानी थप्न उद्योग मन्त्रालय सहमत भएको छ । सिमेन्ट उद्योगका उत्पादन प्रमुख सञ्जयलाल कर्णले भने हामीले ५ करोडमो माग गरेका थियौँ, तर मन्त्रालयले करिब २ करोड मात्रै स्विकृत दियो । अब क्षमता अभिवृद्धि र मेशिन मर्मत काम सुरु हुने बताए । उनले भने १ वर्ष भित्र क्षमता वृद्धि र मेशिन मर्मतको काम सकिने र उद्योगले निरन्तर सिमेन्ट भने उत्पादन गरिरहने बताए । कस्तो छ सिमेन्ट उद्योगको अवस्था ? आफ्ना उत्पादनको बजार बिस्तार र प्रवद्र्धनका लागि उदयपुर सिमेन्ट उद्योगले उत्पादनको समयलाई ध्यानमा राखी सिमेन्ट प्रयोगकर्ताहरुलाई क्यास ब्याकको पनि व्यवस्था केहि महिना अगाडी देखि गरेको थियो । सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले आफ्ना ग्राहकलाई बजार मूल्यमा प्रति बोरा २५ रुपैयाँ क्यास ब्याक दिने घोषणा गरेको छ। सिमेन्टको मूल्य ८ सय २५ रुपयाँ कम्पनीले तोकेको छ । गत जेठमा ढुंगा पेल्ने मेशिन विग्रिएपछि उदयपुर सिमेन्ट करीब डेढ महिना बन्द भयाे । उद्योग बन्द हुँदा करोडौंको नोक्सान भएको थियो ।
बीमामा एक्चुरी गर्ने जनशक्ति नहुँदा करोडौ बाहिरियो
काठमाडौं । राजधानीमा आज सोमबारदेखि बीमा क्षेत्रका एक्चुरीअल साइन्स विशेष अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । नेपाली जनशक्तिबाटै बीमा पोलिसीको उत्पादन र बीमाङ्कीय मूल्याङ्कन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । नेपालमा एक्चुरी नहुँदा वर्षैपिच्छे करोडौं रुपैयाँ बाहिरिरहेको छ । बीमा कम्पनीहरूले आईटी र मानव संशाधनमा आवश्यक जनशक्ति उत्पादन नगर्दा पैसा विदेशिएको हो । जीवन बीमा क्षेत्रमा एक्चुरीको आफ्नै महत्व रहँदै आएको छ । हाल नेपालको आफ्नै एक्चुरी नभएका कारण बिमाङ्की मूल्याङ्कनको लागि भारतको एक्चुरीमा मार्फत काम गराउँदै आएको छ । त्रिभुवन विश्व विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा हिसाब किताबसँग प्रत्यक्ष सरोकार राख्ने एक्चुरीअल साइन्सका विद्यार्थी तथा जीवन बीमा क्षेत्रका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । सोही कार्यक्रम मार्फत प्रशिक्षार्थीहरुलेआफ्नो क्षमता अभिवृद्धी थप विकास गर्ने बताइएको छ । नेपाल पूनर्बीमा कम्पनी नेपालीका अध्यक्ष महेश गुरागाईले बीमा क्षेत्रमा उपयुक्त जनशक्तिको अभाव भएको महशुस गर्दै चाँडै सो कुराको समाधानमा लाग्नु पर्ने बेला आएको बताए ।’ उनले यस्ता विषयमा नियामकको निर्देशनमा मात्र आधारित नभएर बजारको आवश्यकता अनुसार काम गर्न आवश्यक रहेको बताए । कार्यक्रमा नेपाल रि इन्योरेन्सका निवर्तमान(सीईओ) चिरायु भण्डारीले विगतका दिनदेखि नै नेपालमा एक्चुरीको अभाव हुँदै आएको छ । उनले आगामी दिनमा सोही कार्यका लागि करोडौं रुपैयाँ बाहिर पठाउने अवस्था आउन नहुनेमा जोड दिए । गणित विज्ञान स्कुलले आयोजना गरेको ‘प्रोफेशनल स्किल डेभलपमेन्ट प्रोग्राम अन प्राइसिङ एण्ड रिजर्भिङ इन लाइफ इन्स्योरेन्स’ विषय कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।
महालक्ष्मी विकास बैक साफा अवार्डबाट पुरस्कृत
काठमाडौं । महालक्ष्मी विकास बैंक साफा अवार्डबाट पुरस्कृत भएको छ । छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स (साफा) ले दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने सो अवार्डबाट उक्त संस्थालाई सम्मान गरेको हो । एक समारोहका बीच बङगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सि एमपिले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई उक्त सर्टिफिकेट हस्तान्तरण गरेका थिए । बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालबाट २०१८ को उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड जित्न सफल भएसँगै सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट उत्कृष्ट बन्दै वित्तीय सेवा क्षेत्रका बैकका तर्फबाट मेरिट सर्टिफिकेट हासिल गर्न सफल भएको हो ।
महिला उद्यमी महासंघद्वारा सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी गोष्ठी सम्पन्न
काठमाडौं । महिला उद्यमी महासंघ नेपालले आइतबार महिला उद्यमशीलता विकाशकोष तथा सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधिकाे गोष्ठी आयोजना गरेको छ । उक्त कार्यक्रममा उद्योग विभाग, सामाजिक विकास विभाग का.म.न.पा, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय बैंक, राष्ट्रिय वणिज्य बैंक, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल हस्तकला महासंघ, तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महिला उद्यमी महासंघ नेपाल” विभिन्न जिल्लाका महिला उद्यमी संघहरुको छाता संगठन हो । जसको उद्देश्य एक गैर सरकारी, गैर राजनैतिक तथा मुनाफा रहित छ । महासंघले राष्ट्रको आर्थिक विकासको लागि महिला उद्यमीहरुको संगठित प्रयासलाई प्रतिनिधित्व गर्दै महिला उद्यमी लक्षित प्रभावकारी तथा मिल्दो आर्थिक नीति नियम निर्माण गर्न विभिन्न सरकारी निकायहरुसँग महिला उद्यमीहरुको समस्यालाई वकालत गर्दै आईरहेको महासंघकी अध्यक्ष शारदा रिजालले बताइन् । महासंघको लक्ष्य सात प्रदेशका प्रतिनिधिमुलक ९ जिल्लाहरुमा सम्पन्न एफजिडी तथा अन्र्तकृया कार्यक्रम सम्पन्न गरी कार्यक्रमबाट आएका सारसंक्षेप संकलन गरी नीतिगत विषयहरुमा सुझाव प्रतिवेदन तयार पार्ने कुरालाई सो कार्यक्रममार्फत प्रस्तुत गरेको महिला उद्यमी महासंघ नेपालकी महासचिव दर्शना श्रेष्ठले बताइन् । कार्यक्रममा घरेलु तथा साना उद्योग विभाग, निर्देशक, विनोद कुमार खड्का तथा प्रदेश ३, घरेलु तथा साना उद्योग कार्यालय, प्रमुख राम चन्द« अधिकारीद्वारा कार्यान्वयनमा देखिएको चुनौतीहरु, महिला उद्यमीहरुमा देखिने विचौलियाका प्रभाव, नयाँ संरचना तथा कर्मचारी व्यवस्थापनले ल्याएको चुनौती तथा संघ संस्थासँगको सहकार्यजस्ता विषयमा चर्चा गरेका थिए ।