विकासन्युज

स्पर्स लघुवितको साढे दुई लाख आईपीओ आउँदै, एक हजारमै भर्न पाइने

काठमाडाैं । स्पर्स लघुवित वित्तीय संस्थाको २ लाख ५२ हजार कित्ता साधारण सेयर(आइपीओ) निष्कासन हुँदै छ । संस्थाले फागुन २६ गतेदेखि कुल २ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । उक्त सेयरमा न्युनतम १० कित्ता अर्थात एक हजार रुपैयाँमै आवेदन दिन सकिनेछ भने अधिकतम १ हजार ३४० कित्तासम्म आवेदन दिन सकिन्छ । आईपीओको बिक्री छिटोमा फागुन २९ गते र ढिलोमा चैत २५ गते निष्काशन बन्द हुनेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ । संस्थाले २ लाख ६९ हजार ६३० कित्ता मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ४ हजार १४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात १३ हजार ४८२ कित्ता सेयर साधारण सेयरहरु सामूहिक लगानी कोषको लागि बाँडफाँड गरेको छ । जसमा बाँकी २ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

पर्यटनमन्त्री अधिकारी सहित सातै जनाको शव काठमाडौँमा

काठमाडौँ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ । आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको हो । शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिने भएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

बजारमा थरीथरीका सिमेन्टः यी ६ मध्ये ओपीसीमा होङ्शी र पीपीसीमा जगदम्बा सस्तो

काठमाडौं । तपाईँ घर बनाउँदै हुनुहुन्छ ? वा जुनसुकै निर्माणका काम गर्दै हुनुहुन्छ भने तपाईँलाई सिमेन्टको जरुरी पक्कै हुन्छ । तर, बजारमा धेरै कम्पनीका सिमेन्ट पाइन्छ । उही तौलका सिमेन्टको मूल्य फरक फरक छ । ओपीसी सिमेन्टमा बजारमा सबैभन्दा सस्तो होङ्शी शिवम् र पीपीसीमा जगदम्बा सिमेन्ट सस्तो पाइएको छ । त्यसैगरी कम्पनी मूल्य अनुसार ओपीसीमा सबैभन्दा महङ्गो युनाइटेड र पीपीसीमा सबैभन्दा महङ्गो होङ्शी शिवम् सिमेन्ट रहेको छ । बजारमा पाइने ६ वटा सिमेन्टको कम्पनी मूल्य कति छ भनेर विकासन्यूजले बुझ्ने कोशिस गरेको छ । अम्बे, हेटौंडा, जगदम्बा, अर्घाखाँची, युनाइटेड र होङ्शी शिवम् सिमेन्ट मध्ये ओपीसीमा कम्पनीले तोकेको मूल्य अनुसार सबैभन्दा महङ्गो युनाइटेड छ भने सबैभन्दा कम मूल्य होङ्शी शिवम् सिमेन्टको छ । होङ्शी शिवम् सिमेन्ट(पिपिसी)को मूल्य प्रति बोरा ७ सय रुपैयाँ रहेको छ । यता सबैभन्दा महङ्गा सिमेन्ट युनाइटेड (पिपिसी) को कम्पनी मूल्य ८ सय ५० रुपैयाँ रहेको छ । त्यसैगरी ओपिसीमा सबैभन्दा सस्तो जगदम्बा रहेको छ । यसको कम्पनी मूल्य प्रतिबोरा ६६५ रुपैयाँ रहेको छ । ओपिसीमा सबैभन्दा मंहगो होङ्शी शिवम् को कम्पनीले तोकेको मूल्य ८०० रुपैयाँ रहेको छ । यसैगरी ओपीसी सिमेन्टतर्फ कम्पनी मूल्य अम्बे सिमेन्ट ७९०, हेटौँडाका ८४७, जगदम्बाको ७७५, अर्घाखाँचीको ७७०, यूनाइटेडको ८५० र होङ्शी  शिवम् को ७०० रुपैयाँ रहेको छ । यसैगरी, पीपीसीतर्फ कम्पनी मूल्य अम्बेको ६८०, जगदम्बाको ६६५ र होङ्शी शिवम् को ८०० रुपैयाँ रहेको छ । सिमेन्ट उद्योगमा २ खर्बको लगानी, उद्योग संख्या ५६ पछिलो समयमा नेपालमा सिमेन्ट उद्योगहरुको संख्यामा वृद्धि भैरहेको छ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । करिब दुई खर्ब रूपैयाँ लगानी भएको र वार्षिक १५० अर्ब रूपैयाँ बराबरको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । विश्वमा सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भएपनि नेपालमा १९६० देखि मात्रै उत्पादन शुरु गरिएको हो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ । नेपालमा सरकारी उद्योग हिमाल सिमेन्टले पहिलो पटक उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलादेखि मात्रै लगानी थालिएको हो । नेपालमा अहिले ५६ वटा सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । हाल उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्दै आएको छ ।

एक कुशल अभिभावक गुमायौं : अनेरास्ववियु

काठमाडौं । नेकपाका भातृ संगठन अनेरास्ववियुले साे वक्तव्य जारी गरेकाे छ । संस्कृति, पर्यटन, तथा नागरिक उड्यन मन्त्री तथा नेकपाका एवं विद्यार्थी फाटका प्रमुख रविन्द्र अधिकारको मृत्युले देह देश नै शोकमा रहेका अवस्थामा शाेक वक्तव्य जारी गरेकाे हाे । पोखरामा २०२६ बैशाख २२ गते कास्कीको भरतपोखरीमा जन्मिएका अधिकारीको बुधबार ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा परि मुत्यु भएको थियो । उनको निधनबाट अनेरास्ववियुले कुशल अभिभावक, विकासप्रेमि भरोसा योग्य युवा नेता गुमाएकाे उच्च मूल्याङ्कन गर्दै दिवंगत क. रविन्द्र अधिकारीप्रति अनेरास्ववियुकाे अध्यक्ष नविना लामाले लिखित  शाेक वक्तव्य जारी गरे ।  

मन्त्री अधिकारीका परिवारलाई भेट गरी अध्यक्ष दाहालद्वारा समवेदना प्रकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी समवेदना प्रकट गरेका छन् । उनले पुल्चोकस्थित मन्त्री निवास हरिहर भवन पुगेर दिवङ्गत मन्त्री अधिकारीका बुबा, आमा र श्रीमतीलाई समवेदना प्रकट गरेको दाहालको सचिवालयले जनाएको छ । त्यसैगरी अध्यक्ष प्रचण्डले आजै बिहान व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालका परिवारसमेतलाई भेटी समवेदना दिएको सचिवालयले जनाएको छ ।

नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ । देशका अधिकांश विद्यार्थीले पठन पाठन गर्ने नेपालको अग्रणी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र देशको पहिलो बैंक नेपाल बैक लिमिटेड बीच सहकार्य सम्वन्धी सम्झौता भएको छ । वल्खुस्थित विश्वविद्यालय हातामा स्थापित बैंकको एक्सटेन्सन काउन्टरबाट विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको कारोबार सेवा सञ्चालन सम्वन्धी उक्त सम्झौता पत्रमा त्रिविविका परिक्षा नियन्त्रक पुष्पराज जोशी र नेपाल बैंकका मुख्य प्रबन्धक लेखनाथ भुसालले हस्ताक्षर गरेका छन् । सम्झौताबाट त्रिभुवन विश्वविद्यालयका शिक्षक कर्मचारी तथा करिब ७ लाख विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने नेपाल बैंकका प्रेस संयोजक मुकुन्द्र अर्यालले जनाएका छन् ।

माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र अपिपावर कम्पनी लि. बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । सो सम्झौतामा नेविप्राका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका छन् । प्रदेश न. ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका योे अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यस अघि कम्पनीले ८.५ मेवा क्षमताको नौगाड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ३ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युत प्रवाह गर्दै आएको छ । कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजनाअपर नौगाढ गाड जलविद्युत आयोजना(८.०)को निर्माण पूरा गरी आगामी चैत मसान्तभित्र विद्युत उत्पादन शुरु हुनेछ । कम्पनीले सम्पन्न गरेका आयोजनाहरु नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १३२ के.भि.डवल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ । यो अपर चमेलिया जलविद्युत आयोजनाबाट (४० मेगावाट) बार्षिक २६.४१करोड युनिट विद्युत उत्पादन कम्पनीले जनाएको छ । उत्पादित विद्युत मध्ये ३३ प्रतिशत हिउँदाका ६ महिनाहरुमा र बाँकी ६७ प्रतिशत बर्षात महिनाहरुमा उत्पादन हुनेछ । यो आयोजना टेक अर पेमा आधारित छ । कम्पनीले उत्पादनअनुमतिप्राप्तगरि २०७६ सालबाट निर्माण सुरु गरी ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । सुदुरपश्चिममा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ के.भि.डबल सर्किट ट्रान्समिसन लाइनमा जडान हुने भएकोले विद्युत प्रवाहको कुनै समस्या नरहेको कम्पनी काकार्यकारी संचालकश्री सञ्जीवन्यौपानेले बताए । यो आयोजनामा नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण गरिएको बहुचर्चित चमेलिया जलविद्युत आयोजनाको विद्युत गृह भन्दा १५ किलोमिटर माथि अवस्थित छ । दुर्गम जिल्लामा निर्माण हुने यस आयोजनाको लागत प्रति मेगावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत ७२० करोड लाग्ने अनुमान छ ।

पशुपतिनाथमा भारतीय साधुको आगमन बढ्ने, ५० लाख बजेट विनियोजन

काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले यस वर्ष आठ उपसमिति गठन गरी तयारी शुरु गरेको मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताए । यस वर्ष फागुन २० गते सोमबार महाशिवरात्रि पर्व परेको छ । पशुपतिनाथ नेपालका राष्ट्रिय देवता हुन् । पाश अर्थात् बन्धनमा परेकालाई मुक्ति दिने पशुपतिनाथ देवताका पनि देवता मानिन्छन् जो कैलाश पर्वतमा बस्छन् । किरात शिवको विवाह आर्य हिमालय र मेनकाकी सुपुत्री पार्वतीसँग भएको थियो । तयारीका क्रममा रङरोगन, बत्ती व्यवस्था, सुरक्षालगायत तयारी तीव्ररुपमा अघि बढेको छ । कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोजकत्वमा चन्दन, मन्दिर प्राङ्गण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा परिचालन अनुगमन तथा पास व्यवस्था उपसमितिको गठन गरिएको छ । यसैगरी परिषद् सदस्य राजुकुमार खत्रीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था र लाइट तथा साजसजावट, परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा स्वास्थ्य, वातावरण,सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था र परिषद् सदस्य घनश्याम उपाध्यायको संयोजकत्वमा प्रचारप्रसार व्यवस्था उपसमिति गठन भएको छ । यस वर्ष भारतबाट आउने पर्यटक पनि बढी हुने अनुमान गरिएको छ । इलाहावादस्थित प्रयागराजमा भएको कुम्भमेला लगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढ्ने कोषले जनाएको छ । यस वर्ष शिवरात्रिको अवसरमा ११ लाखभन्दा बढीले मूल मन्दिरभित्रै प्रवेश गरेर पूजाआजा एवं दर्शन गर्ने तयारी गरिएको छ । महाशिवरात्रि नजिकिँदै गर्दा साधुसन्त आउने क्रम पनि बढ्दै गइरहेको कोषले जनाएको छ । शिवरात्रिका लागि यस वर्ष अन्तरराष्ट्रियस्तरबाट पनि ठूलो सङ्ख्यामा दर्शनार्थी आउने अनुमान गरिएको छ । साधुसन्तका लागि खाने र बस्ने व्यवस्था कोषले नै गर्दै आइरहेको अधिकृत ढुङ्गानाले बताए । उनीहरुका लागि दाउरा र पानीलगायत वस्तु भने गुठी संस्थान र विभिन्न सङ्घसंस्थाका स्वयंसेवकले उपलब्ध गराउँदै आएका छन् । कोषले मलेसिया र भारतबाट आउने दर्शनार्थीलाई निःशुल्क खानाको व्यवस्था मिलाएको छ । कोषले यस वर्ष शिवरात्रिका लागि ५० लाख बजेट विनियोजन गरेको छ । शिवरात्रिका लागि विगत वर्षजस्तै यस वर्ष पनि विभिन्न सङ्घसस्ंथाले सेवा उपलब्ध गराउने भएका छन् । यसका लागि कोषले यही फागुन १० गतेसम्मका लागि निवेदन दिने समय तोकेको थियो ।