विकासन्युज

साग खेलका लागि सीमित टिकट मात्र बाँकी, समयमै टिकट बुक गर्न इसेवाको आग्रह

काठमाडौं । नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल अन्तर्गत शनिबार हुने खेलका सीमित सिटमात्र बाँकी रहेका छन् । सागको टिकट बिक्री तथा व्यवस्थापन गरेको इसेवाले फुटबलका लागि न्यून सिट बाँकी रहेको र क्रिकेट खेलको टिकट पनि तीब्र रूपमा बिक्री भइरहेकाले समयमै आफ्नो सिट बुक गर्न आग्रह गरेको छ । साग अन्तर्गतका फुटबल, क्रिकेट, भलिबल तथा बास्केटबलको टिकट बिक्री तथा व्यवस्थापन इसेवाले गर्दै आएको छ । इसेवाका सीईओ रोशन लामिछानेले भने ‘शनिबार बिदाको दिन भएकाले सीमित टिकट बाँकी रहेका छन्, खेल अगाडी नै टिकट सोल्ड आउट हुने संभावना भएकाले रंगाशालामा टिकट उपलब्ध नहुनसक्छ, समयमै आफ्नो टिकट काटेर सिट बुक गर्नुहोला ।’ यसअघि भएका दुईवटा फुटबल म्याचमा १० हजार भन्दा बढि दर्शकले अनलाइनबाट टिकट काटेका थिए । सार्बजनिक बिदाको दिन नहुँदा पनि दर्शकको सहभागिता उत्साहपूर्वक भइरहेका बेला सार्वजनिक बिदा परेकाले शनिबार टिकट सोल्डआउट हुनसक्ने भएकाले समयमै टिकट बुक गर्न इसेवाले आग्रह गरेको हो । दर्शकले साग डट इसेवा डटकम डट एनपी (sag.esewa.com.np) मा गइ आफुले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सकिनेछ । टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाईल नम्बर राखेर आफ्नै मोबाईलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ । हरेक टिकटमा दर्शकको नाम, मोबाईल नम्बर र युनिक क्यूआर कोड रहने र दर्शकले प्रवेशद्धारमा आफ्नो टिकट र तस्विर भएको कुनै परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । उक्त टिकट रियल टाइममै भेरिफाई हुने र आइडी कार्ड देखाएपछि दर्शकले प्रवेश पाउनेछन् । यस्तै यसपटक फुटबल म्याचमा सिट नम्बर सहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवा एकाउण्ट भएका ग्राहकले सिधै मोबाईलबाट टिकट खरिद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गइ अनलाइन टिकट खरिद गर्न सकिनेछ । उपत्यका लगायत नेपालभर इसेवाका ६५ हजार भन्दा बढी जोन पोइन्ट रहेका छन् ।

एभरेष्ट बैंकद्धारा सेल्फ-हेल्प ग्रुप फर सेरेब्रल पल्सीलाई स्कुल भ्यान प्रदान

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरको धापाखेलस्थित सेल्फ-हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजीसीपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ । एसजीसीपी एक गैर-सरकारी तथा गैर-नाफामुलक संस्था हो जो सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएका बालबालीका र युवाहरुलाई सहयोग गर्न र उनीहरुका अभिभावकहरुलाई भावनात्मक र व्यवहारिक सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको छ । एसजीसीपीका प्रमुख कार्यकारी अधिकृत विमल लाल श्रेष्ठलाई संयुक्त रुपमा निर्देशक बाल गोपाल बैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले बैंकका अधिकारीहरु र एसजीसीपीका टोलीहरुको उपस्थीतिमा स्कुल भ्यान हस्तान्तरण गरेका छन् । एभरेष्ट बैंकको ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । एभरेष्ट बैंक बेस्ट म्यानेज्ड कमर्सियल बैंक, २०१९ बाट सम्मानित भएको छ । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाहर्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

युनाईटेड फाईनान्सले एकैसाथ सञ्चालनमा ल्यायो ७ नयाँ शाखा, संख्या बढेर २२ पुग्यो

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले एकैसाथ ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले शुक्रबार मात्रै भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर, ईटहरी र धरानमा गरी ७ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । जसमध्ये भैरहवा शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले गरेका छन् । अन्य शाखाहरुको उद्घाटन नगरपालिकाका मेयर, उद्योग वाणिज्य संघका पदाधिकारी तथा संस्थाका संचालकहरुबाट सम्पन्न भएको संस्थाले जनाएको छ । यसका साथै फाइनान्सको शाखा संख्या हालसम्म २२ वटा पुगेको छ । त्यस्तै, पुँजी तथा शाखा संजालका हिसावले यस संस्था सबैभन्दा ठुलो फाइनान्स कम्पनी बन्न पुगेको विज्ञप्तिमा उल्लेख छ । सेवा संचालनको २५औं बर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ । फाइनान्सले २०७६ असोज मसान्तसम्म करीब ६ अर्ब ७० करोड रुपैयाँ निक्षेप तथा ६ अर्ब १४ करोड रुपैयाँ कर्जा परीचालन गरेको छ । संस्था गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

कामना सेवा विकास बैंकको १०५औं शाखा काठमाडौंको मनमैजुमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा तारकेश्वरस्थित मनमैजुमा १०५औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा बैंकका संचालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत,नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । बैंकले देशका विभिन्न भागहरुमा १ सय ५ वटा शाखा तथा ५४ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा दिंदै आएको छ ।

कुमारी बैंककाे नयाँ भवन शिलान्यास

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्सालस्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको छ । उक्त भूमीपूजन कार्यक्रम कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबराद्वारा वैदिक पूजा सम्पन्न भएको हो । पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिति थियो । विगत १८ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका १ सय १६ शाखा संजाल, १ सय १० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा दिंदै आएको छ ।

सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई विराट हस्पिटलमा विशेष छुट

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई विराट हस्पिटलमा स्वास्थ्य परीक्षण शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त  सम्झौतापत्रमा कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिना तथा हस्पिटलको प्रशाशक पदम वीनाडीले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक राजन निरौला तथा विराटनगर शाखा प्रमुख सन्तोष आचार्य समेतको उपस्थिति रहेको थियो । सम्झौता अनुसार सानिमा लाईफ इन्स्योरेन्सका वीमा प्रस्तावकहरुले प्रि मेडिकल चेक अप गर्दा विशेष छुट तथा नगद रहित सुविधा प्राप्त गर्न सक्ने छन् ।

अब रारामा पनि टेलिकमको फोरजी सेवा, स्थानीयलाई व्यवसाय प्रबर्द्धन गर्न सजिलाे हुने

काठमाडौं । नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा हिजो (०७६ मंसिर १९) देखि भएको हो । कर्णाली अञ्चलका ५ जिल्लामध्ये मुगुको रारा तालमा पर्यटक, स्थानीय वासिन्दा र व्यवसायीको सुविधालाई ध्यानमा राखी पहिलोपटक फोरजी सेवा प्रदान गरिएको हो । यो सेवाको शुरुवात सँगै स्थानीय व्यावसायी र वासिन्दालाई उच्च गतिको डाटा सेवा प्रयोग गरी व्यवसाय प्रबद्र्धन तथा प्रचार गर्न सहज भएको छ । त्यस क्षेत्रमा जाने पर्यटकले त्यहाँका दृश्य तथा गतिविधिहरु कम्पनीको फोरजी नेटवर्क प्रयोग गरी तत्काल प्रत्यक्ष प्रसारण समेत गर्न सकिने छ । समुद्री सतहभन्दा २९७२ मिटर उचाइमा रहेको यस तालमा वार्षिक ६० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण हुने गरेको छ । राजा महेन्द्रद्धारा वि.सं.२०२० सालमै रारा ताललाई स्वर्गकी रानीको उपमा दिएर यसको सुन्दरताको बयान गरिएको थियो । फोरजी सेवाको विस्तारसँगै भ्रमण वर्ष २०२० का अवसरमा रारा ताल एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुनसक्ने सम्भावना बढेको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए । रारा नेपालको सबैभन्दा ठूलो र सबभन्दा गहिराई भएको ताल पनि हो । पर्यटकीय मौसममा पर्यटकका टेन्ट र फायर क्याम्पिङले भरिने मिलिचौर, नेपाली सेनाको श्रीदल गण क्षेत्र तथा स्थानीय व्यवसायीहरु फोरजी सेवाबाट लाभान्वित हुनेछन् ।

तेह्रौँ सागः गल्फमा नेपाललाई दुई स्वर्ण

काठमाडाैं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । सत्र वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गरेका छन् । उनले बङ्गलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ रहेका छन् । रासस