विकासन्युज

पूर्वसांसद पण्डितको हृदयाघात भएपछि उपचारका क्रममा निधन

काठमाडौँ । पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । आज हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए । विसं २०४८ को निर्वाचनमा उनी नुवाकोट-२ बाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका थिए । विसं २०५६ को निर्वाचनमा उनी नुवाकोटबाट तत्कालीन नेकपा (माले)बाट उम्मेदवार बनेका थिए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा परेका थिए । झण्डै आठ महिना प्रहरी हिरासतमा रहेका थिए । तत्कालीन राष्ट्रिय पञ्चायात सदस्यमा समेत उनी नुवाकोटबाट उम्मेवार बनेका थिए । काठमाडौँको वसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन् । पछिल्लो समय उनी पार्टीमा निष्क्रिय रहेका थिए ।

पेरिसमा एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त

पेरिस- प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन्। अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन्। पेरिसमा आयोजित एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिएकाे छ। एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो। उनलाई “लन्डन बिरामी” को उपनाम दिइएको छ। विगत १९ महिनादेखि उनको शरीरमा एचआईभी नपाइएको नेचर नामको जर्नलमा समाचार छ। दश वर्षअघि पनि यस्तै एक व्यक्तिलाई रोगमुक्त रहेको घोषणा गरिएको थियो। रगतको क्यान्सर उपचारका लागि बिरामीको हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण गरिएको थियो। एचआईभी सङ्क्रमण नहोस् भन्नका लागि दाताबाट प्राप्त मूल कोशिका (स्टेम सेल्स) लाई पनि जेनेटिक उपचार गरिएको थियो। “उपचार सफल देखिएकाले बर्लिन बिरामीको पनि सफल उपचार हुनेछ,” क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर एवं मुख्य लेखक रवीन्द्र गुप्ताले बताए। विश्वमा लाखौं मानिस एचआईभीबाट पीडित छन्। लाखौं बिरामीले एन्टीरेट्रोभाइरल थेरापी (एआरभी) औषधि सेवन गरिरहेका छन्, तर कुनै पनि बिरामी पूर्ण रुपमा निको हुन सकेका छैनन्। “अहिले, एचआईभीको उपचार गर्ने एकमात्र विधि औषधि सेवन मात्र हो जसले भाइरसको फैलावटलाई रोक्दछ । र यो औषधि बिरामीले आजीवन सेवन गर्नु पर्दछ”, गुप्ताले भने, “यसले विकासशील मुलुकहरुलाई ठूलै चुनौती सिर्जना गरिरहेको छ। यी देशमा अझै पनि धेरै मानिसले पर्याप्त उपचार प्राप्त गर्न सकेका छैनन्।” एक अनुमान अनुसार विश्वमा हाल ३ करोड ७० लाख मानिसमा एचआईभी छ, तर करिब ५९ प्रतिशतले मात्र एआरभी सेवन गर्न पाएका छन्। एचआईभीसँग सम्बन्धित कारणहरुबाट बर्सेनि झण्डै १० लाख मानिसको मृत्यु हुने गरेको छ। एचआईभीकै स्वरुपमा एउटा नयाँ औषधि–प्रतिरोधी परिस्थिति सिर्जना भइरहेको वैज्ञानिकहरुको भनाई छ। गुप्ता र उनको टोलीले हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण उपचार विधि एचआईभी उपचारका लागि उपयुक्त विकल्प नरहेको पनि बताएको छ। यो विधि निकै डरलाग्दो र पीडादायी हुने गर्दछ। तर यो प्रत्यारोपणले विज्ञानिकहरुलाई उपचारमा नयाँ खोज गर्न र सानोभन्दा सानो विधिबाट बिरामीको उपचार गर्न सकिने बाटो देखाउने गुप्ताको भनाई छ। एएफपी

भियतनामी टोली उच्चस्तरीय भेटघाटमा, लगानी बढाउन गृहमन्त्रीले गरे आग्रह

काठमाडौँ । समाजबादी गणतन्त्र भियतनामका राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा समितिका सभापति एबं लेफ्टिनेन्ट जनरल भो ट्रोंग भिएत को नेतृत्वमा आएको नौ सदस्यीय प्रतिनिधि मण्डलले आज काठमाडौँमा उच्च स्तरीय भेटघाट सम्पन्न गरेको छ । भियतनामका लागि अवैतानिक बाणिज्यदुत राजेशकाजी श्रेष्ठको पनि सहभागिता रहेको उक्त भेटघाटको क्रममा संघीय संसदका सभामुख कृष्णबहादुर महराले दुई-देशको संसदीय मामला सम्बन्धमा सहकार्य गर्न सकिने कुरा उल्लेख गरे । सभामुख महराको कार्यकक्षमा भएको सो भेटमा दुई-देशको संसदका सबल पक्षहरुबाट एक-अर्का देशले सिक्न सकिने र प्रतिनिधि मण्डल आदान–प्रदानलाई अगाडी बढाउन सकिने कुरा उल्लेख गरेका थिए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठसंग भएको भेटमा उनले भियतनामको प्रतिनिधि मण्डललाई भेटेर आफु प्रसन्न रहेको बताइन् । दुई-पक्षीय छलफलबाट भियतनामको राज्य-व्यवस्था लगाएत सुरक्षा मामला सम्बन्धि आफु अपडेट हुन पाएको कुरा उनले बताइन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासंग भएको एक अर्को भेटमा अध्यक्ष तिमिल्सिनाले भियतनामको शाशकीय पद्दति तथा संसद्को व्यवस्था र नेपालको संघीय व्यवस्थाबाट एक-अर्का देशले सिक्न सक्ने कुरा उल्लेख गरे । महाशक्तिसंगको युद्धबाट अघि बढेर भियतनामले अर्थतन्त्र, विकास र सुरक्षाको क्षेत्रमा हाशिल गरेको प्रगति प्रशंशनीय रहेको कुरा समेत तिमिल्सिनाले बताए । त्यस्तै, गृहमन्त्री रामबहादुर थापाले उक्त प्रतिनिधि मण्डलसंग कुरा गर्दै नेपालमा भियतनामबाट लगानी बृद्धि हुने आशा व्यक्त गरे ।

सनराइज बैंकको नगद फिर्ता योजना, ‘५ सयदेखि १ हजारसम्म क्यास ब्याक’

काठमाडौँ । सनराइज बैंकले भिसासँगको सहकार्यमा आफ्ना सम्पूर्ण डेविट तथा क्रेडिट कार्डको कारोबार मा ५ सयदेखि १ हजार रुपैयाँसम्म नगद फिर्ता (क्यास ब्याक) योजना लागु गरेको छ । यस योजना अन्र्तगत बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि पीओएस वा अनलाइन मार्फत कारोबार गरेमा ५ सयदेखि १ हजारसम्म नगद बैंकले उक्त ग्राहकको खातामा जम्मा गरिदिने जनाएको छ । ५ हजारदेखि १० हजारसम्मको पीओएस वा अनलाइनमा भएको कारोबारमा ५ सय क्यास ब्याक दिइने छ । साथै १० हजारदेखि १५ हजारसम्मको कारोबारमा ७ सय ५० रुपैयाँ क्यास ब्याक र १५ हजार भन्दा माथिको कारोबारमा १ हजार क्यास ब्याक दिइने बैंकले जनाएको छ ।

कैलाश विकास बैंकले बिद्यालयलाई दियो कम्प्यूटर तथा फोटोकपी मेसिन

काठमाडौँ । कैलाश विकास बैंकले २० फागुनमा अन्नपूर्ण गाउँपालिका वडा नं. १० घान्दु्रक, कास्कीमा रहेको मेश्रम वराह माध्यामिक विद्यालयलाई २ थान कम्प्यूटर र १ थान फोटोकपी मेसिन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामाग्रीहरु हरुतान्तरण गरेको हो । यस कार्यक्रमबाट यस विद्यालयका पूर्व प्राथमिक देखि कक्षा १२ सम्म अध्ययनरत बिद्यार्थिहरु प्रत्यक्ष रुपले लाभान्वित हुनेछन् । शिक्षक, बिद्यार्थी तथा अभिबावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकको तर्फबाट बुद्धिराज बरालले सूचना प्रविधिको बर्तमान युगमा कम्प्यूटर तथा फोटोकपी मेसिनले विद्यार्थीहरुलाई पठन पाठनमा ठूलो सहयोग मिल्ने तथा विद्यार्थीहरुमा सूचना प्रविधिको पहुंच पु¥याउन सहयोग पूग्ने बताए । उक्त कार्यक्रमको सभापतित्व गरेका बिद्यालय ब्यवस्थापन समितिका का.बा. अध्यक्ष जगतबहादुर गुरुङले यस सहयोगबाट बिद्यालय तथा बिद्यार्थीहरुलाई हौसला मिलेको बताए ।

नेपाल चेम्बर र इन्डो-लेटिन अमेरिकन चेम्बरबीच समझदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र इन्डो-लेटिन अमेरिकन चेम्बर अफ कमर्सबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।चेम्बर भवन कान्तिपथमा सम्पन्न एक कार्यक्रमका बीच भएको उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र इन्डो–लेटिन अमेरिकन चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राज कुमार शर्माले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले लेटिन अमेरिकी मुलुक र त्यहाँका व्यापारिक संघ–संस्थाहरुसंग बलियो सम्बन्ध भएको इन्डो–लेटिन अमेरिकन चेम्बर अफ कमर्ससंगको सम्बन्धबाट नेपाल चेम्बर अफ कमर्सको सम्बन्ध सिधै लेटिन अमेरिका सम्म पुग्ने बिश्वास व्यक्त गरे । इन्डो–लेटिन अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष राजकुमार शर्माले उक्त समझदारी पत्रबाट नेपालले आफ्नो संस्थामार्फत व्यापारिक फाइदा मात्र होइन, सामाजिक र सांस्कृतिक रुपमा समेत जोडिएर लेटिन अमेरिकी मुलुकमा नेपालको संस्कृतिको समेत प्रबद्र्धन हुने कुरा उल्लेख गरे । हालसम्म नेपाल चेम्बर अफ कमर्सले अन्य देशका ६७ वटा बिभिन्न अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरु कमलेश अग्रवाल, महेन्द्रमान श्रेष्ठ र नरेश श्रेष्ठ लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।

सिण्डिकेटधारी संघ-समितिलाई सरकारले नै संरक्षण गर्यो: महासंघ

काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारले सिन्डिकेट प्रणालीलाई खारेज गर्ने निर्णय गरेपनि अहिलेसम्म यसको कार्यान्वयन पक्षमा चुकेको आरोप लगाएको छ । महासंघले सिण्डिकेट हटाउनको लागि सरकार गम्भीर नभएको र दोहोरो भूमिका निर्वाह गरिरहेको आरोपसमेत लगाएको छ । मंगलबार महासंघले रिपोर्टर्स क्लब नेपालमा ‘नेपालमा सिन्डीकेटरहित यातायात सेवाको आवश्यकत्ता र चुनौती’ बिषयक अन्र्तक्रिया कार्यक्रम गर्दै यस्तो आरोप लगाएको हो । महासंघले सिन्डीकेटरहित यातायात सेवा दिन तत्पर व्यवसायीहरुलाई नै सरकारले असहयोग गरि गुमराहमा राख्नेजस्ता कार्य गरेको पनि गम्भिर आरोप लगाएको छ । सरकारको पछिल्लो कदमप्रति आम उपभोक्ता तथा सिन्डिकेटरहित यातायात सेवा दिन तत्पर व्यवसायीहरुमा शंका र निराशा पैदा भएको महासंघको ठहर छ । त्यस्तै, पछिल्लो समय यातायात क्षेत्रमा पैदा भएका अन्यौलग्रस्त अवस्थाको अन्त्य गर्न सरकार गम्भीर बन्नु पर्नेमा महासंघको जोड छ । महासंघले पर्यटन प्रर्वद्धन गर्न पर्यटकीय र औद्योगिक क्षेत्र र बढि जनसंख्या भएको स्थानहरुमा पर्याप्त र सुविधासम्पन्न सवारी साधनहरु सञ्चालन गर्नुपर्नेमासमेत जोड दिएको छ । त्यस्तै, यात्रुको हित र सुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुमा यात्राको लागि ‘ई–टिकेट’ प्रणालीपनि लागु गर्ने महासंघले विश्वास दिलाएको छ । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले यातायातको क्षेत्रमा बिभिन्न संघ संगठनहरुको जन्म भएपनि सार्वजनिक यातायातको क्षेत्रमा उल्लेखनीय कामहरु नभएको गुनासो पोखे । पछिल्लो समय मुलुकमा सवारी दुर्घटनाहरु बढ्दै गएको भन्दै उनले लाखौं जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस सार्वजनिक यातायात क्षेत्रमा भएको कमिसनतन्त्र, घुसखोरी, माफियातन्त्र, दलाली, यात्रु ठगि, एकाधिकार अधिपत्य र सिन्डिकेटजस्ता विकृति विसंङगतिहरुको अन्त्य हुनुपर्नेमा जोड दिए । महासंघका उपाध्यक्ष कृष्णबहादुर तिमिल्सिनाले नेपालमा सार्वजनिक यातायातको क्षेत्रलाई सिन्डीकेटमुक्त बनाउने, यातायात क्षेत्रलाई प्रभावकारी र व्यवस्थित बनाउन आफुहरु लागिपरेको उनको धारणा रहेको थियो । कार्यक्रममा बोल्दै महासंघका महासचिव गणेश उप्रेतीले निजी क्षेत्रको अरर्बौं लगानी र लाखौ मजदुरको प्रत्यक्ष भविष्य जोडिएको उक्त क्षेत्रका समस्याको तुरुन्त राज्यले समाधान गराउनमा लाग्नुपर्ने बताए ।

खानेपानी मन्त्रीले गरिन् वाटर एटीएमको उद्घाटन, अब २ रुपैयाँमा पानी पिउन पाईने !

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा नेपालमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गरिएको छ । खानेपानी मन्त्री बिना मगरले मंगलबार वाटर एटीएमको उद्घाटन गरिन् । उद्घाटन पछि उनले एटीएमबाट पानी झारेर पिएकी थिइन् । यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिए । पहिलो पटक शुभारम्भ गरिएको वाटर एटीएम मेसिन काठमाडौं उपत्यकाका बीस ठाउँमा जडान गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताए । उद्घाटन पछि कार्यक्रममा बोल्दै मन्त्री मगरले बाटोमा हिंड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटीएम सफल हुने विश्वास व्यक्त गरिन् । उनले पिउने पानीको गुणस्तरलाई सधैं ध्यान दिई कहीँ कतै चुक्न नदिन बोर्डलाई निर्देशन समेत दिइन् । उनले भनिन्, “हामीले किनेर खाने बोतलको पानी कहिले काँही त्यसै फालिरहेका हुन्छौं । जति चाहिने हो त्यति पानी पिउनका लागि वाटर एटीएम एकदमै उपयोगी छ । धेरै प्यासीहरुको प्यास मेटाउन वाटर एटीएम सफल हुनेछ ।” वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । उक्त एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाईने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ । उक्त एटीएममा दुई रुपैयाँको क्वाईन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाईने व्यवस्था गरिएको छ । बोर्डले सुपिङ ईन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि भित्र्याएको हो । वाटर एटिएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता समेत भएको छ ।