युनाईटेड फाईनान्सले एकैसाथ सञ्चालनमा ल्यायो ७ नयाँ शाखा, संख्या बढेर २२ पुग्यो
काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले एकैसाथ ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले शुक्रबार मात्रै भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर, ईटहरी र धरानमा गरी ७ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । जसमध्ये भैरहवा शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले गरेका छन् । अन्य शाखाहरुको उद्घाटन नगरपालिकाका मेयर, उद्योग वाणिज्य संघका पदाधिकारी तथा संस्थाका संचालकहरुबाट सम्पन्न भएको संस्थाले जनाएको छ । यसका साथै फाइनान्सको शाखा संख्या हालसम्म २२ वटा पुगेको छ । त्यस्तै, पुँजी तथा शाखा संजालका हिसावले यस संस्था सबैभन्दा ठुलो फाइनान्स कम्पनी बन्न पुगेको विज्ञप्तिमा उल्लेख छ । सेवा संचालनको २५औं बर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ । फाइनान्सले २०७६ असोज मसान्तसम्म करीब ६ अर्ब ७० करोड रुपैयाँ निक्षेप तथा ६ अर्ब १४ करोड रुपैयाँ कर्जा परीचालन गरेको छ । संस्था गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।
कामना सेवा विकास बैंकको १०५औं शाखा काठमाडौंको मनमैजुमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा तारकेश्वरस्थित मनमैजुमा १०५औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा बैंकका संचालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत,नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । बैंकले देशका विभिन्न भागहरुमा १ सय ५ वटा शाखा तथा ५४ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा दिंदै आएको छ ।
कुमारी बैंककाे नयाँ भवन शिलान्यास
काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्सालस्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको छ । उक्त भूमीपूजन कार्यक्रम कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबराद्वारा वैदिक पूजा सम्पन्न भएको हो । पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिति थियो । विगत १८ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका १ सय १६ शाखा संजाल, १ सय १० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा दिंदै आएको छ ।
सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई विराट हस्पिटलमा विशेष छुट
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई विराट हस्पिटलमा स्वास्थ्य परीक्षण शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिना तथा हस्पिटलको प्रशाशक पदम वीनाडीले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक राजन निरौला तथा विराटनगर शाखा प्रमुख सन्तोष आचार्य समेतको उपस्थिति रहेको थियो । सम्झौता अनुसार सानिमा लाईफ इन्स्योरेन्सका वीमा प्रस्तावकहरुले प्रि मेडिकल चेक अप गर्दा विशेष छुट तथा नगद रहित सुविधा प्राप्त गर्न सक्ने छन् ।
अब रारामा पनि टेलिकमको फोरजी सेवा, स्थानीयलाई व्यवसाय प्रबर्द्धन गर्न सजिलाे हुने
काठमाडौं । नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा हिजो (०७६ मंसिर १९) देखि भएको हो । कर्णाली अञ्चलका ५ जिल्लामध्ये मुगुको रारा तालमा पर्यटक, स्थानीय वासिन्दा र व्यवसायीको सुविधालाई ध्यानमा राखी पहिलोपटक फोरजी सेवा प्रदान गरिएको हो । यो सेवाको शुरुवात सँगै स्थानीय व्यावसायी र वासिन्दालाई उच्च गतिको डाटा सेवा प्रयोग गरी व्यवसाय प्रबद्र्धन तथा प्रचार गर्न सहज भएको छ । त्यस क्षेत्रमा जाने पर्यटकले त्यहाँका दृश्य तथा गतिविधिहरु कम्पनीको फोरजी नेटवर्क प्रयोग गरी तत्काल प्रत्यक्ष प्रसारण समेत गर्न सकिने छ । समुद्री सतहभन्दा २९७२ मिटर उचाइमा रहेको यस तालमा वार्षिक ६० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण हुने गरेको छ । राजा महेन्द्रद्धारा वि.सं.२०२० सालमै रारा ताललाई स्वर्गकी रानीको उपमा दिएर यसको सुन्दरताको बयान गरिएको थियो । फोरजी सेवाको विस्तारसँगै भ्रमण वर्ष २०२० का अवसरमा रारा ताल एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुनसक्ने सम्भावना बढेको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए । रारा नेपालको सबैभन्दा ठूलो र सबभन्दा गहिराई भएको ताल पनि हो । पर्यटकीय मौसममा पर्यटकका टेन्ट र फायर क्याम्पिङले भरिने मिलिचौर, नेपाली सेनाको श्रीदल गण क्षेत्र तथा स्थानीय व्यवसायीहरु फोरजी सेवाबाट लाभान्वित हुनेछन् ।
तेह्रौँ सागः गल्फमा नेपाललाई दुई स्वर्ण
काठमाडाैं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । सत्र वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गरेका छन् । उनले बङ्गलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ रहेका छन् । रासस
जोरपाटी-सुन्दरीजल सडक विस्तार कार्य तीव्र गतिमा हुँदै
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका लागि संरचना खाली गर्न शुरुआत गरेको छ । सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर र निजी जग्गा भएको ठाउँमा केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर लिने गरी आजदेखि काम शुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिएका छन् । “स्थानीयवासीको सहमति लिएर नै सडक विस्तार शुरु गरेका हौ । नगरपालिकाले आफ्नै स्वामित्वमा रहेको भैरव स्मृति जोरपाटी बगैँचाबाट विस्तारको काम शुरु भएको छ, यसपछि सानोबजार क्षेत्र हुँदै अघि बढ्छौँ, ”उनले भने। संरचना हटाउन तीनै तहका निर्वाचित जनप्रतिनिधि सडकमा ओर्लिएका थिए । काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्णकुमार राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाललगायत जनप्रतिनिधिहरु संरचना भत्काउने कार्यमा सहभागीता जनाएका छन् । सो सडक खण्ड विसं २०७५ भदौमा कालोपत्र भइसक्नुपर्ने गरी विस्तार गर्न चार वर्षअघि ठेक्का भएको थियो । पहिलोपटक थपिएको म्याद गत भदौमा सकिएको थियो । यसपछि आगामी असार मसान्तसम्म काम सक्ने गरी दोस्रोपटक म्याद थपिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडक विस्तार हुन नसकेपछि पाँच पटकसम्म सडक मर्मत कार्य भइसकेको आयोजनाले जनाएको छ । सडकमा नाली खोल्न नदिएपछि जति पटक मर्मत गरे पनि दिगो हुन नसकेको आयोजना प्रमुख अर्जुन अर्यालले बताए । करिब सात किमी सडक रु ५४ करोडको लागतमा विस्तार गरी कालोपत्र गर्न ठेक्का सम्झौता भएको हो । दुई खण्डमा ठेक्का सम्झौता भएकामा दुवैतिरका काम अलपत्र छ । सडक नबन्दा घाम लागेका बेला धुलो र पानी परेका बेला हिलोले किनारा क्षेत्रमा बस्न नसकिने स्थानीयवासी रामचन्द्र खतिवडाको गुनासो छ । यही बाटो भएर पर्यटकीयस्थल सुन्दरीजल हुँदै चिसापानी, हेलम्बु, लाङटाङलगायत स्थानमा पुग्न सकिन्छ । हेलम्बु, लाङटाङलगायत स्थानमा पदयात्रासमेत गर्न सकिने यो सडक चार वर्षदेखि अलपत्र हुँदा पर्यटकमा नकारात्मक सन्देश गएको पर्यटन व्यवसायीको दुःखेसो छ । स्थानीयवासीले नेपाल भ्रमण वर्ष सन् २०२० अगावै सडक कालोपत्र गर्न विगत एक वर्षदेखि माग गर्दै आएका थिए । भ्रमण वर्ष शुरु हुन एक महिना पनि बाँकी नहुँदा बल्ल काम शुरु भएको छ । रासस
पूर्व प्रधानमन्त्री चन्दका छोराले सवा १० अर्ब ऋण तिरेनन्, व्यक्तिगत सम्पत्तिबाट असुल गर्ने तयारी
काठमाडौं । बाबु देशको प्रधानमन्त्री । छोरा उद्योगका मालिक । साङ्गो पाङ्गो मिलाएर सरकारी वित्तीय संस्थाबाट वासुलिंग सुगर एण्ड जनरल इण्डष्ट्रिजले २०५२ देखि २०५४ सालसम्म ४७ करोड कर्जा लियो । बाबु प्रधानमन्त्री (लोकेन्द्रवहादुर चन्द) हुँदा लिएको कर्जा छोरा अरुण चन्दले तिर्न आवश्यक ठानेनन् । अर्थात कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कर्मचारी सञ्चय कोष र तत्कालिन औद्योगिक विकास निगम समेत गरी ५ वित्तीय संस्थाको सहवित्तीयकरणमा लिएको कर्जा र यसमा लाग्ने ब्याज भुक्तान गरेनन् । कर्जा लिएका यी सबै वित्तीय संस्था सरकारी स्वामित्वका हुन् । चन्द त्यतिबेला देशको प्रधानमन्त्री । शक्तिको आडमा लिएको ऋण देशमा राजनीतिक परिवर्तन आएपनि अहिलेसम्म चुक्ता गरेका छैनन् । सत्ताको आडमा लिएको ऋण २४ वर्षसम्म पनि नतिरेपछि सहवित्तीयकरणमा जुटेका संस्थाहरू अहिले व्यक्तिगत सम्पत्तिबाट पनि ऋण असुल गर्ने तयारीमा जुटेका छन् । हामीलाई सुन्दा अनौठो र अप्ठ्यारो लाग्छ, देशको चार पटकसम्म प्रधानमन्त्री बनिसकेका मान्छेको परिवारभित्रैबाट राज्यको कानुनलाई लतारिएको छ अर्थात मानिएको छैन । साधारणतया कर्जा लिएपछि समय मै बुझाउनु पर्छ, यो नियमित प्रक्रिया हो । कर्जा लिएको साढे दुई दशकको यो अवधिमा कर्जाको सावाँ र ब्याज बढेर २०७४ सालसम्म १० अर्ब ३३ करोड पुगिसकेको छ । त्यसपछि हिसाव भएको छैन । देशमा सत्ता परिवर्तन भयो । ऋणीलाई कर्जा तिर्न बैकहरूले ताकेता गर्न थाले । पछि बैंकहरूले ऋणीको उपस्थितिमा पुँजीकरण गरेर ६५ करोड असुल गर्नुपर्ने बनाए । तर, आठ जना लगानीकर्ता बनेर वासुलिंगको नाममा लिइएको सो कर्जा चुक्ता भएन । भारतीय नागरिक विजयकुमार गोयल, शुशीला राणा, राजेन्द्रबहादुर चन्द, हर्कवहादुर चन्द, गणेश दत्त भट्ट, अरुण मल्ल र लोकेन्दबहादुर चन्दका छोरा अरुण चन्दले सो ऋण लिएका हुन् । यस अवधिमा उद्योगले थोरै ऋण तिरेपनि कर्जाको दाँजोमा त्यो नगन्य भयो । उद्योग २०६१/६२ देखि बन्द छ । त्यसपछि उद्योगले ऋण भुक्तान गर्न चासो नदेखाएपछि वित्तीय संस्थाहरू ऋण असुल उपर गरी पाउ भनि २०६७ साल पुस २८ गते ऋण असुली न्यायधिकरण (डीआरटी) गए । मुद्दा दायरा भयो । त्यति बेला न्यायधिकरणले ऋणीबाट ३ अर्ब ४६ करोड असुल उपर गर्नु पर्ने निर्णय गर्यो । उद्योगले डीआरटीको निर्णयलाई कार्यान्वयन गरेन । कहिले सम्पर्कमा आउने कहिले हराउने नीति उद्योगीले लिइनै रह्याे । डीआरटीले त्यति बेला वासुलिंगको कैलालीमा रहेको धितो मूल्यांकन गर्दा २१ करोड असुल उपर हुने देखियो । ‘अहिले त्यहाँ पनि जग्गाको मूल्य बढेको छ, चार वर्ष अघि मूल्यांकन गरिएको हो । वासुलिंगको नाममा कैलालीको चुवामा ५२ विगाह जमिन छ । करिब १ अर्ब उठछ होला, अहिले धितोको पुनमूल्यांकन भएको छैन, सहवित्तीयकरणमा लिडर बैंकको भूमिका खेलेको कृषि विकास बैंकले जानकारी दियाे । पछि ऋण तिर्नुको सट्टा पहुँचका आधारमा कार्यविधि नै निर्माण गरेर उद्योगलाई रुग्ण उद्योगमा सूचीकरण गरियो । ऋणीले कर्जा चुक्ता नगरेपछि २०७१ मा वासुलिंग रुग्ण उद्योगको रुपमा सूचीकृत भयो । त्यति बेला सरकारले उद्योगको विभिन्न शीर्षकमा रहेको कर्जालाई दीर्घकालीन कर्जामा परिणत गरी ब्याज, पुुँजीकृत ब्याज, हर्जाना ब्याजमा समुचित छुट गरी कर्जाको साँवा रकम तिर्ने व्यवस्था गरी उद्योग सञ्चालन गर्न कर्जा समेत उपलब्ध गराइदिने सुविधा दियो । सरकारको नीति बमोजिम नै सहवित्तीयकरण गरेका संस्थाहरू कर्जा असुल गर्न सहमत भए । तर, ऋणीले कर्जा तथा ब्याज तिरेन । १ वर्षअघि पूर्व प्रधानमन्त्रीका जेठा छोरा अरुण चन्दले ऋण तिर्ने सहमति गरे । तर, तिर्न आएका छैनन् । भारतबाट नयाँ मेशिनहरू ल्याएर उद्योग सञ्चालन गर्ने भनिए पनि उदारुक्त्ताका साथ चासो देखाएको छैन । पटक पटकको सहमति तोडेर ऋणीले कर्जा र त्यसको ब्याज समेत उपलब्ध नगराएपछि उद्योगको धितो लिलामी प्रक्रियामा लैजाने गरी प्रक्रिया अघि बढाउन ऋणदाता संस्थाहरू अघि बढेका छन् । उद्योगका लागि कर्जा लिँदा गत बुधबार भएको सहवित्तीयकरण गर्ने संस्थाहरूको बैठकले धितो लिलामीबाट कर्जा असुल उपर गर्ने, नपुगे निजको व्यक्तिगत सम्पत्तिबाट रोक्का गरी असुल्ने निर्णय लिएकाे छ ।