शिवम् सिमेन्टको आईपीओः ५ हजार २२० कित्तासम्म आवेदन दिनेले मागे जति पाए
काठमाडौं । शिवम् सिमेन्टको साधारण सेयर(आईपीओ) बाँडफाँट भएको छ । सिमेन्टले गत फागुन ६ गतेदेखि फागुन ९ गतेसम्म बिक्री गरेको उक्त आईपीओ बुधबार बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त आईपीओमा ५ हजार २२० कित्तासम्म आवेदन दिने सबैलाई माग अनुसार सेयर बाँडफाँट गरिएको छ । त्यस्तै, योभन्दा बढी १ लाख कित्तासम्म आवेदन दिएका सबैलाई ५ हजार ६४० कित्ताका दरले सेयर बाडिएको क्यापिटलले जनाएको छ । यसरी बाँडफाँट गरे पश्चात ११५ कित्ता सेयर बाँकी रहेकोमा ५ हजार २२० कित्ताभन्दा बढी माग गर्नेमध्ये गोलाप्रथाबाट ११ जनाले १० कित्ता थप सेयर पाएका छन् । त्यस्तै, बाँकी ५ कित्ता सेयर पनि सोही रेन्जमा आवेदन दिएकामध्ये ५ जनाले १ कित्ताका दरले थप सेयर पाएका हुन् । बिक्री प्रबन्धकका अनुसार आयोजना प्रभावित स्थानीय बासिन्दाले मागे जति नै सेयर पाएका छन् । १५ कित्तादेखि १ लाख १५ हजार कित्तासम्म सेयर हात पारेका छन् । स्थानीयतर्फ ९४ हजार ६९५ कित्ता सेयर बिक्री भएको थिएन । त्यसैले उक्त बिक्री नभएको सेयर सर्वसाधारणलाई थपेर वितरण गरिएको क्यापिटलले जनाएको छ ।
सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमितकुमार केडिया
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सुमितकुमार केडिया नियुक्त भएका छन् । कम्पनीको १४३औँ सञ्चालक समितिको बैठकले केडियालाई सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गराएको हो । कम्पनीको सञ्चालक समितिको बैठक गत फागुन २१ गते बसेको थियो । यसअघि कम्पनीको सञ्चालकपद सम्हालेका प्रमोद पाण्डेयले राजिनामा दिएपछि उक्त रिक्त पदमा केडियालाई नियुक्त गरिएकाे इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले बताएका छन् ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि टिचिङ अस्पतालमा
काठमाडौँ । प्रधानमन्त्री केपी ओली नियमित चेकजाँचका लागि टिचिङ अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँच पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक कुन्दन अर्यालका अनुसार नियमित फलो अप र स्वास्थ्य जाँच गर्न उनी बिहान १० बजे अस्पताल गएका हुन् । नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुपर्ने भएपनि त्रिवि शिक्षण अस्पताल गएको प्रधानमन्त्रीका प्रेस संयोजक अर्यालले जानकारी दिए । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिब्या सिंहसहितको टोलीले चेकजाँच गर्ने प्रेस संयोजक अर्यालले बताए ।
६० प्रतिशत हकप्रद पछि एशियन लाइफ इन्स्योरेन्सको मूल्य समायोजन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद पछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बुधबार इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ रहेको छ । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ । दिँउसोको सवा एक बजेतिर कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर ३८५ रुपैयाँ पुगेको छ ।
पूर्वाधार विकास बैंक उद्घाटन गर्दै अर्थमन्त्रीले भने-निजी क्षेत्र अतिवादमा गयो, सरकारलाई सैह्य छैन
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका केही गतिविधि अतिवादी भएको टिप्पणी गर्दै ‘अतिवादले सरकारी हस्तक्षेप निम्त्याउने’ बताएका छन् । उनले आपसमा पाखुरा सुर्कने र सुँढ पसार्न काम बन्द गर्न आग्रह गरेका छन् । व्याजको विषयमा बैंकर्स र उद्योगी व्यवसायीबीच पाखुरा सुर्कने र सुँढ पसार्न गतिविधिलाई अर्थमन्त्रीले ‘अतिवाद’को संज्ञा दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको नेपाल इन्फ्रास्ष्ट्रक्चर डेभलपमेन्ट बैंकको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित भएपछि अर्थमन्त्री खतिवडाले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । सोही कार्यक्रममा बोल्दै अर्थमन्त्रीले भने–बैंक पनि निजी क्षेत्रले चलाएका छन् । उद्योगी व्यापारी पनि तपाईहरु नै हो । उद्योग वाणिज्य संघहरु व्याज घटाउन माग गर्दै आन्दोलन गर्ने, बैंकर्स संघ व्याजदर घटाउन नमान्ने । यो राम्रो भएन । व्याजदरको विषयमा सरकारी हस्तक्षेप निम्त्याउने भूमिका तपाईहरु नखेल्नुहोस् ।’ अतिवाद सरकारलाई सैह्य नहुने पनि उनले बताए । ‘व्यवसायीहरु ६ प्रतिशतमा कर्जा माग गर्ने, बैंकहरु १६ प्रतिशत भन्दा कममा कर्जा दिदैनौ भन्ने दुबै सोच अतिवादी हुन् । अतिवादी कुरा नगर्नुहोस् । उद्योग बाणिज्य महासंघ र बैंकर्स संघबीच बसेर झगडा मिलाउनुहोस् । ६ र १६ अंकको बीचमा मिलन विन्दु खोज्नुहोस् ।’ त्यस्तै, अर्थमन्त्री खतिवडाले १० वर्षमा बैंक तथा वित्तीय संस्थाको पुँजी ६ गुणा वृद्धि भएको, तर उद्योग व्यापार क्षेत्रमा सोही अनुसार लगानी वृद्धि नभएको बताए । ‘१० वर्षअघि बैंकहरुको चुक्ता पुँजी र सबै संचित कोष गरी कोर क्यापिटल १ खर्ब २५ अर्ब रुपैयाँ थियो । २०७५ पुस मसान्तमा ७०० अर्ब रुपैयाँ भएको थियो । टेलिकम क्षेत्रबाहेक अरु कुनै पनि क्षेत्रमा बैंकिङ क्षेत्रमा जसरी लगानी वृद्धि हुने सकेको छैन’ अर्थमन्त्रीले भने । उनले पूर्वाधार विकास बैंकलाई अल्पकालिन व्याजदरमा लडाई नगर्न आग्रह पनि गरे । ‘बैंक तथा वित्तीय संस्था धेरै भयो भनेर मर्जर अभियानमा लागेको मान्छे हुँ म । तर, आज म फेरी नयाँ बैंकको उद्घाटन गर्दैछु । यो बैंक फेरी २८ वटा वाणिज्य बैंकसँग प्रतिस्पर्धामा नजाओस् । ‘फोर्स मर्जरमा जान धेरै सुझाव आएका थिए । केही सुझावपत्र अहिलेपनि मेरो ब्रिफकेसमा भेटिन्छन्’ अर्थमन्त्री खतिवडाले भने–‘निजी क्षेत्रको बैंकमा फोर्सफूली मर्जर राम्रो नहोला भनेर सरकारले त्यो बाटो लिएन ।’ २८ वटा वाणिज्य बैंक मध्ये सबैले ‘हामी धेरै भयौ, मर्ज गरिदिनुपर्यो भनेर सबैले भन्नुहुन्छ । तर, तपाईहरु आफै दुई बैंक मिलेर किन मर्ज गर्नुहुन्न ? अर्थमन्त्रीले बैंकर्सहरुलाई प्रश्न गरे । पूर्वाधार विकास बैंकलाई दीर्घकालिन प्रकृतिको स्रोत जुटाउन र लगानी पनि दीर्घकालिन खालको गर्न निर्देशन दिए । ‘बीमा कम्पनीहरुको फाण्ड, नागरिक लगानी कोष, सञ्चय कोष जस्ता दीर्घकालिन प्रकृतिको कोष परिचालन गर्न सक्नु हुन्छ । पूर्वाधार विकास बैंकमा सरकारको पनि लगानी छ । विश्वासको वातावरण बनेको छ । सर्वसाधारणलाई, गैरआवासीय नेपालीहरुलाई लक्षित गरी दीर्घकालिन बचत प्रमाणपत्र बेच्न सक्नुहुन्छ’ अर्थमन्त्रीले भने–‘अन्तराष्ट्रिय बजारबाट पुँजी ल्याउन पनि सरकारले सहयोग गर्छ ।’
बिप्लवले गराएको हिंसात्मक घटनाप्रति सरकार गम्भीर छः गृहमन्त्री
धनगढी । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, “छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।” घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उनले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताए । एकाधिकार कानूनीरुपमा अन्त्य गरिसकिएको बताउँदै उनले यसलाई व्यवस्थित बनाउन आवश्यक कानून निर्माणको चरणमा सरकार रहेको जानकारी दिए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई इङ्गित गर्दै गृहमन्त्रीले केही समूहबाट यो बीचमा विष्फोटन र ध्वंसात्मक गतिविधि गर्ने काम भइरहेकाले यी घटनामा सरकार गम्भीर बनेको छ । उनले थपे, “यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइरहेका छौँ ।” उनले सङ्घीय संसद्मा सङ्घीय प्रहरी र प्रदेश प्रहरीसम्बन्धी कानून निमार्णको अन्तिम तयारी भइरहेको जानकारी दिए । सुरक्षा गोष्ठीमा सहभागी हुन उनी आज धनगढी पुगेका छन् ।
५० दरका २३ करोड थान नयाँ नोट छापिँदै, राष्ट्र बैंकले फान्सको कम्पनीलाई दियो जिम्मा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने उक्त कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । बैंकका अनुसार ती नयाँ नोट आगामी दशैँसम्ममा आइपुग्नेछ ।
८७ हजार घुससहित दुई कर्मचारी पक्राउ
नेपालगञ्ज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई ३५ हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको बताए । नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्दले आयात हुने सामानको सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५२ हजार घुस लिएको अवस्थामा र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका प्रमुख श्रीवास्तवले गुणस्तर प्रमाणीकरण गरिदिएवापत सेवाग्राहीको काम सम्पन्न भएपछि ३५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो । यसैगरी, अख्तियारले मङ्गलबार नै यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा छापामारी त्यहाँबाट केही कागजात नियन्त्रणमा लिएको प्रमुख गैरले जानकारी दिए ।