विकासन्युज

बिप्लवले गराएको हिंसात्मक घटनाप्रति सरकार गम्भीर छः गृहमन्त्री

धनगढी । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, “छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।” घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उनले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताए । एकाधिकार कानूनीरुपमा अन्त्य गरिसकिएको बताउँदै उनले यसलाई व्यवस्थित बनाउन आवश्यक कानून निर्माणको चरणमा सरकार रहेको जानकारी दिए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई इङ्गित गर्दै गृहमन्त्रीले केही समूहबाट यो बीचमा विष्फोटन र ध्वंसात्मक गतिविधि गर्ने काम भइरहेकाले यी घटनामा सरकार गम्भीर बनेको छ । उनले थपे, “यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइरहेका छौँ ।” उनले सङ्घीय संसद्मा सङ्घीय प्रहरी र प्रदेश प्रहरीसम्बन्धी कानून निमार्णको अन्तिम तयारी भइरहेको जानकारी दिए । सुरक्षा गोष्ठीमा सहभागी हुन उनी आज धनगढी पुगेका छन् ।

५० दरका २३ करोड थान नयाँ नोट छापिँदै, राष्ट्र बैंकले फान्सको कम्पनीलाई दियो जिम्मा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने उक्त कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । बैंकका अनुसार ती नयाँ नोट आगामी दशैँसम्ममा आइपुग्नेछ ।

८७ हजार घुससहित दुई कर्मचारी पक्राउ

नेपालगञ्ज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई ३५ हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको बताए । नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्दले आयात हुने सामानको सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५२ हजार घुस लिएको अवस्थामा र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका प्रमुख श्रीवास्तवले गुणस्तर प्रमाणीकरण गरिदिएवापत सेवाग्राहीको काम सम्पन्न भएपछि ३५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो । यसैगरी, अख्तियारले मङ्गलबार नै यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा छापामारी त्यहाँबाट केही कागजात नियन्त्रणमा लिएको प्रमुख गैरले जानकारी दिए ।

उपत्यका हेर्न मध्यपुरमा दृश्यावलोकन स्तम्भ बन्दै, ३ वर्षमा निर्माण सकिने, लागत ७ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । स्तम्भबाट मनोहरा, दिव्यश्वरी क्षेत्रका बस्ती, एसओएस, अन्तर्राष्ट्रिय विमानस्थल, हिमाललगायत चारैतिरको दृश्यावलोकन गर्न सकिन्छ । त्यस क्षेत्रमा दृश्यावलोकन स्तम्भसँगै नाट्यश्वरी पार्क, मन्दिर, अपाङ्ग तथा बालमैत्री बगैँचा, आर्टिफिसियल रक क्लाइम्बिङ, व्यायाम गर्ने ठाउँ, शौचालयलगायतका पूर्वाधार निर्माण गरिने र निर्माण भइसकेको दुईतले सामुदायिक भवनको रङ्गरोगन तथा व्यवस्थापन गरिने भएको छ । आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजना रहेको छ । करीब सात करोडको बजेटमा निर्माण सम्पन्न हुने यहाँका संरचना निर्माणका लागि नगरपालिकाले यस वर्ष ७५ लाख बजेट विनियोजन गरेको छ । रासस

आईएमई लाइफइन्स्योरेन्सको सञ्चालक समितिमा दिपकशर्मा पोख्रेल नियुक्त

काठमाडौँ । आईएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा संस्थापक शेयरधनी एक्रशमनि ट्रान्सफर लिमिटेडको तर्फबाट दीपकशर्मा पोख्रेल नियुक्त एका छन् । कम्पनीलाई गराइएको जानकारी अनुसार सञ्चालक समितिमा शर्मालाई स्वागत गरिएको हो । समितिका अध्यक्ष, सदस्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले शर्मालाई स्वागत गरे । यसअघि उक्त कम्पनीको प्रतिनिधित्व इश्वरकुमार कार्कीले गर्दै आएका थिए । कार्यक्रममा सञ्चालक कार्कीलाई बिदाई समेत गरिएको थियो । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष डा.रामहरि अर्यालले भर्खरै नियुक्ति पाएर सञ्चालक समितिमा आएका शर्मालाई सफल कार्यकालको शुभकामना दिएको कम्पनी सचिव प्रकाश न्यौपानेले जनाएका छन् ।

पाँच बर्षपछि ५५ खर्बको अर्थतन्त्र, १५८३ डलर प्रतिव्यक्ति आम्दानी, यसरी हुँदैछ देश विकास

काठमाडौं । सरकारले आगामी पाँच बर्षमा ९७ खर्ब ७७ अर्ब ७५ करोड लगानी गर्ने प्रारम्भिक योजना निर्माण गरेको छ । राष्ट्रिय योजना आयोगले १५ औं पञ्च वर्षिय योजना मार्फत सो मात्रामा लगानी गरेर नागरिकको विकास र समृद्धिको चाहनालाई मुर्त रुप दिने योजना अन्तिम चरणमा पुर्याएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले समृद्ध नेपाल, सुखी नेपालको संकल्प पुरा गराउन १५ औं पञ्च वर्षिय योजना सफल हुने दावी गरे । उनले आगामी २५ वर्षका लागि दिर्घकालिन सोँच समेत तयार भैरहेको जानकारी दिए । यसरी हुने कुल लगानीमध्ये ३६ खर्ब ७४ अर्ब ५६ करोड रुपैंयाँ सरकारले लगानी गर्नेछ । जुन कुल लगानीको ३७.६ प्रतिशत हुन्छ । निजी क्षेत्रले ५६ खर्ब ८३ अर्ब ८८ करोड लगानी गर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ, जुन कुल लगानीको ५८.१ प्रतिशत हुनेछ । त्यस्तै, सहकारी क्षेत्रबाट ४ खर्ब १९ अर्ब ३१ करोड अर्थात ४.३ प्रतिशत लगानी हुने आयोगले प्रक्षेपण गरेको छ । सो लगानीबाट आर्थिक वर्ष २०८०।८१ कुल गार्हस्थ उत्पादनको आकार ५५ खर्ब १६ अर्ब पुग्ने र प्रतिव्यक्ति आम्दानी १५८३ डलर पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, आगामी पाँच बर्षमा मुलुकको औषत आर्थिक वृद्धिदर ९.३ प्रतिशत हुने पूर्वानुमान पनि आयोगले गरेको छ । आव २०८०।८१ मा अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २२.१ प्रतिशत हुनेछ भने उद्योग क्षेत्रको योगदान २०.३ प्रतिशत पुग्नेछ । सेवा क्षेत्रको योगदान ५७.६ प्रतिशत हुनेछ । गत आर्थिक वर्ष २०७४।७५ मा अर्थतन्त्रमा कृषिको योगदान २७.६ प्रतिशत, उद्योगको १४.८ र सवा क्षेत्रको ५७.६ प्रतिशत रहेको थियो । पाँच वर्षमा कति कति गर्छ सरकारले लगानी ? आयोगले आगामी पाँच वर्षभित्र १७ वटा राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ । जसमा निजगढ विमानस्थलदेखि फास्ट ट्रयाकसम्म समावेश छन् । आयोजनाले सिक्टा सिंचाई आयोजना, बबई सिँचाई आयोजना, रानीजमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाईभर्सन आयोजना, गौतम वुद्ध विमानस्थल, पोखरा विमानस्थल, निजगढ अन्तराष्ट्रिय विमानस्थल, काठमाडौं निजगढ फास्ट ट्रयाक, पुष्पलाल मध्यपहाडी लोकमार्ग, कोशी लोकमार्ग, कालगण्डकी करिडोर, कर्णाली करिडोर, हुलाकी राजमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, लुम्बिनी विकास कोष र विद्युत प्रसारण आयोजनालाई सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यस बाहेक बुढीगण्डकी जलद्यिुत आयोजना र पश्चिम सेति जलविद्युत आयोजना भने आरम्भ गरिसक्ने लक्ष्य निर्धारण गरेको छ । त्यस्तै, पशुपति क्षेत्र विकास कोष, राष्ट्रपति चुरे तराई मधेश संरक्षण र रेल्वे तथा मेट्रो विकास आयोजना भने पाँच बर्षपछि पनि क्रमागत रुपमा सञ्चालन भैरहनेछन् ।

एनआईसी एशिया क्यापिटलको वार्षिकोत्सवमा विशेष योजना, डिम्याट खाता निःशुल्क

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले आफ्नो दोश्रो वार्षिक उत्सवका अवसरमा नयाँ ग्राहकहरुका लागि सेवा शुल्कमा विशेष छुटको योजना ल्याएको छ । सो सुविधा अन्तर्गत एन आई सी एशियाको डिम्याट खातामा फागुन २२ गतेदेखि चैत ६ गतेसम्म पूर्ण रुपमा निःशुल्क गरिएको एनआइसी एशिया क्यापिटलले जनाएको छ । साथै फागुन २२ गतेदेखि चैत २२ गतेसम्म एक महिनाका लागि लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कहरुमा ५०५ छुटको व्यवस्था गरेको छ । डिम्याट खातासंगै एनआईसी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताहरु लगानी व्यवस्थापन, निष्काशन तथा विक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्र दर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।

सुनको मूल्य ओरालो लाग्दै, मंगलबारको तुलनामा प्रतितोला ३ सयले कमी

काठमाडौं । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ३ सयले घटेको छ । मंगबार प्रतितोला रु ६१ हजारमा कारोबार भएको सुन बुधबार ६० हजार ७ सयमा बिक्री भईरहेको छ । तेजापी सुन भने मंगलबारको तुलना ३ सय कमि भई बुधबार प्रतितोला ६० हजार ४ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी मंगलबारको तुलनामा प्रतितोला २० रुपैयाँ घटेर ७४० मा कारोबार भईरहेको छ । अघिल्लो साता उच्च मूल्यमा बिक्री भएको सुन यो साता क्रमिक रुपमा घट्दै गएको छ ।