४४ वर्षदेखि काभ्रेपलान्चोकका एक हजार परिवार लालपुर्जाविहिन
काभ्रेपलान्चोक। जिल्लाको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको दुईवटा वडाका करिब एक हजार परिवार ४४ वर्षदेखि लालपुर्जा्विहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साबिक पीपलटार गाविसका खेतीयोग्य जमीनबारे विवादपछि भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपुर्जा्विहीन बन्न पुगेका हुन् । गाउँपालिका–७ का ३६५ र ८ का ५८९ पीडित परिवारसँग ४४ वर्षदेखि आफ्नो जमीनको लालपुर्जा नभएको ८ नंका वडाध्यक्ष मोतिलाल तामाङले बताए । उनका अनुसार लालपुर्जा्विहीन भूकम्पपीडितसँग जग्गाको कागजात नभएको जनाइएपछि दुई वर्षपछि मात्रै सरकारी राहात अनुदान उपलब्ध गराइएको हो । “भूकम्पको २ वर्षपछि सरकारी आवास निर्माण राहत अनुदान उपलब्ध गराइएपछि यहाँका भूकम्पपीडितले घर बनाउन थालेका थिए”, तामाङले भने । जग्गाधनीले जमीन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इन्जिनीयरले दिएको निस्साको आधारमा गत विसं २०७४ को कात्तिकमा सरकारले आवास निर्माण अनुदान उपलब्ध गराएको हो । त्यसअघि परिचयपत्र, नागरिकता भए पनि जग्गाको लालपुर्जा नभएका कारण भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका थिएनन् । सरकारले लालपुर्जा्विहीन पीडितको समस्यालाई मध्यनजर गर्दै २०७५ भदौमा आवास निर्माणसम्बन्धी कार्य्विधि बनाएपछि यहाँका एक हजार लालपुर्जा्विहीनले किस्ताबन्दीमा सरकारी अनुदान लिएर घर बनाउन पाएका हुन् । यसैबीच, भुम्लु गाउँपालिकाको ४४ वर्षदेखि लालपुर्जा्विहीन दुईवटा वडाका करिब एक हजार परिवारलाई पुनः नापी गरी लालपुर्जा वितरण गर्न जिल्लास्थित नापी कार्यालयले शुक्रबार ८ नं वडास्थित भुम्लुमा फिल्ड कार्यालय स्थापना गरेको छ । उक्त कार्यालयको काभ्रेपलाञ्चोकका प्रतिनिधिसभा सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबार उक्त कार्यालयको उद्घाटन गरे । सरकारको राष्ट्रिय नीति ‘छानो, नानो र मानो’ विहीन नागरिक नहोस् भन्ने उद्देश्यअन्तर्गत भुम्लुटारका ती दुई वडाको समस्या तत्कालै हल गर्न फिल्ड कार्यालय स्थापना गरिएको उनले बताए । उनले भने, “तत्कालीन एमालेको सरकारले ६० हजारलाई जग्गा वितरण गरेको थियो, अहिलेको सरकारले कोही पनि जमीनको मालिक बन्नेबाट वञ्चित गराउँदैन ।” दुवै वडाको ७५ प्रतिशत नापी तथा लालपुर्जा निर्माणको काम सकिएपछि वितरणको काम शुरु गरिने नापीप्रमुख कृष्णप्रसाद न्यौपानेले बताए । उनका अनुसार वडा नं ७ मा पनि लगत्तै अर्को फिल्ड कार्यालय स्थापना गरी चार महिनाको समयमा उनीहरुलाई लालपुर्जा वितरणको काम सकिनेछ । भुम्लु गाउँपालिका–८ का चित्रबहादुर श्रेष्ठले लालपुर्जा वितरण गर्न गाउँमै फिल्ड कार्यालय स्थापना भएकामा खुशी व्यक्त गरे । “हामी निकै खुशी भएका छौँ, अब जग्गा बेचबिखन तथा बैंकिङलगायतका काम गर्न सजिलो हुनेभयो”, उनले भने । स्थानीयवासी सन्तमाया तामाङले पनि आफ्नो जग्गाको लालपुर्जा पाउने भएपछि निकै खुशी भएको बताए । रासस
धावक किरण सिंह बोगटीलाई स्वर्ण
काठमाडौं। तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जित्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली धावक किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड समय खर्चंदै नेपाललाई स्वर्ण पदक दिलाएका हुन्। सोही स्पर्धामा भारतका रसपाल सिंहले रजत पदक जिते। उनले २ घण्टा २१ मिनेट ५७ सेकेन्ड समय लगाउँदै रजत जितेका हुन्। भारतकै श्रे सिंहले कास्यपदक हात पारे । उनले २ घण्टा २२ मिनेट ०७ सेकेन्डसहित कास्य जितेका हुन्। सोही स्पर्धाको म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । उनले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए। अहिलेसम्म त्यो कीर्तिमान भङ्ग हुन सकेको छैन । सोही स्पर्धाको महिलातर्फको श्रीलङ्काकी हिरुनी केसराले स्वर्ण पदक जिते । उनले २ घण्टा ४१ मिनेट २४ सेकेन्ड समय खर्चंदै स्वर्ण जितेका हुन्। त्यस्तै नेपालकी पुष्पा भण्डारीले रजतपदक हात पारिन्। उनले २ घण्टा ५० मिनेट ११ सेकेन्ड समयमा पूरा गर्नुभयो । भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेन्डको समयसहित कास्य पदक हात पारिन् । एथ्लेटिक्सको आठ सय मिटर दौडको पुरुषमा नेपालका सोमबहादुर कुमालले कास्यपदक हात पार्नुभयो । उनले १ मिनेट ५१.४४ सेकेन्डको समय खर्चिये। १ मिनेट ५०.५२ सेकेन्डको समयसहित श्रीलङ्काका इन्दुनिलले स्वर्ण जित्दा भारतका मोहमदले १ मिनेट ५१.२५ सेकेन्डको समयसहित रजत पदक हात पारेका हुन्। जारी सागमा नेपालका यो ४२औँ स्वर्ण पदक होे ।
कोलकत्ता नाट्य महोत्सवमा नेपाली नाटक ‘करेसा कन्सर्ट’
काठमाडौं। भारतको ‘कोलकत्ता अन्तर्रा्ष्ट्रिय बालनाटक महोत्सव’मा नेपाली नाटक ‘करेसा कन्सर्ट’ मञ्चन हुँने भएको छ । ११ देशका १७ नाटकले सहभागिता जनाउने महोत्सवमा नेपालबाट युवा रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्दे्शित नाटक छनौट भएको हो । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयोजनमा राराहिल मेमोरियल स्कूल कीर्तिपुरको प्रस्तुति रहने नाटक ‘करेसा कन्सर्ट’को वल्र्ड प्रिमियर कोलकता अन्तर्रा्ष्ट्रिय महोत्सवमा यही डिसेम्बर ११ (मंसिर २५ गते) साँझ ५ बजे हुँदैछ । नाटकमा राराहिल कीर्तिपुरकै विद्यार्थीहरु सहभागी छन् । ‘कन्याश्रीः लभ्ली डटर’ भन्ने मुख्य भावमा हुन लागेको यस नाट्य महोत्सवमा नेपाली नाटककमा समेत छात्रहरुलाई नै प्राथमिकता दिएर कास्टिङ गरिएको छ । नाटक ‘करेसा कन्सर्ट’मा आठ छात्रा र एक छात्रले अन्तर्रा्ष्ट्रिय रंगमञ्चमा अभिनय गर्नेछन् । भारत सरकारको इस्टर्न जोनल कल्चरल सेन्टरको सहकार्यमा कोलकताको प्रतिष्ठित नाटक संस्था ‘एसो नाटक सिकी’को आयोजनामा डिसेम्बर १० देखि १३ सम्म कोलकताको साल्ट लेक सिटीस्थित पूर्वर्शी अडोटोरियममा महोत्सवको दोस्रो संस्करण हुन लागेको हो । नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारी पात्रहरुले नेपाली समाजको चित्रण गर्दै आफ्नो महत्व र विशेषतामाथि छलफल गर्दै निश्कर्ष निकालेको कथा बुनिएको छ । नेपाली रंगमञ्चमा बाल रंगमञ्च पनि स्थापित गर्न लागिरहेका रंगकर्मी केदार श्रेष्ठले ५ देखि १५ वर्ष उमेर समूहका लागि लक्षित गरेर यो नाटक तयार पारेका हुन् । नाटकको कोरियोग्राफी अर्को रंगकर्मी सञ्जिता पराजुलीले गरेकी छिन् । नाटकमा नसना महर्जन, सविना सेन, सुधा खनाल, मञ्जु महर्जन, कविना रोक्का, ओसिन राई, सुधा खनाल, सुजाता भट्ट र लकस महर्जनले अभिनय गरेका छन् । शंकर भण्डारी स्टेज म्यानेजर रहेको नाटकको कला तथा कस्ट्युम डिजाइन फाइन आर्टिस्टहरु संघ्राम महर्जन र सुजिता महर्जनले गरेका हुन् । नाट्य टोली शनिबार नै कोलकत्ता प्रस्थान गर्दैछ ।
योजना ६३ करोडको, कोषमा रकम ५० लाख
तनहुँ। तनहुँको दमौलीमा निर्माण गर्न लागिएको १०८ फिटको ब्यासमूर्तिसहितको संरचना निर्माणका लागि रु ६३ करोड लाग्ने अनुमान गरिए पनि ब्यास क्षेत्र शिव पञ्चायन कोषमा रु ५० लाख मात्रै बजेट छ । कोषमा बजेट नभएकै कारण मूर्ति निर्माणको कामलाई अगाडि बढाउन नसकिएको कोषले बताउँदै आएको छ । जनस्तरबाट थालिएको मूर्ति निर्माणको अभियानअन्तर्गत हालसम्म डिपिआर बनाउने काम मात्रै सम्पन्न भएको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । मूर्ति निर्माणका लागि सहयोग गर्न सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न क्षेत्रमा सहयोगको अपिल गरिएको छ । “कोषमा ब्यास नगरपालिकाले उपलब्ध गराएको रु ५० लाख मात्रै छ, त्यसले त जग खन्न पनि पुग्दैन”, श्रेष्ठले भने, “बजेट कसरी जुटाउने भन्ने ठूलो चुनौती आइलागेको छ, तर असम्भव भने छैन ।” ब्यासभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित मूर्ति निर्माणको कामलाई अगाडि बढाउन खोजिएको छ । एक सय आठ फिटको मूर्ति निर्माणको दायित्व ब्यास नगरपालिकाको मात्रै नभई जिल्लाका सबै स्थानीय तह र स्थानीयवासीको पनि रहेकाले सबैले यसमा सहयोग गर्नुपर्ने श्रेष्ठले बताए । ब्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो । सो रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन ब्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । ब्यासमूर्तिसहित सबै संरचना निर्माणका रु ६२ करोड ८५ लाख पाँच हजार २११ बजेट लाग्ने अनुमान गरिएको छ । अर्थ्क्विक सेफ्टी सोलुशन्सले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान छ । निर्माण शुरु भएको चार वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु सात करोड खर्च हुने अनुमान छ । ब्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र सङ्ग्रहालय र पुस्तकालय हल प्रस्ताव गरिएको छ । गुरुयोजनाअनुसार ब्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउन्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, ब्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना ब्यासका मूर्तिहरु, ब्यासका अनुयायीहरुको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ । मूर्ति निर्माणको सन्दर्भमा कोषले शुक्रबार दमौलीमा जनप्रतिनिधिसँग परामर्श कार्यक्रमको आयोजना ग¥यो । मूर्ति निर्माणका लागि बजेट जुटाउन जनप्रतिनिधिको पहलकदमी आवश्यक रहेको ठहर गरी कोषले परामर्श कार्यक्रमको आयोजना गरेको हो । तनहुँ क्षेत्र नं २ बाट निर्वा्चित सङ्घीय सांसद केदार सिग्देलले मूर्ति निर्माणको अगुवाई कोषले नै गर्नुपर्ने र बजेट जुटाउन जनप्रतिनिधिले सहयोग गर्ने प्रतिबद्धता जनाए। गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकले मूर्ति निर्माणको दायित्व सबैको भएकाले प्रदेश सरकारका तर्फबाट बजेट विनियोजन गराउन आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । सङ्घीय सांसद कलिला खान, प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले मूर्ति निर्माणका लागि बजेट जुटाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
प्रस्ताव गरेअनुसारको जग्गा प्राप्त नहुँदा खुम्चियो बाँकेको नौबस्ता औद्योगिक क्षेत्र
बाँके। बाँकेमा निर्माण गर्न लागिएको नौबस्ता औद्योगिक क्षेत्रमा प्रस्ताव गरेअनुसारको जग्गा प्राप्त नहुने भएपछि आकार खुम्चिएको छ । बैजनाथ गाउँपालिका–५ नौबस्तामा एक हजार बिघा क्षेत्रफलमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको आकार २७७ बिघामा खुम्चिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी अधिग्रहणको काम भए पनि अन्य संस्थालाई जग्गा दिनुपर्ने भएकाले आकार खुम्चिन पुगेको नौबस्ता औद्योगिक क्षेत्र व्यवस्थापन परियोजना कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताए। सरकारले ०७३ सालमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरी डिपिआर तयार पारे पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ३३८ बिघा जग्गा मात्र दर्ता भएको थियो । सो जग्गामध्ये ६१ बिघा जग्गा बस्ती व्यवस्थापन र सशस्त्र प्रहरी तालिम केन्द्र तथा क्षेत्रीय कारागारलाई दिनुपर्ने भएपछि औद्योगिक क्षेत्रको आकार खुम्चिन पुगेको परियोजना कार्यालयका प्रमुख पुनले बताए। ‘औद्योगिक क्षेत्र २७७ बिघा जमीनमा सीमित हुने भएको छ”, परियोजना कार्यालयका प्रमुख पुनले भने, “औद्योगिक क्षेत्रको क्षेत्रफल सानो हुने भएपछि स्थानीयलाई अन्यत्रको जमीन उपलब्ध गराउने सहमति भएको छ । औद्योगिक क्षेत्रको जमिनमा वर्षौंदेखि बस्दै आएका परिवारलाई ३१ बिघा दिने सहमति भएपछि आकार झनै खुम्चिएको छ । सहमति कार्यान्वयन सिफारिस गरी पठाइसकेका छौँ ।” कोहलपुरका उद्योग एकीकृत गरेर त्यही औद्योगिक क्षेत्रमा राख्ने, ठूला उद्योग स्थापना हुने मात्र नभई सरकारलाई हाल कायम जग्गाकै डिजाइन पेस गरेका कारण जग्गा कम हुन नहुने कानूनी व्यवस्था भएको भन्दै छाड्नुपरेको जग्गा सट्टाभर्ना गर्न सरकारलाई सिफारिस गरेको उनले बताए। शुरुमा चर्चा गरिएअनुसारको जग्गा नौबस्तामा उपलब्ध भने हुन सकेन । परियोजना कार्यालयका प्रमुख पुनले सशस्त्र प्रहरी, सुकुम्वासी बस्ती र क्षेत्रीय कारागारका लागि क्रमशः ३०, ३० र १० बिघा क्षेत्रफल छाड्ने सहमति भएको जानकारी दिए। “सहमतिका क्रममा शुरुमा योजना गरिएको क्षेत्रफल कम भएको हो”, उनले भने। नौबस्ताको औद्योगिक क्षेत्रका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गरिसकिएको छ । त्यसको असरबारे वन मन्त्रालयले राय सुझावको लागि कात्तिक १७ गते ३० दिने सूचना जारी गरेको पुनले जानकारी दिए। कसैले औद्योगिक क्षेत्रबाट राय सुझाव दिए थप छलफल गरेर प्रक्रिया अगाडि बढ्नेछ । “वनले स्वीकृति दिएपछि थप काम अगाडि बढ्नेछन्”, परियोजना कार्यालयका प्रमुख पुनले भने । औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि डेढ वर्षअघि नै प्रस्ताव माग गरिएको थियो । सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि चालू आर्थिक वर्षमा रु १९ करोड बजेट विनियोजन गरेको छ । देशका विभिन्न ठाउँमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रक्रिया अघि बढेका छन् । जहाँ पहिले प्रक्रिया अघि बढ्छ त्यही पहिले बजेट खर्च हुने सम्भावना रहेको कार्यालय प्रमुख पुनको भनाइ छ । यहाँ गत वर्ष नै ३५० बढी व्यवसायीले उद्योग सञ्चालनका लागि आशय पत्र दर्ता गरेका थिए । डिपिआर तयार हुँदा २५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्याङ्क सङ्कलन भएको थियो तर, स्थानीय घरधनीको सङ्घर्ष समितिले त्यो सङ्ख्या झण्डै दोब्बर रहेको दाबी गर्दै आएको थियो । औद्योगिक क्षेत्र निर्माणस्थलमा ४५० बढी घर रहेको दाबी सङ्घर्ष समितिले गर्दै आएको थियो । बैजनाथ गाउँपालिकाको नौबस्तामा औद्योगिक क्षेत्र परियोजना कार्यालय गत वर्ष स्थापना गरिएको थियो । वातावरणीय प्रभाव मूल्याङ्कन पास भएपछि नौबस्ताको औद्योगिक क्षेत्रमा गतिशीलरुपमा काम अगाडि बढ्ने बताइएको छ । वनको अनुमतिपछि औद्योगिक क्षेत्रमा उद्योगका लागि आवश्यक पर्ने बाटो, ढल, विद्युतीकरणको काम शुरु हुनेछ । नौबस्ताको औद्योगिक क्षेत्रमा उद्योगीलाई न्यूनतम शुल्कमा ४० वर्षका लागि उद्योग स्थापनाका जग्गा भाडामा दिने योजना छ । प्रदेश ५ कै ठूलो औद्योगिक क्षेत्र निर्माण गर्न सरकारले नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र सबै उद्योग अटाउन नसक्ने र शहरको बीचमा उद्योग पर्न गएपछि बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र स्थापनाको तयारी सरकारले गरेको थियो । नेपालगञ्जभित्र औद्योगिक क्षेत्रमा विकास गर्न नसकिने अवस्था उत्पन्न भएपछि उद्योग व्यवस्थापन गर्न नौबस्तामा जग्गा खोजी गरिएको थियो । औद्योगिक क्षेत्र निर्माणका लागि प्रारम्भिकरुपमा रु आठ अर्बको लागत अनुमान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बाँकेमा निर्माण हुन लागेको औद्योगिक क्षेत्रको काम दु्रतरुपमा अघि बढाउनका लागि पटकपटक आग्रह गरिसकेको बताए । “औद्योगिक क्षेत्र निर्माणको काममा बिलम्ब नगर्न हामी उद्योगी व्यवसायीले पटकपटक सुझाव दिएका छौँ”, उनले भने । बाँके प्रदेशको कुनामा परेको र राजधानी हुने सम्भावनासमेत नभएको अवस्थामा औद्योगिक राजधानीका रुपमा अघि बढाइनुपर्ने माग यहाँका औपचारिक कार्यक्रममा उठाउँदै आएको केन्द्रीय सदस्य श्रेष्ठले बताए । रासस
नारायणगढ–बुटवल खण्डमा १९ किलोमिटर सडक विस्तार हुँदै, ३ हजार २१७ रूख काटिने
नवलपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ । चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९ किलोमिटर सडक किनारामा रहेका रुख काटिने भएको हो । सव डिभिजन वन कार्यालय गैँडाकोटका सहायक वन अधिकृत ज्योतिप्रसाद कोइरालाका अनुसार सडक विस्तारका लागि गैँडाकोटमा काटिने रुखको छपान सकिएको छ । वन मन्त्रालयबाट आदेश आएपछि छपान भएका रुखको कटान शुरु गरिने कोइरालाले बताए । रुखलाई दुई तहमा वर्गिकरण गरी छपानको काम भएको छ । पाँच इञ्च मोटाई भन्दा ठूलो र पाँच इञ्चभन्दा सानो रुखमा विभाजन गरेर छपान गरिएको कोइरालाले बताए । गैँडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म वनका रुख काटिनेछ । थुम्सीबाट मुकुन्दपुरसम्म हनुमान मन्दिर धार्मिक वन, मुकुन्दसेन सामुदायिक वन, नारायणी सामुदायिक वन र सिद्धीदात्री कोटिहोम धार्मिक वन रहेका छन् । हनुमान मन्दिर धार्मिक वनमा पाँच इञ्चभन्दा ठूला ७१२ रुख छपान गरिएको छ भने पाँच इञ्चभन्दा साना १९७ रुखमा छपान गरिएको छ । सहायक वन अधिकृत कोइरालाका अनुसार मुकुन्दसेन सामुदायिक वनमा पाँच इञ्चभन्दा ठूला ८२८ तथा पाँच इञ्चभन्दा साना २०५ रुखमा छपान भएको छ । त्यसैगरी, नारायणी सामुदायिक वनमा पाँच इञ्चभन्दा ठूला एक हजार ७१ तथा पाँच इञ्चभन्दा साना १९७ रुखमा छपान गरिएको छ । त्यस्तै सिद्धीदात्री कोटीहोम धार्मिक वनमा पाँच इञ्चभन्दा ठूला सात तथा पाँच इञ्चभन्दा साना एउटा रुखमा छपान भएको उनले जानकारी दिए । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि पहिलो खण्डअन्तर्गत नवलपुरको कावासोती नगरपालिकामा पर्ने लोकाहाबाट काम शुरु भएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने नारायणगढ–बुटवल सडकखण्डको ११३ किलोमिटर सडक विस्तारका लागि दुई खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको छ । पहिलो खण्ड निर्माणको जिम्मा पाएको चाइनिज ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले रुख छपान गरेसँगै कटानका लागि आदेश कुरेर बसेको छ । रुख कटान आदेश आएसँगै रुख काटेर गैँडाकोटबाट समेत सडक विस्तारको काम शुरु गर्ने कम्पनीले जनाएको छ ।
हुण्डाईको सर्वाधिक बिक्री हुने मोडेल ‘ग्रयान्ड आई१०’, के छ यसमा खास ?
काठमाडाैं । नेपालमा हुण्डाईको सर्वाधिक बिक्री हुने मोडेलमध्येमा पर्छ ‘ग्रयान्ड आई१०’ । नेपाली बजारमा यसको सुरुवाती मूल्य २९ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । नेपालमा यस कारका ‘म्याग्ना’ र ‘स्पोर्ट्स’ गरी दुई अलग भेरियन्टहरु उपलब्ध रहेका छन् । कम्प्याक्ट डाइमेन्सन भएतापनि ठूलै स्पेस रहेको यस ह्याचब्याकको लुक्स आकर्षक रहेको छ । यस कारको फिचरहरुको रुपमा १४ इञ्चको अलोए व्हिल्स, रियर वाइपर तथा वासर, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, इलेक्ट्रीक एडजस्टेवल मिरर्स, एलईडी डिआरएल, रुफ एन्टेना, एनालग इन्स्ट्रुमेन्ट कन्सोल, मल्टि इन्फर्मेशन डिस्प्ले, १२ भोल्टको ब्याट्री, पावर विन्डो, एयर कण्डिस्नर, हिटर लगायतका विशेषताहरु समावेस रहेका छन् । सेफ्टी फिचरको रुपमा भने ग्रयान्ड आई१० मा ड्राइभर र पेसेन्जर एयरब्याग्स्, एबीएस सिस्टम, ईबीडी सिस्टम, इञ्जिन इमोविलाइजर, सेन्ट्रल लकिङ्ग, इम्प्याक्ट सेन्सन अटो डोर अनलक, रियर पार्किङ्ग सेन्सर, रियर क्यामेरा लगायत समावेस छन् । हुण्डाई ग्रयान्ड आई१० मा प्रयोग भएको इञ्जिन ११९७ सीसी ४ सिलिण्डर डीओएचसी पेट्रोल इञ्जिन हो जसले ८३ बीएचपीको पावर र ११४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ५–स्पिड म्यानुअल गियरबक्स र ४-स्पिड अटोमेटिक गियरबक्सका साथ उपलब्ध रहेको यस कारले १८.९० केएमपीएलको माइलेज प्रदान गर्दछ । ५ सिटर यस ह्याचब्याकको लम्वाई ३७६५ मिलिमिटर, चौडाई १६६० मिलिमिटर र उचाई १५२० मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १६५ मिलिमिटर र बुट स्पेस २५६ लिटरको रहेको छ । त्यसैगरी ४३ लिटरको फ्युल ट्याङ्क क्यापासिटी रहेको ग्रयान्ड आई१० को अगाडिका चक्काहरुमा डिस्क र पछाडिका चक्काहरुमा ड्रम ब्रेक दिइएको छ । हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले म्याग्नालाई २९ लाख ५६ हजार रुपैयाँ र त्यसैगरी स्पोर्ट्सलाई चाहिँ ३१ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेर विक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले जनाए अनुसार हाल यस कारको खरिदमा एक लाख २० हजार रुपैयाँको नगद छुटको व्यवस्था गरिएको छ ।
‘आठौं प्रभु पे म्युजिक खबरद्वारा विभिन्न विधाका उत्कृष्ट स्रष्टा सम्मानित
काठमाडौं । ‘आठौं प्रभु पे तथा म्युजिक खबर’को सहकार्यमा लोक तथा सुगम संगीतका विभिन्न विधाका व्यक्तित्वलाई सम्मान गरिएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको ‘आठौं प्रभु पे म्युजिक खबर’ म्युजिक अवार्ड उत्कृष्ट लोकमा जननी जन्मभूमि भन्ने गीतकार रमेश दाहाल पुरस्कृत भएका छन् । म्युजिक भिडियो सम्पादन तर्फ त्यो रात विर्सन्न भन्ने गीतको सम्पादक विष्णु शर्माले गरेका थिए । त्यस्तै लोकगीत तर्फ उत्कृष्ट गायिकामा सुस्मिता घर्तिलाई सम्मान गरिएको छ । उत्कृट छायांकार तथा निर्देशकमा त्यो रात गीतको तर्फबाट राजेश घिमिरे सम्मान भएका भएका छन्। पछिल्लो समय सर्वाेत्कृष्ट नवप्रतिभामा देवनारायण मगर सम्मानित भएका छन् । उक्त सम्मान कार्यक्रममा चलचित्र विकास बोर्डका प्रमुख केशवराज भट्टराईको उपस्थितिमा अन्य पुराना कालकारको बाक्लो उपस्थिति रहेको थियो । प्रभु पेको आयोजनामा आठ वर्षदेखि हुँदै आएको यस कार्यक्रममा सुगम संगीतको तर्फबाट मानबहादुर बराल र धनले होइन मनले भन्ने गीतका संगीत ध्वनीबाट किशोर थापा सम्मान भएका छन् । उत्कृष्ट मोडलमा अञ्जली अधिकारी र त्यस्तै उदयराज पौडेल संगीत संयोजनमा सम्मान भएका हुन् ।