
काठमाडौं । नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल अन्तर्गत शनिबार हुने खेलका सीमित सिटमात्र बाँकी रहेका छन् । सागको टिकट बिक्री तथा व्यवस्थापन गरेको इसेवाले फुटबलका लागि न्यून सिट बाँकी रहेको र क्रिकेट खेलको टिकट पनि तीब्र रूपमा बिक्री भइरहेकाले समयमै आफ्नो सिट बुक गर्न आग्रह गरेको छ । साग अन्तर्गतका फुटबल, क्रिकेट, भलिबल तथा बास्केटबलको टिकट बिक्री तथा व्यवस्थापन इसेवाले गर्दै आएको छ ।
इसेवाका सीईओ रोशन लामिछानेले भने ‘शनिबार बिदाको दिन भएकाले सीमित टिकट बाँकी रहेका छन्, खेल अगाडी नै टिकट सोल्ड आउट हुने संभावना भएकाले रंगाशालामा टिकट उपलब्ध नहुनसक्छ, समयमै आफ्नो टिकट काटेर सिट बुक गर्नुहोला ।’
यसअघि भएका दुईवटा फुटबल म्याचमा १० हजार भन्दा बढि दर्शकले अनलाइनबाट टिकट काटेका थिए । सार्बजनिक बिदाको दिन नहुँदा पनि दर्शकको सहभागिता उत्साहपूर्वक भइरहेका बेला सार्वजनिक बिदा परेकाले शनिबार टिकट सोल्डआउट हुनसक्ने भएकाले समयमै टिकट बुक गर्न इसेवाले आग्रह गरेको हो ।
दर्शकले साग डट इसेवा डटकम डट एनपी (sag.esewa.com.np) मा गइ आफुले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सकिनेछ । टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाईल नम्बर राखेर आफ्नै मोबाईलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ । हरेक टिकटमा दर्शकको नाम, मोबाईल नम्बर र युनिक क्यूआर कोड रहने र दर्शकले प्रवेशद्धारमा आफ्नो टिकट र तस्विर भएको कुनै परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । उक्त टिकट रियल टाइममै भेरिफाई हुने र आइडी कार्ड देखाएपछि दर्शकले प्रवेश पाउनेछन् ।
यस्तै यसपटक फुटबल म्याचमा सिट नम्बर सहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवा एकाउण्ट भएका ग्राहकले सिधै मोबाईलबाट टिकट खरिद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गइ अनलाइन टिकट खरिद गर्न सकिनेछ । उपत्यका लगायत नेपालभर इसेवाका ६५ हजार भन्दा बढी जोन पोइन्ट रहेका छन् ।