विकासन्युज

साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौं। यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । यो जीतसँगै नेपाल तीन खेलमा सात अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै माल्दिभ्सको स्वर्ण पदक जित्ने सम्भावना भने समाप्त भएको छ । चार खेल खेलेको माल्दिभ्स दुई अङ्क जोड्दै लिग तालिकाको अन्तिम स्थानमा छ । खेलमा शुरुआती अग्रता भने माल्दिभ्सले लिएको थियो । खेलको १८औँ मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १–० को अग्रता दिलाए । खेलको ४३औँ मिनेटमा नेपालका अभिषेक रिजालले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पेनाल्टी क्षेत्रको ठीक बाहिर आएको बललाई नियन्त्रणमा लिँदै गोल गरेका थिए । त्यसपछि खेलको ५२औँ मिनेटमा नेपालले विजयी गोल ग¥यो । सुनिल बलको कर्नरमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए ।

तनहुँको एकै ठाउँमा एक करोडको सुन्तला उत्पादन

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष एक करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन्। उक्त ठाउँका शुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी र रामबहादुर थापाले रु एक करोड २० लाख बराबरको सुन्तला बिक्री गरेका हुन् । यस वर्ष शुकनारायणले रु ५० लाख, विश्वबहादुरले रु ४० लाख, निर्मलले रु १८ लाख र रामबहादुरले रु १२ लाखको सुन्तला बिक्री गर्नुभएको छ । चालीस रोपनी क्षेत्रफलमा ८०० सुन्तलाको बोट रहेकामा ७०० सुन्तलाको बोटले उत्पादन दिएको स्थानीयवासी शुकनारायणले जानकारी दिए । श्रेष्ठले गत वर्ष रु ३१ लाख बराबरको सुन्तला बिक्री गरेका थिए । अर्का किसान विश्वबहादुरले ६०० बोट र रामबहादुरले ३५० बोटबाट आम्दानी गरेका हुन् । कृषि ज्ञान केन्द्र तनहँुका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष खानीगाउँमा राम्रो सुन्तला उत्पादन भएको बताउनुभयो । ‘‘जिल्लाका केही ठाउँमा विभिन्न रोगका कारण सुन्तलाको बोट नष्ट हुने समस्या देखिए पनि म्याग्दे गाउँपालिकामा भने कुनै समस्या भएन’’, तिवारीले भने। सुन्तला उत्पादक कृषक विश्वबहादुरले रोगका कारण मात्रै नभई व्यवस्थापन कमजोर हुँदा पनि सोचे जति उत्पादन हुन नसक्ने बताए । अधिकारीले सुन्तला व्यवस्थापनका लागि मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी लगानी गर्ने गरेको बताए । तनहुँमा कूल एक हजार ६०० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भिमाद नगरपालिका–९ भानुमतीलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लामा गत वर्ष रु २७ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यस वर्ष पनि सोही अनुपातमा सुन्तला उत्पादन हुने अनुमान छ । यहाँ उत्पादित सुन्तला पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँमा निर्यात हुँदै आएको छ । यसैगरी आज उपत्यकाको वाग्मती किनारको तिलगङ्गा, सुन्दरीघाट, चक्रपथको उत्तरी खण्डलगायत स्थानमा पनि सफाइ जारी रहेको अभियानकर्मीले जनाएका छन् । नागरिकस्तरबाट शुरु भएको सफाइ अभियानमा स्थानीय तहका जनप्रतिनिधिका साथै सरोकार भएका सरकारी निकायले पनि दिनुपर्ने जति ध्यान नदिएको अभियानकर्मीको गुनासो छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भए पनि नदी किनार अतिक्रमण गरी बसेका सुुकुम्वासी नामधारीलाई सरकारले हटाउन सकेको छैन । यसमा अधिकारसम्पन्न वाग्मती र शहरी विकास मन्त्रालयको ध्यान जान सकेको छैन । महाअभियानबाट प्रभावित भई हाल उपत्यकाका प्रमुख नदीसहित चक्रपथलगायत देशभरका १०५ स्थानमा सफाइ भइरहेको छ ।

वाग्मतीको थापाथली किनार सुकुम्बासीका नाममा अतिक्रमण, एउटै व्यक्तिका पाँचवटासम्म टहरा

काठमाडौं। थापाथलीस्थित संयुक्त राष्ट्र सङ्घ (युएन) स्तम्भ क्षेत्रमा रहेको वाग्मती नदी किनारको सबैजसो जग्गा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ । वाग्मती सफाइ महाअभियानको ३४३ औँ हप्ताका क्रममा धेरै टहरा बनाएर नदी किनारको जग्गा अतिक्रमण गरेको भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । “एउटै व्यक्तिका पाँचवटासम्म टहरा भेटियो, नदी किनारको जग्गा अतिक्रमण गरी टहरा बनाएर भाडामा लगाउने पनि रहेछन्, धेरै वटा टहराको अघितिर मोटरसाइकल, कारलगायत सवारी साधन पनि देखियो, टहरा बनाउनाका साथै नदी किनारमा तरकारी खेती, गाई, कुखुरा, हाँस, सुँगुरजस्ता चौपाया एवं पक्षीपालन गरेको पनि भेटियो”, उनले भने । सफाइका क्रममा अभियानकर्मीले तरकारीबारीमा लगाएको बार भत्काएर बालिदिएका छन् । नदी किनारको जग्गा अतिक्रमण गरी बनाएको बार भत्काएर बालेको केही समयपछि ठूलो सङ्ख्यामा आएको समूहले किन भत्काएको भनी प्रश्न गरेका थिए । सफाइका क्रममा टहरा नभत्काउन माइकिङ गरिएको सञ्चालक सदस्य खरेलले सुनाए । नदी किनारको खाली जमीन जति अतिक्रमण गरी बसेको समूहले फोहर जति वाग्मतीमा मिसाउँदा नजीक जानै नसकिने गरी गन्हाउँछ । उपत्यकाको सभ्यताको स्रोत वाग्मती यसरी प्रदूषित बन्दा पनि सरोकार भएका कुनै पनि निकायले ध्यान दिन सकेका छैनन् । थापाथली क्षेत्रमा १३ संस्थाका ३५० जनाभन्दा बढी अभियानकर्मीको सहभागितामा भएको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । नदी क्षेत्र अतिक्रमण लगाइएको बारको करिब १० मेट्रिक टन दाउरा सो अवसरमा जलाइएको थियो । लामो समयदेखि सुकुम्बासीका नाममा नदी किनार अतित्रमण गरेर बस्नेलाई सरकारले हटाउन नसक्दा पनि नदी सफाइले मूर्त रुप लिन नसकेको अभियाकर्मीको भनाइ छ । सफाइमा काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, तीनैवटा सुरक्षा निकायका अधिकारीलगायत सफाइ अभियानकर्मीको सक्रियता थियो । उपस्थित सबैले सुकुम्बासी समस्या समाधान नगरी वाग्मती सफाइले सोचेजति सफलता हासिल गर्न नसक्नेमा सबैको एकमत रहेको जनाइएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३०५औँ हप्तामा माकालबारी सानो पुल क्षेत्रमा सफाइ गरियो । कुहिने फोहर नदी किनारमा खाडल खनी गाडियो । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गरेको जनाइएको छ । रुद्रमती सफाइको १९५औँ हप्तामा रातोपुलबाट सेतोपुलसम्मको नदी किनारमा जमेको धुलोलगायत फोहर व्यवस्थापन गरियो । त्यस क्षेत्रमा रोपिएका बिरुवा गोडमेल गर्नुका साथै स्थानीयवासीलाई नदीमा फोहर फाल्न नदिन अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए । विष्णुमती सफाइ अभियानको १७० औँ हप्तामा तारकेश्वर नगरपालिका–१० र टोखा नगरपालिका–९ सीमास्थित शिव मन्दिर क्षेत्रमा सफाइ गरियो । तीनै वटा सुरक्षा निकायका साथै स्थानीय संस्था तथा स्थानीयवासीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिए । मनोहरा सफाइको १४२औँ हप्तामा मनोहरा काठमाडौँ महानगरपालिका–३२ स्थित कृषि बजारअघिको नदी किनारमा सफाइ गरियो । एक सय ५० जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएका सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चन्द्रप्रसाद दङ्गालले बताए । चक्रपथ पश्चिम खण्ड सफाइको १२२औँ हप्तामा सोल्टी दोबाटोबाट चख्खुमार्ग्स्थित कुमारी मन्दिरसम्म सफाइ गरियो । सुरक्षा निकायसहित करिब १०० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । यसैगरी आज उपत्यकाको वाग्मती किनारको तिलगङ्गा, सुन्दरीघाट, चक्रपथको उत्तरी खण्डलगायत स्थानमा पनि सफाइ जारी रहेको अभियानकर्मीले जनाएका छन् । नागरिकस्तरबाट शुरु भएको सफाइ अभियानमा स्थानीय तहका जनप्रतिनिधिका साथै सरोकार भएका सरकारी निकायले पनि दिनुपर्ने जति ध्यान नदिएको अभियानकर्मीको गुनासो छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भए पनि नदी किनार अतिक्रमण गरी बसेका सुुकुम्वासी नामधारीलाई सरकारले हटाउन सकेको छैन । यसमा अधिकारसम्पन्न वाग्मती र शहरी विकास मन्त्रालयको ध्यान जान सकेको छैन । महाअभियानबाट प्रभावित भई हाल उपत्यकाका प्रमुख नदीसहित चक्रपथलगायत देशभरका १०५ स्थानमा सफाइ भइरहेको छ ।

क्रिकेटमा नेपालको स्वर्ण जित्ने सपना समाप्त

काठमाडौं। तेह्रौैँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बङ्गलादेशको यु–२३ टोलीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ४४ रनले पराजित भएसँगै नेपालको स्वर्ण जित्ने सपना समाप्त भएको हो । बङ्गलादेशले जीतका लागि दिएको १५६ रनको विजयी लक्ष्य पच्छाएको नेपाल निर्धा्रित २० ओभरमा नौ विकेट गुमाउँदै १११ रनमा समेटियो । खराब शुरुआत गरेको नेपालले १४ रनमा तीन विकेट गुमाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ४३ रन बनाए भने उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । त्यस्तै अविनास बोहरा १३ रनमा अविजित रहँदा रोहित पौडेलले आठ, ललित राजवंशीले पाँच तथा सुसन भारीले दुई रन जोडे । बङ्गलादेशका तान्भिर इस्लाम, सौम्या सरकार, सुमोन खान र मेहेदी हसनले समान दुई÷दुई विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धा्रित २० ओभरमा छ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका लागि कप्तान नाजमूल होसेन सान्तो र आफिफ होसेनको ९४ रनको साझेदारी गरेका थिए । कप्तान नाजमूलले सर्वा्धिक ७५ रनको योगदान दिए । साठी बलको सामना गरेका उनले चार छक्का र चार चौकाको मद्दतमा अविजित ७५ रन बनाएका हुन् । यस्तै आफिफ होसेनले ५२ रन जोडे । बलिङतर्फ नेपालका पारस खड्काले तीन विकेट हात पारे । यस्तै दीपेन्द्र सिंह ऐरीले दुई तथा अविनास बोहराले एक विकेट लिए । चार खेलमा दुई जीत र दुई हार व्यहोरेको नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले चार खेलमा चार अङ्क जोडेको छ । पहिलो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको थियो । त्यस्तै शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । तीन खेल खेलेको बङ्गलादेश तीनै खेलमा जीत हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ । बङ्गलादेशले छ अङ्क बनाएको छ । त्यस्तै समान छ अङ्क नै जोडेको श्रीलङ्का रनरेटका आधारमा अङ्क तालिकाको दोस्रो स्थानमा छ । जारी प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्का फाइनलमा प्रवेश गरेका छन् । यता नेपालले अब कास्य पदकका लागि माल्दिभ्ससँग खेल्ने छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र

मुस्ताङ। दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र परेको छ । बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटरमा पाँच र जोमसोमदेखि कोरलाको ११० किलोमिटर सडकमा सातवटा प्याकेज छन् । म्याग्दीको गलेश्वर–नारच्याङ पुल, मुस्ताङको कोवाङ–जोमसोम र चराङ–छोसेर खण्डको सडक अलपत्र परेको हो । निर्माण व्यवसायीले समयमा काम नगर्दा चीनको सिमाना कोरला नाका जोड्ने सडक अलपत्र परेको छ । कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालोपत्रका लागि निर्माण कम्पनीहरुसँग पहिलो चरणमा भएको सम्झौताको म्याद मङ्सिर १५ गते सकिएको छ । जोमसोम–कोरला सडकको पनि तेस्रो पटक थपिने म्याद आगामी असारमा सकिँदै छ । गलेश्वरदेखि नारच्याङ पुलसम्मको १९ किलोमिटर, कोवाङदेखि जामसोम १९ किलोमिटर र चराङदेखि छोसेर २५ किलोमिटर सडकको काम ठप्प भएको छ । गलेश्वर–नारच्याङ पुल खण्डको सडक कालोपत्र गर्न ठेक्का शर्मा–युनाइटेड जेभीले लिएको थियो । कोवाङ–जोमसोम सडक कालोपत्र र चराङ–छोसेर खण्डको सडक ग्राभेल गर्न कोशी एन्ड न्यौपाने जेभीले ठेक्का लिएको थियो । कोशी एन्ड न्यौपाने जेभीले छ महिनादेखि रोकिएको सडकको काम अझै अघि बढाएको छैन । सुरआती चरणमा कोशी एन्ड न्यौपानेले तीव्र गतिमा अघि बढाएको भए पनि पछिल्लो अवस्थामा काम रोकिएको हो । मुस्ताङको मार्फादेखि टुकुचेसम्म ग्राभेल पूरा गरेपछि व्यवसायीले काम नगरेकाले सडक अलपत्र परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष आसबहादुर थकालीले बताए। व्यवसायीको लापरवाही र सम्बद्ध कार्यालयका प्राविधिक तथा कर्मचारीको बेवास्ताले आयोजनाको बजार क्षेत्रका सडकमा काम हुन नसकेको उहाँले बताए । सडक निर्माणमा भएको ढिलाइले जोमसोम, मार्फा, पुथाङलगायत बजार क्षेत्रमा अन्य विकासका पूर्वाधारको काम गर्न गाउँपालिकालाई अप्ठ्यारो परेको अध्यक्ष थकालीको भनाइ छ । कम्पनीले कोवाङदेखि जोमसोम खण्ड करिब ६२ करोड र चराङदेखि छोसेर खण्ड करिब रु २६ करोडमा सम्झौता गरेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार साबिक कम्पनीले तल्लो खण्डमा ५० र उपल्लो खण्डमा ६२ प्रतिशत काम गरेको छ । गलेश्वर–नारच्याङ पुल खण्डको काम पनि करिब ५० प्रतिशत भएको छ । कोशी एन्ड न्यौपानेकै नाम हटाएर साबिक कम्पनीको नाम सप्तकोशी एन्ड जलाधार कन्सट्रक्शन राखिएको परियोजना प्रबन्धक सहदेव गौतमले जानकारी दिनुभयो । उनले कोशी एन्ड न्यौपानेले थालेका सबै काम अब नयाँ कम्पनीले सञ्चालन गर्ने बताए । जोमसोम–कोरला सडकको छोसेरदेखि कोरला नाकाको २४ नं गेटसम्मको सडक ११ मिटर फराकिलो र ग्राभेल गर्ने काम एक वर्षअघि नै सकिएको थियो । जोमसोमदेखि छुसाङसम्मको सडक स्तरोन्नति पनि अन्तिम चरणमा पुगेको छ ।

धुलिखेलमा बसको ढोकाबाट खसेर यात्रुको मृत्यु

काभ्रेपलाञ्चोक। काभ्रेपलान्चोक धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। मृत्यु हुनेमा झापाको तोपगाछी–७ बस्ने वर्ष ४२ का खड्गनारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । गाडीको ढोका छेउमा उभिएर चुरोट खाँदै गरेको अवस्थामा हात फुत्केर लडेको प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको गिरीले बताए ।

तेह्रौँ साग: महिला क्रिकेटमा नेपाललाई कास्य पदक

पोखरा। तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेट स्पर्धामा आयोजक नेपालले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको हो । सागमार्फत महिला क्रिकेटको अन्तर्राट्रिय प्रतियोगितामा शुरुआत गरेको माल्दिभ्सलाई यसअघि लिग चरणको खेलमा समेत नेपालले पराजित गरेको थियो । खेलमा टस जितेर पहिला ब्याटिङ थालेको माल्दिभ्सले ११ दशमलव तीन ओभरमा सम्पूर्ण विकेट गुमाउँदै जम्मा आठ रनको योगफल तयार गरेको थियो । जीतका लागि सामान्य लक्ष्य पाएको नेपालले पहिलो ओभरको दोस्रो बलमा नै बिना विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा ‘प्लेयर अफ दी म्याच’ बन्न सफल अञ्जली चन्दले आफ्नो चार ओभर बलिङमा जम्मा एक रन खर्चेर चार विकेट लिन सफल भइन् । नेपालका लागि रोमा थापाले पाँच तथा काजल श्रेष्ठले दुई रन जोडिन् । बाँकी दुई रन भने वाइडमार्फत प्राप्त भएको थियो । नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले स्वर्णको लक्ष्य पूरा नभए पनि खेलाडीहरुले राम्रो क्रिकेट खेलेको उल्लेख गर्दैै आगामी दिनमा धेरैभन्दा धेरै ‘म्याच एक्सपोजर’ पाएको खण्डमा श्रीलङ्का, बङ्गलादेश जस्त टेस्ट मान्यता प्राप्त राष्ट्रहरुलाई समेत जित्न सफल हुने विश्वास व्यक्त गरे। नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले प्रतियोगिताबाट सिक्ने अवसर मिलेको बताउँदै आउने दिनमा गल्ती कमजोरी हटाउँदै राम्रो क्रिकेट खेल्ने प्रतिबद्धता जनाए। माल्दिभ्स टोलीका कप्तान जोना मारियमले आफूहरु पहिलो अन्तर्राष्ट्रिय प्रतिस्र्धामा सहभागी भएकाले यसबाट सिक्ने अवसर मिलेको बताए। सागको महिला क्रिकेटको स्वर्ण पदकका लागि आइतबार श्रीलङ्का र बङ्गलादेशबीच स्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी चार राष्ट्रले सहभागिता जनाएका थिए ।  

नुवाकोटका सबै स्थानीय तह पहिराेको जोखिममा

नुवाकोट। नुवाकोटका बाह्रैवटै स्थानीय तहका विभिन्न स्थान पहिराको उच्च जोखिममा रहेका एक अध्ययनले देखाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा आत्मनिर्भर सेवा केन्द्रले तयार गरेको तथ्याङ्कअनुसार जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा रहेका विभिन्न बस्ती पहिराको जोखिममा रहेका पाइएको हो । तथ्याङ्कअनुसार किस्पाङ गाउँपालिका पहिराबाट सबैभन्दा बढी जोखिम रहेको पाइएको छ । किस्पाङको वडा नं १ भाल्चे, वडा नं ३ काहुले र वडा नं ५ मनकामना पहिराबाट बढी जोखिममा रहेका उल्लेख छ । म्यागङ गापाको वडा नं २ बुङताङ, वडा नं ३ देउराली र वडा नं ४ किम्ताङ पहिराको जोखिममा रहेका पाइएको छ । गाउँपालिकाका प्राविधिक रमनसिंह तामाङका अनुसार वडा नं ४ को किम्ताङमा विसं २०३० देखि बग्दै आएको पहिरो अझै नियन्त्रणमा नआएकाले आसपासका करीब १०० घरधुरी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सुझाव दिइएको छ । पञ्चकन्या गापाको वडा नं २, ३, ४ र ५ पहिराको उच्च जोखिम रहेको छ भने ककनी गापाको वडा नंं १ र २ साविक ओखरपौवा गाविस पहिराको उच्च जोखिममा रहेका उल्लेख गरिएको छ । शिवपुरी गापाका वडा नं २, ५ र ६ पहिराको बढी जोखिममा रहेका पाइएको छ । साढे चार वर्षअघि गएको भूकम्पको प्रभावका साथै जनताको मागअनुुसार प्राविधिक अध्ययन नगरी सडक विस्तार र छोटो समयमै धेरै सम्पन्न गर्नुपर्ने दबाबले पहिराको जोखिम बढाएको गापाका प्राविधिक नवराज कार्कीको भनाइ छ । तादी गापाको वडा नं १ उर्लेनी, वडा नं २ रालुकादेदी, वडा नं ३ खरानीटार र वडा नं ६ नर्जा पहिराको जोखिममा रहेका छन् भने सूर्यगढी गापाका प्राविधिक वुद्धबहादुर घर्तीमगरका अनुसार वडा नं १ लच्याङ, वडा नं २ बागेश्वरी र वडा नं ५ गणेशस्थान पहिराको जोखिममा रहेका देखिएको छ । तारकेश्वर गापाको वडा नं १ दाङसिंह र लिखु गापाको वडा नं ५ थानसिंह पहिराको जोखिममा रहेका अध्ययनमा देखाइएको छ । भौगोलिक दृष्टिकोणले जिल्लाकै सबैभन्दा विकट दुप्चेश्वर गापाको वडा नं १ घ्याङफेदी, वडा नं २ गाउँखार्क र वडा नं ७ शिखरवेशी पहिराको उच्च जोखिममा रहेका तथ्याङकले देखाएको छ । बेलकोटगढी नपाका वडा नं ८, ११, १२ र १३ पहिराको जोखिममा रहेकाले समयमै नियन्त्रणको पद्धति अपनाउन सम्बन्धित पक्षले योजना तथा कार्यक्रम सञ्चालन गर्न सुझाव दिइएको छ । जिल्ला सदरमुकाम रहेको विदुर नपाका प्राविधिक सुनील थापाका अनुसार वडा नं १, ८, १०, ११, १२ र १३ पहिरो तथा बाढीको जोखिममा रहेका देखिएको छ । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट ध्वस्त बनेको जिल्लाका धेरै क्षेत्रका जमीनमा कम्पन भएर धाँजा फाटेको र भौगोलिक बनोट पहाडले घेरेको स्थल भएकाले जुनसुकै समयमा विपद् निम्तन सक्ने भन्दै जोखिम न्यूनीकरण र विपद्को पूर्वतयारीमा जुट्न सम्बन्धित स्थानीय तहलाई सुझावसहित प्रतिवेदन तयार गरिएको आत्मनिर्भर सेवा केन्द्रका पैरवी अधिकृत कल्पना न्यौपाने जानकारी दिए ।