देशभरका गैससमा ५ लाख बढी रोजगार, ‘दर्ता भएका ५० हजार संस्था मध्ये २५ सयले पनि काम गर्दैनन्’
काठमाडौं । समाज कल्याण परिषदमा देशभरका ५० हजार भन्दा बढी गैर सरकारी संस्था(एनजीओ) दर्ता भएका छन् । तर, ती मध्ये २५ सय संस्थापनि व्यवस्थित रुपमा सञ्चालन भएका छैनन् । गैर सरकारी संस्था महासंघका महासचिव रामप्रसाद सुवेदीका अनुसार आफ्नै कार्यालय भएका, कर्मचारी राखेका र व्यवस्थित रुपले सञ्चालन भएका गैससको संख्या २५ सयपनि छैन । देशभर ५० हजारको संख्यामा एनजीओ छन्, ती एनजीओले काम काम र पैसा बढी खर्च गर्छन् भन्ने आरोप लाग्छ, गैससको संख्या धेरै भयो, काम कम भयो भनिन्छ । गैससका महासचिव सुवेदी भन्छन्–राम्ररी चलेका संस्था २५ सयजति मात्र छन् । बाँकी नाम मात्र हुन्, न तिनले काम गरेका छन् न बजेट नै खर्च गरेका छन् । गैसस महासंघका महासचिव सुवेदीका अनुसार नेपालमा संघसंस्था दर्ता ऐन २०३४ अनुसार संस्था दर्ता गर्न पाइन्छ, तर संस्था बन्द गर्न पाउने कानूनी व्यवस्था छैन, त्यसकारण पनि गैससको संख्या धेरै देखिन्छ । यसकारण पनि गैससहरुले समुदायस्तरमा धेरै गुनासा सुन्नु परेको उनी बताउँछन् । गैससहरुको हकहितका लागि गठन भएको गैसस महासंघमा हालसम्म ६ हजार ३ सय ३२ वटा संस्था सदस्य रहेका छन् । यी संस्थामा ५ लाख जनशक्तिले रोजगारी पाएको छ । १३ प्रतिशत बैदेशिक अनुदान मात्र गैससलाई शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा विदेशी संस्थाले जे जति अनुदान दिन्छन् त्यस मध्ये १३ प्रतिशत रकम मात्र गैसस मार्फत खर्च हुने गरेको गैसस महासंघ नेपालले जनाएको छ । ८७ प्रतिशत बैदेशिक सहायता राज्यले नै खर्च गर्छ । यसरी आएको वैदेशिक सहायत उचित काममा खर्च हुनु पर्दछ । गैसस महासंघका महासचिव सुवेदी भन्छन्-गैससले गल्ती गरेका छन् भने नियमन गर्नु पर्छ र कारवाही गर्न राज्यले तत्परता देखाओस् । कस्तो छ गैससको संगठन संरचना गैरसरकारी संघको ७७ वटै जिल्लामा शाखा विस्तार भएका छन् । सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना भएको महासंघले जनाएको छ । गैससहरुले सामाजिक क्रियाकलाप, गरिबी निवारण, अपाङ्ग हकहित, खानेपानीको व्यवस्था, सरसफाई, मानव बेचविखन, सुरक्षित बैदेशिक रोजगारी, महिला अधिकार, बालअधिकार, जातीय छुवाछुत जस्ता क्षेत्रमा जनचेतना र निर्माणका कार्य गर्दै आएको महासचिव सुवेदीले बताए । के कस्ता छन् अप्ठ्यारा ? गैससलाई ठूलो र साना भनेर मात्र नभई कार्य क्षेत्र र काम गर्ने प्रकृतिका आधारमा वर्गिकरण गर्ने हुनु पर्ने, ऐनमा मुनाफा रहित सामाजिक सेवा गर्ने संस्था भ्याटमा जानु नपर्ने भएमा र आयकर नलाग्ने व्यवस्था हुनु पर्ने गैसस महासंघको माग छ । ‘देशमा पुरानो ऐननियम संशोधन गर्न लागेको सन्दर्भमा केही नीति नियम संशोधन नगरेमा राज्यलाई दबाब दिने अभियान महासंघले सञ्चालन गर्न सक्नेछ’ महासचिव सुवेदीले भने । समुदाय स्तरमा गैससहरु प्रति त्यति राम्रो धारणा पाइदैन । तर, नेपालमा गैरसरकारी संस्था जति पारदर्शी र जवाफदेही अन्य कुनै निकाय नरहेको भन्दै महासचिव सुवेदी बताउँछन् ।
सिटिजन लाइफ इन्स्योरेन्सको नयाँशाखा दोलखामा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ६२ औं शाखा दोलखा उद्घाटन गरेको छ । दोलखाको चरिकोटमा उक्त नयाँशाखा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार अधिकृत कवि फुँयाल र दोलखा क्षेत्र नं. २ प्रदेश सभाका सांसद पशुपति चौलागाईंद्वारा संयुक्त रुपमा उद्घाटन गरेका थिए । दोलखाका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धी जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका सो शाखा विस्तार गरिएको हो । २०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्समा नेपालभर ६२ वटा कार्यालय र २०० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । नेपालीहरुको आवश्यकता र जोखिमलाई न्युनिकरणको निमित्त जीवनबीमा योजना ल्याउन तयार भएकाे छ । उक्त इन्स्योरेन्स आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमा शुल्क संकलनमा ६० प्रतिशत र सोहीअवधिको खुदनाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा रु.२४५ करोडको लगानी रहेको छ ।
मकवानपुरमा निर्माण गरिएको वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प
काठमाडौं । विगत ६ महीनादेखि मकवानपुरको वायु सौर्य मिश्रित आयोजना ठप्प भएको छ । रु एक करोड ११ लाखको लागतमा बागमती गाउँपालिकाकाे–५ भोर्लेनीमा स्थापित आयोजना ६ महिना देखि बन्द भएकाे हाे । आयोजनाको ब्याट्री पड्किएको र उपकरणको मर्मत सम्भार नगर्दा आयोजनाको काम ठप्प भएको हो । वि सं २०७२ मा निर्माण गरिएको २५ किलोवाट क्षमताको आयोजनामा सौर्य शक्तिबाट १५ किलोवाट र हावाबाट १० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो । भोर्लेनी वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर घलानले आयोजना सञ्चालन भएदेखि नै समस्या रहेकाे बताए। आयोजनामा जडान गरिएका १०० ब्याट्रीमध्ये ४० ब्याट्री मात्र काम लाग्ने थिए । गत असोजमा ती ४० ब्याट्री पनि पड्किएपछि आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । उपभोक्ता समितिको लामो मागपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्राविधिक रूपमा आयोजनाको निरीक्षण भएको थियो । केन्द्रका प्राविधिकका अनुसार त्यस क्षेत्रमा विद्युत् सेवा गइसकेकाले आयोजनाको इन्भर्टर र ब्याट्रीलगायतका उपकरण परिवर्तन गरी सञ्चालन गरिने र उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन (ग्रिड) मा जोडिनेछ । एक सय ३१ परिवार लाभान्वित हुँदै आएको आयोजनाबाट त्यस क्षेत्रमा राति पाँच घण्टा सौर्य विद्युत वितरण हुँदै आएको थियो । प्राविधिकका अनुसार एशियाली विकास बैंकको सहयोगमा आयोजनाको स्तरोन्नति गरेर विद्युत ग्रिडमा जोड्ने गरी काम हुने बताइएको छ । रासस
सांग्रिला डेभलपमेन्ट बैंकद्धारा उर्जाशिल अपाङग सशक्तिकरणलाई कम्प्युटर सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पेप्सीकोलास्थित उर्जाशिल अपाङग सशक्तिकरण केन्दलाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । यस हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई एकथान कम्प्युटर हस्तान्तरण गरेका छन् । यसबाट देशमा विद्यमान शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई पनि सूचना प्रविधिको पहुँचमा सहयोग पुग्नेछ । बैंकले ८१ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जानकारी गराएको छ ।
रक्तदाताबाट संकलन गरिएको रगतमा एचआईभी भेटियो
काठमाडौं। १ बर्षमा रक्तदाताले बिरामीलाई दिईएको एकहजार दुईसय १० वटामा रगतको परिक्षण गर्दा एउटामा एचआईभी र अर्कोमा भिरिङ्गगी भेटिएको छ। बुधबार राष्ट्रिय हेमोभिजिलेन्स वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रमले प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको हो। स्याम्पल ब्लड मध्ये १२ वटा शंकास्पद भएर जाँच्दा एउटामा एचआईभी भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अन्तर्गतको रक्तसञ्चार ब्यूरो प्रमुख डा. रेखा मानन्धरले बताईन्। रक्तदाताले रगत दान गरेदेखि बिरामीमा चढाउने बेलासम्ममा अध्ययन गर्नको लागि सरकारले १ बर्ष अघी ‘हेमोभिजिलेन्स’ कार्यक्रम शुरु गरेको थियो। यस कार्यक्रमको लागि परोपकार प्रसुती गृह र नेपाल क्यान्सर अस्पताल ब्लड स्याम्पल पठाउँदै आएको कार्यक्रम संचालिका समेत रहेकी डा. रेखाले बताईन्। कार्यक्रममा रगत संकलन गरेर पठाउने परोपकार प्रसुती गृह र नेपाल क्यान्सर अस्पताललाई कदरपत्र प्रदान गरिएको थियोे।
राष्ट्रिय बीमा कम्पनी र ओम डेभलपमेण्ट बैंकबीच बीमा सेवा सम्झौता
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र ओम डेभलपमेण्ट बैंक लिमिटेडबीच बुधबार एक कार्यक्रममा बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट क्मपनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले हस्ताक्षर गरेका छन् । बैंकले हालसालै मात्र बजारमा ल्याएको “सुरक्षित बचत खाता” अन्तर्गत खाता खोल्ने ग्राहकहरुका लागी यस सम्झौता अन्तर्गत जारी भएको दुर्घटना बीमा लेखले सात लाखसम्मको आर्थिक सुरक्षा प्रदान गर्ने छ । साथै, बैंकमा “सुरक्षित बचत खाता” खोल्ने ग्राहकको दुर्घटनाको कारण मृत्यु भएमा बीमाले सात लाख ग्राहकको हकवालालाई बैंक मार्फत क्षतिपूर्तिको रुपमा भुक्तानी गर्ने बैंकले जनाएको छ । सम्झौता पश्चात दुबै पक्षले बाली तथा पशुपन्छीको क्षेत्रको परनिर्भरता हटाउँदै जनतालाई समृद्ध बनाउने विश्वास लिएका छन् ।
उदयपुरको कटारीमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले उदयपुरको कटारीस्थित श्री माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग, सफानोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने सम्बन्धि छलफल भएको थियो । विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषय वस्तुमा समावेश गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि प्र.अ. नारायणप्रसाद अधिकारी र अतिथिमा स. प्र.अ. जितेन्द्र यादव रहेका थिए । कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५,३०० स्थानीय तथा विद्यार्थी सहभागी भैसकेका छन् ।
सेयर बजारमा छायो हरियाली, नेप्से ९ अंकले बढेर ११११ अंकमा
काठमाडौं । निरन्तर गिरावटले राताम्मे भएको बजार बुधबार भने बढेर हरियो देखिएको छ । सो दिन नेप्से ९.१२ अंकले बढेर ११११.७६ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८३ प्रतिशतले बढेको हो । परिसूचक बढेसँगै कारोबारमा आएका सबै सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९६.१४ अंकले बढेर ५७४४ अंकमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ६७.५६ अंक, होटल २५, माइक्रोफाइनान्स १९ र विकास बैंक १० अंकले बढेको छ । सो दिन कुल १६९ कम्पनीको २२ करोड ४६ लाख ६६ हजार १२८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी एनसीसी बैंकको एक करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको एक करोड ३६ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक करोड १७ लाख र एनएमबि बैंकको एक करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी हाथवे फाइनान्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ८.३३ र ८.२८ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घलेम्दी हाइड्रोका लगानीकर्ताले ६.५५ प्रतिशत गुमाएका छन् ।