धितोपत्र बोर्डलाई ब्रोकरको पत्रः बकबक गर्न छाडेर हाम्रा माग पुरा गर्नु
काठमाडौं । स्टक ब्रोकर एसोसियसन अफ नेपालले धितोपत्र बोर्डलाई जथाभावी बोल्ने काम बन्द गर्न भनेको छ । बुधबार ५० वटै ब्रोकर कम्पनीका प्रतिनिधीहरुले हस्ताक्षर गरेको पत्र बोर्ड सञ्चालक समितिलाई बुझाउँदै जथाभावी नबोल्न भनेका हुन् । उनीहरुले ब्रोकर डिलर, प्रोपराइटर ट्रेड, शुल्क सहितको परामर्श सेवा, पोर्टफोलियो व्यवस्थापनको काम गर्न पाउनुपर्ने माग पनि अघि सारेका छन् । ब्रोकरहरुले कुनै गल्ति गरेमा पहिलो पटक सुधारात्मक प्रक्रिया अपनाउनुपर्ने र अन्तिममा मात्रै दण्ड जरिवाना गर्नुपर्ने भनेका छन् । प्रदेशमा खोल्न लागिएका ब्रोकर कम्पनी र बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने तर्कको पुष्टि गर्नुपर्ने माग पनि अघि सारेका छन । इन्ट्रा डे कारोबारको सुबिधा दिनुपर्ने, दुई वटा मात्रै डिम्याट खाता खोल्न पाउने व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् । ब्रोकरहरुले धितोपत्र बोर्डका अध्यक्षलाई नभएर सञ्चालक समितिलाई पत्र लेखेका छन् । विभिन्न २८ बुँदे माग समेटिएको पत्रमा उनीहरुले एक हप्ताभित्र माग पुरा गरेर आफुहरुलाई जानकारी गराईयोस भनेर आदेशात्मक अनुरोध समेत गरेका छन् । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीसँग असन्तुष्ठ बनेका ब्रोकरहरुले सञ्चालक समितिलाई पत्र लेखेका हुन् । तर धितोपत्र बोर्डको सञ्चालक समिति अध्यक्ष भने कार्की नै हुन् । पछिल्लो समय बैंकलाई ब्रोकर लाइसेन्स र प्रदेशमा ब्रोकर कार्यालय खोल्ने लगायतका कामबाट कार्की र ब्रोकर कम्पनीहरुका बिचमा दुरी बढिरहेको छ ।
गर्भनर नेपाल र इकोनोमिक मिडिया सोसाइटीको प्रतिनिधिमण्डलबीच भेटवार्ता
काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाललाई भेटी मिडिया क्षेत्रले भोग्दै आएका समस्याहरुबारे अवगत गरायो । इम्सनले मुलुकमा आर्थिक गतिविधि बढाउने इकोनोमिक मिडियाहरुको विशेष भूमिका रहेकोले राज्यको नीतिले त्यस्ता मिडियाहरुलाई न्यायोचित व्यवहार गर्न नसकेको विषय अवगत गराएको छ । इम्सनका अध्यक्ष रामकृष्ण पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विशेषगरी पाठकहरुसम्म छिटोछरितो सूचना प्रवाह गर्ने सशक्त माध्यम बनेका अनलाइन मिडियाहरुको आवश्यक र महत्व बढेकोले यस्ता मिडियामैत्री सरकारी नीति बन्नुपर्नेमा जोड दिएको छ । पाठकहरु अनलाइन मिडियातर्फ केन्द्रीत हुँदै गएकोले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सूचना एवं सन्देशहरु अनलाइन मिडियाहरुमा प्रकाशन गर्न पाउने व्यवस्था गर्न इम्सनले माग गरेको छ । वित्तीय साक्षरता वृद्धि गर्न, वित्तीय बजार विस्तारमा सघाउन इकोनोमिक मिडियाको ठूलो भूमिका रहेकाले यस्ता कार्यक्रम संचालन गर्दा बैंक तथा वित्तीय संस्था र इकोनोमिक मिडियाबीच सहकार्य हुनुपर्नेमा इम्सनले जोड दिएको छ । साथै, अनलाइन मिडिया डोमेन दर्ता तथा नविकरण गर्दा, होस्टिङ गर्दा लाग्ने विदेशी मुद्रा उपयोगमा भइरहेको असुविधाप्रति ध्यानाकर्षण गराएको छ । भेटघाटको क्रममा गर्भनर नेपालले इकोनोमिक मिडियाहरुको आवश्यक र महत्व आफूले बुझेको बताउँदै यस्ता मिडियाहरुको समस्या समाधानका लागि राष्ट्र बैंकले सहयोग गर्ने बताए । उनले मिडियाहरुमा आधार र प्रमाणविना सत्यहिन समाचार प्रकाशित गर्ने प्रवृत्ति रहेको सुनाउँदै यसमा सुधार गरी स्वस्थ र व्यवसायिक ढंगले अघि बढ्न जरुरी रहेको बताए ।
एनसीसी बैंकको ब्रान्ड एम्ब्यासडरमा आरिफ शेख र रोहितकुमार नियुक्त, मासिक २५ हजार दिने घोषणा
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) ले नेपाली क्रिकेट क्षेत्रका उदीयमान खेलाडीहरु आरिफ शेख र रोहितकुमार पौडेललाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा दुई वर्षको लागि नियुक्त गरेको छ । बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुलाई फागुन २२ गते पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको छ । बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा आरिफ शेख र रोहितकुमार पौडेलले क्रमशः आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरु बारे मन्तव्य ब्यक्त गरेका थिए । बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले नेपाली क्रिकेट जगतका उदयमान खेलाडीद्वय आरिफ शेख र रोहितकुमार पौडेललाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा आबद्द्ध गराउन पाउँदा खुशी लागेको जानकारी दिए । पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आरिफ शेख र रोहित कुमार पौडेलजस्ता युवा खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउनु गौरवको विषय रहेको बताए । साथै बैंकले यी खेलाडीहरुको वृत्ति विकासको लागि मासिक २५ हजार दिने जानकारी दिए । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले एनसीसी बैंकले आरिफ शेख र रोहितकुमार पौडेललाई आफ्नो ब्रान्ड एम्ब्यासडर बनाएर सराहनीय कार्य गरेको मन्तब्य दिए ।
‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ ल्याएको छ । फागुन २२ गते बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच बैंकले ‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको हो । योजना मार्फत ग्राहकहरूले आकर्षक ब्याजका साथसाथै बीमा सुविधापनि प्राप्त गर्न सक्ने छन् । १ सय रुपैयाँ मै खाता खोल्न मिल्ने ‘सिटिजन्स विशेष बचत खाता’ कर्मचारीहरूको तलब खाताको लागि फलदायी हुने बैंकले विश्वास लिएको छ । दैनिक मौज्दातमा वार्षिक ६.२५% ब्याज दर प्रदान गरिने यस योजनाबाट ग्राहकहरुले आकर्षक ब्याज दर प्राप्त गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभ समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति एक लाख सम्मको स्वास्थ्य बीमा(अस्पताल भर्ना खर्च) र सात लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ । औसत मौज्दात रकमको चार गुणासम्मको हुनआउने रकमको दाबीभुक्तानीगर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने कुरा बैंकले जानकारी दिएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको दशौं एक्स्टेन्सन काउन्टर ललितपुरको हात्तिवनमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ललितपुरको हात्तिवनस्थित काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशन एण्ड स्कुल अफ आट्समा दशौं एक्स्टेन्सन काउन्टर खोलेको छ । काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, के युका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय, के यु स्कुल अफ एजुकेशनका डिन प्रा.डा.महेशनाथ पराजुली तथा का डिनप्रा.डा. सागरराज शर्माले संयुक्त रुपमा उद्घाटन गरे । काउन्टरले केयु हात्तिवनकोरकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नेछ । स्कुल अफ आट्स विषयमा पि.एच.डीसम्मको पढाइ हुने के युमा ६ सय बढी विद्यार्थीहरु अध्ययनरत छन । विगत १२ वर्षदेखि बनेपास्थित काठमाडौं युनिभर्सिटीसंगको नातालाई अझै फराकिलो पार्ने उदेश्यले बैंकले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो । बैंकले अहिले ७८ वटा शाखा कार्यालय,९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,६६५ वटा पिओएस् मेसिनबाट सेवा दिइरहेको छ ।
प्रदेश २ मा समृद्धिको मार्गचित्रबारे छलफल, ‘समथर भूभाग र उर्वरता ठूलो संभावना’
काठमाडौँ । नेपाल उद्योग परिसंघले सुरुवात गरेको नेपालको “समृद्धिको मार्गचित्र” विषयक कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ ।परिसंघ प्रबुद्ध परिषदको समन्वयमा नेपाल उद्योग परिसंघ तथा प्रदेश–२ सरकारले संयुक्तरुपमा सो प्रदेशको समृद्धिको मार्गचित्रको बारेमा छलफल गरेका हुन् । उप–प्रधानमन्त्रीएवं स्वास्थ्यतथा जनसंख्यामन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त छलफलमा सहभागीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रदेश–२ भू–भागमा सानो र जनसंख्या ठूलो भएको क्षेत्र भएको बताए । समथर भूभाग, उपलब्ध सिचाई तथा त्यहाँको उर्वरता त्यस क्षेत्रको ठूलो सम्भावना भएको उनले बताए । सो छलफलमा प्रमुख अतिथि संघीय उप–प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले छोटो समयमा मुलुकमा धेरै ठूला राजनीतिक परिवर्तनहरु भएको र ती परिवर्तनहरुलाई संस्थागत गर्न आर्थिक विकासको टड्कारो आवश्यकता रहेको बताए । सो कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा समृद्धिका प्रसस्तै आधारहरु रहेको वताउँदै लगानी बिना संमृद्धि संभव नभएकोले लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार हरवखत तयार रहेको बताए । प्रदेश–२ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले कृषि तथा कृषिसंग संवन्धित उद्योगको प्रसस्तै सम्भावना भएको र त्यसका लागि प्रदेश सरकारले आन्तरिक सडक संजाल तथा अन्य भौतिक पूर्वाधारहरुको विस्तारमा समेत जोड दिई रहेको जानकारी गराएका थिए । प्रदेश–२ कै आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेश सरकारले भूमी बैंकको परिकल्पना गरिरहेको र छिटै लागू गर्ने गरी काम अघि बढाईएको जानकारी गराए । यस अघि प्रदेश–२ का समृद्धिका आधारहरु पहिचान गर्ने क्रमका परिसंघ प्रबुद्ध परिषदका संयोजक, पूर्व राजदुत डा. सम्भुराम सिंखडाले आफ्नो अनुभवहरु सुनाउँदै मुलुक परिवर्तन भई रहेको घडिमा सोच समेत परिवर्तन हुनु पर्नेमा जोड दिएका थिए । सो छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षत्रय डा. शंकर शर्मा, डा. गोविन्दराज पोख्रेल तथा डा. स्वर्णिम वाग्लेले प्रदेश–२ को आर्थिक समृद्धिका आधारहरु तथा योजनाहरुका पक्षमा विविध चर्चा गरेका थिए । एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. विन्दु लोहनीले प्रदेश–२ ले अवका योजनाहरु छरिएका नभई कुनै एक विषय वा उत्पादनलाई लिएर त्यसको मुल्य तथा आपूर्ति श्रृंखलाको विकास तथा प्रवद्र्धनमा जोड दिनु पर्ने कुरा उल्लेख गरेका थिए ।
अर्बपति सूचीमा विनोद चौधरी १३४९ औं स्थानमा, संसारकै कान्छी बिलिनियरमा २१ वर्षीय काइली जेनर
काठमाडौ। चर्चित नेपाली उद्यमी विनोद चौधरी १.७ बिलियन अमेरिकी डलर (एक खर्ब ७० अर्ब रुपैयाँ) सम्पत्तिको साथ फोर्ब्सको अर्बपति सूचीमा १३४९ औं स्थानमा परेका छन् । अमेरिकाको चर्चित फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको २०१९ को अर्वपतिको सुचिमा उनी १५६१ औं स्थानबाट २१२ स्थान माथि उक्लिएका हुन्। फोर्ब्सका अनुसार एक वर्षमा चौधरीको २० अर्ब रूपैयाँ सम्पत्ति थपिएको छ । गत बर्ष उनको सम्पत्ति १.५ बिलियन अमेरिकी डलर रहेको थियो । फोर्ब्सले सार्वजनिक गर्ने अर्बपतिको सुचिमा चौधरी एक मात्र नेपाली हुन् । ६३ वर्षीय चौधरीको विभिन्न व्यवसायमा संलग्न छन् । वाईवाइ चाउचाउ उनको सबैभन्दा चर्चित उत्पादन मानिन्छ जुन भारत, बंगलादेश, सर्बिया, साउदी अरेबियामा समेत लोकप्रिय रहेको छ । उनको सम्पत्तिको सबैभन्दा ठुलो श्रोत नबिल बैंक रहेको छ भने उनी सिजी कम्पनी अन्तर्गत होटल, खाना, इलेक्ट्रोनिक्सको पनि व्यावसाय गर्दछन् । मार्क जुकरबर्गको रेकर्डलाई तोड्दै अमेरिकी मोडल काईली जेनर सबैभन्दा कम उमेरकी बिलिनियरमा २१ वर्षीय अमेरिकी मोडल तथा मेकअप व्यावसायी काईली जेनर परेकी छिन् । फेसबुक मालिक मार्क जुकरबर्ग २३ वर्षमा पाएको रेकर्डलाई तोडदै उनी सबैभन्दा कम उमेरकी बिलिनियरमा परेकी हुन्। फोर्ब्सको अनुमान अनुसार जेनरको कम्पनी काइली कस्मेटिक्सले कम्तीमा ९०० मिलियन डलरको रहेको छ र यो सबै सत प्रतिसत उनकै हो । फोर्ब्सले उनलाई आफ्नै मेहनतबाट बनेको बिलिनियरको उपनाम दिएको छ, जुन अहिले सोसल मिडियामा विवादस्पद बनेको छ ।
भ्रमण वर्ष २०२० सफल पार्न अमेरिकाले सहयोग गर्ने, एमसिसीसँगको सम्झौता पक्का
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले लगानी सम्मेलनका साथै भ्रमण वर्ष २०२० लाई सफल पार्न अमेरिकाको सहयोग रहने बताए । उपराष्ट्रपति कार्यालयमा नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीसँगको भेटमा उपराष्ट्रपतिले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गरेका छन् । भेटमा अमेरिकी राजदूत बेरीले अमेरिका र नेपालको सम्बन्ध चासो, मूल्य र मान्यतामा आधारित रहेको बताए। उपराष्ट्रपति पुनले भने, “नेपालमा लगानीमैत्री वातावरण बनेको छ । राजनीतिक स्थायित्वसँगै कानून र नियम लगानीमैत्री बनेका छन्, लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आऊन्, लगानी गर्ने सक्ने छन् ।” उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण आवश्यक रहेको बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । उनले मिलिनियम च्यालेन्ज कोपरेशन (एमसिसी) सम्झौताबाट नेपालले धेरै लाभ लिने बताउँँदै नेपाल राजनीतिक स्थिरता हासिल गरेर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताए । नेपालको सुरक्षा चासो र प्राथमिकता नै अमेरिकाको चासो र प्राथमिकता रहेको बताउँदै नेपालले सार्वभौम र स्वतन्त्र रुपमा आफ्नो र विश्वका बारेमा निर्णय लिन सकोस् भन्ने अमेरिकाको धारणा रहेको बताए । राजदूत बेरीले “अमेरिका नेपालको लोकतन्त्र सुदृढ् भएको, जनताका आकाङ्क्षाहरु पूरा भएको, राजनीतिक स्थायित्व हासिल भएको देख्न चाहन्छ” भने । राजदूत बेरीले नेपालमा लगानी गर्ने वातावरण बनेको बताउँदै एमसिसी सम्झौता हुनु यसको प्रमाण जानकारी दिए । नेपालको लगानी सम्मेलन र भ्रमण वर्ष २०२० सफल पार्न आफू र अमेरिकाको पूर्ण सहयोग रहने बताए । रासस