विकासन्युज

छिमेक लघुवित्तको कामु सीईओमा चोलराज शर्मा नियुक्त

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा चोलराज शर्मा नियुक्त भएका छन् । शुक्रबार बसेको संस्थाको संचालक समितिको बैठकले शर्मालाई आगामी पुस १ गतेदेखि लागु हुने गरी कामु सीईओ पदमा नियुक्त गरेको हो । हाल संस्थाको सीईओको कार्यभार रामचन्द्र जोशीले सम्हालेका छन् । उनको पदावधि यहि मंसिर ३० गते सकिने भएकाले संचालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेलसम्मका लागि शर्मालाई उक्त पदमा नियुक्त गरेको हो । संस्थाको सहायक महाप्रबन्धक पदको कार्यभार सम्हाल्दै आएका जोशीले आगामी पुस १ गतदेखि संस्थाको कामु सीईओको कार्यभार सम्हाल्ने छन् ।

नेपाल इन्स्योरेन्सद्वारा लघु बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लघु बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम कन्चनपुरको महेन्द्रनगर स्थित होटल ओपेरामा भएको हो । कार्यक्रममा कन्चनपुर जिल्लाका सम्पूर्ण लघुवित्त संस्था, सहकारी संस्था विभिन्न बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, बीमा कम्पनीका प्रतिनिधिहरु, प्रहरी प्रशासन लगायत स्थानिय समाजसेवीहरुको उपस्थित रहेको थियो । नेपालको पिछडिएको क्षेत्र तथा न्यून आय भएको वर्ग सम्म लघु बीमाको पहुच विस्तार गरी न्यून आय भइ, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमग्रस्त वर्गका ब्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरुको जीवन तथा सम्पत्तिको सम्भावित जोखिमबाट सुरक्षा प्रदान गरी गरिबी घटाउने र लघु बीमा बारे जन चेतना जगाउने मुख्य उद्देश्यका साथ यस कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कार्यक्रमका सभापति एवम् नेपाल बीमक संघका कृष्ण न्यौपानले कार्यक्रमका उद्देश्यहरुका बारेमा जानकारी गराए भने नेपाल ईन्स्योरेन्सका चन्द्रनाथ उप्रेतीले लघु बीमाको परिचय, उद्देश्य,महत्व, प्रभावकारीता लघु बीमा प्रकार , जोखिम वहन, बीमालेख जारी लगायत दावी भुक्तानी प्रक्रियाहरुका सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएका थिए ।

पच्चीस जिल्ला अनुगमनमा मात्र तीन निरीक्षक

बाँके । विभागको कार्यक्षेत्र तत्कालीन मध्य र सुदूरपश्चिमका २५ जिल्ला रहेको छ । तर अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्रमुखसहित तीन जना मात्रै रहेका छन् । विभागमा अनुगमनको मात्रै नभई मेडिकल दर्ताको जिम्मेवारी पनि रहेको छ । बाँकेको नरैनापुर गाउँपालिकामा उपचारका क्रममा दुईको मृत्यु भएपछि विभागसहित पुगेको प्रशासनको टोलीले छापा मार्दा नेपालमा दर्ता नभएका औषधि बिक्री भएको खुलेको थियो । त्यहाँ न त मेडिकल दर्ता थियो, न विभागमा दर्ता भएका औषधि नै । “उजुरी र गुनासो आएका ठाउँमा अनुगमनमा प्राथमिकता दिने गरेका छौँ । कार्यक्षेत्र ठूलो र जनशक्ति कम हुँदा सबै ठाउँमा अनुगमन गर्न सकिरहेका छैनौँ । जनशक्तिले भ्याएसम्म फार्मेसी तथा मेडिकलको अनुगमन गरिरहेको छौँ ।” औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाका प्रमुख नीनु श्रेष्ठले भने । अनुगमन नै नहुने भएपछि मेडिकल तथा फार्मेसी मापदण्डबमोजिम छन् वा छैनन् भन्ने यकिन गर्न सकिने अवस्था छैन । जिल्ला–जिल्लामा संयुक्त बजार अनुगमन समिति छन् । गाउँ नपुगे पनि सदमुकाममा हुने अनुगमनका क्रममा पसल दर्ता छन् वा छैनन् समितिले हेरे पनि विभागमा दर्ता भएका औषधिबाहेकका औषधि बिक्रीमा छन् वा छैनन् ठम्याउन सक्ने अवस्था छैन । शाखामा मात्रै २५ जिल्लाका चार हजार बढी औषधि बिक्रेता दर्ता छन् । गाउँसम्म अनुगमन पुग्न विभागसँग जनशक्ति छैन । “नरैनापुरका प्रत्येक वडामा औषधि बिक्रेता छन्”, नरैनापुरका विनय दीक्षित भन्छन्, “अनुगमन नहुँदा उनीहरु कानूनी हुन् वा होइनन् स्थानीयवासीले कसरी ठम्याउने ?” “दर्ता पसलमा बिक्रीका लागि राखिएको औषधि जाँच मात्रै गर्नका लागि पुग्ने जनशक्ति छैन”, शाखा प्रमुख श्रेष्ठ भन्छन्, “तीन जना निरीक्षक सबै ठाउँ पुग्न सम्भव छैन ।” मेडिकल दर्ताको जिम्मेवारी पनि शाखा कार्यालमै रहेको छ । विभिन्न जिल्लाबाट आउने सेवाग्राहीलाई सेवा दिन कम्तीमा चार जना कर्मचारी कार्यालयमै रहनुपर्ने बाध्यता समेत रही आएको छ । “विभागले हेरेन भन्ने गुनासो आउँछ, हाम्रो जिम्मेवारी पनि हो, तर जनशक्ति कम हुँदा सबै ठाउँ पुग्न नसकेका हौँ”, शाखा प्रमुख श्रेष्ठले भने । सङ्घीयतापछि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहमा पनि छ । तर, सबै स्थानीय तहले अनुगमन समिति बनाएका छैनन् । बनाएका स्थानीय तहसँग पनि सबै क्षेत्रका विज्ञ उपलब्ध हुने अवस्था छैन । “स्थानीय तहले पनि फार्मेसी निरीक्षकसहितको अनुगमनको व्यवस्था गर्नुपर्छ”, उनले भने, “स्वास्थ्यको जिम्मेवारी पनि स्थानीय निकायमा छ, कम्तीमा फार्मेशी निरीक्षकको व्यवस्था हुने हो भने बेथिति छ÷छैन अनुगमन र भए नियन्त्रण गर्न सहज हुन्थ्यो ।” यस वर्ष विभागले गरेको अनुगमनमा चार मुद्दा दर्ता भइसकेका छन् । रासस

साताको पहिलो दिन प्रतितोला ५ सयले घट्यो सुन

काठमाडौं । साताको पहिलो दिन प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य घटेको छ । गत शुक्रबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन ५ सय रुपैयाँ घटेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै शुक्रबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी साताको पहिलो दिन आइतबार ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँ घटेर ८ सय ४० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लामो समय एकै ठाउँमा बस्नु धूम्रपान गर्ने जतिकै खतरनाक, लाग्न सक्छ यी राेग

काठमाडौं। हामी मध्ये धैरै जना व्यक्ति दिनहुँ आफ्नो कार्यालयमा करिब ८ देखि १० घण्टा बिताउने गछौं। कार्यालयमा मात्र नभएर घरमै बस्ने  मानिसहरुको पनि  सामान्य दैनिकी यहि हो। तर के तपाईलाई थाहा छ यसले कति ठूलो रोग निम्ताउन सक्छ ? लामो समयसम्म एकै ठाउँमा बस्दा यसले मोटोपनाको समस्या निम्त्याउँछ ।  यति मात्र नभएर यसले मुटुरोग, मधुमेह, डिप्रेशन, क्लोन क्यान्सर जस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । विज्ञहरूले त लामो समयसम्म एकै ठाउँमा बस्नेलाई ’नयाँ धूम्रपान’ भनेर सम्बाेधन गर्न थालेका छन्। विश्व स्वास्थ्य संगठनले शारीरिक निष्क्रियतालाई मानिसको मृत्यु हुने चौथो सबैभन्दा ठूलो कारण रहेको पहिचान गरिसकेको छ। उदाहरणको लागि सामान्यता नेपालीहरुले औषत ९ घण्टा बसेर मात्र बिताउँछन्। यो कार्यालयमा मात्र नभएर टीभी हेर्दा, गाडीमा वा अन्य कुनै पनि ठाउँमा हुन सक्छ। यसमा थप सात घण्टा सुत्ने समय जोड्नुहोस्। यसको मतलब नेपालीहरु औषतमा १६ घण्टा निष्क्रिय बस्छन्। हामी सबैलाई थाहा छ कि एक निष्क्रिय जीवनशैली हाम्रो लागि खराब हो ।  हामी यो कति खराब छ भन्ने मात्र पनि महसुस गर्दैनौं। थाेरै समय मात्र निष्क्रिय बसेर वास्तवमै हामीहरुले आयु लम्बाउन सक्छौं तर मानिसहरुलाई याे विश्वास गर्न गाह्रो हुन्छ र उनीहरु यसलाई त्यति वास्ता पनि गर्दैनन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई भन्छन्, जब मानिस केही नगरी बस्न थाल्छ तब उसको शरीरमा क्यालाेरी जम्मा भई उसलाई मुटुरोग लाग्ने सम्भावना बढेर जान्छ। हिँडडुल गर्दा मानिसहरुमा तनाव कम हुने र त्यो एक प्रकारको व्यायाम पनि हुने भएकोले उसलाई केही नगरी बस्ने व्यक्तिको दाँजोमा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ। यस्तै विभिन्न अध्ययनहरुले निष्क्रिय भएर बस्नाले शरीरमा क्यान्सर हुने सम्भावना १० प्रतिशतले बढाउने बताएको छ। राष्ट्रिय क्यान्सर संस्थानको जर्नलमा प्रकाशित एउटा अध्ययनमा आसीन व्यवहारले कोलन क्यान्सर हुने जोखिम २४ प्रतिशत, एन्डोमेट्रियल क्यान्सर हुने जोखिम ३२ प्रतिशत र फोक्सोको क्यान्सर हुने जोखिम २१% प्रतिशतले वृद्धि हुने देखाएको छ। कसले कति व्यायाम गर्ने ? विश्व स्वास्थ्य संगठनले १९ वर्षभन्दा माथिका व्यक्तिले हप्तामा कम्तिमा १५० मिनेट सामान्य व्यायाम गर्नुपर्ने बताएको छ। यसको मतलब १९ वर्षभन्दा माथिका व्यक्तिले हरेक दिन कम्तिमा पनि ३० मिनेट व्यायाम गर्नुपर्छ। यति समय व्यायामबाट  उपलब्ध हुने फाइदा हाँसिल गर्न पर्याप्त हुन्छ। यद्यपि तपाई नियमित व्यायम गर्नुहुन्छ तर धेरै समय निष्क्रिय बस्नुहुन्छ भने यसले तपाईलाई व्यायामले केही पनि फाइदा गर्दैन। तपाई बसिरहेको बेला तपाईको शरीरलाई के हुन्छ ? धेरै लामो समयसम्म बस्नाले तपाईको शरीरको पाचन शक्ति कम हुनुको साथै अर्कोतर्फ रगतमा ग्लुकोजको स्तर र रक्तचाप दुबै वृद्धि हुन्छ। नियमित सानो गतिविधि जस्तै केहीबेर घुम्ने उभिने कृयाकलापहरुले हाम्रो शरीरको स्फुर्ती बढाउँछ।  नियमित केही समयका यस्ता सानातिना गतिविधिहरु निकै नै प्रभावकारी हुने गरेको वैज्ञानिकहरु बताउँछन्। यस्ता गतिविधि बिना रगतमा चिनीको स्तर र रक्तचाप बढ्दै जान्छ, धमनीहरूमा क्षति पुर्याउँदै मधुमेह, हृदय रोग र स्ट्रोकको जोखिम बढाउँदछ। त्यसैले हरेक दिन सकृय रहिरहनु यस्ता घातक रोगबाट बच्नको लागि सबैभन्दा उत्तम उपाय हो। सन् १९५० को दशकमा ट्रान्सपोर्ट फर लन्डनले बस चालकहरू र कन्डक्टरहरूमा गरेका अध्ययनले धेरै समय बस्दाको खतराहरूको प्रमाण देखाएको थियो। यस अध्ययनले आफ्नो धेरै समय बसिरहने ड्राइभर र कण्डकटरहरुको दाँजोमा समयसमयमा उभिरहनेहरुमा मुटु रोग लाग्ने सम्भावना कम देखिएकाे  थियाे।

सबैको लघुवित्तको बाेनस र हकप्रद शेयर पारित

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शनिवार डुम्रे, तनहुँमा सम्पन्न भएको हो । सभाले आ.ब. २०७५।७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु. १६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश सेयर पारित गरेको छ । बोनसपश्चात संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ । सभाले बोनश सेयर जारी पश्चात्को पुँजीको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । साथै, उक्त सभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरुः श्याम प्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् । सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’, प्रतिव्यक्ति १ लाख २५ हजार

काठमाडौं । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरिएको छ । यो । सो पुरस्कार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराज मणि पोखरेलले गत शुक्रबार नास्टमा आयोजित पुरस्कार वितरण समारोहमा प्रदान गरेका छन् । अनुसन्धानकर्ताहरु प्रा. डा. परशुराम मिश्र, प्रा. डा. विद्या श्रेष्ठ, डा. श्याम प्रसाद डुम्रे तथा डा. प्रतिभा पाण्डेलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको छ । कार्यक्रम पश्चात पुरस्कृत विज्ञहरुसगंको भेटमा नविल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड््यालले विज्ञान तथा प्रविधि क्षेत्र अध्ययन र अनुसन्धान गरि यस क्षेत्रकाे विकासमा योगदान पुर्याएकाे भएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गरेकाेमा आभार प्रकट गरे । उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था १ लाख २५हजार रुपैया रहेको छ । नास्टको उक्त समारोहमा जम्मा २६ अनुसन्धानकर्ताहरुलाई विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतिहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार मानिन्छ ।

एनएमबी बैंकद्वारा ‘एनएमबी जीवन चक्र बचत खाता’ आरम्भ

काठमाडाै‌। एनएमबी बैंकले बजारमा ‘एनएमबी जीवन चक्र बचत खाता’ प्रस्तुत गरेको छ । यस खातामा नव सिर्जनशील योजनामा सात सह– योजनाहरु समावेस छन्, जसमा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी प्रस्तुत गरिएको छ । यो बैंकिङ्ग योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउँदछ । यस योजना अन्र्तगत हरेक उमेर समूहका लागि विशेष खालका सुविधाहरू उपलब्ध गरिएका छन् । जसले जीवनकालका विभिन्न समयको परिवर्र्तनसँगै विशेष समूहका ग्राहकलाई आकर्षित गराउँदछ । आकर्षक योजनाहरूका साथमा आवासीय घरहरूमा हुनसक्ने चोरीलाई समेट्ने बिमा सहितका अन्य लाभकारी फाइदाहरु यस योजनालाई जीवनको पूर्ण वित्तीय साझेदार बनाउने लक्ष्य राखेको छ । हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरसहितको सञ्जाल रहेको छ ।