विकासन्युज

भीम रावलको प्रश्नः कसैले नेपाल समाप्त पार्टी गठन गर्यो भने सरकारले सहमति गर्छ ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । उनले उक्त सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई बैद्यता त प्रदान गर्दैन् ? भन्दै प्रश्न समेत तेर्साए । सरकार र सिके राउतबीच ११ बुँदे सहमति भएको भोलिपल्ट आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । उनले भने,‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन् । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन् ।’ राजधानीमा आयोजीत एक कार्यक्रममा उनले भने, ‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थैं । तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन् । उहाँले यसअघि राष्ट्र विरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो, ती सबै गलत हुन र म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन ।’ उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यस्पद तर्क गरेको पनि आरोप लगाए । उनले भने,‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन गर्यो भने सरकारले सहमति गर्ने त ? यो तर्क नै गलत हो ।’ रावलले सिके राउतले स्वयम आफ्नो फेशबुक पेजमा जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेकोपनि सुनाए । उनले भने,‘उहाँले फेशबुकमा यस्तो कुरा लेख्नुभएको छ, स्वतन्त्र मधेशका सबै मुधाहरु फिर्ता लिनपनि सरकार सहमत भयो भनेर उहाँले लेख्नुभएको छ। यो निकै आपत्तिजनक हो । सरकारले यसको पनि जवाफ दिनुपर्छ ।’ हिजो भएको सहमति नेपालको संविधानविपरित र पार्टीको विधानविपरित भएको उनको टिप्पणी छ । आफू कम्युनिष्ट पार्टीको सच्चा कार्यकर्ता भएकोले पार्टीको विधानो प्रतिरक्षा गरेको पनि उनले स्पष्ट पारे । उनले भने,‘मधेश टुक्र्याउँछु भन्नेहरुसँग जनमतसंग्रह गर्न सहमत हुने हो ? यो कुरा संविधानले अनुमति दिन्छ त ? नेकपाको घोषणापत्रले अनुमति दिन्छ त ? म प्रश्न गर्न चाहन्छु।’ रावलले कसको स्वार्थमा यत्रो सहमति गरियो ? भन्दै सरकारलाई प्रश्न गरे । उनले भने,‘सरकारले यसको जवाफ दिनुपर्छ । सहमतिको बुँदा नम्बर ४ मा स्व–शासनको कुरा उल्लेख गरिएको छ, जुन कुरा हामीले संविधान बनाउँदासमेत मानेका थिएनौं । अहिले फेरि यो कुराले प्रवेश किन पायो ?’ राउतले हिजोको सहमति कार्यक्रममा बडो कलात्मक रुपमा आफ्नो सम्बोधन गरेको पनि सुनाए । उनले थपे,‘उहाँले कतैपनि राष्ट्र विखण्डनको कुरा फिर्ता लिनुभएको छैन् । अहिलेपनि उहाँले बोलेका विखण्डनका कुराहरु छ्याप्तछ्याप्ती पाईन्छन् । बरु, उहाँले विगतमा मैले बोलेका कुराहरु ठीक थियो भनेर पुष्टि गर्न खोज्नुभयो ।’

राष्ट्रिय गौरवका आयोजनाः चालू आवमा ८८ अर्ब बिनियोजन, ६ महिनामा २४.९४ % मात्रै खर्च

काठमाडौँ । जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोग र रुख बिरुवा कटानजस्ता समस्याका कारण राष्ट्रिय गौरवका आयोजनामा आशातीत प्रगति हुन नसकेको पाइएको छ । सरकारी निकायबीचमा नै समन्वय हुन नसक्दा सरकारले प्राथमिकतामा राखेका र गौरवका आयोजनाका रुपमा चित्रण गरेका महत्वपूर्ण आयोजना लामो समयसम्म पनि अगाडि बढ्न नसकेको हो । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा जग्गा प्राप्तिका कारण धेरैजसो ठूला र महत्वपूर्ण परियोजना समस्यामा फसेको उल्लेख गरिएको छ । यस्तै, निर्माण सामग्रीको अभाव, निर्माण व्यवसायीको फितलो अनुगमन र मूल्याङ्कन प्रक्रियाका कारण पनि महत्वपूर्ण आयोजनामा ठोस प्रगति हुन नसकेको समीक्षामा समेटिएको छ । धेरैजसो आयोजनामा प्राविधिक एवं दक्ष कर्मचारीको अभाव देखिएको छ भने भएका कर्मचारीलाई टिकाएर राख्ने चुनौती पनि उत्तिकै रहेको छ । कतिपय आयोजनाको निर्माण गर्ने ढाँचामा नै समस्या भएका कारण पनि जटिलता देखिएको छ । आयोजना शुरु गर्दा एक प्रकारको ढाँचा अवलम्बन गरिएको भए पनि पछिल्लो दिनमा आइपुग्दा थप स्पष्टता हुनुपर्नेमा त्यसो नभएको पाइएको हो । सरकारको आफ्नै समीक्षाअनुसार निर्माण व्यवसायीले समयमा काम नगर्दा कतिपय आयोजना सम्पन्न हुने समय सीमानै यकिन गर्न कठिनाइ भएको पाइएको छ । त्यस्तै, राष्ट्रिय गौरवका सडक आयोजनाको रेखाङ्कनमा बारम्बार परिवर्तन भइरहनु, स्थानीयवासीको केही स्थानमा अवरोध हुनु तथा आयोजना कार्यान्वयनका, लागि आवश्यक समन्वय गर्ने निकायले प्रभावकारी काम नगरेको समेत पाइएको छ । आयोजनामा आन्तरिक तथा बाह्य अन्य समस्याले पनि काम गरेको पाइएको छ । समस्या समाधानका लागि पहल भए पनि ठोस परिणाम प्राप्त नहुँदा त्यस्ता आयोजनाले राखेको लक्षित प्रतिफल प्राप्त हुनसमेत अप्ठ्यारो पर्ने देखिएको छ । चालू आवमा राष्ट्रिय गौरवका आयोजनाका लागि ८८ अर्ब ५५ करोड ५७ लाख विनियोजन गरिएकोमा छ महिनाको अवधिमा २२ अर्ब आठ करोड ७१ लाख मात्रै खर्च भएको छ । यो कूल विनियोजित बजेटको २४.९४ प्रतिशत मात्रै हो । आयोजनासँग सम्बन्धित क्रियाकलपाको नतिजा मापन गर्न स्पष्ट मानक र प्रतिफल सूचङ्कका आधारमा कार्यसम्पादन सम्झौता गरी सम्बन्धित आयोजना प्रमुखलाई जिम्मेवार बनाउनुपर्ने देखिएको सरकारकै अर्धवार्षिक समीक्षामा उल्लेख छ । आयोजना प्रमुखको कार्यसम्पादन उनीहरुकको कार्यसम्पादन मूल्याङ्कनसँग आबद्ध गर्नुपर्ने सुझाव पनि आएको छ । स्थानीय प्रशासनबाट मुआब्जा निर्धारण प्रयोजनाका लागि अधिक मूल्याङ्कन हुने गरेकामा आयोजनाका लागि हुने अधिग्रहण गर्ने जग्गाको मूल्य निर्धारण गर्दा मालपोत रजिष्टे«शनका लागि कामय गरिएको मूल्याङ्कनलाई समेत आधार लिनुपर्ने देखिएको छ । अन्तर सरकारी निकायबीचको समन्वयलाई सुदृढ गर्न सरकारको मुख्य सचिवको संयोजकत्वमा रहेको संस्थागत व्यवस्थालाई थप क्रियाशील बनाउनुपर्ने सुझावसमेत प्राप्त भएको छ । आयोजना कार्यान्वयनका लागि आयोजनासँग सम्बन्धित निकायको समन्वय बैठक हरेक महीना आयोजना गरी समस्या समाधानका लागिसमेत पहल हुनुपर्ने देखिएको अर्थ मन्त्रालयको समीक्षामा उल्लेख छ । चालू आवमा राष्ट्रिय गौरवका आयोजनाका लागि ८८ अर्ब ५५ करोड ५७ लाख विनियोजन गरिएकोमा छ महिनाको अवधिमा २२ अर्ब आठ करोड ७१ लाख मात्रै खर्च भएको छ । यो कूल विनियोजित बजेटको २४.९४ प्रतिशत मात्रै हो । राष्ट्रिय गौरवका सडक आयोजनाको रेखाङ्कनमा बारम्बार परिवर्तन भइरहनु, स्थानीयवासीको केही स्थानमा अवरोध हुनु तथा आयोजना कार्यान्वयनका, लागि आवश्यक समन्वय गर्ने निकायले प्रभावकारी काम नगरेको समेत पाइएको छ । आयोजनामा आन्तरिक तथा बाह्य अन्य समस्याले पनि काम गरेको पाइएको छ । समस्या समाधानका लागि पहल भए पनि ठोस परिणाम प्राप्त नहुँदा त्यस्ता आयोजनाले राखेको लक्षित प्रतिफल प्राप्त हुनसमेत अप्ठ्यारो पर्ने देखिएको छ । राष्ट्रिय गौरवका आयोजनामा पुष्पलाल लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, सिक्टा सिँचाइ आयोजना, रानीजमरा कुलरिया आयोजना, भेरी बबई डाइभर्सन आयोजना रहेका छन् । यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास आयोजना, लुम्बिनी क्षेत्र विकास कोष माथिल्लो तामाकोशी जलविद्युत् आयोजना छन् । त्यस्तै, काठमाडौँ तराई मधेश द्रुतमार्ग, उत्तर दक्षिण (कोशी) लोकमार्ग, कालीगण्डकी करिडोर, कर्णाली करिडोर, हुलाकी राजमार्ग, रेल, मेट्रो रेल तथा मोनोरेल आयोजना, बबई सिँचाइ आयोजना, गल्छी–त्रिशूली– मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी सडक आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, बूढीगण्डकी, पश्चिम सेती जलविद्युत् आयोजना रहेका छन् । रासस

प्रहरी अधिकृतलाई बञ्जीजम्प अनिवार्य, आधारभूत तालिममा सहभागी १२० जनाले गरे बञ्जीजम्प

चौतारा । रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालीममा पनि अनिवार्य गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९औँ समूहका प्रहरी निरीक्षक आधारभूत तालीममा सहभागी १४ जना महिलासहित १२० जनाले बञ्जीजम्प गरेका छन् । प्रहरीलाई विभिन्न समयमा उद्धार कार्य गर्नुपर्ने परिस्थितिमा आइपर्ने हुँदा बञ्जीजम्प अनिवार्य गरिएको प्रतिष्ठानका प्रहरी उपरीक्षक मधुसुदन लुईंटेलले बताए । यस प्रकारको तालिम गतवर्ष पनि सोही स्थानमा दिइएको थियो । पर्यटन सम्बन्धी वेभ नामक पत्रिकाका अनुसार विश्वको सबै भन्दा अग्लो बञ्जीजम्प दक्षिण अफ्रिकामा छ । त्यहाँको बञ्जीजम्पको उचाई २२० मिटर रहेको छ । भोटेकोशीको बञ्जीजम्प १६० मिटरको उचाइमा विश्वको दोस्रोमा पर्दछ । भोटेकोशी गाउँपालिका–५ मार्मिङ र वडा नं १ लिस्ती जोड्ने उक्त बञ्जी द लाष्ट रिसोर्ट प्रालिद्वारा नेपाली व्यवसायी विष्णुप्रसाद न्यौपाने र नेदरल्याण्ड नागरिक डेविडले विसं २०५६ देखि सञ्चालनमा ल्याएका थिए । हाल दैनिक एक हजार २०० सम्म बञ्जी गर्न आउने र त्यसमध्ये ८५ प्रतिशत स्वदेशी रहेको व्यवस्थापक कुमार राउतले जानकारी दिए ।

मनाङमा विदेशी पर्यटक र प्रदर्शकको हिउँपहिरोमा निधन

मनाङ । यही फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको हिउँपहिरोमा परी निधन भएको छ । अन्नपूर्ण पदमार्गमा आएका हल्याण्डका नागरिक डोलोमा डेसीलेन्ट र उनका पथप्रदर्शक अजय ढकालको मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्ने ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिमपहिरोमा परी मृत्यु भएको हो । थोरङपासका लागि माथिल्लो भेग गुम्छाङ हुँदै लेदरसम्म पुगेर फर्कने क्रममा ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिउँपहिरोमा परी निधन भएका दुबैको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सर्वेन्द्रकुमार विकले बताए । शव परीक्षणका लागि आजै हेलिकप्टरबाट शव काठमाडौंँमा लैजाने तयारी भएको प्रहरी निरीक्षक सर्वेन्द्रकुमार विकले जानकारी दिए । रासस

उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकार पक्राउ

पर्सा । नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । विसं २०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । केडिया अपहरणको मुख्य योजनाकार पाशवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनले सिमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य सूचनाको आधारमा गाउँपालिका–५ भिष्वामा कारवाही गर्दा पाशवन र महतो फेला परेको बताए । पक्राउ परेका पाशवान र महतोविरुद्ध बारा जिल्ला अदालतमा अपहरण, शरीर बन्धक, सङ्गठित अपराध, हातहतियार तथा खरखजाना मुद्दा रहेकाले आवश्यक कारवाहीका लागि दुबै अभियुक्तलाई बारा प्रहरीको जिम्मा लगाइने उपरीक्षक ढकालले सञ्चारकर्मीलाई जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका पाशवानले केडिया अपहरणको योजना बनाएको स्वीकार गर्दै प्रतिबन्धित लागुऔषध खरीद गर्न नेपाल आउने क्रममा पक्राउ परिएको बताए । अपहरणमा परेका केडियालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो । रासस

सार्वजनिक यातायातमा आफुखुशी भाडा वृद्धि, के हेर्दैछ यातायात व्यवस्था विभाग ?

काठमाडौँ । कम्पनीमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका केही यातायात समितिले आफूखुशी सार्वजनिक यातायातको भाडा बढाउन थालेका छन् । विभागले भाडा नबढाए पनि व्यवसायीले आफूखुशी बढाएको भनी बढी भाडा लिन थालेका हुन् । बाबा गोकर्णेश्वर र सुन्दरीमाई यातायात कम्पनीका नाममा दर्ता भएका व्यवसायीले यसरी भाडा बढी लिएको यात्रुको गुनासो छ । बाबा गोकर्णेश्वर सञ्चालन हुने रत्नपार्क–साँखु, रत्नपार्र्क–दक्षिणकाली मार्गमा अन्य यातायातले भन्दा बढी लिइरहेको यात्रु रामचन्द्र सिम्खडाले बताए । रत्नपार्कबाट थलीसम्म बज्रयोगिनीलगायत अन्य कम्पनीका सवारीले २५ भाडा लिने गरेकामा बाबा गोकर्णेश्वरले ३० लिन्छ । साँखुसम्मको भाडा पनि अन्य सवारीको भन्दा पाँच बढी लिने गरेको उनले बताए । यसैगरी सुन्दरीमाई यातायात समितिले भने फागुन ७ गतेदेखि भाडा बढाएको भन्दै आफूखुशी भाडा लिन थालेको छ । यसअघि रत्नपार्क–सुन्दरीजलको भाडा २४ तोकिएकामा फागुन ७ गते बढाएको भन्दै छ बढी अर्थात् ३० असुल्न थालिएको यात्रु सविना घिमिरेले बताइन् । विभागले असोज ७ गतेपछि भाडा बढाएको छैन । कम्पनीका कार्यालय प्रमुख उपेन्द्र न्यौपाने भने विभागले असोज ७ गते गरेको भाडा वृद्धिकै आधारमा फागुन ७ गते समायोजन गरिएको दाबी गरे । असोजदेखि फागुन ७ गतेसम्म सुन्दरीमाई यातायातले तोकिएको भाडा २४ भए पनि २५ लिएर यो मार्गमा सवारी चलाउँदै आएको थियो । विभागको वेबसाइटमा अहिले पनि असोज ७ गतेपछि भाडा नबढाइएको उल्लेख छ । यस वर्ष असोज ७ गते पनि बडादशैँको अग्रिम भाडा खोल्नुपूर्व व्यवसायीले दिएको दबाबका कारण भाडा वृद्धि भएको थियो । सुन्दरीमाई यातायात कम्पनीले बेलुकी ८ बजेपछि विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई ४५ प्रतिशत छुट पनि नदिएको यात्रु घिमिरेले बताए । सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीमा सवारीले टिकट दिएर यात्रा गराउनुपर्ने उल्लेख भए पनि यो व्यवस्था अझै कार्यान्वयन हुन सकेको छैन । उपभोक्ता मञ्चका उपाध्यक्ष रोशन पोखरेल ऐनमा भएको यातायात निरीक्षकको व्यवस्था विभागले नगर्दा यातायात क्षेत्रका धेरै समस्या समाधानमा भन्दा जटिल बन्दै गएको बताउँछन् । ऐन बनेको २६ वर्षसम्म पनि कार्यान्वयन नहुँदा यात्रु मर्कामा पर्ने गरेको उनले सुनाए । रासस

नेपाल-भारतका उच्च अधिकारीको बैठकः ‘पानीजहाज सञ्चालनबारे प्राविधिक अध्ययन शुरु गरिने’

काठमाडौँ । नेपाल र भारतले संयुक्तरुपमा विभिन्न चार जलमार्गमा पानीजहाज सञ्चालन गर्नेबारेमा संयुक्त अध्ययन शुरु गर्ने भएको छ । दुई देशका उच्च अधिकारीको बैठकले पानीजहाज सञ्चालनका लागि चार मार्ग सिफारिश गर्दै प्राविधिक अध्ययन गर्ने निर्णय गरेको छ । पानीजहाज हुने मार्गहरुमा साहेबगञ्ज–मरीहरी–पानीट्याङ्की र काँकडभिट्टा, हल्दिया– वाराणसी–सुनौली र भैरहवा, कालुघाट–वाल्मिकीनगर र गण्डक ब्यारेज र साहेबगञ्ज–भीमनगर कोशी ब्यारेज रहेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले नारायणी नदीको गण्डक बाँध हुँदै पानीजहाज ल्याउने गरी केही दिन पहिले पानीजहाज कार्यालयसमेत स्थापना गरिसकेको छ । बैठकमा दुई देशका संयुक्त प्राविधिक टोली बनाएर नारायणी नदीमा जल यातायात सञ्चालनसम्बन्धी प्राविधिक अध्ययन तत्काल शुरु गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतीय अधिकारीले गण्डक नदी हुँदै नेपालले पानीजहाजबाट सामान आयात निर्यात गर्न सक्ने बताउँदै आएको छ । बैठकमा नेपालको पक्षबाट जल तथा ऊर्जा आयोगका सहसचिव एवं टोली प्रमुख माधव बेल्वासेको नेतृत्वमा दश उच्च सरकारी अधिकारी सहभागी थियो । यस्तै, भारतीय सरकारको तर्फबाट अन्तरदेशीय जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वमा आठ जना सहभागी थिए । नेपाल र भारतका संयुक्त अध्ययन टोलीले नारायणी तथा कोशी नदीमा जल यातायातको सम्भावना तथा पूर्वाधार विकास सम्बन्धमा यही फागुन २० देखि २२ गतेसम्म संयुक्त स्थलगत अध्ययन गरेको थियो । बहुपक्षीय प्राविधिक सहायता परिचालन गरी जलमार्गको विस्तृत अध्ययन गर्ने सहमति भएको छ । संयुक्त प्राविधिक समितिमा नेपाल र भारतका तीन÷तीन सदस्य रहनेछन् । प्राविधिक समितिले नारायणी नदीमा जल यातायात सञ्चालनसम्बन्धी प्राविधिक अध्ययन तत्काल शुरु गर्ने सहमतिसमेत जनाएको छ । बैठकमा नेपाली पक्षले भारतले गङ्गा नदीमा विकास गरिरहेको जल यातायात मार्गमा नेपालमा दर्ता भएका पानीजहाज सञ्चालनको सम्भावनाका सम्बन्धमा चासो राखेको र भारतीय पक्षले सोसम्बन्धी कानूनी प्रावधान अध्ययन गरी जानकारी गराउने वचन दिएको छ । जल यातायात सञ्चालनका लागि प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्न कार्यक्रमसमेत सञ्चालन गर्ने विषयमा सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैत २३ देखि २५ गतेसम्म गर्नुभएको भारत भ्रमणको क्रममा जारी भएको संयुक्त वक्तव्यको बुँदा नं ९ मा नेपाल र भारतबीच जलमार्गले जोड्ने विषय समेटिएको थियो । सोही वक्तव्यको आधारमा यसअघि दुई पटक जलमार्गको विषयमा दुई देशका अधिकारीबीच छलफल भएको थियो । रासस

सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति, शुरु भयो उडान

काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले पुनः उडान शुरु गरेको छ । विमानस्थलको बक्यौता नबुझाएपछि झण्डै तीन महिना ग्राउण्डेड भएको उक्त एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शुल्कवापत ५० लाख भुक्तानी गरेपछि पुनः उडान अनुमति पाएको हो । सौर्यले काठमाडौँबाट पहिलो उडान भैरहवा भरेको थियो । विराटनगरलगायत अन्य गन्तब्यमा पनि उडान भरेको विमानस्थलले जनाएको छ । एयरलाइन्सले विमानस्थललाई गत मङ्गलबार पहिलो चरणको किस्तावापत रु ५० लाख तिरेको थियो । बाँकी रकम एक महिनाभित्र तिरिसक्ने कम्पनीका प्रवक्ता मुकेश खनालले जानकारी दिए । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थललाई जरिवानासहित चार करोड बक्यौता रकम तिर्नुपर्नेछ । दुई महीनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले बचन दिएको उनले उल्लेख गरे । नयाँ व्यवस्थापनका साथ उडान सुरु गरेको सौर्यले शनिबारदेखि नियमित तीन स्थानमा उडान सुरु गर्दैछ । यो कम्पनीसँग हाल दुई बम्बार्डिएर जहाज छन् । सौर्यले अबको ६ महिनाभित्र तीन एटिआर जहाज भित्र्याउने तयारी गरेको बजार व्यवस्थापक प्रमुख खनालले जानकारी दिए । हाल विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान भर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान भर्ने जनाएको छ ।