विकासन्युज

सामाजिक सञ्जालमार्फत १७ बैंकबाट पौने १५ करोड ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याक गरी करोडौं रकम लुट्ने लुटेराहरूमध्ये तीन जनालाई प्रहरीले आज बुधबार सार्वजनिक गरेको छ । कृषि विकास बैंकको सिस्टम ह्याक गरी विदेशी ह्याकरहरूले करोडौं रकम लुटेका थिए । गत असाेजमा उनीहरुले ४१ जनाभन्दा बढी नेपालीहरुलाई एजेन्ट बनाएर कृषि विकास बैंक र पानस रेमिटबाट सिस्टम ह्याक १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ लुटेका हुन् । पक्राउ पर्नेमा दोलखा फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र संदीप कलवार रहेका छन् । उनीहरूले १७ वटा बैंकमा कारोबार गरेको देखिएको छ । उनीहरूले गत असोजमा कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम झिक्नेहरु पक्राउ पर्ने समूहकै रहेको भेटिएपछि प्रहरीले उनीहरुमाथि अनुसन्धान अगाडि बढाएको हो । लुटेराहरूले नविल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, प्रभु, सिद्धार्थ बैंक अफ काठमाण्डू, सनराइज, सिटिजन्स, माछापुच्छ्रे, एसबिआई, एनबी, ग्लोबल, एनआईसी एशिया, लक्ष्मी र एनएमबी बैंकबाट कारोबार गरेका थिए । ह्याक र ठगी गरिएको रकम नेपालका एजेण्टहरू प्रयोग गरी १५ देखि २० प्रतिशत कमिशन दिएर विभिन्न माध्यमबाट भारत पठाउने गरेको पाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार नेपाली एजेण्टहरूलाई उक्त कार्य गर्नको लागि विभिन्न बैंकमा खाता खोल्न लगाएको र एउटै एजेण्टबाट ६ वटा भन्दा बढी बैंक खाताबाट कारोवार भएको देखिएको छ । प्रहरी यस अघि १० जना यस्ता कारोबारीलाई मुद्दा हालेको थियो । अहिले तीन जना थपिएका १३ जना पुगेका छन् । अनुसन्धानको क्रममा प्रहरीले विभिन्न २९ जनालाई शंकाको दायरामा राखेको थियो ।

मजदूरकाे आत्महत्यापछि मारुती सिमेन्ट उद्योग बन्द, आन्दोलन जारी

लहान । उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन् । अखिल नेपाल कारखाना मजदूर सङ्घका सदस्यसमेत रहेकी पासवानले उद्योग नजिकै आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले कामकाज बहिष्कार गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए । घटनाको २४ घण्टा बित्न लाग्दासमेत उद्योग व्यवस्थापनले समस्या समाधानमा चासो नदेखाएको भन्दै आन्दोलनरत मजदूरले आज बिहानैदेखि उद्योग बन्द गराएका हुन् । मजदूरहरूले सिमेन्ट उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेकाले कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका छन् । आज दिउँसो दुवै पक्ष बसेर वार्तामार्फत समस्या समाधान गर्न उद्योग व्यवस्थापन पक्ष तयार भएपछि मृतकको शव परीक्षणका लागि अनुमति दिइएको अखिल नेपाल मजदूर सङ्गठन प्रदेश नं २ का सचिव केदार देवले जानकारी दिए । “मारुति सिमेन्ट व्यवस्थापन पक्ष समस्या समाधानका लागि लचिलो बनेकाले शव परीक्षणका लागि अस्पताल लैजान दिएका छौँ”, सचिव देवले भने, “तर माग पूरा नभएसम्म न त उद्योग सञ्चालन गर्न दिन्छौँ, न त आन्दोलन नै रोकिन्छ ।” मजदूरको आन्दोलनका कारण अवरुद्ध राजमार्ग प्रहरीले खुलाए पनि मजदूरले मृतक पासवानको शव उद्योग परिसरमै राखेर प्रदर्शन गर्न थालेपछि उद्योग क्षेत्र तनावग्रस्त बनेको थियो । रासस

नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु, साढे ३ वर्षमा सक्न विभागको निर्देशन

काठमाडौं । काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो । सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरिएको सडक विभाग, विकास समन्वय कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताएका छन् । उनका अनुसार कम्पनीले झण्डै २० प्राविधिक जनशक्ति जापानबाट ल्याइसकेको छ भने थप ल्याउने क्रममा छ । सो आयोजनामा नेपाली र विदेशी दुवै जनशक्ति प्रयोग गर्ने कम्पनीको योजना रहेको उनले बताए । उनले भने, “दक्ष जनशक्ति नेपाली र जापानी दुवै हुनेछन् ।” प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेसँगै यसको निर्माण शुरु भएको हो । कम्पनीले गरिरहेको तयारीका कामसमेत गरी ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने विभागले जनाएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा सुरुङमार्गको निर्माण अघि बढेको छ । सो परियोजनाअन्तर्गत नै दुई सुरुङ र दुई ‘फ्लाई ओभर’ निर्माण हुँदैछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर सुरुङको निर्माण हुनेछ । दुई ‘फ्लाई ओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । रासस

डिभिजन सडक कार्यालयका सिडिई श्रेष्ठ र महर्जन २० लाख घुस रकमसहित नियन्त्रणमा

काठमाडौं । डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सिडिई) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनलाई २० लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । । उनीहरुले सेवाग्राहीबाट सडक निर्माण भइरहेको कामको भुक्तानीको लागि रनिङ बिल पेश गरेका थिए । कामको मूल्याङ्कन गर्दा निर्माण सम्पन्न भएको कामको विवरण कम गरी घटाई बाँकी रनिङ बिलको भुक्तानीको लागि घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजहरुलाई रोयल अलिना बेकरी क्याफेबाट उक्त रकमसहित पक्राउ गरेको हो । मंगलबार नियन्त्रणमा लिएका ती दुईको थप अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइराला बताएका छन् ।

१६० करोडको लागतमा अपर नौगडगाड आयोजना सम्पन्न, एसबिआई बैंकको अगुवाइमा ऋण मात्रै १२० करोड

काठमाडौं । अपी पावर कम्पनीले कूल १६० करोडको लागतमा ८ मेगावाट(मे.वा)को माथिल्लो नौगडगाड आयोजनाको निर्माण सम्पन्न गरेको छ । कम्पनीले २०७६ कार्तिक १३ गतेदेखि आयोजनको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको छ । योसँगै दार्चुला जिल्लामा कम्पनीले दोश्रो आयोजना सम्पन्न गरेको छ । यो आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा उर्जा उत्पादन गर्नेछ । यो विद्युत विक्रीबाट कम्पनीले पहिलो वर्ष रु. २७.४८ करोड आय आर्जन गर्नेछ । यो आयमा वार्षिक ३ प्रतिशतका दरले वृद्धि हुनेछ । अत्तरिया बलाच १३२ केभि ट्रान्समिशन लाईनमा जडान भई विद्युत प्रवाह भएको हुँदा यो आयोजनाको विद्युत सहज ढंगले प्रवाह गर्न सकिएको छ । कम्पनीले बैंकको ऋण तथा संचालन खर्च कटाई बचेको रकमबाट शेयरधनीहरुलाई लाभांश उपलव्ध हुनेछ र यो लाभांशको दरमा प्रतिवर्ष वृद्धि हुँदै जानेछ । यो आयोजना निर्माणको लागी नेपाल एसबिआई बैंकको अगुवाइमा प्रभु बैंक लिमिटेड, कैलाश विकास बैंक तथा युनाईटेड फाईनान्स कम्पनीले सहवित्तियकरण अन्तर्गत १२० करोड रुपैयाँ कर्जा उपलब्ध भएको छ । यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको छ । यस आयोजनामा एण्डड्रिटज हाइड्रोद्वारा उत्पादन गरिएको दुई सेट टर्बाइन तथा जेनरेटर लगाएतका उपकरणहरु जडान गरिएको छ । यस अघि २०७२ साल भदौमा कम्पनीले नौगड गाड आयोजना ८.५ मे.वा. साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । यो आयोजना विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दै आएको छ । कम्पनीले आफना शेयरधनीहरुलाई नियमितरुपमा लाभांश वितरण गरिरहेको छ । अब कम्पनीले सोही क्षेत्रमा नयाँ आयाजनाको रुपमा ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गर्ने भएको छ । यसका लागी चाहिने सबै स्वीकृतिहरु प्राप्त भएका छन् । चमेलिया जलविद्युत आयोजना सुदुर पश्चिमाञ्चल प्रदेशको दुर्गम जिल्ला दार्चुलामा अवस्थित आयोजना हो । यो आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरि संचालन गरेको अत्तरिया-बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान गरिने हुँदा यो आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति प्रसारणको लागी सजिलो भएको छ । यो आयोजनाबाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिउँदका ६ महिनाहरुमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ ।यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ । अपी हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३.२डायमिटरको पेनस्टक पाइपको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिनेछ। (आयोजनाकोबाँध निर्माण स्थल) यो अपर चमेलिया जलविद्युत आयोजना निर्माणको लागी जम्मा ७४० करोड रूपैयाँ लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने २२२ करोड रूपैयाँ शेयरधनीको लगानीबाट र बाँकी ५१८ करोड रूपैयाँ बैंक तथा वित्तियसंस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गरिनेछ । यो आयोजनाको निर्माण कार्य २०७७ बैशाख महिना देखि शुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । सुदुरपश्चिमाञ्चल प्रदेशको आर्थिक विकासको मेरुदण्ड भनेको यहाँ रहेको अपार जलश्रोत हो । यहाँ उत्पादन हुने विद्युतशक्ति सहज ढंगले भारतिय बजारमा समेत पठाउन सकिने आधारशिलाहरु उपलब्ध छन् । अहिले हामी भारतबाट विद्युत खरिद गरी देशको माग परिपूर्ति गरिरहेका छौं । यसमा परिवर्तन ल्याउन सकिने संभावना रहेको छ । यो आयोजना यस मार्गमा महत्वपूर्ण कोसे ढूँगा सावित हुनेछ । साथै लगानी मैत्री सुदूर पश्चिमाञ्चलमा रहेको अपार जलश्रोतको उपायोग गरि देशलाई उर्जामा आत्मनिर्भर गर्न सकिनेछ । यो आयोजनाको निर्माण पश्चात सुदूर पश्चिमको मुहार फेरिने कुरामा दुई मत छैन । नेपालमा उर्जाको विकासको इतिहास लामो छ । वि.स. १९६८ जेष्ठ ९ मा फर्पिङ जलविद्युत आयोजना नेपालको पहिलो जलविद्युत आयोजना हो यसअघि डिजेलबाट विद्युत उतपादन गरी मागको आपूर्ति हुने गरेको थियो । जलविद्युत आयोजनाहरु निर्माणको लागी ठूलो लगानीको आवश्यकता पर्दछ । एक मेगावाटको जलविद्युत आयोजना नीजि लगानीबाट निर्माण गर्दा करिब २० करोड रूपैयाँ प्रतिमेगावाट लाग्ने अनुमान गरिन्छ । यसको ७० प्रतिशत बैंकबाट ऋण तथा ३० प्रतिशत शेयरधनीहरुको लगानी हुने चलन छ । बैंकबाट प्राप्त कर्जाको औसत ब्याजदर १२ देखि १४ प्रतिशत पुगेको छ र आयोजनाले तिर्नुपर्ने कर्जाको ब्याजको भार बढेको छ । तर विद्युत विक्री बाट प्राप्त हुने आय निश्चीत हुने हुँदा परियोजनाको मुनाफामा प्रतिकुल असर परिरहेको छ । यसको परिणमा स्वरुप कयौं आयोजनाहरुले आफ्ना लगानीकर्ताहरुलाई वर्षौ सम्म पनि लाभ दिन सकेका छैनन् । यस्तो अवस्थामा बनिसकेका आयोजनाहरुले नेपाल राष्ट्र बैंकबाट पुर्नकर्जाको सुविधा पाउन सक्ने व्यवस्था छ । यो व्यवस्था सहवित्तियकरण अन्तर्गत कर्जा लिई संचालन गरिएका आयोजनाले प्राप्त गर्ने सकेमा व्याज दरमा सहुलियत प्राप्त हुने थियो । यसको विकल्पको रुपमा नेपाल सरकारको स्वामित्वमा स्थापना भएको जलविद्युत लगानी तथा विकास कम्पनीले नीजि लगानीबाट बनिसकेका जलविद्युत आयोजनाहरुलाई पुर्नकर्जा उपलब्ध गराई दिएमा आयोजनाहरुले सरल व्याजदरमा कर्जा प्राप्त गर्नेछन् । यस्तो कर्जाको भुक्तानी अवधि लामो बनाई दिन समेत अनुरोध गर्दछौ । जलविद्युत आयोजनालाई सरकारले मूल्य अभिवृद्धि कर छुटको व्यवस्था लागू गरि दिन पनि हामि आग्रह गर्दछौं । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा समेत नीजि क्षेत्रबाट विकास गरिएको आयोजना भनी छनौट भएको छ । सरकारले लगानी मैत्री वातावरण बनाउन सकेमा आगामी दिनहरुमा कम्पनीले लगानी योग्य आयोजनाहरु बनाउँदै जाने छ । यसै आर्थिक वर्षमा कम्पनीले विकास गरेका विभिन्न सोलार परियोजनाको समेत निर्माण कार्य अगाडी बढाईनेछ । जलविद्युतको साथसाथै कृषि तथा पर्यटनलाई पनि एकिकृतरुपमा विकास गर्ने कम्पनीको लक्ष्य रहेको छ । कम्पनीले निर्माण गर्न लागेको चमेलिया जलविद्युत आयोजनाको शेयर सर्वसाधारण लगानीकर्ताको लागी आव्हान समेत गरेको छ । कम्पनीले आफना शेयरधनीहरुलाई उच्च दरले मुनाफा दिने बताएको छ ।

बेलायतमा रहेका नेपाली र ब्रिटिश गोरखाका समस्यालाई समाधान गर्न गृहमन्त्री थापाको आग्रह

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका समस्याको समाधान गर्न नेपालका लागि संयुक्त अधिराज्य(बेलायत)का नवनियुक्त राजदुत निकोला पोल्लिटलाई आग्रह गरेका छन् । बुधबार नवनियुक्त राजदुत पोल्लिटसँगकाे भेटमा उनले उक्त समस्याको समाधान गर्न आग्रह गरेका हुन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल-बेलायतबीचको ऐतिहाँसिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुतको रुपमा नियुक्त भएकोमा राजदुत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् । गृहमन्त्री थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । उनले गृहमन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माण लगातमा क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै अगामी दिनमा समेत ति क्षेत्रमा थप सहयोगको अपेक्षा मन्त्रालयले गरेको बताएका छन् । राजदुत निकोलाले नेपाल र बेलायतबीच एैतिहाँसिक सम्बन्ध रहेको चर्चा गर्दै इतिहाँसदेखि नै नेपालले बेलायतलाई गर्दै आएको सहयोगका लागि आफुहरु कृतज्ञ रहेको बताए । बेलायतमा बस्ने नपालीहरुको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे आफुहरु गम्भिर रहेको बताउँदै अहिले धेरै समस्याहरु समाधान भईसकेको उनको भनाई छ । साथै, निकोलाले बेलातयले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गरिने आश्वासन दिएका छन् ।

चिया कारखानाद्वारा साढे ८ करोडको चिया बिक्री

बनियानी । सरकारी अनुदानमा सञ्चालनमा आएको झापाको भद्रपुर–२ पृथ्वीनगरस्थित चिया कारखानाले तीन वर्षको अवधिमा रू ८ करोड ५२ लाख बराबरको चिया उत्पादन गरेको छ । सरकारको ५० प्रतिशत र साना चिया किसानको ५० प्रतिशत लगानीमा स्थापना भएको साना किसान चिया प्रशोधन कारखानाले गत असार मसान्तसम्ममा छ लाख ७९ हजार ९४५ केजी तयारी चिया बिक्री गरी रु आठ करोड ५२ लाख ८० हजार ३१३ आम्दानी गरेको हो । साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापनमा सञ्चालित कारखानाले आव ०७५/०७६ मा मात्र चार लाख ३६ हजार ३९० केजी तयारी चिया उत्पादन गरेको संस्थाका प्रबन्धक देवीप्रसाद कोइरालाले जानकारी दिएका छन् । किसान आफैँले लगानी गरेर स्थापना गरेको यो चिया प्रशोधन कारखाना झापाको पहिलो हो । निजी क्षेत्रका उद्योगले किसानले उत्पादन गरेको हरियो चियापत्तीको उचित मूल्य नदिएपछि साना चिया किसानहरुले आफैं उद्योग स्थापना गरेका हुन् । कारखाना स्थापना भएपछि यहाँका किसानले राम्रो मूल्यमा हरियो चिया पत्ति बिक्री गरिरहेको संस्थाका अध्यक्ष सूर्यमान लिवाङले बताए । “निजी कारखानाले आफू अनुकूल मूल्य दिँदा किसान मर्कामा परेका थिए”, उनले भने, “किसानको प्रयासमा सरकारले सहयोग गरेपछि चिया किसानले राहत पाएका छन्, चिया खेतीमा आकर्षण पनि बढ्दै गएको छ ।” विसं २०७१ मा रू ६ करोडको लगानीमा उक्त कारखाना स्थापना भएको हो । रासस

नारायणगढ–मुग्लिन सडकः शुक्रबारदेखि दुई हप्तासम्म दिउँसो बन्द हुने

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन् । यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ । एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । रासस