लोक सेवा आयोगको खुल्ला तथा समावेशीतर्फ ७६८ जनाकाे माग
काठमाडौं । लोक सेवा आयोग अन्तर्गत अप्राविधिक, शाखा अधिकृत वा सो सरह पदको खुल्ला तथा समावेशी लिखित परीक्षातर्फ ७६८ जनाको माग खुल्ला गरेको छ । निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा आ.प्र. खुल्ला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षा हुने आयोगले जनाएको छ । तोकिएको पदमा आगामी चैत १७ गतेदेखि २६ गतेसम्म परीक्षा हुने विषयमा लोक सेवा आयोगले सूचना निकालेको छ । राजपत्राङ्कित तृतिय श्रेणी न्याय सेवा अप्राविधिक तर्फ २५५ जनाको माग रहेको छ । त्यसमा सबै भन्दा बढी खुल्ला तर्फ १३६ जना, महिला ३७ , आदीवासी/जनजाति तर्फ ३० जना, मधेसी तर्फ ३० जना, दलित ११, अपाङ्ग ६ र पिछडिएको क्षेत्रबाट ५ जानको माग रहेको छ । त्यस्तै राजपत्राङ्कित तृतीय श्रेणी (परराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद) संयुक्त र एकीकृत तर्फ सबैभन्दा बढी ५१३ पद संख्या माग रहेको छ । जसमा सबै भन्दा बढी खुल्लातर्फ २८३ महिला तर्फ ७७ जना, आदीवासीमा ६१, मधेसी ५१ जनाको माग रहेको छ । दलित २०, अपाङ्ग ११, पिछडिएको क्षेत्रबाट १० जनाको माग रहेको छ । त्यस्तै न्याय सेवाको खुल्ला तथा समावेशी तर्फ प्रथम, द्धितिय पत्रको लिखित परीक्षा चैतको १७, १८, १९ गते हुने भएको छ । व्यवस्थापिका संसद सेवा परीक्षा चैत २०, २१ गते र संयुक्त र एकीकृत खुल्ला तथा समावेशी तर्फको प्रथम, द्धितिय, तृतीय, चतुर्थ पत्रको परीक्षा २२ गतेदेखि २६ गतेसम्म हुने जानकारी लोक सेवा आयोगले गराएको छ । दरखास्त दिने अन्तिम मिति पुस १५ सम्म रहेकाे छ भने दाेब्बर दस्तुर तिरी पुस २२ गतेसम्म psconline.psc.gov.np मार्फत दरखास्त आवेदन दिनु पर्ने आयोगले जनाएकाे छ ।
पोखरा प्रिमियर लिगको ईन्टरनेट पार्टनरमा सुबिसु
काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सहभागीता जनाएको छ । उक्त सम्झौतापत्रमा सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद र क्वीन इभेन्ट नेपालका प्रबन्ध निर्देशक छुम्बि लामा एवम्ं नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काको उपस्थितिमा सहकार्यका लागि हस्ताक्षर गरेका हुन् । नेपाली खेलकुदको विकास तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यस वर्ष पनि सुबिसुले यस खेलका लागि सहकार्य गरेको हो । प्रत्येक खेलमा उत्कृष्ट क्याचर “क्लियर टिभी क्लियर क्याच” तथा “फास्टेस्ट फिफटी” लाई उपहार स्वरुप सुबिसु इन्टरनेट र क्लियर टिभी सेवा १ वर्षका लागि निःशुल्क प्रदान गरिने छ । सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट ,एम.भि.पि,डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।
हिमालय एयरलाइन्सले हप्तामा दुई पटक क्वालालम्पुर उडान भर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियास्थित क्वालालम्पुर उडान यही मंसिर २३ गतेदेखि सुरु गरेको छ । एयरलाइन्स क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान सन् २०१७ को फेब्रअरी १० बाट सुरु गरेको थियो । वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागि स्वीकृति रोकिएपछि सन् २०१८ को नोभेम्बरबाट एयरलाइन्सको मलेसियाको उडान स्थगित भएको थियो । भ्रमण वर्ष २०२० को संघारमा एयरलाइन्सले क्वालालम्पुरको उडान पुर्नसंचालन गर्दै मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षित गर्न र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुहरुलाई व्यावसायिक अवसर प्रदान गर्ने र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठ बताएका छन् । हिमालय एयरलाइन्सकाु पुनःआरम्भ उडान H9 ८९० कुल १५० यात्रुसहित नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०१९ डिसेम्बर ९ मा स्थानीय समय २१ः३५ मा क्वालालम्पुरको लागि उडेको थियो र क्वालालम्पुर स्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ डिसेम्बर १० मा स्थानीय समय ४ः१८ मा अवतरण गरेको थियो । हिमालय एयरलाइन्सकाे आवागमन उडान H9 ८९१ कुल ८२ यात्रुसहित क्वालालम्पुर विमानस्थलबाट सोही दिन स्थानीय समय ५ः२१ मा उडेको थियो र नेपालको त्रिभुवन विमानस्थलमा स्थानीय समय ७ः४६ मा अवतरण गरेको थियो । साप्ताहिक दुई दिने उडान तालिका उपयुक्त समयमा रहेको छ । साथै, दुवै रुटमा बिजनेश क्लासका लागि ४० किलो र इकोनोमी क्लासका लागि ३० किलोको ब्यागेजको सुविधा निःशुल्क उपलब्ध गराइएको छ । समय तालिका अनुरुपकै समयमै उडान भर्न निश्चित गर्ने उद्देश्य सहित निम्न बमोजिमको उडान तालिका सार्वजनिक गरिएको छ । उडान नं. बहिर्गमन विमानस्थल बहिर्गमन समय आवागमन विमानस्थल आवागमन समय दिन H9 ८९० काठमाडौं २१ः२० घण्टा क्वालालम्पुर ४ः३०ंं१घण्टा सोम,विही H9 ८९१ क्वालालम्पुर ५ः३० घण्टा काठमाडौं ७ः५५ घण्टा मंगल, शुक्र उल्लेखित सबै समय स्थानीय समय हुन् ।
पौने ५ अर्ब कर्जा अपचलन गर्ने निलम्बित डेपुटी गभर्नर शिवराजलाई सरकारले बर्खास्त गर्न सक्ने
काठमाडौं । दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाभांश लैजानदिनेदेखि कर्जा घोटाला काण्डसम्म जोडिएका नेपाल राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले १५ दिनभित्र बर्खास्त गर्न सक्ने गरी छानबिन प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन आज बुधबार अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउने तयारी भएको छ । कर्जा घाटोलामा बैंकलाई बचाउन सहयोग गर्नेदेखि ग्रान्ड बैंक (मर्जर भएर हाल प्रभु बैंक) को कर्जामा भएको घोटाला लुकाउन, तत्कालिन एपेक्स डेभलपमेन्ट (एनसीसीमा मर्जर) बैंक कर्जा घोटालाका दोषी बचाउन सहयोग गरेको ठहर समितिले गरेको छ । १० करोड चुक्ता पुँजी भएको एनसेललाई १ अर्ब ९१ करोडभन्दा बढी लाभांश लैजान दिएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तान लिएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै डेपुटी गभर्नर श्रेष्ठले नेपाल बंगलादेश बैंकको कर्जा प्रकरण लुकाउनसमेत सघाएको समितिको ठहर छ । यसका साथै कैलाश विकास बैंकको केशमा पनि डेपुटी मुछिएका छन् । यी दुबै केशको अध्ययन तथा छानबिन गर्न समितिले राष्ट्र बैंक सुपरिवेक्षण विभागलाई जिम्मा दिएको छ । निलम्बन परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ग्रान्ड बैंकको २ अर्ब ६० करोड कर्जा अपचलनको घटना लुकाएको घट्ना बाहिर आएको छ । उनले एपेक्स बैंकको २ अर्ब ३ करोड कर्जा घोटालाका दोषीलाई कारबाही गर्नुनपर्ने सिफारिस गरेको थिए । यी सबै घाटोलालाई एकीकृत गर्दा श्रेष्ठले करिब पौने ५ अर्ब कर्जा अपचलन गरेको देखिएको छ । राष्ट्र बैंक सञ्चालक समितिले गत कार्तिक १९ गते डेपुटी गभर्नर श्रेष्ठको नाममा छानबिन समिति गठन गरेको थियो । समितिले मंगलबार साझ राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबि नेपाललाई उक्त प्रतिवेदन बुझाएको हो । आज बुधबार अर्थ मन्त्री डा. युवराज खतिवडालाई उक्त प्रतिवेदन बुझाउने कार्यक्रमतय भएको छ । अर्थ मन्त्रालय हुँदै उक्त प्रतिवेदन मन्त्री परिषदमा पेश गरिने छ । सरकारले प्रतिवेदन अध्ययन गरेपछि दोषी ठहर भएका तत्काल बर्खास्त गर्न सक्ने छ । राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिका सदस्यहरूमा रामजी रेग्मी र सुबोधकुमार कर्ण ले १ महिनाको कार्यपदिन लगाएर उक्त प्रतिवेदन तयार पारेको हो ।
नेपालमा साढे चार करोड पर्ने ‘ल्याण्ड क्रुजर’ १ करोड यूनिट बिक्री, खास के छ यसमा ?
काठमाडौं । जापनिज अटोमोवाइल म्यानुफेक्चर कम्पनी टोयोटाको लङ्गेस्ट रनिङ्ग मोडेलको रुपमा रहेको छ ‘ल्याण्ड क्रुजर’ । सन् १९५१ बाट उत्पादन सुरु भएको सो मोडेलको आजका वर्षसम्म आइपुग्दा कुल एक करोड युनिट बिक्री भइसकेको छ । फोर–व्हिल ड्राइभमा आधारित ल्याण्ड क्रुजरको नेपालमा भने ‘भिएक्सआर’ भेरियन्ट उपलब्ध रहेको छ । टोयोटाको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले यस फुल–साइज एसयुभिको मूल्य चार करोड ५२ लाख रुपैयाँ तोकेको छ । यस एसयुभिका फिचरहरुको रुपमा ४.२ इञ्च टीएफटी सहितको थ्रीडी फेस डायल्स, लेदर र्याप्ड स्टेयरिङ्ग, वायरलेस फोन चार्जर, ४ जोन एयर कण्डिसनिङ्ग, फ्रन्ट र रियर एलईडी फग ल्याम्प, स्टेयरिङ्ग एडजस्टमेन्ट, स्टेयरिङ्ग माउण्टेड अडियो, प्याडल सिफ्ट, अटोमेटिक हेडलाइट, कर्नरिङ्ग लाइट्स, रेन सेन्सिङ्ग वाइपर्स जस्ता विशेषताहरु रहेका छन् । त्यसैगरी, ल्याण्ड क्रुजरको सेफ्टी फिचरको रुपमा १० ओटा एसआरएस एयरब्यागहरु, ईबीडी सहितको मल्टि टेरेन एबीएस, हिल स्टार्ट, डाउनहिल एसिस्ट कन्ट्रोल, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टी लक, क्रुज कन्ट्रोल, रियर पार्किङ्ग सेन्सर, रियर क्यामेरा लगायत समावेस छन् । यस एसयुभीमा ४४६१ सीसी ८ सिलिण्डर डिजेल इञ्जिन समावेस छ जसले २६१ बीएचपीको पावर र ६५० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यसमा ६–स्पिड अटोमेटिक गियरबक्स दिइएको छ भने यसले ११ केएमपीएलको माइलेज प्रदान गर्दछ । ल्याण्ड क्रुजरले ० देखि १०० को स्पिड ९.२ सेकेन्डमै तय गर्न सक्छ भने यसले २०० केएमपीएचको टप स्पिड पनि दिन्छ भनेर कम्पनीले दावी गरेको छ । ७ सिटर यस एसयुभिको लम्वाई ४९५० मिलिमिटर, चौडाई १९८० मिलिमिटर र उचाई १९१० मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ २२५ मिलिमिटर रहेको छ । त्यसैगरी २५८ लिटरको बुट स्पेस रहेको यस एसयुभिको फ्युल ट्याङ्क क्यापासिटी ९३ लिटरको रहेको छ । ल्याण्ड क्रुजरको चारओटै चक्काहरुमा भेन्टिलेटेड डिस्क ब्रेक दिइएको छ । युनाइटेड ट्रेडिङ्ग सिण्डिकेटले जनाए अनुसार हाल यस कारको खरिदमा पाँच लाख रुपैयाँ नगद छुटको व्यवस्था गरिएको छ ।
अपी पावरले ७ अर्ब ४० करोडकाे लगानीमा माथिल्लो चमेलिया आयोजना बनाउने
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने भएकाे छ । मंगलबार एक कार्यक्रमकाे आयोजना गर्दै कम्पनीले उक्त जलविद्युत आयोजना निर्माण गर्ने बताएकाे हाे । सुदूरपश्चिमकाे दार्चुलामा पर्ने साे आयोजना निर्माण गर्नका लागि ७ अर्ब ४० कराेड लगानी आवश्यक रहेकाे कम्पनीले जनाएकाे छ । आयोजना आउँदो बैशाखदेखि सुरु गरी २०७९ मा सम्पन्न गर्ने कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । साे आयोजनामा २ अर्ब २२ करोड रुपैयाँ सेयर लगानी र बाँकी ५ अर्ब १८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुने छ । आयोजनाबाट २६ करोड ४१ लाख युनिट बिजुली उत्पादन हुने न्याैपानेले बताए । आयोजनाबाट हिउँदमा ३० र वर्षादमा ७० प्रतिशत ऊर्जा उत्पादन हुने उनकाे भनाइ छ । माथिल्लाे चमेलिया निर्माण गर्नका लागि कम्पनीले विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र लिइसकेकाे जनाएकाे छ । अपीले चमेलियाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणसंग खरिदबिक्री सम्झौता पनि गरिसकेको छ । कम्पनीले ८.५ मेगावाटको माथिल्लो नौगाड र ८ मेगावाटको नौगाड आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ । माथिल्लाे नाैगाडकाे गत कार्तिकमा सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जाेडेकाे थियाे भने नाैगाडले विगत दुई वर्षदेखि विद्युत उत्पादन गर्दै आएकाे छ ।
चार वटा विकास बैंक एक्वाएर गर्दै सिटिजन्स बैंक, यसै वर्षकाे लक्ष्य १३० अर्ब रूपैयाँ
काठमाडौं । कुनै बेला सिटिजन्स बैंक इन्टरनेशनल , ग्लोवल आईएमई बैंक, प्राइम कमर्शिलयल बैंक, सनराईज बैंक, बैंक अफ एशिया र कमर्ज एण्ड ट्रन्ट बैंकलाई एउटै पुस्ताका बैंक भनेर भनिन्थ्यो । कमर्ज एण्ड ट्रष्ट बैंक ग्लोवल आईएमई बैंकमा मर्ज भयो । बैंक अफ एशिया एनआईसी बैंकमा मर्ज भई एनआईसी एशिया बन्यो । सिटिजन्स, ग्लोवल आईएमई, प्राइम र सनराईज बैंक आ–आफै तरिकाले अगाडि बढिरहेका छन् । कमर्स एण्ड ट्रष्ट र जनता बैंक नेपालसहित १८ वटा बैंक वित्तीय संस्थालाई समाहित गर्दै करिव २२५ अर्बको वासलातसहित ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । असोज मसान्तसम्ममा प्राइम कमर्शियल बैंकको वासलात १०६ अर्बको बनेको छ । अन्तिम चरणमा पुगेको कैलाश विकास बैंक प्राप्तिसँगै यस बैंकको वासलात १४३ अर्ब नाघ्दैछ। असोज मसान्तसम्ममा सनराईज बैंकको वासलात ९८ अर्ब ४८ करोड रुपैयाँको छ । र, सिटिजन्स बैंक इन्टरनेशलनको वासलात ९४ अर्ब ९२ करोड रुपैयाँको छ । वासलातको आकार जस्तै छ ती बैंकहरुको सेयर मूल्य पनि । ग्लोबल आईएमई बैंककाे अन्तिम कारोबार प्रतिकित्ता २९५ रुपैयाँ छ । प्राइम कमर्शियल बैंकको २७६ रुपैयाँ छ । सनराईज बैंकको २१८ रुपैयाँ छ । सिटिजन्स बैंकको १८४ रुपैयाँ छ । किन पछाडि पर्यो सिटिजन्स बैंक ? के छ अगाडि जाने योजना ? बैंकका प्रमोटर तथा सञ्चालक समितिको सदस्य प्रवलजंग पाण्डेलाई हामीले प्रश्न गर्यौं । ‘सिटिजन्स बैंक धेरै राम्रो छ तर हामी विजनेश विस्तारमा चुक्यौ’ उनले भने–‘यसमा अरु कुनै कमजोरी छैन । विगतमा हामीसँगै खुलेका बैंकले मर्जरलाई धेरै प्राथमिकता दिए, हामीले कम प्राथमिकता दियौं ।’ प्रबलजंग पाण्डे ‘हामी पछाडि पर्नुको कारण समिक्षा भयो । प्वाइन्ट आउन पनि गर्यौ र अब गतिलिने बाटो पनि रोजिसक्यौ’ बैंकको मर्जर कमिटिका संयोजक समेत रहेका पाण्डेले नयाँ योजना सुनाउँदै भने–‘हामी सहयोगि विकास बैंक प्राप्तिको प्रक्रियामा छौं । यसै आर्थिक वर्षभित्र थप तीन वटा विकास बैंक सिटिजन्स बैंकमा मर्ज गराउँछौं ।’ पुँजी, विजनेश र नेटवर्क एकै साथ बढाउने विधि मर्जर नै भएकोले सहयोगि विकास बैंक बाहेक अन्य तीन विकास बैंक गाभेर यसै आर्थिक वर्षभित्र वासलात १३० अर्ब रुपैयाँ भन्दा माथि पुर्याउने लक्ष्य बैंकले लिएको उनले बताए । १४ वटा शाखासहित २ नम्बर प्रदेशमा बलियो उपस्थिति भएको सहयोगि विकास बैंक मर्ज हुने वित्तीकै बैंकको विजनेश करिव ५ अर्ब रुपैयाँले थपिने छ । असोज मसान्त सम्ममा बैंकको निक्षेप करिब ७२ अर्ब रुपैयाँ छ । हाल चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ भएको यस बैंकको शाखा गत असार मसान्तसम्ममा ८१ वटा छन् । बैंकले चालु आर्थिक वर्षभित्र १५ वटा नयाँ शाखा विस्तार गर्ने योजना बनाएको छ । गत वर्षको नाफाबाट बैंकले १५ प्रतिशत लाभांश वितरण गरेको छ ।
५१ स्वर्णसहित नेपालकाे सानदार जित, साग फुटबलमा चौथो पटक च्याम्पियन
काठमाडाैं । नेपाल साग फुटबलमा चौथो पटक स्वर्ण जित्न सफल भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण जित्दै चौथो पटक स्वर्ण विजेता बनेके हो । मंगलबार दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्न सफल भएको हो । नेपालको जितमा सुनिल बल र अभिषेक रिजालले गोल गरे । भुटानका लागि चेन्चो ग्यालसेनले बराबरी गोल फर्काए । खेलको १६ औं मिनेटमा अभिषेकले ६ यार्ड बक्सनजिकबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरे । उनको जारि प्रतियोगितामा तेस्रो गोल हो । यसअघि उनले भुटानविरुद्ध समूह चरण र माल्दिभ्सविरुद्ध पनि गोल गरेका थिए । खेलको ३६ औं मिनेटमा भुटानले बराबरी गोल फर्कायो । चेन्चो ग्याल्सेनले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिस गर्दै भुटानलाई खेलमा फर्काएका थिए । दोस्रो हाफमा नेपालले सुनिलको गोलमा अग्रता लियो । उनले दायाँ विंगबाट आएको क्रसलाई हेडरमार्फत गोल गर्दै नेपाललाई पुनः अग्रता दिलाएका थिए । त्यसपछि थप गोल हुन नसक्दा नेपालले स्वर्ण पदक जितेको हो । नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा जितेको यो चौथो स्वर्ण पदक हो । यसअघि नेपालले सन् १९८३, १९९३ र २०१६ को संस्करणमा पनि स्वर्ण जितेको थियो । १३ औं सागमा नेपालले जितेको यो ५१ औं स्वर्ण हो १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले अहिले सम्म प्राप्त स्वर्ण पदक १.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ २.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर ३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की ४.कराते (५५ केजी) – लक्ष्मण तामाङ ५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ ६.कराते (४५ केजी मुनी)– कुसुम खड्का ७.कराते (५० केजी मूनि) -अनु अधिकारी ८.कराते (६७ केजी)- नवीन रसाइली ९.कराते (६८ केजी)– सुनिता महर्जन १०. कराते (६८ केजी)– अनुपमा मगर ११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ १२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु १३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ १४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य १५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे १६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना १७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई १८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ १९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा २०.ट्रायथलन – सोनी गुरुङ २१.डुवाथोलन – हिमाल टमाटा २२. उसु (थाउलो) – विजय सिन्जाली २३. उसु (थाउलो) – सुस्मिता तामाङ २४. उसु (थाउलो)– दीपक हमाल २५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ २६. साइक्लिङ (डाउनहिल) – राजेश मगर २७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ २८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल २९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की ३०. उसु (थाउलो(नान्दौ) – निमा घर्तीमगर ३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ ३२. साइक्लिङ (क्रस कन्ट्री)–बुद्धिबहादुर तामाङ ३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह ३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ ३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी ३६.उसु (५६ केजी) – जुनी राई ३७. एथलेटिक्स (५ हजार मिटर दौड) – गोपीचन्द्र पार्की ३८. गल्फ – सुवास तामाङ ३९. गल्फ ( टिम इभेन्ट)-सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ ४०. भारोत्तलन – विकास थापा ४१. पौडी (२ सय मिटर ब्याकस्ट्रोक)– गौरिका सिंह ४२. म्याराथन – किरणसिंह बोगटी ४३. कुस्ती (५५ केजी)– संगिता धामी ४४. पौडी (४ सय मिटर फ्रिस्टाइल)- गौरिका सिंह ४५. जुडो (५२ केजी मुनि)- देविका खड्का ४६. बक्सिङ (५४ केजी)- मिनु गुरुङ ४७. बक्सिङ (६४ केजी) – भुपेन्द्र थापा ४८. जुडो (७८ केजी) – पुनम श्रेष्ठ ४९. पौडी (१ सय मिटर फ्रिस्टाइल) – गौरिका सिंह ५०. बक्सिङ (६० केजी) – सनिल शाही ५१. फुटबल पुरुष