विकासन्युज

चार महिनामा भित्रियो २७ अर्बको कृषिजन्य उत्पादन, गत वर्षकाेभन्दा ३ अर्बले कम

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासमा २७ अर्बको कृषिजन्य उत्पादन भित्रिएको छ । कृषि तथा पशुपन्क्षी मन्त्रालयका अनुसार चालु आवको पहिलो चौमासिकमा २७ अर्ब ५३ करोड ५७ लाख को कृषिजन्य उत्पादन नेपाल भित्रिएको हो । गत वर्षको पहिलो चौमासिक भन्दा यो वर्ष ३ अर्ब एक करोड ९४ लाख रुपैयाँको कृषिजन्य उत्पादन कम आयात भएको छ । गत वर्षको पहिलो चौमासिकमा करिब ३० अर्ब ५५ करोड ५ लाखको सामान नेपाल भित्रिएको थियो । गत वर्षको पहिलो चौमासमा ८ लाख १५ हजार मेट्रिक टन नेपाल भित्रिएको कृषिजन्य उत्पादन यस वर्ष भने ५ लाख ८२ हजार मेट्रिक टनमात्र भित्रिएको हो ।  यस वर्षको पहिलो चौमासमा ६ अर्ब ३० करोड ५६ लाखको नेपालकाे मुख्यबाली चामल  भित्रिएको छ । यो गतवर्षको तुलनामा ३ अर्ब ७ करोड ५१ लाखले कम हो । गत वर्ष ९ अर्ब ३८ कराेड रुपैयाँकाे चामल आयात भएकाे मन्त्रालयले जानकारी  दिएकाे छ । त्यस्तै अन्य कृषिजन्य मुख्य बालीमा ३ अर्ब ८१ करोड ७३ लाख रुपैयाँको १ लाख ८ हजार २०८ मेट्रिक टन मकै आयात भएको छ भने गत वर्ष १ लाख ३३ हजार ७७८ मेट्रिक टन मकै आयात भएको थियो ।  गत वर्ष गहुँ ६८ हजार ६ सय ८४ मेट्रिक टन आयात भएको थियो भने यसवर्षको पहिलो चौमासिकमा ४८ करोड २६ लाख ९५ हजार रुपैयाँको १४ हजार ५३४ मेट्रिक टन नेपाल भित्रिएको छ । यस्तै यस वर्षको चार महिनामा मात्र ३ अर्ब ८३ करोड ९७ रुपैयाँको एक लाख ५६ हजार ७५७ मेट्रिक टन आलु आयात भएको छ । गतवर्षको यो अवधिमा एक लाख ४५ हजार ९१७ मेट्रिक टन आलु नेपाल भित्रिएको थियो । यस वर्ष ६ अर्ब ३० करोड ५६ लाख रुपैयाँको १ लाख ४२ हजार ९७४ मेट्रिक टन चामल नेपाल भित्रिएको छ भने ९ अर्ब ३८ करोड ७ लाख रुपैयाँको २ लाख २१ हजार ६२१ मेट्रिक टन स्वदेश भित्रिएको छ । नेपालमा पछिल्लो समय प्याजको अभाव तथा मूल्यवृद्धि भएसँगै पहिलो चौमासिकमा १ अर्ब ५८ करोड ७७ लाख रुपैयाँको दुई हजार २५३ मेट्रिक टन प्याज आयात भएको छ । गत वर्ष ५३ हजार १३५ मेट्रिक टन प्याज नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यस्तै भन्सारमा तेलको आयात बढ्दो छ । यो चार महिनाको अवधिमा तेलमात्रै ६० हजार २०७ मेट्रिक टन आएको छ । जसको ५ अर्ब २० करोड ९८ लाख रुपैयाँ मूल्य पर्न जान्छ । गत वर्ष भने ५३ हजार १३५ मेट्रिक टन तेल आयात भएको थियो । कृषि तथा पशुपन्क्षी मन्त्रालयकाे तथ्याकं अनुसार २ हजार २५३ मेट्रिक टन ताजा तरकारी, २ अर्ब ६१ करोड ९५ लाख रुपैयाँको ३८ हजार २७५ मेट्रिक टन स्याउ, २ अर्ब ६१ करोड ९५ लाख रुपैयाँको ३८ हजार २७५ मेट्रिक टन सुन्तला नेपाल भित्रिएको छ । गत वर्ष ३ करोड ३१ लाख रुपैयाँको ६ हजार ८८८ मेट्रिक टन तरकारी, ३३ हजार २०५ मेट्रिक टन स्याउ र ६८ करोड ४९ लाख रुपैयाँको ३ हजार ७३२ मेट्रिक टन सुन्तला आयात भएको थियो । पछिल्लो समय केरामा नेपाल आत्मनिर्भर बन्दै गइरहेको भनिएता पनि केराको आयात पनि घट्न सकिरहेको छैन । हाल सम्म ५४ करोड ५४ लाख रुपैयाँको १८ हजार १८३ मेट्रिक टन केरा नेपाल भित्रिएको छ ।

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने

मङ्गलबारे । इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरभित्र बसोवास गर्ने ६० देखि ७० वर्षका ज्येष्ठ दलित नागरिकको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो । आगामी पुस १ गतेदेखि लागू गरी पारिवारिक स्वास्थ्य बीमा गरिदिने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिएका छन् । स्वास्थ्य उपचारमा सहज होस् भनेर नगरपालिका आफैँले स्वास्थ्य बीमा गरिदिने भएको उनले बताए । रकम अभाव भएर उपचारमा जान नसक्ने, गएर पनि उपचार गराउन नसक्नेलाई यो कार्यक्रमले लाभ मिल्ने नगरपालिकाले अपेक्षा गरेको छ । इलाम नगरपालिकामा नगर प्रमुख तथा उपप्रमुख पदबहाल रहेको अवस्थामा मृत्यु भएमा नगरपालिकाभित्र एक दिन शोक बिदा दिइने भएको छ । नगर कार्यपालिकाको बैठकले बहाल रहेकै अवस्थामा मृत्यु भएमा नगरपालिकाअन्तर्गतका कार्यालय तथा शैक्षिक संस्थामा एक दिन शोक बिदा दिने निर्णय भएको हो । बैठकले नगर प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्य तथा वडा सदस्यको पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा सम्बन्धित वडा कार्यालयमा रहेको शैक्षिक संस्थामा एक दिन शोक बिदा दिने भएको हो । बहालवाला पदाधिकारीको स्वभाविक मृत्यु भएमा मात्र उक्त शोक बिदा दिने व्यवस्था रहेको नगरपालिकाका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । नगरपालिकाले कार्यविधि बिदा व्यवस्थित गर्ने, कार्यविधि स्वीकृत गरी बढीमा छ दिन स्थानीय सार्वजनिक बिदा दिने भएको छ । “इलाम नगरपालिका, चाडपर्व तथा शोक बिदा व्यवस्थित गर्ने कार्यविधि, २०७६” स्वीकृत गरी बिदा दिने निर्णय गरेको हो । त्यस्तै, सङ्घीय तथा प्रदेश सरकारले घोषणा गरेको बिदा अतिरिक्त स्थानीय चाडपर्व महोत्सव आदिको अवसरमा एक वर्षमा छ दिन भन्दा नबढाई कार्यपालिकाबाट निर्णय गरी बिदा दिने कार्यविधिमा उल्लेख छ । नगरपालिकाले आगामी पुस २ गते इलाम नगरपालिका–१० गोदकस्थित लेप्चा जातिको बसोवास रहेको क्षेत्रमा निःशुल्क स्वास्थ्यशिविर आयोजना गर्ने भएको छ । आगामी ६ देखि १७ पुससम्म जनताको घरदैलोमा पुगेर जनताका गुनासो सङ्कलन गर्न ‘जनतासँग मेयर कार्यक्रम’ इलाम १२ वटै वडामा सञ्चालन गर्ने भएको छ । भ्रमण वर्ष २०२० का क्रियाकलाप प्रवद्र्धन र आवश्यक प्रचारप्रसारका लागि इलाम नगरपालिकामा नगर प्रमुख महेश बस्नेतको संयोजकत्वमा समितिको गठन गरेको छ । रासस

एसबिआई बैंकको १६ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित १६.८४ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको २६औं वार्षिक साधारणसभाले शेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । उक्त सभा मंसिर २९ गते भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सभाले पारित गरेसँगै शेयरधनीले ६ प्रतिशत बोनस तथा १०.८४ प्रतिशत नगद लाभांश पाउने छन् । बैंकले आर्थिक वर्ष २०७५/७६ मा ३१२ करोड ३९ लाख रुपैयाँ करोड संचालन मुनाफा र २२९ करोड २५ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । उक्त सधारणसभाले आ.व. २०७६/७७ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टिआर उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं नीजको पारिश्रमिक अनुमोदन गरेको छ ।

दुई दिन परेको पानीले १३ करोडको इँटा नोक्सान, मूल्य बढ्न सक्ने

घोराही । शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा रु सात करोड ७७ लाख क्षति भएको हो । दाङ देउखुरी इँटा व्यवसायी सङ्घका अध्यक्ष रोम वलीका अनुसार दुई करोड २२ लाख काँचो इँटा पानीले भिजेका कारण नष्ट भएको हो । काँचो इँटाको मूल्य रु साढे तीन प्रतिगोटा रहेको र त्यसअनुसार रु सात करोड ७७ लाखको नोक्सानी भएको अध्यक्ष वलीले जानकारी दिएका छन् । घोराही क्षेत्रमा १४ तथा तुलसीपुर क्षेत्र र लमही क्षेत्रमा नौ÷नौवटा इँटा उद्योग रहेका छन् । इँटा ओताउने तयारीसमेत गर्न नभ्याएका कारण एक्कासी पानी परेकाले विगतका वर्षमा भन्दा धेरै नोक्सान भएको अध्यक्ष वलीको भनाइ छ । इँटा पार्ने साँचोबाट इँटा झरेपछि लगानीकर्ताको हुने भएका कारण मजदुरभन्दा उद्योगी मारमा परेको व्यवसायीहरु बताउँछन् । यसैबीच ठूलो मात्रामा इँटा नोक्सान भएपछि मूल्य बढ्ने देखिएको छ । अहिले रु १३ प्रतिगोटा पाकेको इँटाको मूल्य छ । निकै धेरै क्षति भएकाले दाङमा इँटाको मूल्य बढ्न सक्ने अध्यक्ष वलीको भनाइ छ । नवलपुरमा पाँच करोडको इँटा क्षति कावासोती– शुक्रबारदेखि परेको वर्षाका कारण नवलपुरका इँटा उद्योगमा रु पाँच करोड बराबरको क्षति भएको छ । अकस्मात भएको वर्षाका कारण नवलपरासी पूर्व नवलपुरमा रहेका इँटा उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटामा पानीले क्षति पुर्याएको हो । वर्षाका कारण जिल्लाका नौ इँटा उद्योगमा भट्टीमा पकाउनुपूर्व (मोडलिङ गरेर राखिएको) तयारी अवस्थामा राखिएको काँचो इँटामा क्षति पुगेको हो । यहाँ रहेका नौ उद्योगमा गरेर एक करोड काँचो इँटामा क्षति पुगेको नवलपुर इँटा उद्योग सङ्घका सचिव कृष्ण गौतमले जानकारी दिए । एक करोड इँटाको लागतअनुसार करिब रु पाँच करोड बराबरको क्षति भएको सचिव गौतमले बताए । नवलपरासी पूर्व नवलपुरमा रहेका रहेका नारायणी इँटा उद्योग कुजौली, पशुपति इँटा उद्योग दुम्कौली, माता मनकामना इँटा उद्योग केउरेनी, केसी इँटा उद्योग मगरकोट, नेपाल इँटा उद्योग मगरकोट, कावासोती इँटा उद्योग हेगौली, देवचुली इँटा उद्योग ढोकी, मनकामना इँटा उद्योग मध्यविन्दु मदनपुर र ट्रावा इँटा उद्योग मदनपुर मध्यविन्दुको इँटा उद्योग गरी नौवटा इँटा उद्योगमा क्षति भएको छ । रासस

राष्ट्रिय वाणिज्य बैंकमा ट्राफिक संचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक संचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरीका पूर्व ट्राफिक प्रहरी निरिक्षक एवं ट्राफिक भोलिन्टीयर सिताराम हाछेथुले ट्राफिक संचेतनाको बारेमा जानकारी दिएका हुन् । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाको लागि विभिन्न कार्यक्रम मार्फत ध्यान दिईरहेको बताएका छन् । प्रशिक्षक सिताराम हाछेथुले बैंकिङ्ग क्षेत्रमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई संचेतना कार्यक्रम संचालन गर्न पाउंदा खुसी लागेको बताए । उनले भिडियो देखाएर तथा बोलेर ट्राफिक नियमबारे प्रशिक्षण दिएका थिए । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको संचेतना कार्यक्रम दैनिक अस्त व्यस्त बन्दै गईरहेको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनको लागि बैंकका केन्द्रीय कार्यालय परिसरमा कार्यरत कर्मचारीहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको होे । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख लगायत कर्मचारीहरुको उपस्थिती थियो । कार्यक्रम ब्रान्च अपरेशन विभागका उप प्रबन्धक जितेन्द्रसिंह थापाले संचालन गरेका थिए ।

महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार खुला आकाशमुनी कष्टपुर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा आश्रमलाई सहयोग गरेको छ । परोपकारी संस्थालाई बैंकको नयाँ बजार शाखाले तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, डस्टविनका साथै विविध सरसफाइका सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो । शाखाले आश्रममा एक कार्यक्रमकाे आयोजना गरी उक्त सामाग्री वितरणका साथै आश्रममा आश्रित व्यत्तिहरुका लागि शुक्रबार बिहान खानाको व्यवस्था गरेको थियो ।

प्रभु बैंक र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा प्रभु बैंकका  प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका  अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक रहनेछ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद रु. २५ लाख उपलब्ध गराउनेछ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ । जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ । जावलाखेल युवा क्लबले बैंकमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत सञ्चालन गर्ने छ । जावलाखेल युवा क्लबले खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ । जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक. लेखेको जर्सी लगाउनेछन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा सो बैंकको विज्ञापन प्रशारण गर्नेछ । प्रभु बैंक र जावलाखेल युवा क्लबबीच सम्पन्न यस सम्झौताले जावलाखेल युवा क्लबका खेलाडीहरुमा हौसला बढ्न गई उच्च मनोबलका साथ सबै प्रतियोगिताहरुमा सहभागिता जनाई समग्र देशको खेलकुद क्षेत्रको विकासमा विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा साढे १ करोड मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीतपुर शाखाले बीमा दाबी वापत रु १ करोड ५० हजार भुक्तानी गरेको छ । उक्त कम्पनीले सवारी दुर्घटनामा ज्यान गुमाएका बीमित स्व. सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाई रु १ करोड ५० हजारको चेक हस्तान्तरण गरेको हो । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई, सिटिजन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद चौधरीले संयुक्त रुपमा पौडेलकी श्रीमती देवका खनाल पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । बुटवल १३ बेलबास निवासी स्व. पौडेलले १५ वर्षे बीमा अन्तर्गत रु. ५० लाखको बीमा गरी पहिलो किस्ता बुझाएका थिए । ३३ वर्षीय पौडेलको सवारी दुर्घटनामा परी यहि कार्तिक ५ गते निधन भएको थियो । कार्यक्रमका प्रमुख अतिथी चिरन्जीवी चापागाईले जीवन बीमाको आवश्यक्ता तथा महत्वको बारेमा प्रकाश पार्दै बीमितको जीवन नरहे पनि जीवन बीमाको सिद्धान्त तथा मर्म अनुरुप बीमालेखमा उल्लेखित शर्त तथा सुविधा बमोजिम कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको बताए ।