चितवन मेडिकल कलेजः प्रतिबद्धतासहित सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने
चितवन । चितवन मेडिकल कलेज (सिएसमसी) ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ । सरकारसँग दुई बुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सिएमसी प्रशासनले छ बुँदे प्रतिबद्धतासहित विद्यार्थी तथा अभिभावकलाई समायोजित शुल्कको जानकारी लिन कलेजको कैलाशनगरस्थित लेखा शाखामा एक साताभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । यही मङ्सिर १० मा सरकार र मेडिकल सञ्चालकबीच दुईबुँदे सहमति भएको थियो । सहमतिमा एमबिबिएस र बिडिएसका पछिल्ला दुई शैक्षिक सत्रमा लिएको अतिरिक्त शुल्क मङ्सिर ११ बाटै समायोजन गर्ने भनिएको थियो । शैक्षिक सत्र २०७२/७३ र २०७३/७४ सम्बन्धमा चिकित्सा शिक्षा आयोगले निर्णय गरेबमोजिम हुने भन्ने छ । यो सहमतिलाई आन्दोलनरत विद्यार्थीले भने अस्वीकार गरेका छन् । उनीहरू चार शैक्षिक सत्रको शुल्क फिर्ता वा समायोजन हुनुपर्ने अडानमा छन् । पहिलो वर्षका विद्यार्थीले वार्षिक परीक्षा नदिएपछि दोस्रो वर्षका विद्यार्थीले पनि परीक्षा नदिने घोषणा गरेका छन् । एमबिबिएस र बिडिएसको मात्रै नभएर अन्य शैक्षिक कार्यक्रमको बढी लिइएको शुल्क पनि फिर्ता वा समायोजन हुनुपर्ने विद्यार्थीले माग राख्दै आएका छन् । सिएमसीले अन्य स्नातक कार्यक्रम नर्सिङ, पब्लिक हेल्थ, बी फार्मेसी, बिएमएलटी, बिएमआइटीमा पनि तोकेकोभन्दा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “विश्वविद्यालयले तोकेअनुसार नियमित वार्षिक परीक्षा शुल्क लिने र परीक्षा सञ्चालनका लागि लाग्ने अन्य अतिरिक्त शुल्क सम्बन्धित निकायले तोकेबमोजिम गरिनेछ ।” कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले भने, “सरकारसँग गरेको दुईबुँदे सहमतिभन्दा पनि अगाडि बढेर चितवन मेडिकल कलेजले अन्य शैक्षिक कार्यक्रममा समेत शुल्क समायोजन गर्ने प्रतिबद्धता कार्यान्वयन गर्ने चरणमा लैजाँदै छ ।” आन्दोलनका कार्यक्रम फिर्ता गरेर शैक्षिक, प्रशासनिक एवं प्राज्ञिक क्रियाकलाप शुरु गराउन र विश्वविद्यालयका परीक्षामा सहभागी हुन र विश्वासको वातावरण तयार गरी शुल्क समायोजन प्रक्रियालाई सहयोग गर्न उनले अनुरोध गरेका छन् । रासस
स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित सम्मान
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । विजेता मन्देकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुन् । नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकूदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै देशको नाम अन्तरराष्ट्रिय जगत्मा उचाइमा पुर्याएको बताए । सो अवसरमा सम्मानित मन्देकाजी श्रेष्ठले मध्यपुरथिमिमा खेललाई अगाडि बढाउन आफूले प्रशिक्षण सञ्चालन गर्ने घोषणा गरेका छन् । कार्यक्रममा नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मन्देकाजीका प्रशिक्षकद्वय गङ्गाराम महर्जन, सजन श्रेष्ठ, मन्देकाजीका पिता बाबुकाजी श्रेष्ठलगायतले मन्देकाजीले खेल जगत्मा पुर्याएको योगदानको चर्चा गरे । कार्यक्रममा स्थानीय बालप्रेमी माध्यामिक विद्यालयले पनि सम्मान गरेको थियो । रासस
बाइस वर्षमा नभएका काम दुई वर्षमा भयोः मन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २२ वर्षमा नगरेको काम वर्तमान सरकारले दुई वर्षमै गरिएको दाबी गरेका छन् । “अब तीन वर्षमा नेपाली मनको आत्मविश्वास जाग्ने गरी पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, कृषिमा काम हुनेछ”, उनले भने । मन्त्री बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेष रूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । आउँदो दुई वर्षमा वृद्धभत्ता रु पाँच हजार पुर्याइने उनले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीको दृढता र विश्वासका साथ नीति कार्यक्रम, बजेट, अन्तरराष्ट्रिय सम्बन्धले राष्ट्रिय आत्मविश्वासको जागरण पैदा भएकाले जनताले राम्रो कामलाई राम्रो र नराम्रोलाई खबरदारी गर्न उनले आग्रह गरे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने छ भनेका छन् । मन्त्री बाँस्कोटाले भने, “नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।” पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर पर्यटन व्यवसायीले नसोच्न उनले आग्रह गरे । पर्यटनको विशेषताको रूपमा हिमाल, महाभारत खण्ड, उपत्यका तथा भौगोलिक हिसाबले शेर्पा, तामाङ, बाहुन–क्षेत्री, चौधरी, धिमाल, मेचे, कोचे, अनेकौँ संस्कृति, जाति पहिरन रहेकाले आफ्ना पहिचानलाई पर्यटनको माध्यमले उत्पादनसँग जोड्नुपर्ने मन्त्री बाँस्कोटाले जोड दिए । हरेक क्षेत्रमा स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटकलाई प्रदर्शन गर्ने व्यवस्थापन गर्नुपर्छ । उनले भने, “हामी हिमाल र ऐतिहासिक धरोहरले विश्वमा परिचित त छौँ नै, तर हामी हाम्रा सम्पूर्ण पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्नेतर्फ लाग्नेछौँ ।” मन्त्री बाँस्कोटाले नेपालको सयमध्ये काभ्रेपलाञ्चोकमा १९ किलोमिटर महाभारतमा ट्रेकिङ टे«लको बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै नाला–धुलिखल–नमोबुद्ध–कोटतिमाल–तङसोमकुण्डसम्म बुद्ध परिपथ निर्माण गर्ने योजना बनाइएको बताए । मन्त्री बाँस्कोटाले नमोबुद्ध नपाको दुई र पाँचखाल नपाको तीन वडास्थित १२ हजार रोपनी जमिनमा मदन भण्डारी विश्वविद्यालय निर्माण गरिने, अरनिको राजमार्ग स्तरोन्नति हुने तथा मध्यपहाडी लोकमार्ग यसवर्ष ३९५ किलोमिटर पक्की हुने जानकारी दिए । उनले भने, “सुनकोशी नदीबाट ५३६ मेगावाट बिजुली पनि निकाल्छौँ, हामी काम गर्दैछौँ, विकासको परिणाम आम जनताका हातमा पुर्याउँछौँ ।” वर्तमान सरकारको पहिलो आधार वर्ष, दास्रो शिलान्यास र तेस्रो र आउँदा वर्ष उद्घाटनको वर्ष हुँदै जाने बताए । सो अवसरमा मन्त्री बाँस्कोटाले म्याराथुनमा प्रथम शिवबहादुर रायमाझी, द्वितीय हिमाल कार्की र तृतीय कस राईलाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । एक्काइस किलोमिटर लामो दूरीको म्याराथुनमा २७ जना सहभागी थिए । रासस
गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व होः मुख्यमन्त्री पौडेल
हेटौडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताएका छन् । काठमाडौँ महनागरपालिकाको २५औँ महानगर दिवसका अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै उनले सबैका लागि खाना, नाना र छानाको प्रत्याभूति गराउनु लोककल्याणकारी राज्यको दायित्व भएको उल्लेख गरेका छन् । “काठमाडौँ महानगरपालिकाले २५औँ महानगर दिवसको अवसरमा सडकमा जीवन व्यतित गर्न विवश बेसहारा, अभिभावकविहीन तथा सहयोगापेक्षी व्यक्तिलाई उचित बसोबास र स्याहारसुसारको प्रबन्धसहित सडक मानवरहित महानगरको घोषणा महाअभियान शुभारम्भ गर्न लागेकामा हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । सन्देशमा मानव सेवा आश्रमसहित अन्य सामाजिक सङ्घसंस्था समेतको सहभागितामा ‘भोकै कोही पर्दैनन, भोकले कोही मर्दैनन्’ भन्ने नाराका साथ जसको कोही छैन, त्यस्ता व्यक्तिको उद्धार गरी आश्रय, खानपान तथा औषधोपचारसमेतको व्यवस्था गर्ने, परिवार भएकाहरुलाई परिवारको जिम्मा लगाउने तथा आगामी दिनमा समेत सडक मानवरहित महानगर बनाउने सङ्कल्पसहित शुभारम्भ हुन लागेको महाअभियान आफैँमा महत्वपूर्ण भएको उल्लेख छ । रासस
बैंकिङ क्षेत्रका कर्मचारीहरूको चेतावनीः ‘सामाजिक सुरक्षा कोषमा जान जबरजस्ती गरे आन्दोलन गर्छाैं’
काठमाडौं । बैंकिङ क्षेत्रका कर्मचारीहरू नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन दिएको निर्देशनका विरुद्ध आन्दोलनमा जाने भएका छन् । नेपाल राष्ट्र बैंकले केही दिनअघि आफ्ना मातहतका बैंक तथा वित्तीय संस्थाहरूलाई कोषमा सूचिकृत हुन निर्देशन दिएपछि नेपाल वित्तीय संस्था संघका कर्मचारीहरूले गभर्नर कार्यालयलाई पत्र लेख्दै यस्तो चेतावनी दिएका हुन् । राष्ट्र बैंकले वित्तीय क्षेत्रका संघ संस्थालाई कोषमा सूचिकृत हुन यस्तो निर्देशन जारी गरेपछि वित्तीय क्षेत्रका कर्मचारी युनियनले कडा आपत्ति जनाएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्र बैंकका गभर्नरलाई पत्र लेख्दै निर्देशन तत्काल फिर्ता लिन भनेको छ । संघले सामाजिक सुरक्षाको व्यवस्थाले वित्तीय क्षेत्रमा समस्या सृजना हुने भन्दै विषय वस्तुको गार्भियतालाई बुझेर निर्देशन फिर्ता लिन उनीहरूले राष्ट्र बैंकलाई आग्रह गरेका छन् । यो व्यवस्थामा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारी सूचिकृत हुँदा कर्मचारीहरूले हाल उपभोग गर्दै आएको सेवा सुविधाहरु कटौती हुन जाने उनीहरूले जनाएका छन् । यस कर्मचारीहरुको मनोबल कमजोर हुन गई वित्तीय संस्थाहरूको प्रगतिमा समेत गम्भीर असर पर्ने संघले जनाएको छ । कोषमा सूचिकृत हुँदा यस क्षेत्रमा कार्यरत कर्मचारीहरूले पाइरहेको सेवा सुविधाहरूको सुरक्षा ग्यारेन्टी गरेरमात्र सामाजिक सुरक्षामा सहभागी हुने व्यवस्था गर्न उसले राष्ट्र बैंकलाई अनुरोध समेत गरेको छ । सामाजिक सुरक्षाको लागि ल्याइएको निवृत्तीभरण कोष २०७५ र निजी क्षेत्रका कर्मचारीहरूको योगदानमा आधारित सामाजिक सुरक्षाका लागि ल्याइएको कार्यविधिमा रहेको विभेद हटाउनुपर्ने संघको माग रहेको छ । विभेद हुँदा हुँदै पनि कर्मचारीहरुको मागलाई बेवास्ता गरी एक पक्षीय रुपमा अघि बढेमा यसबाट पर्नजाने असरको जिम्मेवार सम्बन्धित निकाय हुने व्यहोरा समेत राष्ट्र बैंकलाई लेखेको पत्रमा उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारीहरुको नोकरी अवधि ३० वा उमेर ५८ वर्षमा अवकाश हुने हुँदा सामाजिक सुरक्षा कोषको व्यवस्थानुसार ६० वर्ष पुगेपछि मात्र निवृत्तीभरण बापतको रकम भुक्तानी हुने व्यवस्था छ । उमेरको अन्तरले पर्न जाने समस्यालाई सम्बोधन गर्न संघले माग गरेको छ । कोषमा रकम जम्मा गर्दा र अवकाशपछि भुक्तानी लिँदा तिनुपर्ने दोहोरो कर व्यवस्थालाई संशोधन गर्न पनि माग गरिएको छ । सेवाबाट अवकाश लिँदा पाउने उपदान बापतको रकम पूर्ववत रुपमा ५ वर्ष पुगेपछि सहजै पाउने व्यवस्था हुनु पर्ने माग पत्रमा राखिएको छ । पेन्सन सुविधा एकमुष्ठ पाउने व्यवस्था यथावत कायम हुनुपर्ने र प्रभावकारी र आर्कषक सामाजिक सुरक्षा भएका संस्थाहरुलाई क्रमिक रुपमा सहभागी हुन प्रेरित गर्नुपर्ने माग संघको छ ।
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, १८ घाइते
चौतारा । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८ः१५ बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना परेको थियो । दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका छन् । घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाईएको र अन्यको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तयार भएर बस्नुस्, सरकारले भिजिट २०२० लाई लक्षित गरी ५ हजार व्यक्तिलाई दिँदैछ तालिम
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालिम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो । सहरदेखि गाउँसम्म रहेका पर्यटन सम्बन्धि गतिविधि गर्ने संस्थालाई सरकारले यस्तो तालिम उपलब्ध गराउन लागेको हो । बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकदेखि गाउँगाउँमा घरबास सञ्चालन तालिम, ट्रेकिङ गाईड र माउण्टेन लिडर तालिम, पर्यटकलाई प्राथमिक उपचार तालिम दिन लागेको हो । नेपाली हस्तकलासम्बन्धी, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी, क्षमता अभिवृद्धि, नयाँ पर्यटन व्यवसाय विकास तथा व्यवस्थापन, महिला लक्षित पर्यटन व्यवसाय र डिजिटल मार्केटिङ तथा उत्पादन व्यवस्थापन सम्बन्धि तालिम प्रदान गर्न लागेको हो । यसका साथै विभागले अध्यागमनसम्बन्धी सेवाप्रदान, नेचर गाईड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा तालिम प्रदान गर्न लागेको हो । बोर्डका प्रबन्धक सन्तोषकुमार घिमिरेले नेपाल भ्रमण वर्षलाई लक्षित गरी विभिन्न पर्यटकीय गतिविधि गर्ने संघ संस्थालाई समावेश गरेर पाँचहजार व्यक्तिलाई तालिम प्रदान गर्न लागेको बताए । बोर्डले नेपाल भ्रमण वर्षमा पर्यटन प्रवद्र्धन गर्न तालिमका लागि दुई करोड रुपैयाँ रकम विनियोजन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० मा विभिन्न कार्यक्रम गर्न ६१ करोड ७४ लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ । सरकारले भ्रमण वर्षको लागि सचिवालयनै स्थापना गरेर बढो उत्साहका साथ गर्न लागेको यो कार्यक्रमका गर्न हालसम्म नेपाल सरकार र पर्यटन बोर्डबाट गरी जम्मा २५ करोड रुपैयाँ विनियोजन भएको छ । सचिवालयले वाँकी अपुग ३६ करोड ७४ लाख रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरि पठाएको छ । बोर्डका लागि भ्रमण वर्ष २०२० को सचिवालयले स्वदेश तथा विदेशमा भ्रमण वर्ष सम्बन्धि कार्र्यधक्रम र प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनसम्बन्धि गतिविधि गर्न २६ करोड २५ लाख छुट्याएको छ । नेपाल पर्यटन बोर्डसमेतको सहकार्यमा सचिवालयले विभिन्न देशमा पर्यटकीय गतिविधि सम्बन्धि कार्यक्रम गर्ने तयारी गरेको छ ।
नेपालकै ‘स्ट्रङगेस्ट’ वियर ‘अर्ना एट’ बजारमा
काठमाडौं । नेपालमा वियर ब्रान्डहरुको उत्पादक यती ब्रुअरीले नयाँ उत्पादन ‘अर्ना एट’ नेपाली बजारमा सार्वजनिक गरेको छ । छोटो अवधिमै ग्राहक माझ अर्ना ब्रान्डअन्तर्गतको नयाँ उत्पादन ‘अर्ना एट’नेपाली वियर मध्येकै सर्वाधिक ८ प्रतिशत ‘अल्कोहल’ भएको ‘स्ट्रङ’ वियर हो । ‘स्ट्रङ’ वियरको बढ्दो मागलाई विचार गरी उत्पादन थालिएको ‘द स्ट्रङगेस्ट वियर’– ‘अर्ना एट’ स्वादमा पनि उत्तिकै उत्कृष्ट रहेको छ । ‘अर्ना एट’ वियर ३३०मि.लि र ६५०मि.लि दुवै बोतलहरुमा उपलब्ध छ । ग्राहकहरुको सहजतालाई मध्यनजर गरी यीदुवै बोतलहरुमा ‘पूल अफ क्याप’ राखिएको छ जसका कारण यसलाई खोल्न ‘ओपनर’ आवश्यक पर्दैन । बोतलबाट पिउन सजिलो र छुट्टै ग्लास आवश्यक नपर्ने भएका कारण ३३०मि.लिको ‘अर्ना एट’ विशेषगरी युवा पिंढीमाझ चाँडै लोकप्रिय हुने अपेक्षा कम्पनीले लिएको जानकारी दिएको छ । चित्तवनको चैनपुरस्थित अन्तर्राष्ट्रिय स्तरको वियर प्लान्टबाट उत्पादित ‘अर्ना एट’ ३३०मि.लिको बजार मूल्य १४० र ६५० मि.लिको मूल्य २७५ मात्र रहेको छ । ३३०मि.लिको ‘अर्ना एट’ एक कार्टुनमा २४ बोतल हुन्छ भने ६५०मि.लिको एक कार्टुनमा १२ बोतल हुन्छ । स्वाद, गुणस्तर, प्याकेजिङ र मूल्यलगायत सबै दृष्टिकोणबाट ‘अर्ना एट’ उच्च स्तरीय छ । वियर पारखीको फरक–फरक रोजाइ एवं स्वाद अनुरुप अर्ना ब्रान्ड अन्तर्गत ‘अर्ना एट’ सँगसँगै ‘अर्ना लाइट’, ‘अर्ना प्रिमियम’र ‘अर्ना स्ट्रङ’ पनि बजारमा उपलब्ध छन् ।