
उच्च शिक्षा अध्ययनको लागि विश्वमै अमेरिका पछि रुचाईएको शैक्षिक गन्तव्य मध्ये एक हो बेलायत। नेपालको सन्दर्भमा पनि अष्ट्रेलिया पछि विद्यार्थीहरुको प्राथमिकता बेलायत र अमेरिका रहेको देखिन्छ । प्रत्येक वर्ष ५ लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू बेलायतमा अध्ययनको लागि भर्ना हुने गर्छन् । बेलायत, अष्ट्रेलिया, न्युजल्याण्ड, आईरल्याण्ड, क्यानाडा, भारत लगायतका देशमा विद्यार्थी पठाउँदै आएको हव इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक उद्धव खड्कासँग बेलायत जाने विद्यार्थीहरुले के के कुरामा बढी ध्यानदिनुपर्छ भनेर कुराकानी गरेका छौं ।
विद्यार्थीहरुले बेलायत किन रोज्ने ?
आधुनिक शिक्षाको सुरु भएको नै बेलायतबाट हो । धेरै पहिलाबाट नै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको रोजाईमा बेलायत पर्ने गरेको छ। पहिला जति पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरु बाहिर पढ्नको लागि जान्थे, उनीहरु सबै प्राय बेलायत नै जान्थे । बेलायतको शिक्षा प्रणाली एकदमै उत्कृष्ट छ, पुरानो छ र विश्वव्यापी मान्यता प्राप्त रहेको छ। बेलायतको डिग्री भन्ने बित्तिकै लामो कुरा हुँदैन। मैले बेलायतको विश्वविद्यालयबाट एमबीए गरेको हुँ भन्नु नै काफी हुने छ।
बेलायतमा एक नेपाली विद्यार्थीलाई पढ्न र बस्न खर्च कति लाग्छ ?
ट्युसन शुल्क अन्य देश जस्तै अष्ट्रेलियाको दाँजोमा बेलायतको सस्तो रहेको छ। बेलायतमा पढिसकेपछि विद्यार्थीहरुलाई २ वर्षको कार्य अनुमति भिसा दिने नियम बनाउने तयारीमा छ जुन निकै राम्रो पक्ष हो। विद्यार्थी भिसा भनेको टियर ४ भिसा हो जसलाई टियर २ भिसा अर्थात ‘वोर्क परमिट भिसा’ मा परिवर्तन गर्ने केही मापदण्डहरु छन् र त्यो पुरा गर्नै पर्छ तर त्यसको प्रावधान पनि छ।
विद्यार्थीको पढाई खर्च उसले रोजेको विश्वविद्यालय अनुसार फरक पर्दछ। सामान्यत बेलायतमा नेपाली विद्यार्थीलाई स्नातक तह वा त्यसभन्दा माथिको कोर्ष गर्नको लागि वार्षिक खर्च ८ हजार देखि १२ हजार पाउन्डसम्म लाग्छ । यस्तै, औसतमा एउटा नेपाली विद्यार्थीको पढाई खर्च वार्षिक १२ हजार पाउन्ड अर्थात नेपाली करिब १७ लाखको हाराहारीमा खर्च हुन्छ।
पढिरहेको समयमा विद्यार्थीहरुलाई बेलायतमा काम गर्ने प्रावधान छ कि छैन ?
पढिरहेको समयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई काम गर्ने प्रावधान रहेको छ । उनीहरुले पढाईको समयमा हप्तामा २० घण्टा काम गर्न पाउने छन्। यस्तै कलेजहरु बिदाको समयमा हप्ताको ३६ घण्टासम्म काम गर्ने प्रावधान रहेको छ । विद्यार्थीहरुको पे-स्केल न्यूनतम ८ पाउन्ड देखि १२ पाउण्ड रहेको देखिन्छ।
बेलायतमा विद्यार्थीले कति अवधिको भिसा पाउँछन् ?
यो विद्यार्थीले रोजेको कोर्समा भरपर्छ । बेलायत सरकारले २०२१ मा दीक्षित हुने विद्यार्थीहरुलाई थप २ वर्षको वोर्क पर्मिट भिसा दिने भनेर भन्दै आए पनि यस कुराको पूर्ण निर्णय भने हुनसकेको छैन । हाल ब्रेक्जिटको कारणले सरकार फेरि चुनावमा गएको छ । त्यसैले यो कार्यान्वयनमा थोरै समस्या आएको छ । नयाँ सरकारले नियम लागू नगर्ने हो कि भन्ने दुविधा हो । त्यसकारण पनि हामी विद्यार्थीहरुलाई बारम्बार यस विषयमा ध्यान दिन भन्दै आएका छौं। यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने कुरालाई बुझ्न थप एक दुई महिना कुर्नुपर्ने हुन्छ।
विद्यार्थीहरुले बेलायत जानुभन्दा अगाडि कस्ताे सोच लिएर जानुपर्छ?
हामीले पढ्नको लागि पठाउने हो । विद्यार्थीहरुले पढ्छु भनेर जानुपर्छ, काम गर्न जाने हो भने नगए हुन्छ । तर पढाई सकेपछि करियर, कमाई र रोजगार एकदम राम्रो छ। त्यसैले पढ्नको लागि जाने सोचका साथ हरेक विद्यार्थी जानुपर्छ। कमसेकम आफ्नो आर्थिक पाटोको योजना बनाएर जानुहोस् ।
पार्ट टाईम काम गरेर पढ्छु भन्नेलाई गार्हो छ यद्यपी पार्ट टाईम कामले विद्यार्थीलाई बसोबासमा केही हदसम्म मद्दत भने पुर्याउँछ। तर त्यसमै भर परेर जाने हो र पहिलो वर्षको खर्चहरु पनि ऋण लिएर जाने र गईसकेपछि जे पर्ला पर्ला भनेर सोच्नेहरु बेलायत नजादा हुन्छ। हामी त्यस्तो विद्यार्थीहरुलाई जान प्रोत्साहन पनि गर्दैनौं। तर पढिसकेपछि भविष्य उज्यालो छ। त्यसैले लगानी त गर्नुपर्यो नि । लगानी गरेपछि प्रतिफल आउँछ र यो एकदम सुरक्षित लगानी हो।
बेलायत, अष्ट्रेलिया, न्युजल्याण्ड जस्ता देशहरुले त भनेकै छन् कि तिमीहरु पढ, २ वर्ष काम गर तर यो कुरा विद्यार्थीहरुलाई बुझ्न मुस्किल भईरहेको छ । हामीलाई पनि उनीहरुलाई बुझाउन मुस्किल भईरहेको छ। त्यसैले पनि हब इन्टरनेशनल एजुकेशनले यस विषयमा ‘हामी शिक्षाको लागी पठाउँछौं’ भन्ने नाराको साथ जनचेतनाको कार्यक्रम आयोजना गर्दै छ। 
हव इन्टरनेशनल एजुकेशनले कहाँ कहाँबाट शैक्षिक परामर्श सेवा दिइरहेको छ ?
२००६ मा स्थापित हब ईन्टरनेशनल एजुकेसन कम्पनीले हाल संसारभरका अंग्रेजी भाषा बोलिने देश अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजल्याण्ड, आईरल्याण्ड, क्यानडा र भारतमा विद्यार्थी पठाउँदै आएको छ । हामी जुन कुरा गर्छौ त्यसमा हामी एकदमै राम्रो छौं। हाम्रो यस क्षेत्रमा १३ वर्षको अनुभव रहेको छ । यो क्षेत्रमा मेरो करिब २० वर्षको अनुभव छ। हामीले सबै देशका राम्रा विश्वविद्यालयहरुलाई प्रतिनिधित्व गर्दै आएका छौं । हामीले काठमाडौंको बागबजारसहित ललितपुरको कुमारीपाटी, पोखरा, चितवन, दमक शाखा कार्यलयहरुबाट शैक्षिक परामर्श सेवा दिँदै आएका छौं । यस्तै विदेशमा अष्ट्रेलियाको पर्थ, फिलिपिन्स, श्रीलंका, पाकिस्तान, भारतमा यसको शाखा कार्यालय संचालनमा छ र भियतनाममा पनि यसले आफ्नो शाखा कार्यालय सुरु गर्दै छ। भाषा परिक्षणका आएएलटिएस, स्याट, जि म्याट, जिआरई पढाउने व्यवस्था हबले गरेको छ।