विकासन्युज

मुक्तिनाथ विकास बैंकका सञ्चालकहरुले लिए सपथ

काठमाडौं । मुक्तिनाथ विकास बैंकका सञ्चालकहरुले बिहीबार सपथ लिएका छन् । बैंककोे आगामी ४ वर्षका लागि छनोट भएका ४ जनाले बिहीबार सपथ लिएका हुन् । ते¥हौं वार्षिक साधारण सभाद्वारा नयाँसञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ र रविन्द्र मान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको थियो । बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरुलाई सञ्चालकको रुपमा पाएको छ । नवगठित सञ्चालकहरुको पहिलो बैठकले यस बैंकको स्थापनाकालदेखि १२ वर्ष सम्म प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकाललाई सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको छ । समितिका अध्यक्ष भरतराज ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । साथै, अन्य नवनिर्वाचित सञ्चालकहरुलाई समितिका अध्यक्ष भरतराज ढकालले सपथ ग्रहण गराएका हुन् ।

वरिष्ठ इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्राडा भट्ट “विज्ञान पुरस्कार ” बाट सम्मानित

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका मुटुरोग विशेषज्ञ प्रा. डा. यादवकुमार देव भट्ट ‘विज्ञान पुरस्कार २०७६’ वाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कारबाट सम्मान पाएका हुन् । मुटुरोगको उपचारमा नेपालमा उच्च प्रविधिको इन्टरभेन्सनल (विना चिरफार गरिने मुटुरोग उपचार) प्रविधिको सुरुवात विकास र प्रवद्र्धन मार्फत् नेपालीहरुको मुटुरोग उपचारमा उल्लेख्य योगदान पु¥याएवापत प्रा.डा. भट्टलाई उक्त पुरस्कारद्वारा सम्मानित गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले जनाएको छ । प्रा.डा. भट्ट नेपालकैं वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । उनले चिकित्सा शास्त्रमा स्नातोकोत्तर गरे लगत्तै भारतको चण्डीगडस्थित ख्यातिप्राप्त ‘पोष्ट ग्राजुयट इन्स्टिच्युट उफ मेडिकल एजुकेशन एण्ड रिसर्च’ बाट इन्टरनल मेडिसिनमा एम.डी. हासिल गरे । सन् २००० मा सोही इन्स्टिच्यटबाट मुटुरोग उपचारमा विशेषज्ञतासहितको उपाधि डि.एम. हासिल गरेका हुन् । भारतको प्रसिद्ध– एस्कर्टस् हार्ट इन्सिटच्युटमा इन्टरभेन्सनल मुटुरोग उपचारमा २ बर्षे गहन तालिम पश्चात् उनले सन २००३ मा भारतकै नेशनल बोर्ड अफ एक्जामिनेशन्, नयाँ दिल्लीबाट इन्टरभेन्सनल कार्डियोलोजीमा डि.एन.वी । (डिप्लोम्याट अफ नेशनल वोर्ड)को उपाधि हात पारेका थिए । सन् २००३ मा नेपाल फर्किएर शहिद गङ्गालाल नेशनल हार्ट सेन्टरमा आबद्ध हँुदै त्यस संस्थामार्फत् नेपालमा मुटुरोगको उपचारमा सरकारी/सार्वजनिक क्षेत्रमार्फत मुटुरोगको उपचारमा इन्टरभेन्सनल प्रविधिको सुरुवात गरेका थिए । हाल नेपालमा विद्यमान इन्टरभेन्सनल प्रविधिहरु मध्ये सबैजसोमा अग्रणी रहेका प्रा.डा. भट्टले हालसम्म ५ हजार भन्दा बढी कोरोनरी एन्जियाग्राफिहरु ३ हजार भन्दा बढी कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण, १ हजारभन्दा बढी माइट्रल, एओर्टिक एवं पल्मोनरी भल्भोटोमीहरु, पेसमेकर जडान, ए.एस.डी., पि.डी.ए. डिभाइस क्लोजर लगायत अन्य थुप्रै इन्टरभेन्सनल प्रक्रियाहरु अत्यन्तै सफलताका साथ सम्पन्न गरिसकेको छन् । ह्ृदयरोग उपचारमा उनको शैक्षिक पृष्ठभूमि, कार्य र प्राविधिक दक्षताकै कारण उनलाई चिकित्सा शास्त्र राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर हस्पिटलका प्राध्यापक, मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका भिजिटिङ्ग प्राध्यापक आदिको जिम्वेवारी प्राप्त छ । सन् २००९ यता उनी राष्ट्रपतिका चिकित्सक समेत रहेका छन् । राष्ट्रले उनको योगदानको कदर गर्दै सन् २०१६ मा उनलाई सुप्रबल जनसेवा श्री द्वारा विभूषित गरिएको थियो भने हालै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा उनलाई विज्ञान पुरस्कारबाट सम्मानित गरिएको थियो । विगत ४ वर्षदेखि उनी नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागका पूर्णकालीन निर्देशकका रुपमा कार्यरत रहँदै नियमित रुपमा बहिरङ्ग÷अन्तरङ्ग सेवाका साथ मुटुरोग उपचारका सबै खाले इन्टरभेन्सनल प्रविधिहरुको उच्चतम प्रयोग गरिरहेको छन् ।

प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा

काठमाडाैं ।  प्रधानमन्त्री केपी ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टरमा पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि बिहिबार अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस सुरु भएको छ । ग्रान्डी इन्टरनेसनल अस्पतालमा चार पटकसम्म डायलासिस गरेपछि ओलीको नियमित डायलासिस सेन्टरमा भइरहेको छ । प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको हो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ। गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो।

पोहोरको फ्रिज बजेट जोड्दा पूँजीगत खर्च धेरै देखिन्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गत आर्थिक वर्षको फ्रिज बजेटको हिसाव नगर्दा यो वर्ष पूँजीगत खर्च कम भए जस्तो देखिएको बताएका छन् । गत वर्षको बजेटसँग यो वर्षको खर्च तुलना गर्दा खर्च कम भएको देखिएको उनले बताए । प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको चौमासिक अवस्थाका बारेमा भएको छलफलमा मन्त्री खतिवडाले यस्तो बताएका हुन् । ‘गत वर्ष फ्रिज भएको बजेट यो वर्ष खर्च भइरहेको छ, यस्तो खर्चको हिसाव भएको छैन, यो वर्ष विनियोजन गरिएको बजेट मात्रै कति खर्च भयो भनेर हाम्रो संयन्त्रले देखाउँछ, गतवर्षको खर्च र यो वर्षको खर्च तुलना गर्ने संयन्त्र भएको भए यस्तो देखिने थिएन,’ डा. खतिवडाले भने । चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको बजेटको अहिलेसम्म करिब २० प्रतिशत मात्रै पूँजीगत बजेट खर्च भएको छ । खर्च कम भयो भन्दै सरकारको आलोचना भइरहेको छ । यही सन्दर्भमा समितिले अर्थमन्त्रीसहित सरोकारवाला विकासे मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । अर्थमन्त्रीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा भएको पूँजीगत खर्चप्रति भने असन्तुष्टि जनाए । खर्च कम भएकोप्रति मन्त्री खतिवडा सन्तुष्ट देखिएनन् । सरोकारवाला मन्त्रालय र निकायका अधिकारीहरु पूँजीगत बजेट खर्च गर्न तर्सिएका कारण खर्च कम भएको उनको दाबी छ । मन्त्री खतिवडाले कानुन र नियमअनुसार काम गर्दा कसैले पनि तर्सिनु र डराउनु नपर्ने उनको भनाइ छ । देश संघीयतमा गएपछि निर्माण भएका ३ तहकै सरकारको ध्यान सडक निर्माणतिर मात्रै केन्द्रित भएको भन्दै मन्त्री खतिवडाले गुनासो गरे । अहिले बनेका ७ सय ६१ वटा स्थानीय तह पनि सडक निर्माणमा मात्रै लागेकोले पनि बजेट खर्च कम भएको उनको भनाइ छ । ‘स्थानीय तह, प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म सडक निर्माणमा मात्रै लागिरहेका छन्, यो प्रवृत्तिका कारण पनि खर्च कम भएको हो,’ मन्त्री खतिवडाले भने । अर्थसचिव डा. राजन खनालले पूँजीगत बजेट खर्च कम भएको देखिएपनि भौतिक प्रगति भने सन्तोषजनक रहेको दाबी गरे । भौतिक र वित्तीय प्रगति सँगै जानुपर्ने डा. खनालको भनाइ छ । गत वर्ष भूकम्पपछिको पुनर्निर्माणका लागि एकैचोटी धेरै रकम निकासा भएकोले गत वर्षको तुलनामा कम खर्च भएको देखिएको सचिव खनालले वताए ।

प्रभुु क्यापिटल र समृद्धि क्यापिटल एकापसमा गाभिँदै, चुक्ता पुँजी ८० करोड पुग्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिने भएको छ । उक्त मर्जर सम्बन्धी समझदारी पत्रमा प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एल पी भानु शर्माले हस्ताक्षर गरेका हुन् । समारोहमा प्रभु बैकका अध्यक्ष देवि प्रकाश भट्टचन, सञ्चालकहरु रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल तथा समृद्धि क्यापिटल लिमिटेडका सञ्चालकहरुको उपस्थिती थियो । यी दुई क्यापिटल गाभिएपछि प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमति भएको छ । मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने छ ।

काठमाडौं । अघिल्लो वर्षको फ्रिज बजेटले गर्दा चालु आर्थिक वर्षको पहिलो चौमासिमा २० प्रतिशत मात्रै खर्च भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । उनले भने हामीले अघिल्लो आर्थिक वर्षको फ्रिज बजेटलाई हिसाव नगरी यो आर्थिक वर्षको बजेटलको खर्चलाई मात्रै लिएको कारणले २० प्रतिशत मात्रै खर्च भएको देखिएको बताए । व्यवस्थापिका संसदको अर्थसमिति बैठकमा समितिले चालु आर्थिक वर्षको आर्थिक अवस्थाको बारेमा पहिलो चौमासिक अवस्थाबारे अर्थमन्त्रीसहित सरोकारवाला मन्त्रालयका मन्त्री, सचिव र सहसचिव लगाएतकालाई राखेर छलफल गरेको हो । अर्थमन्त्रीले पहिलो चौमासीकमा २० प्रतिशत मात्रै खर्च हुनु सकारात्मक नरहेको बताए । कर्मचारी तन्त्र तर्सिएको कारणले पनि थोरै मात्रामा खर्च भएको हो । कानुन र नियम अनुसार काम गर्दा कोही तर्सिन र ठराउन पर्दैन । ७६१ वटा सरकारहरु नै सडक निर्माणमा मात्रै लागेकाले पनि बजेट खर्च काम भएको हो । स्थानीय तह, प्रदेश सरकार देखि केन्द्र सरकारसम्म सडक निर्माणमा मात्रै लागि रहेको छ । मन्त्रीले बजेट खर्च गर्न ऐन बाधक नबनेको समेत बताए । अर्थ मन्त्रालयका सचिव डा राजन खनालले भौतिक प्रगती भएको देखिए पनि विक्तिय प्रगती नदेखिएको बताए । उनले भौतिक र विक्तिय प्रगतीसँगसगै लैजानु पर्ने बताए । उनले अघिल्लो वर्ष भुकम्प लागि एकै पटक ठुलो रकम खर्च भएकोले यस वर्षको भन्दा धेरै देखिएको हो । यस वर्ष पनि काम नै नभएको भने हैन । ठुला ठुला परियोजनको दातृ निकायको लगानी फुकुवा गर्न नसकिएको कारणले पनि खर्चमा कमी देखिएको उनले बताए ।

डीएभी माध्यमिक विद्यालयको २७ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । ललितपुरस्थित डीएभी शुशील केडिया विश्व भारती विद्यालयको २७औँ वाषिर्कोत्सव विद्यालयको बुद्ध प्रेक्षालयमा सम्पन्न भएको छ । समाराेहमा  प्रमुख अथिति नेपालस्थित भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन, डा. अजय कुमारलगायत नेपालका शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु उपस्थित भएका थिए । उक्त कार्यक्रममा विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई वार्षिक पुरस्कार वितरण गरिएको थियो । विश्व साहित्य, संस्कृति, भाषा र कला क्षेत्रमा संग्लग्न रहेका मिडियाकर्मीहरुको लागि उक्त दिन प्रदर्शनमा रहने विश्व साहित्यमा लिखित तर लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक धरोहर र सम्पदाहरू सम्मिलित साङ्गितिक नाट्य यात्रा जीवनको विलक्षण अनुभव गरिएको थियो । सांस्कृतिक कार्यक्रमका वर्षभरिकै छानिएका र तिखारिएका सर्वोत्कृष्ट विद्यार्थीहरुको प्रदर्शन रहेको थियो ।

अर्थमन्त्री भन्छन्ः पहाड फोर्नुपर्नेछ, संसद सहयोग गरिदिनु पर्यो

फाइल फोटो काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास निर्माणको लागि आवश्यक काम गर्न संसदको सहयोग मागेका छन् । व्यवस्थापिका संसदको अर्थसमिति बैठकमा मन्त्री खतिवडाले संसदको सहयोग मागेका हुन् । समितिले चालु आर्थिक वर्षको आर्थिक अवस्थाको बारेमा पहिलो चौमासिक अवस्थाबारे अर्थमन्त्रीसहित सरोकारवाला मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको हो । सो छलफलमा मन्त्री खतिवडाले विकास निर्माणको लागि नदीजन्य पदार्थको प्रयोगले मात्रै नपुग्ने भएकोले पहाड फोर्नुपर्ने र त्यसको लागि संसदको सहयोग आवश्यक हुने बताए । छलफलमा विकास निर्माणमा सक्रिय मन्त्रालयहरुका अधिकारीहरुले नदीजन्य पदार्थको प्रयोगमा समस्या उत्पन्न भएकोले विकास आयोजनाहरुलाई समयमै अघि बढाउन बाधा पुगेको धारणा राखे । वातावरणीय प्रभाव जस्ता विषयले नदीजन्य पदार्थको प्रयोगमा समस्या उत्पन्न भएको अधिकारीहरुको भनाइ छ । छलफलमा मन्त्री खतिवडाले ठूलो परिमाणमा विकास निर्माणका कामहरु गर्नुपर्ने भएकोले नदीजन्य पदार्थले मात्रै नपुग्ने बताए । ‘हामी एकैचोटी ठूलो परिमाणमा विकास निर्माणका कामहरु गरिरहेका छौं, यस्तो कार्यको लागि नदीजन्य पदार्थले मात्रै पुग्दैन, पहाडै फोर्नुपर्ने हुन्छ, यसका लागि संसदले पनि आवश्यक सहयोग गरिदिनु पर्यो,’ मन्त्री खतिवडाले भने । सरकारले ठूला विमानस्थल, रणनीतिक राजमार्ग, रेल मार्ग जस्ता ठूला परियोजना अघि सारेकोले त्यसको कार्यान्वयनका लागि ठूलो परिमाणमा निर्माण सामाग्री आवश्यक पर्ने उनको भनाइ छ ।