११ दिनदेखि घाम नउदाउँदा महोत्तरीमा अत्याधिक जाडो, जनजीवन प्रभावित
महोत्तरी। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो कुहिरोले पुस १ गतेदेखि नै यहाँको वातावरण बिग्रेर मानिस, चौपाया, पशुपक्षी तथा बालीनाली सबैलाई प्रभावित पारेको छ । चिसो स्याँठका बीच यहाँका मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको छ । त्यस्तै विभिन्न बारी तथा खेतहरुमा लगाइएको हिउँदे बाली दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेको जिल्लाका किसानले बताएका छन् । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा वृद्धि भएको छ । अत्यधिक चिसोले जिल्लाको हाट बजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि जिल्लाको स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सकले बताएका छन् ।
१२ वर्षदेखि जाजरकोटका दर्जनभन्दा बढी सडक र पुल निर्माण अलपत्र
जाजरकोट। जाजरकोट भएर बाहिरी जिल्ला जाने रणनीतिक सडक निर्माण कार्य सुस्त हुँदा स्थानीयवासीलाई सास्ती हुँदै आएको छ । जाजरकोट–ब्युलीढुङ्गा–जुम्ला सडक निर्माण थालेको १२ वर्ष पुगे पनि ८० किलोमिटर सडकको ४० किलोमिटर पनि ट्र्याक खुल्न सकेको छैन । जुम्ला जोड्ने यो सम्भावित रणनीतिक मार्गमा करिब रु २५ करोड खर्च भइसकेको छ । अर्को ९० किमि लामो जाजरकोट छेडा–चाँदे–जुम्ला सडकको ३५ किमि मात्र निर्माण भएको छ । बाह्र वर्षअघि काम शुरु भएको उक्त सडकमा रु ३० करोड खर्च भइसकेको छ । त्यस्तै, १४० किमि लम्बाइको जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडकको काम ३० किमिमा सीमित छ । रु २० करोड खर्च भइसकेको सो सडकको निर्माण ठप्प छ । जाजरकोट–जुम्ला जोड्ने यी तीनवटा रणनीतिक मार्गको निर्माण सुस्त छ । उक्त मार्गको पूरा ट्र्याक खोल्न सम्बन्धित निकायले ध्यान नदिँदा समस्या हुँदै आएको हो । बजेट अभाव र सम्बन्धित निकायको चरम ढिलासुस्तीले निर्माणमा चुनौती थपिँदै आएको छ । जाजरकोट–डोल्पा अर्थात् भेरी करिडोर र मध्यपहाडी लोकमार्गको निर्माण पनि सुस्त छ । जुम्ला जोड्ने रणनीतिक मार्ग प्रदेश सरकार मातहतमा आएकाले निर्माणमा अन्योल देखिएको सडक डिभिजन चौरजहारीका इञ्जिनीयर कुशल भुसालले बताए । विगत वर्षसम्म जे जति निर्माण भए पनि बाँकी कार्य प्रदेश सरकार मातहतका कार्यालयले हेर्ने निर्णय भएको उनको भनाइ छ । रणनीतिक सडकको बजेटबारे जानकारी नभएको र कार्यालयमा बजेट पनि नआएको उनले जानकारी दिए । डिभिजन कार्यालयमा भेरी करिडोर, लुम्बिनी–रारा सडक र अन्य केही साना सडकका लागि बजेट आएको उनले जानकारी दिए । कार्यालयका अनुसार भेरी करिडोर स्तरोन्नतिका लागि २२ करोड र लुम्बिनी–रारा जोड्ने दुई सडकको सर्भे डिजाइनका लागि रु एक÷एक करोड बजेट आएको छ । भेरी करिडोर सडकको बहुवर्षीय ठेक्काका लागि सम्बन्धित निकायसँग सहमति लिने प्रक्रियामा छ । डिभिजन कार्यालयलाई तीन सम्भावित रणनीतिक मार्ग र २८ क्षेत्रीय तथा शहरी सडक निर्माणको जिम्मा थियो । सङ्घीय संरचनासँगै केही सडक प्रदेश र केही स्थानीय तहअन्तर्गत सारिँदा निर्माण सुस्त भएको हो । कुनै सडकमा मनोमानीे सर्भे तथा रेखाङ्कन, कुनैमा कडा चट्टान कटिङ नगर्दा र कुनैमा नाली, तारजाली–वाल, ढल निकास र ग्राभेललगायत स्तरोन्नति नहुँदा अलपत्र परेका हुन । कर्णाली प्रदेश सरकारले पनि उक्त सडक निर्माणका लागि हालसम्म पहल गरेको छैन । रणनीतिक मार्ग चौडा बनाउने, नाली, तारजाली–वाल, ढल निकास र ग्राभेललगायत स्तरोन्नति गर्ने त परको कुरा, ट्र्याक खोल्ने कार्य नै अलपत्र छ । त्यस्तै तीनवटै रणनीतिक राजमार्गको ग्रेडिङ तथा घुम्तीको ‘स्पेस’ नमिलेको र विभिन्न खोलामा पुल हाल्न ढिलाइ भएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताए । ट्र्याक खोल्नै करोडौँ खर्च भएका यी सडकमा यातायातका साधन नगुड्दा लगानी खेर गएको उनको भनाइ छ । सडक खण्डको गारराङ्सीदेखि नाउलीसम्मको रेखाङ्कन गाडी चढ्नै नसक्ने गरी भएको रावलको भनाइ छ । पछिल्लो समय मध्यपहाडी लोकमार्ग स्तरोन्नति अगाडि बढेको छ । आयोजनाको ट्र्याक खोलिएको आठ वर्षपछि स्तरोन्नति थालिएको हो । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना (पश्चिम खण्ड) दैलेखले जाजरकोट खण्डको कुदुदेखि कार्कीगाउँसम्मको ३५ किमि सडक पहिलो चरणमा कालोपत्र शुरु गरेको जनाएको छ । एक अर्बको लागतमा शर्मा सिंह एण्ड ब्रदर्स जेभी काठमाडौँले कालोपत्र गर्न लागेको व्यवसायी विश्वास उप्रेतीले बताए । त्यस्तै जाजरकोट–डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि भेरी करिडोरअन्तर्गतको जाजरकोट डोल्पा सडकको जिरो प्वाइन्ट पासागाडदेखि नै स्तरोन्नति अघि बढ्न सकेको छैन । एक सय १८ किमि जाजरकोट–डोल्पाको पहिलो चरणको सडकको ट्र्याक मात्र खोलिएको छ तर, सो सडकअन्तर्गत पर्ने दर्जनभन्दा बढी खोलामा पुलको निर्माण तथा स्तरोन्नति नहुँदा यातायात सञ्चालनमा समस्या भएको स्थानीयवासी बताउँछन् । रासस
साना सहकारीलाई एकीकरण गर्दै काठमाडौ महानगरपालिका
काठमाडौं। काठमाडौं महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उनले मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले व्यवस्थापन गर्न एकीकृत प्रणाली लागू गरिएको जानकारी दिए । सञ्चालनमा रहेका एक हजार ८५६ सहकारीलाई एकीकृत गरी ७०० बनाउने लक्ष्य लिइएको छ । सहकारी ऐन २०७४ तथा कामपाको सहकारी ऐन २०७४ मा एकीकृत गर्न सकिने प्रावधान रहेको छ । एकीकृत हुन दुई सहकारी एकअर्कामा तयार रहनुपर्छ । दुई महिनाअघि मात्र कापमाले वडा नं २४मा रहेकोे विराज बचत तथा ऋण सहकारी र वडा नं १३ को सप्तदीप बहुउद्देश्यीय सहकारीलाई एकापसमा एकीकरण गरी ‘सप्तदीप बचत तथा ऋण सहकारी संस्था’ सञ्चालन प्रक्रिया शुरु गरिएको थियो । त्यस्तै वडा नं २२ मा रहेको सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था र ३२ वडाको तपस्वी बचत तथा ऋण सहकारीलाई एकीकरण गरी ‘सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था’ सञ्चालन भइरहेको छ । एकीकृत हुने सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । सर्वसाधारणलाई ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्यौट भइसकेको विभागले जनाएको छ । यसैगरी कामपा २९ वडामा सञ्चालनमा रहेको युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ । कामपा कार्यपालिका बैठकले एक महिनाअघि सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । विसं २०६४ मा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक विसं २०७४ बाट सम्पर्क्विहीन भएको जनाइएको छ । प्रशासन विभाग प्रमुख ढकालका अनुसार सो सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए । यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रिपरिषद्मा लानुपर्ने कानूनी प्रावधान रहेको थियो ।
भक्स्वागन विन्टर अफर: आकर्षक नगद छुटदेखि १ वर्ष नि:शुल्क बीमा सम्म
काठमाडौं। भक्स्वागन नेपालको लागि अधिकारिक विक्रेता रहेको पूजा ईन्टरनेसनलले ‘ भक्स्वागन विन्टर अफर’ ल्याएको छ। जाडो र नयाँ वर्षको आगमनसँगै पूजा ईन्टरनेसलले ‘भक्स्वागन विन्टर अफर’ को ल्याएको हो। यो अफर डिसेम्बर २५ देखी जनवरी १५ सम्म रहने कम्पनीले जनाएको छ। यो अफर अन्तर्गत ग्राहकहरूले जर्मन टेक्नोलोजीको एक साँचो मास्टरपिसको स्वामित्व पाउनुको साथै आकर्षक नगद छुट, एक वर्ष नि: शुल्क बीमा, सजिलो वित्त र एक्सचेन्ज सुविधा, विदेश यात्रा, आगामी वर्षको सडक कर निशुल्क नेपालभरको भोल्क्स्वागनको सोरुमबाट २ वर्षको लागि असीमित किलोमिटर वारेन्टी रहेको छ। भक्स्वागनका कारहरू यसको उच्च गुणस्तर र यसको स्टाईल (निर्माण गुणवत्ता, सुरक्षा मानक, प्रदर्शन, आराम र शक्ति) को लागि परिचित छ। भक्स्वागनकाे विभिन्न आकारका कम्प्याक्ट, सानो र मध्यम आकारको यात्री कारहरू रहेका छन्।
प्रभु बैंकद्वारा जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गमा एक्स्टेन्सन काउण्टर सुरु
काठमाडाैं । ग्राहकहरुको सेवालाई मध्येनजर गर्दै प्रभु बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गमा नयाँ एक्स्टेन्सन काउन्टर सुरु गरेको छ । बैंकले जिल्लाको बाग्लुङ्ग नगरपालिकास्थित वडा नं ३ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालन गरेको हो । एक्स्टेन्सन काउण्टरको उद्घाटन बाग्लुङका प्रमुख जिल्ला अधिकृत लुक बहादुर क्षेत्रीले गरेका छन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको जनाएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको विश्वास छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटीएम ३९ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
संसदको पहिलो कार्यसूचीमा सभामुख चयन, कसले मार्ला बाजी ?
काठमाडौं । संसद सचिवालयका कर्मचारीमाथि यौनहिंसाको आरोप लागेर निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ । आज (११ पुस) बोलाइएको प्रतिनिधिसभा बैठकको पहिलो कार्यसूचीमा सभामुख निर्वाचन गर्ने भन्ने छ । तर, सभामुख पदका लागि सत्तारुढ नेकपाले कसलाई अघि बढाउँछ भन्ने अझै यकिन छैन । उपसभामुख डा. शिवमाया तुम्बाहम्फे आफै सभामुख बन्ने योजनामा छन् । तुम्बाहम्फे नै सभामुख बन्न पनि उनले उपसभामुख पदबाट राजीनामा दिनुपर्छ । तुम्बाहम्फेले अझै राजीनामा दिएकी छैनन् । नेकपाले तुम्बाहम्फेलाई उपसभामुखबाट राजीनामा गराएर सभामुखमा अर्को व्यक्ति ल्याउने प्रयास गरेको छ । तर, आफै सभामुख हुन पाउनु पर्ने तुम्बाहम्फेको जोड छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले तुम्बाहम्फेलाई राजीनामा दिएर नेकपाले सभामुख पाउने संबैधानिक बाटो खुल्ला गरिदिन आग्रह गरिसकेका छन् । संविधानले सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने परिकल्पना गरेको छ । निवर्तमान सभामुख महरा एमाले र माओवादी एकीकरण हुनुअघि माओवादीको तर्फबाट सभामुख भएका थिए । अहिले पार्टी एकीकरण भएर नेकपा बनेको छ । नेकपा उच्च स्रोतले भने डा. तुम्बाहम्फेले उपसभामुख पदबाट राजीनामा गर्ने दाबी गरेको छ । डा. तुम्बाहम्फेले उपसभामुखबाट राजीनामा गर्ने, उपसभामुख पदमा नेकपा बाहेकको दल (सम्भवतः राजपा) लाई दिने र सभामुखमा नेकपाको प्रभावशाली नेता पठाउने गृहकार्य गरेको छ । यस्तो गृहकार्यमा डा. तुम्बाहम्फेलाई मन्त्री बनाउने भन्ने छ । तर, तुम्बाहम्फेले तत्काल मन्त्री नबन्ने बताउँछै आएकी छन् । त्यसैले आगामी चैतमा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिने र सो बेला डा. तुम्बाहम्फेलाई मन्त्री बनाउने रोडम्याप नेकपाले बनाएको छ । तर, तुम्बाहम्फेले नै अर्थमन्त्रालय पाउने भन्ने होइन । नेकपाले राजपालाई सरकारमा ल्याउन विशेष पहल गरिरहेकोले तत्काल मन्त्रिपरिषद पुनर्गठन हुने सम्भावना पनि छ । मन्त्रिपरिषद पुनरगठन भइहालेको अवस्थामा तुम्बाहम्फे चाढै नै मन्त्री बन्ने सम्भावना पनि छ । यस्तो अवस्थामा नेकपामा सभामुख पदका लागि खास गरी ३ जना प्रतिस्पर्धी देखिएका छन् । पूर्व एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ तथा पूर्व माओवादीका तर्फबाट अग्नी सापकोटा र पम्फा भुसालले दाबी गरिरहेका छन् । पार्टी एकीकरणअघि पूर्वमाओवादीले पाएको पद अहिले पनि पूर्वमाओवादीले नै पाउनु पर्ने दाबी सापकोटा र भुसाललाई सभामुख बनाउनु पर्छ भन्नेहरुको छ । तर, पार्टी एकीकरणपछि को कुन, को कताको भन्ने अर्थ नै नरहने पूर्व एमालेहरुको भनाइ छ । नेता सापकोटा र भुसालमाथि सशस्त्र विद्रोहको बेलाका मुद्दा बाँकी रहेको र संविधानसभाबाट संविधान बनाउन अध्यक्षको रुपमा नेम्बाङले प्रभावकारी भूमिका खेलेको भन्दै नेम्बाङलाई नै पुन सभामुख बनाउने लबिङ पनि चलिरहेको छ ।
बागलुङमा केवलकार, हाेटल र सपुरमार्केट बनाउने चन्द्र ढकाल र मिनबहादुर गुरूङकाे घाेषणा
गलकोट । सफल उद्यमीहरू शेखर गाेल्छा, चन्द्रप्रसाद ढकाल र मिन बहादुर गुरूङले बाग्लुङमा ठूला परियाेजनामा लगानी गर्ने घाेषणा गरेका छन् । चन्द्रप्रसाद ढकाल हाेटल र केबुलकारमा लगानी गर्न लागेकाे बताएका छन् भने जग्गा उपलब्ध भएमा १८ महिनाभित्र भाटभटेनी सुपर मार्केट खाेल्ने बताएका छन् । त्यस्तै, गाेल्छाले स्थानीयसँग मिलेर कृषिमा अाधारित उद्याेग खाेल्न तयार भएका बताएका छन् । बागलुङ जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि लगानी बहसमा भाग लिदै उनीहरूले यस्ताे घाेषणा गरेका हुन् । ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक लगानी बहसमा उपस्थित नेपालकै ठूला तथा स्थापित उद्योगी व्यसायीले बागलुङ जिल्लामा अनेक लगानीको सम्भावना रहेको भन्दै लगानी गर्ने घाेषणा गरेका हुन् । लगानी बहसमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेशनका शेखर गोल्छाले नेपालमा राजनीतिक सङ्कटमा समेत ठूला उद्योग सञ्चालनका लागि आफू सफल भएको भन्दै अहिले केही सहज वातावरण बन्दै गएको बताए । उनले बागलुङमा कृषि उद्योगको सम्भावना रहेको बताए । स्थायी सरकार आउँदा उद्यमीलाई सकारात्मक वातावरण मिल्दै गएको बताउदै गोल्छाले बागलुङ लगानीको निकै सम्भावना भएको क्षेत्र भएकाले स्थानीयको सहलगानीमा कृषि उद्योग सञ्चालन गर्ने आश्वासन समेत दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले पर्यटनको क्षेत्रमा बागलुङमा लगानी भित्र्याउन आफू तत्पर रहेको बताउँदै सम्भावनको खोजी गरिरहेको जानकारी दिए । आफ्नै गृह जिल्ला भएकाले पनि बागलुङमा केही लगानी गर्ने योजनामा रहेको भन्दै ढकालले केबलकारसहितको चारतारे होटल बागलुङमा राम्रो चल्ने आफूले विश्वास लिएको बताए । उनले पञ्चकोट तथा भैरवस्थानमा केबलकार सञ्चालनका लागि आफूले अध्ययन गरिरहेको बताए । यस्तै भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफ्नो सफलताको सूत्र बागलुङका उद्यमीलाई सुनाए । उनले जग्गा व्यवस्थापन भएमा १८ महिनाभित्रै भाटभटेनीको शाखा बागलुङमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए । शुक्रबारदेखि शुरु हुने छैटौँ बागलुङ महोत्सवको पूर्वसन्ध्यामा लगानी बहसको आयोजना गरिएको हो । सम्मेलनमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लगानीको वातावरण बनाउन प्रदेश सरकार इच्छुक रहेको भन्दै ढुक्क भएर ठूला उद्योगमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । उनले हरेक व्यवसायीले धैर्य गरेमात्र प्रतिफल प्राप्त गर्न सकिने भएकाले पनि लगानी गर्दा दीर्घकालीन सोचका साथ गर्न आग्रह गरे । “सरकारले रातारात परिवर्तन गर्न सक्दैन, एक वर्षमा प्रतिफल पाउन धान रोप्नुपर्छ, उद्योगमा लगानी गरेपछि प्रतिफल पाउन धेरै समय लाग्छ ।” गुरुङले भने। अहिले प्रदेश सरकारले प्रदेशको सम्भावनालाई उजागर गर्दै पर्यटन, जलविद्युत्, कृषिलगायतको क्षेत्रमा लगानी गरिरहेको उनले बताए । लगानी बहसको सहजीकरण प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले गरेका थिए भने लगानीको समस्या चुनौती र सम्भावनाको विषयमा सांसद देवेन्द्र पौडेल, डा सूर्य पाठक, पर्यटन अभियानकर्मी खिमानन्द कँडेललगायतले टिप्पणी गरेका थिए । लगानीको वातावरण गराउन तीन तहको सरकारले आवश्यक कदम चालेमा जलविद्युत्, केबलकार, स्टार होटल तथा सुपरमार्केट, कृषि उद्योग सञ्चालनका लागि आफूहरु तयार रहेको लगानीकर्ताले बताएका छन् ।
ठग्ने विरुद्ध घरबाटै उजुरी दिन रूचाएनन् उपभोक्ताले, २ महिनामा २२ वटा मात्रै उजुरी
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको गुनासो सुनुवाई गर्न सुरुवात गरेको मोबाईल एपमा उपभोक्ताको रुचाएनन् । गुनासो दिन मिल्ने मोबाईल एप सुचारु भएको २ महिना वितिसक्दा पनि २२ वटा मात्रै गुनासो गरेका छन् । अनलाइन सपिङमा विद्युतीय सामग्री, लुगाफाटा, भाडा, फर्निचर, औषधि र कस्मेटिक्सलगायतका बस्तुहरु सस्तोमा भनेर सजिलै विज्ञापन गरेको देख्न सकिन्छ । यसरी झुठो र भ्रमपूर्ण विज्ञापन गरी व्यापारिक कारोबार भइरहेको छ । यस्ता प्रविधिमार्फत हुने व्यापारिक कारोबारबाट धेरै उपभोक्ता ठगिएको गुनासो आइरहेको विभागले जानकारी दिएको छ । सोसल मिडियाको प्रयोग गरी अनलाइन सपिङबाट समान किन्दा ठगियो भनेर एपमा उजुरु गरे पनि कारवाही गर्ने कानुन छैन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले यस्ता व्यवसायलाई कानुनी दायरामा ल्याउन कानुन निर्माण गर्न लागिएको बताए । सामाजिक सञ्जाल र वेवसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ता ठगेको गुनासो बढेपछि सरकारले उनीहरूलाई कानुनी दायरामा ल्याउन लागेको उनले बताए । विभागमा नै आएर २ महिनामा १ सय ९५ वटा ठगी गरेको भनेर उजुरी आएका थिए । जसमा कात्तिकमा ८५ र मंसिरमा १ सय १० वटा उजुरी आएको थियो । एप थालनीको दुई महिनामा जम्मा २२ वटा मात्रै गुनासा आउनु दुखद रहेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । एपलाई प्रभावकारी बनाउन कानुन र प्रविधिलाई बलियो बनाउन लागिएकाे उनकाे भनाइ छ । मासु, कपडा, तरकारी लगायतका विषयमा एप मार्फत उजुरी आएको र हरु महानिर्देशक सुवेदीले बताए । गत कात्तिक ८ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले एपको सुरुवात गरेका थिए । उनले भनेका थिए विभामा यो एपका लागि छुटट्ै कर्मचारी नै राखेर अगाडी बढछ । तर एपका लागि भने छुट्टै कर्मचारीको व्यवस्था नभएको विभाग बताउछ ।