पूर्व अर्थमन्त्री महत भन्छन्-लगानी सम्मेलन आवश्यक छ, तर सरकारले पर्याप्त छलफल गरेन
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले भने,‘मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ, त्यसैले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य छ, तर यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो भएको छैन् ।’ बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता महतले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको सुनाए । उनले भने,‘गिरिजाबाबुले विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गर्नुभयो, उहाँले उदार आर्थिक नीति ल्याउनुभयो । बास्तवमा गिरिजाबाबुले आधुनिक नेपालका लागि ठूलो काम गर्नुभएको छ ।’ उनले वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेकोमा खुशी व्यक्त गरे । उनले थपे,‘यो त खुशीको कुरा हो, सम्मेलन सफल होस भन्ने हाम्रो शुभकामना छ, यो अति आवश्यक थियो । विदेशी लगानी नबढाई मुलुक विकास हुन सक्दैन् ।’ विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने उनको सुझाव थियो । उनले भने,‘अहिले केही नयाँ कानुनहरु पारित भएका छन्, तर विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाईएको भनिएको छ ।’ महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको सुनाए । उनले भने,‘उद्योग–धन्दा, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी छ ।’ लगानीको लागि ऐन, कानूनहरु बनाएरमात्रै नहुने उनको धारणा छ । उनले थपे,‘यी सबै कुराहरु अब व्यवहारिक रुपमा लागु गर्नुपर्छ । मिठा र राम्रा कुरा गरेर हुँदैन् ।’ महतले विदेशी लगानी भित्र्याउनको लागि पहिले नेपालका सडकहरु, विमानस्थललगायत पूर्वाधारको विकास र स्तरोन्नती गर्नुपर्ने पनि सुझाए । उनले भने,‘तर, हाम्रो सरकार अदक्ष छ, कुनै पनि कुरामा दक्षता देखाएन् ।’ त्यस्तै, उनले लगानी सम्मेलनको लागि प्रशासनिक तथा व्यवस्थापकीय पाटो पनि चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए । तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै उनले उक्त सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे ।
मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बीमा सेवा सम्झौता
काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले सम्पूर्ण शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। महालक्ष्मी लाईफ इन्स्योरेन्सले सार्वधिक बीमा योजना,डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै गत माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ। महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज,इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ । साथै, यहि चैत महिनाभित्र काठमाडौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ । सम्झौतामा मुक्तिनाथ बिकास बैंकको तर्फबाट कार्य वाहक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ्ग र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई र नेपाललाइफबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र नेपाललाइफ इन्सुरेन्स कम्पनीलि.बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३४ वटै शाखाहरु मार्फत नेपाललाइफ इन्सुरेन्स कम्पनी लिको जीवन बीमायोजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्तगर्न सकिने छ । उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका तर्पmबाट सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र नेपाललाइफ इन्सुरेन्स कम्पनी लिको तर्पmबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन् ।
सेयर बजार करेक्सनतर्फ, २५ करोडको कारोबारमा सबैभन्दा बढी ग्लोबल आईएमईको
काठमाडौं । सेयर बजार पुनः करेक्सनतर्फ लागेको देखिएको छ । अघिल्लो साता निरन्तर घटेर ११०० अंकमा झरेको नेप्से गत साता लगातार बढेर परिसूचक ११६३ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने नेप्से घटेर बिहीबार ११४० अंकमा आइपुगेको छ । बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि गिरावट देखिएको छ । गत साताको कुनै दिन आधा अर्बको सेयर किनबेच भएको बजारमा बिहीबार जम्मा २५ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल १६९ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको संस्थापक(प्रमोटर) सेयर बिक्री भएको छ । बैंकको एकैदिन एक करोड ८२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १७४ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन दुई समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा ६६ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा ६२ अंकले घटेको छ भने बाँकी समूह सामान्य एकल अंकले ओरालो लागेका छन् । उता उत्पादनमूलक र अन्य समूह क्रमशः १.१६ र २.२२ अंकले बढेर हरिया देखिएका छन् । बजारमा सबैभन्दा बढी आशा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले प्रतिकित्ता ९.९१ प्रतिशत कमाएका छन् । बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ५१० रुपैयाँ रहेको छ । सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.७४ प्रतिशतले घटेको छ ।
शिक्षक बनाउने नयाँ कार्यक्रम ल्याउँदै खुला विश्वविद्यालय, विद्यार्थीलाई युजर नेम र पासवर्ड !
काठमाडौं । शिक्षक बन्नको लागि लाइसेन्स चाहिने र त्यसको लागि शिक्षा शास्त्र संकायमा अध्ययन गर्न कलेज जाने दिनको अन्त्य हुने भएको छ । खुला विश्वविद्यालयले एक वर्षे वीएड सरह मान्यता प्राप्त हुने गरी ‘खुला सिकाइमा आधारित एक वर्षे शिक्षक पेशागत विकाश तालिमको पाठ्यक्रम’ ल्याउने भएको छ । शिक्षक बन्न शिक्षा शास्त्र संकायको शैक्षिक योग्यता हासिल गर्न कलेज नै जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको हो । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल र विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको उपस्थितिमा केन्द्रका उपमहानिर्देशक खगेन्द्रप्रसाद नेपाल र विश्वविद्यालयका डीन प्राडा रामचन्द्र पौडेलबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । उपकुलपति प्राडा लेखनाथ शर्माले भने ‘पाठ्यक्रम लगायत सामाग्री बिकाशका पूर्वाधार वैशाख भित्र बनिइसक्ने छ ।’ अब आउने शैक्षिक सत्रबाट कक्षा सञ्चालमा आउने छ । प्राविधिक धारका विद्यालयहरुमा अध्यापनरत प्राविधिक जनशक्तिहरु पनि लाभान्वित हुने छन् । अध्ययन गर्ने विद्यार्थी स्नातक उत्तीर्ण वा सो सहर हुनु पर्ने शर्माले बताए । २०६९ सालदेखि प्राविधिक धारको पढाई संचालन गर्न थालिएपछि जनशक्ति अभावका कारण प्राविधिक विषयको अध्यापनको लागि लाइसेन्स नभएका हजारौ शिक्षक कार्यरत रहेका छन् भने निजी विद्यालयहरुमा अध्यापनरत शिक्षकहरुलाई समेत यो नयाँ व्यवस्थाले राहत मिल्ने देखिन्छ । घरमा नै बसेर यसरी गर्न सकिन्छ अध्ययन भर्ना भएपछि विश्वविद्यलयले विद्यार्थीलाई युजर नेम र पासपोर्ट दिन्छ । त्यसमा फेसबुक म्यासेन्जरमा जसरी नै पढाईको जानकारी लिन र नबुझेका कुरा सोध्न सकिन्छ । विद्यार्थीले आफ्नो विषयको मात्र यसबाट जानकारी लिन पाउछन् ।
जेटको समस्या समाधान गर्न वित्त मन्त्रालय सक्रिय, नरेश गोयललाई हटाउनु पर्ने एसबीआईको शर्त
मुम्बईं । संकटग्रस्त अवस्थामा रहको भारतीय विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजलाई समस्याबाट बाहिर ल्याउन रिज्योलुसन प्लानको कार्यान्वयन सुरु भएको छ । सरकारी स्वामित्वको भारतीय बैंक स्टेट बैंक अफ इन्डियाले सो प्लान तयार गरेको बताइएको छ । जहाज लिजमा लिएबापतको १७ अर्ब भुक्तानीसहित ८५ अर्ब दायित्व भएको उक्त कम्पनीलाई उठाउन साझेदार इतिहाद एयरलाइन्स समेतको चाहना बमोजिम रिज्योलुसन प्लान लागु गर्न लागेको एसबीआई बैंक सम्वद्ध स्रोतलाई उद्घृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बुधबार भारतीय वित्त मन्त्रालयका अधिकारीहरुसमेतको बैठकमा त्यस्तो योजना तयार भएको बताइएको छ । यद्यपि त्यसलाई अन्तिम रुप दिन भने बाँकी छ । जेट एयरवेजलाई वित्तीय संकटबाट बाहिर ल्याएर उडान नियमित गर्न यो प्लान नै अन्तिम भएको बताइन्छ । यसो नहुँदा एयरलाइन्स बन्द हुने अवस्थामा पुग्नेछ भने एयरलाइन्समा कार्यरत २३००० जनाको रोजगारी समेत गुम्नेछ । यो प्लान लागु भएमा जेट वेयरवेजको व्यवस्थापनमा ठूलो परिवर्तन आउनेछ भने नयाँ व्यवस्थापनको गतिविधिलाई शुक्ष्म ढंगले निगरानी गर्न एउटा छुट्टै समिति समेत बन्नेछ । हाल जेट एयरलाइन्समा ५१ प्रतिशत शेयर हिस्स भएका नरेश गोयल पनि शेयर हिस्सेदार कम्पनी र अन्य कम्पनीका अधिकारीहरुसँग वार्ताका लागि दुबईमा छन् र उनले हरेक विकासक्रमहरु सरकारलाई जानकारी गराइरहेका छन् । यो प्लान सफल भएमा गोयलको एयरलाइन्समा हिस्सा आधा भन्दा पनि कममा आउने बताइएको छ । यो प्लान सम्भव नभएको अवस्थामा एयरलाइन्स बन्द हुने र जेटका अन्य जहाजहरु अर्को कम्पनीलाई सञ्चालन गर्न दिने विकल्पबारे पनि छलफल भइरहेको बताइएको छ । एयरलाइन्स सुधारका लागि हाल एयरलाइन्सका कर्मचारीहरुबाट पनि निरन्तर दबाब आइरहेको छ । जेटका ४५ भन्दा बढी जहाजहरुले अहिले उडान भर्न पाएका छैनन् । १२३ जहाज भएको जेट भारतकै सबैभन्दा धेरै प्यासेन्जर बोक्ने विमान कम्पनीको रुपमा परिचित थियो । २४ देशमा दैनिक ७५० ओटासम्म उडान गर्ने उक्त एयरलाइन्सले भारतीय एयरलाइन्सको करिब १३ प्रतिशत प्यासेन्जर हिस्सा ओगटेको थियो, तर अहिले यो दर घटेर ११.९ प्रतिशतमा आइपुग्दा एयर इन्डियाले जेटलाई उछिनेको छ ।
‘आइएमई पे’ बाट इपीएस कोरियन भाषा परीक्षा शूल्क भुक्तानी गर्न सकिने
काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘ आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने भएको छ । चैत ८ गतेदेखि १७ गते सम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘ आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैंले ‘आइएमई पे’ डाउनलोड गरि सिधैं इ.पी.एस कोरिया टोपिक परीक्षा शूल्क भुक्तान गर्न सक्ने छन् । ‘आइएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्ने छन् । परीक्षा शूल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शूल्क चौबिस (२४) अमेरिकन डलर दस्तुर लाग्नेछ । उक्त सम्बन्धित दिनका लागि निर्धारण गरेको विनिमय दरमा हुनेछ । परीक्षा शूल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाएको मोबाइल नम्बरमा एसएमएस मार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नु पर्नेछ ।
ओपोको पहिलो ५जी स्मार्टफोनलाई ५जी सीई सर्टिफिकेट प्रदान
काठमाडौँ । ओपोकोे पहिलो फाइभजी स्मार्टफोन, स्पोर्टन ईन्टरनेसनल ईंकद्वारा आयोजित फाइभजी सीई परीक्षणमा सफलतापूर्वक उत्तीर्ण भएको कम्पनीले घोषणा गरेको छ । योसँगै कम्पनीको पहिलो फाइभजी स्मार्टफोनलाई सीटीसी एडभान्स्ड जीएमबीएचद्वारा फाइभजी सीई सर्टिफिकेट प्रदान गरिएको छ । स्पोर्टन ईन्टरनेसनल ईंक एक वैश्विक निरिक्षण सेवा प्राधिकरण हो । एमडब्ल्यूसी २०१९मा प्रदर्शित ओपोको फाइभजी स्मार्टफोन, सीटीसीद्वारा स्विकृत पहिलो मल्टि फ्रिक्वेन्सी, मल्टि मोड र मल्टि ईएन–डीसी कम्बिनेसन फाइभजी स्मार्टफोन पनि हो । यस फोनले विभिन्न देश तथा क्षेत्रमा लागु गर्न सकिने अधिक ब्याण्ड कम्बिनेशन र बृहत्त बयाण्डविथ जस्ता एन७८ ब्याण्डका फाइदाहरु पनि प्रदान गर्छ । यो प्रमाणिकरणलाई यूरोपमा फाइभजी स्मार्टफोनको ब्यवसायिक लञ्चका लागि एक महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । ओपोको सीई प्रमाणिकरणले ओपोका फाइभजी उपकरण यूरोपियन बजार प्रवेशका लागि आवश्यक वायरलेस, ईलेक्ट्रोम्याग्नेटिक अनुकुलता, स्वास्थ्य र सुरक्षा लगायत आवश्यक ईयू मापदण्डमा सफल रहेको प्रमाण दिएको छ । कम्पनीले आफ्ना केही अपरेटर पार्टनर्सका साथमा वैश्विक रुपमा फाइभजी उत्पादन तथा सेवाको ब्यवसायिकरणका लागि भरखरै आफ्नो ‘फाइभजी ल्याण्डिङ प्रोजेक्ट’ सार्वजनिक गरेको छ । सन् २०१९को पहिलो ६ महिनाभित्रै आफ्नो पहिलो फाइभजी स्मार्टफोन बजारमा ल्याउने ओपोको योजना रहेको कम्पनीले जनाएको छ ।