विकासन्युज

‘हिमालय रोडिज सिजन ३’ फेरि शुरु

काठमाडौं । हिमालय रोडिज सिजन ३– ब्लड, स्वुएट एण्ड टियर्सले पुनः फर्कने तयारीमा रहेको छ । मंसिर ३० गतेदेखि हरेक सोमबार राति ८ बजे हिमालय टिभि एचडिमा प्रसारण हुँदैछ । भारतीय फ्रेन्चाइज शो एमटिभि रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपाली युवाहरुमाझ अत्यन्त लोकप्रिय रहेको र उनीहरुले प्रतिक्षा गरेको टिभि शो हो । भोट, भित्रिने र बाहिरिने, खेल बदलिदिने मोड, सहभागीहरुबीचको घम्साघम्सी, साहसिक, उत्तेजना आदिका साथ शोले पक्कै पनि दर्शकहरुलाई आफ्नो सीटमा बाँधिएर बस्न बाध्य गराउनेछ । यो सम्पूर्ण नयाँ सिजनको संचालन रेमण्ड दास श्रेष्ठले गर्ने भएका छन् । उनको साथमा दीया मास्के, आशिष राना “उर्फ लाहुरे“ जोडिनेछन् भनें नयाँ ग्याङ लिडरहरु अनुप विक्रम शाही र सिजन १ का विजेता समन श्रेष्ठले पनि यो सिजनमा उपस्थिति जनाउने भएका छन् । यसले रोडि उपाधि नगद पुरस्कारका साथमा युवाहरुले आफूलाई निर्भयपूर्वक प्रस्तुत गर्ने अवसर पनि प्रदान गर्दछ ।“ हिमालय रोडिज ३ का निर्देशक श्री अमन अधिकारीले भने । सिजन २ मा रोडिज उपाधि यामाहा एफ जेड सिरिज सवार गरेर हासिल गरेको थियो । यो सिजन ३ मा पनि निरन्तर रहनेछ । यामाहा एफ जेड सिरिजले रोडिजहरुलाई रोमाञ्चक कार्यमा सहयोग पु¥याउनेछ जसलाई उनीहरुले पार गर्नेछन् ।

मेलुङमा दुई करोड सुन्तला उत्पादन

काठमाडौं । दोलखा जिल्लाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक दुुई करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि उत्पादनको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा वार्षिकपमा दुई करोड रुपैयाँ रकम बराबरको सुन्तला उत्पादन हुने गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । मेलुङ गाउँपालिका समुद्री सतहदेखि ३३० मिटरको उचाइ सितलीदेखि तीन हजार ३०० मिटरको उचाइ शैलुङसम्म फैलिएको र समुद्री सतहबाट नौ सयदेखि एक हजार ४०० मिटर उचाइसम्म सुन्तला तथा अमिलो जातको फलफूल राम्रो उत्पादित हुने सुन्तला रसिलो, स्वादिलो तथा आग्र्यानिक हुने गरेको अध्यक्ष श्रेष्ठले बताए । गाउँपालिकाको वडा नं १ पवटी, वडा नं २ को ढल्केवर, डाडाँगाउँ, च्याने, वडा नं ४ का लामाटार, आँगेटार, मानेडाँडा, बुद्धचोक, वडा नं ६ को तीनपिप्लेलगायतको स्थानमा अत्यधिक सुन्ताल उत्पादन हुने गरेको छ । मेलुङको सुन्तला जिल्लाकै तामाकोशी चरिकोट मैनापोखरी बजारलगायत आसपासको जिल्लामा समेत खपत हुने गरेको छ । हिउँदको समयमा अत्यधिक सुन्तला उत्पादन हुने गरेता पनि त्यसलाई उचित भण्डारण गर्न नसक्दा किसानले न्यून मूल्यमा बिक्री गर्नुपरेको किसानले गुनासो गरेका छन् । सुन्तलाको माग देश र विदेशमा अत्यधिक भइरहेको अवस्थामा सुन्तला उत्पादन गर्नेतर्फ युवाहरुलाई प्रोत्साहन र परिचालन गर्न सकेमा युवालाई गाउँमै उत्पादनमा लगाउन सकिने र उत्पादनकै माध्यमबाट अर्थतन्त्र मजबुत बनाउन सकिने मेलुङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष ईश्वर कोइरालाले बताए । गाउँपालिकाले पालिकालाई सुन्तला उत्पादनबाट आत्मनिर्भर बनाउने र सुन्तला पकेट क्षेत्र घोषण गर्ने योजनाका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रवक्ता हीरा थोकरले भने । स्वस्थ एवं गुणस्तरीय बिरुवा वितरण बगैँचा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग, रोग कीरा व्यवस्थापन सुन्तला बचाऊँ अभियानजस्ता कार्यक्रम सञ्चालनमा रहेको प्रवक्ता थोकरले बताए । सुन्तलाको बजारीकरण तथा प्रवद्र्धन गर्नका लागि मेलुङ गाउँपालिकाले मङ्सिर २८ र २९ गते दुईदिने सुन्तला महोत्सवसमेत आयोजना गरेको थियो । सुन्तला उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गराउने र मेलुङ सुन्तलाको बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको प्रवक्ता थोकरले बताए । महोत्सवको अवसरमा सुन्तला विज्ञहरुद्वारा किसानलाई सुन्तलाका बारेमा प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरेको थियो । रासस

इस्लिङटन कलेजका तीन विद्यार्थीले पाए बेलायतमा पढ्न पूर्ण छात्रवृति

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले तीन विद्यार्थीलाई बेलायतमा पढ्न पूर्ण छात्रवृति  दिने भएकाे छ । स्नातक तहमा उत्कृट छनौट भएका तीन विद्यार्थीलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयमा सुचना प्रविधिको स्नातकोत्तर तह अध्ययन गर्ने गरी पुर्ण छात्रवृति दिने घोषणा गरेको हाे । कलेजको दिक्षान्त समारोहमा कलेज र आइएनजी ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले छात्रवृति घोषणा गरेका हुन् । छात्रवृति पाउने विद्यार्थीहरुमा त्रिजन मानन्धर, सविन नकर्मी र अरुण आचार्य रहेका छन् । अध्यक्ष बुढाथोेकीले विश्वविद्यालयमा खान, बस्न र हवाई टिकट र अध्ययनको लागि तीन जनालाई पूर्ण छात्रवृति उपलब्ध गराएको जानकारी दिएका छन् ।  सो विश्वविद्यालयमा सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनको लागि सम्पुर्ण खर्च विश्वविद्यालयले बेहोर्ने भएको छ । छनौटमा परेका विद्यार्थीलाई पूर्ण अध्ययनका लागि सो कलेजले ३३ हजार पाउण्डको छात्रवृति पाउनेछन् । कलेजका अध्यक्ष बुढोथोकीले भने । स्लिङटन कलेजमा अध्ययन गर्ने विद्यार्थीको सुचना, प्रविधिको पढाई उत्कृष्ठ रहेकोले थप अध्ययन गर्न छात्रवृति दिएको जानकारी गराए । उनले भने–छात्रवृतिसंगै थप अध्ययन पुरा गरेका विद्यार्थीले नेपालमै रोजगारी सिर्जना गर्न सकुन् भन्ने उद्देश्यले छात्रवृति दिएका हौ । त्यसैगरी सोही कलेजमा अध्ययनरत दुई विद्यार्थीलाई कलेजमै अध्ययन गर्न छात्रवृति दिएको छ । छात्रवृति पाउनेमा रसिला श्रेष्ठ र कोमल निरौला रहेका छन् । उनीहरुलाई स्नातकोत्तर तह अध्ययन गर्न छात्रवृति दिएको कलेजले जनाएको छ ।  यसैबीच कलेजमा स्नातक तह पुरा गरेका गरेका ४ सय सय ४५ विद्यार्थी दिक्षित भएका छन् । काठमाडौमा आयोजित समारोहमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका भाइस चान्सलर लिन प्राध्यापक डब्सले दिक्षित विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । दिक्षान्त समारोहमा बोल्दै भाइस चान्सलर डब्सले विदेशी विश्वविद्यालयको कोर्ष अध्ययन गराएको इस्लिङटन कलेजले गरेको शैक्षिक प्रगतिको खुलेर प्रशंसा गरेका थिए । । उनले नेपालमा प्रदान गरेको शिक्षा विश्वकै उत्कृष्ट दर्जामा रहेको दाबी गर्दै भने– इस्लिङटन कलेजले विश्वविद्यालयले सोचेभन्दा प्रगति गरेको छ । विश्वको आवश्यकता सुचना प्रविधिमा आधारित शिक्षा हो, सुचना प्रविधि सहितको शिक्षा दिन कलेज सक्षम र सफल भएको छ । उनले दीक्षित विद्यार्थीलाई शुभकामना दिदै भने–तपाईहरु लण्डन मेट्सका सफल विद्यार्थी हुनुभएकोमा बधाई छ । तपाईहरुको अबको यात्रा सुखमय रहोस् । कार्यक्रममा बोल्दै आइएनजी ग्रुपका अध्यक्ष बुढाथोकीले अन्तराष्ट्रिय स्तरको शिक्षा दिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको बताएका छन् । उनले नेपालमा हासिल गरेको शिक्षा नेपालमै प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्दै भने–थप शिक्षा हासिल गर्न विदेश जानु होला तर उच्च शिक्षा पुरा गरेपछि नेपालमै फर्कनु होला । इस्लिङटन कलेजमा अध्ययन पुरा गरेका विद्यार्थीले कुनै न कुनै सरकारी,गैरसरकारी र निजी क्षेत्रमा रोजगारी हासिल गर्न सफल भएको जानकारी गराउदै इस्लिङटनले रोजगारीमा आधारित शिक्षा प्रदान गरिरहेको उल्लेख गरेका छन् । अन्य विश्वविद्यालयका कलेजको दाजोमा आइएनजी ग्रुपद्धारा संचालित इस्लिङटन कलेज सुचना र प्रविधिमा आधारित कलेजले शिक्षाले विश्वमा सफलता हासिल गर्न सकेको दाबी गर्दै उनले भने–अब नेपालमै विश्वस्तरको रोजगार सहितको शिक्षा हामीले दिनेछौ । अध्ययन संगै नया काम खोज्न अमेरिका, अष्ट्रेलिया जापान लगायत मुलुकमा भौतारिनुपर्ने अवस्थाको अन्त्य गरी अब नेपालमै सोही स्तरको शिक्षा पाउने स्तरको पठन पाठन गर्न कलेज सफल भएको उनको भनाई थियो । सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायतस्थित लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन लिएको हो । हाल कलेजमा बिबिएमा कम्प्युटिङ, नेटवर्किङ एण्डआइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा तीन वर्षीय कोर्ष अन्तर्गत संचालन भैरहेको छ । व्यवस्थापन अन्तर्गत चार वर्षिय बिबिएमा इन्टरनेशनल विजनेस, फाइनान्स र मार्केटिङ रहेका छन् ।

सिन्दुर हाल्ने बेला बेहुलाको हात नउठेपछि चार लाख जरिवाना

झापा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन् ।  मंसिर २९ गते दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो । वैवाहिक कार्यक्रम अनुसार बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार विवाह मण्डपमै खैलाबैला मच्चिएर बेहुला पक्षले जन्ती लगेको गाडी नै तोडफोड गर्न खोजेपछि विवाह घरमै पुगेर प्रहरीले सुरक्षा दिएको थियो । बेहुला पक्षले बेहुली पक्षलाई झुक्याएर विवाह गरेको भन्दै विवाद उत्पन्न भएको थियो । बेहुलाको हात नचलेपछि उनी शारीरिक अपाङ्गता भएको व्यक्ति रहेको भन्दै बेहुली पक्षले बेहुला पक्षलाई चार लाख जरिवाना तिराएका छन् । जसका लागि बुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मीरा भुर्तेलसहितको टोलीले विवाद समाधानका लागि पहल गरेको प्रहरीले जनाएको छ । बेहुलाले आफू डाक्टर भएको भन्दै बेहुली पक्षलाई विवाहका लागि प्रस्ताव राखेको र उनी डाक्टर नभइ निजी अस्पतालमा कार्यरत कर्मचारी रहेको बेहुली पक्षको आरोप छ । बेहुली पक्षले विवाहका लागि गरिएको खर्चको माग दाबी गर्दै बेहुला पक्षसँग चार लाख रकम लिएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताइन्। उनले भनिन्, ‘समाज बसेर विवाहको लागि भएको खर्चको हिसाब गरेको हो, यसमा गाउँपालिकाको कुनै हात छैन । विवाहको कुरा छिनेपछि बेहुला र बेहुली दुवैपक्षले सहमतिमै टीकाटाला नगरी एकै पटक विवाहका लागि राजी भएको बताइएको छ ।’ यसअघि पनि बुद्धशान्ति गाउँपालिकामा एक व्यक्तिको विवाह हुँदा यस्तै घटना घटेको थियो । विवाहलगत्तै बेहुलीलाई छाडेर बेहुला भाग्दा बेहुलीको परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति समाजले दिलाएको थियो । जसका लागि गाउँपालिकामा सहमतिका लागि छलफल भएको थियो । रासस

सिद्धार्थ बैंकद्वारा तनहुँको दमौली र दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकले तनहुँको दमौली र दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मंसिर २५ गते एक्सेस टु फाइनान्सको साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको हो । उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर, एकीकृत कर प्रणाली, मुल्य अभिवृद्दि कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । दमौलीको कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी र दुलेगौडाको कार्यक्रममा त्यस क्षेत्रका ३० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि यस सिद्धार्थ बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । 

सातै प्रदेशको बजेट खर्च निराशाजनक, ७ प्रतिशत खर्च गर्दै पाँच नम्बर लिडमा, कर्णाली पुछारमा

काठमाडाैं । सातै प्रदेश सरकारको बजेट खर्च निराशाजनक देखिएको छ । सात वटा प्रदेशहरूले चालु आवको प्रथम चौमासमा गरेको खर्चको नतिजा निराशाजनक देखिएको हो । विकास निर्माणका कामलाई तिव्रता दिदै बजेट खर्चको अवस्थालाई सुधार गर्ने दावी गरिए पनि प्रदेश सरकारहरुले पहिलो चौमासमा अपेक्षाकृत बजेट खर्च गर्न नसकेका देखिएकाे छ । सातवटै प्रदेशले असार १ गते ल्याएको बजेट सञ्चालन भएको चार महिना बितिसक्दा पनि सोचेअनुरुपको बजेट खर्च नहुँदा चालु आर्थिक वर्षभित्र विनियोजित रकम खर्च हुनेमा आशंका देखिएको हो । कुन प्रदेशको खर्च कति ? प्रदेश एककाे १.१५ प्रतिशत खर्च प्रदेश एकले एक दशमलव १५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेशले चालु आवको पहिलो चौमासमा २ अर्ब ७४ करोड ७७ लाख रुपैयाँ खर्च गरेको हो । गत असार एक गते ४२ अर्ब २० करोडको बजेट ल्याएको यस प्रदेशले चालु आबको पहिलो चौमसमा पुँजीगत तर्फ १ अर्ब ७३ करोड ८६ लाख र चालतर्फ १ अर्ब ९१ लाख खर्च गरेको जनाएको छ । प्रदेश एकले गत असारमा चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख र पूँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन भएको थियो । हालसम्म खर्च भएको रकममध्ये सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले १ अर्ब ७६ करोड ६७ लाख र सबै भन्दा कम मूख्य न्यायधिवक्ता कार्यालयले ३७ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । प्रदेश २ काे २.४९ प्रतिशत खर्च प्रदेश २ सरकारको बजेट खर्च पनि निराशाजनक रहेको छ । प्रदेश दुईले चालु आवको पहिलो चौमासमा दुई दशमलव ४९ प्रतिशत बजेट खर्च गरेको बताएको छ । प्रदेश दुई सरकारले पहिलो चौमासमा ९१ करोड ८४ लाख २० हजार रुपैयाँ खर्च गरेको छ । जसमा चालुतर्फ ७५ करोड ९४ लाख २३ हजार र पूँजीगततर्फ १५ करोड ८९ लाख ९६ हजार रुपैयाँ खर्च भएको हो । प्रदेश दुईको सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट प्रस्तुत गरेको थियो । कुल बजेटको चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख र पूँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख विनियोजन गरेको थियो । प्रदेशमा सबैभन्दा बढी प्रदेशसभाले रकम खर्च गरेको छ । प्रदेश सभाले ८३ करोड ३५ लाख र सबैभन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयले गरेको छ । उक्त मन्त्रालयले ०.२४ प्रतिशत अर्थात ३ करोड ४५ लाख ८१ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । प्रदेश ३ काे  ४.२४ प्रतिशत खर्च प्रदेश तीन सरकारले चालु आवको पहिलो चौमासमा कुल बजेटको चार दशमलव २४ प्रतिशत अर्थात २ अर्ब १७ करोड ८३ लाख ९ हजार रुपैयाँ खर्च गरेको जनाएको छ । प्रदेश तीन सरकारले ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजारको बजेट ल्याएको थियो । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार प्रदेश तीनले खर्च गरेको कुल रकममध्ये चालुतर्फ १ अर्ब ४० करोड ४६ लाख र पूजीगततर्फ ६१ करोड ३३ लाख रुपैयाँ रहेको जनाएको छ । तीन नम्बर प्रदेशमा बढी रकम खर्च गर्नेमा मूख्य न्यायधिवक्ताको कार्यालयले २१.१९ अर्थात १५ करोड ९१ लाख ४ हजार र कम खर्च गर्नेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेको छ । उसले २ करोड ६७ लाख ४ हजार रुपैयाँ खर्च गरेको छ । गण्डकी प्रदेशकाे ३.२ प्रतिशत खर्च चालु आर्थिक वर्ष २०७६/०७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख विनियोजन गरेको गण्डकी प्रदेशले तीन दशमलव दुई प्रतिशत रकम खर्च गरेको छ । प्रदेश सरकारले ४ करोड २७ लाख ५५ हजार रुपैयाँ खर्च गरेको बताएको हो । गण्डकी प्रदेशले चालुतर्फ ४ करोड १९ लाख ९ हजार र पुँजीगतर्फ ८ लाख ४६ हजार रुपैयाँ खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय लेखा विभागका लेखा अधिकृत राम बहादुर मगरातीले विभिन्न प्रक्रियाहरु पुरा गर्नु पर्ने कारणले सोचेअनुरुपको काम हुन नसकेको बताए । त्यसले पनि रकम कम खर्च भएकाे उनले बताए । प्रदेश ५ मा ७ प्रतिशत खर्च प्रदेश पाँच सरकारले ७ प्रतिशत खर्च गरेको छ । अन्य ६ प्रदेशको तुलनामा प्रदेश पाँच सरकारले बढी खर्च गरेको हो । प्रदेश पाँचको लेखा नियन्त्रण कार्यालयका अनुसार २ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको जनाएको छ । प्रदेश पाँच सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै चालु आव २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको थियो ।खर्च भएको रकमको चालुतर्फ १ करोड २९ करोड र पुँजीगत तर्फ १ अर्ब ४ करोड रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका सुचना अधिकारी रविन्द्र अर्यालले बताए । कर्णाली प्रदेशमा १.१ प्रतिशत चालु आवको पहिलो चौमासमा सबैभन्दा कम रकम खर्च गर्ने प्रदेशमा कर्णाली प्रदेश रहेको छ । चालु आवका लागि विनियोजन भएको ३४ अर्ब ३५ करोड ३४ लाखको प्रदेशले पहिलो चौमासमा ५५ करोड ४१ लाख ३१ हजार रुपैयाँ अर्थात एक दशमलव एक प्रतिशत खर्च गरेको छ । प्रदेशले चालु आर्थिक वर्षको पहिलो चौमासमा कुल खर्च भएको बजेटको चालुतर्फ ४७ करोड ९५ लाख १६ हजार र पूँजीगततर्फ ७ करोड १४ लाख रुपैयाँ रहेको लेखा नियन्त्रण कार्यालयकी लेखा अधिकृत यमुना श्रेष्ठले बताइन् । उनले सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयले १८ करोड ८८ लाख ६२ हजार र सबैभन्दा कम आर्थिक मामिला तथा कानुन मन्त्रालयले १ करोड ९० लाख ७३ हजार रुपैयाँ खर्च गरेको बताइन् । सुदूरपश्चिम प्रदेशको खर्च ४.६० प्रतिशत सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासमा चार दशमलव ६० प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले पहिलो चौकमासमा अपेक्षाकृत प्रगती हासिल गर्न नसकेको हो । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार पहिलो चौमासमा अख्तियारी प्राप्त २७ अर्ब ७६ करोड २० लाख ३५ हजार बजेटको चार दशमलब ६० प्रतिशत अर्थात एक अर्ब २७ करोड ६१ लाख खर्च भएको छ । त्यसमा चालुतर्फ १४ अर्ब ६९ करोड ४८ लाखको ५ दशमलब ५५ प्रतिशत अर्थात ८१ करोड ५६ लाख खर्च हुँदा पूँजीगत तर्फको १३ अर्ब ६ करोड ७१ लाखको तीन दशमलब ५२ प्रतिशत अर्थात ४६ करोड ४ लाख ८० हजार रुपैयाँ खर्च भएको लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । सबैभन्दा बढी नौ अर्ब ३९ करोड बजेट रहेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले ४८ करोड ६२ लाख अथवा ५ दशमलव १८ प्रतिशत प्रगति गरेको जनाएको छ ।

वृज सिमेन्टद्वारा “एक्सपर्ट मेशन क्लब” सम्पन्न,पाँच लाखकाे दुर्घटना बिमा निःशुल्क

वृज सिमेन्ट प्रालिले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणक्रर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आबद्ध गरेर उनीहरुको निःशुल्क रुपमा रु. पाँचलाख बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ । उक्त कार्यक्रमलाई सफल बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशन क्लब” मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहार सहित पासबुक वितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका कुनै पनि उत्पादनहरु खरिद गरी योजनामा सहभागी हुन सक्नेछन् । कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि नेपालका विभिन्न स्थानहरुः काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो । अहिले सम्म कम्पनीले २५ सय बढी निर्माणक्रमी साथीहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आवद्ध गरिसकेको छ । कम्पनीले बढी भन्दा बढी निर्माणक्रमी साथीहरुलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटना बाट उनीहरुको सुरक्षित महशुश गराउने कम्पनीको उदेश्य रहेको छ । आफना उत्पादनलाई ग्राहकहरुको वीचमा विश्वासका साथ गुणस्तर र मजबुतीलाई अझ दरिलो विश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट ‘एक्सपर्ट च्वाइस’ सहित बजार प्रर्वधन शुरु गरिएको हो। ‘एक्सपर्ट च्वाइस’ बजार प्रर्वधनको क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने चर्चित एवं मिस नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठ वृज सिमेन्टको एशोसिएट व्राण्ड एम्वेसेडर हुन्। उनले भर्खरै सम्पन्न मिस बर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड र ‘ब्युटी विथ पर्पोज’ अवाडर्स जितेकी छन्। कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने, पोर्टल्याण्ड पोज्जोलना सिमेन्ट (पीपीसी) अन्तर्गत वृज सिमेन्ट र पोर्टल्याण्ड स्लयाग सिमेन्ट (पीएससी) अन्तर्गत वृज सुपर पावर व्राण्ड उत्पादन गर्दछ।

यी हुन् नेपाली बजारमा पाइने १५० सीसीका ४ पावरफुल स्कुटरहरू

एउटा समय थियो जब धेरैले स्कुटरको सट्टा मोटरसाइकलचढ्न मन पराउँथे । त्यो समयमा स्कुटरलाई भने वयस्कहरुको मात्र रोजाइ मानिन्थ्यो । तर विस्तारै गियरलेस स्कुटरहरुको आगमन भएसँगै स्कुटरले निक्कै लोकप्रियता कमाउन थाल्यो । पुरुष होस् या महिला, समय क्रमसँगै स्कुटर हरेक उमेरका माझ लोकप्रिय बन्दै जान थाल्यो र त्यसको कारण थियो यसको हलुका वजन, सामान राख्नलाई प्रशस्त स्पेस र गियर तथा क्लच लगायतको झन्झट बाट छुटकारा ।बढि ट्राफिक भएकोसिटी एरियामा स्कुटर लोकप्रिय हुँदै गएको भएपनि यसमा एउटा कुराको चाहिँ कमी थियो र त्यो थियो यसले प्रदान गर्ने पावर । कम पावर भएको हुनाले स्कुटरलाई छोटो यात्रामा मात्र प्रयोग गर्न मिल्ने साधनको रुपमा लिने गरिन्थ्यो । पछिल्ला दिनहरुमा स्कुटर उत्पादक कम्पनीहरुले हाइवे र टुरिङ्गलाई फोकस गर्दै ठूला सीसीका इञ्जिन समावेस गरिएका स्कुटरहरुलाई बजारमा ल्याउन थालेका छन् । मोटरसाइकलले जस्तै पावर प्रदान गर्ने र चलाउन पनि धेरै सहज भएको हुनाले यस्ता स्कुटरहरुले बजारमा राम्रो पकड पनि जमाउन थालेको पाइन्छ । आज हामी नेपाली बजारमा उपलब्ध १५० सीसी इञ्जिन जडित ४ पावरफुल स्कुटरहरुको बारेमा चर्चा गर्न गइरहेका छौंः भेस्पा भिएक्सएल १५० यस स्कुटरमा १५० सीसीको इञ्जिन समावेश गरिएको छ जसले ११.४ बीएचपीको पावर र ११.५ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले ४५ केएमपीएलको माइलेज र ९० केएमपीएचको टप स्पिड प्रदान गर्दछ । त्यसैगरी ८ लिटर फ्युल ट्याङ्क क्यापासिटी भएको भिएक्सएल १५० को तौल ११४ के.जी.को रहेको छ भने सिट हाइट चाहिँ ७७० मिलिमिटर रहेको छ । अगाडि ११ इञ्च र पछाडि १० इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको मूल्य तीन लाख ४९ हजार नौ सय ४६ रुपैयाँ तोकिएको छ । भेस्पा एसएक्सएल १५० यस स्कुटरमा पनिभिएक्सएल १५० कै जसरी १५० सीसीको इञ्जिन समावेश गरिएको छ जसले ११.४ बीएचपीको पावर र ११.५ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले पनि ४५ केएमपीएलकै माइलेज प्रदान गर्छ भने यसको टप स्पिड चाहिँ ९५ केएमपीएच रहेको छ । त्यसैगरी ८ लिटर फ्युल ट्याङ्क क्यापासिटी भएको एसएक्सएल १५० को तौल ११४ के.जी.को रहेको छ भने सिट हाइट चाहिँ ७७० मिलिमिटरको रहेको छ । अगाडि ११ इञ्च र पछाडि १० इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको स्ट्याण्डर्ड र म्याट गरी दुई भेरियन्टहरु उपलब्ध छन् जसमध्ये स्ट्याण्डर्डको मूल्य तीन लाख ६५ हजार नौ सय ४६ रुपैयाँ रहेको छ भने म्याटको चाहिँ तीन लाख ७० हजार रुपैयाँ तोकिएको छ । भेस्पा एलिगान्टे १५० एलिगान्टे १५० मा १५० सीसीको इञ्जिन समावेश गरिएको छ जसले ११.४ बीएचपीको पावर र ११.५ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले ५० केएमपीएलको माइलेज र ९५ केएमपीएचको टप स्पिड प्रदान गर्दछ । त्यसैगरी ८ लिटर फ्युल ट्याङ्क क्यापासिटी भएको एलिगान्टे १५० को तौल ११४ के.जी.को रहेको छ भने सिट हाइट चाहिँ ७७० मिलिमिटरको रहेको छ । अगाडि ११ इञ्च र पछाडि १० इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको मूल्य तीन लाख ९५ हजार नौ सय रुपैयाँ तोकिएको छ । अप्रिलिया एसआर १५० यस स्कुटरमा १५४.८ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १०.४ बीएचपीको पावर र ११.४ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले ४० केएमपीएलको माइलेज र १०० केएमपीएचको टप स्पिड प्रदान गर्दछ । त्यसैगरी ६.५ लिटर फ्युल ट्याङ्क क्यपासिटी भएको एलिगान्टे १५० को तौल १२२ के.जी. रहेको छ भने सिट हाइट चाहिँ ७७५ मिलिमिटरको रहेको छ । दुवैतिर १४ इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको मूल्य दुई लाख ९५ हजार नौ सय रुपैयाँ तोकिएको छ । भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा एमभि दुगड ग्रुप रहेको छ । हाल एमभि दुगड ग्रुपका साथै डि लाइफ स्टाइल प्रा.लि.ले पनि उक्त दुवै ब्राण्डका बाइक तथा स्कुटरहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ ।