विकासन्युज

ओपोको पहिलो ५जी स्मार्टफोनलाई ५जी सीई सर्टिफिकेट प्रदान

काठमाडौँ । ओपोकोे पहिलो फाइभजी स्मार्टफोन, स्पोर्टन ईन्टरनेसनल ईंकद्वारा आयोजित फाइभजी सीई परीक्षणमा सफलतापूर्वक उत्तीर्ण भएको कम्पनीले घोषणा गरेको छ । योसँगै कम्पनीको पहिलो फाइभजी स्मार्टफोनलाई सीटीसी एडभान्स्ड जीएमबीएचद्वारा फाइभजी सीई सर्टिफिकेट प्रदान गरिएको छ । स्पोर्टन ईन्टरनेसनल ईंक एक वैश्विक निरिक्षण सेवा प्राधिकरण हो । एमडब्ल्यूसी २०१९मा प्रदर्शित ओपोको फाइभजी स्मार्टफोन, सीटीसीद्वारा स्विकृत पहिलो मल्टि फ्रिक्वेन्सी, मल्टि मोड र मल्टि ईएन–डीसी कम्बिनेसन फाइभजी स्मार्टफोन पनि हो । यस फोनले विभिन्न देश तथा क्षेत्रमा लागु गर्न सकिने अधिक ब्याण्ड कम्बिनेशन र बृहत्त बयाण्डविथ जस्ता एन७८ ब्याण्डका फाइदाहरु पनि प्रदान गर्छ । यो प्रमाणिकरणलाई यूरोपमा फाइभजी स्मार्टफोनको ब्यवसायिक लञ्चका लागि एक महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । ओपोको सीई प्रमाणिकरणले ओपोका फाइभजी उपकरण यूरोपियन बजार प्रवेशका लागि आवश्यक वायरलेस, ईलेक्ट्रोम्याग्नेटिक अनुकुलता, स्वास्थ्य र सुरक्षा लगायत आवश्यक ईयू मापदण्डमा सफल रहेको प्रमाण दिएको छ । कम्पनीले आफ्ना केही अपरेटर पार्टनर्सका साथमा वैश्विक रुपमा फाइभजी उत्पादन तथा सेवाको ब्यवसायिकरणका लागि भरखरै आफ्नो ‘फाइभजी ल्याण्डिङ प्रोजेक्ट’ सार्वजनिक गरेको छ । सन् २०१९को पहिलो ६ महिनाभित्रै आफ्नो पहिलो फाइभजी स्मार्टफोन बजारमा ल्याउने ओपोको योजना रहेको कम्पनीले जनाएको छ ।

पर्यटनका संस्था र पर्यटन बोर्डमा तालाबन्दी गर्ने पर्यटन श्रमिकहरुको चेतावनी

काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकहरुको कार्यक्षेत्रमा पाउनु पर्ने सेवा सुविधा कार्यान्वयनको माग गर्दै पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले आन्दोलनको घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरी यूनिट्राभले सबै पर्यटन क्षेत्रमा श्रमिकले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै आन्दोलनको घोषणा गरेको हो । यूनिट्राभले सरकारका सम्बन्धित वन तथा वातावरण, श्रम, गृह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच आपसी समन्वय गरी श्रमिक संगठन, व्यवसायी संगठनबीच वार्ताका माध्यमबाट तत्काल समस्या समाधान नगरिए पर्यटनका सबै क्षेत्रमा काम ठप्प पार्ने चेतावनी दिएको छ । उक्त संगठनले ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति पुरातात्विक, कार्गो, कुरियर क्षेत्रहरु बन्द गरिदिने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले यसका लागि विदेशी एजेन्सिमा पत्रचार गरी पर्यटन व्यवसायीका संगठनहरु टान, एक्याप, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, लगायत सरोकार क्षेत्रका कार्यालयमा तालाबन्दी गरिदिने पत्रकार सम्मेलनमा चेतावनी दिएका छन् । अध्यक्ष पराजुलीले तत्काल पर्यटन श्रमिकको माग सम्बोधन नभए चैत २१ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिए । यूनिट्राभले टान र नाट्टाले पर्यटन बोर्डमा गत मंसिर १३ गते गरेको सम्झौता तत्काल लागू नभए विदेशी ग्रुप नै रोक्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा यूनिट्राभका महासचिव रामबहादुर श्रेष्ठले राष्ट्रिय निकुञ्जहरुमा श्रमिकसँगै उठाउँदै आइएको कर तत्काल खारेज गर्न माग गरे । त्यस्तै यूनिट्राभले श्रम ऐन, सामाजिक सुरक्षा ऐन र नियमावली कार्यान्वयन तत्काल गराउन माग गरेको छ । एकल पदयात्रा अनुमति पत्र खारेज गर्न पनि उक्त संगठनले माग गरेको छ । सेवा सुविधा ५० प्रतिशत वृद्धि गराउन पनि माग गरेका छन् ।

बोनस र हकप्रद पछि गुराँस लाइफ इन्स्योरेन्सको मूल्य समायोजन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर पछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बिहीबार मात्रै इन्स्योरेन्सको बोनस र हकप्रद पछिको सेयरकाे मूल्य समायोजन गरेकाे हाे । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ४९६.२० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६२१.१० रुपैयाँ तोकिएको छ ।

शिवम् र युनिभर्सलको आईपीओको कारोबार सुरु

काठमाडाैं । शिवम् सिमेन्ट र युनिभर्सल पावर कम्पनीको आईपीओ सुरु भएको छ । शिवम्को शेयर १६२ देखि ४८४ रुपैंया र युनिभर्सलको १०१ देखि ३०३ सम्म रुपैंयासम्म ओपनरेञ्जसहित कारोबार सुरु भएको हो । नोट : यसअघि प्रकाशित समाचारमा शिवम् सिमेन्टको शेयर कारोबारबारे भुलवश समाचार प्रकाशित हुन गएकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ । –सम्पादक

कामना सेवा विकास बैंकबाट एभरेष्ट इन्स्योरेन्सका सेवा पाइने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सो सम्झौता पत्रमा बिहीबार कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । संझौतापछि बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जीवन बीमालेखहरु उपलब्ध हुने छन् । साथै बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

महिला सहयात्रा माईक्रोफाइनान्स ‘राजकुमारी सविका विन्त अब्राहिम अल-खालिफा ग्लोबल अवार्ड’बाट सम्मानित

काठमाडौं । महिला सहयात्रा माईक्रोफाइनान्स वित्तीय संस्था “राज कुमारी सविकास विन्त अब्राहिम अल-खालिफा ग्लोबल अवार्ड” बाट सम्मानित भएको छ । विभिन्न मुलुकका १८८७ का प्रतिस्पर्धीहरुकाबीच संस्थाले विभिन्न चार विधा (सार्वजनिक संस्था, निजी, गैर सरकारी र स्वतन्त्र) मा विभाजित पुरस्कारमा उक्त सम्मान पाएको हो । गत मार्च ११मा संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्था सम्बन्धी ६३औँ महासभायस संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा. सुमित्रा मानन्धर गुरुङले एक लाख डलर धनराशीको पुरस्कार ग्रहण गरेकी हुन् । संस्थाले नेपालका अति दुर्गम र पिछडिएको क्षेत्रका २८ हजार भन्दा बढी महिलाहरुबीच लघुवित्त सेवा प्रदान गर्दै आएको छ । साथै, लघुउद्यम विकास सेवा मार्फत समुदायको आर्थिक तथा सामाजिक विकास कार्यमा यस संस्थाले सक्रिय रुपमा काम गरिरहेको छ । राष्ट्रिय स्तरको यस संस्थाको हाल कुल २६ वटा शाखा कार्यालयहरु संचालनमा छन् । सो मध्ये २१ वटा शाखा कार्यालयहरु अति विकट जिल्लाहरुमा रहेको छ । संस्थाले कुनै पनि लघुवित्त पुग्न नसकेका क्षेत्रमा महिला शसक्तिकरण तथा वित्तीय सेवाको पहुँच पुर्याउने उद्देश्यले उक्त विकट जिल्लाहरुमा शाखा विस्तार गरी संचालनमा ल्याएको संस्थाले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त यस संस्थामा हाल ९३ जना महिला र ४ वटा बैंक संस्थापक रहेको छ । संस्थापकमा नबिल बैंक, सिभिल बैंक, प्राइम बैंक र गोर्खाज फाइनान्स रहेका संस्थाकी सीईओ गुरुङले जानकारी दिएकी छिन् ।

सेञ्चुरी बैंकले गर्यो ६.५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको ६.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत बाेनस र ४.५ प्रतिशत नगदसहित उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । बैंकले ८ अर्ब २५ करोड ४ लाख चुक्ता पुँजीकाे २ प्रतिशतले हुन आउने १६ कराेड ५० लाख रुपैंया बराबरकाे बाेनस र ४.५ प्रतिशत हुन आउने ३७ कराेड १२ लाख ७० हजार बराबरकाे नगदसहित  उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुने बैंकले जनाएको छ ।

सुनको मूल्यमा वृद्धि, प्रतितोला रु ६० हजार २ सयमा कारोबार हुँदै

काठमाडौं । विहिबार सुनको मूल्य बढेर प्रतितोला रु ६० हजार २ सयमा कारोबार भईरहेको छ । मंगलबार सुन प्रतितोला रु ५९ हजार ७ सयमा कारोबार भएको थियाे भने बुधबार सार्वजनिक विदाका कारण कारोबार बन्द रहेको थियो । त्यस्तै तेजावी सुन मंगलबार प्रतितोला ५९ हजार ४ सयमा विक्री भएको थियो भने विहिबार प्रतितोला ५९ हजार ९ सयमा कारोबार भईरहेको छ । चाँदी विहिबारको तुलनामा रु १० बढेर ७४० रुपैयाँमा विक्री भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।