विकासन्युज

काठमाडौंमा बसेर शंकास्पद गतिविधि गर्ने ७५ जना चिनियाँ नागरिक पक्राउ, मनमैजु एरिया प्रहरीकाे घेरामा 

काठमाडाैं । काठमाडौंमा बसेर शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले  ७५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । गैर कानुनी काम गरेकाे आरोपमा उनीहरुलाई  साेमबार पक्राउ गरेकाे जनाइएकाे हाे । बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । सोमबार मनमैजु, बाँसबारी र सामाखुसी प्रहरी कार्यालयले संयुक्त अपरेशन गरेका छन् । ती स्थानमा थुप्रै चिनियाँ नागरिकहरु पक्राउ गरेको स्रोतले बताएकाे छ । अपरेशन अहिले पनि जारी छ । प्रहरी स्रोतले कस्तो शंकास्पद गतिविधि गरेको भन्‍ने बारे खुलाएको छैन । केही दिनअघि मात्रै गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा राजधानीका मनमैजु, बाँसबारी र सामाखुसीमा बसेर सेल्टर बनाइ चिनियाँहरुले शंकास्पद गतिविधि गरेको रिपोर्ट सुरक्षा प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएका थिए । सोही रिपोर्टका आधारमा प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुको एउटै टीम बनाएर अपरेशन गर्न निर्देशन दिएका हुन् ।  

महालक्ष्मी विकास बैंकले घर बनाउन ९० प्रतिशत र किन्न ७० प्रतिशतसम्म ऋण दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले घर बनाउन चाहनेलाई ९० प्रतिशत र किन्न चाहनेलाई ७० प्रतिशत कर्जा(ऋण) दिने भएको छ । बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई आवास कर्जा अन्तर्गत विशेष कर्जा सुविधा दिने भएको हो । अधिकतम २५ वर्ष अवधि रहेको यस योजना अन्तर्गत ग्राहकले वार्षिक ११.९९ प्रतिशत व्याजदरमा कर्जा लिन सक्ने छन् । कर्जा लिन चाहनेहरुको लागि बैंकले बढीमा ५ दिनमा कर्जा स्वीकृत गर्ने जनाएको छ । बैंकले घर निर्माणमा अग्रिम कर्जा प्रवाह गर्ने छ जसमा अग्रिम भुक्तानी शुल्क नलाग्ने कम्पनीले जनाएको छ । साथै, निशुल्क दुर्घटना बीमा गरिने बैंकले बताएको छ । बजारमा हुनसक्ने उतार चढावबाट ऋणीलाई सुरक्षित गर्नका लागि यस योजना अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित व्याजदर कर्जा अवधिभर यथावत्रहन पनि सक्ने व्यवस्था छ । घर खरिद गर्न अथवा घर निर्माण गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुनेछ । महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ । बैंकले हाल १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।

कर्णाली प्रदेशका सबै वडामा स्वास्थ्य संस्था निर्माण शुरू

जाजरकोट । कर्णाली प्रदेशमा दुई वर्षभित्र १७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ । स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । वर्षेनी कुनै न कुनै समस्याबाट पीडित बन्दै आएको कर्णालीका दुर्गम जिल्लामा सङ्घीय सरकार र स्थानीय सरकारको सहकार्यमा स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै गाउँमै औषधि पाउने भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका हुन् । दुर्गम गाउँबाट स्वास्थ्य संस्था आउन दिनभरि लाग्ने बाध्यता हट्ने जाजरकोट नलगाड नगरपालिका–८ मङ्सिरीका तेजबहादुर सिंहले विश्वास व्यक्त गरेका छन् । त्यस्तै स्वास्थ्य संस्था नहुँदा समस्या भोग्दै आएका उपल्लो डोल्पावासी खुशी भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, कालिकोट, मुगु र हुम्ला जिल्लामा स्वास्थ्य संस्था नभएका ठाउँमा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नका लागि बजेट र स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको हो । दुर्गम तथा पछाडि परेको कर्णाली प्रदेशमा बजेट व्यवस्थापनसहित स्वास्थ्यकर्मीको दरबन्दी पठाएसँगै यहाँको स्वास्थ्य अवस्थामा सुधार आउने कर्णालीवासीले अपेक्षा लिएका छन् । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा रोग पालेर बस्नुपर्ने कर्णालीवासीको समस्या स्वास्थ्य संस्था निर्माणसँगै खटाइने स्वास्थ्यकर्मीले समस्या हल गर्ने स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले बताए । उनले भने, “कर्णाली प्रदेशमा देखिएको समस्या केही हदसम्म नयाँ कार्यक्रमले हल गर्नेछ, जनशक्ति पनि आवश्यकतानुसार परिचालन गरिनेछ ।” उनका अनुसार सबै जिल्लामा पहिले स्वास्थ्य संस्था नभएको ठाउँमा नयाँ निर्माण कार्य शुरु भइसकेको छ । जाजरकोटमा ४४, डोल्पामा ३९, कालीकोटमा ५२, मुगुुमा २२ र हुम्लामा १३ वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण कार्य शुरु भएको हो । मन्त्रालयले कर्णालीका अन्य रुकुम, सुर्खेत, सल्यान, दैलेख, जुम्लामा समेत स्वास्थ्य संस्था मर्मत तथा निर्माण एवं खर्च व्यवस्थापका लागि बजेट निकासा गरेको छ । त्यस्तै प्रत्येक जिल्लाको निर्वाचन क्षेत्रमा १५ शय्याको अस्पताल निर्माणका लागि छिट्टै पहल शुरु भएको छ । सरकारले अघि सारेको एक वडा एक स्वास्थ्य संस्था निर्माण कार्यले गति लिएको छ । आर्थिक वर्ष ०७५/७६ को बजेट भाषणमार्फत स्थानीय तहसँगको लागत सहभागितामा आगामी दुई वर्षभित्र सबै वडामा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गर्ने गरी जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले बजेट वितरण गरेको थियो । चालू आव ०७६/७७ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख थियो । सोहीबमोजिम स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन हुने भएका हुन् । गत वर्ष स्वास्थ्य संस्था नभएका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७६ संशोधनसहित स्वीकृत भइसकेको छ । कार्यविधि स्वीकृतिसँगै गत आर्थिक वर्ष ०७५÷७६ मा एक हजार २०० वडामा र चालू आवमा एक हजार ३९० गरी जम्मा दुई हजार ५९० वडामा स्वास्थ्य चौकी निर्माण तथा सञ्चालनको कार्यविधि स्वीकृत भएसँगै आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणको बाटो खुलेको हो । स्वीकृत कार्यविधिबमोजिम आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न प्रति संस्था रु पाँच लाख र सम्बन्धित स्थानीय तहबाट निर्माण हुने संस्था टाइप १ को लागत अनुमान रु ६३ लाख ४६ हजार ६३० र टाइप २ को रु ३८ लाख ८६ हजार ९२० निकासा गरेको छ । रासस

भारतको नयाँ दिल्लीमा आगलागी हुँदा नौ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा सोमबार बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका रहेका छन् । आवासीय भवनमा आगलागी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । नयाँ दिल्लीको उत्तरपश्चिमी क्षेत्रमा पर्ने किरारीमा रहेको चार तले भवनमा आगलागी भएको हो । दिल्ली अग्नी नियन्त्रण विभागका अधिकृत अजयकुमारले सो आगलागीमा मारिएमा तीन जना चिन्नै नसकिने गरी पूर्ण रुपमा जलेका सिन्ह्वा समाचार समितिलाई बताएको छ । आगो पूर्णरुपमा नियन्त्रणमा लिइसकेको र खोजी तथा उद्धार कार्य जारी नै रहेको उनले बताए । घटनास्थलबाट घाइते अवस्थामा तीन जनालाई उद्धार गरिसकिएको छ । ती मध्ये एक जनाको शरीरमा १५ प्रतिशत जति जलेर घाइते भएका छन् । अन्य दुई जना भने सामान्य जलेको र उनीहरु सबैको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । रातको समयमा विद्युतको लाइनमा समस्या आएपछि सो आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको कुमारले जानकारी दिएका छन् । तर यथार्थ पत्ता लगाउन अनुसन्धान प्रक्रिया अगाडी बढाईसकिएको उनले बताए । भारतको केन्द्रीय राजधानी सहर नयाँ दिल्लीमा यसै महिना भएको यो दोस्रो आगलागीको घटना हो । यसअघि डिसेम्बर ८ तारिखका दिन पनि नयाँ दिल्लीमा ठूलो आगलागीको घटना भएको थियो । सो घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेका थिए । नयाँ दिल्लीको फिल्मिस्तान क्षेत्रमा रहेको घरमा आगलागी भएको थियो । घटनामा पीडितहरुलाई केन्द्रिय तथा राज्य सरकारले राहतको घोषणा गरेका थिए भने, अनुसन्धानका लागि टोली पनि परिचालन गरेका थिए । रासस

‘दरबार हाई स्कुल’ डेढ महिनाभित्र हस्तान्तरण हुँदै

काठमाडौं । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण लगभग सकिन लागेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी रहेकाे छ । रु ८५ करोडको लागतमा नौ रोपनी जमिनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चारतले र ४० कक्षाकोठाको भएको छ । यस भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको बताएका छन् । गोर्खा भूकम्पका कारण पूर्ण रूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भइरहेको यस विद्यालय पहिले जस्तै नै देखिन्छ । यही पुस महिनाभित्र काम सक्नेगरी निर्माणको काम भइरहेको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको हाे । तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरिरहेका छन् । निर्माणको कामअन्तर्गत अहिले ढोका राख्ने, रङ लगाउने, आँगनको छेउमा पर्खाल लगाउने काम धमाधम भइरहेको छ भने अन्य काम सकिसकेको छ ।   विसं २०७२ मा गोरखा भूकम्पले पूर्ण रूपमा क्षति पुर्याएको उक्त हाई स्कूलको पुनःनिर्माणको शिलान्यास गत साउन १८ गते भएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था भएको थियो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । विद्यार्थी सङ्ख्या कम दरबार हाई स्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ । सुन्दर यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्यामा भने कमी छ । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेको संस्कृत माविका प्राध्यापक बद्री दाहाल बताउँछन् । भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालित थियो । हाल ती दुवै विद्यालयमा गरी ३०० मात्र विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको हो । पछिल्लो सयम सरकारले स्थानीय तहलाई जिम्मा दिने गरी दरबन्दी मिलान, विद्यार्थी र शिक्षक सङ्ख्याको आधारमा एकापसमा विद्यालय गाभ्ने विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । शिक्षकको सङ्ख्याका आधारमा विद्यार्थी अनुपात यस विद्यालयमा पनि कम छ । एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रको प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी मान्यता छ । चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक–एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । गोरखा भूकम्पका कारण सात हजार ५०० विद्यालयमा क्षति पुगेको र हालसम्म तीन हजार ६०० विद्यालय भवन निर्माण भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । रासस

अमेरिकी इलेक्ट्रिक साइबर ट्रक, सार्वजनिक भएको दुई दिनमै डेढ लाख युनिट अर्डर

काठमाडौं । अमेरिकन अटोमोटिभ एण्ड इनर्जी कम्पनी टेस्लाले ‘साइबरट्रक’ नामक अल–इलेक्ट्रिक पिकअप ट्रकलाई विश्वसामु अनावरण गरेको एक महिना पूरा भएको छ । कम्पनीले साइवर ट्रकको सिङ्गल मोटर, डुअल मोटर र ट्रिपल मोटर गरी तीन अलग भेरियन्टलाई प्रदर्शन गरेको थियो । सिङ्गल मोटर भेरियन्ट रियर व्हिल ड्राइभ हो भने बाँकी दुई भेरियन्टहरु अल व्हिल ड्राइभ मोडेल हुन् । साइवर ट्रकलाई प्रदर्शन गरेको दुई दिनभित्रै १ लाख ४६ लाख अर्डर प्राप्त गरेको कुरा कम्पनीका सीइओ एलर मस्कले ट्वीटर मार्फत् जानकारी दिएका थिए । उनका अनुसार डुअल मोटर भेरियन्टको अर्डर ४२ प्रतिशत रहेको छ भने ट्रिपल मोटर भेरियन्टको ४१ प्रतिशत र सिङ्गल मोटर भेरियन्टको १७ प्रतिशत रहेको छ । यस्ता छन् विशेषता साइवर ट्रकको बाहिरी सतह अल्ट्रा हार्ड कोल्ड–रोल्ड स्टेनलेश स्टिलले बनेको छ, जसलाई कम्पनीले बुलेटप्रुफको संज्ञा दिएको छ । यसले ९ मिलिमिटर क्यालिवरका बुलेटलाई समेत सजिलै छेक्ने दावी कम्पनीले गरेको छ । त्यसैगरी, यसमा अल्ट्रा–स्ट्रङ्ग ग्लासको प्रयोगसमेत गरिएको छ, जसले ठूलै चोट पनि सजिलै झेल्न सक्छ । साइवर ट्रकको इन्टेरियरको कुरा गर्नुपर्दा यसमा १७–इञ्च सेन्टर डिस्प्ले, ६ जनाको लागि सिट, डिजिटल रियर–भ्यू क्यामेरा जडित मिरर, रेस कारको स्टाइलमा आधारित स्टेयरिङ्ग लगातको विशेषता समावेश छ । त्यसैगरी, यसका सवै भेरियन्टहरुमा टेस्ला अटोपाइलटको फिचर समावेश गरिएको छ । यो टेस्लाको एड्भान्स्ड ड्राइभर–असिस्टेन्स सिस्टम हो, जसले लेन सेन्टरिङ्ग, एडेप्टिभ क्रुज कन्ट्रोल, सेल्फ–पार्किङ्ग, अटोमेटिक लेन चेञ्ज लगायतलाई परिचालन गर्दछ । यो ट्रक सान्दार अफरोडिङ्ग क्षमताले भरिपूण रहेको छ । सेल्फ–लेभलिङ्ग सस्पेन्सनको प्रयोग गरिएको यस ट्रकमा १६ इञ्च अर्थात् ४०६ मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको छ । भेरियन्टहरुको पर्फमेन्स सिङ्गल मोटरः टेस्लाका अनुसार सिङ्गल मोटर भेरियन्टले फुल चार्जमा ४ सय किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने ६.५ सेकेण्डमै ० देखि १ सय किलोमिटरको रफ्तार पक्ड्न सक्छ । त्यसैगरी, १ सय ७५ किलोमिटर प्रतिघण्टाको टपस्पिड पनि प्रदान गर्दछ । यस भेरियन्टले १ हजार ६ सय केजीको वजन उठाउन सक्छ भने ३ हजार ४ सय केजीसम्मको वाहनलाई तान्न सक्छ । डुअल मोटरः साइवर ट्रकको डुअल मोटर भेरियन्टले फुल चार्जमा ४ सय ८० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने ४.५ सेकेण्डमै ० देखि १ सय किलोमिटर प्रतिघण्टाको रफ्तार पक्डन सक्छ । त्यसैगरी १ सय ९५ किलोमिटर प्रतिघण्टाको टपस्पिड पनि प्रदान गर्दछ । यस भेरियन्टले १ हजार ६ सय केजीको वजन उठाउन सक्छ भने ४ हजार ५ सय ५० केजीसम्मको वाहनलाई तान्न सक्छ । ट्रिपल मोटरः साइवर ट्रकको ट्रिपल मोटर भेरियन्टले भने फुल चार्जमा ८ सय किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने २.९ सेकेण्डमै ० देखि १ सय किलोमिटर प्रतिघण्टाको रफ्तार पक्डन सक्छ । त्यसैगरी २ सय १० किलोमिटर प्रतिघण्टाको टपस्पिड पनि प्रदान गर्दछ । यस भेरियन्टले १ हजार ६ सय केजीको वजन उठाउन सक्छ भने ६ हजार ३ सय ५० केजीसम्मको वाहनलाई तान्न सक्छ । कम्पनीका सीइओ एलन मस्कका अनुसार यी सवै भेरियन्टहरुमा सोलार पावरको अप्शन पनि हुनेछ जसले गाडिलाई थप २४ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ । मूल्य र डेलिभरी कम्पनीले साइवर ट्रकको सिङ्गल मोटर भेरियन्टको मूल्य ३९ हजार ९ सय अमेरिकी डलर, डुअल मोटर भेरियन्टको मूल्य ४९ हजार ९ सय डलर र ट्रिपल मोटर भेरियन्टको मूल्य ६९ हजार ९ सय डलर तोकेको छ । टेस्लाले साइवर ट्रकको उत्पादन भने सन् २०२१ को अन्त्यमा शुरु गर्ने र डेलिभरी भने सन् २०२२ को शुरुबाटै चालु गर्ने जनाएको छ । एजेन्सीहरुको सहयोगमा

नबिल बैंक कर्जा लगानीमा आक्रामक, डेढ करोडसम्मको कर्जा ९.९९% व्याजमा

काठमाडौं । नबिल बैंक कर्जा लगानीमा आक्रामक रुपमा प्रस्तुत भएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरेर नविल नारी कर्जा, नविल सजिलो एसएमई कर्जा, नविल सजिलो एक्स्प्रेस कर्जा योजना सार्वजनिक गरेको छ । तीनै प्रकारका कर्जामा तुलनात्मक रुपमा सस्तो व्याजदर तोकिएको छ भने छोटो अवधिमा कर्जा उपलब्ध गराउने प्रतिवद्धता बैंकले जनाएको छ । बैंकले ९.९९ प्रतिशत व्याजमा १ करोड ५० लाखसम्म कर्जा दिने भएको छ । नविल नारी कर्जा योजना अन्तर्गत बैंकले नारीहरुको लागि कम्तिमा ५ लाख र बढीमा १ करोड ५० लाख रुपैयाँसम्म कर्जा दिने बैंकले जनाएको छ । यसमा ५० हजारसम्मका क्रेडिट कार्ड सुविधा हुनेछ । बैंकमा बचत खाता पनि खोलिएको अवस्थामा उनीहरुलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाखसम्मको जटिल रोग उपचार बीमा, ७५ हजारको टर्मलाईफ बीमा सुविधा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । नबिल नारी कर्जामा जस्तै सुविधा भएको ‘नबिल सजिलो एसएमई कर्जा’ योजना पनि बैंकले ल्याएको छ । तर यस कर्जाको व्याज १० दशमलव ५० प्रतिशत तोकिएको छ । दुबै प्रकारको कर्जा बढीमा ५ दिनमा स्वीकृत हुने बैंकले जनाएको छ । छिटो कर्जा लिन चाहानेहरुको लागि बैंकले नविल सजिलो एक्स्प्रेस कर्जा योजना ल्याएको छ, जुन ३५ घण्टामा स्वीकृत गरिने अनिल शाहले बताए । यस्तो कर्जा १५ देखि ७५ लाख रुपैयाँसम्मको हुने र व्याज एक वर्षको लागि १० दशमलव ५० प्रतिशत हुने बैंकले जनाएको छ । क्रेडिट स्क्रोरिङ मोडलको यस्तो कर्जा सुविधा नेपालमा पहिलो पटक ल्याइएको बैंकको प्रमुख कार्यकारी अधिकृत शाहले बताए । बैंकले यस कर्जामा बीमाका सुविधाहरु नभएको जनाएको छ । केही वर्षयता बैंकहरूले कर्जामा १२ देखि १५ प्रतिशतसम्म लिने गरेका छन् । पछिल्लाे समय बैंकहरूमा कर्जाकाे माग नभएकाे समाचारहरू सार्वजनिक भइरहेकाे बेलामा नबिल बैंकले केही कम व्याजदरका कर्जा याेजना ल्याएकाे हाे ।

एनबी बैंकः २५ वर्ष पुरानो इतिहास, लगानीको लागि कत्तिको उत्तम ? (समग्र विश्लेषण)

काठमाडौं । २३ जेठ २०५१ मा सञ्चालनमा आएको नेपाल बंगलादेश (एनबी) बैंक बंगलादेशको आइएफआइसी बैंकको संयुक्त लागनीमा स्थापना भएको हो । बैंकले ०६८/६९ सालमा नेपाल श्रीलंका मर्चेन्ट बैंकलाई मर्ज गरेको थियो । बैंकमा हाल आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर हिस्सा छ । बंगलादेशकै अर्को ‘बैंक एशिया’को १५ प्रतिशत सेयर र अन्य संस्थापकबाट सेयर किनेर आइएफआइसीले आफ्नो स्वामित्व १० प्रतिशतबाट बढाएर ४१ पुर्याएको हो । कुनै समय खराब कर्जाको अनुपात ४० प्रतिशतसम्म पुगेको एनबी बैंकलाई राष्ट्र बैंकले व्यवस्थापन सम्हालेर सुधारेको हो । यो सुधारको क्रममा नै आइएफआइसीले आफ्नो स्वामित्व वृद्धि गरेको हो ।बैंकमा व्यक्तिगत लगानीकर्ताहरुमा एनबी समूहको करीब ११ प्रतिशत लगानी हिस्सा छ । बैंकमा अध्यक्षमा आइएफआइसीबाट जलाल अहमदले प्रतिनिधित्व गरिरहेका छन् भने ज्ञानेन्द्र ढुंगाना प्रमुख कार्यकारी अधिकृत छन् । बैंकको उपत्यका भित्र २१ र उपत्यका बाहिर ७४ शाखा, ७ वटा एक्सटेन्सन काउन्टर, ६६ भन्दा बढी एटिएम बुथबाट बैंकिङ सेवा दिइरहेको छ । बैंकले गृहणी बचत खाता, सरल बचत खाता, गौरव बचत खाता जस्ता उच्च व्याजदरका खाता सञ्चालन गरिरहेको छ । बैंकले स्वास्थ्य बीमासमेत समेटिने रजत बचत खाता पनि सञ्चालन गरिरहेको छ । विगत ५ वर्षमा बैंकले बार्षिक औसत १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । २ वर्षयता भने नाफा दर केही सुस्तिएको छ । यद्यपि नाफा अर्ब माथि छ । गत आवको नाफापछि १२ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकको ५ वर्षमा बार्षिक औषत १९.६६ प्रतिशत लाभांश दिएको छ । बैंकले चालु आवको पहिलो तीन महिनामा १४ करोड ८६ लाख रुपैयाँ बाड्न सक्ने उल्लेख गरेको छ । एनबीले ७ पुसमा २५औं बार्षिक साधारणसभा मनाइरहेको छ । बैंकले ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश प्रस्ताव सभामा लैजादैछ । लाभांश वितरणको लागि मंसिर २६ मै बुक क्लोज भएको थियो । गत वर्षको लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाा पुग्नेछ । बैंकको ५ वर्षमा औसत प्रतिसेयर आम्दानी औसत २८.८१ हुँदा बजार मूल्य ४ सय ८४ कायम भएको छ । हाल भने बैंकको सेयर ३ सय मुनि कारोबार भइरहेको छ । पहिलो तीन महिना बैंकले आव २०७६/७७ को पहिलो तीन महिनामा नाफा भने ३३.३२ प्रतिशतले वृद्धि गरेर ४० करोड २५ लाख रुपैयाँ पु¥याएको छ । समग्र बैंकहरुको औसत नाफाभन्दा बैंकको नाफा तल छ । खुद व्याज आम्दानी, फि र कमिशन शुल्कबाट भएको आम्दानी, अन्य आम्दानीमा वृद्धि भएकोले नाफा वृद्धिमा सहयोग पुगेको हो । बैंकले यी शीर्षकबाट २५ करोड रुपैयाँभन्दा बढी कमाएको छ । बैदेशिक मुद्राको विनियम र अन्य सञ्चालन आम्दानीबाट थप ४ करोड ५० लाखभन्दा बढी आर्जन गरेको छ । । समग्र बैंकहरुको औसत खुद व्याज आम्दानीभन्दा बैंकको यस्तो आम्दानी निकै तल छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.४४ प्रतिशत छ । आगामी दिनमा बासेल थ्री अन्तरगत क्यापिटल कन्जरभेसन बफरमा केही वृद्धि र काउन्टर साइक्लिकल बफर लागू गराउन लागेको छ । यसो भएमा बैंकहरुले कुशनको रुपमा थप १.५० प्रतिशत रकम राख्नु पर्ने हुन्छ । बैंकको हालको पुँजी कोष पर्याप्तता अनुपातले कोष थप बढाउनुपर्ने अवस्था देखिएको छ । बैंकको निक्षेप र प्राथमिक पुँजीको आधारमा जारी भएको कर्जाको अनुपात ७५.७३ प्रतिशत छ । बैंकसँग लगानीको लागि स्पेस रहेको देखिन्छ । बैंकको सञ्चिति तथा जगेडा कोषमा ४ अर्ब ७० करोड रुपैयाँ रकम छ । बैंक पुँजी कोष लागत सामान्य घटेर ७.२९ भएको छ । बैंकलाई पुँजी महंगो परिरहेको छ । १ अर्ब ९० करोड व्याज आम्दानी गरेको बैंकको व्याज खर्च १ अर्ब १५ करोड छ । बैंकमा अहिले खराब कर्जा १.९७ प्रतिशत छ । अघिल्लो आवमा भन्दा खराब कर्जा दर केही बढेको भने छ । बैंकले खराब कर्जाको आधारमा सो कर्जाको १ सय २४ प्रतिशत रकम राखेको छ । बैकले प्रावधानमा ८ करोड रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी १९.९१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.२५ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५८ रुपैयाँ छ । रेटिङ संस्थाको विश्लेषण बैंकले केही अघि मात्रै २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो । हाल नेप्सेमा यसको सूचीकरण भइसकेको छ । इक्रा नेपालले करीब ८ महिनाअघि बैंकको ऋण पत्रको रेटिङ गरेको छ । बैंकको विश्लेषणको क्रममा इक्राले केही सकारात्मक र नकारात्मक पक्षहरु उल्लेख गरेको छ । –३ वर्षयता वृद्धिदर १८ प्रतिशत (समग्र क्षेत्रको २४ प्रतिशत) –खुद्रा र साना तथा मझौला व्यवसायमा समानदरमा लगानी (कुल कर्जा लगानीको ३७ प्रतिशत) –कर्जाका ३६ प्रतिशतको बार्षिक वृद्धि –लामो अवधिदेखि सञ्चालनमा रहेपनि अन्यको तुलनामा सम्पत्ति आधारमा सानो –कर्जा र निक्षेपको आधारमापनि सानो खेलाडी –भाका नाघेको कर्जा ११ प्रतिशतको दरमा रहेको प्रक्षेपण –खराब कर्जामा सुधार, अझै पनि १ प्रतिशत माथि –कम लागतको निक्षेपमा कटौतीले पुँजी लागत महंगो पर्दै –खुद व्याज आम्दानीमा सुधार, ३.३३ बाट वृद्धिभएर ४.३१ प्राविधिक विश्लेषण बैंकको सेयर एक वर्षयताकै न्युन विन्दु (१ सय ७८ ) नजिक आइपुगेको छ । हाल मूल्य १ सय ८७ रुपैयाँ छ । बैंकको मूल्य अधिक बिक्रीको क्षेत्रमा रहेको १४ दिने आरएसआईले देखाउँछ । यो स्केलको २५.९२ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । कम बोनस सेयर प्रस्ताव भएको र यो प्राप्त गर्ने अवधि समेत सकिएकोले बिक्री चाप बढेको देखिन्छ । सिम्पल मुभिङ एभरेज रेखाले केही समयदेखि नै मूल्य वियरिश प्रवृत्तिमा रहेको संकेत गरिरहेको छ । ७ दिने रेखालाई २१ दिने रेखाले काटेर माथि लागेको छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे एक महिनामा १ सय ८१ मा पहिलो टेवा र घट्ने क्रममा रहे १ सय ९९ मा पहिलो प्रतिरोध पाउने देखाउँछ । विगत सात दिनको कारोबारमा शुरुको दिन २ सय मूल्यभन्दा तल ओर्लिएको बैंकको सेयर मूल्य यो अवधिमा एक दिन मात्र बढ्यो । गत विहीवार मूल्य बढेको भएपनि यो साता कारोबार खुलेको पहिलो दिन मूल्य बढ्न सकेन । अन्तिम दिन ह्यामर डोजी आकृति बनेको छ । यसले मूल्य घट्न रोकिने संकेत गरिरहेको छ । यो संकेत दरिलो भने होइन । तर, बजार मूल्य निकै तल (साथै, एक वर्षकै न्युन मूल्य नजिक) आएकोले मूल्य घट्न रोकिने सम्भावना उच्च छ । आगामी दिनको कारोबार हेरेर नै निर्णय लिनु सही हुनेछ ।