नर्सिङ कलेज र सिटिइभिटीकाे भूमरीमा फसेका ३० छात्रा, माग पुरा नगरे आत्मदाह गर्ने चेतावनी
काठमाडौं । सुर्खेतकी प्रेमिका राज्यलक्ष्मी शाहीको सानैदेखि नर्स बन्ने सपना थियो । त्यो सपनालाई यथार्थमा परिणत गर्न उनी २०७५ सालमा सिटिइभिटीको प्रवेश परिक्षा पास गरेर भक्तपुरस्थित चक्रवर्ति नर्सिङ कलेजमा भर्ना भइन् । प्रवेश परीक्षा पास गरेसँगै उनी धेरै खुशी भइन् । कारण थियो नर्स बन्ने उनको सपना पूरा हुने भयाे। चक्रवर्तिमा एक वर्ष राम्रैसँग बित्यो । उनीसहित ३० जना छात्राहरू सँगै पढ्थे । कलेजबाट सञ्चालित हुने त्रैमासिक, प्रि बोर्ड परीक्षा पनि उनीहरूले राम्रैसँग दिए । त्रैमासिक र प्री-बाेर्ड परीक्षामा अंक पनि राम्रै ल्याए । अब उनीहरुअन्तिम परीक्षा जुटे । बोर्ड परीक्षा साउन २६ गतेबाट शुरु हँदै थियो । राज्यलक्ष्मीसहित उनका साथीहरु परीक्षा शुरु हुनुभन्दा ३ दिन अगाडि अर्थात २३ गते परीक्षाको प्रवेश पत्र लिन कलेजमा पुगे । तर, कलेजले उनीहरुको प्रवेश पत्र दिएन । उनीहरु झसंग भए । त्यो दिन त्यतिकै बित्यो । २४ गते गए काम भएन, २५ गते गए, अँह, प्रवेश पत्र पाएनन् । साउन २६ गते उनीहरु बिहानै कलेज गए । अहँ, त्यो दिन पनि प्रवेश पत्र आएन । अब उनीहरुलाई शंका लाग्यो । भर्ना हुनभन्दा पहिला कलेज केही विवादमा रहेको भन्ने सुनेका पनि थिए । तर, कलेजसँग यस विषयमा बुझ्दा कलेजले उच्च अदालतबाट आएको स्टे अर्डर देखाएपछि उनीहरु ढुक्क भइन् र पढ्न शुरु गरिन् । प्रवेश पत्र नपाएसँगै उनीहरुलाई त्यसबेला बल्ल थाहा भयो कि कलेजको विवाद कायमै छ । यद्यपी, सिटिभिटीका कन्ट्रोलर र सदस्य सचिवले तपाईहरु पढ्दै गर्नुस् पछि कलेजको विवाद सकिएपछि यस विषयमा छिट्टै सेटलमेन्ट गरौंला भन्ने आश्वासन दिएर पठाए । परीक्षामा सामेल हुन नदिएपछि चक्रवती नर्सिङ कलेज पाटन उच्च अदालतमा गयो । अदालतले विद्यार्थीलाई प्रवेश पत्र दिई २७ गतेको परिक्षामा सामेल गराईदिन अन्तिरम आदेश दियो । तर, सिटिइभिटीले अदालतको आदेशलाई वास्ता गरेन । त्यसपछि घटनाले अर्कै मोड लियो । चक्रवर्ति कलेजले सिटिइभिटीविरुद्ध व्यक्तिगत रुपमा मानहानीको मुद्दा हाल्यो । मानहानीको मुद्दा हालेपछि सिटिइभिटी कलेजसँग मात्र नभएर विद्यार्थीहरुसँग पनि नकरात्मक बन्यो । उनीहरुले परीक्षा पनि दिन पाएनन् । अहिले पाँच महिना बिति सकेको छ । शाही र उनका अन्य साथीहरुले धेरै ठाउँमा धाए । तर, त्यसिको सुनुवाई भने अहिलेसम्म भएकोे छैन । उल्टै बेलाखत उच्च पदस्तहरुले नबुझेर कलेज भर्ना गरेको भन्दै विद्यार्थीहरुलाई झस्काई रहे । ‘हाम्रो काम भनेको पढ्ने हो, हामी गाउँबाट आएकालाई कहाँ के छ ? केही विवाद छ की छैन भनेर कसरी थाहा हुन्छ’ शाहीले भनिन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले २०७४ साल असोज २२ गते नै उक्त कलेजले परिषद्ले तोकेका मापदण्ड पूरा गर्न नसकेका कारण सम्बन्धन खारेज गरेको रहेछ । शुल्क फिर्ता गरेर पछाडि हट्यो कलेज चक्रवर्ति नर्सिङकलेज उनीहरुबाट लिएको शुल्क फिर्ता गरेर पछाडि हटिसकेको छ । शुरुमा ४० प्रतिशत रकम लिनुपर्नेमा कलेजले विद्यार्थीसँग ६० प्रतिशत रकम लिएको थियो । रकम फिर्ता गरेर विद्यार्थीलाई दिएको ठूलो धोकाबाट कलेज पन्छिन खाेजेकाे छ । कलेजका कुनै पनि व्यक्तिसँग अहिले सम्पर्क नभएको शाहीको भनाई छ । माघसम्म सुनुवाई नभए आत्मदाह गर्ने माघ भित्रमा आफ्ना मागको समाधान नभए सिटिइभीटी, शिक्षा मन्त्रालय र नेपाल सरकारको नाममा आफूहरू आत्मदाह गर्ने शाहीले बताइन् । यति लामो समय खर्च भएको बताउँदै उनले आफ्नो माग पूरा नभए आत्मदाह गर्ने चेतावनी दिएकी हुन् । आफू अध्ययनरत कलेजलाई खारेज गर्न अदालतले आदेश दिएपछि पहिलो वर्षको अन्तिम परीक्षा दिन नपाएका नर्सिङका ३० विद्यार्थीले आफूहरूलाई अर्को कलेजमा व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । तर, कलेजको मापदण्ड पुगे नपुगेको हेर्ने सीटीइभीटीले भने मापदण्ड नपुगेको कलेजबारे आफूहरूले विद्यार्थीलाई पटपटक जानकारी गराएको जनाएको छ । उक्त खारेजीको निर्णयविरुद्ध चक्रवर्ती नर्सिङ कलेजले उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो। त्यसमा पाएको अन्तरिम आदेशकै आधारमा कलेज सञ्चालन भइरहेकोले आफूहरूलाई त्यस्तो कानूनी पाटोबारे थाहा नभएको विद्यार्थीहरूले बताएका छन्। तर, सिटिइभिटीले भने त्यसबारे बेलैमा विद्यार्थीहरूलाई सूचित गरेको जनाएको छ । सीटीइभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले विद्यार्थीलाई कलेजको सम्बन्धन रद्द गरिएको भनेर जानकारी गरिएको बताए । ‘तपाईँहरू त्यहाँ अध्ययन नगर्नुस् भनेर पटकपटक जानकारी गराएका थियौं, अब अदालतले पनि खारेज गर्ने विषय सदर गरिसकेको अवस्थामा विद्यार्थीको माग पूरा गर्ने कानूनी आधार हामीसँग छैन’ उनले भने । अब मन्त्रिपरिषद्ले नै कुनै विशेष व्यवस्था गरेर केही निर्देशन दिए मात्रै उनीहरूलाई व्यवस्थापन गर्ने ठाउँ रहन्छ। नत्र अरू केही पनि आधार नरहेको उनको भनाइ छ । पिडित विद्यार्थीहरूले बिहीबार शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूलाई पनि भेटेकाे शाहीले बताइन् । शिक्षा मन्त्रालयबाट समस्याकाे समाधान गर्ने आश्वासन आएकाे बताइन् ।
कनेक्टआईपीएस मोबाईल एप्सको कारोबार सीमा वृद्धि, प्रतिमहिना दुई लाख रुपैयाँ
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गरिदै आएको कनेक्टआईपीएस ई-पेमेन्ट प्रणालीको मोबाइल एपलिकेशनमार्फत प्रतिमहिना गरिने कारोबारको अधिकतम सीमा वृद्धि भएको छ । प्रतिमहिना एक लाख रुपैयाँ रहेको अधिकतम कारोबार सीमा बढाएर दुई लाख रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीले गत पुस २१ गतेबाट लागू हुने गरी मोबाईल एप्सको कारोबार सीमा वृद्धि गरेको हो । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन‐२०७६को निर्देशन बमोजिम मासिक कारोवार सीमा थप गरेको हो । साथै, प्रतिकारोबार सीमा ५० हजार रुपैयाँनै कायम रहेको छ । त्यस्तै, कनेक्टआईपीएसको वेबसाइटबाट गरिने कारोबारको सीमा प्रतिकारोबार १० लाख रुपैयाँ र प्रतिबैंक मासिक ५० लाख रुपैयाँ यथावत नै रहेको कम्पनीले जनाएको छ । थप गरिएको कारोबार सीमाले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई बैंक खाताबाट गरिने डिजिटल भुक्तानी कारोबार गर्न थप सुविधा हुने अपेक्षा गरिएको छ । कनेक्टआईपीएस ई-पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटर्फम हो जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् । उक्त प्ल्याटर्फममा सदस्य बैंकहरुका ग्राहकहरूका लागि अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानी, आदिगर्न सकिने व्यवस्था रहेको छ ।
जानकी फाइनान्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न, २२ प्रतिशत लाभांश पारित
काठमाडौं । जानकी फाइनान्स कम्पनीको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा सञ्चालक समितिका अध्यक्ष रघुनाथ प्रसाद साहको सभापतित्वमा जनकपुरधामस्थित होटल मानकी इन्टरनेशनल प्रा.लि.मा सम्पन्न भएको हो । सभाले कम्पनीको प्रस्तावित २२ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश पारित गरेको छ । त्यस्तै, जानकी फाइनान्स कम्पनी र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । साथै, संस्थाले आफ्नो वित्तीय कारोबार ३ जिल्लाबाट विस्तार गरी प्रदेश नं.२ को ८ वटै जिल्ला कायम गर्ने जनाएको छ ।
राजश्व चुहावट र नीति अनुसन्धान प्रतिष्ठान विधेयक पारित
काठमाडाैं । राष्ट्रियसभाको बिहिबारको बैठकले दुई विधेयक पारित गरेको छ । बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको राजश्व चुहावट र नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ विधेयक सर्वसम्मतिले पारित भएको हो । विषयगत समितिमा भएको छलफल र परिमार्जनलाई स्वीकार्दै विधेयक पारित गरिएको हो । बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय समेत गरेको छ । यसअघि नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै डा. खतिवडाले सदनमा उठेका सवाललाई संशोधनका माध्यमबाट सम्बोधन गर्न सकिने बताए । हालका बौद्धिक संस्थाहरु भिन्न र छुट्टै प्रकृतिका रहेको र संसदीय प्रक्रियाबाट नबनेका हुनाले प्रतिष्ठान विधेयक ल्याइएको उनले जानकारी दिए । कानूनबाट स्थापित हुने प्रतिष्ठान दिगो र परिपूरक भूमिकामा भएकाले यसको सान्दर्भिकता बढ्ने उनले बताए । डा. खतिवडाले प्रतिष्ठान विधेयक मुलुकको सामरिक सम्बन्ध, परराष्ट्र नीति र विकाससम्बन्धी कामलाई प्रभावकारी बनाउन पनि उपयोगी हुने विश्वास व्यक्त गरे । यसैबीच आजकै बैठकमा ‘रेल्वे विधेयक, २०७६’ पेश भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका तर्फबाट डा. खतिवडाले उक्त विधेयक पेश गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही पुस २७ गते अपराह्न १ बजे बस्नेछ ।
साढे ६ अर्ब लागतमा बुटवलमा खानेपानी आयोजना बन्दै, चार वर्षमा सक्ने लक्ष्य
काठमाडौं । खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको छ । संस्थानले पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा अवस्थित झुम्सा खोलामा बाँध तथा ईन्टेक निर्माण गरी उक्त खोलाको पानीलाई प्रशोधन (ट्रिटमेन्ट) गरेर बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा खानेपानी सेवा विस्तार गर्न लागेको हो । संस्थानले पुरै बुटवल शहरका लागि खानेपानी पुर्याउने उद्देश्यले आयोजनाको ठेक्का आव्हान गरेको छ । पहिलो प्याकेज अन्तर्गत १० र २० इन्चको डि.आई. पाइप खरिद कार्य भईसकेको छ भने दोस्रो प्याकेज अन्तर्गत खोलाको बाँध निर्माण र पाइप जडानको ठेक्का सम्झौता कार्य हुँदैछ । तेस्रो प्याकेजमा पाईप जडान गरी बिछ्याउने र ट्रस पुल बनाउने कार्यको ठेक्का आव्हान भएको छ । झुम्सा खोलाबाट प्रतिदिन ३ करोड १० लाख लिटर पानी ल्याएर बुटवलमा प्रशोधन गर्ने र त्यहीँबाटै वितरण गर्ने योजना रहेको संस्थानको बुटवल खानेपानी आयोजना प्रमुख बुद्धरत्न महर्जनले जानकारी दिए । बुटवल खानेपानी शुद्धीकरण आयोजनाको नामबाट दुईवटा मुख्य कामहरु अघि बढाईएको छ । यो आयोजनाको कूल लागत ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ रहेको आयोजना प्रमुख महर्जनले बताएका छन् । पहिलो काम अन्तर्गत झुम्सा खोलामा बाँध निर्माण गर्ने, ट्रस पुल बनाउने र पाईप बिछ्याएर पानी ल्याउने त्यस्तै दोस्रो आयोजनाको काम अन्तर्गत बुटवल उप महानगरपालिका वडा नं. ३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने, रिजर्भवायर पानी ट्यांकी बनाउने र पानी वितरणका कामहरु गर्ने रहेको छ । बुटवल शहरमा करिब ६ सय १२ किलोमिटर डिआई पाईप तथा एचडिपीईं पाईप विस्तार गर्ने र नौ वटा ओभरहेड ट्यांकी निर्माण गर्ने योजना रहेको आयोजना प्रमुख महर्जनले जानकारी दिए । अबको चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर आयोजनाको काम अघि बढाईएको छ । बुटवल उपमहानगरपालिकाका सबै वडाहरुमा २४ सै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले यो आयोजनाको डिजाईन तयार गरिएको छ । करिब ३ लाख जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संस्थानले जनाएको छ । संस्थानको बुटवल खानेपानी शुद्धीकरण आयोजना पहिलो ठूलो आयोजना हो भने दोस्रोमा पोखराको मर्दी खोला खानेपानी आयोजना रहेको छ । पोखरामा मर्दी खोला आयोजनाको निर्माण कार्य धमाधम चलिरहेको छ । यसअघि मर्दी खोला आयोजनाको शिलान्यास खानेपानी मन्त्री बिना मगरले गरेकी थिइन् । सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र शत प्रतिशत जनसंख्यालाई आधारभूतस्तरको खानेपानी सेवा पुर्याउने लक्ष्य छ । सोही लक्ष्य हासिल गर्न खानेपानी मन्त्रालयले देशैभरि साना ठूला गरी खानेपानीका आयोजनाहरुलाई अघि बढाउँदैछ । के हो झुम्सा खानेपानी आयोजना ? वि.सं २०५३ सालमा ४ करोड रुपैयाँ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ त्यतिकै बिलाएर गएपछि झुम्सा खोला खानेपानी आयोजना अगाडि सारिएको थियो । बुटवल बासीहरुलाई दैनिक ८० लाख देखि १ करोड लिटर खानेपानी उपलब्ध गराउने योजना अनुसार आयोजना अघि सारिएको थियो । बुटवलको खानेपानी समस्या समाधान गर्न भन्दै २२ वर्षअघि झुम्सा खानेपानी आयोजना सुरु गरिएको थियो । पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गतको झुम्सा खोला बुटवलबाट करिब १४ किलोमिटर टाढा पर्छ । २२ वर्षअघि तत्कालीन मेयर सुर्यप्रसाद प्रधानको पालामा यसबारे छलफल सुरु भएको थियो । तर दुई दशक बित्यो यसअघि कसैले सुरु गरेनन् झुम्सा खानेपानी आयोजनाको काम । अहिले खानेपानी मन्त्री बिना मगरले यो आयोजनाको कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएकी छन् । दुई वर्षअघि झुम्सा खोलाको फिरफिरे घाटमा इन्टेक निर्माणको काम सकिएर केही किलो मिटर पाइप लाइन बिछ्याइसकेपछि बाढीले इन्टेक नै बगाइदिएको थियो । इन्टेक बगाएपछि आयोजनाको काम रोकिएको थियो । सुरुमा १९ करोड ५६ लाख रुपैयाँ लागत अनुमान गरी २०६८ सालको असारभित्र सक्ने लक्ष्य लिईएको थियो । बुटवलको मेलम्चीको रुपमा व्याख्या गर्दै आएको झुम्सा खानेपानी आयोजना बुटवल शहरबासीका लागि गौरवको कुरा हो । हाल बुटवलमा दैनिक ३ करोड ५० लाख लिटर पानीको माग रहेको छ । जुन माग यो आयोजनाले पुरा गर्नेछ । रासस
महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले अछामस्थित वैद्यनाथ वेद विद्याश्रमलाई एक लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका हुन् । बैकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरुका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस भन्ने हेतुले उक्त सहयोग गरेको हो । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
सिटी एक्सप्रेसको ‘न यति न उति सिधै लखपति’ योजनाअन्तर्गत १० लाखकाे विजेता घाेषित
काठमाडौं । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६ ( न यति न उति सिधै लखपति” योजना अन्तर्गत जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन् । एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरिएको हो । साउदी अरबको अरब नेशनल बैंक – टेलिमनीबाट पैसा पठाएर लक्कीड्रमा परी बम्पर उपहारस्वरुप यादवले सो रकम प्राप्त गरेका हुन् । यस उपहार योजना अवधीभर हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९ सय जनाले रु २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु १० हजार नगद र ३ जनाले रु १ लाख नगद प्राप्त गरिसकेका छन् र अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १० लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधानअनुसार यादव विजयी भएका हुन् । सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस “लखपति एक्सप्रेस २०७६ ( न यति न उति सिधै लखपति” योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।
तीन दिनदेखि अवरुद्ध पहलमानसिंह स्वाँर राजमार्ग खुला
डाेटी । तीन दिनदेखिको लगातारको वर्षात्का कारण पहिरो आउँदा अवरुद्ध भएको अछाम डोटी जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग सञ्चालन भएको छ । उक्त राजमार्गको सिलगढीस्थित उडितोला नजिक बुधबार राति पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिएका छन् । पहिरोले राजमार्ग अवरुद्ध हुँदा अछाम, बाजुराबाट तराई जान आएका एक दजर्न सवारी साधन बीच बाटोमै रोकिएका थिए । जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएका प्रहरी, स्थानीयवासीको पहलमा उक्त राजमार्ग अहिले सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरीले जनाएको छ । राजमार्ग सञ्चालन भएपछि सवारी साधन तथा यात्रु अहिले आफ्नो गन्तव्यतिर लागेका छन् । त्यसैगरी हिमपातका कारण आज बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्तराजमार्ग पनि सञ्चालन भएको छ । बुधबार रातिदेखिको लगातार बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा बन्द भएको थियो भने सयौँ यात्रु अलपत्र परेका थिए । सडक डिभिजन कार्यालयको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि यातायात सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रहरी प्रमुख कर्ण रौलेले जानकारी दिए । डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको मुख्य राजमार्ग रहेको उक्त भीमदत्त राजमार्गमा यातायात सेवा बन्द भएको ट्राफिक प्रहरी चौकी बुडर डोटीले जनाएको छ । भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साहुँखर्क तथा डोटीको गैरा क्षेत्रमा बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको गैराका स्थानीय मोहन मल्लले जानकारी दिएका हुन् । रासस