हिमालय उर्जा विकास कम्पनीको अध्यक्षमा पाण्डे, सञ्चालकमा ८ जना नियुक्त
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको अध्यक्षमा हरिप्रसाद पाण्डे नियुक्त भएका छन् । पुस २५ गते बसेको सञ्चालक समितिको ७८औं बैठकले पाण्डेलाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । सो दिन बसेको कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा पछि बसेको बैठकले अध्यक्ष सहित ९ जनाको नयाँ सञ्चालक समिति गठन गरेको हो । जसमध्ये संस्थापक समूहको तर्फबाट एक अध्यक्ष र ६ जना सञ्चालक नियुक्त भएका छन् भने सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त भएका छन् । संस्थापक समूहको तर्फबाट प्रा.डा. भीम प्रसाद न्यौपाने, सरोज कुमार उपाध्याय, पशुपति चौलागाई, रमेश प्रसाद न्यौपाने, सोमनाथ पाठक र श्रीराम पाण्डे सञ्चालकमा नियुक्त भएका छन् । त्यस्तै, कपिल आचार्य र प्रमिला चौहान बस्नेत सर्वसाधारण समूहतर्फबाट नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष पाण्डेले धेरै उद्योगहरू स्थापना गरिसेकेका छन् । उनले हालसम्म माछापुच्छ्रे मेटल एण्ड मशिनरी वर्क्स(पी) लिमिटेड, पोखरा फूड्स (पी. लि), सगरमाथा ईन्जिनियरिङ वर्क्स (पी) लि., पोखरा मेशिन टूल्स इंडस्ट्रीज (पी) लिमिटेड, पोखरा नूडल्स (पी.) लिमिटेड र रम्बा सामान्य खाद्य उद्योग (पी) लि. उद्योगहरू स्थापना गरी सञ्चालनमा ल्याइसकेका छन् । उनी टाक्स हाइड्रोपावर कम्पनीका पूर्व निर्देशक र सिभिल हाइड्रोपावर कम्पनीका पूर्व कार्यकारी अध्यक्ष पनि हुन्। पाण्डेले नयाँ उद्योग स्थापना गर्ने, उनीहरूलाई संवोधन गर्ने र उनीहरूसँग सफलतापूर्वक सञ्चालन गर्ने लामो अनुभव रहेको छ। साथै, उनीसँग मेकानिकल ईन्जिनियरिङ, सिभिल इन्जीनियरिङ, शैक्षिक संस्थानहरू, खाद्य उद्योग, जलविद्युत र वित्तीय संस्थानहरुको पनि अनुभव रहेको छ ।
व्यवस्थापन नेतृत्व नभेट्ने समस्याबाट बीमा कम्पनी मुक्त, सबै कम्पनीले पाए सीईओ
काठमाडौं । अधिकांश बीमा कम्पनीहरुले व्यवस्थापनको नेतृत्व प्राप्त गरेका छन् । केही समयअघिसम्म प्रमुख कार्यकारी अधिकृत (सीईओ) नपाएर हैरान भएका बीमा कम्पनीहरुले सीईओ नियुक्ति गरिसकेका हुन् । पछिल्लो समय बीमा कम्पनीहरुमा सिईओ नियुक्ती धमाधम हुन थालेको छ । खाली रहेका कम्पनीमा अब कसले नेतृत्व गर्छ भन्ने पनि करिब पक्का भएको छ । सानिमा लाइफ सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सीईओ फेला पारेको छ । कम्पनीको सीईओमा चिरायु भण्डारी नियुक्त हुने करिब पक्का छ । भण्डारीले नेपाल पूनर्बीमा कम्पनीबाट गत आर्थिक वर्षको अन्त्यसँगै अवकाश पाएका थिए । कुलिङ पिरिएडको कारण मात्रै सानिमा लाइफमा उनको प्रवेश केही ढिला भएको हो । भण्डारीले माघदेखि कार्यभार सम्हाल्नेछन् । सानिमा जनरल सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सीईओ पनि टुंगो लागेको छ । सानिमा जनरलको सीईओ भएर सुद्युम्न उपाध्याय जाने करिब पक्का छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको पूर्वसीईओ उपाध्याय अहिले नेपाल बाहिर छन् । प्रिमियरमा उनको कार्यकाल गत कात्तिकमा सकिएको थियो । बीमा समितिले ६ महिनाको कुलिङ पिरियड तोकेको कारण उनको नियुक्तिमा ढिलाई भएको हो । ज्योति लाइफ ज्योति लाइफ इन्स्योरेन्सको सीईओको जिम्मेवारी प्रकाश खत्रीले सम्हाल्ने छन् । हाल उनी सोही कम्पनीको एक्टिङ सिइओको रुपमा काम गर्दै आएका छन् । युनाइटेड इन्स्योरेन्स युनाइटेड इन्स्योरेन्स कम्पनीको सीईओको जिम्मेवारी रमेशकुमार भट्टराईले पाउने भएका छन् । उनी अहिले सोही कम्पनीको कामु सीईओ छन् ।
प्रदेश नं ३ को राजधानी हेटौँडा हुने निश्चित
हेटौँडा । आज बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटाैंडालाई गरेको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए । यसैगरी आजै सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभ्रेकाे धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गरेकाे प्रस्तावलाई बैठकले अस्वीकृत गर्यो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गरे भने पक्षमा जम्मा तीन मतमात्र परेको सभामुख सानुकुमार श्रेष्ठले जनाए ।
सनराइज बैंकले संचालनमा ल्यायाे रिकरिङ्ग खाता, बचत खातामा पनि मुद्दति सरह नै ब्याज पाइने
काठमाडौं । सनराइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सनराइज रिकरिङ्ग खाता संचालनमा ल्याएको छ । उक्त खातामा बचत खातामा जस्तैगरी रकम जम्मा गर्दै जान सकिने र ब्याज भने मुद्दति खाता सरह पाइनेछ । आवश्यकता अनुसार १ देखि ५ वर्षका लागी बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गदै जान सकिनेछ । खाता खोल्दा न्युनतम बचत रु. १ हजार र त्यसपछि एक पटकमा न्युनतम रु. ५ सय वा ५ सयको गुणाका दरले जम्मा गर्दै जान सकिनेछ । सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमित रुपमा मुद्घति खातामा जम्मा हुदैं जाने र मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि सजिलै पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ । उक्त खातामा पूर्व निर्धारित भन्दा बढी रकम ग्राहकको अनुकुलता अनुुसार पटक पटक गरी जम्मा गर्न सकिनेछ । यस खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने व्याज व्यक्तिगत मुद्घति खाता सरहको उच्च ब्याज पाउनु हो । साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था छ । यस खातामा फ्लोटिङ्ग व्याजदर लागु गरिएको छ जसले गर्दा बजारको उतार चढाव अनुसारको व्याज दर निर्धारण गर्न मदत पुग्दछ । उतार चढाव हुदाँ पनि व्याज प्राप्त हुनेछ । हाल बैंकले मुद्घति खातामा ९.२५% मा थप ०.५ % व्याज प्रदान गर्दै आएको छ । यो योजना दैनिक,साप्ताहिक र मासिक हिसाबले बचत गर्ने सोच भएमा व्यक्तिहरुलाई अति उपयुक्त रहने बैंकले जनाएको छ ।
बैंकको बदमासीः साना संस्था मर्ज गरेपछि निक्षेपको व्याज घटाउने, ऋणको नघटाउने
काठमाडौं । कुमारी बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनी मर्जर सम्पन्न भएर एकीकृत कारोबार सुरु भएको २ वर्ष भयो । तत्कालिन पश्चिमाञ्चल फाइनान्सको ऋणको व्याज १६ प्रतिशत थियो । कुमारी बैंकमा मर्जर भएपछि पनि तत्कालिन पश्चिमाञ्चल फाइनान्सका ऋणी अहिले पनि १६ प्रतिशत व्याज र २ प्रतिशत शुल्क थप गरेर १८ प्रतिशत व्याज तिरिरहेका छन् । पश्चिमाञ्चल फाइनान्स कम्पनीले प्रवाह गरेको ऋणमध्ये ३६ करोड रुपैयाँ ऋणलाई खराब कर्जामा राखिएको थियो । यस्तो कर्जाको सावा व्याज तिरिरहेका ऋणी अहिले पनि १८ प्रतिशत व्याज तिर्न वाध्य भएका हुन् । यति मात्रै होइन, तत्कालिन पश्चिमाञ्चल फाइनान्सले बढीमा ५ वर्षसम्मको ऋण दिने गरेको थियो । कम्पनी मर्ज भएर कुमारी बैंकको नाममा एकीकृत कारोबार हुन थालेको २ वर्ष विते पनि फाइनान्स कम्पनीबाट ऋण लिनेहरुले अहिले पनि कुमारी बैंकले तोकेजति व्याज तिर्न पाएका छैनन् । पश्चिमाञ्चलबाट ऋण लिएका ऋणीले कर्जा नविकरण गर्दा पनि तत्कालिन पश्चिमाञ्चल फाइनान्सको व्याजदर अनुसार नै कर्जा तिर्नुपर्छ । ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंक मर्ज भएर एकीकृत कारोबार सुरु भएको ४ महिना पूरा भयो । असोज पहिलो साता मर्जर सकिएर एनएमबी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको थियो । तर, तत्कालिन ओम डेभलपमेन्ट बैंकबाट कर्जा लिएका ऋणीले अहिले पनि तत्कालिन ओमको व्याजदर अनुसार नै कर्जा नविकरण गरिरहेका छन् । तत्कालिन ओमकोभन्दा अहिलेको एनएमबी बैंकको कर्जाको व्याज ५ प्रतिशतसम्म महंगो थियो । ठूला बैंक वित्तीय संस्थाको तुलनामा साना बैंक वित्तीय संस्थाको व्याज महंगो हुने गर्छ । तर, ठूला बैंक वित्तीय संस्थासँग मर्जर वा एक्वीजिसन भएपछि पनि साना संस्थाको निक्षेपको व्याज तत्काल घट्ने तर कर्जाको व्याज नघट्ने प्रबृत्ति देखिएको छ ।
नेपाल बैंकको वार्षिक साधारण सभाले पारित गर्याे २५ प्रतिशत लाभांश
काठमाडौं । नेपाल बैंककाे ६०औं वार्षिक साधारण सभाले २५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत नगद र १५ प्रतिशत बोनस गरी साे मात्रामा लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । सभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा नेपाल एपीएफ क्लव, हलचोक, काठमाडौमा सम्पन्न भएको हाे । सभामा बैंकको आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/७६ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमा छलफल भई पारित भएको थियो ।
सुनचाँदी व्यवसायलाई अर्थतन्त्रमा बलियो बनाउन सरकार लागेको छः मुख्यमन्त्री शाही
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले सुनचाँदी व्यवसायलाई अर्थतन्त्रमा बलियो बनाउनेतर्फ सरकार लागिपरेको बताएका छन् । शनिबार ललितपुरको गोदावरीमा आयोजित नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च तेस्रो साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् । ‘नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि हामीले कुन साधनको रूपमा लिने, कसरी उपयोग गर्ने, उत्पादनबाट फाइदा लिने यी सबैलाई मध्यनजर गरेर यसको सही व्यवस्थापनका लागि सरकार अगाडि बढेको छ, शाहीले भने, ‘सरकारको तर्फबाट गरिने कानुनी व्यवसथापन र व्यवसायिक वातावरण बनाउन पनि लागिपरेको छ ।’ कार्यक्रममा नेपाल रत्न आभुषण महासंघका अध्यक्ष सुनचाँदीस्पष्ट नीति नहुँदा व्यवसायमामा समस्या परेको बताउँदै नेपाली मौलिक गरगहना विश्वबजारमा पुर्याउनुपर्ने बताए । ‘२ अर्ब डलरको मौलिक गरगहनाको बजार छ । यसलाई विश्वबजारमा पुर्याउनुपर्छ । मौलिक गहना बनाउने कालिगढको अभाव रहेको भन्दै अध्यक्ष महर्जनले उनीहरूले दोस्रो पुस्तालाई मालिक गहना बनाउन सिकाउनुपर्ने बताए । नेपाल सुनभचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले सुनचाँदी व्यवसायमा देखिएको चुनौतीमा सबैले हातेमालो गरेर समाधान गर्नुपर्ने उल्लेख गरे ‘व्यवसायमा धेरै चुनौती छ । सबै मिलेर समस्या समाधान गर्नुपर्छ ।’ व्यवसायीले बिनागल्ती झुटो मुद्दा खेप्नुपरेको समेत उनले बताए । कच्चा पदार्थको अभाव, नेपाल राष्ट्र बैंकको सूचिमा सुनचाँदी व्यवसायीको नाम उल्लेख नहुने लगायतले अझै कष्ट खेप्नुपरेको बताउँछन् । लकान्द्रीले भने, ’स्थापनाकालदेखि नै व्यवसायीहरुका समस्या र तिनको सहज समाधानका लागि क्रियाशील रहँदै आएको मञ्चले व्यवसायमा आवश्यक कच्चा पदार्थको सहज उपलब्धताको अभाव झेल्नु परेको छ । मञ्च गतवर्षको तुलनामा सहजताका साथ अगाडि बढेको पनि अध्यक्ष लकान्द्रीले बताए । मञ्चका महासचिव खेम तिरुवाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए । व्यवसाय सञ्चालकहरूले माग अनुसारको वैधानिक निकायबाट सर्वसुलभ रूपमा आवश्यक कच्चा पदार्थ प्राप्त गर्नुपर्छ भन्ने विषयमा मञ्चले निरन्तर माग गर्दे आएको जानकारी दिएका छन् ।
सबैकाे साथ पाए ४ वर्षमा पुनर्बीमाको वासलात ५० हजार मिलियनको बनाउन सकिन्छ-शंकर रायमाझी
पुँजीको आधारमा नेपाल पुर्नबीमा कम्पनी बीमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो । यस कम्पनीमा अरु धेरै बीमा कम्पनीको पनि लगानी भएकोले अप्रत्यक्ष रुपमा सर्वसाधारणको लगानी छ । कम्पनीले फेरी १ अर्ब ६० करोड रुपैयाँ बराबरको साधारणस सेयर निष्काशन गर्दैछ । यति ठूलो कम्पनी भएपनि यसको चुनौति झन धेरै छ । पुर्नबीमा व्यवसाय गर्ने नेपाली एउटा कम्पनी मात्र भए पनि यसले अन्तराष्ट्रिय बजारमा प्रतिस्प्रर्धा गर्नुपर्छ । यति महत्वपूर्ण कम्पनीमा सरकारले नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शंकर कुमार रायमाझीलाई नियुक्त गरेको छ । उहाँ बीमा क्षेत्रका अनुभवी व्यक्ति होइन तर उहाँले सबैको साथ पाएमा चार वर्षमा यस कम्पनीको वासलात ४० देखि ५० हजार मिलियन बनाउने बताउनु भएको छ । प्रस्तुत छ उहाँसँग गरिएको विकास वहस । आगामी चार वर्षमा नेपाल पुर्नबीमा कम्पनीलाई कुन लेवलमा पुर्याउनु हुन्छ ? नेपाल पुर्नबीमा कम्पनीको सीईओ छनोट प्रक्रियामा भाग लिने क्रममा व्यवसायिक योजना पेस गरेको छु । त्यसमा यस कम्पनीको फाइनान्सियल इण्डिकेटरलाई सुधार गर्ने उल्लेख छ । यो चार वर्षको अवधिमा कुन वर्ष कति फाइनान्सिलय इण्डिकेटरको सुधार गर्ने भन्ने छ । यस कम्पनीले गत आर्थिक वर्षमा १ करोड १७ लाख नाफा गरेको छ । त्यसको आधारमा मैले हरेक वर्ष २५/२६ प्रतिशतका दरले नाफा वृद्धि गर्छु भनेको छु । असार मसान्तमा २० हजार ३ सय ४७ मिलियन हाम्रो वासलातको आकार रहेको थियो । चौथो वर्षमा जाँदा त्यसलाई २५ हजार मिलियन प्लसको वासलातको आकार पुर्याउने भन्ने मेरो योजना छ । अहिले कम्पनीको ३२ वटा राष्ट्रमा यसको नेटवर्क छ । ३२ वटै राष्ट्रबाट यसले विजनेस प्राप्त गरिरहेको छ । आगामी चार वर्षको अवधिमा सिंगापुर, लण्डन र भारतमा शाखाहरु खोल्ने सोच बनाएका छौं । नेपालका जीवन कम्पनीहरु १९ र निर्जीवन कप्पनीहरु २० वटा रहेका छन् । उनीहरुले कम्तिमा २० प्रतिशत पुर्नबीमा नेपाल पुर्नबीमा कम्पनीमा गर्नु पर्ने भन्ने नियम छ । त्यसको पालना भए नभएको हामीले हेर्नुपर्छ । २० प्रतिशतलाई बढाएर कसरी ३० वा ४० प्रतिशत बनाउने भन्ने हाम्रो प्रयास हुन्छ । बीमा व्यापार एक आपसामा अन्र्तनिहित छ । हामीलाई सबैभन्दा ठूलो चुनौति भनेका संसारका जुनसुकै पुर्नबीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नु हो । हाम्रो वित्तीय अवस्था राम्रो हुनुपर्छ । राम्रो ख्याती पनि राम्रो हुनुपर्छ । हामीले अन्तराष्ट्रिय स्तरमा विश्वास जित्नुपर्छ । हामीले अन्तर्राष्ट्रिय कम्तीमा ‘ए’ रेटिङ पायौं भने त्यसले हामीलाई व्यापार गर्न सहयोग गर्छ । रेटिङमा त्रिपल ‘ए’ पायौ भने झन् सजिलो हुन्छ । विदेशबाट हामीलाई विजनेश ल्याउन सजिलो हुन्छ । त्यसको असर नेपालको जीडीपीमा नै सकारात्मक हुन्छ । हाल बीमा क्षेत्रले २.४५ प्रतिशत योगदान गरेको हामीले यसलाई ३ प्रतिशतसम्म पुर्याउने सकिन्छ । विदेशबाट जति धेरै विजनेश ल्याउन सक्यौ त्यति धेरै बैदेशिक व्यापार सन्तुलन कायम गर्न सजिलो हुन्छ । तपाईले आफ्नो कार्यकालमा २५ हजार मिलियनको वासलात तयार पार्छु भन्नुभयो, यसमा विदेशी मुद्राको हिस्सा कति रहन्छ ? यसका लागि हामी विदेशमा गएर कति माकेर्टिङ गर्न सक्छौं भन्ने कुरामा भर पर्छ । अन्तर्राष्ट्रिय स्ट्याण्डर्डको रेटिङले त्यसलाई फाईनलाईज गर्छ । अहिले नै यति हुन्छ भनेर भन्न गाह्रो छ । हामीलाई नेपाल सरकारका निकायहरु, बीमा समिति, बीमा कम्पनीहरुले गर्ने सहयोगले पनि हामी विदेशी बजारमा कति जान सक्छौं भन्नेमा भर पर्छ । ३९ वटै कम्पनीले कम्तिमा २० प्रतिशत विजनेश हामीलाई दिए भने २५ अर्बको वासलात बनाउन गाह्रो छ । अहिले नै ६÷७ वटा जीबन बीमा कम्पनीहरुले १०० प्रतिशत पुर्नबीमा हामीलाई दिएका छन् । भविष्यमा सबै जीवन बीमा कम्पनीले नेपाल पुर्नबीमा कम्पनीलाई सत प्रतिशत विजनेश दिएभने २५ हजार होइन ५० हजार मिलियनको वासलात बनाउन सकिन्छ । तपाइलाई सतप्रतिशत बीमा दिने कम्पनीहरु कुन कुन हुन ? राष्ट्रिय बीमा संस्थान, सन लाइफ नेपाल, सूर्य लाइफ इन्सुरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, आइएमई लाइफ, गुँरास लाइफ र सानिमा लाइफले हामीलाई सत प्रतिशत पुर्नबीमा दिईरहेका छन् । अर्को सिटिजन लाइफ प्रक्रियामा छ । कुनै कम्पनीले सरकारी निर्देशनलाई वाध्यताको रुपमा स्वीकार गरेर २० प्रतिशत मात्र पुर्नबीमा दिने, कुनैले सय प्रतिशत नै दिने अवस्था कसरी आयो ? विदेशी पुर्नबीमा कम्पनीहरूसँग काम गर्नुभन्दा आफ्नै देशको पुर्नबीमा कम्पनीसँग काम गर्न सजिलो हुन्छ । यसमा आफ्नोपन पनि छ । त्यसकारणले केही कम्पनीले सतप्रतिशत पनि दिएका छन् । सतप्रतिशत दिने कुरा भर्खरै शुरु भएको हो । पुर्नबीमा कम्पनीको क्षमता विकास हुँदै जाँदा अरु कम्पनीले पनि सत प्रतिशत पुुर्नबीमा नेपालमा गराउन सक्छन् । सरकारले पनि २० प्रतिशत दिनु भनेर पुर्नबीमा कम्पनी स्थापना भएकै दिनदेखि भनेको होइन । नेपाल पुर्नबीमा कम्पनीले आफ्नो क्षमता विकास गर्दै गएपछि २० प्रतिशत अनिवार्य गरेको हो । निर्जीवन बीमा कम्पनीहरुले ३० प्रतिशत सम्मको पुर्नबीमा नेपाल मै गर्न सकिन्छ भनेर बीमा समितिले भनेको छ । पुर्नबीमा कम्पनीको आफ्नै क्षमता पनि विकास हुनुपर्छ । अहिले हाम्रो ८ अर्ब ४० करोडको पुँजी हो । एक अर्ब ६० करोडको साधारण सेयर निष्काशन गरेर पुँजी १० अर्ब रुपैयाँ बनाउँदैछौं । हामीसँग अन्तर्राष्ट्रिय स्तरको जनशक्ति छैन । अन्तर्राष्ट्रिय स्तरको प्रविधि छैन । यी सबै कारणले गर्दा विजेनेश दिँदा यिनीहरुले विजनेस अनुसारको पर्फमेन्स दिन सक्दैन भन्ने लागेर पनि नदिएको हुन सक्छ । उनीहरुले विजनेश दिँदा त्यही अनुसारको क्यापाविलिटी हामीले बनाउनु पर्यो । पुर्नबीमा आफैमा जोखिम वहन गर्ने व्यवसाय हो । जोखिम विश्लेषण गर्ने र न्यूनिकरण गर्ने क्षमता पुर्नबीमा कम्पनीसँग कति छ ? त्यसका लागि जनशक्ति विकासमा हामीले जोड दिनुपर्छ । मानव पुँजीलाई समयसापक्षे परिवर्तन गर्दै जानुपर्छ । म आएपछि मात्र यस कम्पनीमा रिसर्च एण्ड डेभलपमेन्ट सेल गठन गरेको छु । हामी कसरी रिभिन्यु रिसिभ गरिरहेका छौं ? त्यसको प्याटर्न के छ ? हाम्रो विजेनस सुधार गर्नुपर्ने केछ, विजनेश विस्तारको सम्भावना कहाँ छ ? कहाँ कति जोखिम छ ? यी र अन्य धेरै विषयमा यो सेलले अनुसन्धान गर्छ । जोखिमका आधारमा बीमा शुल्क तह हुन्छ । बढी जोखिम हुँदा प्रिमियम पनि बढी हुन्छ । कम जोखिम हुँदा प्रिमियम पनि कम हुन्छ । पुर्नबीमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकको सेवा व्यवसाय हो । अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नको लागि हामीसँग स्रोतसाधन र सामाथ्र्य कति छ ? हाम्रो बीमाको इतिहास छोटो छ । पहिलो बीमा कम्पनी स्थापना भएको ७२ वर्ष भयो । आर्थिक उदारिकरणपछि बल्ल नेपालमा बीमा कम्पनीहरु खुल्न थाले । बैदेशिक रोजगारीमा जानेको म्यादी बीमा समेत गणना गर्दा अहिले २६ प्रतिशत बीमाको पुहँच पुगेको भन्ने बीमा समितिको दावी छ । बीमा क्षेत्रमा लामो अनुभव भएका दक्ष जनशक्तिको पनि बजारमा कमी नै छ । पुर्नबीमा कम्पनी छैटौं वर्षमा प्रवेश गरेको छ । हामी नयाँ हौं । यो कम्पनीको संस्थागत अनुभव कम छ । यस कम्पनीलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र उनीहरुकै स्ट्याण्डर्डको बनाउन चार पाँच कुरामा ध्यान दिनुपर्छ । भौतिक संरचनाहरु निर्माण गर्नुछ । आफ्नै भवन बनाउनुपर्छ । अन्तर्राष्ट्रिय रिकोग्नाईज सफ्टवेयर हुनु आवश्यक छ । कम्पनी सञ्चालन गर्नको लागि अन्तराष्ट्रिय स्तरको नीति नियम हुनुपर्छ । त्यस्तै, हामीसँग अन्तराष्ट्रिय बजार बुझ्ने, प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको उपलब्धता हुनुपर्छ । जुन देशमा शाखा खोल्यो त्यहाँको विजनेश बुझेको मान्छे पनि आवश्यक पर्छ । जनशक्ति नियुक्ती लोकसेवा मार्फत नै गर्नुपर्छ । हामीलाई आवश्यक दक्ष जनशक्ति करारमा लिनु पर्ने देखिन्छ । त्यस्तै, हामीलाई मिडिल इष्टमा काम गर्नेको लागि त्यहि बजार बुझेको, त्यहाँको बजारमा राम्रो सम्बन्ध भएको व्यक्ति चाहिन्छ । त्यस्तो व्यक्ति लोकसेवा पास गरेर आउन सक्दैन । तपाईको कार्यकालमा कतिवटा देशमा सम्पर्क कार्यालय खोल्ने सोच बनाउनु भएको छ ? कम्पनीको अगाडिका कार्यक्रमहरू हेर्दाखेरि विदेशमा पनि शाखाहरु खोल्नु पर्ने हुन सक्छ भन्ने रहेको छ । सिंगापुर, लण्डन र भारतमा शाखा खोल्नुपर्छ भन्ने कुरा भइरहेको छ । अब मेरो कार्यकालमा पनि घटिमा एक बढीमा तीन ठाउँमा शाखाहरू खोल्ने कार्यक्रम राखेका छौं । त्यो खोल्नुभन्दा पहिले हामी अहिले जुन ठाउँमा छौं त्यो अनुसारको क्षमता र तयारी बनाइसक्नु पर्छ भन्ने रहेको छ । नेपाल पुर्नबीमा कम्पनीको रेटिङ कसरी गर्नु हुन्छ जवकी नेपालको कन्ट्री रेटिङ नै भएको छैन ? कन्ट्रीको रेटिङ यसै वर्ष अर्थात २०२० मा हुन्छ । यसको लागि सबै प्रक्रिया भइसकेका छन् । कन्ट्रीको रेटिङ भइसकेपछि हामी एउटा पोजिसनमा आउँछौं । हाम्रो कम्पनीको रेटिङमा हर्ने हो भने पुजीँको हिसावले हामीसँग एक किसिमको बन्दोवस्त छ । आइपिओमा नगई रेटिङ गर्न नपाउने हुनाले हामी अब आईपीओमा पनि जाँदैछौं । १ अर्ब ६० करोडको आइपीओ हामी निकाल्दै छौं । एउटा इण्डिकेटर त्यो पनि हुन्छ । हामीसँग रहेको अन्तर्राष्ट्रिय रिकोग्नाइज सर्टिफिकेट छ कि छैन भन्ने पनि अर्को इण्डिकेटर हो । हामीले गर्ने विजनेसको क्वालिटी कस्तो छ त्यसले पनि रेटिङ गर्ने हो । यसमा जनशक्तिको कुरा पनि आउँछ । त्यही आधारमा रेटिङ तय हुन्छ । यी कुरामा हामी ध्यान दिन्छौं । आईपीओ निष्काशन गर्ने प्रक्रिया कहाँसम्म पुग्यो ? आइपीओ मर्चेन्टसँग हाम्रो सम्झौता भएको छ । हामी रोकिएको पुँजीको प्रशंगमा अदालतमा एउटा मुद्दा परेर हो । त्यसको फैसला भइसकेको छ । अब आइपीओ निष्काशन हुन्छ । आइपीओका लागि बी रेटिङ आइसकेको छ । बी रेटिङ आइपीओका लागि ठीकै हो । तपाईले बाहिरबाट देखेको नेपाल पुर्नबीमा कम्पनी र सीईओ भएर भित्र आइसकेपछिको कम्पनीमा के फरक पाउनु भयो ? बाहिरबाट हेर्दा हाम्रो ३९ वटा कम्पनीहरु छन् । हिजो विजनेस प्लान बनाउँदाखेरि जुन प्रकारको मैले पाएँ त्यही अनुसार मैले विजनेस प्लान बनाएको हुँ । जे मेरो अनुमान थियो, त्यो भन्दा तलमााथि चाहिँ छ । मरो परसेप्सन हाई र कम्पनीको रियालीटि फिगर अफ फ्याक्टचाहिँ मेरो परसेप्सनभन्दा अलि तल्लो तहको मैले पाएँ । त्यो फरक कुन हिसावमा पाउनुभयो ? कतिपय कुराहरु फाइनानसियल इण्डिकेटरमा पनि रहेको छ । कतिपय कुराहरु आन्तरिक व्यवस्थापनमा पनि रहेका छन् । .खासगरि हाम्रो विजनेस भनेको सबै ३९ वटा कम्पनीहरुसँग रहन्छ । उहाँहरुसँग हामीले गर्ने विजनेसको तौर–तरिका अलि पुर्नविचार गरेर अगाडि बढ्नु पर्ने अवस्था छ । पुर्नबीमा कम्पनीको डेडिकेटेड लगानीकर्ता सरकार हो, साना बीमा कम्पनीहरु सरकारको व्यवहारसँग बेला–बखत असन्तुष्ट हुन्छन्, पुर्नबीमा कम्पनीको सीइओ भएको हैसियतले यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? म भर्खरै सीइओको रुपमा आएको छु । उनीहरुका विजेनेसको मुख्य मुद्दाहरु केके हुन् भन्ने विषयमा मैले एकिन गर्न पाएको छैन । त्यो थाहा पाएपछि विकल्प भन्ने कुरा हो । त्यहाँ फाइनान्सियल कारण वा उहाँहरुको कम्पनीले प्राप्त गर्नु पर्ने नाफाका कुराहरु कतै समस्या वा अफ्ठ्यारो हुने खालको केही स्वार्थका कारण त्यो भएको हुनुपर्छ । अन्यथा त्यो हुनु नपर्ने हो । हामीले सरकारले दिएको निर्देशन, बीमा समितिले दिएको निर्देशन वा नेपाल पुर्नबीमा कम्पनीले बनाएको प्रावधान छ त्यही अनुसार हामी अगाडि बढ्नुपर्छ । तपाई गैर–बीमा क्षेत्रको व्यक्ति हुनुहुन्छ । त्यसैले तपाईको क्षमतामाथि धेरैले शंका गरेका छन् नि ? शंका र प्रश्न गर्न पाईन्छ । बैंकिङ र अन्य क्षेत्रमा मेरो ३०÷३५ वर्षको अनुभव छ । सबै काम सीइओले गर्ने होइन । अथवा कुनै काम सीइओले नगर्ने भन्ने पनि होइन । यो एउटा जिम्मेवारी हो । मैले प्रशासनिक कम्पनीको कार्य निर्देशित गर्ने हो । यसमा म भन्दा माथि सञ्चालक समिति छ । सरकार छ । विभिन्न निकायहरु छन् । मातहतमा रहेका कर्मचारी साथीहरु छन् । बीमा कम्पनीका पूर्व सीइओहरु सल्लाहकारका रुपमा हुनुहुन्छ । कुनै त्यस्ता खालका समस्याहरू आएपनि अन्य बीमा कमपनीहरुबाट पनि सल्लाह सुझावहरु लिन सकिन्छ । हामी कहाँ धेरै समितिहरु छन् । त्यहाँ बीमा क्षेत्रका विज्ञ र अनुभवि मानिसहरु हुनुहुन्छ । हामीसँग टिम छ । एउटै मान्छे सर्वज्ञानी सर्वगुणी हुन सक्दैन । टिमको साथले सबै काम गर्न सकिन्छ । त्यसैले म मेरो विजनेस गर्न सक्छु । अन्तिममा समग्र बीमाको कुरा गरौं । अहिले धेरै मानिसहरु बीमा अनविज्ञ छन् । उनीहरुलाई बीमाको पहुँचमा ल्याउन सरकारले उल्लेखनिय कार्य गरेको देखिदैँन, यस्तो किन भयो ? अहिले हामी संघीय संरचनामा छौं । बीमा सम्बन्धि संघीय ऐन बन्दैछ । संघीय बीमा ऐन नआएको कारण पनि कतिपय कुरा रोकिएका होलान् । बीमा सम्बन्धि क्षेत्राधिकार दुई ठाउँमा दिएको छ । एउटा संघमा र अर्को प्रदेशमा छ । बीमा ऐन आइसकेपछि प्रदेशले पनि लाइसेन्स दिएर बीमा कम्पनी खोल्न पाउने व्यवस्था हुन्छ । यसले बीमा पहुँच पनि बढ्छ । अर्को कुरा विद्यालय तहबाटै बीमाको अध्यापन शुरु गर्न आवश्यक छ । यसले मानिसहरु सानैदेखि बीमा सम्बन्धि जानकार हुन्छन्, रूचि राख्छन् । बीमामा छिर्ने मानिसको संख्या पनि बढ्छ ।