सेयर मूल्य बढाउन प्रधानमन्त्री वा मन्त्रीकाे मुख ताक्नु हुदैनः अध्यक्ष ढुंगाना
काठमाडौं । धितोपत्र वोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले सेयर मूल्य बढाउनको लागि प्रधानमन्त्री वा अर्थमन्त्रीको मुख ताक्न नहुने वताएका छन् । माग र आपूर्तिले सेयर बजारलाई निर्धारण गर्ने भएकोले प्रधानमन्त्री वा मन्त्रीले भन्दैमा बजार प्रभावित नहुने उनको भनाइ छ । नवनियुक्त अध्यक्ष ढुंगानालाई भेट्न गएको नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को प्रतिनितिमण्डसँग कुरा गर्दै अध्यक्ष ढुंगानाले यस्तो बताएका हुन् । बजारलाई बजारकै गतिमा काम गर्न दिनु नै उपयुक्त हुने उनको भनाइ छ । ‘प्रधानमन्त्री वा अर्थमन्त्रीले भन्दैमा सेयर बजार बढ्ने होइन, बजारको आफ्नै गति र प्रक्रिया हुन्छ, सोही गति र प्रक्रिया अनुसार बजारले स्वभाविक गतिविधि गर्ने हो,’ अध्यक्ष ढुंगानाले भने । प्रधानमन्त्री वा अर्थमन्त्रीले भन्दैमा बजार बढ्ने वा घट्ने अवस्था नआउने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका ढुंगाना उदार अर्थतन्त्रका पक्षपाति हुन् । उनको कार्यकालमा नेपालमा विदेशी लगानी प्रबद्र्धनका लागि नीतिगत सुधारका कामहरु भएका थिए । ढुंगाना करिब १ वर्षदेखि वोर्डको विज्ञ संचालकका रुपमा कार्यरत थिए । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई वोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ढुंगानाले बोर्डको नेतृत्व संहालेदेखि नै सेयर बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरुको बुझाइ छ ।
कृषि विकास बैंकको ३० प्रतिशत लाभांश पारित
काठमाडौं । कृषि विकास बैंकको प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते(आइतबार) सम्पन्न बैंकको १३ औं वार्षिक साधारणसभाले सञ्चलाक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी २४ प्रतिशत नगद(कर सहित) र ६ प्रतिशत बोनस शेयर पाउने छन् । बैंकले करिब २ लाख ५७ हजारको संख्यामा रहेका शेयरधनीहरुलाई सो मात्रा अर्थात ३० प्रतिशत लाभांश वितरण गर्ने छ । भक्तपुरको बोडेस्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा भएको सभा अध्यक्ष क्षेत्रबहादुर सेंजुवालको अध्यक्षतामा सम्पन्न भएको छ । बैंकले हाल २७४ वटा शाखाहरुबाट आधुकिन बैकिङ्ग सेवा पुर्याईरहेको छ । साथै, बैंकले नेपालको वाणिज्य बैंकमध्ये सबैभन्दा बढी अधिकृत पुँजी पुर्याउन सफल भएको जानकारी दिएको छ । सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु झक्कप्रसाद आचार्य, रघुराम विष्ट, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिति रहेको थियो । साथै, बैंकका कम्पनी सचिव हिमलाल पौडेलले सभाको संचालन गरेका हुन् ।
आशा लघुवित्तले बारामा दियो तीन दिने निःशुल्क सीपमूलक तालिम
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले बाराको आदर्श कोटवालमा तीन दिने सीपमूलक तालिम संचालन गरी सम्पन्न गरेको छ । संस्थो पुस २३, २४ र २५ गते संस्थाले शाखा कार्यालय आदर्श कोटवाल बारामाआबद्ध सदस्यहरु मध्ये ११० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने झोल साबुन तथा सर्फ बनाउने तालिम दिएको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै आदर्श कोटवाल गाउँपालिकाका प्रमुख मोहम्मद मुस्तफा अन्सारीले यस्ता कार्यक्रमले महिलाहरुलाई उद्यमशील बन्न थप सहयोग पुग्ने बताएका छन् । साथै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपप्रमुख पुनम देबी साहले तालिम पश्चात महिलाहरुलाई लघु उद्यम गर्नका लागी थप सहयोग पुग्ने बताएका छन् । उक्त शाखाका प्रमुख प्रभु कुमार यादवले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा वृद्धीभई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुखहुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लगतमा लुगा धुने झोल सर्फ तथासर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी लिएका छन् । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २ हजार एक सय ५५ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने बताएका छन् । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
मिसन ७० करोडमा हिडेको सेन्चुरी बैंकको सेयरमा लगानी गर्नु कत्तिको उपयुक्त होला ? (प्राविधिक विश्लेषणसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्रमा वार्षिक साधारणसभा गरिसक्नुपर्छ । वार्षिक साधारणसभाले कम्पनीको लाभांश स्वीकृत गर्छ । कम्पनी ऐनअनुसार सबै कम्पनीहरुले पुस मसान्तभित्रमा वार्षिक साधारणसभा गरिसक्नुपर्ने व्यवस्था भएकोले अधिकांश बैंक वित्तीय संस्थाले वार्षिक साधारणसभा सकेर सेयरधनीलाई लाभांश दिइसकेका छन् । तर, सेन्चुरीले दिएको छैन । यही परिवेशमा सेन्चुरी बैंकको अवस्था कस्तो छ, यो बैंकको सेयर किन्ने वा बेच्ने के गर्दा लगानीकर्तालाई बढी फाइदा हुन सक्ला भन्ने जस्ता विषयमा बैंकका केही प्रमुख सूचकलाई आधार मानेर यो विश्लेषण प्रस्तुत गरिएको छ । ९ माघ २०६७ बाट सञ्चालनमा आएको सेञ्चुरी बैंक वाणिज्य बैंकहरुमा पछिल्लो पुस्ताको बैंक हो । पछिल्लो पुस्ताको भएपनि चुक्ता पुँजी वृद्धिको निर्णयपछि बैंक पुँजी आधारलगायतमा अन्य पुराना बैंकहरु सरह नै बनेको छ । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले प्राप्तिमा नै जोड दियो । बैंकले ५ वटा संस्था एक्वायर गरिसकेको छ । इन्नोभेटिभ, अल्पाइन, अरनिको डेभलपमेन्ट तथा सगरमाथा फाइनान्स र सेती फाइनान्सलाई बैंकले प्राप्ति गरेको हो । अहिले बैंकको १ सय १३ शाखा, १० एक्सेन्टन काउन्टर र १५ शाखारहित सेवा सञ्चालनमा छन् । बैंकले शुरुवातदेखि नै हकप्रद सेयर निष्कासनमा समेत जोड दिदै आएको छ । ‘सरल बैंकिङ सबैको लागि’ नारा लिएर अगाडी बढेको बैंकले सेञ्चुरी सेभिङ प्लस, सेञ्चुरी सबैको खातालगायतका निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको छ । त्यस्तै, ११ देखि १६ प्रतिशत व्याजदरमा बिभिन्न कर्जा लगानी गरिरहेको छ । २०७५ असारमै बैंकको ग्राहक संख्या ४ लाख ४७ हजार पुगिसकेको छ । बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटलमा ८५.७५ प्रतिशत लगानी छ । औसत ९ प्रतिशत प्रतिफल प्रतिफल वितरणका आधारमा यो बैंक औसत संस्था मानिन्छ । बैंकबाट सेयर लगानीकर्ताले विगत ५ वर्षमा बार्षिक औसत ९ प्रतिशतको लाभांश पाएका छन् । यो निक्षेपको बार्षिक औसत व्याजदरभन्दा पनि कम हो । बैंकले गत आवको नाफापछि लाभांश घोषणा गसिरकेको छैन । बैंकले सेयर प्रिमियमसहित करिब ७ प्रतिशतसम्म लाभांश दिनसक्ने सम्भावना देखिन्छ । पाँच बर्षयता बैंकको चुक्ता पुँजीमा २ सय ९६ प्रतिशतले वृद्धि हुँदा नाफामा भने ८ सय ८८ प्रतिशतको वृद्धि छ । तर, चुक्ता पुँजी र नाफा अनुपात भने घटबढको क्रममा छ । हाल यस्तो अनुपात १०.२१ प्रतिशत छ । पहिलो त्रैमाश चालु आवको पहिलो त्रैमाशमा ३५.३३ प्रतिशतले नाफा बढेको छ । यो अवधिमा ३७ करोड रुपैयाँ नाफा कमाएको हो । बैंकले हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई १८ करोड रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको चुक्ता पुँजीको आधारमा २ प्रतिशत हो । आव अन्त्यमा लाभांश दर बढ्न सक्छ । बैंकले गत वर्ष ८ करोड ५४ लाख रुपैयाँ प्रावधानमा राखेकोमा १ करोड ८६ लाख रुपैयाँ राइट ब्याक गरेर फिर्ता ल्याएको छ । यसले नाफामा सहयोग पुगेको छ । बैंकको खुद व्याज आम्दानी ३.६४ र कुल सञ्चालन आम्दानी ६.६७ प्रतिशतले बढेको छ । खुद सञ्चालन आम्दानी ९३ करोड ४६ हजार रुपैयाँ छ । उच्च दरमा वृद्धि भइरहेको कर्मचारी खर्चमा केही लगाम लागेको छ । कर्मचारी खर्च ५.८५ प्रतिशतले बढेर २५ करोड ८ लाख पुगेको छ । बैंकमा ९ सय ९२ जना कर्मचारी कार्यरत छन् । बैंकको जगेडा तथा सञ्चित कोषमा १ अर्ब ७५ करोड रुपैयाँ छ । कोष करिब २५ प्रतिशतले बढेको छ । पुँजी कोष लागत ८.१० प्रतिशतबाट केही घटेर ७.९९ प्रतिशत छ । यो दर अन्यको तुलनामा उच्च नै हो । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात निकै टाइट (७९.२१ प्रतिशत) छ । खराब कर्जा अनुपात २ प्रतिशतभन्दा माथि पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.८७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय २४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८.७४ गुणा छ । लक्ष्य ७० करोड नाफा गत आर्थिक वर्षमा पहिलो त्रैमाशबाट दोस्रो त्रैमाशमा आउँदा नाफामा ८९ प्रतिशतको वृद्धि देखिएको थियो । यसपटक सोही दरमा वृद्धि हुँन बैंकले ७० करोड नाफा आगामी दोस्रो त्रैमाशमा नै कमाउनु पर्ने हुन्छ । गत वर्ष भने २७ करोडको नाफा वृद्धि भएर ५१ करोड रुपैयाँ पुगेको थियो । बैंकमा अध्यक्षको रुपमा राजेशकुमार श्रेष्ठ छन् भने प्रमूख कार्यकारी अधिकृतमा तुलसीराम गौतम छन् । बैंकले बार्षिक वित्तीय विवरणमा ०.५ प्रतिशत माथि स्वामित्व हुने लगानीकर्ताको विवरण समावेश गरेको छैन । बैंकमा ४७.१७ प्रतिशत सर्वसाधारण र ५२. ८३ प्रतिशत संस्थापक सेयर धनीको स्वामित्व छ । प्रवृत्तिः बुलिश बैंकको सेयर मूल्य विगत एक वर्षमा ३० रुपैयाँको अन्तरमा तलमाथि गरिरहेको छ । वर्षको उच्च विन्दु १ सय ८२ बाट घटेर १ सय ५२ सम्म मूल्य पुगेको बैंकको सेयर त्यसयता १८ रुपैयाँले महंगिएको छ । बैंकको मूल्यले भने १ सय ८० रुपैयाँ आसपास यसअघि पनि पटक पटक प्रतिरोधको सामना गरेको देखिन्छ । अहिले बैंकको सेयर बुलिश प्रवृतिमा रहेको बिभिन्न सूचकले देखाएको छ । १४ दिने आरएसआई सुचक अधिक खरिद क्षेत्र नजिक आइपुगेको छ । दुई दिनअघि ६८ सम्म पुगेको आरएसआई हाल ६४.७ मा छ । ७ दिने मुभिङ एभरेजले केही समयअघि २१ दिने रेखालाई क्रस ओभर गरेको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गर्छ । एक महिना अवधिको पीभट विश्लेषणले भने मूल्य घटेमा आगामी एक महिनामा १ सय ६५ मा पहिलो टेवा र बढ्ने क्रममा १ सय ७३ मा प्रतिरोध पाउने देखाउँछ । एक महिनामा बैंकको मूल्य ८ रुपैयाँको फरकमा तल माथि गरिरहेकोले रेन्ज नै कम छ । बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा पहिलो दिन कालो र दोस्रो दिन सेतो मैनवत्ति आकृति बनाएको छ । यी दुई दिनमा पियर्सिङ बुलिश आकृति बनेको छ । यसमा कालो मैनवत्तिको मध्य भाग नजिकबाट सेतो मैनवत्तिको आकृति बनेको छ । सेतो मैनवत्तिको शरिर कालो मैनवत्तिको शरिरभन्दा तलसम्म पुगेको छ । यो संकेतलाई दरिलो संकेत भने मानिदैन । पछिल्लो दिन दैनिक औसत कारोबारमा आएको बैंकको सेयर संख्या बढेकोले लगानीकर्ताको आकर्षण भने कायमै देखिन्छ । वाणिज्य बैंकहरुमा सस्तो मूल्यको कम्पनी भएकोले पनि लगानी गर्दा ठूलो नोक्सान हुने अवस्था छैन । यद्यपि आगामी दिनको कारोबार हेरेर निर्णय लिनु सही हुन्छ ।
भूकम्प प्रभावितको सूचीबाट हटाइयो ६१ जनाको नाम
चितवन । चितवन जिल्लामा रहेका ६१ जना भूकम्प प्रभावितको नाम सूचीबाट हटाउन स्थानीय तहले सिफारिस गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भरतपुर चितवनका अनुसार भूकम्प प्रभावितमध्ये दुईजनाको प्रथम किस्ताबापतको रकम फिर्ता गर्न कबुलियतिनामा प्राप्त भएको छ । नाम सूचीबाट हटाउन सिफारिस हुनेहरुमा दोहोरो नाम परेका, लाभग्राहीहरु वडामा सम्पर्कमा नआएका, घर पुनर्निर्माण नगर्ने सोचमा रहेका, भूमिहीन भएका, सार्वजनिक जग्गामा पहिलादेखि नै बस्दै आइरहेका व्यक्तिहरु रहेको कार्यालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । कार्कीका अनुसार सूचीबाट हटाउन सिफारिस गरिएकामा खैरहनी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका रहेका छन् । यस्तै भूकम्पपछि प्राविधिकहरु नखटिँदै निर्माण सम्पन्न भएका ३१ घरको विषयमा कार्यालयले केन्द्रमा पठाएको कार्कीले जानकारी दिए । जिल्लामा ५९६ जना भूकम्प प्रभावित थपिएका छन् । कार्कीका अनुसार थपिनेमा ३ सय ७ पुनर्निर्माणतर्फ र २ सय ८९ जना आंशिक क्षतितर्फ रहेका छन् । कार्यालयले गत जेठ मसान्तसम्म लिएको गुनासोका आधारमा उनीहरु लाभग्राहीको सूचीमा थपिएको हो । कार्यालयका इन्जिनीयर सुजन नेपालका अनुसार जिल्लाको पुनर्निर्माणको ६९ प्रतिशत काम सम्पन्न भएको छ । सात हजार ४ सय ६० लाभग्राहीमध्ये चार हजार ७ सय २२ जनाले तेस्रो किस्ताबापतको रकम निकासा गरिसकेका छन् । यस्तै दोस्रो किस्ताबापतको रकम पाँच हजार ६ सय ८ जनाले लिइसकेका छन् । पहिलो किस्ता सम्झौता गर्नेको सङ्ख्या छ हजार ७ सय ८४ रहेको छ । लाभग्राहीको सङ्ख्या थप भई सात हजार ७ सय ६७ पुगेको हो ।रासस
अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी, सबै उपकरण जलेर नष्ट
दमाैली । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो । बिहान गएर हेर्दा टावर आगजनी भएको अवस्था भेटिएको बताइएको छ । बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ । आगजनीबाट टावरको जेनेरेटर, ब्याट्री, टावरका तारलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ । आगजनी कसले र किन गरेको भन्ने विषयमा थाहा नभएको र आगजनी गर्नेको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । रासस
माछापुच्छ्रेकाे किसान कार्ड सेवा सञ्चालनमा
काठमाडौं । माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि व्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपूर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो । उक्त किसान कार्ड अन्तर्गत किसानहरुले रु.४ लाख सम्मको कृषि कर्जा किसान कार्ड मार्फत प्राप्त गर्नेछन् । पहिलो चरणमा हेफर ईन्टरनेशनल नेपालसँग आबद्ध बाँके जिल्लाको खजुरा गापा.मा अवस्थित श्री साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरि सेवाको सुरुवात गरिएको छ । सो कृषि कर्जाको आवेदन तथा स्विकृति प्रकिृया बैंकले के्रडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्ड मार्फत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्नो कार्डमा उपलब्ध सिमा भित्र रहने गरी कारोबार गर्न सक्नेछन् ।
नन्दीकेश्वर महादेव मन्दिर निर्माणका लागि सात करोडको गुरुयोजना सार्वजनिक
भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा रहेको लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिरमा आगामी माघ १ गते बृहत् अन्नदान मेला हुने भएको छ । नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष तुलसीदास कासुलाले आगामी माघ १ गते १५अाैं अन्नदान मेला आयोजना गर्न लागेको जानकारी दिए । मन्दिरको दैनिक पूजा एवं आरती व्यवस्थापनमा ठूलो टेवा पुर्याउँदै आएको अन्नदान मेलामा विगतका वर्षमा स्थानीयवासीले मात्रै सहभागिता जनाए पनि यस वर्ष भने सबै क्षेत्रका बासिन्दालाई मेलामा सहभागिता जनाउन उनले आह्वान गरेका छन् । अन्नदान मेलामा धान, चामल, गहँु, जौँलगायतका अन्नका साथै स्वेच्छाले आर्थिक दान दिन आह्वान गरिएको हो । त्यसैगरी, समितिले मन्दिर परिसरमा निर्माण भइरहेको र हुने भौतिक संरचना समेटिएको रु सात करोड लागतको गुरुयोजना सार्वजनिक गरेको छ । मन्दिरको पूर्वतर्फ बहुउपयोगी सामुदायिक भवन, मूल मन्दिर, कलात्मक गेट, भजनपाटीलगायतको भौतिक संचरना निर्माणको गुरुयोजना सार्वजनिक गरिएको हो । समितिका उपाध्यक्ष श्रीराम व्यञ्जूले मूल मन्दिर निर्माणका लागि रु दुई करोड ५९ लाख, बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि रु दुई करोड ५० लाख, कलात्मक प्रवेशद्वार निर्माणका लागि रु २८ लाख २५ हजार, भजनपाटी एवं सत्तल निर्माणका लागि रु ३९ लाख ६९ हजार, दाफा भजनघर निर्माणका लागि रु ३५ लाख ५७ हजार, ढुङ्गा छपाइका लागि ४३ लाख ५४ हजारलगायत उद्यान र अन्य संचरना निर्माणसमेतको गुरुयोजना सार्वजनिक गरेको जानकारी दिए । पुनःनिर्माण प्राधिकरणले रु एक करोडको लागतमा पुरातत्व विभागमार्फत पुरातात्विक शैलीमा कलात्मक मन्दिर निर्माण गरिदिने भएको छ । गुरुयोजनाअनुसार थप बजेटसहित मन्दिर निर्माण सम्पन्न पुरातत्व विभागबाटै हुने अपेक्षा गरिएको उनले बताए । त्यस्तै मन्दिरको पूर्वपट्टि बहुउद्देश्यीय सामुदायिक भवन निर्माणकार्य शुरु भई पाँचतलाको संरचना निर्माण गरी ढलानकार्य सम्पन्न गरी थप संरचना निर्माण भइरहेको छ । यसका लागि हालसम्म रु एक करोड ६९ लाख खर्च भइसकेको छ । प्रदेश नं ३ सरकार, सांसद कोष, सूर्यविनायक नगरपालिका, स्थानीय चन्दादाताबाट प्राप्त उक्त रकम र जनश्रमदानमा भवन निर्माण भइरहेको समितिका उपाध्यक्ष व्यञ्जूले जानकारी दिए । बहुउद्देश्यीय सामुदायिक भवन निर्माण सम्पन्न भएपछि उक्त भवनमा मन्दिरका पुजारीको आवासगृह, विवाह, व्रतबन्धलगायतका धार्मिककार्य गर्ने स्थल, धार्मिक ग्रन्थहरु समेटिएका धार्मिक पुस्तकालय, ज्येष्ठ नागरिकका लागि दिवासेवा सञ्चालनलगायतका कार्यमा प्रयोगमा ल्याइने भएको छ । पुरातत्व विभागले गरेको उत्खननका आधारमा परापूर्वकालमा यस क्षेत्रमा धार्मिक किल्ला नै खडा गरी भौतिक संरचनाको विकास भएको र उक्त संरचना कुनै कालखण्डमा प्राकृतिक प्रकोप तथा प्रलयबाट क्षति पुगेकाले भग्नावेशषमा परिणत भएको जनाइएको छ । प्रसिद्ध धार्मिकस्थल मानिने नन्दीकेश्वर महादेव मन्दिरमा वैशाख पूर्णिमाको दिन १०८ कन्यासहितको खट जात्रा, श्रावणी मेला एवं प्रत्येक सङ्क्रान्तीमा विशेष पूजा, माघ १ गते अन्नदान, जनैपूर्णिमा मेला, हरितालिका तीज मेला, नवरात्रि मेला, सकिमना पूर्णिमा मेला, शिवरात्रि मेला लाग्ने गर्दछ । रासस