विकासन्युज

स्पर्स लघुवित्तको १३ प्रतिशत लाभांश पारित, सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित १३.६८ प्रतिशत लाभांश पारित भएको छ । आइतबार कास्कीको पोखरामा सम्पन्न संस्थाको तेश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै शेयरधनीले १३ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी १३.६८ प्रतिशत लाभांश पाउने भएका छन् । बोनस शेयरको कर बापतको नगद रकम ५ लाख ६७ हजार ६४२ रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताएका छन् । ८ करोड २९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको १३ प्रतिशत बोनस शेयर पछि ९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिको प्रतिनिधित्वको लागि निर्विरोध निर्वाचित संचालकहरु नारायणी देवकोटा र जगन्नाथ रिजाल चयन भएको निर्वाचन अधिकृत अधिवक्ता खगेन्द्रराज घिमिरेले घोषणा गरेका छन् । वित्तीय संस्थाले एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थालाई गाभ्ने तथा गाभिने वा प्राप्ती गर्ने वा प्राप्ती हुने लगायतका सम्पुर्ण कार्य गर्न गराउन संचालक समितिलाई अख्तियारी दिएको छ । साथै, सो पश्चात हुन आउने पुँजीको १ः१ हकप्रद शेयर जारी गर्ने संस्थाले जनाएको छ । साथै, संस्थाले कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउनको लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।

७ वटा सामुदायिक विद्यालयलाई बेष्ट फाइनान्सको सहयोग

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले ७ वटा सामुदायिक विद्यालयलाई सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौं स्थित विभिन्न ७ बटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच अन्तर माध्यामिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरेको हो । सो अवसरमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले उत्कृष्ठ हुने विद्यार्थीहरुलाई बधाइ दिँदै लेखन कार्यमा विद्यार्थीहरुको सहभागिता प्रशंसनीय रहेको बताए । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहभागिता जनाउँदै आईरहेको तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ । काठमाडौंको कमलादीमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको यस फाइनान्स कम्पनीले १४ शाखा मार्फत मुलुकका विभिन्न शहरहरुबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

आइतबारको सेयर बजारमा ‘थ्री ई’ प्रभावः परिसूचक पुग्यो ५ महिनायताकै उच्च विन्दुमा

काठमाडौं । आइतबार (२७ पुस) पुँजी बजार मापक नेप्से परिसूचक ४२.६१ अंकले बढेर १२५५.७२ विन्दुमा पुग्यो । यो विन्दु ५ महिनायताकै सबैभन्दा उच्च हो । आइतबार कारोबार रकममा पनि उल्लेख्य सुधार आयो । सो दिन १ सय ७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता सेयर १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रुपैयाँमा किनबेच भए । सामान्यतः पुस मसान्त, चैत मसान्त र असार मसान्तको नजिकलाई बजार घट्ने मौसम भनिन्छ । यसको कारण के हो भने पुस मसान्तमा अनुमानित आय विवरणका आधारमा आयकरको पहिलो किस्ता बुझाउनु पर्छ । पहिलो किस्ताको रुपमा आफ्नो वर्षभरी कारोबार भएर जति आम्दानी हुन्छ भन्ने आफूलाई लाग्छ, त्यस्तो आम्दानीको ४० प्रतिशत कर सरकारलाई बुझाउनु पर्छ । दोस्रो किस्ता चैत मसान्तमा बुझाउनु पर्छ । दोस्रो किस्ता भनेको वार्षिक अनुमानित आयको ३० प्रतिशत बुझाउने हो । र, तेस्रो तथा अन्तिम किस्ताको रुपमा असार मसान्तमा बाँकी रहेको ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्छ । सरकारलाई यसरी कर बुझाउनु पर्ने हुँदा लगानीकर्तालाई रकमको अभाव पर्ने भएकोले सेयर विक्री बढ्ने विश्लेषण गरिन्छ । सेयर विक्रीको चाप बढ्दा मूल्य घट्छ । तर, यो आकलन यसपाली मिलेन । पुस २७ गते परिसूचक ४२.६१ अंकले बढ्यो, १ अर्ब ३३ करोड रुपैयाँको सेयर खरिद विक्री भए । परिसूचक ४ महिनायताकै सबैभन्दा उच्च विन्दुमा पुग्यो । थ्री ई फ्याक्टर सेयर बजारमा अहिले उछाल आउनुका पछाडि विशेष गरेर ‘थ्री ई फ्याक्टर’ले काम गरेको लगानीकर्ता वताउँछन् । यी थ्री ईमा एक्जिट, ई–मेल र इन्ट्री हुन् । एक्जिटः अर्थमन्त्री डा. युवराज खतिवडालाई सेयर बजारले त्यति सहज रुपमा लिएको छैन । उनी अर्थमन्त्री भएदेखि नै बजारमा निरासा छाएको छ । डा. खतिवडा राष्ट्रियसभा सदस्य भएको कारण अर्थमन्त्री छन् । तर, राष्ट्रियसभा सदस्यको रुपमा उनको कार्यकाल आगामी चैतमा सकिदैछ । त्यसपछि उनी बढीमा ६ महिनासम्म सांसद नभएको अवस्थामा पनि मन्त्री बन्न संविधानले रोक्ने छैन । तर, गैर सांसदलाई मन्त्री बनाउन प्रधानमन्त्री तयार भने हुनुपर्ने हुन्छ । ‘सेयर बजारप्रति अर्थमन्त्री त्यति पोजेटिभ छैनन्, उनी बजारप्रति पोजेटिभ नभएपछि बजारले पनि उनलाई पोजेटिभ रुपमा लिने भन्ने कुरा भएन, अब अर्थमन्त्री हट्ने सम्भावना धेरै छ, त्यसैकारण बजार बढ्न थालेको हो,’ एक लगानीकर्ताले भने । तर, उनले भने जस्तै डा. खतिवडाको अर्थमन्त्रीबाट ‘एक्जिट’ पक्कापक्की भएको भने होइन । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य बनाएकी हुन् । यसपटक पनि एकजनालाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्य नियुक्ति गर्नुपर्ने संबैधानिक वाध्यता छ । त्यसैकारण त्यही एक जनामा डा. खतिवडा पर्न सक्छन् । उनी सांसद बनेमा अर्थमन्त्रीकै रुपमा रहिरहन वाधा पर्ने अवस्था आउने छैन । ई–मेलः सेयर बजारमा अहिले देखिएको सबैभन्दा सकारात्मक र बलियो पक्ष भनेको ‘ई–मेल’ हो । बैंक वित्तीय संस्थाहरुले सेयर ब्रोकर अफिसमा ई–मेल नै गरेर ऋण लिन चाहने व्यक्तिहरुलाई आफ्नो बैंकमा सम्पर्क गराइदिन आग्रह गर्न थालेका छन् । यस्तै, पछिल्लो समय बैंकका कर्मचारी सम्भावित ऋणी खोज्न ब्रोकर अफिस धाउन थालेका छन् । ‘बैंकिङ क्षेत्रमा तरलता प्रसस्त भएको सामाचारहरु पनि आएका छन्, बैंकका कर्मचारी पनि ऋण लिन चाहने व्यक्तिहरुलाई हाम्रोमा पठाइदिनुस् भन्दै हाम्रो अफिसमा आउन थालेका छन्, केही बैंकले त ई–मेल नै गरेर पनि ऋणीलाई सम्पर्क गर्न पठाइदिनुस् भन्न थालेका छन्,’ एक ब्रोकरले भने । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता भएपछि व्याजदर घट्ने अनुमान छ । व्याजदर घटेमा अहिले बैंकमा रहेको निक्षेप पनि लगानीको रुपमा सेयर बजारमा आउने छ । यस्तै, ऋण लिएर सेयरमा लगानी गर्न चाहने व्यक्तिले पनि सहज रुपमा ऋण पाउने छन् । यसैकारण बैंकहरुले सेयर ब्रोकरलाई गरेको इमेलले पनि सेयर बजार बृद्धिमा सहयोगी भूमिका खेलेको छ । इन्ट्रीः गत सोमबारको मन्त्रिपरिषद बैठकले पुँजी बजारको नियामक निकाय धितोपत्र वोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ । ढुंगाना बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका व्यक्ति हुन् । ढुंगानालाई विषयबस्तुको राम्रो ज्ञान भएको तथा नरम स्वभावको समन्वयकारी व्यक्तिका रुपमा चिनिन्छ । नियामक निकायमै बसेर लामो समय काम गरेका कारण पनि उनीप्रति बजार आश्वस्त हुन सकिरहेको छ । यस्तै, पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीलाई नेपाली काँग्रेसको सरकार भएका बेलामा तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले नियुक्त गरेका थिए । महतले नियुक्त गरेका डा. कार्कीसँग कतिपय विषयमा अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाको ‘ट्युनिङ’ नमिलेको चर्चा पनि चल्ने गरेको थियो । यस्तै, अर्थमन्त्री डा. खतिवडा र वोर्ड अध्यक्ष ढुंगानाले राष्ट्र बैंकमा सँगै काम गरेका पनि छन् । यसैकारण डा. खतिवडा र अध्यक्ष ढुंगानाको समन्वयमा पुँजी बजारमा सुधारका कामहरु फटाफट हुने अनुमान लगानीकर्ताको छ । आफैमा सरल, नरम स्वभावका, विषयको ज्ञान भएका, नियमनकारी निकायमा ३० वर्ष विताएका, सबैका कुरा सुन्न सक्ने स्वभाव भएका ढुंगानाको वोर्डमा ‘इन्ट्री’ले पनि बजारमा सकारात्मक सन्देश प्रवाह भएको लगानीकर्ताको भनाइ छ । ‘अब त घट्दैन’ यसबाहेक बजार बृद्धिमा अन्य कारण पनि देखिन्छन् । बजार निकै घटेकोले अब घट्दैन भन्ने मनोविज्ञान पनि विकास भएको छ । ‘बजार घटेर ८/९ सय विन्दुमा आइपुग्छ कि भन्ने त्रास पनि थियो, अब त्यो सम्भावना रहेन, बजार योभन्दा घट्दैन भन्ने ग्यारेन्टी जस्तै भयो, त्यसैले लगानी थप्न लागियो,’ अर्का लगानीकर्ताले भने । बजार घट्न थालेको करिब ३ वर्ष भएको छ । बजारको घट्ने चक्र पूरा भएकोले अब बढ्छ भन्ने विश्लेषण पनि लगानीकर्ताको छ ।

एनएमबि बैंककाे अध्यक्षमा गोल्याण पुनः निर्वाचित

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले पवनकुमार गोल्याणलाई एनएमबि बैंकका संचालक समितिका अध्यक्षको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । बिहीबार एनएमबि बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभाले गोल्याणलाई संस्थापक शेयरधनीको प्रतिनिधि चयन गरेको हो । हाल एनएमबी बैंकको सञ्चालक समितिमा अध्यक्ष पवन कुमार गोल्याण, एफएमओका संस्थापक शेयरधनी नीको पिल, कर्मचारी संचय कोषका संस्थापक शेयरधनी राजेन्द्र काफ्ले, सर्वसाधारण शेयरधनीबाट शिरिष कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदिपराज पाण्डे रहेका छन् ।

राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी पुस २८ गतेदेखि, ८० हजार दर्शक भित्र्याउने लक्ष्य

काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने भएको छ । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ पगकाठमाण्डौं, भृकुटीमण्डपको पदर्शनी स्थलमा सोमबारदेखि हुने मेला माघ ४ गतेसम्म रहनेछ । उक्त मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको प्रमुख आतिथ्यमा हुनेछ भने करिब ७० देखि ८० हजार दर्शक भित्राउने मेलाको लक्ष्य छ ।

तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको १५ प्रतिशत लाभांश पारित, अध्यक्षमा पुनः थापा

काठमाडौं । तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शेयरधनीलाई १५ प्रतिशत लाभांश पारित गरेको छ । साधारणसभामा समक्ष सञ्चालक समितिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन लगायत विभिन्न प्रस्ताव पारित गरेको छ । संस्थाले गत आर्थिक वर्षमा पनि १५ प्रतिशत लाभांश सदस्यलाई प्रदान गरेको थियो । आर्थिक वर्ष २०७५÷०७६ को अन्त्यसम्मा संस्थाको सदस्य ४ हजार ८ सय ११ रहेको छ । सोही अवधि सम्ममा संस्थाको चुक्ता पुँजी ५ करोड १४ हजार रहेको संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरले साधारणा सभामा जानकारी गराए । त्यस्तै ४१ करोड ४१ लाख निक्षेप संकल गरी ४२ करोड ७१ लाख रूपैयाँ कर्जा प्रवाह गरेको अध्यक्ष थापा मगरले जानकारी दिए । संस्थाले आर्थिक वर्ष २०७५र०७६ मा ८६ लाख ३२ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यस अविधसम्म आईपुग्दा संस्थाको सम्पत्ति ५१ करोड ६७ लाख ८५ हजार पुगेको अध्यक्षले बताए । संस्थाले केन्द्रीय कार्यालयको साथै कलंकी सेवा केन्द्रबाट समेत सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । यस सहकारीले चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापमा कृषि फार्म समेत संचालन गर्दै आएको छ । संस्थाले गत २०७६ असार २० गतेबाट लघुवित्त कार्यक्रम समेत सञ्चाल गर्दै आएको छ । अध्यक्षमा पुनः मनोजकुमार थापा तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः मनोजकुमार थापा मगर निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको १२ औं वार्षिक साधारणसभाले मनोजकुमार थापा मगरको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा गंगाराम दुलाल निर्वाचित भएका छन् । यस अघि पनि दुलाल उपाध्यक्ष थिए । त्यस्तै सचिवमा पुनः बुद्ध तण्डुकार निर्वाचित भएका छन् । कोषाध्यक्षमा मन्नु खनाल खत्री चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रजत कुमार श्रेष्ठ, रोशनी तण्डुकार, प्रेमबहादुर महर्जन, माधवप्रसाद लम्साल र संजय चन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा रामप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरुमा प्रतिक न्यौपाने र कस्तुरी भुजेल चयन भएका छन् । नवनिर्वाचित सञ्चालक समिति र लेखा समितिलाई शनिबारनै शपथ ग्रहण गराइएको थियो ।

सेञ्चुरी बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सुर्यविनायकस्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ । उक्त न्यानो कपडा बंैकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

सरकार द्वारा पासपाेर्ट कभर बेचविखनमा प्रतिबन्ध

काठमाडाैं । नेपाल सरकारले पासपाेर्टकाे कभर बेचविखनमा प्रतिबन्ध लगाएकाे छ । राहदानी विभागले एक सूचना जारी गर्दै पासपाेर्ट कभर बेचविखन गर्न प्रतिबन्ध गरिएकाे बताइएकाे हाे । जहाँत्यहीँ पाइने पासपाेर्टकाे कभरका कारण मानिस ठगिने परिपाटी बढेकाेले पासपाेर्ट कभरमा राेक लगाइएकाे जनाइएकाे छ ।  झट्ट हेर्दा पासपोर्टजस्तै देखिने कभरका कारण मानिसहरू झुक्किने र यसै कारण ठगी हुने क्रम बढेपछि सरकारले यस्तो खोल बेच्न प्रतिबन्ध लगाएको हो । सर्वसाधरणलाई यस्ताे कभर खरिद नगर्न पनि विभागले अनुराेध गरेकाे छ ।