काठमाडौं । कुमारी बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनी मर्जर सम्पन्न भएर एकीकृत कारोबार सुरु भएको २ वर्ष भयो । तत्कालिन पश्चिमाञ्चल फाइनान्सको ऋणको व्याज १६ प्रतिशत थियो ।
कुमारी बैंकमा मर्जर भएपछि पनि तत्कालिन पश्चिमाञ्चल फाइनान्सका ऋणी अहिले पनि १६ प्रतिशत व्याज र २ प्रतिशत शुल्क थप गरेर १८ प्रतिशत व्याज तिरिरहेका छन् ।
पश्चिमाञ्चल फाइनान्स कम्पनीले प्रवाह गरेको ऋणमध्ये ३६ करोड रुपैयाँ ऋणलाई खराब कर्जामा राखिएको थियो । यस्तो कर्जाको सावा व्याज तिरिरहेका ऋणी अहिले पनि १८ प्रतिशत व्याज तिर्न वाध्य भएका हुन् ।
यति मात्रै होइन, तत्कालिन पश्चिमाञ्चल फाइनान्सले बढीमा ५ वर्षसम्मको ऋण दिने गरेको थियो । कम्पनी मर्ज भएर कुमारी बैंकको नाममा एकीकृत कारोबार हुन थालेको २ वर्ष विते पनि फाइनान्स कम्पनीबाट ऋण लिनेहरुले अहिले पनि कुमारी बैंकले तोकेजति व्याज तिर्न पाएका छैनन् ।
पश्चिमाञ्चलबाट ऋण लिएका ऋणीले कर्जा नविकरण गर्दा पनि तत्कालिन पश्चिमाञ्चल फाइनान्सको व्याजदर अनुसार नै कर्जा तिर्नुपर्छ ।
ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंक मर्ज भएर एकीकृत कारोबार सुरु भएको ४ महिना पूरा भयो । असोज पहिलो साता मर्जर सकिएर एनएमबी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।
तर, तत्कालिन ओम डेभलपमेन्ट बैंकबाट कर्जा लिएका ऋणीले अहिले पनि तत्कालिन ओमको व्याजदर अनुसार नै कर्जा नविकरण गरिरहेका छन् । तत्कालिन ओमकोभन्दा अहिलेको एनएमबी बैंकको कर्जाको व्याज ५ प्रतिशतसम्म महंगो थियो ।
ठूला बैंक वित्तीय संस्थाको तुलनामा साना बैंक वित्तीय संस्थाको व्याज महंगो हुने गर्छ । तर, ठूला बैंक वित्तीय संस्थासँग मर्जर वा एक्वीजिसन भएपछि पनि साना संस्थाको निक्षेपको व्याज तत्काल घट्ने तर कर्जाको व्याज नघट्ने प्रबृत्ति देखिएको छ ।